च. परमेश्‍वरप्रतिको आज्ञा पालनको अभ्यास कसरी गर्ने त्यसको सम्बन्धमा

३९१. परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उहाँले उनीहरूलाई पृथ्वीमा राख्नुभयो र उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ, पछि उहाँले उनीहरूलाई मुक्ति दिनुभयो र मानवजातिका निम्ति पापबलिका रूपमा सेवा गर्नुभयो, र अन्तमा, उहाँले अझै मानवजातिलाई विजय गर्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्ति दिनुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि अन्त्यसम्म नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने हुन्छ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्‍वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्‍नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्‍वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

३९२. तैँले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैँले उहाँप्रति समर्पित हुनुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा कहिल्यै समर्पित हुनेबारे मनस्थिति अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूसामु आफूलाई सबैभन्दा उच्‍च ठान्छन् र कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पारिवारिक विरासत हो भन्‍ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचारलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षौँवर्ष, पुस्तौँपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लङ्घनीय” कर्तव्यलाई जोसका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-समर्पितहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर समर्पणता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र? मैले विजयको काम गर्नुको उद्देश्य केवल विजय गर्नको लागि विजय गर्ने होइन, बरु धार्मिकता र अधार्मिकतालाई प्रकाश पार्न, मानिसको दण्डको लागि प्रमाण जुटाउन, दुष्टलाई दोषी ठहराउनको लागि हो र यस बाहेक, जो स्वेच्छाले समर्पित हुन्छन् उनीहरूलाई सिद्ध पार्नको लागि विजय गर्नु हो। आखिरमा, सबैलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ अनि सिद्ध पारिने व्यक्तिहरूमा ती व्यक्तिहरू हुनेछन् जसका सोचहरू र विचारहरू समर्पणताले भरिपूर्ण हुन्छन्। आखिरमा पूरा गरिनुपर्ने कार्य यही हो। यस बीच, ती व्यक्तिहरू जसका हरेक कार्य विद्रोही छन्, तिनीहरूलाई दण्ड दिइनेछ र आगोमा जल्न पठाइनेछ, अनन्त श्रापको पात्र बनाइनेछ। जब त्यो समय आउँछ, ती युगौँदेखिका “महान र अदम्य नायकहरू” सबैभन्दा क्षुद्र र सबैभन्दा बढी तिरस्कृत “कमजोर र नामर्दहरू” बन्नेछन्। यसले मात्र परमेश्‍वरको धार्मिकताको हरेक पक्ष र मानिसद्वारा अनुल्लंघनीय उहाँको स्वभावलाई चित्रण गर्छ, र यसले मात्र मेरो हृदयमा भएको घृणालाई शान्त पार्छ। के यो कुरा पूर्ण रूपमा तार्किक छ भन्‍ने कुरामा तिमीहरू सहमत छैनौं र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९३. परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै समर्पित हुन्छस् तर अर्को चरणमा उहाँको कामप्रति तेरो समर्पणता कमजोर छ भने, वा तँ समर्पित हुन नै सक्दैनस् भने, परमेश्‍वरले तँलाई छाड्नुहुनेछ। यदि परमेश्‍वरले यो कदम चाल्नुहुँदा तैँले कदममा कदम मिलाउँछस् भने, परमेश्‍वरले अर्को कदम उठाउनुहुँदा पनि तैँले कदममा कदम मिलाउन जारी राख्नुपर्छ; त्यसपछि मात्र तँ पवित्र आत्माप्रति समर्पित हुने व्यक्ति हुन सक्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तँ आफ्नो समर्पणतामा अटल रहनुपर्छ। तैँले केवल आफूलाई मन लागेको बेलामा समर्पित अनि आफूलाई मन नलागेको बेलामा समर्पित नहुने गर्नु हुँदैन। यस्तो प्रकारको समर्पणलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न। यदि मैले सङ्गति गरेको नयाँ कामको गतिलाई तैँले पछ्याउन सक्दैनस् भने, र अघिल्‍ला कुराहरूमा अल्झिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुनसक्छ र? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तँ उहाँका वचनहरूप्रति समर्पित हुन्छस् वा तैँले तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैँले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो। पवित्र आत्माको कामप्रतिको तेरो समर्पणता मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्‍ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्‍ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्‍ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्‍ने देखाउँछ। तैँले सही मार्गमा हिँड्न थालेपछि, तैँले सबै कुराहरूमा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानको आधारमा आफै अनुभव लिन अघि बढ्छस् भने, त्यो अनुभव तेरो जीवनको एक हिस्सा बन्नेछ र तैँले त्यो अनुभवको आधारमा अन्य व्यक्तिहरूलाई आपूर्ति गर्न सक्नेछस्। सुगारटाइ गरेर अन्य व्यक्तिहरूलाई वचन आपूर्ति गर्नेहरू त्यस्ता व्यक्तिहरू हुन् जोसँग अनुभवहरू पटक्कै हुँदैन; तैँले तेरो आफ्नो वास्तविक अनुभव र ज्ञानको बारेमा बोल्न सुरु गर्नुअघि, अन्य व्यक्तिहरूको अन्तर्ज्ञान र ज्योतिमार्फत तैँले अभ्यासको तरिका पत्ता लगाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनको लागि ठूलो फाइदाको कुरो हुनेछ। तँ परमेश्‍वरबाट आउने सबै कुराप्रति हुँदै तैँले यसरी अनुभव गर्नुपर्छ। तैँले तेरो जीवन वृद्धि हुन सकोस् भनेर सबै कुराहरूमा परमेश्‍वरका अभिप्रायहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ र सबै कुराहरूमा पाठ सिक्नुपर्छ। त्यस्तो अभ्यासले सबैभन्दा चाँडो प्रगति हासिल हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९४. परमेश्‍वरको कामप्रतिको समर्पण यथार्थ र वास्तविक हुनुपर्छ, अनि यो समर्पणमा जिउनुपर्छ। सतही समर्पणले मात्रै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन, र आफ्नो स्वभाव परिवर्तन गर्न नखोजिकनै परमेश्‍वरका वचनहरूका सतही पक्षहरूमा मात्र समर्पित हुनु परमेश्‍वरका अभिप्रायहरू अनुसारको हुनु होइन। परमेश्‍वरप्रतिको समर्पणता र परमेश्‍वरको कामप्रतिको समर्पणता दुवै एउटै र उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्र समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुने व्यक्तिहरूलाई समर्पित मान्‍न सकिँदैन, सच्चा रूपमा समर्पित नहुने बरु बाहिरी रूपमा चापलुसी गर्ने व्यक्तिहरूलाई आज्ञाकारी मानिने त झन् कुरै नगरौं। परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुने व्यक्तिहरू सबैले परमेश्‍वरको कामबाट फाइदा लिन सक्छन् र परमेश्‍वरको काम र स्वभावको बारेमा बुझाइ हासिल गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले मात्र आफूलाई सच्चा रूपमा परमेश्‍वरप्रति समर्पित गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्छन् अनि नयाँ कामबाट तिनीहरूमा नयाँ परिवर्तन आउन सक्छ। यी व्यक्तिहरूलाई मात्र परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ, यी व्यक्तिहरूलाई मात्र सिद्ध तुल्याइन्छ, र यी व्यक्तिहरू मात्र स्वभाव परिवर्तन भएका व्यक्तिहरू हुन्। परमेश्‍वरले अनुमोदन गर्नुभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन् जो खुशीसाथ परमेश्‍वरप्रति र उहाँका वचन र कामप्रति समर्पित हुन्छन्। त्यस्ता व्यक्तिहरू मात्रै सही हुन्छन्, त्यस्ता व्यक्तिहरूले मात्रै इमान्दारीपूर्वक परमेश्‍वरलाई चाहन्छन् र इमान्दारीपूर्वक परमेश्‍वरको खोजी गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९५. परमेश्‍वर देहमा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा तिनीहरूले कल्पना गरेजस्तो दोष लाउने वा विरोध गर्ने कार्यबाट टाढा बस्‍ने कुराहरू पर्दैनन्। बरु, उहाँ मानिसहरूले उहाँका वचनहरूलाई आफू जिउने सिद्धान्तको रूपमा र आफ्नो अस्तित्वको आधारको रूपमा प्रयोग गरून्, उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा उतारून् र उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा सन्तुष्ट पारून् भन्‍ने चाहनुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरप्रति समर्पित हुन लगाउने मापदण्डको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई जनाउँछ भने, अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकतामा समर्पित हुन सक्‍नुलाई जनाउँछ। यी दुवै निरपेक्ष हुनुपर्छ। यी दुवै पक्षहरू हासिल गर्न सक्‍नेहरू सबै नै परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदय भएका व्यक्तिहरू हुन्। तिनीहरू सबै नै परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिसहरू हुन्, र तिनीहरू सबैले आफ्नै जीवनलाई प्रेम गरेझैँ परमेश्‍वरलाई प्रेम गर्छन्। …

आज देहधारी परमेश्‍वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँका अभिप्रायअनुरूप छन्। तिनीहरू केवल उहाँको कामप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरका चाहनामा सरोकार राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्‍वरका निम्ति परिस्थिति कठिन बनाउन छोड्नुपर्छ। उहाँप्रति समर्पित हुन सक्‍नेहरू तिनीहरू हुन् जो पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूको पालना गर्ने हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्‍वरले मानिसमा कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय दिन्छन् र आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राखिदिन्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकताको बारेमा नै अनावश्यक ध्यान दिन्छन्। देहधारी परमेश्‍वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्‍नुहुन्छ। स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्‍वरले नभई पृथ्वीका परमेश्‍वरले मानिसहरूलाई प्रतिज्ञा र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्‍वरलाई महान् रूपमा सम्‍मान गर्ने र पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्‍वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर स्वर्गका त्यो परमेश्‍वर अस्तित्वमा हुँदैन; पृथ्वीका परमेश्‍वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्‍ने कार्यहरू गर्नुहुन्‍न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले मेघगर्जनको माध्यमबाट बोल्‍ने वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्‍चै नै स्वर्गका परमेश्‍वरका देहधारण हुनुहुन्छ, र उहाँ वास्तवमै मानवजातिमाझ बास गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्‍ने र आफूले गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई परमेश्‍वरको रूपमा लिनु हुँदैन वा महान् रूपमा सम्‍मान गर्नु हुँदैन, अनि आफूले स्विकार्न र कल्पना गर्नै नसक्‍ने व्यक्तिलाई तुच्छ ठान्‍नु हुँदैन। यो सबै मानिसहरूको विद्रोहबाट आउँछ; यो सबै नै परमेश्‍वरप्रति मानवजातिको विरोधको स्रोत हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

३९६. परमेश्‍वरप्रति समर्पित हुने कार्यको चाबीचाँहि नयाँ ज्योति स्विकार्नु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई अभ्यास गर्न सक्नु हो। यही नै साँचो समर्पणता हो। परमेश्‍वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा समर्पित हुन नसक्नुको कारण के हो भने, तिनीहरू पहिले आएको कुराको बन्धनमा बाँधिएका हुन्छन्। पहिले आएका कुराहरूले मानिसहरूमा परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र विभिन्‍न कल्पनाहरू पैदा गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज व्यावहारिक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भए पनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भए पनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरूले सत्यतालाई लागू गर्न सक्दैनन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरप्रति समर्पित नहुने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र अवरोध पुऱ्याउने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्‍नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि समर्पित छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन। परमेश्‍वरले मानिसहरूका समर्पणताद्वारा, परमेश्‍वरको वचनलाई खाने, पिउने र यसमा आनन्द मनाउने, र तिनीहरूका कार्यद्वारा, र तिनीहरूका जीवनमा आउने दुःख र शोधनद्वारा परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्छ। यस किसिमको विश्‍वासद्वारा मात्र मानिसहरूका भित्री स्वभाव परिवर्तन हुनेछ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नेछन्। परमेश्‍वरको अनुग्रहमा बाँचेर मात्र सन्तुष्ट नभई, सक्रिय रूपमा सत्यतालाई चाहने र खोज्ने, र परमेश्‍वरद्वाराप्राप्त हुन खोज्‍ने—सचेत भएर परमेश्‍वरमा समर्पित हुनु भनेको यही नै हो र उहाँले चाहनुहुने विश्‍वास पनि यही नै हो। परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने बाहेक अरू केही कुरा नगर्ने व्यक्तिहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन। अनि तिनीहरूका समर्पणता, भक्ति, प्रेम, र धैर्यता सबै सतही मात्र हुन्छन्। परमेश्‍वरको अनुग्रहमा मात्र रमाउनेहरूले परमेश्‍वरलाई साँचो रूपमा चिन्न सक्दैनन्, अनि तिनीहरूले परमेश्‍वरलाई चिने भने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र “परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्‍वर मानिसहरूप्रति करुणामय हुनुहुन्छ” भन्‍ने जस्ता कुराहरू तिनीहरू गर्छन्। यसले मानिसको जीवनलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूले साँच्चै परमेश्‍वरलाई चिनेका छन् भन्‍ने कुरालाई पनि देखाउँदैन। जब परमेश्‍वरको वचनले तिनीहरूलाई शोधन गर्छ, वा उहाँका जाँचहरू तिनीहरूमाथि आउँछन्, मानिसहरू परमेश्‍वरप्रति समर्पित हुनसक्दैनन्—बरु, तिनीहरू शङ्कालु हुन्छन्, र पतन हुन्छन्—तब तिनीहरू अलिकति पनि समर्पित भएका हुँदैनन्। तिनीहरूभित्र, परमेश्‍वरमाथिको विश्‍वास सम्बन्धी धेरै नियमहरू र प्रतिबन्धहरू, धेरै वर्षको विश्‍वासका नतिजा स्वरूप आएका पुराना अनुभवहरू, वा बाइबलमा आधारित विभिन्न नियमहरू हुन्छन्। के यस किसिमका मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरू कसरी परमेश्‍वरमा समर्पित हुन सक्छन्? तिनीहरूका “समर्पणता” व्यक्तिगत प्राथमिकता अनुसार हुन्छन्—के परमेश्‍वरले यस किसिमको समर्पणता चाहनुहुन्छ? यो परमेश्‍वरप्रतिको समर्पणता होइन, तर नियमहरूको पालन हो। यो आफ्‍नै सन्तुष्टि र कृतज्ञता हो। यदि तँ यो परमेश्‍वरप्रति गरिएको समर्पणता हो भनी भन्छस् भने, के तैँले उहाँको निन्दा गरिरहेको हुँदैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ परमेश्‍वरमा समर्पित हुनैपर्छ

३९७. आफ्‍नो आस्थामा परमेश्‍वरमाथिको समर्पणता नखोज्नेहरू उहाँको विरोध गर्ने मानिसहरू हुन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँको वचनको तिर्खा गरून्, उहाँको वचन खाऊन् र पिऊन्, र त्यसलाई अभ्यास गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, र त्यो सब तिनीहरूले परमेश्‍वरप्रतिको समर्पणता प्राप्त गर्न सकून् भनेर हो। यदि तेरो साँचो अभिप्राय त्यही हो भने, परमेश्‍वरले तँलाई निश्चय नै उच्च बनाउनुहुनेछ, र निश्चय नै तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरमा समर्पित नहुने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भन्ने र गर्ने सबै कुराहरू—परमेश्‍वरको सामु गर्ने प्रार्थनाहरू समेत, र अझै अगाडि गैर भन्नुपर्दा, तेरा हरेक चाल—उहाँका विरोधमा हुनेछन्। तेरा शब्दहरू कोमल र तँ सहज व्यवहार गर्ने व्यक्ति भए पनि, तेरो प्रत्येक चाल र अभिव्यक्ति अरूका लागि उचित देखिए पनि, मानौँ तँ समर्पित हुने व्यक्ति होस्, तर जब परमेश्‍वरमाथिको तेरो आस्थाका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछ, तब तेरा हरेक कार्य परमेश्वरविरुद्ध हुन्छन्, त्यो दुष्टता गर्नु हो। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू, भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई खुलासा गर्नुहुनेछ र ढोँगीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ परमेश्‍वरमा समर्पित हुनैपर्छ

३९८. मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्‍ने प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यसरी तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्, र तँमा समर्पणता हुँदैन। परमेश्‍वरसँग माग गर्नु नै समझको कमी हो; यदि तँ साँच्चै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यता महसुस नै गर्नेछस्, चाहे तँलाई ती माग उचित लागून् वा नलागून्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, तैँले उहाँको मात्र आराधना गर्नेछस् र उहाँप्रति मात्रै समर्पित हुनेछस्, अरू कुनै विकल्प हुनेछैन। आज मानिसहरूले स्वैच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्‍वरलाई तिनीहरूका आफ्‍नै इच्‍छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्‍वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्‍वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि मानिसमा साँचो आस्था र बलियो विश्‍वास छैन भने, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्‍वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धेरै साँचो विश्‍वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ पनि तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, र जति धेरै स्पष्टीकरण दिन्छन्, तिनीहरूलाई सम्हाल्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरूले गुनासो गर्न थाल्छन्, र परिस्थितिलाई आशाहीन ठान्छन् र लापरवाहीपूर्वक कार्य गर्छन्। पछि तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निर्दयी उत्पीडक बनिरहेका होइनन् र? यस्ता श्रृङ्खलाबद्ध समस्याहरूलाई जराबाटै समाधान गरिनुपर्छ। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई हटाइनस् भने, यदि तँ यो हटाउन समस्यामा नपरुञ्जेल वा विपत्ति पैदा नहुञ्‍जेल पर्खन्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो त काम बिग्रेपछि मात्रै होस खुल्‍नुजस्तो हुनेछैन र? त्यसकारण, तैँले आफ्नो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो पैदा हुनेबित्तिकै हटाउन सत्यताको खोजी गरिहाल्‍नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। यदि भ्रष्ट स्वभावले व्यक्तिमा जरा हाल्छ र त्यो उसको विचार वा दृष्टिकोण बन्छ भने, यसले उसलाई दुष्कर्म गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउनु र ती हटाउन तुरुन्तै सत्यता खोज्नुसँग सम्बन्धित कुरा हुन्। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के कुराको पछि लाग्छस्, र तँ के हासिल गर्न चाहन्छस् भन्‍ने कुरा तैँले जान्‍नैपर्छ। तैँले यी कुराहरू परमेश्‍वरका अभिप्रायअनुरूप छन् कि छैनन्, र ती कसरी भ्रामक छन् भनेर हेर्न यिनलाई परमेश्‍वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तैँले यी कुराहरू बुझेपछि, आफ्नो असामान्य समझको समस्या, अर्थात् तेरो असमझदारी र निर्दयी उत्पीडनको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्रै होइन, यसमा तेरो समझको कमी पनि समावेश छ। विशेष गरी, मानिसहरूको हितको सन्दर्भमा भन्नुपर्दा, आफ्ना हितहरूद्वारा नियन्त्रित मानिसहरूमा सामान्य समझ हुँदैन। यो एक मनोवैज्ञानिक समस्या हो, र यो मानिसहरूको कमजोरीको बिन्दु पनि हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्‍चित क्षमता र केही प्रतिभा छन् भन्‍ने लाग्छ, अनि तिनीहरू सधैँ अगुवा बन्‍न र अरूभन्दा अलग देखिन चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्‍वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्‍वर कसरी मलाई कृपाको नजरले हेर्न सक्‍नुहुन्‍न र? हे परमेश्‍वर, यदि तपाईँले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईँमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हो? परमेश्‍वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्‍वरका लागि समर्पित हुने तिनीहरूको इच्‍छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरू यसैमा ध्यान लगाउँछन्। जब मानिसहरू साँच्‍चै समर्पण गर्न समर्थ हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नगर्नुभए पनि पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र आफूसँग हैसियत भए पनि नभए पनि परमेश्‍वरका लागि समर्पित हुन्छन्, तब मात्र तिनीहरूलाई समझ भएको र परमेश्‍वरप्रति समर्पणकारी बनेको मान्‍न सकिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

३९९. वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् र तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब तँसँग परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय र चाहना छ भनेर प्रदर्शन गर्न, अनि यस समर्पणको वास्तविकता प्रदर्शन गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँका अभिप्रायहरू तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिस, घटना, र कामकुराहरूमार्फत तँप्रति उहाँका श्रमसाध्य अभिप्रायहरूलाई जाँच गर्नु र बुझ्‍नु हो, तिनीहरूसित सम्बन्धित सत्यता बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, र परमेश्‍वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत, सृष्टिकर्ताले कसरी मानिसको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर अनुभव गर्नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तँ परमेश्‍वरलाई तेरा लागि सबै कुरा बन्दोबस्त गर्न र सबै कुरमाथि सार्वभौमिकता राख्न दिने सङ्कल्प गर्छस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, र तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनैपर्ने मनोवृत्ति यही हो, र यो परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत गुण पनि हो। त्यस्तो मनोवृत्ति धारण गर्नका लागि, त्यस्तो गुण प्राप्त गर्नका लागि, तिमीहरूले अझै बढी परिश्रम गर्नैपर्छ। अनि मात्र तिमीहरू साँचो वास्तविकतामा प्रवेश गर्न सक्छौ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

४००. नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरका चाहनाहरूबारे थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो, र परमेश्‍वरको वचनप्रति समर्पित हुने र त्यसलाई सुन्‍ने कार्य नै त्यो विश्वास थियो, जसले उसका कार्यलाई टेवा दिन्थ्यो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार नै समर्पण थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिले हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथियो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त समर्पण गर्‍यो, सुन्यो र त्यस बमोजिम गर्‍यो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

४०१. परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। तिनले एउटा पनि गुनासो व्यक्त नगरी सजाय र न्यायका साथै शोधन, सङ्कष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सकेका थिए। यो कुनै पनि कुराले परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु थिएन र? चाहे त्यो सजायमा होस्, न्यायमा होस् वा सङ्कष्टमा होस्, तैँले सधैँ मृत्युसम्‍मै समर्पण हासिल गर्न सक्छस्, र सृजित प्राणीले हासिल गर्नुपर्ने यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ मानकअनुरूपको सृजित प्राणी हो, र सृष्टिकर्ताका अभिप्राय त्यसले भन्दा राम्ररी पूरा अरू केहीले गर्दैन। मानौं तँ परमेश्‍वरका लागि काम गर्न सक्छस्, तर तँ परमेश्‍वरप्रति समर्पित हुँदैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहर्‍याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जो परमेश्‍वरप्रति समर्पित हुन सक्दैन, र जसले परमेश्‍वरविरुद्ध विद्रोह गर्छ। तँ परमेश्‍वरका लागि काम गर्ने बारेमा मात्रै ध्यान दिन्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍नेबारेमा ध्यान दिँदैनस्। तैँले सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, तँ सृष्टिकर्ताप्रति समर्पित हुने वा उहाँलाई प्रेम गर्ने गर्दैनस्, र तँ जन्मजातै परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। यिनै कारणहरूले गर्दा त्यस्ता मानिसहरूलाई सृष्टिकर्ताले मन पराउनुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

४०२. परमेश्‍वरको लागि गुञ्‍जायमान गवाही दिने कुरा मुख्य रूपले तँसँग व्यावहारिक परमेश्‍वरको बारेमा बुझाइ छ कि छैन र साधारण मात्र नभई सामान्य पनि रहनुभएका यस व्यक्तिमा तँ समर्पित हुन सक्छस् कि सक्दैनस्, र तँ मृत्युसम्मै समर्पित रहन सक्छस् कि सक्दैनस् भन्‍ने कुरासँग सम्बन्धित हुन्छ। यदि समर्पणद्वारा तैँले साँच्‍चै नै परमेश्‍वरको गवाही दिन्छस् भने, त्यसको अर्थ तँलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ भन्‍ने हुन्छ। यदि तँ मृत्युसम्‍मै समर्पित रहन सक्छस् र उहाँको अघि गुनासोमुक्त हुन्छस्, कुनै दोष लाउँदैनस्, कुनै निन्दा गर्दैनस्, कुनै धारणाहरू राख्दैनस् र कुनै गुप्त अभिप्रायहरू राख्दैनस् भने यस तरिकामार्फत परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। मानिसद्वारा हेला गरिएको एक सामान्य व्यक्तिको अगाडि समर्पित हुनु र कुनै धारणाहरू नराखी मृत्युसम्मै समर्पित हुन सक्‍नु नै साँचो गवाही हो। मानिसहरू जुन वास्तविकताभित्र प्रवेश गरून् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ त्‍यो भनेको उहाँका वचनहरूप्रति समर्पित हुन सक्‍ने, तिनलाई अभ्यास गर्न सक्‍ने, व्यावहारिक परमेश्‍वरअगाडि झुक्‍न र आफ्नै भ्रष्टतालाई जान्‍न सक्‍ने, उहाँको सामु आफ्नो हृदय खोल्‍न सक्‍ने र अन्त्यमा उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त गरिन सक्‍ने व्यक्ति बन् भन्‍ने हो। जब यी वाणीहरूले तँलाई जित्छन् र तँलाई पूर्ण रूपमा उहाँप्रति समर्पित बनाउँछन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसद्वारा उहाँले शैतानलाई लज्‍जित पार्नुहुन्छ र उहाँको काम पूरा गर्नुहुन्छ। जब तँमा देहधारी परमेश्‍वरको व्यावहारिकताको बारेमा कुनै धारणा हुँदैन—अर्थात्, जब तँ यो परीक्षामा दृढ भएर खडा हुन्छस्—तब तैँले यो गवाही राम्रोसँग दिएको हुन्छस्। यदि तैँले यस व्यावहारिक परमेश्‍वरलाई पूर्ण रूपमा बुझ्ने र तँ पत्रुसजस्तै मृत्युसम्म समर्पित हुन सक्‍ने दिन आउँछ भने, तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछ र सिद्ध तुल्याउनुहुनेछ। परमेश्‍वरले गर्नुहुने कुनै पनि कामकुरा तेरा धारणाहरूसँग मेल खाँदैन भने त्यो तेरो लागि परीक्षा हो। यदि परमेश्‍वरको काम तेरो विचारसँग मेल खान्थ्यो भने त्यसका निम्ति तैँले दुःख भोग्‍नु वा तँलाई शोधन गरिनु आवश्यक हुँदैनथ्यो। उहाँको काम अति व्यावहारिक र तेरा धारणाहरूअनुरूप नभएकोले तैँले ती धारणाहरूलाई छोड्नुपर्छ। त्यही कारणले गर्दा, यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले गर्दा नै सबै मानिसहरू परीक्षाहरूको माझमा छन्; उहाँको काम अलौकिक होइन, व्यावहारिक छ। कुनै पनि धारणाहरू नराखी उहाँका व्यावहारिक वचनहरू र उहाँका व्यावहारिक वाणीहरू पूर्ण रूपमा बुझेर, अनि उहाँको काम अझ बढी व्यावहारिक हुँदै जाँदा उहाँलाई साँचो रूपमा प्रेम गर्न सकेर, तँ उहाँद्वारा प्राप्त गरिनेछस्। परमेश्‍वरद्वारा प्राप्त गरिने मानिसहरूको समूह भनेको परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्; अर्थात्, तिनीहरू उहाँको व्यावहारिकताको बारेमा जान्‍ने मानिसहरू हुन्। यसबाहेक, तिनीहरू परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्‍ने मानिसहरू पनि हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

४०३. मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्‍ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्‍ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरका लागि श्रम गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलावा, उनीहरू आफ्ना खराब व्यवहारबमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूको समर्पणका योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि देखिने परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने देखिने परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा स्विकार्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने ती सबै अन्त्यमा हटाइएर नाश हुनुपर्नेछ। यसको अलावा, दृश्यमान परमेश्‍वरलाई मौखिक रूपमा स्विकार्ने, अनि उहाँद्वारा व्यक्त सत्यतालाई खाने र पिउने, तैपनि अस्पष्ट र अदृश्य परमेश्‍वरलाई पछ्याउने ती सबै, अझ बढी विनाशका पात्र हुनेछन्। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयसम्म रहन सक्छन्। शैतानका मानिसहरूले सत्यता अभ्यास गर्दैनन्; उनीहरूको सार नै परमेश्‍वरप्रतिन विद्रोहीपन र प्रतिरोधमध्ये एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

अघिल्लो:  ङ. कसरी इमानदार व्यक्ति बन्‍ने सम्बन्धमा

अर्को:  छ. आफ्‍नो कर्तव्य पर्‍याप्त रूपले कसरी पूरा गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger