अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१)
झुटा अगुवाहरूलाई खुट्ट्याउन किन आवश्यक छ
अब हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणबारे सङ्गति सकाएका छौँ, आज हामी नयाँ विषय—झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू—बारे सङ्गति गर्नेछौँ। तिमीहरूले परमेश्वरमा विश्वास गरेका यतिका वर्षमा झुटा अगुवाहरूका हरप्रकारका प्रकटीकरण र अभ्यासहरू सामना गरेका छौ। परमेश्वरको घरले सबै तहका झुटा अगुवाहरू बरखास्त गर्ने क्रममा, धेरैजसो मानिसहरूले झुटा अगुवाहरूसम्बन्धी लगभग केही न केही समझ प्राप्त गर्छन्; अर्थात्, धेरैजसो मानिससँग झुटा अगुवाहरूको कतिपय विशिष्ट प्रकटीकरणबारे थोरथोरै बुझाइ हुन्छ। तर तेरो बुझाइ जेजस्तो भए पनि वा तैँले जेजति बुझे पनि, अन्ततः त्यो पर्याप्त रूपले व्यवस्थित वा विशिष्ट हुँदैन। मण्डली चुनावको अवधिमा, धेरै मानिसहरूले अगुवाहरू छान्ने सिद्धान्तहरू बुझ्न सक्दैनन्, र अगुवाका रूपमा कस्ता व्यक्तिलाई छान्ने र कस्तो व्यक्तिले अगुवाका रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा ल्याउन सक्छ, र कस्तो व्यक्ति योग्य अगुवा हो भनेर बुझ्न सक्दैनन्। तिनीहरू यी कुराबारे त्यति सचेत वा स्पष्ट हुँदैनन्। कतिपय त अलमल्ल र समझहीन मानिसहरूसमेत हुन्छन्, जसले चुनावमा हाकाहाकी झुटा अगुवाहरू चुन्छन्, अगुवाको क्षमता र मानवता भएका अगुवा बन्न साँच्चै योग्य र सक्षम व्यक्तिप्रति आँखा चिम्लेर जो झुटो अगुवाजस्तो छ उसैलाई छान्छन्। आधारभूत रूपमा अगुवा हुने क्षमता र मानवता नै नहुनेहरू बस बाहिरी उत्साह वा केही असल व्यवहारको कारण र “असल” हुनेबारे मानिसहरूको धारणासँग मिल्दो भएकै कारण चयन हुन्छन्, जबकि वास्तवमा नेतृत्व लिन सबै योग्यता हुनेहरू कहिल्यै चुनिँदैनन्। आकर्षणको केन्द्रबिन्दु हुन र आफूलाई उत्साहपूर्वक समर्पित गर्न खोज्ने—तर आधारभूत रूपमा अदक्ष रहेकाहरू—सधैँ हरप्रकारका परिवेशमा देखा पर्छन्, र अत्यन्तै सक्रिय देखिन्छन्, र धेरैजसो मानिसहरूले यस्तो व्यक्ति नै योग्य हो र उसैलाई चयन गर्नुपर्छ भनेर सोच्छन्। परिणामस्वरूप, यस्ता मानिसहरू चुनिएपछि, तिनीहरूले कुनै काम काँधमा लिन सक्दैनन्। तिनीहरूले माथिका कार्य बन्दोबस्तहरू लागू गर्नसमेत सक्दैनन्, न त तिनीहरूलाई त्यो कसरी लागू गर्ने भनेर नै थाहा हुन्छ। तिनीहरूले आफूलाई सधैँ एकदमै उत्साहपूर्वक व्यस्त राख्ने गर्छन्, तर तिनीहरूले केही समय नेतृत्व गरेपछि पनि मण्डलीको कुनै पनि काममा सुधार आउँदैन र अलिकति पनि प्रगति हुँदैन, अनि दुष्ट मानिसहरूले बाधा पुऱ्याउने वा शक्ति हडप्ने भएर मण्डलीको काम अस्तव्यस्त हुने वा मानिसहरू एकजुट नहुने अवस्थाहरू प्रायः आइरहन्छन्। झुटा अगुवाहरूको कामले ल्याउने परिणामहरू यिनै हुन्। झुटो अगुवा चयन भएपछि, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश प्रभावित हुने र त्यसमा हानि पुग्ने मात्र होइन, त्यससँगै मण्डलीको कामका विभिन्न पक्षहरूमा समेत नकारात्मक असर पर्नेछ, जसले गर्दा सुसमाचार प्रचारप्रसारको काम सहज वा प्रभावकारी ढङ्गमा सञ्चालन गर्न सकिँदैन। यो आंशिक रूपमा झुटो अगुवा आफैले निम्त्याएको समस्या हो, तर यो आंशिक रूपमा उसलाई चयन गर्नेहरूसित पनि सम्बन्धित छ। यदि तँ सत्यता सिद्धान्तहरू बुझ्दैनस्, तँमा समझशक्ति छैन, र तँ अन्धो छस् र मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैनस् जसले गर्दा तैँले झुटो अगुवा चुन्न पुग्छस् भने, तैँले आफू र अरूलाई हानि गर्ने मात्र होइन, यसले गर्दा मण्डलीको काममा समेत हानि पुग्छ। यो नै झुटा अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको काममा पुऱ्याउने प्रभाव र हानि हो। तसर्थ, हामीले झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुट्ट्याउन र तिनको सूची तयार पार्न जरुरी छ, अनि त्यसका आधारमा म तिमीहरूलाई योग्य अगुवाले कुन-कुन व्यवहारहरू देखाउनुपर्छ, कस्तो काम गर्नुपर्छ, र उसको जिम्मेवारीको दायरा ठ्याक्कै के हो भनेर बुझाउनेछु। झुटा अगुवाहरू खुट्ट्याउने विषय अत्यन्तै महत्त्वपूर्ण छ, किनभने यसले मण्डलीको काम, परमेश्वरका चुनिएका हरेक मानिसको जीवन प्रवेश, र विशेषगरी प्रत्येक कर्तव्यमा भइरहेको प्रगतिबारे बताउँछ। कतिले भन्न सक्छन्: “चुनावमा उठ्ने मेरो अभिप्राय छैन, न त ममा अगुवा वा कामदार बन्ने कुनै महत्त्वाकाङ्क्षा वा चाहना नै छ। म आफूबारे सचेत छु, र साधारण विश्वासी हुन यति भए पुग्छ, त्यसैले सत्यता सिद्धान्तहरूको यो पक्षसित मेरो कुनै सम्बन्ध छैन। यदि मैले सुन्न चाहेँ भने, म मेरो आफ्नै जीवन प्रवेश र मुक्तिबारे कुरा सुन्नेछु। झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू र तिनमा संलग्न सत्यताहरू मेरो जीवन प्रवेशमा सान्दर्भिक छैनन्, त्यसैले मैले ती सुन्नुपर्दैन वा ध्यान नदिई वा आधा मनले सुन्दै प्रक्रिया मात्र पूरा गरे हुन्छ, त्यसलाई गम्भीर रूपमा लिनु पर्दैन।” के यो राम्रो मनोवृत्ति हो? (होइन।) अरू भन्छन्: “ममा महत्त्वाकाङ्क्षा छैन, र म अगुवाको उम्मेदवार हुन चाहन्नँ। मैले बाल्यकालदेखि नै अधिकारी बन्ने वा अरूभन्दा अलग्गै देखिने अभिप्राय कहिल्यै राखिनँ, मलाई त सामान्य, साधारण व्यक्ति बन्न नै मन पर्छ। मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै म अनुयायी बन्न चाहन्थेँ। मलाई अरूको आदेश पालन गर्न मन पर्छ, र म उनीहरूले जे अह्राउँछन् त्यो गर्छु। यस्तो व्यक्ति हुनु कति सरल हुन्छ! म त चिन्ता गर्न वा बोझ बोक्न नचाहने सामान्य व्यक्ति मात्र हुँ, त्यसैले मैले यी कुराहरू सुन्नु आवश्यक छैन, न त म सुन्न नै चाहन्छु।” यो दृष्टिकोण सही हो कि होइन? (यो सही होइन।) यसमा के सही छैन? (तिनीहरूले अगुवा हुन नचाहे पनि, यदि तिनीहरूले सत्यताको यो पक्ष बुझ्दैनन् र झुटा अगुवाहरू खुट्ट्याउन सक्दैनन् भने, चुनावमा तिनीहरूले झुटो अगुवालाई चुन्ने सम्भावना एकदमै धेरै हुन्छ, जसले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर गर्नेछ।) यो एउटा पक्ष हो। अरू केही छ? (झुटा अगुवाहरूको समस्या हामी सबैमा हुन्छ, र हामीले आफूलाई जाँच्ने, आत्मचिन्तन गर्ने, र आफूलाई बुझ्ने गर्नुपर्छ।) (यदि हामीले झुटा अगुवाहरू चिन्न सकेनौँ भने हामी कहिले तिनीहरूद्वारा भ्रमित पारिनेछौँ भनेरसमेत थाहा पाउनेछैनौँ, र हाम्रो आफ्ननै जीवनलाई कष्ट हुनेछ।) (यस्तो दृष्टिकोण सत्यता नपछ्याउनुको प्रकटीकरण हो। परमेश्वरका घरमा अगुवा बन्नु भनेको महत्त्वाकाङ्क्षी हुनु र संसारमा अधिकारी बन्न चाहनु जस्तो होइन। अगुवा हुनु भनेको सत्यता अझ राम्ररी पछ्याउनु, मण्डलीको कामको बोझ बोक्नु, र परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नु हो। यो सत्यताप्रति लागिपर्नु हो।) (परमेश्वरका चुनिएका मानिस भएको नाताले, हामीसँग झुटा अगुवाहरूको रिपोर्ट गर्ने दायित्व र जिम्मेवारी हुन्छ। यदि हामी झुटा अगुवाहरू खुट्ट्याउन सक्दैनौँ भने, तिनीहरूलाई शक्ति हत्याउन र मण्डलीको काममा असर पार्न दिन सक्छौँ।) त्यसमा कतिवटा पक्ष भयो? (पाँचवटा पक्ष।) यी पाँचै पक्ष सही छन्, र निकै सटीक छन्। मैले भर्खरै बताएको खालको व्यक्तिको दृष्टिकोणका आधारमा यो समस्याको सारलाई चिरफार गर्दा, त्यसमा मूलतः यी पाँचवटा पक्षहरू छन्। तैँले अगुवा बन्न चाहे पनि वा नचाहे पनि, परमेश्वरका चुनिएका मानिस भएको नाताले तैँले अगुवा र कामदारहरूप्रति सुपरिवेक्षकको भूमिका निभाउनुपर्छ। परमेश्वरको घर तेरो पनि घर हो, र अगुवा भनेको एउटा सानो घर हेरचाहकर्ता हो। यदि उसले राम्ररी कामकुरा व्यवस्थापन गरेन भने, त्यसले तँलाई पनि असर गर्नेछ र मुछ्नेछ, त्यसैले तँसँग तिनीहरूका सबै कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी र दायित्व हुन्छ।
अगुवा र कामदारहरूका पन्ध्र जिम्मेवारीहरूको सिंहावलोकन
झुटा अगुवाहरूलाई खुट्ट्याउन गाह्रो छैन, किनभने यस्तो व्यक्ति मण्डलीभित्र हुनु असामान्य कुरा होइन; तिनीहरू मण्डली नेतृत्व र मण्डली कार्य सुरु भएदेखि नै अस्तित्वमा रहँदै आएका छन्। तिनीहरूको सामर्थ्य र बुझ्ने क्षमता, चरित्र र तिनीहरूले रोजेको मार्ग सबैमा कैयौँ निश्चित प्रकटीकरणहरू हुन्छन्। यी निश्चित प्रकटीकरणहरूलाई चिरफार गर्नुअघि, हामीले पहिला अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन्, र त्यसमा मुख्यतः के-कस्तो खास काम समावेश हुन्छ भनेर बुझ्नुपर्छ। यो खास काम राम्ररी गर्न सक्नेहरू मात्र योग्य अगुवा र कामदार हुन्; यो काम गर्न नसक्नेहरू झुटा अगुवा हुन्। सायद धेरैजसो मानिसहरूसँग झुटा अगुवाहरू खुट्ट्याउने तरिका अझै नहुन सक्छ, र तिनीहरूले आधारभूत सिद्धान्तहरू नबुझ्न सक्छन् र कुन पक्षहरू खुट्ट्याउन सबैभन्दा महत्त्वपूर्ण छ भनेर नजान्न सक्छन्। आज, पहिला हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरू एकएक गरी सूचीबद्ध गरेर ती ठ्याक्कै के-के हुन् भनी व्यवस्थित ढङ्गमा सङ्गति गरौँ, ताकि सबैले प्रस्ट रूपमा थाहा पाऊन्। यी सिद्धान्तहरू बुझेपछि, फेरि अगुवा र कामदारहरू चयन गर्दा, ठ्याक्कै कसरी चयन गर्ने र ठ्याक्कै कुन व्यक्तिलाई चयन गर्दा सही हुन्छ भनेर मापन गर्नका लागि तँसँग सही मानक हुनेछ। त्यसैले, पहिला अगुवा र कामदारहरूका जिम्मेवारीहरू सूचीबद्ध गरौँ।
अगुवा तथा सेवकहरूका कर्तव्यहरू:
१. मानिसहरूलाई परमेश्वरको वचन खान र पिउन तथा बुझ्न अनि परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने।
२. हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने विविध कठिनाइहरूको समाधान गर्ने।
३. हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्ने।
४. विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य तुरुन्तै हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।
५. प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्ने, अनि समस्याहरूलाई तुरुन्तै समाधान गर्ने, विचलनहरूलाई सच्याउने र काममा नदेखिने त्रुटिहरूको निदान गर्ने ताकि कामको प्रगति सहज होस्।
६. सबै किसिमका योग्य प्रतिभाको प्रवर्द्धन र व्यक्तित्व निर्माणमा सहयोग पुर्याउने ताकि सत्यलाई पछ्याउने सबैले तालिम प्राप्त गर्ने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्य वास्तविकतामा प्रवेश गरून्।
७. फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षको आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।
८. काममा अलमल र कठिनाइहरू उत्पन्न भएको अवस्थामा चाँडै रिपोर्ट गर्ने र मार्गनिर्देशनको खोजी गर्ने।
९. आवश्यकताको आधारमा, कार्यान्वयनको स्थितिको मार्गनिर्देशन, निगरानी, सुपरिवेक्षण, निरीक्षण र अनुगमन प्रदान गर्दै परमेश्वरको घरको विभिन्न कार्य बन्दोबस्तलाई सही ढङ्गबाट सञ्चार, जारी र कार्यान्वयन गर्ने।
१०. परमेश्वरका घरका विभिन्न सम्पत्तिहरूलाई (पुस्तकहरू, विभिन्न उपकरण, खानेकुराहरू र यस्तै अन्य कुराहरू) उचित तरिकाले भण्डारण गर्ने र विवेकपूर्वक वितरण गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू हडप्न वा दुरुपयोग गर्न नदिने।
११. विशेषगरी भेटीलाई व्यवस्थित ढङ्गबाट दर्ता, मिलान र भण्डारण गर्ने कार्यको निम्ति पर्याप्त मानवता भएका भरपर्दा मानिसहरू छान्ने; आय र व्ययलाई निरन्तर जाँच गर्ने ताकि फजुल खर्च र खेर जाने स्थितिका साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्ने र उचित क्षतिपूर्ति माग गर्ने; यसअलावा, जुनसुकै माध्यम प्रयोग गरेर भए पनि, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र दुरुपयोग हुनदेखि जोगाउने।
१२. परमेश्वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्याउने विभिन्न मानिस, घटना, चीजबीजहरूलाई तुरुन्ते र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, सीमित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यको सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र ती कुराहरूबाट सिकून्।
१३. परमेश्वरका चुनिएका जनहरूलाई ख्रीष्टविरोधीको बाधा, छल, नियन्त्रण र हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई चिन्न र आफ्नो हृदयबाट तिनीहरूलाई त्याग्न सिकाउने।
१४. सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै पहिचान, शोधन र निष्कासन गर्ने।
१५. सबै किसिमका महत्त्वपूर्ण काम गर्ने व्यक्तिहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र महत्त्वपूर्ण काम व्यवस्थित ढङ्गबाट अगाडि बढोस् भनेर तिनीहरूलाई सुरक्षित राख्ने।
अगुवा र कामदारहरूका जिम्मेवारीहरू कुल पन्ध्र बुँदामा सारांशीकृत गरिएका छन् र हामी यिनै आधारमा सङ्गति गर्नेछौँ। पहिला यी पन्ध्र बुँदामा रहेका प्रत्येक कामलाई हेरौँ। पहिलो तीन बुँदामा मानिसहरूले सत्यता बुझ्ने र जीवन प्रवेशको मुद्दाबारे बताइएको छ। यो अगुवा र कामदारहरूले गर्नुपर्ने सबैभन्दा आधारभूत काम हो, र यो प्रमुख कार्यवर्गहरूमध्ये एक हो। अगुवा वा कामदारका रूपमा, तैँले सबैभन्दा आधारभूत रूपमा यी कामहरू गर्न सक्नु, तँमा यस्तो क्षमता हुनु, यस्तो बोझ हुनु, र तैँले यो जिम्मेवारी उठाउन सक्नु जरुरी छ। तँमा हुनुपर्ने सबैभन्दा आधारभूत कुराहरू यिनै हुन्। अगुवा र कामदारहरूले परमेश्वरका वचनहरूमा सङ्गति गर्न, ती वचनहरूबाट अभ्यासको मार्ग भेट्टाउन, मानिसहरूलाई परमेश्वरको वचन बुझ्नतर्फ डोऱ्याउन, र मानिसहरूलाई परमेश्वरका वचनहरू अनुभव गर्न र वास्तविक जीवनमा ती वचनहरूमा प्रवेश गर्न र तिनलाई वास्तविक जीवनमा परिणत गर्न, ती वचनहरू प्रयोग गरेर वास्तविक जीवनमा र कर्तव्य निभाउने दौरान आइपर्ने विभिन्न समस्या वा कठिनाइहरू हल गर्नतर्फ डोऱ्याउन सक्नैपर्छ। यदि परमेश्वरका चुनिएका मानिसहरूसँग अगुवा वा कामदारले समाधान गर्नुपर्ने समस्याहरू छन्, तर त्यो अगुवा वा कामदारले ती समस्या हल गर्न सत्यता प्रयोग गर्न सक्दैन भने, त्यो अगुवा वा कामदार सबैभन्दा आधारभूत कामसमेत गर्न नसक्ने निकम्मा हो। यस्तो अगुवा वा कामदार योग्य होइन। चौथो र पाँचौँ बुँदा मण्डलीका विभिन्न कामहरू र ती ती कामका सुपरिवेक्षकहरूसँग सम्बन्धित छन्। यदि अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूलाई उचित रूपमा निगरानी गरेनन् भने, मण्डलीको काम दुष्ट मानिसहरूद्वारा अस्तव्यस्त पारिन वा बिथोलिन सक्छ, यसले कामको प्रभावकारिता र प्रगतिमा प्रभाव पार्नेछ, र काम नै ठप्पसमेत हुन सक्छ। त्यसकारण, चौथो र पाँचौँ कार्यहरू पनि योग्य अगुवाले राम्ररी गर्नैपर्ने कार्य हुन्। छैटौँ र सातौँ बुँदाले सबै प्रकारका मानिसहरूको बढुवा, संवर्धन र प्रयोगबारे बताउँछन्। मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त भनेको सबैलाई सर्वोत्तम रूपमा सदुपयोग गर्नु हो, अनि जबसम्म मानिसहरूसँग मानकअनुरूपको मानवता हुन्छ र जबसम्म तिनीहरूले परमेश्वरको घरका आवश्यक मानकहरू पूरा गर्न सक्छन्, तबसम्म सबै प्रकारका मानिसले आफ्नो कर्तव्य निभाउन सक्छन्। अर्थात्, सबै प्रकारका मानिसहरूलाई उचित कर्तव्य निभाउन सक्षम हुन दे; गधालाई जबरजस्ती नचाउने कोसिस गर्नुपर्दैन, यदि कुनै व्यक्ति कुनै कामका लागि उपयुक्त छ, उसले त्यो राम्ररी गर्न सक्छ, र ऊ दक्ष छ भने त्यो नै पर्याप्त हुन्छ। त्यसबाहेक, कतिपय काममा प्राविधिक, व्यावसायिक पक्षहरू समावेश हुन्छन्, र कति मानिसहरू तिनमा राम्रा हुन सक्छन् तर वास्तवमा तिनीहरूले त्यो क्षेत्रमा कुनै काम गरेकै हुँदैनन्, न त सान्दर्भिक सिद्धान्तहरू नै बुझ्छन्। यदि ती मानिसहरूले परमेश्वरका घरमा बढुवा र संवर्धन पाउने मानक पूरा गर्छन् भने, तिनीहरूलाई मौका दिएर बढुवा र संवर्धन गर्नुपर्छ, ताकि तिनीहरूले सिक्न सकून्। यसरी परमेश्वरको घरले विभिन्न काम गर्ने अझ उपयुक्त मानिसहरू पाउन सक्छ, र विभिन्न कामका लागि मण्डलीलाई मानिसहरूको खाँचो पर्दा रिक्त स्थान हुनेछैन। यी कुराहरू मानिसहरूलाई बढुवा र संवर्धन, अनि प्रयोग गर्ने दुई पक्षका सवाल हुन्। आठौँ र नवौँ बुँदाहरू हेरौँ: यी दुई बुँदाले अगुवा र कामदारहरूले कामलाई कुन मनोवृत्तिले लिन्छन् भन्नेबारे बताउँछन्, अर्थात्, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा बफादारी छ कि छैन, अनि परमेश्वरका मागहरू र उहाँको घरका बन्दोबस्तहरूप्रति व्यवहार गर्दा र काममा कठिनाइहरू आइपर्दा तिनीहरूसित असल काम गर्ने क्षमता छ कि छैन भन्नेबारे बताउँछन्। दसौँ र एघारौँ बुँदाले परमेश्वरको घरका भेटीहरू र सबै प्रकारका सम्पत्तिप्रति गरिने व्यवहारपछिका सिद्धान्तहरूबारे बताउँछन्। एकातिर, यी दुई बुँदाले मानिसहरूको क्षमता र कार्य सक्षमताबारे बताउँछन्, र अर्कोतिर तिनले मानवताका समस्याहरूबारे, व्यक्तिमा बफादारी छ कि छैन, र उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ कि सक्दैन भन्नेबारे बताउँछन्। अब बाह्रौँ, तेह्रौँ र चौधौँ बुँदाहरू हेरौँ, जुन मण्डलीमा हुने केही असाधारण परिस्थितिहरूसँग सम्बन्धित छन्—उदाहरणका लागि, यदि कसैले मण्डलीको सामान्य जीवनमा अवरोध र बाधा पुर्याइरहेको र अशान्ति मच्चाउँदै गरेको छ। अवश्य नै, सबैभन्दा गम्भीर कुरा भनेको ख्रीष्टविरोधीहरू वा निकालिनुपर्ने वा निष्कासित हुनुपर्ने खालका अन्य मानिसहरू देखा पर्नु हो। यस्ता मानिसहरूलाई कसरी र कुन सिद्धान्तहरूअनुसार सम्हाल्ने भन्ने कुरा पनि अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र नै पर्ने काम हो। समस्याहरू तुरुन्तै पत्ता लगाउन सक्नु, र कसैले अवरोध र बाधा पुऱ्याइरहेको थाहा पाउँदा त्यसलाई तुरुन्तै रोक्न, सम्हाल्न र समाधान गर्न, अनि मण्डलीको काम र मण्डली जीवनमा बाधा नपुगोस् भन्ने सुनिश्चित गर्न सक्नु—यी तीन बुँदाले चर्चा गर्ने सवालहरू यिनै हुन्। अन्तिम बुँदाले सबै प्रकारका महत्त्वपूर्ण कर्मचारीहरूको व्यक्तिगत सुरक्षाको मुद्दाबारे, साथै सबै प्रकारका महत्त्वपूर्ण कामको प्रत्याभूति दिन सकिन्छ कि सकिँदैन भन्ने सवालबारे बताउँछ। कर्मचारीहरू सुरक्षित छन् भने काममा प्रगति हुन सक्छ, तर यदि कर्मचारीको सुरक्षामा समस्या वा गुप्त खतराहरू आए भने, काम अघि बढ्न सक्छ कि सक्दैन भन्ने सवाल उठ्छ। जम्मा कतिवटा प्रमुख कार्यवर्गहरू छन् भनेर फर्केर हेरौँ। पहिलो, दोस्रो, र तेस्रो बुँदाहरू पहिलो वर्गमा पर्छन्: मानव जीवन प्रवेश। चौथो र पाँचौँ बुँदाहरू दोस्रो वर्गमा पर्छन्: मण्डलीका विभिन्न कामहरू र ती कामका सुपरिवेक्षकहरू। छैटौँ र सातौँ बुँदा तेस्रो वर्गमा पर्छन्: सबै प्रकारका मानिसहरूको प्रयोग, संवर्धन र बढुवा। आठौँ र नवौँ बुँदा चौथो वर्गमा पर्छन्: परमेश्वरको घरका कार्य बन्दोबस्तहरू र कामका कठिनाइहरू। दसौँ र एघारौँ बुँदाहरू पाँचौँ वर्गमा पर्छन्: परमेश्वरको घरका भेटी र सम्पत्तिहरू। बाह्रौँ, तेह्रौँ र चौधौँ बुँदाहरू छैटौँ वर्गमा पर्छन्: मण्डलीमा घटित हुने असाधारण परिस्थितिहरू। पन्ध्रौँ बुँदा सातौँ वर्गमा पर्छ: मण्डलीको महत्त्वपूर्ण काम र कर्मचारीहरूको सुरक्षा। जम्मा सातवटा वर्गहरू छन् जसमा पन्ध्रवटा बुँदाहरू समावेश छन्। यी सात वर्गहरू अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र छन्, र ती तिनीहरूको कामका पाटो हुन्। अगुवा वा कामदारका रूपमा, तेरो कामका सबैभन्दा महत्त्वपूर्ण क्रियाकलापहरू यिनै सात वर्गहरू हुन्, अनि यी सात वर्गहरू अगुवा वा कामदारका लागि परमेश्वरको घरका मागहरूका दायरा हुन्। यदि हामी कुनै अगुवाले राम्रो काम गर्न सक्छ कि सक्दैन, ऊ दक्ष छ कि छैन, ऊसँग अगुवा हुने क्षमता छ कि छैन, र ऊ योग्य अगुवा हो कि होइन भनेर मापन गर्न चाहन्छौँ भने, हामीले यी सात वर्गहरू प्रयोग गर्नुपर्छ। यो कुरा बुझेपछि, हामीले यी सात प्रमुख वर्गहरूका आधारमा, झुटा अगुवाहरूको प्रकटीकरण र विशेष अभ्यासहरू, साथै तिनीहरू झुटा अगुवा हुन् र योग्य अगुवा होइनन् भनेर प्रमाणित गर्ने तिनीहरूले आफू अगुवा हुँदा गरेका कुराहरू एकएक गरी सङ्गति र चिरफार गर्नेछौँ। यी सात वर्गहरूअनुसार मापन गर्दा निर्णायक प्रमाण निस्कन्छ, र यो तुलनात्मक रूपमा निष्पक्ष र उचित हुन्छ। लौ भन् त, हामीले एकएक गरी यी सातवटा वर्गमा सङ्गति गर्नुपर्छ कि पन्ध्रवटा बुँदामा? कसो गर्दा राम्रो हुन्छ? (पन्ध्रवटा बुँदालाई एकएक गरी सङ्गति गर्नु।) त्यो तिमीहरूको रुचिसँग मिल्छ—जति विस्तृत, उति राम्रो, होइन त? अब हामी झुटा अगुवाहरूका विविध प्रकटीकरणहरूबारे औपचारिक रूपमा सङ्गति थाल्नेछौँ।
विषयवस्तु एक: मानिसहरूलाई परमेश्वरको वचन खान र पिउन तथा बुझ्न अनि परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने
झुटा अगुवाहरूमा परमेश्वरको वचन बुझ्ने क्षमता र सक्षमता हुँदैन
झूटो अगुवा भनेको के हो? त्यो निश्चय नै, खास काम गर्न नसक्ने, अगुवाका रूपमा आफ्ना कर्तव्यहरूलाई ध्यान नदिने व्यक्ति हो। उसले कुनै वास्तविकता वा महत्त्वपूर्ण काम गर्दैन; उसले केवल केही सामान्य मामला र सतही कार्यहरू सम्हाल्छ, ती कुराहरू जसको जीवन प्रवेश वा सत्यतासँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले यो काम चाहे जति नै गरेपनि, यो काम गर्नुको कुनै अर्थ हुँदैन। त्यस कारण यस्ता अगुवाहरू झुटा ठहरिन्छन्। त्यसोभए व्यक्तिले कुनै झूटो अगुवालाई ठ्याक्कै कसरी खुट्ट्याउनुपर्छ? अब हाम्रो विश्लेषण सुरु गरौँ। सुरुमा प्रस्ट पार्नैपर्छ कि कुनै अगुवा वा कामदारको पहिलो जिम्मेवारी भनेको अरूलाई परमेश्वरका वचनहरू खान र पिउनमा अगुवाइ गर्नु र अरूले सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने गरी सत्यताबारे सङ्गति गर्नु हो। यो नै कुनै अगुवा साँचो हो कि झूटो हो भनी जाँच्ने सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो। उसले अरूलाई परमेश्वरका वचनहरू खान र पिउनमा अनि सत्यता बुझ्न अगुवाइ गर्न सक्छ कि सक्दैन, र सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न सक्छ कि सक्दैन भनी हेर्। एउटा अगुवा वा कामदारसित कस्तो क्षमता वा परमेश्वरका वचनहरू बुझ्ने सक्षमता छ, र उसले परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्छ कि सक्दैन भनी जाँच्ने मापदण्ड त्यही मात्र हो। यदि कुनै अगुवा वा कामदार परमेश्वरका वचनहरूलाई विशुद्ध रूपमा बोध गर्न र सत्यता बुझ्न सक्षम छ भने, उसले मानिसहरूमा भएका परमेश्वरमाथिको आस्थाबारे धारणा र कल्पनाहरूलाई परमेश्वरका वचनहरूअनुसार समाधान गर्नुपर्छ, र मानिसहरूलाई परमेश्वरको कामको व्यावहारिकता बुझ्न मदत गर्नुपर्छ। उसले परमेश्वरका चुनिएका मानिसहरूले सामना गर्ने वास्तविक कठिनाइहरू, विशेषगरी तिनीहरूका आस्थामा भएका गलत विचारहरू वा कुनै कर्तव्य पूरा गर्नेबारे गलतफहमीहरू पनि उहाँका वचनहरूअनुसार समाधान गर्नुपर्छ। उसले मानिसहरूले विभिन्न परीक्षा र सङ्कष्टहरू सामना गर्दा सामना गर्ने समस्याहरू समाधान गर्न परमेश्वरका वचनहरू लागु पनि गर्नैपर्छ, र ऊ परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्न र अभ्यास गर्न, अनि उहाँको वचनको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्षम हुनैपर्छ। साथै, उसले परमेश्वरका वचनहरूद्वारा प्रकट गरिएका स्थितिहरूका आधारमा मानिसहरूका विभिन्न भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नैपर्छ, ताकि परमेश्वरका चुनिएका मानिसहरूले यीमध्ये कुन तिनीहरूका लागि लागु हुन्छ भनी देख्न, आफूबारे ज्ञान हासिल गर्न र शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सकून्, जसमार्फत परमेश्वरका चुनिएका मानिसहरू आफ्नो गवाहीमा दृढ रहन, शैतानलाई पराजित गर्न, र हरप्रकारका परीक्षाहरूमा परमेश्वरलाई महिमा दिन सक्षम हुनेछन्। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो। यो नै मण्डलीको सबैभन्दा आधारभूत, महत्त्वपूर्ण र सारभूत काम हो। यदि अगुवाका रूपमा सेवा गरिरहेका मानिसहरूमा परमेश्वरका वचनहरू बोध गर्ने क्षमता र सत्यता बुझ्ने क्षमता छ भने, तिनीहरू परमेश्वरका वचनहरू बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्न सक्षम हुने मात्र नभई, तिनीहरूले आफूले अगुवाइ गर्नेहरूलाई, परमेश्वरका वचन बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्नहेतु मार्गदर्शन, अगुवाइ र सहायता दिन पनि सक्षम हुनेछन्। तर झूटा अगुवाहरूमा नहुने कुरा नै परमेश्वरका वचनहरू बोध गर्ने र सत्यता बुझ्ने क्षमता हो। तिनीहरूले परमेश्वरका वचनहरू बुझ्दैनन्, तिनीहरूलाई मानिसहरूले विभिन्न परिस्थितिहरूमा प्रकाश गर्ने भ्रष्ट स्वभावहरू जुन उहाँका वचनहरूमा खुलासा गरिन्छन्, ती थाहा नै हुँदैन, वा कस्ता स्थितिहरूले परमेश्वरविरुद्ध प्रतिरोध, गुनासो, विश्वासघात, आदि पैदा गराउँछन्, इत्यादि थाहा हुँदैन। झूटा अगुवाहरूले आत्मचिन्तन गर्न वा परमेश्वरका वचनहरूलाई आफूसित जोड्न सक्दैनन्, तिनीहरूले परमेश्वरका वचनहरूको शाब्दिक अर्थबाट थोरै धर्मसिद्धान्त र केही प्रावधानहरू मात्र बुझ्छन्। तिनीहरूले अरूसँग सङ्गति गर्दा, उहाँका केही वचनहरू वाचन गर्ने, त्यसपछि तिनका शाब्दिक अर्थ व्याख्या गर्ने मात्र गर्छन्। अनि त्यतिमा नै, तिनीहरू आफूले सत्यताबारे सङ्गति गरिरहेको र वास्तविक काम गरिरहेको ठान्छन्। यदि कसैले तिनीहरूलेझैँ परमेश्वरका वचनहरू पढ्न र वाचन गर्न सक्छ भने, तिनीहरूले उसलाई सत्यतालाई प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्ति ठान्नेछन्। झूटो अगुवाले परमेश्वरका वचनहरूको शाब्दिक अर्थ मात्र बुझ्छ; उसले मूलतः परमेश्वरका वचनहरूको सत्यता बुझ्दैन, त्यसकारण ऊ तीसम्बन्धी आफ्नो अनुभवात्मक ज्ञानबारे कुरा गर्न असक्षम हुन्छ। झूटा अगुवाहरूमा परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन; तिनीहरूले तिनको सतही अर्थ मात्र बुझ्न सक्छन्, तर त्यो नै उहाँका वचनहरू र सत्यता बुझ्नु हो भन्ने विश्वास गर्छन्। दैनिक जीवनमा तिनीहरू अरूलाई सल्लाह दिन र मदत गर्नका लागि सधैँ परमेश्वरका वचनहरूको शाब्दिक अर्थको व्याख्या गर्छन्, अनि त्यसो गर्नु भनेको काम गर्नु हो, र तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन साथै तिनका वास्तविकतामा प्रवेश गर्न अगुवाइ गरिरहेका छन् भन्ने विश्वास गर्छन्। तथ्य के हो भने, झूटा अगुवाहरूले बारम्बार परमेश्वरका वचनहरूबारे अरूसँग यसरी सङ्गति गर्ने भए पनि, तिनीहरूले सानो वास्तविक समस्यालाई पनि समाधान गर्न सक्दैनन्, अनि परमेश्वरका चुनिएका मानिसहरू उहाँका वचनहरू अभ्यास वा अनुभव गर्न असक्षम भई बस्छन्। तिनीहरू भेलाहरूमा चाहे जति नै सहभागी हुने वा परमेश्वरका वचनहरू जति नै खाने र पिउने गरे पनि, तिनीहरू सत्यता बुझ्दैनन्, न त तिनीहरूसँग जीवन प्रवेश नै हुन्छ, साथै तीमध्ये कसैले पनि आफ्ना अनुभवात्मक ज्ञानबारे कुरा गर्न सक्दैनन्। दुष्ट मानिस र अविश्वासीहरूले मण्डलीमा बाधा दिइरहेका भए पनि, तिनीहरूलाई कसैले खुट्ट्याउन सक्दैन। कुनै झूटो अगुवाले कुनै अविश्वासी वा दुष्ट व्यक्तिले बाधा सिर्जना गरिरहेको देख्दा, उसले समझशक्ति प्रयोग गर्दैन, बरु उसलाई प्रेम र अर्तीहरू दिन्छ, अरूलाई ऊप्रति सहनशील र धैर्यवान् हुन आग्रह गर्छ, र यी मानिसहरूलाई मण्डलीमा बाधा सिर्जना गरिरहन दिन्छ। यस कारणले गर्दा मण्डलीको प्रत्येक काम अत्यन्तै फलहीन हुन्छ। यो एक झूटो अगुवाले खास काम गर्न नसक्नुको परिणाम हो। झूटो अगुवाहरूले समस्याहरू समाधान गर्नहेतु सत्यता प्रयोग गर्न सक्दैनन्, जुन तिनीहरूमा सत्यता वास्तविकता छैन भन्ने देखाउन पर्याप्त हुन्छ। जब तिनीहरू बोल्छन्, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र ओकल्छन्, साथै तिनीहरूले अरूलाई अभ्यास गर्न भन्ने कुरा धर्मसिद्धान्त र प्रावधान हरू मात्र हुन्छन्। उदाहरणका लागि, जब कसैले परमेश्वरबारे गलतफहमी विकास गर्छ, तब झूटा अगुवाहरूले उसलाई यसो भन्नेछ, “परमेश्वरका वचनहरूले यो सबै पहिल्यै समेटिसके: परमेश्वरले जे गर्नुहुन्छ, त्यो मानिसको मुक्ति हो, त्यो प्रेम हो। हेर त, उहाँका वचनहरू कति प्रस्ट र खुलस्त छन्। तिमीले अझै पनि कसरी उहाँलाई गलत बुझ्न सक्छौ?” झूटा अगुवाहरूले मानिसहरूलाई यस्तै निर्देशन दिन्छन्। तिनीहरू मानिसहरूलाई चेतावनी दिन शब्द र धर्मसिद्धान्तहरू ओकल्ने गर्छन्, तिनीहरूलाई, बन्धनमा पार्छन्, र प्रावधानहरू पालना गर्न लगाउँछन्। यो अलिकति पनि प्रभावकारी हुँदैन, र यसले कुनै समस्याहरू समाधान गर्न सक्दैन। झूटा अगुवाहरूले मानिसहरूलाई मार्गदर्शन गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्, जसले ती मानिसहरूलाई धर्मसिद्धान्तहरू बोल्न सक्नुको अर्थ तिनीहरू सत्यता वास्तविकताहरूमा प्रवेश गरेका छन् भन्ने हो भनी सोच्ने तुल्याउँछ। तैपनि तिनीहरूलाई कुनै कठिनाइ आइपर्दा, तिनीहरूलाई कसरी अभ्यास गर्ने भनी थाहा हुन्न, तिनीहरूसित कुनै मार्ग हुँदैन, र तिनीहरूले बुझेका सारा शब्द र धर्मसिद्धान्तहरू छेउ लाग्छन्। यसले के देखाउँछ? यसले धर्मसिद्धान्तहरू बुझ्नु बिलकुलै उपयोगी वा मूल्यवान् हुँदैन भन्ने देखाउँछ। झूटा अगुवाहरूले बुझ्ने एउटा मात्रै कुरा भनेको धर्मसिद्धान्त हो। तिनीहरूले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनन्; तिनीहरूका कार्यहरूमा कुनै सिद्धान्तहरू हुँदैनन्, र जीवनमा तिनीहरूले आफूलाई राम्रा लागेका केही प्रावधानहरू पालना गर्ने काम मात्र गर्छन्। यस्ता मानिसहरूमा सत्यता वास्तविकताहरू हुँदैनन्। त्यसैले, झूटा अगुवाहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्दा, कुनै वास्तविक असर हुँदैन। तिनीहरूले केवल मानिसहरूलाई परमेश्वरका वचनहरूको शाब्दिक अर्थ बुझ्ने तुल्याउन सक्छन्, र उनीहरूलाई परमेश्वरका वचनहरूबाट अन्तर्दृष्टि प्राप्त गर्न वा उनीहरूमा कस्ता भ्रष्ट स्वभावहरू छन् भनी बुझ्न मदत गर्न सक्दैनन्। झूटा अगुवाहरूले मानिसहरूका स्थितिहरू के हुन् वा कुनै पनि निश्चित परिस्थिति सामना गर्दा, मानिसहरूले कस्तो स्वभाव सार प्रकाश गर्छन्, यी त्रुटिपूर्ण स्थितिहरू र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न परमेश्वरका कुन वचनहरू प्रयोग गर्नुपर्छ, तीबारे परमेश्वरका वचनहरूमा के भनिएको छ, परमेश्वरका वचनहरूका माग र सिद्धान्तहरू के हुन्, वा तीभित्रका सत्यताहरू के हुन् भन्ने कुरा बुझ्दैनन्। झूटा अगुवाहरूले यी सत्यता वास्तविकताहरूबारे केही पनि बुझ्दैनन्। तिनीहरू मानिसहरूलाई यसो भनेर सल्लाह मात्र दिन्छन्, “परमेश्वरका अझै धेरै वचनहरू खाने र पिउने गर। तिनमा सत्यता छ। तिमीले उहाँका वचनहरू अझ धेरै पढेपछि बुझ्नेछौ। यदि तिमीले तीमध्ये कुनै-कुनै बुझ्दैनौ भने, तिमीले तीबारे अझ धेरै प्रार्थना, खोजी, र मनन गर्नुपर्छ।” तिनीहरूले यसरी नै मानिसहरूलाई परामर्श दिन्छन्, र त्यसो गरेर तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन्। जोसुकैले समस्या सामना गरेर तिनीहरूबाट खोजी गर्न आएपनि, तिनीहरूले एउटै कुरा भन्छन्। पछि, त्यस व्यक्तिले अझै पनि आफूलाई चिनेको हुँदैन र अझै पनि सत्यता बुझ्दैन। तिनीहरूले आफ्नै वास्तविक समस्या समाधान गर्न, वा तिनीहरूले परमेश्वरका वचनहरू कसरी अभ्यास गर्नुपर्छ भनी बुझ्न सक्नेछैनन्, अनि तिनीहरूले परमेश्वरका वचनहरूको शाब्दिक अर्थ र प्रावधान हरू मात्र पालना गर्नेछन्। परमेश्वरका वचनहरू अभ्यास गर्नुका सत्यता सिद्धान्तहरू वा तिनीहरूले प्रवेश गर्नुपर्ने वास्तविकताहरूको कुरा आउँदा, तिनीहरूले ती अझै पनि बुझ्दैनन्। झूटा अगुवाहरूको कामबाट यही नतिजा आउँछ: एउटा पनि वास्तविक नतिजा आउँदैन।
परमेश्वर मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भन्ने माग गर्नुहुन्छ। “सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा”—कुल नौवटा शब्दहरू, तर के तिमीहरू तिनको अर्थ बुझ्छौ? (हामी सबैलाई धर्मसैद्धान्तिक रूपमा थाहा छ, परमेश्वर मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भन्ने माग गर्नुहुन्छ, तर हामी आफूले लुगा लगाउँदा भद्र वा शिष्ट भनेको के हो भनी मापन जान्दैनौँ।) यसले सत्यता बुझिएको छ कि छैन भन्ने समस्याबारे बताउँछ। यदि तैँले यो मापन गर्न सक्दैनस् भने, त्यसले तैँले परमेश्वरको वचन बुझ्दैनस् भन्ने प्रमाणित गर्छ। त्यसोभए, परमेश्वरको वचन बुझ्नुको अर्थ के हो? यसको अर्थ परमेश्वरले चर्चा गर्नुहुने भद्रता र शिष्टता वा अझ विशेष गरी, लुगाको रङ र स्टाइलको मापदण्ड बुझ्नु हो। कुन रङ र स्टाइल भद्र र शिष्ट हुन्? सत्यता बुझ्ने क्षमता भएकाहरूलाई भद्र र शिष्ट के हो, अनि अनौठो के हो भन्ने थाहा हुन्छ। कतिपय लुगा भद्र र शिष्ट भए पनि, ती पुराना शैलीका हुन्छन्। परमेश्वर पुरानो शैलीका कुराहरू मन पराउनुहुन्न, र उहाँले मानिसहरूलाई विगतको शैली अनुकरण गर्नू वा पाखण्डी फरिसी बन्नू भनेर भन्नुहुन्न। परमेश्वरले “भद्र र शिष्ट” भन्नुको अर्थ सामान्य मानव स्वरूप हुनु, श्रेष्ठ, सुशोभित र स्तरयुक्त देखिनु हो। परमेश्वर मानिसहरूलाई अनौठो लुगा लगाउन आग्रह गर्नुहुन्न, न त कङ्गालले जस्तो फाटेको लुगा लगाउन नै भन्नुहुन्छ, बरु उहाँ त मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भनेर आग्रह गर्नुहुन्छ। सामान्य मानिसहरूको बुझाइ यही हो। तर यो कुरा सुनेपछि, एउटा झुटो अगुवा एकदमै जोस्सियो, र उसले यसो भन्यो: “परमेश्वरको वचनले हामीलाई कसरी लुगा लगाउने भन्ने दायरा दिन्छ। ‘सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा’—यदि हामीले यी नौवटा शब्दहरू पालन गऱ्यौँ भने, परमेश्वरलाई महिमित पार्नेछौँ, उहाँलाई लज्जित बनाउनेछैनौँ, र हामी गैरविश्वासीहरूमाझ उच्च रूपमा सम्मानित मानिस हुनेछौँ। त्यसोभए, भद्र र शिष्ट भनेको के हो त? त्यसको अर्थ यो हो कि तैँले मानव स्वरूपमा बोल्ने र कार्य गर्ने गर्नुपर्छ, र तँसँग सन्तको जस्तो शालीनता हुनुपर्छ। सन्तहरूको कुरा गर्दा, सामान्यतया हामी प्राचीन सन्तहरूको कुरा गर्छौँ। यदि हामी सन्तको जस्तो शालीनता राख्न चाहन्छौँ भने, हामीले प्राचीन सन्तहरूको शैली अनुकरण गर्नुपर्छ, तर यदि तँ प्राचीन लुगा लगाएर हिँडिस् भने, मानिसहरूले तँलाई पागल ठान्नेछन्। यो परमेश्वरलाई सम्मान गर्ने सिद्धान्तअनुरूप हुँदैन, तर हालसालै सन्तहरूले लगाएका लुगाहरूको केही प्रमाण हुनुपर्छ, जुन हामीले खोज्न सक्छौँ। केही दशकअघिको सामाजिक परिवेश अझ राम्रो थियो। मानिसहरू अझ सरल थिए, अनि अझ परम्परागत र उचित ढङ्गमा लुगा लगाउँथे। यदि यो मानकअनुसार लुगा लगाइयो भने, भद्र र शिष्ट भइन्थ्यो, र सन्तको शालीनता आउनेथ्यो। अभ्यासको मार्ग यही हो।” १९७० र १९८० का दशकमा मानिसहरूले सेतो कमिज र निलो पतलुन लगाउँथे भन्ने थाहा पाएर उसले दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्यो, “मैले परमेश्वरका वचनमा ज्योति देखेको छु। ७० र ८० का दशकमा मानिसहरू निकै उचित र सरल वस्त्र लगाउँथे। उनीहरूलाई मर्यादित भन्न मिल्दैनथ्यो, तर त्यो परमेश्वरको वचनका मागहरूसँग धेरै मेल खाएको देखिन्छ, त्यसैले हामी यो मानकअनुसार लुगा लगाउनेछौँ।” त्यो अगुवाले यस्तो लुगा लगाउनमा नेतृत्व लियो, र सबैले त्यो राम्रो, निकै शिष्ट र सरल देखिन्छ भन्ने ठाने। उक्त अगुवाले भन्यो: “परमेश्वरले अनौठो लुगा नलगाउनू भन्नुभएको छ। सर्वप्रथम, कमिजको टाँक घाँटीसम्म, र बाहुलाको पनि सबै टाँक लगाउनुपर्छ। नाडी देखिनु हुँदैन, कमिज पतलुनभित्र घुसार्नुपर्छ, र सबै कुरा पूरै छोपिएको हुनुपर्छ, छाती वा ढाड ह्वाङ्गै हुनु हुँदैन। हेर, कति भ्रद्र र शिष्ट देखिन्छ! के यो परमेश्वरले माग गर्नुभएझैँ भद्र र शिष्ट, अनि सन्तको जस्तो शालीनताअनुरूप हुँदैन र?” त्यो अगुवा आफूले त्यो क्षण लगाइरहेको पहिरनमा एकदमै रमायो, र त्यही बेला उसले अरूमाथि पनि त्यस्तै माग थोपऱ्यो, “तिमीहरूको लुगा एकदमै आधुनिक, एकदमै फेसनदार छ। त्यसले परमेश्वरलाई लज्जित तुल्याउँछ, र उहाँलाई त्यो मन पर्दैन। सबैजनाले छिटो मैले लगाएजस्तो लुगा लगाऊ, ठ्याक्कै मजस्तै बन!” समझहीन मानिसहरूले जे भनियो त्यही गरे, सन्तको जस्तो शालीनता भएको तथाकथित भद्र र शिष्ट पहिरन खोजेर लगाए, अनि धेरैजसो मानिसहरूलाई त्यो राम्रो छ भन्नेसमेत लाग्यो। तर कति मानिसलाई यी पुरानो शैलीका कुराहरूदेखि हृदयमा घृणा लाग्यो, अनि यसो गर्नु अनुचित हो, र परमेश्वरको वचनबारे यो बुझाइ विकृत हो भन्ने महसुस भयो। यी मानिसहरूले, अगुवाको कुरा सुन्नु सही हो कि गलत हो भनेर स्पष्टसित भन्न नसके पनि र कुनै निष्कर्ष निकाल्ने आँट नगरे पनि, अन्धाधुन्ध भीडलाई नपछ्याउन पैरवी गरे। तिनीहरूलाई अगुवाले भनेको कुरा पूर्णतया सही होइन भन्ने लाग्यो, र तिनीहरूले त्यो पालन गरेनन्। मन्द बुद्धिका, परमेश्वरको वचन बुझ्ने क्षमता नभएका, र परमेश्वरको वचन नपढ्नेहरूले मात्र झुटो अगुवाले जे भन्यो त्यही माने, अनि आफूलाई जे गर्न भनियो त्यही गरे र जसरी गर्न भनियो त्यसरी गरे। तिनीहरूले त्यो झुटो अगुवालाई पछ्याए र उसको अनुकरण गरे, बहिर जाँदा उसकै जस्तो लुगा लगाए। तिनीहरू बाहिर भीडमाझ जाँदैपिच्छे निकै आनन्द मान्थे र सोच्थे “हामी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौँ, र मेरो पहिरनमा एकदमै धेरै सन्तको जस्तो शालीनता छ। तिमीहरूले के लगाएको? कति भड्किलो, कति आधुनिक, कति दुष्ट! हामीलाई हेर त, हामीले केही पनि देखाइरहेका छैनौँ!” तिनीहरूले आफूलाई अद्भुत ठाने। त्यो झुटो अगुवाले त्यो परमेश्वरको वचनलाई गलत अर्थ्याउनु हो भनेर बुझ्न सक्नु त परै जाओस्, बरु उल्टै आफूले वास्तवमै परमेश्वरको वचन अभ्यास गरिरहेको छु र तिनको वास्तविकतामा प्रवेश गरिरहेको छु भन्नेसमेत ठान्यो। झुटा अगुवाहरूले गर्ने यही हो। मानिसहरूले बुझ्ने सबैभन्दा सरल र सजिला परमेश्वरका मागहरूको कुरामा समेत, झुटा अगुवाहरूले परमेश्वरको वचनले बताउने कुरा, त्यसका आवश्यक मानकहरू, वा सिद्धान्तहरू साँचो रूपमा बुझ्न सक्दैनन्। त्यसोभए के तिनीहरूले मानवजातिको भ्रष्ट स्वभावबारे वा हरप्रकारका मानव अवस्थाबारे परमेश्वरले बताउनुहुने कुराहरू बुझ्न सक्छन् त? के तिनीहरूले यहाँ ठ्याक्कै सत्यता के हो भनेर जान्न सक्छन् त? अवश्य नै सक्दैनन्।
झुटा अगुवाहरूसँग परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन; तिनीहरू केवल परमेश्वरका वचनहरूको शाब्दिक अर्थबाट परमेश्वरले भन्नुभएको कुरा जान्दछन् तर परमेश्वरका वचनहरूले के-कस्ता सत्यताहरू व्यक्त गर्छन्, परमेश्वरले मानिसहरूबाट के माग गर्नुहुन्छ, वा मानिसहरूले के-कस्ता सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ भन्ने कुरा बुझ्दैनन्। त्यसकारण, तिनीहरूले परमेश्वरका वचनहरूबारे सङ्गति गर्दा तिनका केही शाब्दिक अर्थ मात्र लगाउँछन् र मानिसहरूलाई पालन गर्न केही प्रावधान, केही नियम दिन्छन्, र आफूले पनि परमेश्वरका वचनहरू बुझ्छु र काम गरेको छु भनेर प्रमाणित गर्न यी कुराहरू प्रयोग गर्छन्। कति झुटा अगुवाहरूले त परमेश्वरका वचनहरू स्पष्ट छँदै छन्, यति मात्र हो कि मानिसहरू ती खान र पिउन वा तिनमा मेहनत लगाउन सधैँ असफल हुन्छन् भनेरसमेत सोच्छन्। सबैका हातमा परमेश्वरका वचनहरूको पुस्तक देखेर तिनीहरू मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्नु अनावश्यक ठान्छन्। तसर्थ, जब तिनीहरूले भेलामा वा कर्तव्य निर्वाह गर्दै गर्दा समस्याहरू भेट्टाउँछन्, तब तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरूका केही चुनिएका खण्डहरू मात्र पठाउँछन्, र तिनीहरूलाई यस्तो भन्छन्, “परमेश्वरका वचनको यो खण्ड पढ”; “परमेश्वरका वचनको त्यो खण्ड पढ” वा “परमेश्वरका वचनहरूले यो पक्षबारे यसो भन्छन् र त्यो पक्षबारे त्यसो भन्छन्।” तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरूका चुनिएका खण्डहरू मात्र पठाउँछन्, सम्झाउने-बुझाउने तरिका प्रयोग गर्दै मानिसहरूलाई परमेश्वरका वचनहरू पढ्न प्रोत्साहित गर्छन्, र तिनीहरू मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन यसरी नै अगुवाइ गर्नुपर्छ र आफूले अगुवाको जिम्मेवारी पूरा गरिरहेको छु भन्ठान्छन्। यी वचनहरू देखेपछि मानिसहरू भन्छन्, “मैले पनि परमेश्वरका यी वचनहरू पढेको छु; तपाईँले मेरा लागि यी वचनहरू सङ्कलन गर्नु अनावश्यक होइन र?” तथापि, त्यो झुटो अगुवाले सोच्छ, “यदि मैले तिमीलाई ती वचनहरू पठाइनँ भने, तिमीले यी वचनहरू कुन अध्याय वा कुन पृष्ठमा छन् भनेर भेट्टाउन सक्नेछैनौ। तिमीलाई त परमेश्वरले यी वचनहरू कुन प्रसङ्गमा भन्नुभएको हो भनेरसमेत थाहा छैन। अगुवा भएको नाताले, मैले तिमीलाई परमेश्वरका वचनहरू कुनै पनि समय र कुनै पनि ठाउँमा पठाउने यो जिम्मेवारी लिनुपर्छ।” कति झुटा अगुवाहरू त कामप्रति आफ्नो बफादारी र मानिसहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा डोऱ्याउने दृढता प्रदर्शन गर्न प्रेम बर्साउँदै कसैलाई दिनमा परमेश्वरका वचनहरूका दस-बिस खण्डहरू नै पठाउँछन्। परमेश्वरका यी वचनहरू मानिसहरूलाई पठाउन त पठाइन्छन्, तर के तिनीहरूका समस्याहरू हल हुन्छन् त? के तिनीहरूले अगुवाले खेल्नुपर्ने भूमिका पूरा गर्छन् त? प्रायः तिनीहरूले यो भूमिका पूरा गर्दैनन्, किनभने यदि मानिसहरू आफैले यी वचनहरू बुझ्न सक्थे त, उनीहरूलाई कुनै अगुवा नै चाहिँदैनथ्यो। झुटा अगुवाहरूले पठाएका परमेश्वरका वचनका खण्डहरू वास्तवमा परमेश्वरका वचन प्रायः पढिरहनेहरूलाई राम्ररी थाहा हुन्छ, तर मानिसहरूमा के कुराको कमी हुन्छ? तिनीहरूका कठिनाइ र समस्याहरू के हुन्? यो कि, जब यी सत्यतासँग सम्बन्धित वास्तविक समस्याहरूको कुरा आउँछ, जब कठिनाइहरू आइपर्छन्, तब मानिसहरूले यी समस्याहरूको सार छर्लङ्ग देख्न सक्दैनन्, तिनको समाधान कहाँबाट थाल्ने, र यी सत्यताहरूमा कसरी प्रवेश गर्ने भनेर जान्दैनन्—अनि झुटा अगुवाहरूले पनि जान्दैनन्। त्यसोभए, के तिनीहरूले यो मामिलामा आफ्नो जिम्मेवारी पूरा गरेका छन् त? के तिनीहरू अगुवाइको काममा दक्ष छन् त? तिनीहरूले स्पष्टतः यो जिम्मेवारी पूरा गरेका छैनन्। उदाहरणका लागि, जब मानिसहरूले परमेश्वरका वचनहरूमा इमानदार व्यक्ति हुनेबारे पढ्छन्, तब झुटा अगुवाहरू, परमेश्वरका वचनहरू कसरी खाने र पिउने भनेर थाहा नभएर अनि सत्यता बोध गर्ने र बुझ्ने क्षमताको कमी भएर, यसो भन्छन्: “परमेश्वरका मागहरू उच्च छैनन्। परमेश्वर हामीलाई इमानदार मानिस बन्नू भनेर भन्नुहुन्छ, र इमानदार हुनु भनेको सत्य बोल्नु हो। के परमेश्वरका वचनहरूले यो सब भनेका छैनन् र: ‘तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्’ (मत्ती ५:३७)? परमेश्वरका वचनहरू कत्ति स्पष्ट छन्! तिमी हृदयमा जे सोच्छौ त्यही भन; त्यो कत्ति सरल छ! तिमीले किन त्यो गर्न सक्दैनौ? परमेश्वरको वचन नै सत्यता हो, हामीले यो अभ्यास गर्नैपर्छ। अभ्यास नगर्नु भनेको विद्रोह गर्नु हो, र के परमेश्वरले उहाँविरुद्ध विद्रोह गर्नेहरूलाई मुक्ति दिनुहुन्छ र? उहाँले दिनुहुन्न।” यो कुरा सुनेपछि, मानिसहरूले यस्तो जवाफ दिन्छन्, “तपाईँले भन्नुभएको सबै कुरा सही हो, तर हामीलाई कसरी इमानदार मानिस बन्ने भनेर अझै थाहा छैन। किनभने धेरैचोटि अनजानमै झुट बोलिन्छ, वा अन्य विकल्प नहुँदा यसो गरिन्छ, र त्यसको पछाडि कारण हुन्छ। यसलाई कसरी समाधान गरिनुपर्छ?” त्यो झुटो अगुवाले के भन्ला? “के यसलाई सम्हाल्नु सजिलो छैन र? के परमेश्वरका वचनहरूले त्यो प्रस्ट पारेका छैनन् र? इमानदार व्यक्ति हुनु भनेको बालक हुनुजस्तै हो; त्यो कति सरल छ! तिमी जतिसुकै उमेरको भए पनि, के तिमी बालकजस्तै हुन सक्दैनौ र? बालबालिकाले कस्तो व्यवहार गर्छन् भनेर यसो हेर त।” त्यसपछि त्यो सुन्ने व्यक्तिले सोच्छ: “बालकको मुख्य व्यवहार भोलाभाला र जीवन्त हुनु, उफ्रिहिँड्नु, अपरिपक्व हुनु, र धेरै कुरा नबुझ्नु हो। अगुवाले यसै भनेकाले, म त्यो यसरी नै गर्नेछु।” भोलिपल्ट, तीस वा चालिस वर्षमाथिकी त्यो व्यक्तिले दुइटा ससाना चुल्ठो बाटेकी हुन्छे, गुलाबी हेडब्यान्ड र हेयरक्लिप, अनि गुलाबी कमिज, गुलाबी जुत्ता र गुलाबी मोजा लगाएकी हुन्छे, उसको पूरै पहिरन गुलाबी हुन्छ। यो देखेर अगुवाले भन्छ, “यो ठिक छ! अझै बालकजस्तै उफ्रँदै हिँड। बालकजस्तै अझ अबोध भएर बोल, आँखामा दुष्टपन नहोस्, र मुहारमा मुस्कान होस्—के यो बचपना व्यवहारमा फर्कनु होइन र? इमानदार व्यक्तिको चालढाल यस्तै हुन्छ!” त्यो अगुवा निकै खुसी हुन्छ, जबकि अरूलाई भने यो मूर्खतापूर्ण, र असामान्य व्यवहार लाग्छ। यो झुटो अगुवाले समस्या समाधान गर्न सक्नु त कता हो कता, उसलाई त सत्यता सिद्धान्तहरू कसरी खोज्ने भनेरसमेत बिलकुलै थाहा थिएन, र यसरी उसले मानिसहरूलाई बेतुकताको मार्गमा डोऱ्यायो। इमानदार व्यक्ति बन्ने सबैभन्दा सरल सत्यताका सन्दर्भमा समेत, झुटो अगुवाले त्यसलाई कसरी सही र शुद्ध रूपमा बुझ्ने भनेर जानेको हुँदैन, ऊ अन्धाधुन्ध प्रावधानहरू लागू गर्नतिर लाग्छ, र त्यसलाई यति विकृत रूपमा बुझ्छ कि सुन्नेहरूलाई त्यसदेखि घिन लागेर आउँछ। झुटा अगुवाहरूले गर्ने भनेकै यही हो।
झुटा अगुवाहरूले परमेश्वरका वचनहरूलाई हरतरिकाले बुझ्छन्, र विभिन्न विचित्र र अनौठा दृष्टिकोणहरू प्रस्तुत गर्छन्। तिनीहरू आफूले परमेश्वरका वचनहरू अभ्यास गरेको र पछ्याएको ढोँग पनि गर्छन्, र अरूले तिनीहरूको बुझाइ स्विकारून् र पालन गरून् भन्ने माग गर्छन्। सङ्क्षेपमा भन्नुपर्दा, यी झुटा अगुवाहरूजस्ता मानिसहरूसँग प्रायः परमेश्वरका वचनहरूको सतही र विकृत बुझाइ हुन्छ। त्यसलाई व्याख्या गर्न आत्मिक शब्द प्रयोग गर्ने हो भने, हामी तिनीहरूमा “आत्मिक बुझाइको कमी छ” भन्नेथियौँ। परमेश्वरका वचनहरूबारे तिनीहरूको बुझाइ विकृत त हुन्छ नै, त्यसमाथि तिनीहरू अरूले यी विकृत धर्मसिद्धान्त र प्रावधानहरू तिनीहरूले जस्तै पालन गरून् भनेर पनि प्रायः माग गर्छन्। यसैबीच, तिनीहरूले सत्यताको शुद्ध बुझाइ हुनेहरूलाई निन्दा गर्न पनि आफ्नो विकृत बुझाइ प्रयोग गर्छन्। आत्मिक बुझाइ नभएका यी झुटा अगुवाहरूले परमेश्वरका वचनहरूलाई ख्रीष्टविरोधीहरूले जसरी छानबिन र विश्लेषण गर्दैनन्। झट्ट हेर्दा तिनीहरू परमेश्वरका वचनहरूलाई खानेपिउने र स्विकार्ने आज्ञाकारी मनोवृत्तिले लिन्छन् जस्तो लाग्छ। तर, तिनीहरूको कमजोर क्षमता र परमेश्वरका वचनहरू बुझ्ने असक्षमताका कारण, तिनीहरू परमेश्वरका वचनहरूलाई पाठ्यपुस्तकझैँ ठान्छन्, र परमेश्वरका वचनहरू “एक र एक जोड्दा दुई हुन्छ, दुई र दुई जोड्दा चार हुन्छ” भन्ने तर्कअनरूप हुने विश्वास गर्छन्। तिनीहरूलाई परमेश्वरका वचनहरू सत्यता हुन्, र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न व्यक्तिले परमेश्वरका वचनहरूमा बताइएका सत्यताहरूले के जनाउँछन्, अनि यी सत्यताहरूमा संलग्न विभिन्न स्थिति र विषयवस्तु के-के हुन् भनी बुझ्नुपर्छ भनेर थाहा हुँदैन। जब अरूले परमेश्वरका वचनहरूलाई एकदमै ठोस र व्यावहारिक तरिकाले बुझ्छन्, तब तिनीहरू त्यसलाई सतही र सुन्न अयोग्य मान्छन्, र यसो भन्छन्, “म त्यो सब बुझ्छु, मलाई सबै कुरा थाहा छ। तिमीले बताइरहेको कुरा परमेश्वरका वचनहरूमा पहिल्यै स्पष्टसित व्याख्या गरिएको छ, तिमीले त्यो किन भनिरहनुपऱ्यो र?” वास्तवमा, तिनीहरूलाई अरूले छलफल गरिरहेका कुरामा परमेश्वरका वचनका सत्यताहरूसँग सम्बन्धित विशेष विषयवस्तु समावेश छ भन्ने थाहै हुँदैन। यी झुटा अगुवाहरूसँग आत्मिक बुझाइको कमी हुने र परमेश्वरका वचनहरू बुझ्ने क्षमता नहुने हुनाले, तिनीहरू सबै सत्यता लगभग उस्तै हुन्, सत्यताहरूले उठाएका मुद्दाहरूमा कुनै विशेष भिन्नता हुँदैन भन्ने सोच्छन्; तिनीहरूलाई लाग्छ, यी कुराबारे अनन्तसम्म कुरा गरे पनि, ती सबै मूलतः एउटै मुद्दा हुन्। यस्तो विश्वासले गम्भीर समस्यालाई सङ्केत गर्छ, र त्यसले गर्दा यस्ता व्यक्तिहरूले कहिल्यै सत्यता बुझ्दैनन्।
झुटा अगुवाहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोऱ्याउन सक्दैनन्
अब यहाँ राम्रो क्षमता र बुझ्ने क्षमता भएका केही यस्ता व्यक्तिहरू छन्, जसले परमेश्वरका आधारभूत वचनहरूको केही अनुभव गरिसकेका र तिनमा प्रवेश पाइसकेका छन् र तिनीहरूमा केही सत्यता वास्तविकता छ, तर तिनीहरूलाई अझ विशेष मार्गदर्शन र अगुवाइ चाहिएको छ ताकि तिनीहरूको प्रवेश अझ राम्रो र अझ विस्तृत हुन सकोस्। झुटा अगुवाहरूले मात्र सत्यताका निश्चित वृत्तान्तले के जनाउँछन् वा तीबारे किन त्यो तरिकाले बताइन्छ भनेर बुझ्न सक्दैनन्, तिनीहरू त्यो भनेको कामकुरालाई अनावश्यक रूपमा जटिल पार्नु वा शब्दहरूको खेल खेल्नु हो भन्ने सोच्छन्। तिनीहरू सत्यतामा संलग्न विविध पक्षहरूलाई कसरी बुझ्ने वा अनुभव गर्ने भनेर बुझ्दैनन् वा जान्दैनन्। तसर्थ, तिनीहरूले अगुवा बनेपछि गर्न सक्ने भनेकै मानिसहरूलाई सामान्यतया सङ्गति गरिएका परमेश्वरका वचनहरू खान र पिउन अगुवाइ गर्नु, र त्यसपछि केही धर्मसिद्धान्तहरूबारे कुरा गर्नु, र प्रावधानहरू पालन गर्ने केही अभ्यास विधि सारांशीकृत गर्नु मात्र हो, अनि मानिसहरूले तिनीहरूबाट प्राप्त गर्ने कुरा भनेको केही सतही आत्मिक शब्द र सामान्यतया बोलिने शब्द र धर्मसिद्धान्त, प्रावधान र नाराहरू मात्र हो। नयाँ विश्वासीहरूका लागि झुटा अगुवाहरूले प्रचार गरेका कुराहरू मुस्किलले एक वा दुई वर्षका लागि पर्याप्त हुन सक्छ, तर एक वा दुई वर्षपछि, केही सत्यता बुझिसकेकाहरूले झुटा अगुवाहरूका भनाइ र शैलीहरू खुट्ट्याउन थाल्छन्। आधारभूत रूपमा बुझ्ने क्षमता नभएकाहरूका हकमा चाहिँ, झुटा अगुवाहरूले जसरी प्रचार गरे पनि, तिनीहरूले केही महसुस गर्दैनन्, केही थाहा पाउँदैनन्, र यी अगुवाहरूले प्रचार गरिरहेका कुरा केवल शब्द र धर्मसिद्धान्त हुन् तिनीहरूले बुझेका कुरा केही खोक्रा सिद्धान्त, नारा र प्रावधान मात्र हुन्, जुन सत्यता हुँदै होइनन् भनेर थाहै पाउँदैनन्। यी प्रकटीकरणहरूका आधारमा, के झुटा अगुवाहरूले “मानिसहरूलाई परमेश्वरको वचन खान र पिउन अनि परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न डोऱ्याउने” जिम्मेवारी पूरा गर्न सक्छन्? के तिनीहरूले यो भूमिका निभाउन सक्छन्? के तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? मुख्य समस्या के हो? (यस्ता मानिसहरूमा आत्मिक बुझाइको कमी हुन्छ र उनीहरू सत्यता बुझ्न सक्दैनन्।) तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ र तिनीहरू सत्यता बुझ्न सक्दैनन्, तैपनि अझै अरूलाई अगुवाइ गर्न चाहन्छन्—यो पूर्णतया असम्भव छ! झुटा अगुवाहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू बुझ्न र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न मार्गदर्शन गर्छन् भनेर अपेक्षा गर्नु त खोलालाई उँभो फर्काउन खोज्नुजस्तै हो—त्यो हुनेछैन! इमानदार व्यक्ति हुने उदाहरण नै लिऊँ: “यो कुरामा परमेश्वरका वचनहरू निकै सरल छन्, ती केही वाक्य मात्र छन्, जटिल छैनन्। अलिकति शिक्षा पाएका हरकोहीलाई यी वचनहरूको अर्थ के हो भन्ने थाहा हुन्छ। तर झुटा अगुवाहरूले आफू कामका लागि र मानिसहरूलाई अगुवाइ गर्नका लागि सक्षम भएको प्रमाणित गर्न परमेश्वरका वचनहरूका आधारमा विस्तारमा बताउँछन्: “मानिसहरू इमानदार हुनुपर्ने परमेश्वरको मागको के महत्त्व छ? यो कि, इमानदार व्यक्ति हुनु नै परमेश्वरले प्रेम गर्ने कुरा हो। गैरविश्वासीहरू इमानदार हुँदैनन्, तिनीहरूले सत्यता बताउँदैनन्, र तिनीहरूले भन्ने कुरा सबै झुटा र छली हुन्छन्; सम्पूर्ण संसार झूटले भरिएको ठूलो राष्ट्र हो। तसर्थ, आज परमेश्वर आउनुहुँदा उहाँले माग गर्नुहुने पहिलो कुरा मानिसहरू इमानदार बनून् भन्ने हो। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्वरले तँलाई प्रेम गर्नुहुनेछैन; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले मुक्ति पाउन सक्दैनस्, न तँ राज्यमा प्रवेश गर्न नै सक्छस्; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्दैनस्, र तँ निश्चित रूपमा छली व्यक्ति होस्; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तँ योग्य सृजित प्राणी होइनस्।” के अब तिमीहरूले इमानदार व्यक्ति कसरी बन्ने भनेर बुझ्यौ? (अहँ।) त्यो सबै कुरा भनिसकेपछि पनि यो अझै स्पष्ट भएको छैन। यो कुरा सुनेपछि नयाँ विश्वासीहरूलाई भने यी शब्दहरू उत्कृष्ट लाग्छ, आफू धर्ममा बिस-तीस वर्ष रहँदासमेत नसुनेको कुराझैँ लाग्छ। कतिले त यसो समेत भन्छन्: “यी वचनहरू शक्तिशाली छन्, हरेक वाक्य ‘आमेन’ भन्न लायक छ। यो प्रवचन एकदमै राम्रो छ, यो साँच्चै राज्यको युगको प्रवचन हो!” त्यसपछि त्यो झुटो अगुवाले आफ्नो कुरा जारी राख्छ: “परमेश्वरले हामीलाई इमानदार मानिस बन्न भन्नुहुन्छ, त्यसोभए के हामी इमानदार मानिस हौँ त?” कतिले यसबारे यस्तो सोच्छन्: “परमेश्वरले हामीलाई इमानदार मानिस बन्न भनिरहनुभएको हुनाले, त्यसको अर्थ हामी अझै इमानदार मानिस भइसकेका छैनौँ।” कति त चुपचाप बस्छन् र यस्तो सोच्छन्, “म आफूलाई निकै सोझो मान्छु। म अरूसँग कहिल्यै लडाइँ गर्दिनँ, र व्यापार गर्दा, म कसैलाई पनि ठग्ने आँट गर्दिनँ। कहिलेकाहीँ, यदि मैले सानो फाइदा लिएँ भने, म राती सुत्न समेत सक्दिनँ। के म इमानदार व्यक्ति हुँ? मलाई त आफू सोझो व्यक्ति हुँ भन्ने लाग्छ, के त्यसको अर्थ इमानदार व्यक्ति हुनुजस्तै होइन र?” अरू भन्छन्, “म त स्वाभावैले झूट बोल्न सक्दिनँ। मैले कुनै असत्य कुरा भन्नेबित्तिकै मेरो अनुहार रातो भइहाल्छ, त्यसैले म पक्कै पनि इमानदार व्यक्ति हुनुपर्छ, होइन र?” त्यसपछि त्यो झुटो अगुवाले कुरा थप्छ, “तिमी इमानदार व्यक्ति भए पनि वा नभए पनि, परमेश्वरको वचनले हामीलाई इमानदार हुन भन्ने हुनाले, तिमी इमानदार व्यक्ति हुनु जरुरी छ। यति तिमी परमेश्वरका वचनहरूअनुसार चल्छौ भने, तिमी इमानदार व्यक्ति हौ। त्यसपछि तिमी छलीपनबाट, र शैतानको कालो प्रभावको बन्धनबाट मुक्त हुन्छौ। तिमी इमानदार व्यक्ति बनेपछि सत्यता वास्तविकतामा प्रवेश गर्छौ, आफ्नो कर्तव्य पूरा गर्न सक्छौ, र परमेश्वप्रति समर्पित हुन सक्छौ।” के अब तिमीहरूले कसरी इमानदार व्यक्ति हुने भनेर बुझ्यौ? (अहँ।) तैपनि, कतिपय त प्रसन्न हुन्छन्: “यी वचनहरू शक्तिशाली छन्। आमेन! हरेक वाक्य सही छ। यीमध्ये कुनै पनि परमेश्वरका वचनबाट सिधै आएको होइन, तर यो सबै परमेश्वरका वचनहरूबाट बुझिएको हो। यो बुझाइ असाधारण छ! म किन यसलाई यसरी बुझ्न सक्दिनँ? यस्तो लाग्छ, यो अगुवा साँच्चै उपाधिको योग्य छ, ऊ साँच्चै अगुवाइ गर्नकै लागि जन्मिएको हो!” यो कुरा सुनेपछि क्षमता र तीक्ष्णता भएका मानिसहरू यस्तो सोच्छन्: “तिमीले इमानदार व्यक्ति भनेको के हो भनेर व्याख्या गरेकै छैनौ। व्यक्ति ठ्याक्कै कसरी इमानदार बन्छ?” त्यो झुटो अगुवाले भन्दै जान्छ: “इमानदार व्यक्ति हुनु भनेको झुटो नबोल्नु हो। उदाहरणका लागि, यदि तिमीले पहिले व्यभिचार गरेका छौ भने, परमेश्वरलाई प्रार्थना गरेर त्यो कतिपटक र कोसँग गरेको हो भन्ने कुरा स्विकार। यदि तिमीलाई परमेश्वरलाई देख्न वा छुन सकिँदैन भन्ने लाग्छ भने, तिमीले अगुवासामु त्यो स्विकार्नुपर्छ, र सबै कुरा प्रस्ट्याउनुपर्छ। खुलस्त भएर स्वीकार गर्नु इमानदार व्यक्ति हुने सबैभन्दा आधारभूत मापदण्ड हो। त्यसबाहेक, यो आफ्नो हृदयको कुरा बताउनु, कुनै कुरामा झुट नमिसाउनु हो। तँ कुनै कुराबारे कसरी सोच्छस्, तँसँग कस्ता अभिप्रायहरू छन्, तँ कस्तो भ्रष्टता प्रकट गर्छस्, तँ कसलाई घृणा गर्छस् वा तैँले हृदयमा कसलाई सरापेको छस्, तँ कसलाई हानि गर्न वा कसको विरुद्ध षड्यन्त्र गर्न चाहन्छस्—यी सबै ती व्यक्तिहरूसामु स्विकार्नुपर्छ। यसो गरेर तँ खुलस्त र स्पष्टवादी बन्छस्, र ज्योतिमा जिउँछस्। इमानदार व्यक्ति हुनु भनेको यही हो। इमानदार व्यक्तिले आफ्नो अहम् त्याग्नैपर्छ; उसले आफ्नो हृदयको सबैभन्दा दुष्ट र अँध्यारो पाटो देखाउन र चिरफार गर्न सक्नैपर्छ।” यो सुनेर, के अब तिमीहरूले कसरी इमानदार व्यक्ति हुने भनेर बुझ्यौ? (अझै बुझेनौँ।) सुनेपछि पनि व्यक्तिले धर्मसिद्धान्तहरू मात्र बुझ्छ, कुनै खास अभ्यास बुझ्दैन। झुटा अगुवाहरूमा परमेश्वरका वचनहरूको यस्तो बुझाइ हुने भएकाले, तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन यसरी नै अगुवाइ गर्छन्, र सङ्गति पनि यसरी नै गर्छन्, र आफूले परमेश्वरका वचनहरू सबैभन्दा बढी बुझेको, आफूसँग परमेश्वरका वचनहरू बुझ्ने क्षमता भएको, र आफूले मानिसहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा डोऱ्याउन सक्ने ठान्छन्। वास्तवमा, तिनीहरूले बुझ्ने र सङ्गति गर्ने कुरा त धर्मसिद्धान्त र नाराहरू मात्र हुन्छन्, जसले सत्यता वास्तविकता खोज्न र सत्यता सिद्धान्तहरू बुझ्न चाहनेहरूलाई कुनै मद्दत गर्दैनन्। तैपनि, झुटा अगुवाहरू आफूसँग बुझ्ने क्षमता एकदमै धेरै छ, आफूसँग परमेश्वरका वचनहरूबारे अद्धितीय अन्तर्दृष्टि छ, र आफू साधारण मानिसहरूभन्दा श्रेष्ठ हुँ भन्ठान्छन्। तिनीहरू यत्रतत्र यी धर्मसिद्धान्त र नाराहरू प्रचार गरिहिँड्छन्, र आफूलाई अरूसँग दाँज्नेसमेत गर्छन्, प्रायः यी धर्मसिद्धान्त र नाराहरू प्रयोग गरेर भनाभनमा उत्रन्छन्, अनि बारम्बार ती प्रयोग गरेर मानिसहरूलाई भाषण दिने, काटछाँट, आलोचना, र निन्दा गर्ने गर्छन्। तिनीहरूले यसो गरेर आफूले काम गरिरहेको, परमेश्वरका वचनहरूलाई वास्तविक जीवनमा ल्याइरहेको, र परमेश्वरका वचनहरू लागू गरिरहेको ठान्छन्। के यो समस्याजनक मामिला होइन र? झुटा अगुवाहरूले परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्, तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा डोऱ्याउन सक्दैनन्। परमेश्वरका वचनहरू पढेपछि, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू सङ्गति मात्र गर्न सक्छन्, तैपनि तिनीहरू यत्रतत्र प्रचार गर्दै र देखावा गर्दै हिँड्छन्। तर वास्तवमा तिनीहरूले परमेश्वरका वचनहरूमा भएको कुनै पनि सत्यता बुझ्दैनन्। उदाहरणका लागि, तिनीहरू आत्मिक शब्दहरू वा त्यस्तै अभिव्यक्तिहरू बुझ्दैनन्, न त तिनीहरूलाई तीबीचको भिन्नता के हो वा तिनलाई कसरी वास्तविक परिस्थितिसँग मिल्दो बनाउने भन्ने नै थाहा हुन्छ। प्रावधानहरू पालन गर्ने अनि शब्द र धर्मसिद्धान्तहरू ओकल्नेबाहेक, तिनीहरूमा परमेश्वरका वचनहरूको साँचो बुझाइ हुँदैन र तिनीहरूले साँचो रूपमा ती अभ्यास गर्दैनन्। तसर्थ, झुटा अगुवाहरू आफैले सत्यता बुझ्दैनन्, न त तिनीहरूले मानिसहरूलाई परमेश्वरका वचनहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न नै सक्छन् भन्ने कुरा स्पष्ट छ। हामीले यसलाई इमानदार व्यक्ति हुनेसम्बन्धी उदाहरणद्वारा व्याख्या गरेका छौँ। इमानदार व्यक्ति बन्नेसम्बन्धी सत्यता कसरी बुझ्ने भनेर थाहा नभएर, झुटा अगुवाहरू शब्द र धर्मसिद्धान्तहरू फलाक्ने र नाराहरू प्रचार गर्ने, र यसरी मूर्खहरू र आत्मिक बुझाइ नभएका भ्रमितहरूलाई बहकाउने र दिग्भ्रमित पार्ने कार्यमा लाग्छन्। यी शब्द र धर्मसिद्धान्तहरू सुनेपछि, तिनीहरूले झुटा अगुवाहरूलाई अत्यन्तै पुज्छन्, तर तिनीहरूलाई कैयौँ वर्ष पछ्याएपछि पनि सबैभन्दा आधारभूत सत्यताहरूसमेत बुझ्दैनन्, र तिनमा कुनै किसिमको प्रवेश पाउँदैनन्। हामी यो बुँदाबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउँछौँ।
विषयवस्तु दुई: हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुने र आफ्नो वास्तविक जीवनमा सामना गरिने विविध कठिनाइहरू समाधान गर्ने (भाग एक)
झुटा अगुवाहरूले हरप्रकारका व्यक्तिका स्थितिहरू छर्लङ्ग बुझ्न सक्दैनन्
अगुवा र कामदारहरूको दोस्रो जिम्मेवारी हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुनु र आफ्नो वास्तविक जीवनमा सामना गरिने विविध कठिनाइहरू समाधान गर्नु हो। झुटा अगुवाहरूले यो काम कसरी गर्छन्? के तिनीहरू यस कामका लागि योग्य छन्? हामी यो बुँदा चिरफार गरौँ। हरप्रकारको व्यक्तिको स्थितिसँग परिचित हुनु—यो कुन आधारमा हासिल हुन्छ? यो विभिन्न मानिसहरूका भ्रष्ट स्वभाव र सार खुलासा गर्ने परमेश्वरका वचनहरू बुझ्ने आधारमा हासिल हुन्छ। विभिन्न मानिसहरूका स्थिति बुझ्न, पहिला मानिसहरूका विभिन्न स्थिति, भ्रष्ट स्वभाव र भ्रष्ट सारहरू खुलासा गर्ने परमेश्वरका वचनहरू बुझ्नुपर्छ, अनि आफूलाई ती वचनहरूसँग मिल्दो बनाउन सक्नुपर्छ। परमेश्वरले खुलासा गर्नुहुने प्रकारका स्वभावहरूले कुन प्रकारका मानिसहरूलाई जनाउँछन्, तिनीहरूको मानवता कस्तो हुन्छ, तिनीहरूमा कस्ता प्रकटीकरण र प्रकाशहरू हुन्छन्, अनि परमेश्वर, उहाँका वचन र आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति के हो; यी स्थितिहरूलाई परमेश्वरका वचनहरूसँग मिलाउनैपर्छ, अनि यसो गरेर, विभिन्न व्यक्तिका स्थितिहरू बुझ्न सकिन्छ। त्यसैले, विभिन्न मानिसहरूका स्थितिहरूसँग परिचित हुने कुरा पहिला परमेश्वरका वचनहरू बुझ्ने र परमेश्वरका वचनहरू बुझ्ने क्षमता राख्ने आधारमा हासिल हुन्छ। झुटा अगुवाहरूसँग परमेश्वरका वचनहरू बुझ्ने क्षमता हुँदैन, त्यसकारण के तिनीहरूले परमेश्वरका वचनहरूले खुलासा गर्ने विभिन्न प्रकारका मानिसहरूबारेका जटिल सत्यताहरू, साथै खुलासा हुने विभिन्न स्थिति र भ्रष्ट सारहरू बुझ्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले बुझ्दैनन्, तिनीहरूलाई यसमा संलग्न सम्बन्धहरू, र संलग्न सत्यताहरू थाहा हुँदैन। तिनीहरूमा परमेश्वरका वचनहरू बुझ्ने क्षमता नहुने हुनाले, विभिन्न मानिसहरूका स्थितिहरू—यो एकदमै निर्णायक र महत्त्वपूर्ण मामिला—बुझ्नु झुटा अगुवाहरूका लागि एकदमै समस्याजनक र कठिन काम हो।
झुटा अगुवाहरूले विभिन्न मानिसहरूका स्थितिहरू कसरी बुझ्छन्? तिनीहरूले सोच्छन्, “यो व्यक्ति उत्साही छ, त्यो व्यक्ति तुच्छ छ, यो व्यक्तिलाई पहिरनमा सजिन मन पर्छ, त्यो व्यक्तिमा थोरै विश्वास छ…।” तिनीहरू यी सतही कुरा मात्र हेर्छन्, तर तिनीहरूलाई परमेश्वरका वचन र सत्यताप्रति व्यक्तिको मनोवृत्ति साँच्चै कस्तो छ, र उसको प्रकृति सार साँच्चै कस्तो छ भनेर थाहा हुँदैन। उदाहरणका लागि, कसैसँग साँचो विश्वास छ र ऊ आफ्नो कर्तव्यनिर्वाहमा ऊर्जावान् छ, तर उसका पारिवारिक कठिनाइ र उल्झनहरूले उसको कर्तव्यका नतिजामा असर पुर्याउँछ; यो देखेर, झुटा अगुवाहरूले तिनीहरूलाई यसो भन्दै गलत संज्ञा दिन्छन्, “यो व्यक्ति अविश्वासी हो। ऊ आफ्नो परिवारबाट छुट्टिन सक्दैन। ऊ सधैँ आफ्ना छोराछोरीबारे सोचिरहन्छ। उसले घरमा पैसा बचत गरेको छ, तर उसले त्यो चढाउँदैन। त्यसैले, यो व्यक्ति एकदमै समस्याजनक छ, र उसलाई भविष्यमा महत्त्वपूर्ण कामका लागि प्रयोग गर्न सकिँदैन।” वास्तवमा यो व्यक्तिको समस्या गम्भीर हुँदैन; उसले भर्खरै परमेश्वरमा विश्वास गरेकोले र उसमा सत्यताको सतही बुझाइ मात्र भएकोले मात्र उसले धेरै कुरा छर्लङ्गै बुझ्न सक्दैन। उसलाई आफ्नो परिवार र छोराछोरीप्रति के-कसरी व्यवहार गर्ने, वा आफ्नो सम्पत्ति कसरी सम्हाल्ने भन्ने थाहै छैन। ऊ अझै पनि प्रार्थना र खोजी गर्ने अवधिमा छ, र उसले अझै पनि अभ्यासका सही सिद्धान्त र विधिहरू भेट्टाएको छैन। ऊसँग सत्यता अभ्यास गर्ने इच्छा छ, तर पारिवारिक उल्झन र कठिनाइहरू आइपर्दा, ऊ क्षणिक रूपमा अलि कमजोर हुन्छ र आफ्नो कर्तव्य निर्वाहमा त्यति सक्रिय हुँदैन। तथापि, उसले आफूलाई मण्डलीले अह्राएको काम इमानदारीसाथ पूरा गर्न सक्छ, जुन कुरा धेरैजसो मानिसहरूले गर्नै सक्दैनन्। उसको क्षमता, मानवता, र सत्यताप्रतिको मनोवृत्तिलाई मूल्याङ्कन गर्दा, ऊ असल व्यक्ति हो। तर झुटा अगुवाहरू यसलाई यसरी हेर्दैनन्, किनभने तिनीहरूले परमेश्वरका वचनहरू नै बुझ्दैनन् र परमेश्वरका वचनहरूलाई व्यक्तिको प्रकृति सार के हो, वा व्यक्ति जुन स्थितिमा छ त्यो उसको प्रकृति सार वा क्षणिक कमजोरीको कारण हो कि कदको समस्या हो भनेर मापन गर्ने मानकका रूपमा कसरी प्रयोग गर्ने भनेर जानेका हुँदैनन्; तिनीहरूले यी कुरा मापन गर्नै सक्दैनन्। यो प्रकारको व्यक्तिले सामना गर्ने कठिनाइहरू त वास्तविक जीवनमा देखा पर्ने र जीवन प्रवेशसँग सम्बन्धित कुरा हुन्—के झुटा अगुवाहरूले यस्ता समस्याहरू सम्हाल्न सक्छन्? के तिनीहरूले यी मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) झुटा अगुवाहरूले विभिन्न मानिसहरूका स्थितिहरू सही रूपमा बुझ्न नसक्ने र विभिन्न मानिसहरूका प्रकृति सारका असल र खराब कुरा सही रूपमा खुट्याउन नसक्ने हुनाले, तिनीहरूले विभिन्न मानिसहरूका कठिनाइ र समस्याहरू पनि सही रूपमा समाधान गर्न सक्दैनन्। बरु त्यसविपरीत, तिनीहरूले केवल उत्साहमा भर परेर सक्रिय भई आफूलाई समर्पित गर्न, कठिनाइ सहन र मूल्य चुकाउन सक्ने, तर कमजोर क्षमता भएका र बुझ्ने क्षमता नभएकाहरूलाई नै संवधर्नका मुख्य लक्षित वर्ग ठान्छन्, अनि तिनीहरूले यी मानिसहरूलाई कठिनाइहरू आइपर्दा ती समस्या समाधान गर्न सङ्गति गर्छन्। तर साँच्चै क्षमता र राम्रो मानवता भएकाहरूलाई कठिनाइहरू आइपर्दा र उनीहरू अलि कमजोर हुँदाचाहिँ, झुटा अगुवाहरूले ती कुरालाई कसरी समाधान र सम्बोधन गर्छन्? यी मानिसहरूलाई कठिनाइ आइपर्दा र उनीहरू अलि कमजोर मात्र हुँदा पनि, परिस्थितिअनुसार उनीहरूलाई साथ र मद्दत प्रदान गरिनुपर्छ; उनीहरूलाई परमेश्वरका अभिप्रायहरूको सङ्गति दिइनुपर्छ—उनीहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन, संज्ञा दिने त झन् कुरै छोडौँ। तर झुटा अगुवाहरूले यस्ता मानिसहरूका कठिनाइहरू कसरी समाधान गर्छन्? तिनीहरू यसो भन्छन्, “परमेश्वरको काम यस्तो चरणमा पुगिसकेको छ, तैपनि तिमी आफ्नो श्रीमान्सँग, आफ्ना छोराछोरीसँग टाँस्सिइरहन्छौ; तिमी आफ्ना छोराछोरीलाई विश्वविद्यालय जान र सम्भाव्यताहरू पछ्याउनसमेत लगाउँछौ। विपत्तिहरूले झन्झन् गम्भीर रूप लिँदै जाँदा, के यो संसारमा अझै कुनै सम्भाव्यताहरू छन् र? तिमी आफ्नै जीवनको त ख्याल गर्न सक्दैनौ भने ती कुराहरूको कसरी ख्याल गर्न सक्छौ र? परमेश्वरको काम सकिनै लागेको छ, समय कति महत्त्वपूर्ण छ! यदि तिमी पूर्ण रूपमा समर्पित हुँदैनौ भने, के तिमीलाई सृजित प्राणी भन्न मिल्छ र? के तिमी अझै मानव हौ र?” के यी मानिसहरूका कठिनाइहरू साँच्चै यही हो त? (होइन।) यी मानिसहरूलाई कठिनाइहरू तिनीहरू अलि कमजोर हुनुको कारण भनेको तिनीहरूको कद सानो भएर हो, तिनीहरूले सत्यतालाई प्रेम नगर्ने वा तिनीहरू कर्तव्य निभाउन इच्छुक नभएकाले होइन। त्यसकारण, झुटा अगुवाहरूले भन्ने कुरा तिनीहरूको स्थितिसँग मिल्दैन, यो त स्पष्ट रूपमै तिनीहरूलाई गलत संज्ञा दिने, तिनीहरूको स्थितिको मूल कुरा वा मुख्य पक्ष नबुझ्ने, तिनीहरूले साँच्चै के सोचिरहेका छन् भनेर नबुझ्ने, र तिनीहरू कस्ता व्यक्ति हुन् र तिनीहरूलाई कठिनाइहरू समाधान गर्न कसरी मार्गदर्शन र मद्दत गर्नुपर्छ भनेर नबुझ्ने मामिला हो। झुटा अगुवाहरूलाई यी समस्याहरू कसरी समाधान गर्ने भन्ने नै थाहा हुँदैन। त्यसोभए, यस्ता मामिलाहरू उत्पन्न हुँदा तिनलाई कसरी समाधान गर्नुपर्छ? तैँले यसो भन्न सक्छस्, “तिमीले सामना गरिरहेको मामिला धेरै मानिसहरूलाई आइपर्ने समस्या हो। आफ्नो परिवार छोड्न र आफूलाई परमेश्वरका लागि सारा हृदयले अर्पित गर्न सक्नेहरूले आवेगमा काम गरिरहेका हुँदैनन्, बरु धेरै अघिदेखि तयारी गरेका हुन्छन्। पहिला त, तिनीहरूले प्रशस्त सत्यता बुझेका हुन्छन् र आफ्नो परिवारबाट छुट्टिने, र आफूलाई परमेश्वरका घरमा सारा हृदयले समर्पित गर्ने सच्चा इच्छा राख्छन्, र तिनीहरूले त्यसका लागि पछि गएर पछुतो नगर्ने प्रत्याभूति दिन सक्छन्—तिनीहरूले त्यो सबै राम्रोसँग सोचेका हुन्छन्। त्यसबाहेक, यो अवधिमा तिनीहरूले तयारी गर्न र अगाडिको मार्ग खुल्ला गर्न परमेश्वरलाई प्रार्थना पनि गर्छन्, र त्यससँगसँगै आफूलाई सत्यताले सुसज्जित पनि गरिरहन्छन्, र आफूलाई अझ धेरै सत्यता बुझ्ने, र परमेश्वरका लागि सारा हृदयले आफूलाई अर्पित गर्न सबथोक पन्छाउनमा अझ धेरै विश्वास राख्ने तुल्याउँछन्। यसका लागि समय, प्रार्थना अनि अवश्य नै परमेश्वरका अगुवाइ र बन्दोबस्तहरू चाहिन्छ। यदि तिमीमा यस्तो इच्छा छ भने, चिन्तित नहोऊ। परमेश्वरलाई प्रार्थना गर र शान्त भई पर्ख, परमेश्वरले तिम्रा लागि बन्दोबस्तहरू मिलाइदिनुहुनेछ। यदि तिम्रा प्रार्थनाहरू र तिम्रो इच्छा परमेश्वरका अभिप्रायअनुरूप छन् र तिनलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भने, यदि तिमी तयार छौ र परमेश्वरले जे गर्नुभए पनि समर्पित हुन्छौ र पछुतो महसुस गर्दैनौ भने, परमेश्वरले निश्चय नै तिम्रा लागि बाटो खोल्नुहुनेछ। यो अवधिमा, मानिसहरूले तयारी र प्रतीक्षा गर्नुपर्छ; तिनीहरूले गर्न सक्ने एकमात्र कुरा भनेको आफूलाई सत्यताले सुसज्जित पार्नु, परमेश्वरका अभिप्रायहरू बुझ्नु, र आफ्नो कदलाई क्रमिक रूपमा बढ्न दिनु हो। परमेश्वरले विभिन्न परिवेशहरू बन्दोबस्त गर्नुहुँदा, यदि तिमीले परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति कुनै गुनासो नगरी समर्पित हुने निर्णय गर्न सक्छौ भने, यो कद हुनु हो—परमेश्वरले जे गर्नुभए पनि वा उहाँले जे-जसरी बन्दोबस्त गर्नुभए पनि, तिमी समर्पित हुन सक्नेछौ।” तँलाई यस्तो मार्गदर्शन कस्तो लाग्छ? (राम्रो लाग्छ।) एकातिर, तैँले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुन्छस्, मानिसहरूलाई परमेश्वरका अभिप्रायहरू बुझ्न मद्दत गरिरहेको हुन्छस्; त्योसँगसँगै, तैँले तिनीहरूलाई तिनीहरूको क्षमताले नभ्याउने कुरा गर्न बाध्य पारिरहेको हुँदैनस्, बरु तिनीहरूको वास्तविक अवस्थाअनुसार व्यवहार गरिरहेको हुन्छस्। के यो परमेश्वरका वचनहरूद्वारा समस्याहरू समाधान गर्नु होइन र? के यो मानिसहरूले वास्तविक जीवनमा सामना गर्ने कठिनाइहरूलाई तिनीहरूको स्थितिका आधारमा समाधान गर्नु होइन र? (हो।)
कति मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा सधैँ झारा टार्छन् र कुनै जिम्मेवारी देखाउँदैनन्, तिनीहरू सधैँ आधिकारिक ढङ्गले प्रस्तुत हुन्छन्, अहङ्कारी, आत्मधर्मी, र अरूसँग सहकार्य गर्न असक्षम हुन्छन्, अनि तिनीहरूले मण्डलीको काममा नोक्सान पुऱ्याउँछन् तर अलिकति पनि ग्लानि महसुस गर्दैनन्। त्यस्तो अवस्था देख्दा, झूटो अगुवाले यसो भन्दै त्यो समस्या सम्हाल्न र सुल्झाउन थाल्छ, “यो व्यक्तिले यो काममा एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ। उसको ठाउँ लिने अलिक उपयुक्त व्यक्ति कोही पनि छैनजस्तो देखिन्छ, त्यसैले हामीले उसका कठिनाइहरू समाधान गर्न ऊसँग सङ्गति गर्नुपर्छ।” सङ्गतिको दौरान, त्यो झुटो अगुवाले त्यो व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्न पटक्कै चाहँदैन भन्ने पत्ता लगाउँछ। ऊ सांसारिक कुराहरू पछ्याउन, र आफ्नो करियरबाट पैसा कमाएर राम्रो जीवन जिउन चाहन्छ, र उसलाई कर्तव्य निर्वाह गर्न लगाइँदा आफूबाट अत्यधिक माग गरियो भन्ने ठान्छ। उसलाई परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको हरेक दिन व्यस्त हुनु हो, र आफ्नो व्यक्तिगत पारिवारिक जीवन नष्ट गर्नु मात्र नभई परिवारका सदस्यहरूसँग सम्बन्ध कायम राख्न असम्भव बनाउनुसमेत हो, र यदि कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू उल्लङ्घन भयो भने काटछाँटसमेत भोग्नुपर्छ भन्ने लाग्छ। उसलाई यस्तो जीवन साह्रै तितो लाग्छ र ऊ त्यसरी जिउन चाहँदैन। समस्या प्रस्ट छ: उसको व्यवहारले ऊ अविश्वासी हो भन्ने देखाउँछ। तर झुटो अगुवाले त्यो कुरा कसरी सम्हाल्छ? झुटो अगुवाले सोच्छ, “यो व्यक्ति गैरविश्वासीहरूमाझ प्रतिभावान् छ; ऊजस्तो व्यक्ति भेट्टाउनु सजिलो छैन। उसको स्थिति समस्याजनक बनेको छ; मैले आफ्नो हातको सबैभन्दा व्यस्त कामलाई थाती राखेर तुरुन्तै ऊसँग सङ्गति गर्नुपर्छ, र उसलाई यो समस्या समाधान गर्न मद्दत गर्नुपर्छ। यसलाई कसरी समाधान गर्ने? परमेश्वरका वचनहरू सबैभन्दा शक्तिशाली छन्; पहिला त म उसलाई कर्तव्य निर्वाह गर्नप्रतिको उसको अनिच्छुकता हल गर्न परमेश्वरका वचनका केही खण्ड पढेर सुनाउनेछु।” झुटो अगुवाले उसलाई भन्छ, “विपत्तिहरू आएकाले मानिसहरूले अब राम्रो जीवन जिउन सक्दैनन्। तिमी अझै करियरमार्फत पैसा कमाएर सरल पारिवारिक जीवन जिउन चाहन्छौ, तर चाँडै नै सारा संसार अस्तव्यस्त हुनेछ, र कुनै सामान्य परिवार बाँकी रहनेछैन। के तिमी यी कुराहरु छर्लङ्गै देख्न सक्दैनौ? तिमीले परमेश्वरलाई अझ धेरै प्रार्थना गर्नुपर्छ। परमेश्वरलाई प्रार्थना गर्दा तिमीलाई विश्वास मिल्नेछ। तिमीले परमेश्वरका वचनहरू अझ धेरै खानु र पिउनु पनि पर्छ। केही पटक परमेश्वरका वचनहरू खाएपछि र पिएपछि, तिम्रो समस्या समाधान हुनेछ।” त्यसपछि, उसले त्यो व्यक्तिसँग पढ्न र सङ्गति गर्न परमेश्वरका वचनका पाँच-दसवटा खण्ड खोज्छ। त्यो व्यक्तिले जवाफ दिन्छ, “भो, सङ्गति पुग्यो। म परमेश्वरका यी सबै वचन बुझ्छु; म तिमीभन्दा बढी शिक्षित छु। देखावा नगर।” दिनभरि सङ्गति गरेर पनि केही समाधान हुँदैन। झुटो अगुवाले मनमनै सोच्छ, “मैले मण्डलीको काम धेरै वर्षदेखि गर्दै आइरहेको छु; मलाई लाग्दैन कि म तिम्रो समस्या समाधान गर्न सक्दिनँ।” साँझमा, उसले तुरुन्तै फेरि सङ्गतिलाई निरन्तरता दिन्छ, “तिमीले परमेश्वरलाई प्रेम र आराधना गर्नुपर्छ! तिमीसँग योग्य सृजित प्राणी बन्ने आशा छ। यो कर्तव्य पाउनु सजिलो छैन; तिमीले यो अवसरको कदर गर्नैपर्छ, किनभने यदि तिमीले यो अवसर गुमायौ भने अर्को अवसर कहिल्यै पाउनेछैनौ। तिम्रो क्षमता र अवस्था एकदमै राम्रो भएकोले, तिमीले आफ्नो कर्तव्य निर्वाह नगर्नु दुःखद कुरा हुनेछैन र? तिम्रो जस्तो प्रतिभा भएको व्यक्तिलाई परमेश्वरका घरमा बढुवा गरेर उपयोग गर्नुपर्ने हुन्छ; यहाँ तिमीसँग ठूला सम्भाव्यताहरू छन्!” त्यो व्यक्तिले भन्छ, “यो कुरा नगर। यदि तिमीले मलाई मेरो कर्तव्य निर्वाह गर्न लगायौ भने, मेरो मनोवृत्ति उही रहनेछ। यदि मलाई त्यसो गर्न दिइएन भने, म तुरुन्तै छोडेर जानेछु। यहाँ बस्नका लागि मैले बिन्ती बिसाएको होइन!” झुटो अगुवाले सबै शब्द भनी सकाउँछ तर त्यो व्यक्तिलाई मनाउन र उसको समस्या हल गर्न सक्दैन। किन त? किनभने उसले त्यो व्यक्तिको मुख्य समस्या के हो भनेर छर्लङ्ग देख्न सक्दैन। त्यो व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा मनलागेअनुसार लापरवाह हुन्छ, मनलागेअनुसार जालझेल गर्छ, र मनलागेअनुसार झारा टार्छ; ऊ जे काम गर्दा पनि गैरजिम्मेवार हुन्छ। ऊ केही समस्याहरू हल गर्नका लागि कति पनि थप प्रयास गर्न वा थप कुरा भन्न चाहँदैन, उसलाई त्यो समस्याजनक र कष्टप्रद लाग्छ। उसलाई आफ्नो कर्तव्य कसरी योग्य रूपमा निर्वाह गर्ने र कसरी उचित तरिकामा कार्य गर्ने भनेर प्रस्ट रूपले थाहा हुन्छ तर ऊ यसरी अभ्यास गर्न अनिच्छुक हुन्छ। तैपनि, ऊ परमेश्वरकाको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहन्छ। यो अवस्थाको प्रकृति के हो? यहाँ समस्या के हो? (ऊ आशिष् पाउने र सौदा गर्ने अभिप्रायले आएको थियो।) ऊ यस्तो आशा बोकेर आएको थियो; यस्ता मानिसहरूलाई अवसरवादी भनेर चिनिन्छ। तिनीहरू भन्छन्, “मैले सुनेको संसार चाँडै अन्त हुँदै छ रे, ठूलो विपत्ति हामीमाथि मडारिरहेको छ रे, त्यसैले म अबउसो काममा जानुपर्दैन; जे भए पनि मैले प्रशस्तै पैसा कमाइसकेको छु। साथै म परमेश्वरका घरमा सित्तैमा खान र आफ्नो स्थान सुरक्षित गर्न आउन पनि सक्छु, ताकि मैले पछि आशिष् पाउने आशा पाउन सकूँ।” कर्तव्य निर्वाह गर्नमा तिनीहरूको मनोवृत्ति र अभिप्रायलाई हेर्दा, परमेश्वरप्रतिको तिनीहरूको विश्वास अवसरवादी हुन्छ; तिनीहरू परमेश्वरका घरमा साँचो आस्थाले नभई सित्तैमा खान पाइन्छ भनेर आएका हुन्छन्। कर्तव्य निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति एकदमै बेवास्ते हुन्छ। तिनीहरूलाई प्रयोग गर्न मण्डलीले तिनीहरूलाई फकाउनुपर्ने र तिनीहरूसँग वार्ता गर्नुपर्ने हुन्छ, र पनि तिनीहरू कर्तव्य राम्ररी निर्वाह गर्दैनन्। के विवेकसमेत नहुने व्यक्तिले साँच्चै कर्तव्य निर्वाह गर्न सक्छ त? ऊ केवल अवसरवादी भइरहेको वा सित्तैमा केही पाउन खोजिरहेको हुन्छ, ऊ अविश्वासी हो। यो समस्याका दुइटा पक्षहरूको प्रकृतिलाई हेर्दा, यसलाई समाधान गर्ने प्रयासमा के झुटो अगुवाले यसको सार बुझ्यो त? (बुझेन।) उसले त्यो समस्याको सार छर्लङ्ग देख्न नसकेर अझै त्यो व्यक्तिलाई साँचो विश्वासी, केवल सत्यताको बुझाइ नभएको, सानो कद भएको, क्षणिक रूपमा कमजोर र सहयोग चाहिएको व्यक्ति ठान्यो। यी दृष्टिकोणबाट, उसले सङ्गति र मद्दत गर्ने प्रयास गर्यो, तर उसलाई यसो भनियो, “यो कुरा नगर। तिमीले भनेका ती धर्मसिद्धान्तहरू व्यर्थ छन्। मलाई त्यो सब थाहा छ, म तिमीले भन्दा धेरै बुझ्छु। तिमी साँच्चिकै कतिवटा धर्मसिद्धान्त बुझ्छौ र? तिमी कति शिक्षित छौ र? तिमीले जति खाना खाएका छौ त्योभन्दा बढी त मैले पुस्तकहरू नै पढेको छु!” उसको प्रकृति आफै प्रकाश भएको छ, छैन त? त्यो झुटो अगुवा अझै आफूले अगुवाको काम गरिरहेको ठान्छ, तर त्यो व्यक्ति वास्तवमा अविश्वासी हो भनेर थाहा पाउँदैन। अविश्वासीहरूले परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्दा, तिनीहरूको श्रमसमेत अपर्याप्त हुन्छ। के यस्ता मानिसहरूलाई राखिराख्नुपर्छ त? (पर्दैन।) त्यसैले, परमेश्वरका घरमा यस्तो व्यक्ति सम्हाल्ने सिद्धान्त यही हो: यदि ऊ श्रम गर्न सक्षम र इच्छुक छ भने, उसलाई राख्; यदि ऊ इच्छुक छैन भने, उसलाई तुरुन्तै हटा, उसलाई बस्ने आग्रह गर्ने वा अर्ती दिने काम नगर्। के त्यो झुटो अगुवालाई यो सिद्धान्त थाहा छ? थाहा छैन। ऊ मृतकलाई जीवितजस्तो व्यवहार गर्छ, त्यसलाई खुवाउँछ र पानी पिलाउँछ; के त्यो मूर्खता होइन र? मूर्ख अगुवाहरू यस्तै मूर्ख कामकुरा गर्छन्।
झुटा अगुवाहरू मानिसहरूले जीवन प्रवेशमा सामना गर्ने कठिनाइ र समस्याहरू समाधान गर्न सक्षम हुँदैनन्
विभिन्न परिस्थितिमा, जब भिन्नभिन्न मानिसहरूले विभिन्न स्थिति र प्रकटीकरणहरू प्रकट गर्छन्, तब झुटा अगुवाहरूले कहिल्यै पनि यी प्रकटीकरणहरूको सार बुझ्न र तीबाट उत्पन्न हुने समस्याहरू हल गर्न सक्दैनन्। तिनीहरूले सत्यता नबुझ्ने हुनाले, तिनीहरू गलत तरिकाले संज्ञा दिन्छन् र लापरवाह व्यवहारमा संलग्न हुन्छन्, र यसरी अस्थायी रूपमा कमजोर हुने वा कहिलेकाहीँ मात्र नकारात्मक हुनेहरूलाई गलत रूपमा अविश्वासी र परमेश्वरलाई विश्वासघात गर्ने मानिस ठान्छन्। तर यसबीच, सतही रूपमा केही प्रतिभा हुने, र सरल काम गर्न र केही प्रयास लगाउन सक्ने अविश्वासीहरूलाई चाहिँ साथ दिइनुपर्ने मुख्य लक्षित पात्र मानिन्छ। यी मानिसहरू आफू कर्तव्य निर्वाह गर्न अनिच्छुक भएको कुरा सिधै बताउन लजाउँछन्, तर झुटा अगुवाहरू यो कुरा छर्लङ्गै देख्न सक्दैनन् र तिनीहरूलाई त्यहीँ बस्नका लागि मनाउन लागिपर्छन्। झुटा अगुवाहरूले मूर्ख कामबाहेक अरू केही गर्दैनन्; दुष्ट मानिसहरूले मण्डलीलाई बाधा दिन्छन्, तैपनि तिनीहरूले त्यो थाहा पाउँदैनन् र त्यो समस्यालाई सम्बोधन गर्दैनन्। के यो लापरवाह व्यवहारमा संलग्न हुनु होइन र? झुटा अगुवाहरूको लापरवाह व्यवहार कसरी उत्पन्न हुन्छ? तिनीहरूमा परमेश्वरका वचनहरू बुझ्ने क्षमताको हुँदैन र तिनीहरू सत्यता बुझ्दैनन्, त्यसैले विभिन्न परिस्थितिहरू सामना गर्दा, तिनीहरू आफूले बुझ्ने सबैभन्दा सतही धर्मसिद्धान्तहरूको सहारा लिन्छन्, र तिनलाई बारम्बार यसरी लागू गर्छन् कि त्यसबाट अवरोध र बाधा मात्र पैदा हुन्छ। प्रायः तिनीहरूले मानिसहरूको जीवन प्रवेशमा आइपर्ने कठिनाइहरू हल गर्न नसक्ने र मानिसहरूलाई कमजोरबाट बलियो हुन मद्दत गर्न नसक्ने मात्र होइन, तिनीहरूले त मानिसहरूलाई परमेश्वरबारे धारणा र गलतफहमीहरू पाल्ने अनि मण्डलीले तिनीहरूको सेवाको फाइदा लिन तिनीहरूको भर्ती गर्न खोज्दै छ भन्ने सोच्नेसमेत तुल्याउँछन्, र यसरी परमेश्वरका घरमा प्रतिभावान् व्यक्तिहरू नै छैनन् जस्तो, र यसले उपयुक्त मानिसहरू भेट्टाउनै सक्दैन जस्तो गराउँछन्। झुटा अगुवाहरूको कामले उत्पन्न गर्ने नकारात्मक प्रभाव यही हो। यो कसरी उत्पन्न हुन्छ? (झुटा अगुवाहरूले सत्यता बोध गर्न सक्दैनन्, सत्यता बुझ्दैनन्, र परिस्थितिहरू सामना गर्नुपर्दा, तिनीहरूले प्रावधानहरू मात्र लागू गर्छन्।) तिनीहरूले सत्यता बोध गर्न सक्दैनन्, तिनीहरूले केही अरट्ठ शब्द र भनाइहरू कण्ठ गर्न मात्र सक्छन्। तिनीहरूमा सत्यताको वास्तविक अनुभवात्मक बुझाइ र कदर हुँदैन। त्यसैले, जब अन्त्यमा समस्याहरू खडा हुन्छन्, तब तिनीहरूले केही नीरस वाक्यांशहरू मात्र भन्न सक्छन्: “परमेश्वरलाई प्रेम गर”; “इमानदार बन”; “परिस्थितिहरू सामना गर्नुपर्दा आज्ञाकारी र समर्पित होऊ”; “आफ्नो कर्तव्य राम्ररी निर्वाह गर”; “तिमीले बफादार हुनुपर्छ”; “तिमीले देहविरुद्ध विद्रोह गर्नैपर्छ”; “तिमीले परमेश्वरका लागि आफूलाई अर्पित गर्नुपर्छ।” तिनीहरू आफूलाई सुशोभित पार्न यी खोक्रा धर्मसिद्धान्त, नारा, र भनाइहरू प्रयोग गर्छन्, अनि अरूलाई प्रभावित पारेर तिनीहरूमा सकारात्मक प्रभाव पार्ने आशा राख्दै तिनीहरूलाई पनि तिनै कुराहरू सिकाउँछन्—तर त्यसले कुनै नतिजा र कुनै परिवर्तन ल्याउँदैन। तसर्थ, झुटा अगुवाहरू कुनै पनि काम पूरा गर्न असक्षम हुन्छन्। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा आइपर्ने कठिनाइहरू समाधान गर्नसमेत सक्दैनन् भने, तिनीहरूले कसरी मण्डलीको सही तरिकाले अगुवाइ गर्न सक्छन् र?
मानिसहरूले वास्तविक जीवनमा विभिन्न कठिनाइहरू सामना गर्दा अनि तीसँग कसरी जुध्ने, र कसरी सत्यता अभ्यास गर्ने भनेर नजान्दा, ती समस्याहरू समाधान गर्न परमेश्वरका वचनहरूमा सत्यता खोज्नुपर्छ। यदि सानो कद भएको व्यक्तिलाई परमेश्वरका वचनहरूमा सत्यता कसरी खोज्ने भनेर पनि थाहा छैन, र परमेश्वरका सान्दर्भिक वचनहरू कसरी खोज्ने भनेर पनि थाहा छैन भने, उसले त्यो समस्या हल गर्नहेतु सङ्गति गर्न सत्यता बुझ्नेहरूलाई भेट्नुपर्छ, र सँगसँगै परमेश्वरका सान्दर्भिक वचनहरू कसरी खोज्ने र कसरी सत्यता बुझ्ने भनेर प्रशिक्षित पनि हुँदै जानुपर्छ। यसको अर्थ सिद्धान्त र परमेश्वरले तोक्नुभएका मानकहरू के-के हुन्, परमेश्वरले यो मामिलालाई कसरी परिभाषित गर्नुहुन्छ र यस सम्बन्धमा के माग गर्नुहुन्छ, अनि यसमा कुनै विशेष कुराहरू व्याख्या गरिएका छन् कि भनेर परमेश्वरका वचनहरूमा खोजी गर्नु हो। यदि परमेश्वरका वचनहरू यो विषयबारे अलिक सरल छन्, र तिनले विस्तृत उदाहरणहरू नदिई सिद्धान्तहरूको सारांश मात्र दिन्छन् भने, तैँले मनन गर्न सिक्नुपर्छ। यदि तैँले मनन गरेर बुझ्न सक्दैनस् भने, सङ्गति गर्न अझ धेरै मानिसहरू खोज्, भेलाहरूमा सङ्गति गर्, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा खोजबिन र खोजी गर्, अन्तर्दृष्टि र ज्योति प्राप्त गर्, अनि यसरी अहिलेको समस्याको सार के हो भनेर क्रमिक रूपमा बुझ्। अन्त्यमा, यी कठिनाइहरूको समाधान गर्न परमेश्वरका वचनका सिद्धान्तहरूअनुसार प्रवेश गर्। उदाहरणका लागि, कति मानिसहरू अल्छी हुन्छन् र आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कहिल्यै शक्ति बटुल्न सक्दैनन्; तर खाने, पिउने र रमाइलो गर्ने कुरा गरिस् भने, तिनीहरूमा चमक आउँछ र तिनीहरू जोसजाँगरले भरिन्छन्, मानौँ अचानक तिनीहरूको आत्मा बलियो भएको छ। झुटा अगुवाहरूले यस्ता समस्याहरू कसरी समाधान गर्छन्? तिनीहरूको पनि एउटा विधि हुन्छ: तिनीहरूले यी मानिसहरूलाई खाली समय नदिई अझ धेरै काम दिन्छन्। के यो तरिकाले समस्या समाधान हुन सक्छ? कति मानिसहरू आफूलाई दिइएको काम अलिकति पनि गर्न मन गर्दैनन्; तिनीहरू सित्तैमा केही पाउन मात्र चाहन्छन्, र कुनै पनि काम फिटिक्कै नगर्नु नै सबैभन्दा राम्रो हो भन्ने सोच्छन्! असाध्यै अल्छे मानिसहरूको समस्या के हो? त्यो तिनीहरूको प्रकृति सारसँग, तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन् कि गर्दैनन् भन्नेसँग अनि तिनीहरूका रुचि र पछ्याइहरूसँग सम्बन्धित कुरा हो। कति मानिसहरूमा थोरथोरै क्षमता हुन्छ; यदि तिनीहरू कुनै बोझ नदिइएको साधारण अनुयायी मात्र हुन् भने, तिनीहरूमा काम गर्ने ऊर्जाको कमी हुन्छ र तिनीहरूलाई त्यसमा कुनै रुचि लाग्दैन। तर, तिनीहरूको क्षमता र तिनीहरूले निर्वाह गर्नसक्ने कर्तव्यअनुसार, यदि तिनीहरूलाई सुपरिवेक्षक हुने बोझ दिइयो, केही उपाधि लिन र केही दायित्वहरू लिन दिइयो भने, काममा तिनीहरूको रुचि बढ्छ। कहिलेकाहीँ, जब तिनीहरू आफ्ना काममा गैरजिम्मेवार बन्छन् वा अल्छी गर्छन्, तब तिनीहरूलाई काटछाँट गर्न सकिन्छ; अरू बेला, तिनीहरूलाई केही हौसला दिन र प्रशंसा गर्न पनि सकिन्छ। यसरी, इज्जतको ख्याल गर्ने, हैसियत मन पराउने र प्रशंसामा रमाउने ती मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने ऊर्जा प्राप्त गर्छन्। तिनीहरू आफूमा सुस्त हुने सोचाइ आउँदा यस्तो सोच्छन्, “हैसियतको खातिर, आफूले बोक्ने बोझको खातिर, मैले राम्रो गर्नैपर्छ।” यसरी, यस्ता मानिसहरूको अल्छीपन आंशिक रूपमा हटाउन सकिन्छ। झुटा अगुवाहरूले कर्तव्य निर्वाहका क्रममा उत्पन्न हुने मानवतासँग सम्बन्धित समस्याहरू वा जीवन प्रवेशसम्बन्धी स्थितिहरू सामना गर्दा, तिनीहरूलाई त्यो समाधान गर्न एकदमै कठिन र चुनौतिपूर्ण लाग्छ। तिनीहरूलाई ती स्थिति र समस्याहरू कसरी समाधान गर्ने, वा लक्षित समाधानका लागि परमेश्वरका कुन वचनहरू प्रयोग गर्ने भनेर थाहै हुँदैन। धेरैजसो समय, तिनीहरूको शैली मानिसहरूलाई राम्रोसँग काम गर्न मनाउने वा फकाउने मात्र हुन्छ; यदि मनाउँदा वा फकाउँदा भएन भने, तिनीहरू रिसाउन र उनीहरूलाई काटछाँट गर्नतर्फ लाग्छन्। यदि उनीहरूलाई काटछाँट गर्दा भएन भने, तिनीहरूले परमेश्वरका कठोर वचनका केही खण्ड चेतावनीका रूपमा पढेर सुनाउँछन्, र मानिसहरूलाई उनीहरू सच्चिनुपर्छ भनेर थाहा दिन्छन्। यदि त्यसले पनि कुनै प्रभाव पारेन भने, तिनीहरूले अन्त्यमा कसैलाई खटाएर उनीहरूको निगरानी र व्यवस्थापन गराउने गर्छन्। तिनीहरूसँग यी केही तरकिब मात्र हुन्छन्, र यदि यी तरकिबले पनि काम गरेनन् भने, तिनीहरूसँग कुनै विकल्प बाँकी रहँदैन।
सङ्क्षेपमा भन्नुपर्दा, समस्या जे भए पनि, झुटा अगुवाहरूले समस्याको सार छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरूलाई विभिन्न मानिसहरूको साँचो स्थिति र पृष्ठभूमि बुझ्न गाह्रो हुन्छ, तिनीहरूले समस्याको जड कहाँ छ वा त्यसलाई सर्वोचित तरिकाले समाधान गर्न कहाँबाट सुरु गर्ने भनेर छर्लङ्गै बुझ्न झनै सक्दैनन्। तिनीहरूमा समस्याहरू समाधान गर्ने यी सिद्धान्त र विधिहरूको कमी हुन्छ, त्यसैले झूटा अगुवाहरूको कामले विविध वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। तिनीहरू केही धर्मसिद्धान्तहरू प्रचार गर्न, केही नाराहरू फलाक्न, केही प्रावधानहरू पालन गर्न र झारा टार्न मात्र सक्छन्। यस्ता मानिसहरू कसरी मण्डलीलाई अगुवाइ गर्ने कामका लागि योग्य हुन सक्छन्? तिनीहरूले जति नै प्रशिक्षण लिए पनि वा जति नै वर्ष विश्वास गरे पनि तिनीहरू मण्डलीलाई अगुवाइ गर्ने कामका लागि योग्य हुनेछैनन्। के तिमीहरूले यसका कुनै उदाहरणहरू भेट्टाएका छौ? (हाम्रो मण्डलीमा, अतिथि सत्कारको कर्तव्य निर्वाह गर्ने व्यक्ति थियो, जो सधैँ आलोचनात्मक र आक्रामक टिप्पणीहरू गर्थ्यो, हाम्रो कर्तव्य निर्वाहमा असर पुऱ्याउँथ्यो, अनि अवरोध र बाधाहरू सिर्जना गर्थ्यो। हामीले यो कुरा अगुवालाई रिपोर्ट गरेपछि, उसले हाम्रो वास्तविक समस्या समाधान गरेन, बरु उल्टै हामीले आफूलाई चिन्नुपर्छ र परमेश्वरले बन्दोबस्त गर्नुभएको परिवेशप्रति समर्पित हुनुपर्छ भनेर मात्र जिद कस्यो, र यसले गर्दा मण्डलीका काममा असर पुग्यो। त्यो समस्या नेतृत्व परिवर्तन भएपछि मात्र हल भयो।) यो झुटो अगुवाइको ठेट प्रकटीकरण हो। यो आम प्रकारको झुटो अगुवा हो: ती जसले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीलाई भेट्दा त्यसलाई चिन्न सक्दैन, र अरूलाई धैर्यवान् र सहनशील हुनुपर्छ, अनुभवबाट सिक्नुपर्छ, अनि त्यो दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको कुरा मान्नुपर्छ भनेर भन्छन्। तिनीहरू ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूलाई खुट्ट्याउँदैनन्, न त तिनीहरूलाई केही नै गर्छन्। ख्रीष्टविरोधीहरू प्रकट हुने तरिकाहरूबारे धेरै सङ्गति गरेपछि, सत्यता बुझ्ने हरव्यक्ति अब तीमध्ये केहीलाई पहिचान गर्न सक्षम भएको हुनुपर्छ। तर के त्यस्ता झुटा अगुवाजस्ता मानिसहरूले त्यो सङ्गति कसरी ख्रीष्टविरोधीको व्यवहारसँग मिल्छ भनेर खोज्न सक्छन्? के तिनीहरूले ख्रीष्टविरोधीहरू खुट्ट्याउन सक्छन? (सक्दैनन्।) अनि तिनीहरूले ख्रीष्टविरोधीहरू खुट्ट्याउन नसक्नुको नतिजा के हुन्छ? ख्रीष्टविरोधीले तिनीहरूबाट शक्ति खोस्ने, तिनीहरूले ख्रीष्टविरोधीलाई मण्डली नियन्त्रण गर्न दिने, र अन्त्यमा, ख्रीष्टविरोधीले स्वतन्त्र राज्य स्थापित गर्दा तिनीहरूले केही पनि नगर्ने सम्भावना हुन्छ। यदि तिनीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनन् भने, तिनीहरूले कुनै हालतमा पनि ख्रीष्टविरोधीलाई आफ्नो शत्रुका रूपमा व्यवहार गर्ने र उसलाई खुलासा गर्ने, खुट्ट्याउने, र इन्कार्ने गर्दैनन्; यदि तिनीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनन् भने, तिनीहरूले धैर्य र सहनशीलताका साथ ख्रीष्टविरोधीलाई आफ्नो दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार गर्ने सम्भावना धेरै हुन्छ, जसको फलस्वरूप मण्डलीमा ख्रीष्टविरोधी शक्तिमा आउँछ र उसले त्यहाँ नियन्त्रण जमाउँछ। त्यसैले, ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसक्नुका परिणामहरू अड्कल गर्नै नसकिने गरी गम्भीर हुन्छन्। झुटा अगुवाहरू सत्यता बुझ्दैनन्; तिनीहरूले भिन्नभिन्न मानिसहरूको सार खुट्ट्याउन सक्दैनन्। तिनीहरूले गर्ने भनेकै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नु र प्रावधानहरू लागू गर्नु, सबैप्रति प्रेम दर्साउँदै, हरेकलाई पश्चात्ताप गर्न दिनु, र हरेकलाई मौका दिनु हो, चाहे त्यो जोसुकै होस्। के यो धर्मका पादरीवर्गको आचरण होइन र? के यो फरिसीहरूको आचरण होइन र? झुटा अगुवाहरूले ख्रीष्टविरोधीहरूसँग आमनेसामने हुँदा सामान्यतया सम्झौता गर्छन् र झुक्छन्, र यो त अरूलाई प्रेमपूर्वक व्यवहार गर्नु हो भनेर दाबी गर्न बहाना वा कारण समेत भेटाउँछन्। कुनै व्यक्ति समस्याजनक छ र ऊ ख्रीष्टिविरोधी हो भन्ने थाहा पाउँदा, तिनीहरू न त उसको सामना गर्ने आँट गर्छन्, न त तिनीहरूमा उसलाई खुट्ट्याउने र खुलासा गर्ने साहस नै हुन्छ; झुटा अगुवाहरू ठ्याक्कै यसै गर्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीले त्यो व्यक्ति दुष्ट वा ख्रीष्टविरोधी हो भनेर खुट्ट्याइसकेपछि समेत झुटो अगुवाले अझै यसो भन्नेछ, “हामीले मानिसहरूलाई त्यतिकै हल्कासित आलोचना वा निन्दा गर्न मिल्दैन। त्यो व्यक्ति आफूलाई समर्पित गर्न एकदमै उत्साही र मूल्य चुकाउन एकदमै इच्छुक छ—ऊ कुनै ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति होइन। कसैले केही कठोर शब्द बोल्यो भन्दैमा उसलाई दुष्ट भन्नु मिल्दैन, होइन र?” झुटा अगुवाहरू मानिसहरूको सार देख्न सक्दैनन्, न त ख्रीष्टविरोधीहरूका कार्यका नतिजाहरू नै देख्न सक्छन्, र अझै पनि ख्रीष्टविरोधीहरूप्रति प्रेम, सहनशीलता र धैर्य देखाउँछन्, र ख्रीष्टविरोधीहरूलाई चिन्तन गर्न, आफूलाई चिन्न, र साँचो रूपमा पश्चात्ताप गर्न हौसलासमेत दिन्छन्। कुनै ख्रीष्टविरोधीले आफूलाई चिन्न जेजसरी प्रयास गरे पनि के उसको प्रकृति परिवर्तन हुन सक्छ? के उसले साँच्चै आफूलाई चिन्न सक्छ? बिलकुलै सक्दैन। ख्रीष्टविरोधीहरूले सतही रूपमा केही कुरा त्यागेको र आफूलाई अलि समर्पित गरेको देखिएला, तर भित्र भने तिनीहरूले महत्त्वाकाङ्क्षा र ठुल्ठुला षड्यन्त्रहरू पालेका हुन्छन्। झुटा अगुवाहरूले यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा छर्लङ्ग देख्न नसक्नुको कारण भनेको झुटा अगुवाहरूले सत्यता नबुझ्नु र भिन्नभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउन नसक्नु हो। तिनीहरू विभिन्न मानिसहरूको प्रकृति सार छर्लङ्ग देख्न सक्दैनन्, न त तिनीहरूलाई भिन्नभिन्न प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्ने वा कसरी सम्हाल्ने भन्ने नै थाहा हुन्छ। जब तिनीहरू अरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गरेको देख्छन्, तब तिनीहरू त्यसमा आबद्ध हुने आँट गर्दैनन्, र ख्रीष्टविरोधीहरूविरुद्ध कदम चाल्न त झनै डराउँछन्, र ख्रीष्टविरोधीहरू चिढिएमा तिनीहरूले प्रतिशोध लिन्छन् भनेर डराउँछन्। ख्रीष्टविरोधीहरूप्रति तिनीहरूको शैली धर्मसिद्धान्त र अर्ती प्रचार गर्नमै सीमित हुन्छ। दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसक्नुबाहेक, झुटा अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूमाझ हुने विभिन्न समस्याहरू पनि हल गर्न सक्दैनन्। यसले झुटा अगुवाहरूसँग सत्यताको बुझाइ पटक्कै हुँदैन भन्ने प्रमाणित गर्छ; तिनीहरू वास्तविक समस्याहरू हल गर्न असक्षम हुन्छन् र परमेश्वरका चुनिएका मानिसहरूलाई अगुवाइ गरेर सत्यता वास्तविकतामा पुऱ्याउन त झन् सक्दै सक्दैनन्। झुटा अगुवाहरूले चाहे जेसुकै भनून् वा जेसुकै गरून्, तैँले पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रेरित ज्योतिका कुनै वचनहरू सुन्नेछैनस्, झन् तिनीहरूमा कुनै सत्यता वास्तविकता देख्नु त परको कुरा हो। त्यसैले, झुटा अगुवाहरूले मानिसहरूको जीवन प्रवेशका सन्दर्भमा कुनै फाइदा वा मदत दिँदैनन्; तिनीहरूले गर्ने थोरै काममा वचन र धर्मसिद्धान्तहरू प्रचार गर्नु, नाराहरू फलाक्नु, र झारा टार्नु मात्र पर्छन्। तिनीहरू एउटा अगुवाले निभाउनुपर्ने भूमिका पूरा गर्न पूर्ण रूपमा असफल हुन्छन्।
आजको हाम्रो सङ्गति यति नै हो। फेरि भेटौँला!
जनवरी ९, २०२१