ग. भ्रष्ट मानवजातिका धार्मिक धारणा, विधर्म र भ्रमहरूको खुलासा सम्बन्धी वचनहरू

१३५. परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको आजको कामको आधारमा नै परमेश्‍वरलाई चिन्नुपर्छ, र सबैभन्दा पहिला, उसले परमेश्‍वरको कामलाई जान्‍नुपर्छ। परमेश्‍वरलाई चिन्नुको आधार यही हो। परमेश्‍वरका वचनहरूको सटीक बुझाइ नभएका ती सबै विभिन्‍न भ्रमहरू धार्मिक धारणाहरू मात्र हुन्; ती विकृत बुझाइ हुन्। धार्मिक व्यक्तित्वहरूको सबैभन्दा ठूलो खुबी भनेको विगतमा बुझिएका परमेश्‍वरका वचनहरूलाई लिनु अनि ती वचनहरूलाई आजका परमेश्‍वरका वचनहरूसँग तुलना गर्नु हो। यदि आजका परमेश्‍वरलाई सेवा गरिरहँदा तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिरहन्छस् भने, तेरो सेवाले बाधा सृजना गर्नेछ, अनि तेरो अभ्यास पुरानो हुनेछ, त्यो धार्मिक रीति बाहेक केही हुनेछैन। यदि परमेश्‍वरको सेवा गर्नेहरूमा, अरू योग्यताहरूका अलावा, तिनिहरू बाहिरी रूपले नम्र र धैर्य हुनैपर्छ भन्‍ने कुरामा तैँले विश्‍वास गर्छस् भने, अनि आज तैँले यस प्रकारको ज्ञानको अभ्यास गरिस् भने, यस्तो ज्ञान केवल धार्मिक धारणा हुन्छ; यस्तो अभ्यास केवल देखावटी कार्य बनेको छ। “धार्मिक धारणा” भन्‍ने वाक्यांशले प्राचीन र अप्रचलित (परमेश्‍वरले पहिले बोल्नुभएका वचनहरू अनि पवित्र आत्माले सोझै प्रकट गर्नुभएको प्रकाशलगायत) कुराहरूलाई दर्साउँछ, अनि ती कुराहरूलाई आज अभ्यास गरियो भने, त्यसले परमेश्‍वरको कामलाई बाधा पुर्‍याउँछ, अनि मानिसलाई केही पनि लाभ हुँदैन। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुराहरूलाई आफूबाट हटाउन सकेनन् भने, ती कुराहरू परमेश्‍वरको सेवा गर्ने तिनीहरूको कार्यमा ठूलो बाधा बन्‍नेछन्। धार्मिक धारणा बोकेका मानिससँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै पछि पर्छन्। यस्तो हुन्छ किनभने यी धार्मिक धारणाहरूले मानिसलाई असाधारण रूपमा स्व-धर्मी र अहङ्कारी बनाउँछ। परमेश्‍वरले विगतमा उहाँले जे भन्नुभएको थियो र जे गर्नुभएको थियो त्यसलाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्‍ने भयो भने, उहाँले त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोल्नुभएका वचनहरूमा नै झुन्डिन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको कामलाई बुझ्छस् भन्‍ने प्रमाणित गर्छ? यदि तैँले आज पवित्र आत्माको ज्योति ग्रहण गर्न सक्दैनस्, बरु त्यही पुरानो प्रकाशमा झुन्डिरहन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको पाइला पछ्याइरहेको छस् भन्‍ने प्रमाणित गर्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्‍वरले विरोध गर्ने व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम बोध गर्नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

१३६. परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी विभिन्न किसिमका कार्यहरू, अर्थात् पुराना र नयाँ कार्यहरू, एक-अर्कामा विरोधाभासपूर्ण छैनन्, बरु परिपूरक छन्; प्रत्येक चरण पछिल्‍लो चरणपछि आउँछ। नयाँ काम आइसकेको हुनाले, पुराना कुराहरूलाई निश्चय नै हटाइनुपर्छ। उदाहरणको लागि, धेरै अघिदेखि स्थापित चलनचल्तीहरू अनि मानिसका प्रचलित भनाइहरूले, मानिसका धेरै वर्षका अनुभव अनि शिक्षाहरूसँग मिलेर, मानिसको मन-मस्तिष्कमा अनेक प्रकार र स्वरूपका आदत र धारणाहरू बनाएका हुन्छन्। परमेश्‍वरले मानिसलाई उहाँको साँचो मुहार अनि उहाँमा निहित स्वभाव पूर्ण रूपले प्रकट गर्न बाँकी छ, साथै प्राचीनकालदेखि नै धेरै वर्षसम्‍म फैलिएका परम्‍परागत सिद्धान्तहरूले मानिसमा यस्ता धारणाहरूको निर्माणमा अझ धेरै भूमिका खेलेको छ। परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सिलसिलामा, विभिन्न प्रकारका धारणाहरूका प्रभावले मानिसमा परमेश्‍वरसम्‍बन्धी अनेक किसिमका धारणागत बुझाइहरूको निरन्तर निर्माण र विकास गरेको छ, जसले गर्दा परमेश्‍वरको सेवा गर्ने धेरै धार्मिक मानिसहरू उहाँको शत्रु हुनपुगेका छन्। त्यसकारण, मानिसहरूको धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरूले त्यति नै बढी परमेश्‍वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्‍वरका शत्रु बन्छन्। परमेश्‍वरको काम सधैँ नै नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन; यसले कहिले पनि धर्मसिद्धान्तको निर्माण गर्दैन, बरु धेरै वा थोरै हदमा यो निरन्तर बदलिरहन्छ र नवीकरण भइरहन्छ। यो तरिकाले कार्य गर्नु परमेश्‍वर स्वयम्‌को निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्‍वरको कार्यको निहित सिद्धान्त पनि हो, अनि यो परमेश्‍वरले आफ्‍नो व्यवस्थापन कार्यलाई पूरा गर्ने एक साधन पनि हो। यदि परमेश्‍वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन वा उसले परमेश्‍वरलाई चिन्न सक्‍नेथिएन, अनि शैतानलाई हराउन सकिनेथिएन। तसर्थ, उहाँको कार्यमा, अस्थिर देखिने तर वास्तवमा आवधिक रहेका परिवर्तनहरू निरन्तर भइरहन्छन्। तैपनि, मानिसले जसरी परमेश्‍वरमा विश्‍वास गर्छ, त्यो बिलकुलै फरक हुन्छ। ऊ पुराना, परिचित धर्मसिद्धान्त र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि तिनीहरू जति पुराना हुन्छन्, उसलाई ती त्यति नै राम्रा लाग्छन्। कसरी मानिसको मूर्ख मस्तिष्कले, एउटा ढुङ्गा जस्तै कठोर मस्तिष्कले, परमेश्‍वरको अथाह नयाँ काम र वचनलाई स्वीकार गर्न सक्छ? मानिसले त्यो परमेश्‍वरलाई घृणा गर्छ, जो सर्वदा नयाँ रहनुहुन्छ अनि कहिले पुरानो हुनुहुँदैन; ऊ केवल पुरानो परमेश्‍वरलाई मात्र मन पराउँछ, जसको लामो दाँत, सेतो कपाल हुन्छ, अनि जो एक ठाउँमा नै अडिग हुनुहुन्छ। तसर्थ, परमेश्‍वर र मानिसका आ-आफ्नै मनपर्ने कुराहरू भएको कारण, मानिस परमेश्‍वरको शत्रु बनेको छ। आज पनि, परमेश्‍वरले छ हजार वर्षदेखि नयाँ कार्य गर्दै आइरहनुभएको यस्तो समयमा पनि, अझै यस्ता धेरै विरोधाभासहरू छन्। अनि तिनीहरू सुधार गर्न नसकिने अवस्थामा छन्। सायद यो मानिसहरूको ढिपीको कारण, वा परमेश्‍वरका प्रशासनिक नियमहरूलाई मानिसले उल्‍लङ्घन गर्न नसक्‍ने कारणले यस्तो भएको हो—तर ती सेवक अनि सेविकाहरू ती ढुँडी लागेका पुराना पुस्तक र कागजहरूमा टाँसिरहन्छन्, जबकि परमेश्‍वरले आफ्ना व्यवस्थापन कार्यभित्रका अधुरा कार्यहरूलाई अघि बढाइरहनुहुन्छ, मानौं उहाँको पक्षमा कोही पनि छैनन्। यी विरोधाभासहरूले परमेश्‍वर र मानिसका शत्रुहरू बनाउने भए पनि, र ती समाधान हुन नसकिने भए पनि, परमेश्‍वरले तिनीहरूलाई तिनीहरू त्यहाँ भए पनि नभएको जस्तै गरी कुनै ध्यान दिनुहुन्‍न। तैपनि, मानिस अझै पनि आफ्‍ना विश्‍वास र धारणाहरूमा टाँसिरहन्छ, तिनीहरूलाई कहिले पनि छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ स्पष्टै छ: मानिस आफ्नो अडानबाट पछि नहटे पनि, परमेश्‍वरको खुट्टा सधैँ अघि बढिरहन्छ, अनि उहाँले आफ्नो अडानलाई परिवेशअनुसार सँधै बदलिरहनुहुन्छ। अन्तमा, कुनै लडाइँविना नै हार्नुपर्ने त मानिस नै हो। यस क्रममा, परमेश्‍वर उहाँले पराजित गर्नुभएका उहाँका सबै शत्रुहरूको सबैभन्दा ठूलो शत्रु हुनुहुन्छ, अनि पराजित र अपराजित सबै मानवजातिको पक्षधर पनि हुनुहुन्छ। परमेश्‍वरसित प्रतिस्पर्धा गरेर को विजयी हुनसक्छ? मानिसका धारणाहरू परमेश्‍वरबाट नै आएका हुन् झैँ लाग्छ, किनभने तीमध्ये धेरै धारणाहरू परमेश्‍वरको कार्यपछि नै जन्‍मिएका थिए। तैपनि, यसको कारणले परमेश्‍वरले मानिसलाई क्षमा गर्नुहुन्न, न त उहाँले उहाँको कार्यपछि उहाँको कार्यभन्दा बाहिर “परमेश्‍वरको निम्ति” एकपछि अर्को जत्था उत्पादन गरेकोमा उहाँले मानिसलाई प्रशंसा नै गर्नुहुन्छ। बरु, उहाँ मानिसका धारणाहरू अनि पुराना, धार्मिक मान्यताहरूलाई यति घृणा गर्नुहुन्छ कि कुन मितिमा ती धारणाहरू सुरुमा आए भन्‍ने कुरा स्वीकार गर्ने मन पनि उहाँमा हुँदैन। उहाँले ती सबै उहाँकै कार्यको कारण भएको हो भनी स्वीकार गर्नुहुन्‍न, किनभने मानिसका धारणाहरू मानिसले नै फैलाउँछन्; तिनीहरूको स्रोत मानिसकै सोचहरू अनि मस्तिष्क हुन्—परमेश्‍वर हुनुहुन्न, शैतान हो। परमेश्‍वरको अभिप्राय सधैँ नै उहाँको कार्य पुरानो र मरेको होइन, नयाँ र जीवित होस् भन्‍ने रहेको छ अनि उहाँले मानिसलाई जे पालन गर्न लगाउनुहुन्छ त्यो युग र अवधिअनुसार फरक हुनसक्छ, अनि त्यो अनन्त र अपरिवर्तनीय छैन। यस्तो हुन्छ किनभने उहाँ मानिसलाई जिउन र नयाँ बन्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ, मानिसलाई मर्न र वृद्ध हुन लगाउने दियाबलस होइन। के यसलाई तिमीहरू अझै बुझ्दैनौ? परमेश्‍वरको बारेमा तँमा धारणाहरू छन् अनि तैँले तिनलाई त्याग्न सक्दैनस्, किनभने तँ कुण्ठित मनको छस्। यो परमेश्‍वरको कार्यभित्र थोरै अर्थ भएको कारणले होइन, न त उहाँको कार्य मान्छेको भावनाप्रति असंवेदनशील भएर नै हो, अझ भन्‍ने हो भने, न त यो परमेश्‍वर आफ्नो जिम्मेवारीमा सँधै लापरवाही हुनुभएर नै हो। तैँले आफ्ना धारणाहरू त्याग्न सक्दैनस् किनभने तँमा समर्पणता अत्यन्तै कम छ, र किनभने तँमा सृजना गरिएका प्राणीजस्तो सादृश्यता अलिकति पनि छैन; यो परमेश्‍वरले तेरो लागि परिस्थिति कठिन बनाइदिनुभएकोले भएको होइन। यो सबै तैँले गर्दा नै भएको हो, अनि परमेश्‍वरसित यसको कुनै सम्बन्ध छैन; सबै कष्ट र दुर्भाग्यहरू मानिसद्वारा नै सृजना गरिएका हुन्। परमेश्‍वरका विचारहरू सधैं असल हुन्छन्: तैँले कुनै धारणाहरू सृजना गर् भन्‍ने परमेश्‍वरले चाहनुहुन्न, तर युग बित्दै जाँदा तँ परिवर्तन एवं नवीकरण भएको इच्छा गर्नुहुन्छ। तैपनि तेरो लागि के असल छ त्यो तँ जान्दैनस्, अनि सधैँ तँ सुक्ष्म जाँच वा विश्लेषण गर्दै बस्छस्। यो परमेश्‍वरले तेरो निम्ति परिस्थिति कठिन बनाउनुहुन्छ भन्‍ने कुरा होइन, बरु यो त तँमा परमेश्वरको डर मान्ने हृदय छैन, अनि तेरो विद्रोहीपन धेरै ठूलो छ भन्‍ने कुरा हो। सृष्टि गरिएको एउटा सूक्ष्म प्राणी, परमेश्‍वरले पहिले दिनुभएको कुनै कुराको एउटा सानो अंश लिने आँट गर्छ अनि फर्केर परमेश्‍वरलाई नै आक्रमण गर्न त्यसको प्रयोग गर्छ—के यो मानिसको विद्रोहीपन होइन र? मानवजाति परमेश्‍वरको अघि आफ्नो विचार पोख्न बिलकुलै अयोग्य छ, अनि तिनीहरू तिनीहरूले इच्छा गरेको जस्तो तिनीहरूको बेकारको, गन्हाउने, कुहेको, फुलाङ्गो भाषा बोल्दै वरिपरि घुम्नु अझै अयोग्य छन् भनेर भन्‍नु अत्युक्ति हुँदैन—ती सडेका धारणाहरूको बारेमा केही भन्‍नु पर्दैन। के तिनीहरू अझै बेकारका छैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम बोध गर्नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

१३७. परमेश्‍वरको काम सधैँ अघि बढिरहन्छ, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने विधि नित्य परिवर्तन हुन्छ, जसको अर्थ के हो भने परमेश्‍वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहेका छन्। परमेश्‍वरले जति धेरै काम गर्नुहुन्छ, उत्ति नै परमेश्‍वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्‍वरको कामको सँगसँगै मानिसको स्वभावमा पनि सोही अनुरूपका परिवर्तनहरू आउँछन्। तर, परमेश्‍वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्‍नेहरू र सत्यता नचिन्ने ती वाहियात मानिसहरू नै परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरू बन्छन्। परमेश्‍वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन, र उहाँ पुरानो कामलाई कहिल्यै दोहोर्‍याउनुहुन्न, बरु यस अघि उहाँले कहिल्यै नगरेको काम गर्नुहुन्छ। परमेश्‍वरले आफ्नो काम नदोहोर्‍याउनुहुने भएकोले र मानिसले परमेश्‍वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामका आधारमा सधैँ मूल्याङ्कन गर्ने भएकाले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्‍वरलाई अत्यन्त कठिन भएको छ। मानिससँग अत्यन्तै धेरै कठिनाइहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्‍वरको कामलाई कसैले जान्दैन, तैपनि सबैले यसलाई सीमित गर्छन्। जब मानिसले परमेश्‍वरलाई छोड्छ, तब उसले जीवन, सत्यता, र परमेश्‍वरका आशिष्‌ गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यता नै स्विकार्छ, परमेश्‍वरले मानवजातिलाई दिनुहुने अझै ठूला आशिष्‌ त झनै स्विकार्दैन। सबै मानिसहरूले परमेश्‍वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्‍वरको काममा हुने कुनै पनि परिवर्तनलाई सहन सक्दैनन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्‍वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव ठप्प रहन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको विचारमा, तिनीहरूले परमेश्‍वरबाट अनन्त मुक्ति पाउनका लागि आवश्यक कुरा भनेको व्यवस्था पालन गर्नु हो, र तिनीहरूले पश्‍चात्ताप गरेसम्म र आफ्ना पापहरू स्वीकार गरेसम्म, परमेश्‍वरका अभिप्राय सदैव पूरा हुनेछन्। तिनीहरू परमेश्‍वर व्यवस्था अन्तर्गत हुने परमेश्‍वर र मानिसका निम्ति क्रूस टाँगिनुभएको परमेश्‍वर मात्र हुन सक्नुहुन्छ भन्‍ने राय राख्छन्; तिनीहरू परमेश्‍वरले बाइबललाई अतिक्रमण गर्नु हुँदैन र गर्न सक्‍नुहुन्‍न भन्‍ने राय पनि राख्छन्। ठ्याक्कै यिनै रायहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग बाँधेका छन् र मृत प्रावधानहरूमा टाँगेका छन्। परमेश्‍वरको नयाँ काम चाहे जेसुकै होस्, यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ, र यस्तो कामको हरेक चरणमा, उहाँलाई “साँचो” हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि देखाइनुपर्छ, नत्र यस्तो काम परमेश्‍वरको काम हुन सक्दैन भनी विश्‍वास गर्नेहरू त अझै धेरै छन्। परमेश्‍वरलाई चिन्नु मानिसका निम्ति मूलतः सजिलो काम होइन। मानिसको वाहियात हृदयको साथसाथै अहम्‌ता र अभिमान भएको उसको विद्रोही प्रकृतिलाई लिँदा, उसलाई परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्‍वरको नयाँ कामलाई सावधानीपूर्वक छानबिन गर्छ, न नम्रतासाथ स्वीकार नै गर्छ; बरु, उसले परमेश्‍वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्दै गर्दा हेयको मनोवृत्ति अपनाउँछ। के यी परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने मानिसका प्रकटीकरणहरू होइनन् र? यस्ता मानिसहरूले परमेश्‍वरको अनुमोदन कसरी प्राप्‍त गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

१३८. मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको साँच्चै खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई चिन्नेहरू तिनीहरू मात्रै हुन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिसले “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन हरेक एउटा युगमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन र पवित्र आत्‍माको काम प्राप्त गर्न ऊ सधैँका लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन् र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको कामलाई थोरै मात्रामा प्राप्त गर्नेबाहेक केही पनि गर्न नसकेपछि, उसले यसलाई यसरी व्यवहार गर्छ मानौँ यो कहिल्यै परिवर्तन हुनेछैन; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको नयाँ कामका पाइलाहरूलाई पछ्याउँदैन; परमेश्‍वरको थोरै कामलाई बाहेक केही पनि नदेखेपछि, उसले तुरुन्तै परमेश्‍वरलाई काठको आकृतिको रूपमा निर्धारित गर्छ र उसले आफ्‍नो अगाडि देखेको यही रूपमा नै परमेश्‍वर सँधै रहिरहनुहुनेछ अर्थात् विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; सतही ज्ञानबाहेक केही पनि प्राप्त नगरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि उसले आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको ईश्‍वरको स्वभाव र अस्तित्वलाई घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणबारे निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ कामलाई घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिसले यसलाई स्वीकार गर्दैन। पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्न नसक्‍ने मानिसहरू यिनीहरू नै हुन्; यिनीहरू अत्यन्तै रूढिवादी छन् र नयाँ कुराहरूलाई स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। “यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगरेकोमा” इस्राएलीहरू गलत थिए भन्‍ने विश्‍वास मानिसले गर्छ, तैपनि अधिकांश मानिसहरूले “यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि उत्कट इच्‍छा गर्ने तर येशू भनिने मसीहलाई इन्कार गर्ने” भूमिकालाई निर्वाह गर्छन्। त्यसैले, पवित्र आत्माको कार्यको एउटा चरणलाई स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको सत्तामा जिउँछन् र अझै परमेश्‍वरका आशिषहरूलाई प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नुपर्दैन। के यो मानिसको विद्रोहीपनको परिणाम होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका इसाईहरू तिनीहरू भाग्यमानी बन्‍नेछन्, परमेश्‍वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्‍वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्‍चित रूपमा भन्‍न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्‍ने बारेमा नै तिनीहरू निश्‍चित छन्, तिनीहरूले कल्‍पना गरेको दिनमा येशू सेतो बादलमा साँच्‍चै आइपुग्‍नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्‍चयताको साथ भन्‍न सक्‍नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित र अलमलमा छन्; परमेश्‍वरले हरेक सम्प्रदायका, केही साना मुठ्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्‍न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्‍वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्‍वरका अभिप्राय—यीमध्ये कुनै पनि कुराबारे तिनीहरूलाई केही पनि थाहा छैन र तिनीहरूले आफ्‍ना औंलामा दिनहरू गन्‍नेबाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखापर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन् र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन् र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू”-लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन् र धोका र छल गर्छन्। ती मानिसहरू जो अन्तिमसम्‍मै पछ्याउन, र पवित्र आत्‍माको कामसँग तालमेल राख्न सक्दैनन् अनि पुरानो काममा मात्रै टाँसिरहन्छन्, तिनीहरूले परमेश्‍वरप्रतिको बफादारी हासिल गर्न असफल मात्रै भएका छैनन्, बरु यसको विपरीत, तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू, नयाँ युगद्वारा इन्कार गरिएकाहरू र दण्डित हुनेहरू बनेका छन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्‍वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक”-को मात्रै कुरा गर्ने र पवित्र आत्‍माको कामलाई नजान्‍ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्‍नै विवेकले हटाइदिनेछ। परमेश्‍वरले समेत उहाँको काममा प्रावधानहरू पालन गर्नुहुन्न, र यो उहाँको आफ्‍नै काम भए पनि, परमेश्‍वर अझै पनि यसमा टाँसिनुहुन्न। इन्कार गरिनुपर्ने कुरा इन्कार गरिन्छ, हटाइनुपर्ने कुरा हटाइन्छ। तैपनि मानिस परमेश्वरलाई शत्रु बनाउनका लागि उहाँको व्यवस्थापनको कार्यको एउटा सानो भागलाई मात्र पक्रिरहन्छ। के यो मानिसको बेतुकापन होइन र? के यो मानिसको अज्ञानता होइन र? आशिष्हरू प्राप्त नगर्ने डरका कारण मानिसहरू जति बढी डरपोक र अति सावधान हुन्छन्, तिनीहरू अझ धेरै आशिष्हरू प्राप्त गर्न र अन्तिम आशिष् प्राप्त गर्न त्यति नै बढी असमर्थ हुन्छन्। जिद्दीपूर्वक व्यवस्था पालन गर्नेहरू सबैले व्यवस्थाप्रति सबैभन्दा धेरै बफादारी देखाउँछन् र तिनीहरूले व्यवस्थाप्रति त्यस्तो बफादारी जति धेरै देखाउँछन्, तिनीहरू त्यति नै बढी परमेश्‍वरलाई विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकाले, आजको काम र विगतको कामलाई सँगै उल्‍लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको काम परिवर्तन भएको छ र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्था पालन गर्नु वा क्रूस बोक्‍नु होइन, त्यसकारण, व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीले परमेश्‍वरको अनुमोदन पाउनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

१३९. भ्रष्टताबाट गुज्रेको मानिस शैतानको फन्दामा जिउँछ; ऊ देहमा जिउँछ, स्वार्थी इच्‍छाहरूमा जिउँछ, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। किनभने तिनीहरू अन्तर्निहित रूपमै मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्‍ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्‍ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरू आफूले नदेखेको अस्पष्ट परमेश्वरलाई सीमित पार्छन् र बाइबलको सीमाभित्र देख्न सक्दैनन् र फुर्सतमा हेर्न यसलाई बाहिर निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यस समयको येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले व्यवस्थाको प्रत्येक लेखलाई यस्तो गम्भीरतासाथ लिए—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्‍त्रको एक-एक शब्‍दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्‍ने हदसम्‍म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्‍त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलि त्याग्‍न रुचाए। के तिनीहरू सबै नै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यता प्रदान गर्न आउनुभएको छ, तैपनि तिनीहरू उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्न सकून्। तिनीहरू बाइबलका हितहरूको संरक्षण गर्नको लागि सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्न रचाउँछन्, र बाइबलको अनन्‍त अस्तित्व सुनिश्‍चित गर्नको लागि तिनीहरू देहमा फर्कनुभएका ख्रीष्‍टलाई फेरि क्रूसमा टाँग्‍न रुचाउँछन्। मप्रति उसको हृदय यति द्वेषपूर्ण र उसको प्रकृति यति शत्रुवत् हुँदा, उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको माझमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। मैले मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझै अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्साउँछु, उसले अझै ठूलो जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिस अक्षरहरूसँग अनुकूलता खोज्छ र बाइबलसँग अनुकूलता खोज्छ, तैपनि सत्यतासँग मिल्ने मार्गलाई खोज्‍न एक जना पनि मेरोसामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि देहमा रहेको मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसको माझमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका अक्षरहरूसँग मात्रै अनुकूलता खोज्नेहरू, र अस्पष्ट ईश्‍वरसँग मात्रै अनुकूलता खोज्नेहरू मेरा नजरमा नीच हुन्। किनभने तिनीहरूले आराधना गर्ने भनेको मृत अक्षरहरू, र तिनीहरूलाई असीमित खजाना दिन सक्ने ईश्‍वर हो; तिनीहरूले आराधना गर्ने भनेको आफूलाई मानिसका कृपामा राख्ने एक अस्तित्वहीन ईश्‍वर हो—एउटा ईश्वर जो अस्तित्वमा नै छैन। अनि, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? शब्दहरूद्वारा वर्णन गरिनका निम्ति मानिस निकै नीच छ। जो मेरो विरुद्धमा छन्, जो मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मसँग मिल्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

१४०. यदि तिमीहरूले परमेश्‍वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्‍वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ झैँ गरी परमेश्‍वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्‍वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्‍वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्‍यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्‍वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्‍वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्‍वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्‍वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्‍वरलाई चिनेको छैनस्, परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्‍वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्‍छु, किनकि तिमीहरू परमेश्‍वरको कामप्रति समर्पित हुन र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्‍वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्‍तुष्‍ट हुनुभएको छैन? किनकि मानिसले परमेश्‍वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान वास्तविकता अनुरूप हुँदैन, बरु कुनै भिन्‍नताविना एउटै विषयवस्तु एकोहोरो दोहोऱ्याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटै तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्‍वर आज पृथ्‍वीमा आउनुभए पनि मानिसले फेरि उहाँलाई क्रूसमा टाँगेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्टलाई निश्‍चय नै दण्ड दिइनेछ

१४१. धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह गर्नेहरूका बीचमा मुक्तिदाता येशू व्यक्तिगत रूपमै सेतो बादलको सवारीमा ओर्लनुभएको देख्ने उत्कट इच्छा मानिसले गरेको छ। मानिसले मुक्तिदाताको आगमन र तिनीहरूसँगको पुनर्मिलनको पनि उत्कट इच्छा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएका मुक्तिदाता येशू फर्केर आउनुभएको र यहूदीहरू माझ गर्नुभएको छुटकाराको काम फेरि एक पटक कार्यान्वयन गरेको, मानिसप्रति करुणामय र प्रेमिलो भएको, मानिसको पाप क्षमा गरेको, मानिसका पापहरू बहन गरेको, मानिसका सबै अपराधहरू समेत बहन गरेको र मानिसलाई पापबाट छुटकारा दिएको उत्कट चाह गरेको छ। मानिसले खास चाहेको कुराचाहिँ मुक्तिदाता येशू पहिलेको जस्तै हुनुभएको होस् भन्‍ने हो—एक मुक्तिदाता जो प्रेमिलो, दयालु र सम्मानीय हुनुहुन्छ, जो मानिससँग कहिल्यै क्रोधित हुनुहुन्न, र जसले कहिल्यै पनि मानिसको निन्दा गर्नुहुन्न, तर जसले क्षमा गर्नुहुन्छ, मानिसका सबै पापहरू लिनुहुन्छ र पहिलेको जस्तै, मानिसको निम्ति क्रूसमाथि मर्नुहुनेछ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबैले उहाँको उत्कट चाह गर्दै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति पाएका सबै मानिसहरू आखिरी दिनहरूको त्यो महान् दिनको तृष्णा गर्दै आइरहेका छन् जब मुक्तिदाता येशू सारा मानिसहरूकहाँ देखा पर्न सेतो बादलमा ओर्लनुहुनेछ। वास्तवमा, यो आज मुक्तिदाता येशूको नाउँ ग्रहण गर्ने सबै जनाको सामूहिक इच्छा पनि हो। येशू मुक्तिदाताको मुक्तिलाई जान्‍ने ब्रह्माण्डका हरेकले पृथ्वीमा हुनुहुँदा: “म जसरी गएको छु त्यसै गरी आउनेछु” भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक देखा पर्नुभएको होस् भनी उत्कट इच्छा गर्दैआइरहेका छन्। क्रुसीकरण र पुनरुत्थानपछि, सर्वोच्चको दाहिने हातपट्टिको उहाँको स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो भनी मानिसले विश्‍वास गर्छ। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको उत्कट चाह गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्गमा फर्कनुहुँदा चढ्नुभएको बादललाई जनाउँछ) फेरि ओर्लिआउनुहुनेछ र उहाँले यहूदीहरूको स्वरूप बहन गर्नुहुनेछ र पोसाक धारण गर्नुहुनेछ। मानिसकहाँ देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ र तिनीहरूका निम्ति जिउँदो पानी निस्कन लगाउनुहुनेछ र मानिसहरू माझ अनुग्रहले पूर्ण, प्रेमले पूर्ण, सुस्पष्ट र यथार्थ भएर जिउनुहुनेछ। मानिसहरूले यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसहरूले बुझेको भन्दा विपरीत गर्नुभयो। उहाँको पुनःआगमनको उत्कट इच्छा गर्नेहरूमाझ उहाँ आउनुभएन र सेतो बादलमा सवार भएर उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुभएन। उहाँ पहिले नै आइसक्नुभएको छ, तर मानिसलाई थाहा छैन र यसबारे अज्ञात रहन्छ। उहाँ अघि नै “सेतो बादलमा” (त्यो बादलचाहिँ उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ सो सबै हो) ओर्लिआइसक्नुभएको छ भन्‍ने कुराप्रति बेखवर भएर, मानिसले उहाँलाई लक्ष्यहीन रूपमा प्रतीक्षा मात्रै गरिरहन्छन् र अहिले उहाँ आखिरी दिनहरूको अवधिमा उहाँले बनाउनुहुने विजेताहरूको समूह माझ हुनुहुन्छ। मानिसले यो कुरा जान्दैन: मानिसको निम्ति पवित्र मुक्तिदाता येशूसित भएको सारा स्नेह र प्रेमको बाबजुद पनि, फोहोरी र अशुद्ध आत्माहरूले बास गरेको “मन्दिरहरू” मा उहाँले कसरी काम गर्न सक्नुहुन्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दैआइरहेको भए पनि, अधर्मीको देह खानेहरू, अधर्मीको रगत पिउनेहरू, र अधर्मीको वस्‍त्र धारण गर्नेहरू, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर धुतिरहनेहरूकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? येशू प्रेमले पूर्ण, र करुणाले भरिएको हुनुहुन्छ, र उहाँ पाप बलि र उद्धारले पूर्ण हुनुहुन्छ भन्‍ने मात्र मानिसले जान्दछ। यद्यपि, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ जो धार्मिकता, प्रताप, क्रोध र न्यायले पूर्ण, अख्तियारले भएको र प्रतिष्ठाले पूर्ण हुनुहुन्छ भन्‍ने कुरा मानिसले जान्दैन। यसकारण, मानिसले उद्धारकर्ताको आगमनको उत्कट इच्छा र चाह गरे पनि, र तिनीहरूको प्रार्थनाले “स्वर्ग” नै हल्लाए पनि, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूकहाँ मुक्तिदाता येशू देखा पर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१४२. यदि, मानिसले कल्पना गरेझैं येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसहरूमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोऱ्याउनु नै हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्‍वास गर्ने सबै धारणाहरू हुन्, र मानिसले बुझ्ने सबै शाब्दिक अर्थअनुसार, र उसको कल्पनाशक्ति अनुसार हुन्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग बाझिन्छन् र ती परमेश्‍वरका अभिप्रायअनुरूप हुँदैनन्। परमेश्‍वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्‍वर त्यति मूर्ख र अबुझ हुनुहुन्न, र उहाँको काम तैँले सोचेको जस्तो सरल छैन। मानिसले कल्पना गर्ने सबै कुराको आधारमा, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्‍वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ र स्वर्गलोकमा ग्रहण गरिनेछ। के यस्ता विश्‍वास मानिसका धारणाहरू होइनन् र? के परमेश्‍वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्‍वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ सृष्टि गरिएका प्राणीहरूजस्तै बन्नुहुन्न र? अहिले शैतानले सृष्टि गरिएका प्राणीहरूलाई धेरै भ्रष्ट पारेकाले मानिस शैतानको मूर्त रूप बनेको छ, यदि परमेश्‍वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्‍वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्‍वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्‍न। कति जना मानिसहरू छन्, जसले परमेश्‍वर आफैले उहाँ बादलमा आउनुहुनेछ भन्नुभएको छ भनी भन्छन्। परमेश्‍वर आफैले त्यसो भन्नुभएको थियो भन्‍ने कुरा सत्य हो, तर परमेश्‍वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्‍ने के तँलाई थाहा छैन? के परमेश्‍वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्‍ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्‍नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्‍चय नै पवित्र आत्मा हुनुहुन्‍नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भनिस्, “परमेश्‍वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्‍वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्‍चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को धेरै उच्च हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्‍ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्‍वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि सृष्टि गरिएको प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

१४३. के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्‍च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

१४४. तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरू सत्यताको हरेक वचनलाई अनसुनी गर्छौ। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको डर मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो मनोवृत्ति कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइको समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने समय पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणाको समय हुनेछ र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू र चिन्हहरू नखोज्नेहरू, अनि यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ भनेर भन्न सकिन्छ। तिनीहरू अति जिद्दी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। स्वेच्छाचारी रूपमा निचोडमा नपुग; त्योभन्दा पनि, परमेश्‍वरमाथिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तैपनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यतालाई स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्‍वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

१४५. तैँले धेरै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छैनस्, तापनि उहाँबारे तँसित धेरै वटा धारणाहरू छन्, यहाँसम्म कि तँ एकै क्षण पनि इस्राएलीहरूका परमेश्‍वरले उहाँको उपस्थितिद्वारा तिमीहरूलाई अनुग्रहित पार्ने कृपा गर्नुहुन्‍न भनी सोच्ने साहस गर्दैनस्। तिमीहरू असाध्यै फोहोरी भएकोले गर्दा, परमेश्‍वर तिमीहरूकहाँ व्यक्तिगत रूपमा कसरी देखा पर्नुहुन्छ भन्‍ने कुरा सोच्न तिमीहरूले साहस गर्छौ भन्‍ने त कुरै नगरौँ। न त तिमीहरूले कहिल्यै अन्यजाति देशमा परमेश्‍वर व्यक्तिगत रूपले ओर्लन सक्‍नुहुन्छ भनेर नै सोचेका छौ। उहाँ त सीनै पर्वतमा वा जैतून डाँडामा ओर्लनुपर्ने र इस्राएलीहरूकहाँ देखा पर्नुपर्ने हो। के अन्यजातिहरू सबै (अर्थात्, इस्राएलदेखि बाहिरका मानिसहरू) उहाँको घृणाका पात्रहरू होइनन् र? उहाँले कसरी व्यक्तिगत रूपमा उनीहरूका माझमा काम गर्न सक्‍नुहुन्छ? यी त तिमीहरूले धेरै वर्षदेखि विकास गर्दै आएका, तिमीहरूभित्र गहिरो जरा गाडेका धारणाहरू हुन्। आज तिमीहरूलाई जित्‍नुको उद्देश्य तिमीहरूका ती धारणाहरूलाई चकनाचूर पार्नु हो। यसरी तिमीहरूले सीनै पर्वतमा वा जैतून डाँडामा होइन, बरु उहाँले कहिल्यै नडोर्‍याउनुभएका, तिमीहरूको माझमा परमेश्‍वरको व्यक्तिगत आगमनलाई देख्छौ। परमेश्‍वरले इस्राएलमा उहाँका दुई चरणको काम सम्पन्‍न गर्नुभएपछि, इस्राएलीहरू र सबै अन्यजातिहरूले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको भए पनि, उहाँ केवल इस्राएलीहरूका निम्ति मात्र परमेश्‍वर हुन चाहनुहुन्छ, अन्यजातिहरूका निम्ति होइन भन्‍ने धारणा राखे। इस्राएलीहरू निम्‍न कुरा विश्‍वास गर्छन्: परमेश्‍वर हाम्रो मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ, तिमीहरू अन्यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न र तिमीहरूले यहोवाको डर नमानेकाले, यहोवा हाम्रा परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्छ। ती यहूदी मानिसहरूले निम्‍न कुरामा पनि विश्‍वास गर्दछन्: प्रभु येशूले हामी यहूदी जातिको रूप धारण गर्नुभयो र उहाँ यहूदी मानिसहरूको चिह्न बोक्‍नुहुने परमेश्‍वर हुनुहुन्छ। हाम्रो माझमा नै परमेश्‍वरले काम गर्नुहुन्छ। परमेश्‍वरको स्वरूप र हाम्रो स्वरूप समान छन्; हाम्रो स्वरूप परमेश्‍वरको स्वरूप नजिक छ। प्रभु येशू हामी यहूदीहरूका राजा हुनुहुन्छ; अन्यजातिहरू त्यस्तो ठूलो मुक्ति पाउन योग्य छैनन्। प्रभु येशू हामी यहूदीहरूका लागि पापबलि हुनुहुन्छ। कामका ती दुई चरणको आधारमा इस्राएलीहरू र यहूदी मानिसहरूले यी सबै धारणाहरू स्थापित गरे। तिनीहरू धाक जमाउँदै परमेश्‍वर तिनीहरूका आफ्नै हुनुहुन्छ भनी दाबी गर्छन्, तिनीहरू परमेश्‍वरलाई अन्यजातिहरूका परमेश्‍वर हुन दिँदैनन्। यसरी, अन्यजातिहरूका हृदयमा परमेश्‍वर एउटा रिक्त स्थानको रूपमा रहनुभयो। तिनीहरू सबैले परमेश्‍वर अन्यजातिहरूका परमेश्‍वर हुन चाहनुहुन्‍न र उहाँले इस्राएलीहरू—उहाँका चुनिएका मानिसहरू—र यहूदी मानिसहरू, विशेष गरी उहाँलाई पछयाउने चेलाहरू मात्र मन पराउनुहुन्छ भनी विश्‍वास गरेका कारणले यस्तो भएको हो। के तँलाई यहोवा र येशूले गर्नुभएको काम सम्पूर्ण मानवजातिलाई बचाउनका लागि हो भन्‍ने थाहा छैन? के तँ अब परमेश्‍वर इस्राएलबाहिर जन्मेका तिमीहरू सबैका परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छस्? के परमेश्‍वर आज यहाँ तिमीहरूको माझमा हुनुहुन्‍न र? यो सपना हुन सक्दैन, सक्छ त? के तिमीहरू यो वास्तविकतालाई स्वीकार गर्दैनौ? तिमीहरू यसलाई विश्‍वास गर्ने वा त्यसबारे विचार गर्ने आँट गर्दैनौ। तिमीहरूले यसलाई जसरी हेरे पनि, के परमेश्‍वर यहाँ तिमीहरूको माझमा हुनुहुन्‍न र? के तिमीहरू अझै पनि यी वचनहरू विश्‍वास गर्न डराउँछौ? यस दिनदेखि यता, के सबै जितिएका मानिसहरू र परमेश्‍वरको अनुयायी बन्‍न चाहनेहरू परमेश्‍वरका चुनिएका जनहरू होइनन् र? तिमीहरू सबै, जो आज अनुयायीहरू हौ, के तिमीहरू इस्राएलदेखि बाहिरका चुनिएका जनहरू होइनौ र? के तिमीहरूको हैसियत पनि इस्राएलीहरूको जस्तै छैन र? तिमीहरूले स्वीकार गर्नुपर्ने कुरा के यही होइन र? के तिमीहरूलाई जित्‍ने कामको लक्ष्य यही होइन र? तिमीहरूले परमेश्‍वरलाई देख्‍न सक्‍ने भएकोले, उहाँ सुरुदेखि र भविष्यमा पनि, सदासर्वदा तिमीहरूको परमेश्‍वर बन्‍नुहुनेछ। जबसम्म तिमीहरू उहाँलाई पछयाउने, उहाँका बफादार, समर्पित सृजित प्राणीहरू हुने इच्छा गरिरहन्छौ, तबसम्म उहाँले तिमीहरूलाई त्याग्‍नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (३)

१४६. तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्‍ने छैन। “धारणाहरू” मानिसले कल्‍पना गरेका कुराहरू हुन्, जुन वास्तविकतासँग मिल्दैनन्। यदि पुरानो ज्ञानको म्याद पुरानो युगमा नै सकिएको छ र यसले मानिसलाई नयाँ काममा प्रवेश गर्न रोकेको छ भने, त्यस्तो ज्ञान पनि धारणा नै हो। यदि मानिसले त्यस्तो ज्ञानलाई सही रूपमा पहुँच गर्न सक्छ र पुरानो र नयाँलाई एकट्ठा गरेर विभिन्‍न पक्षहरूबाट परमेश्‍वरलाई चिन्‍न सक्छ भने, पुरानो ज्ञान मानिसको सहायता बन्छ, र मानिस नयाँ युगमा प्रवेश गर्ने आधार बन्छ। परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठको लागि तँ धेरै सिद्धान्तहरूमा पोख्त हुनुपर्छ: परमेश्‍वरलाई चिन्‍ने मार्गमा कसरी प्रवेश गर्ने, परमेश्‍वरलाई चिन्‍नको लागि तैँले के-कस्ता सत्यताहरू बुझ्‍नैपर्छ, र परमेश्‍वरको नयाँ कामका सबै बन्दोबस्तहरूमा समर्पित हुन सकूँ भनेर तेरा धारणाहरू र पुराना स्वभावबाट आफैलाई कसरी मुक्त गर्ने। यदि तैँले परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठमा प्रवेश गर्नको लागि जगको रूपमा यी सिद्धान्तहरूलाई प्रयोग गरिस् भने, तेरो ज्ञान झन्-झन् गहन बन्‍नेछ। यदि तँसँग कार्यका तीन चरणको—अर्थात् परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा स्पष्ट ज्ञान छ भने—र यदि तैँले परमेश्‍वरको कार्यका अघिल्‍ला दुई चरणहरूलाई वर्तमान चरणसँग पूर्ण रूपमा सम्‍बन्धित गर्न सक्छस्, र यो एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो भन्‍ने देख्‍न सक्छस् भने, तँसँग अतुलनीय रूपमा मजबुत जग हुनेछ। … यदि मानिसले कार्यका तीन चरणमा परमेश्‍वरले नै तिनलाई फरक-फरक समयमा, फरक-फरक स्थानमा, र फरक-फरक मानिसहरूमा अघि बढाउनुभएको हो भन्‍ने देख्‍न सक्छ भने; यदि काम फरक भए पनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको हो, अनि यो एउटै परमेश्‍वरले गर्नुभएको हुनाले, यो पक्‍कै पनि सहि र त्रुटि विहीन हुनुपर्छ, र यो मानिसको धारणाहरू विपरीत भए तापनि, यो एउटै परमेश्‍वरको काम हो भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन भन्‍ने मानिसले देख्‍न सक्छ भने—यदि यो एउटै परमेश्‍वरको काम हो भनेर मानिसले सुनिश्‍चितताको साथ भन्‍न सक्छ भने, मानिसका धारणाहरूलाई उल्‍लेख गर्न पनि लायक नछोडीकन सानातिना धारणामा घटाइनेछ। मानिसका दर्शनहरू स्पष्ट नभएकाले, र मानिसले यहोवालाई मात्रै परमेश्‍वरको रूपमा, र येशूलाई प्रभुको रूपमा चिन्‍ने हुनाले, र आजका देहधारी परमेश्‍वरको बारेमा दोधारमा रहेका हुनाले, धेरै मानिसहरू यहोवा र येशूको कार्यमा नै समर्पित छन्, र आजको कामको बारेमा अक्रान्त छन्, धेरैजसो मानिसहरू सधैँ शङ्कालु हुन्छन्, र आजको कामलाई गम्‍भीर रूपमा लिँदैनन्। कार्यका अन्तिम दुई चरणहरूका बारेमा मानिसमा कुनै धारणाहरू छैनन्, जुन अदृश्य थिए। यो यसैले हो किनभने मानिसले कार्यका अन्तिम दुई चरणको वास्तविकतालाई बुझ्दैन, र तिनलाई व्यक्तिगत रूपमा देखेन। यो यसैले हो किनभने कार्यका यी चरणहरूलाई मानिसले देख्‍न नसक्‍ने हुँदा आफूलाई मन परे अनुसार मानिसले कल्‍पना गर्छ; उसले जे निष्कर्ष निकाले तापनि, त्यस्ता कल्‍पनाहरूलाई प्रमाणित गर्ने कुनै तथ्यहरू छैनन्, र तिनलाई सुधार गर्ने कोही छैन। मानिसले कुनै पर्बाह नगरिकन र आफ्‍नो कल्‍पनालाई स्वतन्त्र छोडिदिँदै आफ्‍नो मिजासलाई बेलगाम छोड्छ; उसका कल्‍पनाहरूलाई पुष्टि गर्ने कुनै तथ्यहरू हुँदैन, त्यसकारण तिनको कुनै प्रमाण भए पनि नभए पनि, मानिसका कल्‍पनाहरू “तथ्य” बन्छन्। यसरी मानिसले आफ्‍नो मनमा आफैले कल्‍पना गरेको परमेश्‍वरमा विश्‍वास गर्छ, र वास्तविक परमेश्‍वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्‍वरको व्यावहारिक काम नदेखेको हुनाले, उसले यसलाई आफ्‍ना कानद्वारा मात्रै सुनेको र आफ्‍नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्तकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्‍वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्‍वासी बनेका मानिसहरू तिनीहरूका आफ्‍नै धारणाहरूद्वारा परमेश्‍वरमा विश्‍वास गर्न पुगेका हुन्छन्। आफ्‍नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्‍न नसक्‍नेहरू परमेश्‍वरका बारेमा रहेका धारणाहरू सहितको विश्‍वासबाट कहिल्यै उम्‍कन सक्‍नेछैनन्। मानिसले आफैलाई आफ्‍ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने विश्‍वास गर्छ। के परमेश्‍वरको साँचो मुहारलाई देख्‍न नसक्‍नेहरूको ज्ञान धारणाहरू र हल्‍लाहरू बाहेक केही पनि होइनन् भन्‍ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्‍ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने विचार गर्छ। आज, जब मानिसले परमेश्‍वरको काम देख्छ, उसले धेरै वर्षसम्‍म थुप्रिएर बसेका धारणाहरूलाई खुला छोड्छ। विगतका कल्‍पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्‍म परमेश्‍वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्‍बन्धी धारणाहरू अझै बढी गम्‍भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्‍वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्‍पनाहरूमा निहित छ। मानिसका धारणा र कल्‍पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्‍पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्‍पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्‍ना धारणाहरूलाई छोडिदिन्छ र उसको आफ्‍नो कल्‍पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्‍न सकिन्छ, अनि परमेश्‍वरको कामको गल्ती हो भनेर भन्‍न सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१४७. मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँथ्यो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि मैले तय गरेका मापदण्डहरूमा उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले तय गरेको मापदण्ड सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन् वा कति लामो समयदेखि ती योग्यता तँमा रहेका छन्, म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍नु भनेर भन्‍न सक्‍नेछस्? यदि मैले आज बोलेका वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। परमेश्‍वरलाई पछ्याउने क्रममा तैँले सधैँ आफूले कष्ट भोगेको छु, आँधीबेरीमा उहाँलाई पछ्याएको छु, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छु भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएको छैनस्; तँ उहाँको लागि दौडधूप गर्ने र हरदिन आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “जेसुकै भए पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँका लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरिहिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे पनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग नपछ्याउनेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछ र उनीहरूले मेरा आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिनेहरू तिनीहरू नै हुन्। तैँले के-कस्ता अवस्थाहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू के प्राप्त गरेको छस्? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तर तँसँग बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशावादी मनोवृत्तिसाथ यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिशोध हो र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउनेहरू सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता नै यही हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभाव प्रकट गरिन्छ, तब मानिस अवाक् हुनेछ र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्ग नपछ्याएकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्ग पछ्याइनँ। स्पष्टीकरण दिने के ठाउँ छ र? सजाय पाउनेबाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती नष्ट गरिने मानिसहरूजस्तो छैनँ; नष्ट गरिनुपर्नेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारताको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र अशुद्ध र परिवर्तन नभएकाहरू सबै नै परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो र यो प्रशासनिक आदेश नै सत्यता धारण नगरेका र परिवर्तन नभएका र मुक्तिको कुनै गुन्जाइस नभएका जोकोहीको लागि धर्मी दण्ड हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुने समय हो, जुन समयपछि मानिसलाई मुक्ति दिने कार्य फेरि गरिनेछैन र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ। कतिपय मानिसहरू भन्छन्, “प्रायजसो उहाँकै पक्षमा हुने हरेकलाई परमेश्‍वरले स्मरण गर्नुहुन्छ। हामीमध्ये एक जनालाई पनि उहाँले बिर्सनुहुनेछैन। परमेश्‍वरद्वारा हामीलाई सिद्ध पारिने ग्यारेन्टी छ। जो तल छन् तिनीहरू कसैलाई पनि उहाँले सम्‍झनुहुनेछैन, तल रहेका मानिसहरूमध्येमा जसलाई सिद्ध पारिनेछ तिनीहरू परमेश्‍वरलाई पटकपटक भेट गर्ने हामीभन्दा तलै हुने ग्यारेन्टी छ; हामीमध्ये कसैलाई पनि परमेश्‍वरले बिर्सनुभएको छैन, हामी सबैलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ र परमेश्‍वरद्वारा हामीलाई सिद्ध पारिने ग्यारेन्टी छ।” तिमीहरूसँग यस्ता धारणाहरू छन्। के यो धार्मिकता हो? तैँले सत्यता अभ्यास गरेको छस् कि छैनस्? तैँले वास्तवमा यस्ता हल्‍लाहरू फैलाएको छस्—तँमा कुनै सरम छैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

१४८. यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, बरु तिनीहरू उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; परमेश्वरको ज्ञान मानिसले मनमानी मूल्याङ्कनहरू गर्ने क्रममा पवित्र आत्‍माको अन्तर्दृष्टिमार्फत प्राप्त हुँदैन। परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

१४९. येशूको सत्यता देह हुन आएपछि, मानिसले स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ भन्‍ने विश्‍वास गर्‍यो। स्वर्गमा यस प्रकारका परमेश्‍वर हुनुहुन्छ भन्‍ने मानिसमा भएको यो धारणा परम्परागत धारणा हो: एक त्रिएकत्व परमेश्‍वर जो पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। सबै मानवजातिमा यी धारणाहरू छन्: परमेश्‍वर एउटै परमेश्‍वर हुनुहुन्छ, तर तीन भागले निर्मित हुनुहुन्छ, जसलाई परम्परागत धारणामा गम्भीर रूपमा गढेर बस्नेहरू सबैले पिता, पुत्र र पवित्र आत्मा हुन् भनी सोच्छन्। ती तीन भागले मात्रै एक पूर्ण परमेश्‍वर बन्दछ। पवित्र पिताविना परमेश्‍वर पूर्ण बन्‍नुहुन्न। त्यस्तै गरी, न त पुत्रविना, न पवित्र आत्माविना परमेश्‍वर पूर्ण बन्नुहुन्छ। तिनीहरूका धारणाहरू अनुसार, तिनीहरूले के विश्‍वास गर्छन् भने, पितालाई मात्र वा पुत्रलाई मात्र परमेश्‍वर मान्न सकिँदैन। पिता, पुत्र र पवित्र आत्मालाई मात्रै समग्रमा परमेश्‍वर मान्न सकिन्छ। अब, सबै धार्मिक विश्‍वासीहरू र तिमीहरूका बीचका प्रत्येक अनुयायीहरूमा यस्तो आस्था छ। तापनि, त्यो आस्था सही हो कि होइन भनी कसैले पनि बताउन सक्दैन, किनकि तिमीहरू परमेश्‍वर स्वयम सम्‍बन्धी विषयहरूमा सधैँ अन्योलताको बादलमा छौ। यी त धारणाहरू भए पनि, तिमीहरू ती सही हुन् वा गलत हुन् सो जान्दैनौ, किनकि तिमीहरू धार्मिक धारणाहरूद्वारा गम्भीर रूपमा प्रभावित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र धेरै गहिराइमा पसेको छ। त्यसकारण, यस विषयमा पनि तिमीहरू यस हानिकारक प्रभावको अघि झुकेका छौ, किनकि त्रिएक परमेश्‍वर अस्तित्वमा छैन। अर्थात्, पिता, पुत्र र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छैन। यी सबै मानिसको परम्परागत धारणाहरू हुन्, र मानिसको झूटा आस्थाहरू हुन्। धेरै शताब्दीदेखि मानिसले यस त्रिएकत्वमा विश्‍वास गरेको छ, जुन मानिसको मनमा सङ्कलित धारणाहरू हुन्, मानिसद्वारा निर्माण गरिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हुन्। यति धेरै वर्षको अवधिमा बाइबलका धेरै व्याख्याकारहरू आएका छन्, जसले त्रिएकत्वको “साँचो अर्थ” वर्णन गरेका छन्, तर त्रिएक परमेश्‍वरका तीन अलग व्यक्तित्वहरूको रूपमा यसरी वर्णन गरेको कुरा अनिश्चित र अस्पष्ट छ, र सबै मानिसहरू परमेश्‍वरको यस्तो “बनावट” द्वारा अलमल्लमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै यसको विस्तृत विवरण प्रस्तुत गर्न सकेको छैन; प्रायजसो स्पष्टीकरणहरूलाई तर्कको रूपमा र कागजमा सङ्कलन गरिएका छन्, तर एकै जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा बुझेको छैन। किनकि मानिसको हृदयमा भएको यस महान् त्रिएकत्व कुनै अस्तित्वमा छैन। …

यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गर्ने हो भने, तीन जना परमेश्‍वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम एउटै छैन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै अस्तित्वमा हुनुहुन्छ भनी भन्छौ भने, तीन व्यक्तित्वहरूमा रहेका एउटा परमेश्‍वर भनेको के हो, त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माका बारेमा के भन्‍ने? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पनि पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरसँग कति वटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ तीन परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ। यसको अर्थ एकमात्र साँचो परमेश्‍वर हुनुहुन्‍न; यस प्रकारको परमेश्‍वरसँग अझै पनि परमेश्‍वरको अन्तर्निहित सार कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र हुन सक्छ र उहाँचाहिँ पिता हुन सक्नुहुन्छ? के यी सबै तेरा धारणाहरू मात्र होइनन्? परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, यो परमेश्‍वरमा एक मात्र व्यक्तित्व छ, र परमेश्‍वरको एउटै मात्र आत्मा हुनुहुन्छ, जुन तथ्य बाइबलमा “पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्‍वर हुनुहुन्छ” भनेर लेखिए जस्तै हो। तैँले भन्‍ने पिता र पुत्र अस्तित्वमा भए पनि वा नभए पनि, आखिर परमेश्‍वर एक मात्र हुनुहुन्छ, अनि तैँले विश्‍वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार भनेको पवित्र आत्माको सार नै हो। अर्को शब्दमा भन्‍ने हो भने, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ जिउन सक्‍नुहुन्छ, साथै सबै थोकभन्दा माथि हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एक साथ देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने गरेकाले, परमेश्‍वर एक मात्र हुनुहुन्छ, र उहाँलाई कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्‍वर एक मात्र आत्मा, र एक मात्र व्यक्ति हुनुहुन्छ; र त्यो परमेश्‍वरका आत्मा हुनुहुन्छ। यदि तैँले भनेको जस्तै पिता, पुत्र र पवित्र आत्मा हो भने त, के उहाँहरू तीन परमेश्‍वर हुनुहुन्न र? पवित्र आत्मा एउटा विषय हुनुहुन्छ, पुत्र अर्को, र पिता अर्को हुनुहुन्छ। उहाँहरूका व्यक्तित्व फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्‍वरका भागहरू हुन सक्नुहुन्छ? पवित्र आत्मा, आत्मा हुनुहुन्छ; यो बुझ्न मानिसका निम्ति सजिलो छ। यदि त्यसो हो भने, पिता झन् अझ बढी आत्मा हुनुहुन्छ। उहाँ यस पृथ्वीमा कहिल्यै ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; मानिसहरूका हृदयमा उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ, र निश्चय उहाँ एक आत्मा पनि हुनुहुन्छ। त्यसोभए उहाँ र पवित्र आत्माको बीचमा के सम्बन्ध छ? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? वा के यो पवित्र आत्मा र पिताको आत्मा बीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? वा के पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी वर्णन गर्न सकिन्छ? तब पुत्र र पवित्र आत्माको बीच के सम्बन्ध छ? के यो दुईवटा आत्मा बीचको सम्बन्ध हो वा मानिस र आत्मा बीचको सम्बन्ध हो? यी सबै यस्तै विषयहरू हुन् जसको हामीसित कुनै स्पष्टीकरण छैन! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीन व्यक्तित्वहरूको कुरा हुन सक्दैन, किनकि उहाँहरूमा एउटै आत्मा हुनुहुन्छ। यदि उहाँहरू फरक-फरक व्यक्तित्वहरू हुनुहुन्थ्यो भने, उहाँहरूका आत्माहरू शक्तिमा फरक हुनेथियो, र उहाँहरू केवल एक मात्र आत्मा हुन सक्नुहुन्नथियो। पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा बेतुके छ! यसले परमेश्‍वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक हैसियत र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्‍वर हुन सक्नुहुन्छ? मलाई भन्, के स्वर्ग र पृथ्वी, र यावत् थोक पिताले, पुत्रले, कि पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कतिले भन्छन्, उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले, कि पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले छुटकारा दिनुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई सृजित मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माले गर्भधारण गरी जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैँले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्‍वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रसम्‍बन्धी यो अवधारणा सरासर असत्य हो। सबै काम गर्नुहुने आत्मा एउटै हुनुहुन्छ, परमेश्‍वर स्वयम् मात्र, अर्थात् परमेश्‍वरका आत्माले आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? के उहाँ पवित्र आत्मा होइन र? के येशूमा काम गर्ने पवित्र आत्मा नै होइन र? यदि यो काम पवित्र आत्मा (अर्थात् परमेश्‍वरका आत्मा) द्वारा नगरिएको भए, के उहाँको कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्‍वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्‍वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र उहाँबाहिर सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। उहाँभित्र परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भने पनि, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफै लगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र हुनुभएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्‍मनुभएको व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्‍वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्न सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।” उहाँले सबै मानिसहरूलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नू भनी भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नुभएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभएको थियो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्‍वरद्वारा चुनिएका एक मानिस (अर्थात् परमेश्‍वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्‍वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र समर्पणता थियो। तापनि, उहाँले परमेश्‍वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्‍ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सीमाहरूमा सीमित रहनुभएका मानिसको पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताका अभिप्रायहरू खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयो: “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा, मानिसका पुत्र, ख्रीष्ट हुनुहुन्थ्यो, र महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्‍वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्‍वरलाई पिता भन्‍नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुने भए त, येशूले प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्‍वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्‍वस्त भएका छैनौ भने मलाई भन, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब उप्रान्त छैन। यो धारणा येशू देह बन्नुभएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्‍वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ। पिता, पुत्र र पवित्र आत्माको-त्रिएकत्वको धारणा कुनै पनि समय खडा हुन सकेको छैन; यो युगहरूमा बिरलै देखिएको एउटा भ्रम मात्र हो र यसको कुनै अस्तित्व छैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

१५०. बाइबलको पुरानो करारमा पिता, पुत्र र पवित्र आत्माको बारेमा कुनै उल्लेख गरिएको छैन, केवल एक मात्र सत्य परमेश्‍वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको कुरा मात्र उल्लेख छ। युग परिवर्तन हुँदै जाँदा उहाँलाई विभिन्न नाउँहरूले सम्बोधन गरियो, तर ती प्रत्येक नाउँले फरक-फरक व्यक्तित्वलाई बुझाउँछन् भनी यसले प्रमाणित गर्दैन। यदि त्यस्तो हो भने, के परमेश्‍वरमा असङ्ख्य व्यक्तित्वहरू हुनेथिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, त्यो व्यवस्थाको युगमा सुरु गर्न परमेश्‍वर आफैले गर्नुभएको काम थियो। त्यो परमेश्‍वरको काम थियो, उहाँले जसरी बोल्नुभयो, त्यस्तै हुन आयो र उहाँले आज्ञा गर्नुभएको जस्तै भयो। कुनै पनि समयमा यहोवाले उहाँ काम गर्न आउनुभएका पिता हुनुहुन्छ भनेर भन्नुभएन, न त उहाँले मानवजातिको उद्धार गर्न पुत्र आउनुहुनेछ भनेर नै अगमवाणी गर्नुभयो। जब येशूको समय आयो, त्यस बेला परमेश्‍वर सम्पूर्ण मानवजातिलाई छुटकारा दिन देह बन्नुभयो भनेर मात्र भनियो, पुत्र आउनुभयो भनेर भनिएन। युगहरू एकै प्रकारका नभएकाले र परमेश्‍वर आफैले गर्नुहुने काम पनि फरक-फरक हुने भएकोले, उहाँले आफ्नो कामलाई विभिन्न क्षेत्रहरूमा गर्नु आवश्यक छ। यस प्रकारले, उहाँले प्रतिनिधित्व गर्नुहुने पहिचान पनि फरक-फरक हुन्छन्। मानिसले यहोवा येशूका पिता हुनुहुन्छ भनी विश्‍वास गर्छ, तर वास्तवमा येशूले यसलाई स्वीकार्नु भएन, जसले भन्नुभयो: “हामी कहिल्यै पनि पिता र पुत्रको रूपमा चिनिंदैनौँ; म र स्वर्गमा हुनुहुने पिता एक हौं। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई देख्छन्।” निष्कर्षमा, उहाँ चाहे पिता होऊन् वा पुत्र, उहाँहरू एक आत्मा हुनुहुन्छ, अलग-अलग व्यक्तित्वहरूमा विभाजित हुनुहुन्न। मानिसले व्याख्या गर्न खोज्यो भने फरक-फरक व्यक्तित्वहरू साथै पिता, पुत्र र पवित्र आत्माको सम्बन्धको धारणाले गर्दा विषयहरू जटिल बन्छन्। जब मानिसले फरक-फरक व्यक्तित्वहरूको कुरा गर्छ, के त्यसले परमेश्‍वरलाई भौतिक बनाउँदैन? मानिसले ती व्यक्तित्वहरूलाई पहिलो, दोस्रो र तेस्रो दर्जामा राख्छ; यी सबै मानिसको कल्पना मात्र हुन्, जुन उल्लेख गर्नु योग्यको छैन, र पूर्ण रूपमा अवास्तविक छ! यदि तैँले उसलाई, “कति जना परमेश्‍वरहरू छन्?” भनी सोधिस् भने, उसले भन्‍नेछ, परमेश्‍वर पिता, पुत्र र पवित्र आत्मा भएको त्रिएकत्व हुनुहुन्छ: एक मात्र साँचो परमेश्‍वर। यदि तैँले अझै, “पिता को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले यसो भन्‍नेछ: “पिता स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्मा हुनुहुन्छ; उहाँ सबैका नियन्त्रक हुनुहुन्छ, र उहाँ स्वर्गका मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा आत्मा हुनुहुन्छ?” उसले भन्‍नेछ: “हो!” यदि तैँले उसलाई, “पुत्र को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले अवश्य नै येशू पुत्र हुनुहुन्छ भनी भन्‍नेछ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभएको हो?” उसले भन्‍नेछ: “येशू पवित्र आत्माद्वारा मरियमको गर्भमा आउनुभयो र जन्मनुभयो।” त्यसो भए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको कामले पनि पवित्र आत्माको प्रतिनिधित्व गर्दैन र? यहोवा आत्मा हुनुहुन्छ, र यसैले येशूको सार पनि हुनुहुन्छ। अब आखिरी दिनहरूमा, उहाँ अझै पनि आत्मा हुनुहुन्छ भनेर भन्‍नु आवश्यक छैन; उहाँहरू कसरी फरक-फरक व्यक्तित्वहरू हुन सक्‍नुहुन्छ? के यो आत्माले भिन्नै दृष्टिकोणबाट गरिरहनुभएको आत्माकै काम होइन र? जस्तै, व्यक्तित्वहरूका बीच कुनै भिन्नता हुँदैन। येशूको गर्भधारण पवित्र आत्माबाट भएको थियो, र निसन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न त देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुभए पनि, उहाँ आत्मा, परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, जसले आदिमा मानिसलाई सृष्टि गर्नुभयो। अर्थात्, उहाँ परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो। उहाँले बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, केवल आत्माको रूपमा र कसैले पनि उहाँ देखापर्नुभएको घटनालाई देखेन। अनुग्रहको युगमा मात्र जब परमेश्‍वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो, तब मानिसले उहाँलाई एक यहूदीको स्वरूपमा पहिलोचोटि देख्यो। हेर्दा, उहाँमा यहोवासँग मिल्‍ने कुनै कुरा थिएन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधारण, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधारण हुनुभएको थियो, र येशू परमेश्‍वरका आत्माको मूर्त रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशूमा मात्र आउनुभएको आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, काम गर्न सकिनेथिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा प्रबल आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्छ, अझ, उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न झनै सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्‍वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र असङ्ख्य मानिसहरूको माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ नै हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको अन्तर्निहित आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हतकेलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिए पनि, उहाँ उहाँ नै हुनुहुन्छ, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई गरिएको छुटकारा, उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र सबै जाति र सबै देशहरूका निम्ति आखिरी दिनहरूमा गरिएको घोषणा पनि त्यस्तै हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। उहाँ अलग-अलग व्यक्तित्वहरूमा बिलकुलै हुनुहुन्‍न, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

१५१. अझै कसै-कसैले भन्न सक्छ: “पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनेछ।” त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई हुनुहुन्थ्यो भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहनुहुन्‍नथियो र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भागमा हुनुपर्दैन र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिँदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। मानिसको नजरमा, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा भ्रमित व्याख्या हो। के यो परमेश्‍वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र? यसो भन्‍नेहरू पनि छन्, “के परमेश्‍वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैँले बुझिस्? के येशूले “म पितामा छु र पिता ममा हुनुहुन्छ,” भनी भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी सङ्केत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरू परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छन्। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा भनेर बोलाउन सकिन्थ्यो, जो इस्राएलीहरूका गोठालो हुनुहुन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई केवल प्रभु र ख्रीष्ट भनेर बोलाउन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ भनेर मात्र भन्नुभयो, र उहाँ परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्‍वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्‍वर मानिस बन्नुहुन्नथियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्‍वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयो: “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि म देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्‍वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्‍वर हुनुहुन्न भन्न सकिँदैन। उहाँलाई परमेश्‍वरका प्रिय पुत्रका रूपमा बोलाइएको भए पनि, उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

अघिल्लो:  ख. भ्रष्ट मानवजातिको शैतानी स्वभाव र तिनीहरूको प्रकृति सारको खुलासा सम्बन्धी वचनहरू

अर्को:  घ. सत्य के हो भन्‍ने खुलासा सम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger