देहधारणको रहस्य (२)

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु। अन्यजातिहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ छन्। तिमीहरूमाझको मेरो काम बाहिरियाहरूका लागि बन्द छ। यी वचनहरू, यी सजाय र न्यायहरू, तिमीहरूलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन। यी सबै काम तिमीहरूको बीचमा गरिन्छ र तिमीहरूकै निम्ति मात्र अनावरण गरिन्छ; अन्यजातिहरू कसैलाई पनि यो कुरा थाहा छैन, किनकि समय अझै आइपुगिसकेको छैन। यहाँका यी मानिसहरू सजाय सहेपछि पूर्ण पारिइन लागेका छन्, तर बाहिरियाहरूलाई यसबारे केही पनि थाहा छैन। यो काम अत्यन्तै गुप्त रहेको छ! उनीहरूका लागि, देहधारी परमेश्‍वर गुप्त रहनुभएको छ, तर यस प्रवाहमा हुनेहरूका लागि भने उहाँ खुला हुनुहुन्छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरमा भएका सबै कुरा खुला छन्, सबै प्रकट भएका छन, र सबै स्वतन्त्र पारिएका छन्, तैपनि यो कुरा उहाँमा विश्‍वास गर्नेहरूका लागि मात्र सत्य छ; जहाँसम्म बाँकी मानिसहरू, अर्थात् अन्यजातिहरूको कुरा छ, उनीहरूलाई केही पनि थाहा दिइएको छैन। अहिले तिमीहरूको बीचमा र चीनमा भइरहेको काम तिनीहरूलाई थाहा नदिनका निम्ति कडाइका साथ ढोका बन्द गरिएको छ। यदि उनीहरूले यस कामको बारेमा थाहा पाए भने, उनीहरूले यसलाई निन्दा गर्नेछन् र सतावटमा पार्नेछन्। उनीहरूले यसमा विश्‍वास गर्नेथिएनन्। ठूलो रातो अजिङ्गरको देशमा, यो सबैभन्दा पछौटे स्थानमा काम गर्नु सजिलो छैन। यदि यो कामलाई खुला गरिएको भए, यसलाई अगाडि बढाउन असम्भव हुनेथियो। कामको यो चरण यस ठाउँमा पूरा गर्न सकिँदै सकिँदैन। यदि यो काम खुला रूपमा गरिएको भए, उनीहरूले यसलाई कसरी अगाडि बढ्न दिन सक्थे र? के त्यसले कामलाई अझ बढी जोखिममा पार्नेथिएन र? यदि यो काम लुकाएर नगरिएको भए, येशूको समयमा जस्तो उहाँले आश्‍चर्यजनक रूपमा बिरामीहरूलाई निको पारेको र दुष्टात्मा धपाएको जस्तै गरी गरिएको भए, के धेरै पहिले नै यो काम दियाबलसहरूद्वारा “कब्जा गरिएको” हुनेथिएन र? के उनीहरूले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्‍नेथिए र? यदि त्यति बेला मैले सभाघरहरूमा पसेर मानिसहरूलाई प्रचार गर्थेँ र प्रवचन सुनाउँथेँ भने, के म धेरै पहिले नै टुक्रा-टुक्रा पारिइसकेको हुनेथिइनँ र? यदि त्यस्तो हुन्थ्यो भने, मेरो काम कसरी भइरहन सक्थ्यो र? खुल्लमखुल्ला कुनै चिन्ह र चमत्कारहरू प्रकट नगरिनुको कारण यसलाई लुकाउनका लागि नै हो। यसैले, अन्यजातिहरूले मेरो काम देख्‍न, जान्‍न, वा थाहा पाउन सक्दैनन्। यदि यो चरणको काम पनि अनुग्रहको युगमा येशूको जस्तै गरी गरिएको भए, यो अहिले जति स्थिर छ त्यति स्थिर हुन सक्दैनथियो। यसैले, यस तरिकाले गोप्य रूपमा काम गर्नु तिमीहरूका लागि र सम्पूर्ण कामका लागि फाइदाजनक छ। जब पृथ्वीमा परमेश्‍वरको काम समाप्त हुन्छ, अर्थात् जब यो गुप्त कार्य समाप्त हुन्छ, तब कामको यो चरण खुला रूपमा विस्फोट हुनेछ। चीनमा विजेताहरूको एउटा समूह छ भनी सबैले थाहा पाउनेछन्; र परमेश्‍वर चीनमा देहधारी हुनुभएको छ र उहाँको काम समाप्त भएको छ भनी सबैले थाहा पाउनेछन्। त्‍यसपछि मात्रै मानिसले यो कुरा देख्‍नेछ: चीनमा अझै पनि किन ह्रास वा पतन देखिन बाँकी छ? के देखिन्छ भने, परमेश्‍वरले चीनमा व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको छ र मानिसहरूको एउटा समूहलाई सिद्ध पारी विजेताहरू बनाउनुभएको छ।

देहधारी परमेश्‍वर उहाँले व्यक्तिगत रूपमा आफ्नो काम गर्ने अवधिमा उहाँलाई पछ्याउने केही मानिससामु मात्र देखा पर्नुहुन्छ, र सबै सृजित प्राणीसामु देखा पर्नुहुन्न। उहाँ मानिसलाई आफ्नो स्वरूप देखाउन नभई आफ्नो कामको एउटा चरण पूरा गर्न मात्र देह बन्नुभयो। तर उहाँको काम उहाँ स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुपर्छ, त्यसैले उहाँ काम गर्न देहमा आउनैपर्छ। काम समाप्त भएपछि, उहाँ मानव संसारलाई छोडेर जानुहुनेछ; आउने काममा बाधा नपरोस् भनेर उहाँ मानव संसारमा लामो समयसम्म बस्न सक्नुहुन्न। असङ्ख्य मानिससामु देखा पर्ने कुरा उहाँको धर्मी स्वभाव र उहाँका सबै कार्य मात्र हुन्, परमेश्‍वरका दुई देहधारणका स्वरूपहरू होइनन्, किनभने परमेश्‍वरको स्वरूप उहाँको स्वभावमार्फत मात्र प्रकट गर्न सकिन्छ र यसलाई उहाँको देहधारी शरीरको स्वरूपले प्रतिस्थापन गर्न सकिँदैन। उहाँको देहको स्वरूप सीमित सङ्ख्याका मानिससामु मात्र प्रकट गरिन्छ; यो उहाँले देहमा काम गर्नुहुँदा उहाँलाई पछ्याउनेहरूसामु मात्र प्रकट गरिन्छ। यसैकारण अहिले भइरहेको काम गोप्य रूपमा गरिन्छ। त्यसै गरी, येशूले आफ्नो काम गर्नुहुँदा यहूदीहरूसामु मात्र आफूलाई प्रकट गर्नुभयो, र अरू कुनै राष्ट्रसामु सार्वजनिक रूपमा आफूलाई कहिल्यै प्रकट गर्नुभएन। यसर्थ, उहाँले आफ्नो काम पूरा गर्नुभएपछि, उहाँ तुरुन्तै मानव संसारबाट प्रस्थान गर्नुभयो र बस्नुभएन; पछि, मानिससामु उहाँको स्वरूप, यस व्यक्तिको स्वरूप प्रकट भएन, बरु सिधै काम गर्ने पवित्र आत्मा प्रकट हुनुभयो। देह बन्नुभएका परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त भएपछि, उहाँ नश्वर संसारबाट प्रस्थान गर्नुहुनेछ, र उहाँ देहमा हुनुहुँदा गर्नुभएको जस्तो कुनै पनि काम फेरि कहिल्यै गर्नुहुनेछैन। यसपछि, सबै काम सिधै पवित्र आत्माद्वारा गरिनेछ। यस अवधिमा, मानिसले उहाँको दैहिक शरीरको स्वरूप मुस्किलले देख्न सक्नेछ; उहाँले मानिससामु आफूलाई पटक्कै प्रकट गर्नुहुनेछैन, बरु सधैँभरि लुकेर बस्नुहुनेछ। देह बन्नुभएका परमेश्‍वरको कामको समय सीमित छ। यो एक निश्चित युग, अवधि, देश, र निश्चित मानिसहरूबीच गरिन्छ। यस कामले परमेश्‍वरको देहधारणको अवधिको कामको मात्र प्रतिनिधित्व गर्छ। यसले एउटा युगको प्रतिनिधित्व गर्छ, र यसले परमेश्‍वरका आत्माको सम्पूर्ण कामको नभई एउटा निश्चित युगमा परमेश्‍वरका आत्माको कामको प्रतिनिधित्व गर्छ। त्यसकारण, देह बन्नुभएका परमेश्‍वरको स्वरूप असङ्ख्य मानिससामु प्रकट हुनेछैन। असङ्ख्य मानिससामु प्रकट हुने कुरा उहाँ दुई पटक देह बन्नुहुँदाको उहाँको स्वरूप नभई परमेश्‍वरको धार्मिकता र उहाँको सम्पूर्ण स्वभाव हो। मानिससामु प्रकट हुने कुरा न त एउटा मात्र स्वरूप हो, न त दुई वटा स्वरूप जोडिएर बनेको स्वरूप नै हो। त्यसकारण, परमेश्‍वरको देहधारी देहले आफूले गर्नुपर्ने काम पूरा गरेपछि पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनभने उहाँ मानिसहरूसामु आफ्नो स्वरूप प्रकट गर्न नभई आफूले गर्नुपर्ने काम पूरा गर्न मात्र आउनुहुन्छ। परमेश्‍वर दुई पटक देह बन्नुभएर देहधारणको महत्त्व पूरा भइसकेको भए तापनि, उहाँ अझै पनि आफूलाई पहिले कहिल्यै नदेखेको कुनै पनि राष्ट्रसामु खुला रूपमा आफूलाई प्रकट गर्नुहुनेछैन। येशूले यहूदीहरूसामु धार्मिकताको सूर्यका रूपमा फेरि कहिल्यै आफूलाई प्रकट गर्नुहुनेछैन, न त उहाँ जैतुन डाँडाको टुप्पोमा उभिएर असङ्ख्य मानिससामु आफूलाई प्रकट गर्नुहुनेछ; यहूदीहरूले यहूदियामा उहाँको समयको येशूको चित्र मात्र देखेका हुन्। किनभने येशू देहधारी हुनुहुँदाको उहाँको काम दुई हजार वर्षअघि समाप्त भयो; उहाँ यहूदीको स्वरूपमा यहूदियामा फर्कनुहुनेछैन, कुनै पनि अन्यजाति राष्ट्रहरूसामु यहूदीको स्वरूपमा आफूलाई प्रकट गनु त झनै परको हो, किनभने देह बन्नुभएका येशूको स्वरूप यूहन्नाले देखेको मानिसको स्वरूप नभई केवल यहूदीको स्वरूप हो। येशूले आफ्ना अनुयायीहरूलाई उहाँ फेरि आउनुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको भए तापनि, उहाँले अन्यजाति राष्ट्रहरूमा भएका ती सबैसामु यहूदीको स्वरूपमा आफूलाई प्रकट गर्नुहुनेछैन। तिमीहरूले देह बन्नुभएका परमेश्‍वरको काम एउटा युग खोल्नु हो भन्ने जानुपर्छ। यो काम केही वर्षको अवधिसम्म सीमित छ, र उहाँ परमेश्‍वरका आत्माका सबै काम पूरा गर्न सक्नुहुन्न, जसरी यहूदीका रूपमा येशूको स्वरूपले उहाँले यहूदियामा काम गर्नुहुँदा परमेश्‍वरको स्वरूपको मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र उहाँ क्रूसीकरणको काम मात्र गर्न सक्नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्न वा मानवजातिलाई नष्ट गर्न सक्नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र उहाँले आफ्नो काम सम्पन्न गर्नुभएपछि, उहाँ सर्वोच्च उचाइमा उक्लनुभयो र मानिसबाट आफूलाई सदाका लागि लुकाउनुभयो। त्यस बेलादेखि, अन्यजाति राष्ट्रहरूका ती बफादार विश्‍वासीहरूले प्रभु येशूको देखापराइ देख्न सकेनन्, भित्तामा आफूले टाँसेको उहाँको चित्र मात्र देख्न सके। यो चित्र मानिसले कोरेको चित्र मात्र हो, परमेश्‍वरले मानिससामु आफूलाई प्रकट गर्नुहुँदाको परमेश्‍वरको स्वरूप होइन। परमेश्‍वर उहाँका दुई देहधारणका स्वरूपहरूमा असङ्ख्य मानिससामु खुला रूपमा देखा पर्नुहुनेछैन। उहाँले मानिसहरूमाझ गर्ने कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव बुझ्न सक्षम तुल्याउनु हो। यी सबै विभिन्न युगमा गरिएका काममार्फत मानिससामु प्रकट गरिन्छ; यो उहाँले सार्वजनिक गरेको स्वभाव र उहाँले गरेको काममार्फत पूरा गरिन्छ, र यो येशूको देखापराइमार्फत पूरा गरिँदैन। अर्थात्, परमेश्‍वरको स्वरूप उहाँको देहधारी शरीरको स्वरूपमार्फत मानिससामु सार्वजनिक गरिँदैन, बरु रूप र स्वरूप भएका देहधारी परमेश्‍वरले गरेको काममार्फत सार्वजनिक गरिन्छ; उहाँ आफूले गर्ने काममार्फत आफ्नो स्वरूप मानिससामु प्रकट गर्नुहुन्छ र आफ्नो स्वभाव सार्वजनिक गर्नुहुन्छ। उहाँले आफ्नो देहधारणमार्फत गर्न चाहनुभएको कामको महत्त्व ठ्याक्कै यही हो।

जब परमेश्‍वरका दुईवटा देहधारणका काम समाप्त हुन्छ, तब उहाँले सबै अन्यजाति राष्ट्रहरूभरि आफ्नो धर्मी स्वभाव देखाउन सुरु गर्नुहुनेछ, र भीडलाई उहाँको स्वरूप देख्‍न दिनुहुनेछ। उहाँले आफ्नो स्वभाव प्रकट गर्नुहुनेछ र यस माध्यमद्वारा मानिसका विभिन्‍न वर्गहरूको अन्त्य भएको स्पष्ट पार्नुहुनेछ, र यसरी पुरानो युगलाई पूर्ण रूपमा अन्त्य गर्नुहुनेछ। उहाँले देहमा गर्नुभएको काम धेरै क्षेत्रमा भएन (जसरी येशूले यहूदियामा मात्रै काम गर्नुभयो, र आज म केवल तिमीहरूको बीचमा काम गर्छु) किनकि देहमा उहाँले गर्नुहुने कामहरूको सीमा र हदहरू छन्। उहाँले एक साधारण र सामान्य मानिसको स्वरूपमा छोटो समयका निम्ति काम गर्दै हुनुहुन्छ; उहाँले अनन्तको काम गर्न वा अन्यजाति राष्ट्रका मानिसहरूको सामु देखा पर्न देहधारी शरीरको प्रयोग गरिरहनुभएको छैन। देहको काम क्षेत्रमा सीमित मात्र हुन सक्छ (जस्तै केवल यहूदियामा वा केवल तिमीहरूका बीचमा मात्रै काम गर्नु), त्यसपछि, यी सीमाहरूभित्र गरिएको कामद्वारा यसको दायरा विस्तार गर्न सकिन्छ। निश्चय नै, विस्तारको काम सीधै उहाँका आत्माद्वारा गरिन्छ, त्यसपछि यो काम अबउप्रान्त उहाँको देहधारी शरीरको काम हुनेछैन। किनकि देहको कामका सीमाहरू हुन्छन् र त्यो ब्रह्माण्डका सबै कुनासम्म फैलन सक्दैन—यसले यस्तो उपलब्धि हासिल गर्न सक्दैन। देहमा गरिने कामद्वारा, उहाँका आत्माले त्यसपछिको काम गर्नुहुन्छ। त्यसकारण, देहमा गरिएको काम उद्‍घाटन प्रकृतिको हुन्छ, जुन निश्चित सीमाहरूभित्र गरिन्छ; त्यसपछि, उहाँका आत्माले यो काम अगाडि बढाउनुहुन्छ, र उहाँले विस्तारित क्षेत्रमा त्यो काम गर्नुहुन्छ।

परमेश्‍वर युगलाई डोऱ्याउनको लागि मात्रै पृथ्वीमा काम गर्न आउनुहुन्छ; उहाँले एउटा नयाँ युग सुरु गर्ने र पुरानो युगलाई समाप्त गर्ने मात्र अभिप्राय राख्‍नुहुन्छ। उहाँ पृथ्वीमा कुनै मानिसको जीवन बिताउन, मानव संसारको जीवनको आनन्द र दुःखहरू आफै अनुभव गर्न, वा आफ्‍नै हातद्वारा कुनै निश्चित व्यक्तिलाई सिद्ध बनाउन वा कुनै व्यक्ति बढ्दै गएको व्यक्तिगत रूपमा हेर्न आउनुभएको होइन। यो उहाँको काम होइन; उहाँको काम भनेको नयाँ युगलाई सुरु गर्नु र पुरानोलाई अन्त्य गर्नु मात्रै हो। अर्थात्, उहाँले व्यक्तिगत रूपमा एउटा युगको सुरु गर्नुहुनेछ, व्यक्तिगत रूपमा अर्कोलाई अन्त्य गर्नुहुन्छ, र व्यक्तिगत रूपले आफ्नो काम गरी शैतानलाई पराजित गर्नुहुनेछ। प्रत्येकचोटि जब उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्नुहुन्छ, तब त्यो उहाँले युद्धको मैदानमा खुट्टा टेक्‍नुभएको जस्तो हुन्छ। सर्वप्रथम, देहमा हुँदा उहाँले संसारलाई परास्त गर्नुहुन्छ र शैतानमाथि विजयी बन्‍नुहुन्छ। उहाँले सम्पूर्ण महिमा लिनुहुन्छ र दुई हजार वर्षको सम्पूर्ण कामको पर्दा उठाउनुहुन्छ, जसले गर्दा पृथ्वीमा सबै मानिसले हिँड्ने सही मार्ग र जिउनका निम्ति शान्ति र आनन्दको जीवन पाउन सक्छन्। तापनि, परमेश्‍वर मानिससँग लामो समयसम्म यस संसारमा बस्‍न सक्‍नुहुन्‍न, किनकि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, र जे भए पनि मानिसजस्तो हुनुहुन्‍न। उहाँले सामान्य व्यक्तिको जीवनकाल बाँच्न सक्‍नुहुन्‍न, अर्थात् उहाँ पृथ्वीमा त्यस्तो व्यक्तिको रूपमा वास गर्न सक्‍नुहुन्‍न, जो कुनै विशेष व्यक्ति होइन, किनकि उहाँसँग आफ्नो मानव जीवन थेग्‍नका निम्ति सामान्य व्यक्तिको सामान्य मानवताको थोरै मात्र अंश छ। अर्को शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरले कसरी पृथ्वीमा एउटा परिवार सुरु गर्न, वृत्ति विकास गर्न र छोराछोरीहरूलाई हुर्काउन सक्‍नुहुन्छ? के त्यो उहाँको बेइज्जती हुनेछैन र? सामान्य रूपले काम गर्न दिने उद्देश्यले मात्र उहाँलाई सामान्य मानवता प्रदान गरिएको हो, एक सामान्य मानिसले जस्तो परिवार सुरु गर्न र वृत्ति विकास गर्न सक्षम पार्नको लागि होइन। उहाँको सामान्य चेतना, सामान्य दिमाग र सामान्य भोजन र उहाँको देहको बस्‍त्र नै उहाँसँग सामान्य मानवता छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो; उहाँसँग सामान्य मानवता छ भनी प्रमाणित गर्नको लागि उहाँले परिवार सुरु गर्न वा वृत्ति विकास गर्न आवश्यक छैन। यो पूर्ण रूपमा अनावश्यक हुनेथियो! परमेश्‍वर पृथ्वीमा आउनु भनेको वचन देहधारी हुनु हो; उहाँले मानिसलाई उहाँको वचन बुझ्‍न र उहाँको वचन हेर्न दिइरहनुभएको छ, अर्थात् देहले गरेको काम मानिसलाई हेर्न दिइरहनुभएको छ। मानिसहरूले उहाँको देहलाई कुनै खास तरिकाले व्यवहार गरून् भन्‍ने होइन, बरु मानिस आखिरीसम्म समर्पित होस्, अर्थात् उहाँको मुखबाट निस्केका सबै वचनमा समर्पित होस्, र उहाँले गर्नुहुने सबै काममा समर्पित होस् भन्‍ने उहाँको उद्देश्य हो। उहाँले देहमा रही केवल काम गरिरहनुभएको छ; उहाँले जानाजानी मानिसलाई उहाँको देहको महानता र पवित्रताको बढाइ गर्न भनिरहनुभएको छैन, बरु उहाँले मानिसलाई उहाँको कामको ज्ञान-बुद्धि र उहाँको सम्पूर्ण अख्तियार देखाउँदै हुनुहुन्छ। त्यसकारण, उहाँसित उत्कृष्ट मानवता भए पनि उहाँले कुनै घोषणा गर्नुहुन्‍न, उहाँले गर्नुपर्ने काममा मात्र ध्यान केन्द्रित गर्नुहुन्छ। परमेश्‍वर किन देहधारी हुनुभयो तर पनि उहाँले आफ्नो सामान्य मानवताको किन प्रचार गर्नुहुन्‍न वा गवाही दिनुहुन्‍न, केवल आफूले गर्न चाहनुभएको काम मात्र गर्नुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। त्यसकारण, तिमीहरूले देहधारी परमेश्‍वरबाट देख्‍न सक्‍ने भनेको उहाँ ईश्‍वरीय रूपमा जो हुनुहुन्छ त्यही मात्र हो; यसको कारण के हो भने मानिसले अनुकरण गर्न सकोस् भनेर उहाँले उहाँ मानिसको रूपमा जे हुनुहुन्छ सो कहिल्यै पनि घोषणा गर्नुहुन्‍न। जब मानिसले मानिसहरूलाई डोऱ्याउँछ तब मात्र उसले प्रशंसा र सङ्कल्‍प प्राप्त गर्दै अरूको नेतृत्व प्राप्त गर्नको लागि मानिसको रूपमा ऊ को हो भनी बताउँछ। यसको विपरीत, परमेश्‍वरले उहाँको कामद्वारा मात्रै मानिसलाई जित्‍नुहुन्छ (अर्थात् मानिसले प्राप्त गर्न नसक्‍ने काम); उहाँलाई कुनै मानिसले प्रशंसा गर्नु वा उहाँले मानिसलाई उहाँको श्रद्धा गर्ने बनाउनुको कुनै अर्थ छैन। उहाँले मानिसभित्र उहाँप्रति डरको भाव वा उहाँको अथाहपनको भाव मात्रै स्थापित गरिदिनुहुन्छ। परमेश्‍वरले मानिसलाई प्रभावित पारिरहनुको कुनै आवश्यकता छैन; तैँले उहाँको स्वभाव देखेपछि उहाँको डर मानिस् भने उहाँलाई पुग्छ। परमेश्‍वरले गर्नुहुने काम उहाँकै हो; मानिसले उहाँको सट्टामा यो काम गर्न सक्दैन, न त मानिसले यसलाई प्राप्त नै गर्न सक्छ। परमेश्‍वरले मात्रै आफ्‍नो काम आफै गरेर मानिसलाई नयाँ जीवनमा लैजानका निम्ति नयाँ युगको प्रारम्भ गर्नुहुन्छ। उहाँले गर्नुहुने काम भनेको मानिसलाई नयाँ जीवन धारण गर्न र नयाँ युगमा प्रवेश गर्न सक्‍ने तुल्याउनु हो। बाँकी काम सामान्य मानवता भएका ती व्यक्तिहरूलाई सुम्पिइएको छ, जसलाई अरूले इज्‍जत गर्छन्। त्यसकारण, अनुग्रहको युगमा, उहाँले दुई हजार वर्षको काम आफ्नो तेत्तीस वर्षको देहबाट मात्र साढे तीन वर्षमा पूरा गर्नुभयो। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम पूरा गर्न आउनुहुन्छ, उहाँले जहिले पनि केही वर्षको छोटो अवधिभित्र दुई हजार वर्षको वा एउटा सम्पूर्ण युगको काम पूरा गर्नुहुन्छ। उहाँ रोकिनुहुन्‍न, र उहाँले ढिलाइ गर्नुहुन्‍न; धेरै वर्षको काम केही वर्षभित्रै पूरा होस् भनेर उहाँले केवल त्यसलाई छोट्याउनुहुन्छ। यसको कारण के हो भने, उहाँले व्यक्तिगत रूपमा जुन काम गर्नुहुन्छ त्यो पूर्ण रूपमा नयाँ बाटो खोल्न र नयाँ युगतिर डोऱ्याउनका निम्ति हुन्छ।

अघिल्लो:  देहधारणको रहस्य (१)

अर्को:  देहधारणको रहस्य (३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger