ग. परमेश्वरको पवित्रताको सम्बन्धमा
५६९. परमेश्वर सबैभन्दा पछौटे र फोहोरी ठाउँमा देह बन्नुभयो र यस्तो तरिकाले मात्र परमेश्वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव के मार्फत देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँले उहाँको विरोध र उहाँविरुद्ध विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मीपनको न्याय गर्न, मानिसको विद्रोहीपनलाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोलीवचन र कामहरू—परमेश्वरका अभिप्रायहरूका विरुद्धमा रहेका यी सबै कुरालाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको विद्रोहीपनका सबै कुरालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित छन्; उहाँले आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधर्मीपनको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो र वास्तवमा परमेश्वरको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभाव नै आजका वचनहरूका सन्दर्भ हुन्—बोल्न र न्याय गर्न, अनि विजयको काम पूरा गर्न म तिनलाई प्रयोग गर्छु। व्यावहारिक काम यही मात्र हो र यसले मात्र परमेश्वरको पवित्रतालाई पूर्ण रूपमा चम्काउँछ। यदि तँमा अलिकति पनि भ्रष्ट स्वभाव छैन भने, परमेश्वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा भ्रष्ट स्वभाव भएकोले, परमेश्वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसै मार्फत उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, र तेरो अधर्मीपनका लागि तँलाई सजाय पनि दिनुभएन भने, त्यसले उहाँ परमेश्वर हुनुहुन्न भन्ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोरी हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनकै कारण म तँलाई सजाय दिन्छु। मैले तिमीहरूलाई आफ्नो शक्ति देखाइरहेको वा जानीजानी तिमीहरूलाई दमन गरिरहेको छैन; यस फोहोरको देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले संसारको सबैभन्दा फोहोरी कुनामा जन्मेका सुँगुरहरूले जस्तै आफ्नो सत्यनिष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारण नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि क्रोध बर्साउँछु। यी वचनहरूको यही न्यायको कारण नै तिमीहरूले परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ, र परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ; मानवजातिको विद्रोहीपन देखेर नै उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले नै उहाँको पवित्रताको प्रकट गराउँछ। यही नै उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँ पवित्र र निर्मल भएर पनि उहाँ फोहोरको देशमा बस्नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि कुनै व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उभित्र केही पनि पवित्र छैन भने र ऊसँग कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्य हुन्छ। एकअर्कामा एकसमान रूपले फोहोरी रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानवजातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्न सक्छ, र ती पापहरूको निन्दा गर्न मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्वर स्वयम् हुन सक्नुहुन्थ्यो? मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले, परमेश्वर तिनीहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ, अनि मात्र तिनीहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्न सक्छन्। जब उहाँले मानिसका पापहरू प्रकट गर्दै मानिसलाई उसका पापहरूका निम्ति न्याय र सजाय गर्नुहुन्छ, कुनै पनि व्यक्ति वा थोक यस न्यायबाट उम्कन सक्दैन; सबै फोहोरी कुराहरूलाई उहाँले नै न्याय गर्नुहुन्छ, र यसरी मात्र उहाँको स्वभाव धर्मी स्वभावको रूपमा प्रकटीकरण हुनेछ। यदि यो अन्यथा हुन्थ्यो भने, तिमीहरू नाउँ र तथ्य, दुवैमा प्रतिभार हौ भनी कसरी भन्न सकिन्थ्यो?
… फोहोरको देशबाट आएका मानिसहरूमार्फत नै परमेश्वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोरको देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायमाझ उहाँ जे हुनुहुन्छ सो प्रकटीकरण हुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथ्यो भने उहाँ कसरी त्यत्ति रिसाउन सक्नुहुन्थ्यो र? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार हुँदैनथ्यो भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिनुहुन्नथ्यो भने, त्यसले उहाँलाई मानिसजस्तै फोहोर साबित गर्नेथ्यो। उहाँले मानिसलाई न्याय र सजाय गर्न सक्नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र जुन कुरालाई उहाँ घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदै छैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्नुहुनेथिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुनेथिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्वरको कामका लागि हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्
५७०. मैले धेरै पहिलेदेखि दुष्टात्माका विभिन्न कार्यहरू स्पष्टसँग देखेको छु। र दुष्टात्माद्वारा प्रयोग गरिएका मानिसहरू (गलत मनसाय भएका व्यक्तिहरू, देह र धनको लालसा गर्नेहरू, आफूलाई बढुवा दिनेहरू, मण्डलीलाई बाधा दिनेहरू, आदि) प्रत्येकलाई पनि मैले देखेको छु। दुष्टात्मा बाहिर निकालिएपछि सबै समाप्त हुन्छ भनेर नसोच्। म तँलाई भन्दछु! अबदेखि, म यी व्यक्तिहरूलाई कहिल्यै प्रयोग नगर्ने गरी एक-एक गर्दै हटाउनेछु! भन्नुको अर्थ, दुष्टात्माद्वारा भ्रष्ट पारिएको कुनै पनि व्यक्तिलाई म प्रयोग गर्नेछैन, अनि त्यसलाई बाहिर निकालिनेछ! मसँग भावनाहरू छैनन् भनेर नसोच्! यो जान्! म पवित्र परमेश्वर हुँ, र म फोहोर मन्दिरमा बस्दिनँ। म ती इमानदार र बुद्धिमान् मानिसहरूलाई मात्र प्रयोग गर्दछु जो मप्रति पूर्ण बफादार छन् र मेरो बोझको बारेमा सोच्छन्। किनकि त्यस्ता मानिसहरू मद्वारा पूर्वनियुक्त गरिएका थिए, र तिनीहरूमा दुष्टात्माहरूले अलिकति पनि काम गरिरहेका हुँदैनन्। म एउटा कुरा स्पष्ट पार्छु: अबदेखि उसो पवित्र आत्माको काम नभएकाहरू सबैमा दुष्टात्माहरूको काम हुन्छ। म फेरि दोहोऱ्याएर भन्छु: म त्यस्तो एक जना व्यक्ति पनि चाहन्नँ जसमा दुष्टात्माहरूले काम गर्दछ। तिनीहरू सबैलाई तिनीहरूका देहसहित पातालमा फालिनेछन्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७६
५७१. परमेश्वरका आत्माले पहिरनुभएको देह परमेश्वरको आफ्नै देह हो। परमेश्वरका आत्मा सर्वोच्च हुनुहुन्छ; परमेश्वरका आत्मा सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले धर्मी अनि मानवजातिलाई हितकारी हुने, पवित्र, महिमित र शक्तिशाली कामकुरा मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्घन गर्ने, नैतिकता र इन्साफको उल्लङ्घन गर्ने केही पनि गर्न सक्नुहुन्न, परमेश्वरका आत्मालाई विश्वासघात गर्ने कुरा त परै जाओस्। परमेश्वरका आत्मा पवित्र हुनुहुन्छ, र त्यसैले उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्वरलाई होइन, र शैतानले परमेश्वर स्वयम्को देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानभित्र बास गर्ने भए तापनि शैतानद्वारा ओगटिनर प्रयोग गरिन सकिने अनि शैतानका चालहरूद्वारा हानि पुग्न सक्ने त मानिस मात्र हो। यसको विपरीत, ख्रीष्ट सदैव शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि सबैभन्दा उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्नुपर्छ कि मलाई विश्वासघात गर्ने भनेको शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले मात्र हो। विश्वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
५७२. परमेश्वर स्वयम्मा विद्रोहीपनका कुनै पनि तत्वहरू छैनन्; उहाँको सार असल छ। उहाँ सारा सुन्दरता र भलाइका साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्न जसले परमेश्वर पिताविरुद्ध विद्रोह गर्छ। आफ्नो जीवन बलिदान दिनुपर्दासमेत उहाँले हृदयदेखि नै त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुहुन्न। परमेश्वरमा आत्मधार्मिकता वा अहम्, वा अभिमान र अहङ्कारको कुनै तत्वहरू छैनन्; उहाँमा कुटिलताका कुनै तत्वहरू छैनन्। परमेश्वरविरुद्ध विद्रोह गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्टताको स्रोत नै शैतान हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्ट तुल्याएको र प्रशोधन गरेको छ। ख्रीष्टलाई शैतानले भ्रष्ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्वरका विशेषताहरू मात्रै छन्, शैतानका विशेषताहरू छैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
५७३. “परमेश्वरको पवित्रता” भनेको परमेश्वरको सार त्रुटिहीन छ, परमेश्वरको प्रेम निस्स्वार्थ छ, परमेश्वरले मानिसलाई प्रदान गर्ने सबै निस्स्वार्थ छ; र परमेश्वरको पवित्रता निष्खोट र दोषरहित छ भन्ने हो। परमेश्वरको सारका यी पक्षहरू उहाँको पहिचान प्रदर्शन गर्नको लागि उहाँले प्रयोग गर्नुहुने शब्दहरू मात्रै होइनन्, बरु हरेक व्यक्तिलाई व्यवहार गर्नको लागि परमेश्वरले आफ्नो सारको इमानदारीपूर्वक प्रयोग गर्नुहुन्छ। अर्को शब्दमा भन्दा, परमेश्वरको सार रित्तो छैन, न त यो सूत्रात्मक वा सैद्धान्तिक नै छ, र यो ज्ञानको प्रकार पनि अवश्य नै होइन। यो मानिसको लागि शिक्षाको प्रकार होइन; बरु यो परमेश्वरका आफ्नै कार्यहरूको साँचो प्रकाश र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटित सार हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
५७४. मैले बताएको परमेश्वरको पवित्रताले केलाई जनाउँछ? यसको बारेमा एकै क्षण विचार गर्। के परमेश्वरको पवित्रता उहाँको सत्यता हो? के परमेश्वरको पवित्रता उहाँको विश्वसनियता हो? के परमेश्वरको पवित्रता उहाँको निस्स्वार्थता हो? के यो उहाँको नम्रता हो? मानिसप्रतिको उहाँको प्रेम? परमेश्वरले मानिसलाई सित्तैँमा सत्यता र जीवन दिनुहुन्छ—के यो उहाँको पवित्रता हो? हो, यी सबै पवित्रता हुन्। परमेश्वरले प्रकट गर्नुहुने यो सबै कुरा अद्वितीय छ र यो भ्रष्ट मानवजातिको बीचमा अस्तित्वमा छैन, न त यसलाई मानवजातिमा नै देख्न सकिन्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रियाको अवधिमा यसको अलिकति छाप समेत देख्न सकिँदैन, न त शैतानको भ्रष्ट स्वभावमा न त शैतानको सार वा प्रकृतिमा नै देख्न सकिन्छ। परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै अद्वितीय छ; परमेश्वर स्वयमसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा मात्रै यस प्रकारको सार छ। … पवित्रताको सार साँचो प्रेम हो, तर योभन्दा पनि बढी यो सत्यता, धार्मिकता र ज्योतिको सार हो। परमेश्वरमा लागू गरिएको खण्डमा मात्रै “पवित्र” भन्ने शब्द उपयुक्त हुन्छ; सृष्टिको कुनै पनि कुरा “पवित्र” भन्न योग्य छैन। मानिसले यो बुझ्नैपर्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
५७५. जब परमेश्वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यही उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो पवित्र देश होस् वा फोहोर देश, उहाँले जहाँसुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यी सबै शैतानद्वारा भ्रष्ट पारिएको छ। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्नो पवित्रतालाई प्रकट गर्नको लागि फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर भूमिका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्ने हो। यी सबै मानवजातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्वरको धार्मिकता देखाउँदछ, र यसले परमेश्वरको सर्वोच्चता अझ राम्ररी प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर भूमिमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भनेर प्रमाणित गर्दैन; यसले केवल सबै सृजित प्राणीहरूलाई मानवजातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको त्रुटिरहित प्रेम प्रकट हुन्छ। परमेश्वर फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, उहाँ पवित्र र धर्मी हुनुहुन्छ। के उहाँको कामको प्रत्येक भाग सबै मानवजातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यी सबै मानवजातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्षअघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइनन् र? यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूमाझ जिउनु र दुःख भोग्नुपर्थ्यो र? र यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रोपटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्नुपर्थ्यो र? के परमेश्वर विश्वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानवजातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा प्रदूषित हुनुहुन्न, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको केवल के अर्थ हुन सक्छ भने मानवजातिप्रति परमेश्वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व
५७६. तेरा उपायहरू, तेरा विचारहरू, तेरा व्यवहार, तेरा बोलीवचन र कामहरू—के यी सबै अभिव्यक्तिहरू परमेश्वरको धार्मिकता र पवित्रताका निम्ति प्रतिभार होइनन् र? के तिमीहरूका अभिव्यक्तिहरू परमेश्वरका वचनहरूद्वारा खुलासा गरिएको भ्रष्ट स्वभावका प्रकटीकरणहरू होइनन् र? तेरा सोचाइ र विचारहरू, तेरा प्रेरणाहरू र तँमा प्रकट भएको भ्रष्टताले परमेश्वरको धर्मी स्वभावका साथै उहाँको पवित्रतालाई देखाउँछ। परमेश्वर पनि फोहोरको देशमा जन्मिनुभएको थियो, तर उहाँ फोहोरद्वारा कलङ्कित हुनुभएको छैन। उहाँ तँजस्तै त्यही फोहोरी संसारमा बस्नुहुन्छ, तर उहाँमा विवेक र समझ छ, र उहाँले फोहोरलाई घृणा गर्नुहुन्छ। तैँले आफ्नो बोलीवचन र काममा रहेको कुनै फोहोर फेला पार्न सक्दैनस्, तर उहाँले फेला पार्न सक्नुहुन्छ र उहाँले तँलाई ती कुराहरू देखाइदिनुहुन्छ। तेरा ती पुराना कुराहरू—तेरो विकास, समझ र ज्ञानमा रहेको कमी, र तेरो पछौटे जीवनशैली—ती सबैलाई आजको प्रकाशले ज्योतिमा ल्याएको छ; परमेश्वर यसरी काम गर्न पृथ्वीमा आउनुभयो भने मात्रै मानिसहरूले उहाँको पवित्रता र धर्मी स्वभावलाई देख्छन्। उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई सजाय दिनुहुन्छ, जसले गर्दा तैँले समझ प्राप्त गर्छस्; कहिलेकहीँ, तेरो दुष्ट प्रकृति प्रकट हुन्छ र उहाँले त्यो तँलाई देखाइदिनुहुन्छ। उहाँले आफ्नो हत्केलालाई जस्तै मानिसको सारको बारेमा पनि जान्नुहुन्छ। उहाँ तिमीहरूको माझमा जिउनुहुन्छ, उहाँले तैँले खानेजस्तै भोजन खानुहुन्छ र उहाँ उही वातावरणमा बस्नुहुन्छ—तैपनि, उहाँले धेरै कुरा जान्नुहुन्छ; उहाँले तँलाई खुलासा गर्न सक्नुहुन्छ र मानवताको भ्रष्ट सारलाई देख्न सक्नुहुन्छ। उहाँले सांसारिक कुराहरूसँग सम्बन्धित मानिसका दर्शनहरू र कुटिलता र छलीपनलाई भन्दा बढी अरू कुनै कुरालाई तिरस्कार गर्नुहुन्न। खास गरी उहाँले मानिसहरूका दैहिक अन्तरक्रियाहरूलाई घृणा गर्नुहुन्छ। उहाँ सांसारिक कुराहरूप्रतिको मानिसका दर्शनहरूसित परिचित नहनुहोला, तर मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई उहाँले स्पष्ट रूपमा देख्न र पर्दाफास गर्न सक्नुहुन्छ। उहाँले यी कुराहरूका माध्यमबाट मानिससँग बोल्न र उसलाई सिकाउनका लागि काम गर्नुहुन्छ, उहाँले यी कुराहरू मानिसहरूको न्याय गर्न र उहाँको आफ्नै धर्मी र पवित्र स्वभाव प्रकट गर्न प्रयोग गर्नुहुन्छ। यसरी मानिसहरू उहाँको कामका निम्ति प्रतिभारहरू बन्छन्। केवल देहधारी परमेश्वरले मात्र मानिसको भ्रष्ट स्वभाव र शैतानका सबै कुरूप अनुहारहरूलाई स्पष्ट पार्न सक्नुहुन्छ। उहाँले तँलाई दण्ड नदिनुभए पनि, र तँलाई उहाँको धार्मिकता र पवित्रताका लागि प्रतिभारको रूपमा मात्र प्रयोग गर्नुभए पनि, तैँले लज्जित महसुस गर्छस् र लुक्ने कुनै ठाउँ पाउँदैनस्, किनकि तँ अति नै फोहोरी छस्। उहाँले मानिसमा प्रकट भएका ती कुराहरू प्रयोग गरेर बोल्नुहुन्छ, र जब यी कुराहरू प्रकाशमा ल्याइन्छन् तब मात्र मानिसहरूले परमेश्वर कतिसम्म पवित्र हुनुहुन्छ भनी जान्दछन्। उहाँले मानिसहरूमा भएको थोरै अपवित्रतालाई समेत बेवास्ता गर्नुहुन्न, चाहे ती तिनीहरूको हृदयमा भएका फोहोरी विचारहरू नै किन नहोऊन्; यदि मानिसहरूका बोलीवचन र कामहरू उहाँका अभिप्रायहरूसँग मिल्दैनन् भने, उहाँले तिनीहरूलाई क्षमा गर्नुहुन्न। उहाँका वचनहरूमा, मानिस वा अरू कुनै कुराको फोहोरको निम्ति कुनै ठाउँ छैन—यो सबैलाई प्रकाशमा ल्याइनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्
५७७. परमेश्वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्नुभएको तैँले कहिल्यै देख्नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्हाल्नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, विज्ञान, दर्शनशास्त्र वा कल्पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्नेछैनस्। बरु, परमेश्वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्पनाको उपज होइन; परमेश्वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्वरको सार पवित्र छ भनेर हामी भन्न सक्छौं। अर्को शब्दमा भन्दा, परमेश्वरले भन्नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
५७८. जब तैँले परमेश्वरको पवित्रतालाई बुझ्न पुग्छस्, तब तैँले परमेश्वरमा वास्तवमा नै विश्वास गर्न सक्छस्; जब तैँले परमेश्वरको पवित्रतालाई बुझ्न पुग्छस्, तब “परमेश्वर स्वयम् अद्वितीय” भन्ने शब्दहरूको साँचो अर्थलाई तैँले वास्तवमा नै महसुस गर्न सक्छस्। यस बाहेक तैँले हिँड्न छनौट गर्न सक्ने अरू मार्गहरू पनि छन् भनेर सोच्दै, तैँले उप्रान्त कल्पना गर्नेछैनस्, र उप्रान्त तँ तेरो लागि परमेश्वरले बन्दोबस्त गर्नुभएको सबै कुरालाई धोका दिन इच्छुक हुनेछैनस्। किनभने परमेश्वरको सार पवित्र छ, जसको अर्थ उहाँद्वारा मात्रै तँ मानव जीवनको सही, उज्ज्यालो मार्गमा हिँड्न सक्छस्; परमेश्वरद्वारा मात्रै तैँले जीवनको अर्थलाई जान्न सक्छस्; परमेश्वरद्वारा मात्रै तँ साँचो मानवतामा जिउन र सत्यतालाई प्राप्त गर्ने र जान्ने दुवै गर्न सक्छस्। परमेश्वरद्वारा मात्रै तैँले सत्यताबाट जीवन प्राप्त गर्न सक्छस्। परमेश्वर स्वयम्ले मात्रै तँलाई दुष्टताबाट अलग बस्न र शैतानको हानि र नियन्त्रणबाट छुटकारा दिन सहायता गर्न सक्नुहुन्छ। तैँले उप्रान्त कष्ट भोग नगरोस् भनेर कष्टको समुद्रबाट तँलाई परमेश्वर बाहेक कसैले पनि र कुनै पनि कुराले मुक्ति दिन सक्दैन। यसलाई परमेश्वरको सारले नै निर्धारित गरेको हुन्छ। परमेश्वर स्वयम्ले मात्रै त्यति निस्स्वार्थ रूपमा तँलाई मुक्ति दिनुहुन्छ; तेरो भविष्यको लागि, तेरो नियतिको लागि र तेरो जीवनको लागि परमेश्वर मात्रै आखिरमा जिम्मेवार हुनुहुन्छ, र उहाँले सबै कुरा तेरो लागि मिलाउनुहुन्छ। यो सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुराले हासिल गर्न नसक्ने कुरा हो। सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुरामा परमेश्वरको सारजस्तो सार नहुने हुँदा, तँलाई मुक्ति दिने वा तँलाई अगुवाइ गर्ने क्षमता कुनै पनि व्यक्ति वा थोकमा हुँदैन। मानिसको लागि परमेश्वरको सारको महत्त्व यही नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
५७९. मैले मानिसलाई सँधै नै कडा मापदण्डमा राखेको छु। यदि अभिप्राय र सर्तहरूसहित तेरो बफादारिता आउँछ भने, म बरु तेरो कथित बफादारिताविना रहन चाहन्छु, किनकी मलाई आफ्ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरूद्वारा जबरजस्ती गर्नेहरूलाई म घृणा गर्छु। मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्द, अर्थात् विश्वासको खातिर र त्यसलाई प्रमाणित गर्नको लागि सबै कुरा गरोस् भन्ने मात्रै म कामना गर्छु। मलाई खुशी पार्न कोसिस गर्ने तिमीहरूको चापलुसीको प्रयोगलाई म घृणा गर्छु, किनकि मैले सधैँ तिमीहरूलाई इमानदारिताले व्यवहार गरेको छु, र त्यसैले तिमीहरूले पनि मप्रति साँचो विश्वासले काम गरेको चाहन्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
५८०. मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्नै स्वभावमा परिवर्तन खोज्ने, र परमेश्वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउन इच्छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
५८१. परमेश्वर स्वयम्का आफ्नैजायजेथा छन् र उहाँको आफ्नै अस्तित्व छ। उहाँले व्यक्त गर्नुहुने र प्रकट गर्नुहुने सबै कुराहरूले उहाँको आफ्नै सार र उहाँको आफ्नै पहिचानलाई प्रतिनिधित्व गर्छन्। यी जायजेथा र उहाँको अस्तित्व, साथै यो सार र पहिचानलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। उहाँको स्वभावमा मानवजातिका निम्ति उहाँको प्रेम, मानवजातिप्रतिको सान्त्वना, मानवजातिप्रतिको घृणा, र त्योभन्दा बढी, मानवजातिबारे पूर्ण बुझाइ सबै नै समावेश छन्। तर, मानिसको व्यक्तित्वमा प्रफुल्लता, जीवन्तता, वा संवेदनाहीनता जस्ता कुराहरू समावेश हुन सक्छ। परमेश्वरको स्वभाव यावत् थोक र यावत् जीवित प्राणीमा हुने कुराहरूमाथिको सार्वभौममा हुने स्वभाव हो; यो सृष्टिका प्रभुको स्वामित्वमा हुने कुरा हो। उहाँको स्वभावले सम्माननीयता, शक्ति, कुलीनता, महानता, र सबैभन्दा महत्त्वपूर्ण, सर्वोच्चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको प्रतीक हो, सबै इन्साफको प्रतीक, सबै सुन्दर र असल कुराको प्रतीक हो। त्योभन्दा पनि बढी, उहाँको स्वभाव अन्धकार वा कुनै शत्रु शक्तिद्वारा पराजित हुनु वा त्यसको आक्रमणमा पर्नुविरुद्धको अभेद्यताको प्रतीक, साथै कुनै पनि सृजित प्राणीको उल्लङ्घन (र उल्लङ्घनप्रतिको असहिष्णुता) विरुद्धको अभेद्यताको प्रतीक हो। उहाँको स्वभाव सर्वोच्च शक्तिको प्रतीक हो। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई बाधा दिन सक्दैन वा त्यसो गर्न सम्भव छैन। तर मानिसको व्यक्तित्व पशुभन्दा अलिकति उच्च छ। मानिस आफैमा कुनै अख्तियार छैन, कुनै स्वतन्त्रता छैन, मानिससँग आफैलाई पार गरेर जाने क्षमता पनि छैन, तर उसको सारमा सबै प्रकारका मानिसहरू, घटनाहरू र थोकहरूको नियन्त्रणमा विवश हुने स्वभाव हुन्छ। परमेश्वरको आनन्द न्याय र ज्योतिमा अस्तित्वमा रहन्छ र उदय हुन्छ, किनकि अन्धकार र दुष्टको विनाश भएको छ। उहाँ मानवजातिमा ज्योति र असल जीवन ल्याउनुभएको कुरामा आनन्द मनाउनुहुन्छ; उहाँको आनन्द न्यायको आनन्द हो, यो सबै सकारात्मक कुराको अस्तित्वको सङ्केत हो, त्यसभन्दा अझ बढी यो शुभ अवसरको सङ्केत हो। अन्यायको अस्तित्व र बाधाले मानवजातिमा ल्याउने हानिको कारण, दुष्टता र अन्धकार अस्तित्वमा भएको कारण, सत्यतालाई हटाउने कुराहरू अस्तित्वमा भएका कारण, सुन्दर र असल कुराहरूको विरोध गर्ने तत्त्वहरू अस्तित्वमा भएका कारण, र अन्यायको कारण परमेश्वर क्रोधित बन्नुहुन्छ। उहाँको क्रोध सबै किसिमका नकारात्मक कुराहरू अस्तित्वमा रहनेछैन भन्ने सङ्केत हो, योभन्दा पनि अझ महत्त्वपूर्ण कुराचाहिँ यसले उहाँको पवित्रताको सङ्केत गर्छ। उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्, र यस्तो किन भएको हो भने, उहाँले मानवजातिमा गर्नुभएको कामले उहाँका अभिप्रायहरू पूरा गर्दैन, र उहाँले प्रेम गर्नुभएका मानवजाति सबै जना ज्योतिमा जिउन सक्दैनन्। उहाँ निर्दोष मानवजाति, इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसका लागि दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलोपन र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र दयाको सङ्केत हो। उहाँको खुशी निश्चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारीता जित्ने कार्यबाट आउँछ। यो भन्दा अझ बढी त शत्रुहरूका सबै शक्तिहरूको निष्कासन र विनाशबाट उहाँ खुशी बन्नुहुन्छ, किनकि यसरी मानिसजातिले असल र शान्तिपूर्ण जीवन प्राप्त गर्छन्। परमेश्वरको खुशी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू बटुल्नु जस्तै र आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयालीले मानवजाति यस समयदेखि दुःखकष्टबाट छुटकारा पाएको र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत दिन्छ। अर्कोतिर, मानवजातिका संवेगहरू सबै उसका आफ्ना हितहरूका लागि उत्पन्न हुन्छन्, त्यो न्याय, ज्योति वा सुन्दर कुरा र स्वर्गबाट दिइएको अनुग्रहका निम्ति हुँदैन। मानवजातिका संवेगहरू स्वार्थी हुन्छन् र ती अन्धकारको संसारका हुन्। ती परमेश्वरको इच्छाका लागि खडा हुँदैनन्, झन् उहाँको योजनाका निम्ति खडा हुनु त परको कुरा हो, त्यसैले मानिस र परमेश्वरलाई एउटै स्थानमा राखेर कुरा गर्न मिल्दैन। परमेश्वर सदासर्वदा सर्वोच्च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरयोग्य हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ, र सदैव मूल्यहीन छ। किनभने परमेश्वरले सदासर्वदा मानवजातिका लागि आफैलाई अर्पित गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ, जबकि मानिसले चाहिँ सधैँ केवल आफ्नो निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्वरले सधैँ मानवजातिको अस्तित्वका लागि धेरै मेहनत गर्नुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ तिनीहरूकै निम्ति मात्र हुन्छ, अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्वर सदासर्वदा स्वार्थरहित हुनुहुन्छ। परमेश्वर सबै इन्साफ, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै अदलबदल गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि परिस्थितिमा इन्साफलाई धोका दिएर परमेश्वरदेखि टाढा जान सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ
५८२. उल्लङ्घनप्रतिको परमेश्वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँमा मात्रै रहेको उहाँको पहिचान र हैसियतको चित्रण हो। यो सिद्धान्त अद्वितीय परमेश्वर स्वयम्को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्वरको स्वभाव उहाँको आफ्नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा बिलकुलै परिवर्तन हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्वरलाई रिस उठाउँछ, तब परमेश्वरले जे बर्साउनुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनका कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्त्वहरू उत्पन्न हुने कारणले उहाँ रिसाउनुहुन्न, बरु उहाँ विरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्छ। मानिसले परमेश्वरलाई गर्ने खुल्ला उक्साहट परमेश्वरको आफ्नै पहिचान र हैसियतलाई गम्भीर चुनौती हो। परमेश्वरका दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्वरको विरोध गर्छ, जब मानिसले परमेश्वरसँग प्रतिस्पर्धा गर्छ, जब मानिसले निरन्तर परमेश्वरको रिसको परीक्षा लिन्छ, पापको बिगबिगी बढ्ने समय ठ्याक्कै त्यही हो—त्यस्ता समयमा, परमेश्वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्वरले आफ्नो क्रोध अभिव्यक्त गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्ने कुराको प्रतीक हो। यो परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्वरले आफ्नो क्रोध बर्साउनुहुनेछ। परमेश्वरको सारको कारणले गर्दा, परमेश्वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २