घ. यावत् थोकको जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने सम्बन्धमा

५८३. जीवनको मार्ग जोसुकै व्यक्तिसँग हुन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्‍ने कुरा नै हो। किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, अर्थात् परमेश्‍वर स्वयम्‌को स्वामित्वमा मात्रै जीवनको सार रहेको हुन्छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको मार्ग हुन्‍छ। त्यसैले, परमेश्‍वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने अनेकौँ मूल्य चुकाउनुभएको छ। किनभने परमेश्‍वर स्वयम् नै शाश्वत जीवन हुनुहुन्छ, र परमेश्‍वर स्वयम् नै मानिसलाई पुनरुत्थानित गर्न सकिने मार्ग हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै अलग हुनुहुन्‍न, र उहाँ सधैँ मानिसहरूकै माझमा जिउनुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड, र मानिसको जन्‍मपछि उसको अस्तित्वका लागि सम्‍पन्‍न संसाधन हुनुहुन्छ। उहाँले मानिसलाई पुनर्जन्‍म लिन सक्षम तुल्याउनुहुन्छ, र उहाँले उसलाई उसको हरेक भूमिकामा दृढताका साथ जिउन सक्षम तुल्याउनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवनशक्तिमा निर्भर हुँदै, मानिस पुस्तौँपुस्तासम्म जिएको छ, यस समयमा परमेश्‍वरको जीवनको शक्तिले मानिसमाझ एकनासले सहारा प्रदान गर्दै आएको छ, र परमेश्‍वरले कुनै पनि साधारण मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ। परमेश्‍वरको जीवनशक्तिले कुनै पनि शक्तिलाई विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्‍वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको शानदार चमकसाथ चम्कन्छ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्ला, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्‍वरको जीवनको अस्तित्व रहिरहनेछ, किनभने यावत् थोकहरूको अस्तित्वको स्रोत र तिनको अस्तित्वको जड परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवनको उत्पत्ति परमेश्‍वरबाटै हुन्छ, परमेश्‍वरकै कारण स्वर्ग अस्तित्वमा रहन्छ, र परमेश्‍वरको जीवनको शक्तिबाटै पृथ्वीको अस्तित्व पनि उत्पन्‍न हुन्छ। जीवनशक्ति भएको कुनै पनि कुराले परमेश्‍वरको सार्वभौमिकता उछिन्‍न सक्दैन र जीवन्तता भएको कुनै पनि कुरा परमेश्‍वरको अख्तियारको दायराबाट उम्कन सक्दैन। यसरी, चाहे तिनीहरू जोसुकै हुन्, सबै मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गर्नैपर्छ, सबै मानिस परमेश्‍वरको नियन्त्रणमा जिउनुपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

५८४. परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभएदेखि नै, ती सबै चिजहरू उहाँले तय गर्नुभएका व्यवस्थाका आधारमा काम गरिरहेका छन् र अघि बढिरहेका छन्। परमेश्‍वरको नजरमुनि र उहाँको सार्वभौमिकतामुनि, यावत् थोकहरू मानिसको अस्तित्वसँग समानान्तर भई व्यवस्थित रूपमा निरन्तर विकसित हुँदै आएका छन्। यी व्यवस्थाहरू परिवर्तन गर्न वा नष्ट गर्न सक्ने कोही छैन। परमेश्‍वरका सार्वभौमिकताका कारण सबै प्राणीहरू वृद्धि हुन सक्छन्, र उहाँकै सार्वभौमिकता र व्यवस्थापनका कारण सबै प्राणीहरू बाँच्न सक्छन्। त्यसैले, परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत सबै प्राणीहरू व्यवस्थित रूपमा अस्तित्वमा आउँछन्, तिनीहरूको वृद्धि-विकास हुन्छ, हराएर जान्छन्, र तिनीहरूको पुनर्जन्म हुन्छ। जब वसन्त ऋतुको आगमन हुन्छ तब झरीले स्वच्छ मौसमको अनुभूति गराउँछ र धर्तीलाई भिजाउँछ। जमिन नरम हुन थाल्छ, र जमिनबाट घाँस उम्रिन थाल्छ र बिस्तारै-बिस्तारै रूखहरू हरिया हुँदै जान्छन्। यी हरेक जीवित प्राणीहरूले पृथ्वीमा स्वच्छ नयाँ जीवनशक्ति ल्याउँछन्। जब सबै प्राणीहरू अस्तित्वमा आउँछन् र तिनीहरूको वृद्धि-विकास हुँदै जान्छ तब यस्तै देखिन्छ। वसन्तको न्यानो अनुभव गर्न र नयाँ वर्षको शुभारम्भ गर्न सबै प्रकारका जनावरहरू आ—आफ्नो आश्रय स्थलबाट बाहिर निस्कन्छन्। सबै प्राणीहरू ग्रीष्म ऋतुको न्यानो ताप्छन् र यस ऋतुको न्यानोपनमा आनन्दित हुन्छन्। तिनीहरू द्रुत गतिमा बढ्छन्। रूखहरू, घाँस र सबै प्रकारका बोट-बिरुवाहरू तीव्र गतिमा बढ्छन् र अन्त्यमा तिनीहरू फुल्छन् र फल दिन्छन्। ग्रीष्म ऋतुमा मानवसहित सबै प्राणीहरू निकै व्यस्त रहन्छन्। वर्षा ऋतुमा वर्षातले शरद ऋतुको शीतलतालाई स्वागत गर्न थाल्छ अनि सबै प्रकारका जीवित प्राणीहरूले अन्नबाली भित्र्याउने समयको आगमनको अनुभूति गर्न थाल्छन्। हरेक वनस्पतिमा फल लाग्न थाल्छन् र मानिसहरू शिशिरको तयारीका लागि यी विभिन्न प्रकारका फलहरू भित्र्याउन थाल्छन्। शिशिर ऋतुमा सबै प्राणीहरू शान्तपनमा चुपचाप बस्नुका साथै चिसो मौसमसँगै आराम गर्न थाल्छन् र यस मौसममा मानिसहरूले पनि विश्राम लिन्छन्। वसन्तदेखि ग्रीष्म, वर्षातदेखि शिशिर हरेक ऋतुहरूका यी सबै परिवर्तनहरू परमेश्‍वरद्वारा स्थापित नियमअनुसार भइरहन्छन्। उहाँले हरेक चीजको नेतृत्व गर्नुहुन्छ। यी नियमहरूको प्रयोग गर्दै उहाँले सबै कुराहरूलाई साथै मानवजातिलाई नेतृत्व गर्नुहुन्छ र तापक्रम र मौसमअनुसार फरक रहेको वातावरणलाई अस्तित्वको लागि तयार गर्दै, मानव जातिका लागि एक सम्पन्न र रङ्गीन जीवन मार्ग तयार गर्नुभएको छ। यसकारण अस्तित्वका लागि निर्मित यस प्रकारको वातावरणमा मानव जाति व्यवस्थित रूपमा बाँच्न र आफ्नो वंश विकास गर्न सक्षम हुन्छ। कुनै पनि व्यक्तिले यी व्यवस्थाहरू परिवर्तन गर्न सक्दैन, न त कुनै व्यक्ति वा प्राणीले ती उल्‍लङ्घन गर्न नै सक्छ। संसारमा अनगिन्ती परिवर्तनहरू आएका छन्। समुन्द्रहरू मैदान भएका छन् भने मैदानहरू समुन्द्रमा परिणत भएका छन्। तथापि यी नियमहरू निरन्तर लागू भइरहेका छन्। यी नियमहरू अस्तित्वमा छन् किनभने परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, र उहाँको सार्वभौमिकता र उहाँको व्यवस्थापनका कारण सबै चीज अस्तित्वमा छन्। यस प्रकारको क्रमबद्ध र वृहत् वातावरणमा यी नियम र शासनसँगै मानव जीवन अगाडि बढिरहन्छ। यी नियमहरूका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता चलेका थिए र यिनै नियमका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता अस्तित्वमा रहेका छन्। मानिसले बाँच्नका लागि यो व्यवस्थित वातावरणका साथै परमेश्‍वरद्वारा सृजित सबै थोकहरूको आनन्द पुस्तौँ-पुस्तादेखि लिइरहेका छन्। मानिसहरूलाई यस प्रकारका नियमहरू जन्मजात बनेका हुन् भन्‍ने महसुस भए पनि र तिनीहरूले यिनहरूलाई निन्दा गरे पनि, र तिनीहरूलाई परमेश्‍वरले यी व्यवस्थाहरू योजनाबद्ध गरिरहनुभएको छ, यी व्यवस्थाहरूमाथि परमेश्‍वरले सार्वभौमिकता राखिरहनुभएको छ भन्‍ने महसुस नभए पनि, जे भए पनि, परमेश्‍वर यस अपरिवर्तनीय कार्यमा लागिरहनुभएको हुन्छ। यस अपरिवर्तनीय कार्यमा उहाँको उद्देश्य भनेको मानव जातिको अस्तित्वको रक्षा गर्नु हो ता कि मानव जाति सँधैभरि बाँचिरहोस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

५८५. परमेश्‍वरले यावत् थोक सञ्‍चालन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले यावत् थोकको अस्तित्वमाथि शासन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले सबै कुराहरू नियन्त्रण गर्नुहुन्छ, र ती कुराहरूलाई परस्पर मजबुतीकरण र निर्भरता हुने गरी मिलाउनुहुन्छ, ताकि तिनीहरू नष्ट वा लोप नहोऊन्। यसरी मात्रै मानवजाति बाँचिरहन सक्छ; यसरी मात्रै तिनीहरू परमेश्‍वरको मार्गनिर्देशनमा रही यस्तो वातावरणमा बाँचिरहन सक्छन्। परमेश्‍वर यी सबै कुराहरू सञ्‍चालन गर्ने नियमहरूको सार्वभौम हुनुहुन्छ, र कसैले पनि यी नियमहरूमा हस्तक्षेप गर्न सक्दैन, न त यी नियमहरूलाई परिवर्तन नै गर्न सक्छ। यी नियमहरू परमेश्‍वरलाई मात्रै थाहा छ, र परमेश्‍वरले मात्रै यी नियमहरूको व्यवस्थापन गर्नुहुन्छ। रूखहरू कहिले उम्रन्छन्; वर्षा कहिले हुन्छ; पृथ्वीले बोटबिरुवालाई कति पानी र कति पोषक तत्त्वहरू दिन्छ; कुन ऋतुमा पातहरू झर्छन्; रूखहरूले कुन ऋतुमा फल दिन्छन्; सूर्यको किरणले रूखहरूलाई कति पोषण दिन्छ; सूर्यको किरण पाइसकेपछि रूखहरूले सासको रूपमा के छोड्छन्—यी सबै कुराहरू परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा नै कसैले पनि तोड्न नसक्‍ने नियमहरूको रूपमा पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्‍वरले सृष्टि गर्नुभएका ती सबै कुराहरू जीवित भए पनि, वा मानिसको नजरमा, निर्जीव भए पनि, उहाँकै हातमा छन्, उहाँले नै तिनीहरूलाई नियन्त्रण गर्नुहुन्छ र तिनीहरूमाथि सार्वभौमिकता राख्नुहुन्छ। कसैले पनि यी नियमहरू परिवर्तन गर्न वा तोड्न सक्दैन। यसो भन्‍नुको अर्थ, जब परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो, तब उहाँले पृथ्वीविना रूखले जरा हाल्न, उम्रन र बढ्न सक्दैन; यदि पृथ्वीमा कुनै रूखहरू छैनन् भने पृथ्वी सुक्खा हुन्छ; रूख चराहरूका लागि घर र तिनीहरूले हावाहुरीबाट बच्न आश्रय लिन सक्‍ने ठाउँ हुनुपर्छ भन्‍ने कुरा पूर्वनिर्धारित गर्नुभयो। के पृथ्वीबिना रूख बाँच्न सक्छ? अवश्य सक्दैन। के यो घाम र पानीबिना बाँच्न सक्छ? यीबिना पनि बाँच्न सक्दैन। यी सबै चिजहरू मानवजातिका लागि हुन्, मानवजातिको अस्तित्वका लागि हुन्। रूखबाट मानिसले ताजा हावा प्राप्त गर्छ, र पृथ्वीमा मानिस बस्छ, अनि पृथ्वीलाई रूखले रक्षा गर्छ। मानिस सूर्यको किरण वा विभिन्‍न जीवित प्राणीहरूविना बाँच्न सक्दैन। यी सम्बन्धहरू जटिल भए तापनि, तैँले याद राख्‍नुपर्छ: एकअर्कालाई मजबुत बनाउनु, एकआपसमा निर्भर हुनु, र सँगै अस्तित्वमा रहनु नै परमेश्वरद्वारा सृष्टि गरिएका यावत् थोकप्रतिको नियम हो। अर्को शब्दमा भन्‍नुपर्दा, उहाँले सृष्टि गर्नुभएका प्रत्येक चीजको अस्तित्वमा मूल्य र महत्त्व छ। यदि परमेश्‍वरले कुनै महत्त्वहीन चीजको सृष्टि गर्नुभएको भए, उहाँले उक्त चीजलाई लुप्त बनाइदिनुहुनेथ्यो। परमेश्‍वरले सबै चीजहरूका लागि प्रबन्ध गर्ने तरिकाहरू मध्येको एक यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

५८६. परमेश्‍वरले सबै थोक सृजनुभयो उहाँले तिनीहरूलाई सन्तुलनमा ल्याउनको निम्ति अर्थात् पहाड-पर्वत र ताल-तलैयाको, बोट बिरुवा र सबै किसिमका जीवजन्तु, चरा-चुरुङ्गी र कीरा-फट्याङ्ग्राहरूको जीवनको अवस्थालाई सन्तुलनमा राख्‍नको निम्ति सबै किसिमका विधि र तरिकाहरूको प्रयोग गर्नुभयो। उहाँले स्थापना गर्नुभएको व्यवस्थाको अधीनमा रहेर सबै किसिमका जीवित प्राणीहरूलाई जिउन र वृद्धि हुन दिनु उहाँको लक्ष्य थियो। सृष्टिका कुनै पनि थोकहरू यी व्यवस्था बाहिर जान सक्दैनन् र व्यवस्थालाई तोड्न सकिँदैन। यस आधारभूत किसिमको वातावरणमा मात्र मानव पुस्तादेखि पुस्तासम्म सुरक्षितसाथ बाँच्‍न र वृद्धि हुन सक्छन्। यदि कुनै जीवित प्राणी परमेश्‍वरले स्थापित गर्नुभएको परिमाण वा क्षेत्रदेखि बाहिर जान्छ वा यदि यसले उहाँले तोक्‍नुभएको वृद्धि दर, प्रजनन आवृत्ति वा सङ्ख्यालाई नाघ्छ भने मानवजातिको अस्तित्वको वातावरण विनाशका विभिन्‍न हदहरूले ग्रसित हुनेछ। साथै, मानवजातिको अस्तित्व जोखिममा पर्नेछ। यदि एक किसिमको जीवित प्राणी सङ्ख्यामा अत्यन्तै धेरै छ भने यसले मानिसहरूको खाना लुट्नेछ, मानिसहरूको पानीको स्रोतहरू नष्ट गर्नेछ र तिनीहरूको मातृ-भूमिलाई बरबाद पार्नेछ। त्यसरी, मानवजातिको प्रजनन वा अस्तित्वको अवस्था तत्कालै प्रभावित हुनेछ। … यदि एक किसिमको वा अनेक किसिमका जीवित प्राणीहरूले तिनीहरूको उचित सङ्ख्या पार गरे भने हावा, तापक्रम, आर्द्रता र मानवजाति बाँच्‍ने ठाउँभित्रको हावाको संयोजन विभिन्‍न हदले विषाक्त र नष्ट हुनेछ। यी परिस्थितिहरूमा मानवहरूको अस्तित्व र नियति पनि यी पर्यावरणीय कारकहरूद्वारा उत्पन्न खतरामा पर्नेछ। यसैले, यी सन्तुलनहरू गुमे भने मानिसहरूले सास फेर्ने हावा बरबाद हुनेछ, तिनीहरूले पिउने पानी दूषित हुनेछ र तिनीहरूको लागि आवश्यक पर्ने तापक्रमहरू पनि परिवर्तन हुनेछ र विभिन्‍न हदहरूमा प्रभावित हुनेछ। यदि त्यसो भयो भने स्वभाविक रूपमा मानवजातिको अधीनमा रहेको बाँच्‍ने वातावरणहरूमाथि ठूला प्रभाव र चुनौतीहरू आइपर्नेछन्। मानवहरूको अस्तित्वका आधारभूत वातावरणहरू नष्ट पारिएको यस्तो किसिमको परिदृष्यमा मानवजातिको नियति र सम्भावनाहरू के होलान् त? यो एकदमै गम्भीर समस्या हो! सृष्टिका हरेक थोकहरू मानवजातिको निम्ति के कारणले अस्तित्वमा छन्, उहाँले सृष्टि गर्नुभएका हरप्रकारका वस्तुहरूको के भूमिका छ, हरेक वस्तुको मानवजातिमा कस्तो किसिमको प्रभाव हुन्छ र यसले मानवजातिलाई कुन हदसम्म फाइदा दिन्छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा भएकोले, परमेश्‍वरको हृदयमा यो सबैको योजना भएकोले र उहाँले सृष्टि गर्नुभएका सबै थोकहरूका हरेक पक्षहरूको व्यवस्थापन उहाँले गर्नुहुने भएकोले, उहाँले गर्नुहुने हरेक कुरा मानवजातिको निम्ति धेरै महत्त्वपूर्ण र आवश्यक छन्। यसैले अब उप्रान्त जब-जब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूको बीचमा केही पर्यावरणीय घटनाहरू देख्छस् वा परमेश्‍वरले सृष्टि गर्नुभएका थोकहरूको बीचमा केही प्राकृतिक नियमले काम गरेको देख्छस्, तब-तब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएको हरेक थोकको आवश्यकताको बारेमा कुनै पनि शङ्का गर्नेछैनस्। तैँले परमेश्‍वरको सबै थोकहरूको प्रबन्ध र मानवजातिको निम्ति उपलब्ध गराउने उहाँका विविध तरिकाहरूको बारेमा अबउप्रान्त मनमानी निर्णयहरू गर्न अनभिज्ञ शब्दहरू प्रयोग गर्नेछैनस्। न त तँ परमेश्‍वरका सृष्टिका सबै थोकहरूको निम्ति उहाँका व्यवस्थाहरूको बारेमा मनमानी निष्कर्षहरूमा नै पुग्‍ने छस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

५८७. यदि सृष्टिका सबै थोकले तिनीहरूका आफ्ना नियमहरू गुमाए भने, तिनीहरूको अस्तित्व नै रहनेथिएन; यदि सबै थोकका नियमहरू हराए भने, सबै थोकका बीचमा जिउने प्राणीहरू पनि निरन्तर रहनेथिएनन्। मानवजातिले आफ्नो अस्तित्वको निम्ति भर परेको वातावरण पनि गुमाउनेथियो। यदि मानवजातिले ती सबै कुराहरू गुमाए भने, तिनीहरूले अहिले गरे जसरी निरन्तर रूपमा पुस्तादेखि पुस्तासम्म फस्टाउन र वृद्धि हुन सक्‍नेथिएनन्। परमेश्‍वरले तिनीहरूको पालनपोषण अर्थात् मानवजातिलाई फरक तरिकाले पालनपोषण गर्नको निम्ति सृष्टिका सबै थोक आपूर्ति गरिदिनुभएको कारण मानवजाति अहिलेसम्म जीवित रहेका हुन्। परमेश्‍वरले विभिन्न तरिकाले मानवजातिको पालनपोषण गर्नुभएको कारणले नै मानवजाति अहिलेको वर्तमान समयसम्म जीवित रहेको हो। जीवित रहनको निम्ति निश्चित अनुकूल वातावरण र प्राकृतिक नियमहरू असल क्रममा भएको कारण, पृथ्वीका सबै किसिमका मानिसहरू, सबै किसिमका जातिहरू तोकिएको क्षेत्रहरूमा जीवित रहन सक्छन्। कोही पनि यी क्षेत्रहरू वा तिनीहरूका बीचमा भएका सीमाहरूबाट बाहिर जान सक्दैन, किनकि तिनलाई तय गर्ने परमेश्‍वर नै हुनुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

५८८. आत्मिक क्षेत्र एक महत्त्वपूर्ण स्थान हो, जुन भौतिक संसारभन्दा फरक छ। यो महत्त्वपूर्ण छ भनेर म किन भन्छु त? हामी यसको बारेमा विस्तृत रूपमा छलफल गर्दैछौं। आत्मिक क्षेत्रको अस्तित्व अपरिहार्य रूपमा नै मानवजातिको भौतिक संसारसँग जोडिएको छ। यसले यावत् थोकमाथिको परमेश्‍वरको प्रभुत्वमा मानव जीवन र मृत्युको चक्रमा मुख्य भूमिका निर्वाह गर्छ; यसको भूमिका यही हो, र यसको अस्तित्व महत्त्वपूर्ण हुनुको एउटा कारण यही हो। यो पञ्‍च-इन्द्रियहरूले अनुभूति गर्न नसक्‍ने स्थान भएको हुनाले, आत्मिक क्षेत्र अस्तित्वमा छ कि छैन भन्‍ने कुरालाई कसैले पनि सटीक रूपमा मूल्याङ्कन गर्न सक्दैन। यसका विभिन्‍न पक्षहरू मानव अस्तित्वसँग घनिष्ठ रूपले जोडिएका हुन्छन्, जसको परिणामस्वरूप मानवजातिको जीवनक्रमलाई आत्मिक क्षेत्रले वृहत् प्रभाव पार्छ। यसमा परमेश्‍वरको सार्वभौमिकता संलग्‍न हुन्छ कि हुँदैन त? हुन्छ। जब म यसो भन्छु, तब तैँले यो विषयमा मैले किन छलफल गरिरहेको छु सो बुझ्छस्: किनभने यो परमेश्‍वरको सार्वभौमिकता, साथै उहाँको प्रशासनसँग सम्‍बन्धित छ। यस्तो संसारमा—मानिसहरूका लागि अदृश्य रहेको संसारमा—यसको हरेक स्वर्गीय उर्दी, आदेश, र प्रशासन प्रणाली भौतिक संसारको जुनसुकै राष्ट्रका कानूनहरू र प्रणालीहरूभन्दा निकै माथि हुन्छन्, र तिनलाई यो संसारमा जिउने कुनै पनि प्राणीले अवहेलना वा उल्‍लङ्घन गर्ने आँट गर्दैन। के यो परमेश्‍वरको सार्वभौमिकता र प्रशासनसँग सम्‍बन्धित छ त? आत्मिक क्षेत्रमा, स्पष्ट प्रशासनिक आदेशहरू, स्पष्ट स्वर्गीय उर्दीहरू, र स्पष्ट विधानहरू हुन्छन्। फरक-फरक स्तर र फरक-फरक क्षेत्रमा सहभागीहरूले आफ्‍ना कर्तव्यहरू कठोरताका साथ पालन गर्छन् र नीति र नियमहरूको पालन गर्छन्, किनभने स्वर्गीय उर्दीको उल्‍लङ्घन गर्दा हुने परिणाम के हुन्छ सो तिनीहरूलाई थाहा छ; परमेश्‍वरले कसरी दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुन्छ, अनि कसरी उहाँले सबै थोकमाथि प्रशासन चलाउनुहुन्छ र शासन गर्नुहुन्छ सो तिनीहरूलाई स्पष्ट रूपमै थाहा छ। यसको साथै, तिनीहरूले कसरी उहाँले आफ्‍ना स्वर्गीय उर्दीहरू र विधानहरूलाई कार्यान्वयन गर्नुहुन्छ सो स्पष्ट रूपमै देख्छन्। के यी मानवजातिले वास गर्ने भौतिक संसारभन्दा फरक छन् त? तिनीहरू वास्तवमा अत्यन्तै फरक छन्। आत्मिक क्षेत्र भौतिक संसारभन्दा पूर्ण रूपमा फरक संसार हो। स्वर्गीय अध्यादेश र विधानहरू हुने भएकाले, यसले परमेश्‍वरको सार्वभौमिकता, प्रशासनलाई यसको अतिरिक्त उहाँको स्वभाव साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई समावेश गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

५८९. परमेश्वरले आत्मिक क्षेत्रमा विभिन्‍न स्वर्गीय उर्दीहरू, आदेशहरू, र प्रणालीहरूको स्थापना गर्नुभएको छ, र यिनको घोषणा भइसकेपछि, तिनलाई परमेश्‍वरले तय गर्नुभएअनुसार नै आत्मिक क्षेत्रका विभिन्‍न आधिकारिक पदहरूमा भएका प्राणीहरूले कठोर रूपमा पालन गर्छन्, र कसैले पनि तिनलाई उल्‍लङ्घन गर्ने आँट गर्दैनन्। त्यसकारण, मानिसको संसारमा मानवजातिको जीवन र मृत्युको चक्रमा, पशु-प्राणी वा मानिस, जुनसुकै रूपमा कुनै व्यक्तिको पुनर्जन्‍म भए पनि, दुवैका लागि नियमहरू छन्। यी नियमहरू परमेश्‍वरबाट आउने हुनाले, तिनलाई तोड्ने आँट कसैले पनि गर्दैन, न त कसैले तिनलाई तोड्न नै सक्छ। परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा, अनि त्यस्ता नियमहरू अस्तित्वमा भएको हुनाले मात्रै, मानिसहरूले देख्‍ने भौतिक संसार नियमित र सुव्यवस्थित छ; परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा मात्रै मानिसहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अदृश्य रहेको अर्को संसारसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छन्, र यससँग सदभावमा जिउन सक्छन्—जसमध्ये कुनैलाई पनि परमेश्‍वरको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन। व्यक्तिको देहीय जीवन मरिसकेपछि पनि प्राणसँग अझै जीवन हुन्छ, त्यसैले यो परमेश्‍वरको प्रशासनको अधीनमा नभएको भए यसलाई के हुनेथियो? उक्त प्राण जहाँसुकै घुसपैठ गर्दै जताततै भौँतारिनेथियो, अनि मानव संसारका जीवित कुराहरूलाई हानि समेत गर्नेथियो। त्यस्तो हानि मानवजातिलाई मात्र होइन, वनस्पति र पशु-प्राणीलाई पनि हुनेथियो—तैपनि, हानि गरिने पहिलो कुरा मानिसहरू नै हुनेथिए। यस्तो भएको भए—यदि त्यस्तो प्राण प्रशासनविना भएको भए, त्यसले साँच्‍चै मानिसहरूलाई हानि गरेको भए, र वास्तवमै दुष्ट कुराहरू गरेको भए—यो प्राणलाई पनि आत्मिक क्षेत्रमा उचित रूपमा सम्‍हालिनेथियो। यदि अवस्था गम्‍भीर हुन्थ्यो भने, उक्त प्राण चाँडै नै अस्तित्व विहीन हुनेथियो, र यसलाई नष्ट गरिनेथियो। सम्‍भव भए, यसलाई कतै राखिनेथियो र त्यसपछि पुनर्जन्‍म गराइनेथियो। भन्‍नुको अर्थ, आत्मिक क्षेत्रले विभिन्‍न प्राणहरूलाई गर्ने सञ्चालन सुव्यवस्थित हुन्छ र यस्तो प्रशासनलाई चरणहरू र नियमहरू अनुरूप कार्यान्वयन गरिन्छ। यस्तो प्रशासनको कारणले गर्दा नै मानिसको भौतिक संसार विश्रृंखलतामा परेको छैन, भौतिक संसारका मानिसहरूमा सामान्य मानसिकता, सामान्य चेतना, र व्यवस्थित देहीय जीवन छ। मानिसमा त्यस्तो सामान्य जीवन भएपछि मात्रै देहमा जिउनेहरू पुस्तौँपुस्तासम्‍म निरन्तर उन्‍नति गर्न र वृद्धि-विकास गर्न सक्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

५९०. जीवित प्राणीको मृत्युले—भौतिक जीवनको समाप्तिले—जीवित प्राणी भौतिक संसारबाट आत्मिक क्षेत्रमा गएको छ भन्‍ने देखाउँछ, नयाँ भौतिक जीवनको जन्‍मले जीवित प्राणी आत्मिक क्षेत्रबाट भौतिक संसारमा आएको छ र यसले आफ्‍नो भूमिका स्वीकार गरी निर्वाह गर्न सुरु गरेको छ भन्‍ने देखाउँछ। चाहे यो प्राणीको प्रस्थान वा आगमन जे भए तापनि, यी दुवैलाई आत्मिक क्षेत्रको कार्यबाट अलग गर्न सकिँदैन। कुनै व्यक्ति भौतिक संसारमा आइपुग्दासम्‍म, त्यो व्यक्ति कुन परिवारमा जानेछ, कुन युगमा तिनीहरू आइपुग्‍नेछन्, कुन घडीमा तिनीहरू आइपुग्‍नेछन्, अनि तिनीहरूले निर्वाह गर्ने भूमिका जस्ता उचित बन्दोबस्तहरू र परिभाषाहरू परमेश्‍वरले आत्मिक क्षेत्रमा पहिले नै तयार गरिसक्‍नुभएको हुन्छ। त्यसो भएको हुनाले, यो व्यक्तिको सम्पूर्ण जीवन—तिनीहरूले गर्ने कुराहरू, र तिनीहरूले लिने मार्गहरू—अलिकति पनि तलमाथि नभईकन आत्मिक क्षेत्रमा गरिएका बन्दोबस्तहरू अनुसार नै अघि बढ्नेछन्। यसको साथै, भौतिक जीवन समाप्त हुने समय र यो अन्त्य हुने तरिका र स्थान आत्मिक क्षेत्रमा स्पष्ट र पत्ता लगाउन सकिने हुन्छ। भौतिक संसारमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ, र उहाँले आत्मिक क्षेत्रमाथि पनि शासन गर्नुहुन्छ, अनि उहाँले प्राणको जीवन र मृत्युको सामान्य चक्रमा ढिलाइ गर्नुहुनेछैन, न त उहाँले त्यस चक्रका बन्दोबस्तहरूमा कहिल्यै कुनै गल्तीहरू नै गर्न सक्‍नुहुन्छ। आत्मिक क्षेत्रका आधिकारिक पदहरू धारण गर्नेहरूले आफ्‍ना व्यक्तिगत कार्यहरू गर्छन्, अनि परमेश्‍वरका निर्देशनहरू र नियमहरूअनुसार तिनीहरूले आफूले गर्नुपर्ने काम गर्छन्। तसर्थ, मानवजातिको संसारमा मानिसले हेर्ने हरेक भौतिक घटनाक्रम व्यवस्थित हुन्छन्, र त्यसमा कुनै भद्रगोल अवस्था हुँदैन। यो सबै परमेश्‍वरले सबै थोकमाथि गर्नुहुने सुव्यवस्थित शासनको कारण, साथै उहाँको अख्‍तियारले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यले गर्दा भएको हो। उहाँको प्रभुत्वमा मानिस जिउने भौतिक संसार, साथै मानवजातिभन्दा पछाडि रहेको अदृश्य आत्मिक क्षेत्र पनि समावेश छ। त्यसकारण, यदि मानिसले असल जीवन पाउने चाहना गर्छ, र देख्‍न सकिने सम्पूर्ण भौतिक संसार आफूलाई प्रदान गरिएको चाहना गर्नुका साथै राम्रो परिवेशमा जिउने आशा गर्छ भने, तिनीहरूलाई आत्मिक क्षेत्र पनि प्रदान गरिनुपर्छ जसलाई कसैले पनि देख्‍न सक्दैन, जसले मानवजातिको पक्षमा हरेक जीवित प्राणीमाथि शासन गर्छ र जुन सुव्यवस्थित छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

५९१. तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्‍माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्‍वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्‍वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यो सब कुरामा विश्‍वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्‍वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्‍वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

५९२. परमेश्‍वरले यो संसार सृष्‍टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्‍वरको निर्धारणभित्र बाँच्न लेखिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सास नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म अड्याउँछ। यस प्रक्रियाका अवधिमा, मानिस परमेश्‍वरको हेरचाहअन्तर्गत नै बाँचिरहेको र हुर्किरहेको छ भन्‍ने कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्किरहेको हुन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले निर्देशन गर्छ भन्‍ने विश्‍वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिसले उसको जीवन उसलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्‍ने जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्‍ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्‍ने मात्र ऊ जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्‍वरले दिनरात हेरचाह गर्नुहुने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्‍वर आफूले योजना बनाएअनुसार, मानिसमा काम गर्न मात्र जारी राख्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्‍वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्यलाई, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र तृष्णा गर्नुहुन्छ, त्यसलाई महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्‍वर यसो गर्नुहुन्छ। …

यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्‍वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। यद्यपि यो मार्ग र चक्र त्यो खास तथ्य हो जुन मानिसले हेरोस् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ: परमेश्‍वरले मानिसलाई दिनुभएको जीवन अन्तहीन छ, भौतिकता, समय वा स्थानद्वारा बाधा नपुग्ने किसिमको छ। परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्‍ने कुराको प्रमाण हो। धेरैले मानिसको जीवन परमेश्‍वरबाट आएको हो भनी विश्‍वास नगरे पनि र तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई चाहे स्वीकार गरे पनि वा इन्कार गरे पनि मानिसले अनिवार्य रूपमा परमेश्‍वरबाट आएका कुराहरूको उपभोग गर्दछ। यदि परमेश्‍वरले एक दिन अचानक हृदय परिवर्तन गर्नुभयो र संसारमा भएका सबै फेरि प्राप्त गर्ने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने कोही पनि रहनेछैन। परमेश्‍वरले जीवित र निर्जीव सबै कुराहरूको लागि आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको शक्ति र अधिकारको सद्गुणद्वारा सबै थोकलाई असल क्रममा राख्नुहुन्छ। यो त्यस्तो तथ्य हो जुन कसैले पनि कल्पना गर्न वा बुझ्न सक्दैन, र यी बुझ्न नसकिने तथ्यहरू नै परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्‍वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि सिर्जित प्राणीका लागि बुझ्न नसकिने छ। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सारा प्राणीहरूको जीवनको स्रोत परमेश्‍वरबाट आउँदछ, चाहे ती रूप वा ढाँचामा जतिसुकै फरक होऊन्, र तँ जस्तो प्रकारको जीवित प्राणी भए पनि, कुनै प्राणी परमेश्‍वरद्वारा तोकिएको जीवन मार्गविरुद्ध जान सक्दैन। जसरी भए पनि, मानिसले यो बुझोस् भन्‍ने म चाहन्छु: परमेश्‍वरको वास्ता, सुरक्षा र प्रबन्धविना मानिसले जति नै कोसिस गरे पनि वा जति नै कठिन संघर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुराहरू प्राप्त गर्न सक्दैन। परमेश्‍वरबाट जीवनको आपूर्ति भएन भने, मानिसले जिउनुको मूल्य र जीवनको अर्थलाई गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्‍वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्‍वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्‍ने कुरालाई नबिर्सी।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

५९३. यावत् थोकमाथि सार्वभौम हुनुहुने र यावत् थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, र अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ; साथसाथै अस्तित्वमा भएका यावत् थोकमाथि उहाँ नै सार्वभौम हुनुहुन्छ, र अस्तित्वमा भएका यावत् थोकलाई उहाँले नै आपूर्ति गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। यावत् थोक र अस्तित्वमा रहेका सबै कुराका लागि, परमेश्‍वरको साँचो पहिचान भनेको यावत् थोकको सृष्टिकर्ता र सार्वभौम हो। परमेश्‍वरसँग भएको पहिचान यही हो, जुन यावत् थोकका बीचमा अद्वितीय छ। कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक क्षेत्रमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नका लागि कुनै पनि माध्यम वा बहाना प्रयोग गर्न सक्दैनन्, किनभने यावत् थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र यावत् थोकमाथि सार्वभौम हुने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ यावत् थोकमाझ जिउनुहुन्छ र हिँड्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न पनि सक्‍नुहुन्छ। उहाँ आफैलाई विनम्र तुल्याउन र मानिस बन्‍न, देह र रगतकाहरूमध्येको एक बन्‍न, मानिसहरूको आमने-सामने आउन अनि तिनीहरूसँग खुसी र दुःख बाँड्न सक्‍नुहुन्छ, जबकि सँगसँगै उहाँले अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र अस्तित्वमा रहेका यावत् थोकको नियति र ती सबै अघि बढ्ने दिशा निर्धारण गर्नुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिलाई मार्गनिर्देशित गर्नुहुन्छ, र मानवजातिको अघि बढ्ने दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई जीवन भएका सबै मानिसहरूले आराधना गर्नुपर्छ, समर्पण गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरको डर मान्‍नु, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्नु, र तेरो भाग्यका लागि उहाँले गर्नुभएका प्रबन्धहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति, जीवन भएको कुनै पनि प्राणीको एक मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैँ आत्मिक क्षेत्रमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

५९४. मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्‍न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्‍ने कुरा देख्‍न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्‍नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्‍ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्‍ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्‍नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

अघिल्लो:  ग. परमेश्‍वरको पवित्रताको सम्बन्धमा

अर्को:  १२. राज्यको युगका संविधान, प्रशासनिक आदेश र आज्ञाहरू सम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger