छ. आफ्‍नो कर्तव्य पर्‍याप्त रूपले कसरी पूरा गर्ने सो सम्बन्धमा

४०४. मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्‍वरको आदेशका निम्ति शहीद भएकाहरूसामु हाम्रा आत्मालाई लाज लाग्नेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरसामु झन् धेरै लाज लाग्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

४०५. तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा प्राकृतिक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। यसमा, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नैपर्छ: परमेश्‍वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र उहाँले मानिसलाई देखाउनुभएको विशेष अनुग्रह, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

४०६. मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्‌हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिस बिस्तारै परिवर्तन हुन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य निर्वाह गर्न जति सक्षम हुन्छस्, त्यति नै धेरै मात्रामातैँले सत्यता प्राप्त गर्न सक्नेछस्, र तेरो अभिव्यक्ति त्यति नै व्यावहारिक हुनेछ। आफ्नो कर्तव्य निर्वाह गर्दा झारा टार्ने र सत्यता नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यता अभ्यास गर्दा आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र दुर्भाग्य भोग्छन्। तिनीहरूका अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

४०७. परमेश्‍वर मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ। अनि अवश्य नै परमेश्‍वर मानिसहरूलाई मागहरू दिनुहुन्छ, र यी मागहरू नै तिनीहरूका कर्तव्य हुन्। मानिसहरूको कर्तव्य परमेश्‍वरको काम र मानवजातिप्रतिको उहाँका मागहरूबाट आएको हो भन्‍ने कुरा स्पष्ट छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यो उसले गर्न सक्‍ने सबैभन्दा न्यायवान् कुरा हो, यो मानवजातिमाझको सबैभन्दा सुन्दर र न्यायसङ्गत कुरा हो। मानिसहरूले सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृजित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्‍वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिनीहरूले आ-आफ्‍ना जिम्‍मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्‍वरले तोक्‍नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य यो मानव संसारमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र सद्गुणी हुन्छ; मानवजातिमाझ सृजित प्राणीको कर्तव्य पूरा गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृजित व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यस समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्‍वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्‍ने, सृष्टिकर्ताले व्यक्त गरेका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरूअनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा गुञ्जायमान गवाही हो, र परमेश्‍वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृजित प्राणीले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्‍नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र त्यो प्रशंसा गरिने आख्यानका रूपमा तिनीहरूमाझ फैलाइनुपर्छ। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई सुम्पने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिका लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने सबैका लागि योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। सृष्टिकर्ताले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्‍नेहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र उहाँ तिनीहरूलाई के दिने प्रतिज्ञा गर्नुहुन्छ भन्‍ने कुरा गर्नुपर्दा, त्यो सृष्टिकर्ताको मामला हो; त्यससँग सृजित मानवजातिको कुनै सरोकार हुँदैन। यसलाई योभन्दा अलिक सरल र स्पष्ट तरिकाले भन्दा, यो परमेश्‍वरको हातको कुरा हो, र यसमा हस्तक्षेप गर्ने अधिकार मानिसहरूसँग हुँदैन। परमेश्‍वर जे दिनुहुन्छ तैँले त्यही पाउनेछस्, अनि यदि उहाँले तँलाई केही पनि दिनुभएन भने, तैँले यसबारे केही पनि भन्‍न सक्दैनस्। जब सृजित प्राणीले परमेश्‍वरको आज्ञा स्वीकार गर्छ र आफ्नो कर्तव्य निर्वाह गर्न र आफूले गर्न सक्‍ने कार्य गर्न सृष्टिकर्तासँग सहकार्य गर्छ, तब यो कुनै कारोबार वा लेनदेन होइन; मानिसहरूले मनोवृत्तिका अभिव्यक्तिहरू वा कार्य र व्यवहारहरूलाई परमेश्‍वरबाट आउने आशिष्‌हरू वा प्रतिज्ञाहरू साट्नका लागि प्रयोग गर्ने प्रयास गर्नु हुँदैन। जब सृष्टिकर्ता यो काम तिमीहरूलाई सुम्पनुहुन्छ, तब सृजित प्राणीका रूपमा, तिमीहरूले यो कर्तव्य र आज्ञा स्वीकार गर्नु सही र उचित हुन्छ। के यसमा लेनदेनको कुनै कुरा छ? (छैन।) सृष्टिकर्ता आफ्‍नो पक्षबाट तिमीहरू हरेकलाई मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू सुम्पन इच्छुक हुनुहुन्छ; अनि सृजित मानवजातिको पक्षबाट मानिसहरूले यो कर्तव्य खुसीसाथ स्वीकार गर्नुपर्छ, यसलाई आफ्नो जीवन दायित्वका रूपमा लिनुपर्छ, र यस जीवनमा आफूले जिउनुपर्ने मूल्यका रूपमा लिनुपर्छ। यहाँ कुनै लेनदेन छैन, यो बराबरको आदानप्रदान होइन, झन् यसमा मानिसहरूले कल्पना गर्ने कुनै इनाम वा अरू अभिव्यक्ति समावेश हुनु त परको कुरा हो। यो कुनै पनि हालतमा कारोबार होइन; यो मानिसहरूले कर्तव्य निर्वाह गर्दा चुकाउने मूल्य वा तिनीहरूले प्रदान गर्ने कठिन परिश्रम अर्को कुराका लागि साट्नु होइन। परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, र मानिसहरूले यस कुरालाई यसरी बुझ्नु हुँदैन। सृष्टिकर्ता मानवजातिलाई आज्ञा दिनुहुन्छ, र परमेश्‍वरले दिएको आज्ञा सृष्टिकर्ताबाट प्राप्त गरिसकेपछि, सृजित प्राणी आफ्नो कर्तव्य निर्वाह गर्न लागिपर्छ। यस मामलामा, यस प्रक्रियामा, लेनदेनको कुनै कुरा हुँदैन; यो निकै सरल र उचित कुरा हो। यो आमाबुबाले छोराछोरी जन्माएर कुनै सर्त वा गुनासोविना हुर्काएजस्तै हो। छोराछोरीले हुर्केर भोलि सन्तानी माया निभाउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराको हकमा भन्दा, तिनीहरू जन्मेको दिनदेखि तिनीहरूका आमाबुबाले त्यस्तो कुनै मापदण्ड राखेका हुँदैनन्। कुनै पनि आमाबुबाले बच्‍चा जन्माएपछि यसो भन्दैन, “यसले भविष्यमा मेरो सेवा र मेरो आदर गर्नेछ भनेर मात्रै मैले यसलाई हुर्काइरहेको छु। यदि यसले मलाई आदर गर्दैन भने, म यसलाई अहिले नै घाँटी थिचेर मारिदिन्छु।” यस्तो आमाबुबा एउटा पनि हुँदैन। त्यसकारण, आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने तरिकाबाट हेर्दा, यो एउटा दायित्व र जिम्मेवारी हो, होइन र? (हो।) आफ्ना छोराछोरी भक्त सन्तान भए नि नभए नि आमाबुबाले उसलाई हुर्काइरहनेछन्, जतिसुकै कठिनाइ भए पनि, ऊ वयस्क नभएसम्म उसलाई पालनपोषण गरिरहनेछन्, र उसको भलाइ होस् भन्‍ने कामना गरिरहनेछन्। आफ्ना छोराछोरीप्रतिको आमाबुबाको यो जिम्मेवारी र दायित्वमा कुनै सर्त वा लेनदेन हुँदैन। सम्बन्धित अनुभव भएका मानिसहरूले यो कुरा बुझ्न सक्छन्। धेरैजसो आमाबुबाले आफ्ना छोराछोरी सन्तानको धर्म निभाउने किसिमका हुन्छन् कि हुँदैनन् भन्‍नेबारे कुनै मापदण्डहरू राख्दैनन्। यदि तिनीहरूका छोराछोरी सन्तानको धर्म निभाउने किसिमका छन् भने, तिनीहरू अलिक आनन्दित हुनेछन्, र तिनीहरू वृद्धावस्थामा अलिक खुसी हुनेछन्। यदि तिनीहरूका छोराछोरी सन्तानी माया दिने किसिमका छैनन् भने, तिनीहरू त्यस कुरालाई त्यतिकै छोडिदिन्छन्। तुलनात्मक रूपमा खुला मन भएका धेरैजसो आमाबुबाले यस्तै सोच्नेछन्। समग्रमा, चाहे आमाबुबाले आफ्ना छोराछोरी हुर्काउने हकमा होस् वा छोराछोरीले आफ्ना आमाबुबालाई साथ दिने हकमा होस्, यो कुरा जिम्मेवारी र दायित्वको मामला हो, र यो कुरा व्यक्तिको अपेक्षित भूमिकाभित्र पर्छ। सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यको तुलनामा अवश्य नै यी सबै सानातिना कुराहरू हुन्, तर मानव संसारका मामलाहरूमध्ये चाहिँ यी सबैभन्दा सुन्दर र न्यायवान् कुराहरूमध्येको एक हुन्। भनिरहनु नपर्ला, यो कुरा सृजित प्राणीको आफ्नो कर्तव्य निर्वाहमा अझै बढी लागू हुन्छ। जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्‍वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्‍न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्‍न सक्षम हुन्छन्। परमेश्‍वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्‍वर तँलाई केवल एउटा कुरा स्पष्टसित देख्‍न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्‍न, न त उहाँ तँलाई तैँले सृजित प्राणीको हैसियतले आफ्नो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्‌हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँ त तँलाई शुद्ध पारिन र मुक्ति पाउन दिनुहुन्छ, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन पाउनुहुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात)

४०८. कुनै व्यक्तिले परमेश्‍वरको आज्ञा स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले समर्पण गरेको छ छैन र त्यस व्यक्तिले अभिप्रायहरू पूरा गरेको छ छैन र तिनीहरूले गरेको काम मापदण्डअनुरूप छ छैन भन्‍ने कुराको निर्णय गर्नको निम्ति परमेश्‍वरसँग मापदण्ड छ। परमेश्‍वरले मानिसको हृदयको वास्ता राख्‍नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि, जबसम्‍म तिनीहरूले केही न केही गर्छन्, परमेश्‍वरले त्यसलाई आशिष् दिनुपर्छ भन्‍ने छैन। परमेश्‍वरको बारेमा मानिसहरूमा यही गलत बुझाइ छ। परमेश्‍वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्‍न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकास क्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको समर्पण, ध्यान र तिनीहरूको हृदयमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

४०९. आफूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले सत्यता सिद्धान्तहरू खोज्‍नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू बुझ्‍नुपर्छ, सम्‍बन्धित कर्तव्यको सम्‍बन्धमा उहाँका मापदण्डहरू के-के हुन् भनेर जान्‍नुपर्छ र त्यो कर्तव्यमार्फत तैँले के हासिल गर्नुपर्छ त्यो बुझ्‍नुपर्छ। त्यसो गरेर मात्रै तैँले सिद्धान्तअनुसार आफ्‍नो काम पूरा गर्न सक्छस्। तेरो कर्तव्य पूरा गर्दा, तैँले आफ्‍ना व्यक्तिगत रुचिहरूअनुसार, तँलाई जे मन लाग्छ त्यो गर्न, तँलाई जे गर्दा खुसी लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न मिल्दैन। यसो गर्नु भनेको आफ्‍नै इच्छाअनुसार काम गर्नु हो। आफ्‍नो कर्तव्य निभाउने क्रममा, यदि तैँले आफ्‍नै व्यक्तिगत रुचिहरूमा भरोस गर्छस् र परमेश्‍वरले माग्नुभएको कुरा यही हो, र यही कुराले परमेश्‍वरलाई खुसी तुल्याउँछ भनी भन्छस् भने, र यदि तैँले जबरजस्ती परमेश्‍वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्य हुन् जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्यता सिद्धान्तहरू हुन् जस्तो गरी पालन गर्छस् भने, के त्यो गल्ती हुन्‍न र? त्यो कर्तव्य निभाउनु होइन, र यसरी निर्वाह गरिएको कर्तव्यलाई परमेश्‍वरले सम्झनुहुन्‍न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले प्रयत्न गरेको र त्यसमा आफ्नो हृदय लगाएको, आफ्नो देहको विरुद्धमा विद्रोह गरेको र कष्ट भोगेको छु भन्‍ने अनुभूति गर्छन्, त्यसोभए तिनीहरूले किन कहिल्यै सन्तुष्टिजनक रूपमा आफ्ना कर्तव्य पूरा गर्न सक्दैनन् त? परमेश्‍वर किन सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्‍वरका मागहरूलाई खोज्नुको साटो तिनीहरूका आफ्नै विचारअनुसार व्यवहार गर्नु नै तिनीहरूको गल्ती थियो—कारण यही हो। तिनीहरूले आफ्नै चाहना, रुचि, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्‍वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्‍वास गरेका थिए त्यो नै सत्य हो भन्‍ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ भन्‍ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका मापदण्ड र उहाँका वचनहरूको ठ्याक्कै विपरीत हुन जान्छ भने, तँलाई त्यो सही लागे पनि अस्वीकार्य नै हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तँलाई त्यो जति नै सही हो भन्‍ने लागे पनि त्यो सत्यतासँग मेल खानेछैन। कुनै कुरा सही वा गलत हो भन्‍ने कुरा परमेश्‍वरका वचनहरूको आधारमा निर्धारित हुनुपर्दछ। तैँले कुनै कुरालाई जत्ति नै सही ठाने पनि, परमेश्‍वरको वचनमा त्यसको आधार छैन भने, त्यो गलत नै हो र तैँले त्यो त्याग्नैपर्छ। त्यो सत्यतासँग मेल खाएमा मात्र स्वीकार्य हुन्छ, र सत्यता सिद्धान्तहरू यसरी कायम राखेमा मात्र तेरो कर्तव्यपालन मानकअनुरूप हुन सक्छ। आखिर कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्‍वरको घरको कामको भाग हो, र परमेश्‍वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्‍मेवारी र दायित्व हो। के कर्तव्य भनेको तेरो करियर हो र? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत व्यवसाय बन्छ भनेर भन्‍नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्‍न मिल्दैन। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका आवश्यक सर्तहरू, वचनहरू र मापदण्डहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यता सिद्धान्तहरूमा आधारित गरेर। केही मानिसहरू भन्छन्, “मलाई एक पटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्‍ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?” यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत कामकाज होइन, यो परमेश्‍वरको कामकाज हो, यो परमेश्‍वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्‍वरले अह्राउनुहुन्छ; परमेश्‍वरमा समर्पित हुने हृदयको साथ कर्तव्य निर्वाह गर्दा मात्र तँ मानकअनुरूपको हुनेछस्। यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूअनुसार, र तेरो आफ्नै झुकावअनुसार, आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै पनि मापदण्ड पूरा गर्नेछैनस्; आफूले चाहेजसरी मात्रै कर्तव्य निर्वाह गर्नु भनेको कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्‍वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्‍वरको घरको काम होइन; यो त तैँले आफ्नै कामकारबाही सञ्‍चालन गरिरहेको र आफ्नै कार्य अघि बढाइरहेको अवस्था हो, र त्यसैले यसलाई परमेश्‍वरले सम्झनुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ

४१०. कतिपय मानिसहरूका हकमा, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरूलाई जेसुकै समस्या आइपरे पनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र सधैँ आफ्नै विचार, धारणा, कल्पना र चाहनाहरूअनुसार काम गर्छन्। सुरुदेखि अन्त्यसम्म, तिनीहरूले आफ्नै चाहनाहरू पूरा गरिरहेका हुन्छन्, र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कार्यलाई नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्‍नो कर्तव्य गरिरहेका छन् जस्तो देखिएला, तर तिनीहरूले सत्यतालाई कहिल्यै स्वीकार नगरेका हुनाले, र तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार काम गर्न असफल भएका हुनाले, अन्ततः तिनीहरूले सत्यता र जीवन प्राप्त गर्दैनन् र तिनीहरू श्रमिक भन्नलायक बन्छन्। त्यसोभए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भर परिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा सार्वभौमिकता हासिल गरेको हुँदैन; यी कर्तव्यहरू निर्वाह गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र प्रतिभाहरू, तिनीहरूले आर्जन गरेका ज्ञानका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। अनि यस्तो अवस्थामा, के तिनीहरूले स्वीकार्य मापदण्डअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्‍छन्? जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्न आफ्‍नो प्राकृतिकता, धारणा, कल्‍पना, विशेषज्ञता, र सिकाइमा भरोसा गर्छन्, तब तिनीहरूले आफ्‍नो कर्तव्य निभाइरहेका छन्, दुष्कर्म गरिरहेका छैनन् जस्तो देखिए पनि, तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने गरी केही काम गरेका हुँदैनन्। त्यसमा बेवास्ता गर्न नमिल्‍ने अर्को समस्या पनि छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कारवाहीहरू र कर्महरू कहिले पनि सत्यता सिद्धान्तअनुसार हुँदैनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँसित कुनै जीवन प्रवेश हुनेछैन, तँ श्रमिक बन्‍नेछस्, र यसरी प्रभु येशूका यी वचनहरू पूरा हुनेछन्: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन मेहनत लगाउने र श्रम गर्ने यी मानिसहरूलाई दुष्कर्मी भन्‍नुहुन्छ? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्य वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणा, प्रोत्साहन, अभिप्राय र सोचहरू पूर्णतया तिनीहरूका आफ्नै चाहनाहरूबाट उत्पन्‍न हुन्छन्, अनि ती पूर्णतया तिनीहरूका आफ्‍नै हित र सम्‍भाव्यताहरूलाई सुरक्षित गर्नका लागि, र तिनीहरूका आफ्‍नै इज्जत र हैसियत जोगाउन, अनि तिनीहरूको आडम्बरलाई सन्तुष्ट पार्नका लागि पनि हुन्छन्। तिनीहरूका विचार र हिसाबकिताबहरू सबै यिनै कुराहरूमा केन्द्रित हुन्छन्, तिनीहरूको हृदयमा कुनै सत्यता हुँदैन, र तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने र उहाँप्रति समर्पित हुने हृदय हुँदैन। समस्याको जड यही हो। आज तिमीहरूले पछ्याउनुपर्ने महत्त्वपूर्ण कुरा के हो? सबै कुरामा, तिमीहरूले सत्यता खोजी गर्नुपर्छ, र तिमीहरूले परमेश्‍वरका अभिप्राय र परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्नुपर्छ। तिमीहरूले त्यसो गर्‍यौ भने, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछौ। त्यसो भए, परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्नका लागि विशेष रूपमा के काम गर्नुपर्छ? तिमीहरूले गर्ने हरेक कुरामा, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न, तँमा के-कस्ता मनसायहरू छन्, के-कस्ता विचारहरू छन्, अनि यी मनसाय र विचारहरू सत्यताअनुरूप छन्, छैनन् भनेर मनन गर्नुपर्छ; यदि ती सत्यताअनुरूप छैनन् भने, तिनलाई पन्छाउनुपर्छ, त्यसपछि तिमीहरूले सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ र परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ। यसले तैँले सत्यता अभ्यास गर्ने कुरा सुनिश्‍चित गर्नेछ। यदि तँसँग तेरा आफ्‍नै मनसाय र उद्देश्यहरू छन्, र तँलाई तिनले सत्यता उल्‍लङ्घन गर्छन् र ती परमेश्‍वरका अभिप्रायविपरीत छन् भन्‍ने राम्ररी थाहा छ, र पनि तैँले परमेश्‍वरलाई प्रार्थना गर्दैनस्, र समाधानका लागि सत्यता खोजी गर्दैनस् भने, यो खतरनाक कुरा हो, तैँले सहजै दुष्कर्म र परमेश्‍वरविरोधी काम गर्न सक्छस्। यदि तैँले एक-दुई पटक दुष्कर्म गरेर पश्‍चात्ताप गरिस् भने, तँसँग अझै पनि मुक्तिको आशा हुन्छ। यदि तैँले दुष्कर्म गरिरहिस्—तैँले हरकिसिमका दुष्कर्महरू गरिस्—तैपनि तैँले अझै पश्‍चात्ताप गरिनस् भने, तँ समस्यामा हुन्छस्: परमेश्‍वरले तँलाई एकातिर हुत्याइदिनुहुनेछ वा त्याग्‍नुहुनेछ, यसको मतलब तँ हटाइने खतरामा हुन्छस्; हरकिसिमका दुष्ट कामहरू गर्ने मानिसहरूलाई अवश्य दण्ड दिइनेछ र हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

४११. तैँले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैँले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू पट्टाइलाग्दा हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकाहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावको कारण तिनीहरूको भ्रष्ट शैतानी स्वभावले उनीहरूमा बदमासी जगाउँछ, जसले गर्दा उनीहरूमा अनुचित दृष्टिकोणहरू पैदा हुन्छन् र खराब अवस्थाहरूमा र खराब मनस्थितिमा हुन्छन्; परिणामस्वरूप उनीहरूले आफ्ना कर्तव्यहरू लापरवाही ढङ्गले गर्दछन्। मानिसहरूका आन्तरिक अवस्था निरन्तर परिवर्तन भइरहेका हुन्छन्; ती कुनै पनि ठाउँमा र कुनै पनि समयमा परिवर्तन हुन सक्छन्। तेरो अवस्था जसरी परिवर्तन भए पनि, तैँले आफ्नो मनस्थितिको आधारमा काम गर्नु सधैँ गलत हुन्छ। मानौँ, तँ राम्रो मनस्थितिमा हुँदा तैँले अलिक राम्रो काम गर्छस्, र खराब मनस्थितिमा हुँदा अलिक खराब काम गर्छस्—के यो कामकुरा गर्ने सिद्धान्तअनुरूपको तरिका हो? के यसले तँलाई मानकअनुरूप आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्‍वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा बाधित र प्रभावित भएर ढलपलबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मानकअनुरूप छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोचविचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा काटछाँटपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरका अभिप्राय बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वरको नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यताको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूका कर्तव्य निर्वाह गर्न बाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यसो भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, वस्तु, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिलो स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवन प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

४१२. परमेश्‍वरले तँसँग जेसुकै माग गर्नुभए पनि, तैँले त्यसतर्फ आफ्नो सारा सामर्थ्यले काम मात्र गर्नुपर्दछ, र म आशा गर्दछु कि यी अन्तिम दिनहरूमा तँ मेरो सामु आफ्नो बफादारी पूरा गर्न सक्नेछस्। यदि यो क्षण तेरो मृत्यु तोकिएको समय नै भए पनि, जबसम्म परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सक्छस्, तबसम्‍म तैँले आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्न र मुस्कुराउन सक्नुपर्छ। तँ पृथ्वीमा रहने समयावधिमा, तैँले परमेश्‍वरप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नैपर्छ। विगतमा, परमेश्‍वरका खातिर पत्रुसलाई क्रूसमा उल्टो टाँगियो; तर यी अन्तिम दिनहरूमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै ऊर्जा उहाँका लागि खर्चनुपर्छ। एक सृजित प्राणीले परमेश्‍वरका लागि के गर्न सक्छ? त्यसैले परमेश्‍वरले चाहेअनुसार तँलाई योजनाबद्ध गर्नका लागि तैँले अग्रिम रूपमा आफूलाई परमेश्‍वरप्रति अर्पण गर्नुपर्छ। त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याएसम्म उहाँले आफ्नो अभिप्रायअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका शब्दहरू बोल्ने के अधिकार छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-उद्घाटन, अध्याय ४१

४१३. आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेका थप मागहरू होइनन् तर मानिसको कर्तव्य हो र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ र विभिन्‍न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

४१४. वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको कर्तव्य पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका त्रुटिहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्‌; तिनले मानिसको कर्तव्यलाई बाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा त्रुटिहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न वा हार मानेर पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा झारा मात्रै टार्छन् भने, तिनीहरूले सृजित प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृजित प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै मानिसले आफैलाई परमेश्‍वर हुँ भनी भन्छ तैपनि ईश्‍वरत्वको सत्त्वलाई व्यक्त गर्न, स्वयम्‌ परमेश्‍वरको कार्य गर्न, वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्‍वर होइन, किनकि ऊसँग परमेश्‍वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्‍वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन। यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृजित प्राणीको रूपमा खडा हुन वा परमेश्‍वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्‍वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्‍वरको भरोसालाई गुमाएका धेरैले परमेश्‍वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्ट कार्यहरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरको मार्ग गलत छ भन्‍ने विचारलाई निर्लज्ज रूपमा प्रसार गर्छन्, र विद्रोहीहरूले त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू पछि फर्कन्छन् र परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर चर्को आलोचना गर्छन्। त्यस किसिमको मानिस कसरी सिद्ध पारिनका लागि योग्य हुनसक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्‍वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्‍वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृजित प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध पारिनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो कर्तव्य कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुन सक्छन्? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको कर्तव्यको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृजित प्राणीको कर्तव्य पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृजित प्राणीका रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो कर्तव्य पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

अघिल्लो:  च. परमेश्‍वरप्रतिको आज्ञा पालनको अभ्यास कसरी गर्ने त्यसको सम्बन्धमा

अर्को:  ज. परमेश्‍वरको भय मान्‍ने र दुष्टको इन्कार गर्ने क्षमता कसरी हासिल गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger