अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२)

सुरुमा हामी हाम्रो पछिल्लो भेलाको सङ्गतिको मुख्य विषयवस्तुको समीक्षा गरौँ। (पछिल्लो समय, तपाईँले अगुवा र कामदारहरूका पन्ध्र वटा जिम्मेवारीहरू सूचीबद्ध गर्नुभयो, र मुख्यतः पहिलो दुई जिम्मेवारीहरूबारे सङ्गति गर्नुभयो: पहिलो थियो, मानिसहरूलाई परमेश्‍वरका वचन खान र पिउन तथा बुझ्‍न, अनि परमेश्‍वरका वचनहरूका वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्ने; दोस्रो थियो, हरेक किसिमका मानिसहरूको स्थितिबारे परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने जीवन प्रवेशसम्बन्धी विविध कठिनाइहरू समाधान गर्ने। तपाईँले यी दुई कुराका आधारमा झूटा अगुवाहरूका सान्दर्भिक प्रकटीकरणहरू चिरफार गर्नुभयो।) यदि तिमीहरू अगुवा भएका भए, तिमीहरूले यी दुई जिम्मेवारीमध्ये कुनचाहिँ निर्वाह गर्न सक्थ्यौ भनेर कहिल्यै विचार गरेका छौ? धेरै मानिसहरू सधैँ आफूसँग केही क्षमता, बुद्धि, र बोझको बोध छ भन्ने सोच्छन्, परिणामस्वरूप अगुवा बन्नका निम्ति होड गर्न चाहन्छन्, र साधारण अनुयायी हुन चाहँदैनन्। त्यसैले, पहिला तैँले यी दुई जिम्मेवारी निर्वाह गर्न सक्छस् कि सक्दैनस्, र कुनचाहिँ जिम्मेवारी निभाउन तँ बढी सक्षम छस् र तैँले कुनचाहिँ सम्हाल्न सक्छस् भनी हेर्। तँमा अगुवा बन्ने क्षमता छ कि छैन, वा तँमा कार्य क्षमता वा कुनै बोझको बोध छ कि छैन भन्ने बारेमा अहिले कुरा नगरौँ, बरु पहिले तैँले यी दुई जिम्मेवारी राम्ररी निर्वाह गर्न सक्छस् कि सक्दैनस् भनी हेरौँ। के तिमीहरूले यो प्रश्‍नबारे कहिल्यै मनन गरेका छौ? कतिले भन्‍न सक्छन्, “मेरो अगुवा बन्ने कुनै योजना छैन, त्यसैले किन मैले यसबारे मनन गर्ने र? मैले केवल आफ्नो काम राम्ररी गर्नुपर्छ—यो प्रश्‍नको मसँग कुनै सम्बन्ध छैन। यो जीवनकालमा, म कहिल्यै अगुवा बन्न चाहन्नँ, अनि म कहिल्यै अगुवा वा कामदारका जिम्मेवारी लिन चाहन्नँ, त्यसैले मैले यस्ता प्रश्‍नहरूबारे कहिल्यै मनन गर्नुपर्दैन।” के यो भनाइ सही हो? (होइन।) तँ अगुवा हुन चाहँदैनस् भने पनि, तँलाई अगुवाइ गर्ने व्यक्तिले यी दुई जिम्मेवारी कति राम्ररी पूरा गरिरहेको छ, उसले आफ्ना जिम्मेवारी पूरा गरेको छ कि छैन, ऊसँग आवश्यक क्षमता, योग्यता, र बोझको बोध छ कि छैन, अनि उसले यी दुई माग पूरा गर्छ कि गर्दैन भनेर के तैँले जान्नुपर्दैन र? यदि तँ यी कुरा बुझ्दैनस् वा छर्लङ्ग देख्न सक्दैनस्, र उसले तँलाई खाल्डोमा हाल्यो भने, के तँलाई त्यो थाहा हुनेछ र? यदि तँ केवल उसलाई अन्योलग्रस्त तरिकाले पछ्याउँछस् र तँ केवल मन्दबुद्धिको होस् भने, यदि तँलाई ऊ झूटो अगुवा हो, वा उसले तँलाई गलत बाटोतिर लगिरहेको छ वा कतातिर लगिरहेको छ भन्ने थाहा भएन भने, तँ खतरामा पर्नेछस्। तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायरा नबुझ्ने हुनाले, अनि झूटा अगुवाहरूलाई खुट्ट्याउन नसक्ने हुनाले, तैँले तिनीहरूलाई अन्योलग्रस्त तरिकाले पछ्याउनेछस्, र तिनीहरूले जे अह्रायो त्यही गर्नेछस्, र तिनीहरूले तँसँग परमेश्‍वरका वचनहरूको सत्यताअनुरूप सङ्गति गर्छन् कि गर्दैनन्, वा त्यो वास्तविकता हो कि होइन भनेर जान्नेछैनस्। तैँले तिनीहरू उत्सासित हुने हुनाले, तिनीहरूले बिहानदेखि बेलुकीसम्म दौडधुप र कडा मेहनत गर्ने हुनाले अनि मूल्य चुकाउन सक्ने हुनाले, र कुनै व्यक्ति कठिनाइमा पर्दा तिनीहरूले उसलाई मद्दत गर्न हात अघि बढाउने, र बेवास्ता नगर्ने हुनाले, तिनीहरू अगुवाका रूपमा योग्य छन् भन्ने सोच्छस्। तँ के जान्दैनस् भने, झूटा अगुवाहरूसँग परमेश्‍वरका वचनहरू बुझ्ने क्षमतै हुँदैन, तिनीहरूले मानिसहरूलाई जति नै लामो समयसम्‍म काम गरे पनि परमेश्‍वरका अभिप्रायहरू बुझ्नेछैनन् वा परमेश्‍वरका मागहरू के हुन भनेर जान्नेछैनन्, तिनीहरूले धर्मसिद्धान्त के हुन् र सत्यता वास्तविकताहरू के हुन् भनेरसमेत खुट्ट्याउन सक्नेछैनन्, तिनीहरूले शुद्ध रूपमा परमेश्‍वरका वचन र सत्यता बोध गर्न जान्नेछैनन्, न त आफूले कसरी परमेश्‍वरका वचन खानु र पिउनुपर्छ भनेर नै जान्‍नेछन्—यसले तिनीहरू झूटा अगुवा हुन् भन्ने कुरा स्पष्ट पार्छ। झूटा अगुवाहरूले आफूले गर्ने काममा कुनै नतिजा हासिल गर्दैनन्। तिनीहरूले तँसँग सङ्गति गर्नेछन् र झारा टार्नेछन्, तर तँ कस्तो स्थितिमा छस्, तैँले के-कस्ता कठिनाइहरू सामना गर्दै छस्, र ती वास्तवमा समाधान गरिएका छन् कि छैनन् भनेर तिनीहरू प्रस्ट हुनेछैनन्, अनि तँ आफैलाई पनि यी कुराहरू थाहा हुनेछैन। बाहिरबाट हेर्दा त, तिनीहरूले परमेश्‍वरका वचनहरू पढेर तँसँग सत्यताबारे सङ्गति गरेकै हुनेछन्, तर तँ अझै पनि गलत स्थितिमै जिइरहेको हुनेछस्, र तेरो स्थिति सुल्टिएकै हुँदैन। तँलाई जेजस्ता कठिनाइहरू आइपरे पनि, तिनीहरूले आफ्ना जिम्मेवारी पूरा गरेझैँ नै देखिनेछ, तर तिनीहरूको सङ्गति वा सहयोगद्वारा तेरा कुनै पनि कठिनाइहरू हल हुनेछैनन्, र समस्याहरू ज्यूँका त्यूँ रहिरहनेछन्। के यस्तो अगुवा मानकअनुरूपको हुन्छ? (हुँदैन।) त्यसोभए, तैँले यी मामिला खुट्ट्याउन के-कस्ता सत्यताहरू बुझ्नुपर्छ? तैँले अगुवा र कामदारहरूले परमेश्‍वरका वचनका मापदण्डअनुसार हरेक काम गर्ने र हरेक समस्या सुल्झाउने गर्छन् कि गर्दैनन्, तिनीहरूले बोल्ने हरशब्द व्यावहारिक छ कि छैन र परमेश्‍वरका वचनको सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर बुझ्नुपर्छ। यसका साथै, तैँले आफूलाई विभिन्न कठिनाइ आइपर्दा, समस्या हल गर्ने तिनीहरूको शैलीले तँलाई परमेश्‍वरका वचन बुझ्न र अभ्यास मार्ग प्राप्त गर्नतर्फ डोर्‍याउँछ कि डोर्‍याउँदैन, कि तिनीहरू केही शब्द र धर्मसिद्धान्त मात्र बोल्ने, नारा मात्र फलाक्‍ने, वा तँलाई अर्तीउपदेश मात्र दिने गर्छन् भनेर बुझ्नुपर्छ। कति अगुवा र कामदारहरूले अर्तीउपदेश दिएर, र कतिले भने प्रेरणा दिएर, अनि अरू कतिले चाहिँ खुलासा, दोषारोपण, र काटछाँट गरेर मानिसहरूलाई मद्दत गर्न मन पराउँछन्। तिनीहरूले जे विधि प्रयोग गरे पनि, यदि त्यसले तँलाई साँच्चै सत्यता वास्तविकतामा प्रवेश गर्न, तेरा वास्तविक कठिनाइहरू समाधान गर्नतर्फ डोर्‍याउन, र तँलाई परमेश्‍वरका अभिप्रायहरू के हुन् भनेर बुझाउन सक्छ र यसरी तँलाई आफूलाई चिन्न र अभ्यास मार्ग प्राप्त गर्न सक्षम पार्छ भने, तँलाई भविष्यमा त्यस्तै परिस्थिति आइपर्दा, तँसँग पछ्याउने मार्ग हुनेछ। तसर्थ, कुनै अगुवा वा कामदार मानकअनुरूपको छ कि छैन भनेर मापन गर्ने सबैभन्दा आधारभूत मानक भनेको उसले मानिसहरूका समस्या र कठिनाइहरू हल गर्न सत्यता प्रयोग गर्न सक्छ कि सक्दैन, र तिनीहरूलाई सत्यता बुझ्न र अभ्यासको मार्ग प्राप्त गर्न सक्षम पार्न सक्छ कि सक्दैन भन्ने हो।

पछिल्लो समय, हामीले मोटामोटी रूपमा अगुवा र कामदारहरूका पहिलो र दोस्रो जिम्मेवारीहरूबारे सङ्गति गर्‍यौँ, अनि यी दुई जिम्मेवारीसँग सम्बन्धित झुटा अगुवाहरूका निश्‍चित प्रकटीकरणहरू चिरफार गर्‍यौँ। तिनीहरूका प्रमुख प्रकटीकरणहरू परमेश्‍वरका वचनहरूलाई सतही र बाहिरी रूपमा बुझ्नु र सत्यता बुझ्न नसक्नु हुन्। फलस्वरूप, तिनीहरू अरूलाई परमेश्‍वरका वचन बुझ्न र उहाँका अभिप्राय बोध गर्न डोर्‍याउन सक्दैनन् भन्ने स्पष्टै छ। मानिसहरूलाई कठिनाइहरू आइपर्दा, झूटा अगुवाहरू आफ्ना अनुभवात्मक ज्ञान प्रयोग गरेर ती मानिसहरूसित पछ्याउने मार्ग होस् भनेर उनीहरूलाई सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न डोर्‍याउन सक्दैनन्, न त तिनीहरू उनीहरूलाई विभिन्न कठिनाइहरूबीच आत्मचिन्तन गर्न र आफूलाई चिन्न, र सँगसँगै यी कठिनाइहरू समाधान गर्न लगाउन नै सक्छन्। त्यसैले आज हामी पहिले जीवन प्रवेशका कठिनाइहरू केके हुन्, र मानिसहरूलाई दैनिक जीवनमा प्रायः आइपर्ने जीवन प्रवेशसित सम्बन्धित विभिन्न प्रकारका कस्ता सामान्य कठिनाइहरू हुन्छन् भन्नेबारे सङ्गति गरौँ। यी कुराहरूको विशिष्ट सारांश निकालौँ। के यसबारे सङ्गति गरिनुपर्छ? (पर्छ।) तिमीहरू अब जीवन प्रवेशसँग सम्बन्धित यी विषयहरूमा केही हदसम्म चासो राख्छौ, होइन त? मैले सुरुमा तिमीहरूसँग अन्तरक्रिया र कुराकानी गर्दा, जे भनिएको भए नि, तिमीहरू भावशून्य र बोधो, सुस्त, र प्रतिक्रिया दिन ढिला थियौ। तिमीहरूले कुनै पनि कुरा नबुझेजस्तो, र तिमीहरूमा कुनै कद नभएजस्तो देखिन्थ्यो, झन् जीवन प्रवेश हुनु त परै जाओस्। अहिले, हामीले व्यक्तिको जीवन स्वभाव परिवर्तन गर्नेसम्बन्धी मामिलाहरूबारे कुरा गर्दा, तिमीहरूमध्ये धेरैजसोले तुलनात्मक रूपमा यो विषयमा अलि चासो राख्छौ, र यसप्रति केही प्रतिक्रिया जनाउँछौ। यो सकारात्मक घटना हो। यदि तिमीहरूले आफ्नो कर्तव्य निर्वाह नगरिरहेका भए, के यी कुराहरू प्राप्त गर्न सक्थ्यौ? (अहँ, हामीले प्राप्त गर्न सक्थेनौँ।) यो परमेश्‍वरको अनुग्रह हो; यो सब उहाँको कृपाले गर्दा हो।

विषयवस्तु दुई: हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुने र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने विविध कठिनाइहरू समाधान गर्ने (भाग दुई)

जीवन प्रवेशसम्बन्धी आठ प्रकारका कठिनाइहरू

अ. आफ्नो कर्तव्य निर्वाहसित सम्बन्धित कठिनाइहरू

जीवन प्रवेशका कठिनाइहरूका सम्बन्धमा, पहिले आफ्नो कर्तव्य निर्वाहसित सम्बन्धित कठिनाइहरूलाई अझ व्यापक रूपमा हेरौँ। तैँले सत्यताको अभ्यास संलग्‍न हुने आफ्नो कर्तव्य निर्वाहमा समस्याहरू सामना गर्दा, र सिद्धान्तअनुसार कामकुरा सम्हाल्न नसक्दा, के यो जीवन प्रवेशमा हुने कठिनाइ होइन र? (हो।) स्पष्ट शब्दमा भन्नुपर्दा, यी त आफ्नो कर्तव्य निर्वाह गर्दा उत्पन्न हुने विभिन्न स्थिति, विचार, दृष्टिकोण, र सोचाइका निश्‍चित बेठीक तरिकाहरू हुन्। त्यसोभए, यस हिसाबमा केकस्ता विशिष्ट कठिनाइहरू हुन्छन्? उदाहरणका लागि, आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारूवा, धूर्त र सुस्त हुने—के यो कर्तव्य निर्वाहको क्रममा सामान्यतया देखिने र प्रकट हुने स्थिति होइन र? त्यसैगरी, आफ्नो उचित काममा ध्यान पनि नदिने र आफ्नो कर्तव्य निर्वाह गर्दा आफूलाई अरूसँग निरन्तर तुलना गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने स्थानलाई खेलमैदान वा युद्धभूमि ठान्ने, अनि कसैले कर्तव्य निर्वाह गरेपिच्छे “मानक” खोज्नेबारे सोच्ने, र मनमनै यसो भन्ने कुरा पनि छ: “मभन्दा राम्रो को छ र कसले मेरो लड्ने भावना उद्वेलित गर्न सक्छ भनी हेर्नेछु, त्यसपछि आफ्नो कर्तव्य निर्वाहमा कसले राम्रो नतिजा र उच्च दक्षता हासिल गर्छ, र मानिसहरूको हृदय जित्नमा को राम्रो छ भनेर हेर्न, म ऊसँग प्रतिस्पर्धा गर्नेछु, होड गर्नेछु र आफूलाई ऊसँग दाँज्नेछु।” अनि त्यसपछि, आफ्नो कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझ्ने तर ती पालन गर्न, वा परमेश्‍वरका वचनको सत्यता वा परमेश्‍वरको घरका मागअनुसार कार्य गर्न नचाहने, र सधैँ यसो भन्दै आफ्नो कर्तव्य निर्वाहलाई व्यक्तिगत प्राथमिकताहरूले दूषित पार्न चाहने कुरा पनि छ, “मलाई यो यसरी गर्न मन पर्छ, मलाई यो त्यसरी गर्न मन पर्छ; म यो यसरी गर्न चाहन्छु, म यो त्यसरी गर्न चाहन्छु।” यो जिद्दी मनमौजीपन हो, यो सधैँ आफ्नै इच्छा पछ्याउन चाहनु, र आफ्नै प्राथमिकताअनुसार जसरी मन लाग्छ त्यसरी नै कार्य गर्न चाहनु, परमेश्‍वरको घरका सबै मागलाई बेवास्ता गर्नु, र सही मार्गबाट तर्किन चाहनु हो। के यी कुरा धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य निर्वाहमा देखाउने वास्तविक प्रकटीकरण होइनन् र? स्पष्ट रूपमै यी सबै समस्याहरूमा आफ्नो कर्तव्य निर्वाहमा आउने कठिनाइहरू समावेश छन्। कृपया यिनमा अरू कुरा थप त। (अफ्नो कर्तव्य निर्वाह गर्दा अरूसँग मिलेर सहकार्य गर्न नसक्नु, र सधैँ आफ्नै नियमकानुनअनुसार चल्नु।) यो पनि कठिनाइ नै हो। अफ्नो कर्तव्य निर्वाह गर्दा अरूसँग मिलेर सहकार्य गर्न नसक्नु, र सधैँ आफ्नै नियमकानुनअनुसार चल्न र अन्तिम निर्णय आफै गर्न चाहनु; समस्याहरू आइपर्दा सुझाव खोज्न र अरूका राय सुन्न आफूलाई नम्र बनाउन चाहनु, तर यसलाई अभ्यास गर्न नसक्नु, र कसैले यो अभ्यास गर्ने कोसिस गर्दा असहज महसुस हुनु—यो एउटा समस्या हो। (कर्तव्य निर्वाह गर्दा आफ्नै हित जोगाउनु, स्वार्थी र नीच हुनु, अनि समस्या पैदा हुँदा त्यो कसरी समाधान गर्ने भनी वास्तवमै आफूलाई थाहा हुनु, तर त्यसको आफूसँग कुनै सम्बन्ध नभएको लाग्नु, त्यसमा केही गलत भएमा त्यसको जिम्मेवारी लिन डराउनु, र फलस्वरूप अघि बढ्ने आँट नगर्नु।) समस्या देख्दा त्यो समाधान नगर्नु, त्यसलाई आफूसँग असम्बन्धित ठान्नु, र त्यसलाई बेवास्ता गर्नु—यो पनि निष्ठाविना आफ्नो कर्तव्य निर्वाह गर्नु नै हो। तँ कुनै कामका लागि जिम्मेवार भए पनि वा नभए पनि, यदि तैँले कुनै समस्यालाई छर्लङ्गै देख्न र समाधान गर्न सक्छस् भने, त्यो जिम्मेवारी निर्वाह गर्नुपर्छ। त्यो तँमाथि आइपर्ने तेरो कर्तव्य र काम हो। यदि सुपरिवेक्षकले त्यो समाधान गर्न सक्छ भने, तैँले त्यसको चिन्ता गर्नु पर्दैन, तर यदि उसले समाधान गर्न सक्दैन भने, तैँले अघि बढेर त्यो समाधान गर्नुपर्छ। समस्याहरूलाई ती कसको जिम्मेवारीको दायराअन्तर्गत पर्छ भन्ने आधारमा विभाजन नगर्—यो परमेश्‍वरप्रति अबफादारी हो। अरू केही छ? (आफ्नो कर्तव्य निर्वाह गर्दा, काम गर्न आफ्नो बुद्धि र प्रतिभामा भर पर्नु, अनि सत्यता नखोज्नु।) यस्ता मानिसहरू धेरै हुन्छन्। तिनीहरू सधैँ आफूसँग बुद्धि र क्षमता छ भन्ने सोच्छन्, अनि तिनीहरू आफूलाई आइपर्ने हरकुराप्रति उदासीन हुन्छन्; तिनीहरू पटक्कै सत्यता खोज्दैनन्, र केवल आफ्नै इच्छाअनुसार कार्य गर्छन्, अनि परिणामस्वरूप, तिनीहरू कुनै पनि कर्तव्य उचित ढङ्गले निर्वाह गर्न सक्दैनन्। यी सब कुरा मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सामना गर्ने कठिनाइहरू हुन्।

आ. व्यक्तिले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छ भन्ने कुरासित सम्बन्धित समस्याहरू

व्यक्तिले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छ भन्ने कुरा पनि जीवन प्रवेशसित सम्बन्धित ठूलो समस्या हो। कति मानिसहरूलाई आफूले मुक्ति पाउने आशा छ भन्ने लागेमा तिनीहरू मूल्य चुकाउन इच्छुक हुन्छन्, तर आशा छैन भन्ने लागेमा नकारात्मक बन्छन्। यदि परमेश्‍वरको घरले तिनीहरूलाई बढुवा र संवर्धन गरेन भने, तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, अनि जिम्मेवारी नलिई केवल झारा टारेर आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरूले जे गरे पनि, सधैँ आफ्ना सम्भाव्यता र नियतिबारे ख्याल गर्छन्, र आफूलाई सोध्छन्, “के मैले वास्तवमै असल गन्तव्य पाउनेछु? के परमेश्‍वरका प्रतिज्ञाहरूमा मजस्तो व्यक्तिका सम्भाव्यता र गन्तव्य कस्तो हुनेछ भनेर बताइएको छ?” यदि तिनीहरूले सही जवाफ पाएनन् भने, तिनीहरूमा कुनै कामकुरा गर्ने उत्साह हुँदैन। यदि परमेश्‍वरको घरले तिनीहरूलाई बढुवा र संवर्धन गर्‍यो भने, तिनीहरूमा ऊर्जा भरिन्छ, र तिनीहरू आफूले गर्ने हरकुरामा एकदमै सक्रिय हुन्छन्। तथापि, यदि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी गर्न सकेनन् र तिनीहरू बरखास्त भए भने, तिनीहरू तुरुन्तै नकारात्मक बन्छन्, र आफ्नो कर्तव्य त्याग्छन्, सबै आशा मार्छन्। काटछाँटमा पर्दा, तिनीहरू सोच्छन्, “के परमेश्‍वरले मलाई मन पराउन छोड्नुभएको हो? यदि हो भने, उहाँले मलाई संसारलाई पछ्याउनबाट रोक्नुको सट्टा, त्यो कुरा पहिल्यै भन्नुपर्थ्यो!” यदि तिनीहरू बरखास्त भएमा, यस्तो सोच्छन्, “के तिनीहरूले मलाई तुच्छ ठानिरहेका छैनन् र? कसले मेरो रिपोर्ट गर्‍यो? के मलाई हटाइँदै छ? यदि त्यसो हो भने, तिनीहरूले पहिल्यै त्यसो भन्नुपर्थ्यो!” त्यति मात्र होइन, तिनीहरूको हृदय परमेश्‍वरसँगको लेनदेन, माग, र अनुचित अनुरोधहरूले भरिएको हुन्छ। मण्डलीले तिनीहरूलाई जे गर्ने बन्दोबस्त मिलाए पनि, त्यो काम गर्नका लागि पूर्वशर्तका रूपमा आफूले राम्रो सम्भाव्यता र असल गन्तव्य, साथै परमेश्‍वरका आशिष्‌रू पाउनुपर्ने ठान्छन्। कम्तीमा पनि राम्रो भाव र मनोवृत्तिले व्यवहार गरिनु, अनि अनुमोदित हुनु नै तिनीहरूले स्वीकार र समर्पण गर्नुका पूर्वशर्तहरू हुन्। के यी कुरा तिनीहरूले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने कुराका प्रकटीकरण होइनन् र? यिनमा अरू कुरा थप त। (आफ्नो कर्तव्य निर्वाह गर्दा विचलन वा समस्याहरू उत्पन्न भएमा र आफूलाई काटछाँट गरिएमा, तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन् र उहाँदेखि सावधान हुन्छन्; तिनीहरू आफूलाई प्रकाश गरिएला र हटाइएला भनेर डराउँछन्, अनि तिनीहरू सधैँ एउटा उम्कने बाटो तयार राख्छन्।) आफूलाई प्रकाश गरिएला र हटाइएला भनेर डराउनु, अनि सधैँ एउटा उम्कने बाटो तयार राख्नु—यी पनि तिनीहरू आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने कुराका प्रकटीकरण हुन्। (जब व्यक्तिले परमेश्‍वरको वचनको खुलासा र चरित्रचित्रण आफूमा लागू हुने देख्छ, वा जब ऊ काटछाँटमा पर्छ र लज्जित महसुस गर्छ, तब उसले आफू भ्रमित, दियाबलस र शैतान हुँ, अनि आफू सत्यता स्विकार्न सक्षम छैनँ भन्ने निष्कर्ष निकाल्छ। अनि आफूसँग मुक्ति पाउने आशा छैन भन्ने निर्धारित गर्दै ऊ नकारात्मक बन्छ।) आफ्नो सम्भाव्यता र नियतिको हकमा, मानिसहरू आफ्ना अभिप्राय र चाहनाहरू पूर्णतया त्याग्न सक्दैनन्। तिनलाई तिनीहरू सबैभन्दा महत्त्वपूर्ण कुराका रूपमा लिन्छन् र सोहीअनुरूप तिनलाई पछ्याउँछन्, र तिनलाई आफूले पछ्याउने हरकुराका लागि प्रेरक शक्ति र पूर्वशर्त मान्छन्। तिनीहरूले न्याय, सजाय, परीक्षा, र शोधनको सामना गर्दा, वा तिनीहरूलाई प्रकाश गरिँदा, वा तिनीहरूलाई खतरनाक परिस्थितिहरू आइपर्दा, तिनीहरू तुरुन्तै सोच्छन्, “के परमेश्‍वर अब मलाई चाहनुहुन्न? के उहाँ मलाई तिरस्कार गर्दै हुनुहुन्छ? उहाँ मसँग एकदमै गम्भीर लबजमा बोल्नुहुन्छ; के उहाँ मलाई मुक्ति दिन चाहनुहुन्न? के उहाँ मलाई हटाउन चाहनुहुन्छ? यदि उहाँ मलाई हटाउन चाहनुहुन्छ भने, मलाई संसारको पछि लाग्नबाट नरोक्नका लागि उहाँले त्यो सक्दो चाँडो, म जवान छँदै बताउनुपर्छ।” यसले तिनीहरूमा नकारात्मकता, प्रतिरोध, विरोध र सुस्तता उत्पन्न गराउँछ। यी कुरा मानिसहरूले आफ्ना सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्नेसम्बन्धी केही स्थिति र प्रकटीकरण हुन्। यो जीवन प्रवेशसित सम्बन्धित ठूलो कठिनाइ हो।

इ. पारस्परिक सम्बन्धहरूसित सम्बन्धित कठिनाइहरू

अब अर्को पक्ष हेरौँ—पारस्परिक सम्बन्धहरू। यो पनि जीवन प्रवेशसित सम्बन्धित ठूलो कठिनाइ हो। तँ आफूलाई मननपर्ने, तेरो भन्दा फरक राय राख्ने, तँसित परिचित र तँसँग पारिवारिक सम्बन्ध भएका वा तँलाई मद्दत गरेका, अनि तँलाई सधैँ तुरुन्तै चेतावनी दिने, र तँसँग साँचो बोल्ने, र तँलाई मद्दत गर्ने मानिसहरूलाई कस्तो व्यवहार गर्छस्, अनि तँ प्रत्येक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्न सक्छस् कि सक्दैनस्, साथै तँ अरू मानिसहरूसँग विवाद खडा हुँदा, र तिमीहरूमाझ ईर्ष्या र द्वन्द्व उत्पन्न हुँदा, र तैँले सौहार्दपूर्ण अन्तरक्रिया गर्न नसक्दा, वा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा मिलेर सहकार्य गर्नसमेत नसक्दा केकसरी अभ्यास गर्छस्—यी कुरा पारस्परिक सम्बन्धहरूसित सम्बन्धित केही स्थिति र प्रकटीकरण हुन्। अरू कुनै कुरा छन्? (मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनु र अर्को व्यक्तिका समस्या पत्ता लाग्दा ऊ चिढिने डरले बताउने आँट नगर्नु।) यो अरूलाई चिढ्याइएला कि भनेर डराउँदा उत्पन्न हुने स्थिति हो। (साथै, कुनै व्यक्तिले अगुवा र कामदारहरूलाई, अनि शक्ति र हैसियत भएकाहरूलाई कसरी व्यवहार गर्छ भन्‍ने कुरा पनि हो।) तँ अगुवा र कामदारहरू, वा शक्ति र हैसियत भएका मानिसहरूलाई कसरी व्यवहार गर्छस्—चिप्लो घसेर वा चापलुसी गरेर कि तिनीहरूलाई सही तरिकाले व्यवहार गरेर—यो तैँले शक्ति र प्रभाव भएकाहरूलाई कसरी व्यवहार गर्छस् भन्ने कुराको विशेष प्रकटीकरण हो। मोटामोटी रूपमा यी कुराहरू नै पारस्परिक सम्बन्धहरूका कठिनाइहरू हुन्।

ई. मानव भावनाहरूसित सम्बन्धित समस्याहरू

मानव भावनाहरूबारे अलिकति कुरा गरौँ। कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्‍ने हो। यहाँ “तिनीहरूले गर्ने कामकुरा” मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूको आलोचना गर्ने, तिनीहरू अविश्‍वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वतः समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्‍ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ आफूसँग मिल्ने वा आफूलाई पहिला मदत गरेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुर्‍याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्? साथै, के तैँले तुलनात्मक रूपमा आफूनिकटका, वा तेरोजस्तै रुचिहरू बोकेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू राख्छस्? के तँसँग तिनीहरूका क्रियाकलाप र व्यवहारलाई निष्पक्ष र वस्तुगत मूल्याङ्कन, परिभाषा, अनि व्यवहार गर्ने तरिका छ? मानौँ, तँसित भावनात्मक सम्बन्ध भएका यी मानिसहरूलाई मण्डलीले सिद्धान्तहरूअनुसार तह लगायो, र यसको परिणाम तेरा आफ्ना धारणाहरूअनुरूप भएनन् भने—तैँले यसलाई कसरी लिनेथिइस्? के तैँले पालन गर्न सक्नेथिइस्? के तँ सुटुक्क तिनीहरूसित अल्झिरहनेथिइस्, अनि के तँ तिनीहरूको बहकाउ र उक्साहटमा समेत परेर तिनीहरूका लागि बहानाहरू बनाउने, तिनीहरूलाई जायज ठहराउने र तिनीहरूको प्रतिरक्षा गर्नेथिइस्? के तँ सत्यता सिद्धान्तहरूलाई उपेक्षा गर्दै र परमेश्‍वरको घरका हितहरूलाई बेवास्ता गर्दै आफूलाई मदत गरेकाहरूलाई सहायता गर्ने र तिनीहरूका लागि गोली थाप्नेथिइस्? के यी विभिन्‍न समस्याहरू भावनासँग सम्बन्धित होइनन् र? कतिपय मानिसहरू भन्छन्, “के भावनाहरू नातागोता र परिवारका सदस्यहरूसँग मात्र सम्बन्धित हुँदैनन् र? के भावनाको दायरामा आफ्ना आमा-बुबा, दाजुभाइ-दिदीबहिनी, र परिवारका अन्य सदस्यहरू मात्र पर्दैनन् र?” होइन, भावनाले मानिसहरूको ठूलो दायरालाई समेट्छ। आफ्नै परिवारका सदस्यहरूलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्ने कुरा बिर्सिदे—कतिपय मानिसहरूले त आफ्ना असल साथी र मित्रहरूलाई समेत निष्पक्ष रूपमा मूल्याङ्कन गर्न सक्दैनन्, र यी मानिसहरूबारे बोल्दा तिनीहरूले तथ्यहरू बङ्ग्याउँछन्। उदाहरणका लागि, यदि तिनीहरूको मित्रले आफ्नो उचित काममा दिँदैन र आफ्नो कर्तव्यमा सधैँ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न रहन्छ भने, तिनीहरूले उसलाई अलिक चुलबुले भनेर व्याख्या गर्नेछन्, र उसको मानवता अपरिपक्व र अझै स्थिर भइनसकेको भनेर भन्‍नेछन्। के यी शब्दहरूभित्र भावनाहरू छैनन् र? यो भावनाहरूले ओतप्रोत भएका शब्दहरू बोल्नु हो। यदि आफूसँग कुनै सम्बन्ध नभएको व्यक्तिले आफ्नो उचित काममा ध्यान दिएन र ऊ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न भयो भने, तिनीहरूले उसका बारेमा निकै कठोर कुराहरू भन्‍नेछन्, र उसलाई निन्दा समेत गर्न सक्छन्। के यो भावनाहरूका आधारमा बोल्नु र कार्य गर्नुको प्रकटीकरण होइन र? के आफ्ना भावनाहरूअनुसार जिउने मानिसहरू निष्पक्ष हुन्छन्? के तिनीहरू इमानदार हुन्छन्? (हुँदैनन्।) आफ्ना भावनाहरूअनुसार बोल्ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले अरूलाई किन निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्? तिनीहरू किन सत्यता सिद्धान्तहरूमा आधारित भएर बोल्न सक्दैनन्? दुईजिब्रे र आफ्ना शब्दहरूलाई कहिल्यै पनि तथ्यमा आधारित नगर्ने मानिसहरू दुष्ट हुन्छन्। बोल्दा निष्पक्ष नहुनु, सत्यता सिद्धान्तहरूअनुसार नभई सधैँ आफ्ना भावनाहरूअनुसार अनि आफ्नै निम्ति बोल्नु, परमेश्‍वरको घरको कामबारे नसोच्नु, अनि आफ्ना व्यक्तिगत भावना, ख्याति, लाभ, र हैसियतको मात्र रक्षा गर्नु—यो ख्रीष्टविरोधीहरूको चरित्र हो। ख्रीष्टविरोधीहरू यसरी नै बोल्छन्; तिनीहरूले भन्‍ने सबथोक दुष्ट, अनि बाधा र अवरोध ल्याउने खालको हुन्छ। देहका प्राथमिकता र रुचिहरूमाझ जिउने मानिसहरू आफ्ना भावनाहरूमाझ जिउँछन्। आफ्ना भावनाहरूअनुसार जिउने मानिसहरू सत्यतालाई पटक्कै नस्विकार्ने र अभ्यास नगर्ने मानिसहरू हुन्। आफ्ना भावनाहरूका आधारमा बोल्ने र कार्य गर्ने मानिसहरूमा सत्यता वास्तविकता पटक्कै हुँदैन। यदि यस्ता मानिसहरू अगुवा बनेमा, तिनीहरू निस्सन्देह नै झूटा अगुवा वा ख्रीष्टविरोधीहरू हुनेछन्। तिनीहरू वास्तविक काम गर्न असक्षम हुने मात्र होइन, विभिन्‍न दुष्ट कार्यहरूमा पनि संलग्न हुन सक्छन्। तिनीहरू पक्कै पनि हटाइनेछन् र दण्डित हुनेछन्।

उ. देहसुखको लालसा गर्नुसित सम्बन्धित समस्याहरू

देहसुखको लालसा गर्नु पनि गम्भीर समस्या हो। तिमीहरूका विचारमा देहसुखको लालसा गर्नुका केही प्रकटीकरणहरू केके हुन्? तिमीहरूले आफ्नै अनुभवहरूमा देखेका के-कस्ता उदाहरणहरू दिन सक्छौ? के हैसियतका लाभहरूको आनन्द उठाउनु त्यसमा पर्छ? (पर्छ।) अरू केही छ? (आफ्नो कर्तव्य निर्वाह गर्दा कठिन कामभन्दा सजिलो काम रोज्नु, र सधैँ हल्का काम चुन्न चाहनु।) कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्‍नु र गाह्रो कामदेखि भाग्‍नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम सम्हाल्न नसक्ने भन्दै बहाना बनाउँछन्—जबकि वास्वतमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। तिनीहरूले जे काम गरे पनि वा जे-जस्तो कर्तव्य निर्वाह गरे पनि कष्ट भोग्न चाहँदैनन्। यदि तिनीहरूलाई काम सिध्याएपछि बङ्गुरको मासु खान दिइनेछ भनेर भनियो भने, तिनीहरूले त्यो काम एकदमै चाँडो र दक्ष रूपमा गर्छन्, अनि तैँले तिनीहरूलाई हतार गर्न लगाउनु, दबाब दिनु, वा निगरानी गर्नु जरुरी हुँदैन; तर तिनीहरूका लागि बङ्गुरको मासु छैन भने र तिनीहरूले आफ्नो कर्तव्यमा अतिरिक्त समयसम्म गर्नुपर्‍यो भने, तिनीहरू आलटाल गर्छन्, र त्यसलाई पछि सार्न हरप्रकारका कारण खोज्छन् र बहाना बनाउँछन, र केहीबेर त्यसो गरेपछि यसो भन्छन्, “मलाई त चक्कर लाग्यो, मेरो खुट्टा निदायो, म लखतरान भएँ! मेरो पूरै जीउ दुखिरहेको छ, के म एकछिन आराम गरूँ?” यहाँ समस्या के हो? तिनीहरू देहसुखको लालसा गर्छन्। त्यसैगरी, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ कठिनाइहरूबारे गुनासो गर्ने, उनीहरू कुनै प्रयास लगाउन नचाहने, अलिकति फुर्सतको समय पाउनासाथ आराम गर्ने, गफ चुट्ने, वा आराम र मनोरञ्‍जनात्मक क्रियाकलापमा भाग लिने कुरा पनि छ। अनि कामको बोझ बढेर तिनीहरूको जीवनको तालमेल र दिनचर्या बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा झाराटारुवा बन्छन्। यो देहसुखको लालसा गर्नु हो, होइन र? उदाहरणका लागि, कतिपय महिला आफ्नो जीउडाल सुडौलो बनाइराख्न व्यायाम गर्छन् र आफ्नो सुन्दरताका लागि हरदिन निश्‍चित समयमा सुत्छन्। तथापि, कामले व्यस्त भएर यी तालिकामा व्यवधान हुनेबित्तिकै, तिनीहरू बेखुस हुन्छन्, र भन्छन्, “यो राम्रो होइन; यो जागिरले गर्दा त सब कुरामा साह्रै ढिलाइ हुँदै छ। म यसलाई मेरा व्यक्तिगत मामिलामा असर पार्न दिन सक्दिनँ। म आफूलाई हतार गराउन खोज्ने कसैलाई ध्यान दिनेछैनँ; म आफ्नै तालमा चल्नेछु। योगा गर्ने समयमा योगा गर्नेछु। सन्दरताका लागि सुत्ने समयमा सुत्नेछु। म यी कुराहरू पहिलेजस्तै गरिरहनेछु। म तिमीहरू सबैजस्तो मूर्ख र मेहनती छैनँ। केही वर्षपछि तिमीहरू सबै साधारण देखिने बुढी आइमाई हुनेछौ, तिमीहरूको शरीर बिग्रनेछ, र तिमीहरू सुडौला रहनेछनौ। तिमीहरूलाई कसैले पनि हेर्न चाहनेछैन, र तिमीहरूसँग जीवनमा कुनै पनि आत्मविश्‍वास हुनेछैन।” तिनीहरू आफ्नो देहसुख पाउनका खातिर, आफ्नो सुन्दरताका खातिर, आफूलाई अरूले मन पराऊन् भन्‍नका खातिर, र अझ आत्मविश्‍वाससाथ जिउनका खातिर, कर्तव्य निर्वाहमा आफू जति नै व्यस्त भए पनि आफ्ना देहसुख र रुचिहरू त्याग्न मान्दैनन्। यो देखसुखमा लिप्त हुनु हो। कतिपयले भन्छन्, “परमेश्‍वर चिन्तित हुनुहुन्छ, र हामी उहाँका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ।” तर यी महिलाहरू भन्छन्, “मैले त परमेश्‍वर चिन्तित हुनुहुन्छ भन्ने देखेकी छैनँ; म चिन्तित भइनँ भने म ठिकै हुनेछु। यदि म परमेश्‍वरका अभिप्रायलाई ख्याल गरेँ भने, मेरा अभिप्रायलाई चाहिँ कसले ख्याल गर्नेछ?” के यस्ता महिलाहरूमा कुनै मानवता हुन्छ? के तिनीहरू दियाबलस होइनन् र? कति मानिसहरू यस्ता पनि हुन्छन, जसको काम जति नै व्यस्त र दबाबपूर्ण भए पनि, त्यसबाट आफ्नो पहिरन शैली र लुगामा असर पर्न दिँदैनन्। तिनीहरू हरदिन घण्टौँ लगाएर मेकअप गर्छन्, र जुत्तासित मिल्दो कुन लुगा लगाउने, अनि ब्यूटी ट्रीटमन्ट र मसाज कहिले गर्ने भन्ने कुराहरू आफ्नो ठेगानाजत्तिकै स्पष्टसित सम्झन्छन्, र यी कुराहरूबारे कत्ति पनि अन्योलग्रस्त हुँदैनन्। तथापि, तिनीहरूले कति सत्यता बुझ्छन्, अझै पनि कुन सत्यताहरू बुझ्दैनन् वा कुन सत्यतामा अझै पनि प्रवेश गरेका छैनन्, तिनीहरू अझै पनि के-कस्ता कुराहरू क=झाराटारूवा तरिकाले र बफादारीविना सम्हालन्छन्, तिनीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेका छन्, र जीवन प्रवेश संलग्‍ने हुने सत्यतासित सम्बन्धित यस्ता अन्य समस्याहरूका सन्दर्भमा, तिनीहरूलाई कुनै पनि कुरा फिटिक्कै थाहा हुँदैन। तीबारे सोध्दा, तिनीहरू पूरै अनजान हुन्छन्। तर देहसुखसित सम्बन्धित विषयका सन्दर्भमा—खानपान र मनोरञ्जनका बारेमा चाहिँ—तिनीहरू फतरफतर बोलेको बोलेकै गर्न सक्छन्, र तिनीहरूलाई रोक्नसमेत असम्भव हुन्छ। मण्डलीको काम वा तिनीहरूको कर्तव्यमा जति व्यस्तता भए नि, तिनीहरूको जीवनको दैनिकी र सामान्य अवस्थामा कहिल्यै बाधा हुँदैन। तिनीहरू दैहिक जीवनका सानातिना कुरामा समेत कहिल्यै लापरवाही गर्दैनन् र अत्यन्तै कट्टर र गम्‍भीर हुँदै ती कुरालाई पूर्ण रूपमा नियन्त्रणमा राख्छन्। तर परमेश्‍वरको घरको काम सम्हाल्दा, मामला जति ठूलो भए पनि र यो कुरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीको सुरक्षासँग सम्‍बन्धित नै भए पनि, तिनीहरूले त्यसमा लापरवाही गर्छन्। तिनीहरू परमेश्‍वरको आज्ञासँग सम्‍बन्धित कुराहरू वा आफूले गर्ने कर्तव्यलाई वास्ता गर्दैनन्। तिनीहरू कुनै जिम्‍मेवारी लिँदैनन्। यो देहसुखमा लिप्त हुनु हो, होइन र? के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्‍नेबारे बोल्‍नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा समस्यै समस्या हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्नो कर्तव्य निर्वाह योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ। जहाँसम्‍म देहसुखको लालसा गर्ने कुरा छ, हामी यसलाई यहीँ छोड्नेछौँ।

ऊ. आफूलाई चिन्नुसित सम्बन्धित कठिनाइहरू

आफूलाई चिन्नु जीवन प्रवेशको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। तर धेरैजसो मानिसहरूका लागि आफूलाई चिन्नु सबैभन्दा ठूलो कठिनाइ बन्छ, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् वा त्यसलाई पछ्याउँदैनन्। तसर्थ, सत्यतालाई प्रेम नगर्नेहरूले आफूलाई साँचो रूपमा चिन्न सक्दै सक्दैनन् भन्ने कुरा निश्‍चित छ। आत्म-ज्ञानका पक्षहरू के-के हुन्? पहिलो त आफ्ना बोली र क्रियाकलापहरूमा के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट हुन्छन् भनी थाहा पाउनु हो। कहिलेकाहीँ, अहङ्कार प्रकट हुन्छ, अरू बेला छलीपन प्रकट हुन्छ, वा सायद दुष्टता, हठीपन, वा विश्‍वासघात, आदि प्रकट हुन्छन्। त्यसबाहेक, जब कसैलाई केही आइपर्छ, तब उसले आफूसँग सत्यताअनुरूप नभएका कुनै अभिप्राय वा मनसायहरू छन् कि भनी हेर्न आफैलाई जाँच्नुपर्छ। उसले आफ्नो बोली वा क्रियाकलापमा परमेश्‍वरको प्रतिरोध गर्ने वा उहाँविरुद्ध विद्रोह गर्ने कुनै चिज छ कि भनेर पनि जाँच्नुपर्छ। खास गरी, उसले आफूमा बोझको बोध छ कि छैन र आफ्नो कर्तव्यको कुरा आउँदा ऊ बफादार छ कि छैन, उसले आफूलाई निष्कपट रूपमा परमेश्‍वरप्रति समर्पित गरिरहेको छ कि छैन, र ऊ कारोबारी वा झाराटारुवा बनिरहेको छ कि छैन भनेर जाँच्नुपर्छ। आत्म-ज्ञानको अर्थ आफूमा परमेश्वरबारे धारणा र कल्पनाहरू, अनर्गल मागहरू, वा गलतफहमी र गुनासाहरू छन् कि छैनन्, र आफूमा समर्पित हुने मन छ कि छैन भनेर थाहा पाउनु पनि हो। यसको अर्थ परमेश्‍वरले योजनाबद्ध गर्नुहुने परिस्थिति, मानिस, घटना, र कामकुराहरूसँग व्यवहार गर्दा आफूले सत्यता खोज्न, परमेश्‍वरबाट आएको भनी स्विकार्न र परमेश्‍वरप्रति समर्पणताको हृदय राख्न सक्छु कि सक्दिनँ भनेर थाहा पाउनु हो। यसको अर्थ आफूमा विवेक र समझ छ कि छैन र आफू सत्यताप्रेमी हो कि होइन भनी थाहा पाउनु हो। यसको अर्थ कामकुराहरू आइपर्दा, आफू त्यसप्रति समर्पित हुन्छु कि बहस गर्ने कोसिस गर्छु, र यी मामलाहरूसँग व्यवहार गर्दा आफू धारणा र कल्पनाहरूमा भर पर्छु कि सत्यताको खोजीमा भर पर्छु भनी थाहा पाउनु हो। यो सबै आत्मज्ञानको दायरा हो। व्यक्तिले विभिन्‍न परिस्थिति अनि मानिस, घटना, र कामकुराहरूप्रतिको आफ्नो मनोवृत्तिलाई ध्यानमा राखेर आफूले सत्यतालाई प्रेम गर्छु कि गर्दिनँ र परमेश्‍वरमाथि साँचो आस्था राख्छु कि राख्दिनँ भनी चिन्तन गर्नुपर्छ। यदि कसैले आफ्नो भ्रष्ट स्वभावलाई चिन्न र परमेश्‍वरविरुद्ध आफ्नो विद्रोह कति ठूलो छ भनी देख्न सक्छ भने, उसको वृद्धि भएको हुनेछ। यसका साथै, परमेश्‍वरसँगको व्यवहार संलग्न भएका मामलाहरूमा, व्यक्तिले परमेश्‍वरको नाम र देहधारणलाई आफूले गर्ने व्यवहारमा धारणाहरू, डर, वा समर्पणता छ कि छैन, र विशेषगरी सत्यताप्रति आफ्नो मनोवृत्ति कस्तो छ भनेर चिन्तन गर्नुपर्छ। व्यक्तिले आफ्ना कमीकमजोरीहरू, आफ्नो कद, र आफूमा सत्यता वास्तविकता छ कि छैन, साथै आफ्नो पछ्याइ र आफूले हिँड्ने मार्ग सही र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छ कि छैन भन्‍ने कुरा पनि थाहा पाउनुपर्छ। यी सबै मानिसहरूले थाहा पाउनुपर्ने कुराहरू हुन्। सारांशमा, आत्म-ज्ञानका विभिन्‍न पक्षहरूमा सारभूत रूपले निम्न कुराहरू पर्छन्: आफ्नो क्षमता उच्च छ कि न्यून भन्‍ने कुराको ज्ञान, आफ्नो चरित्रको ज्ञान, आफ्ना क्रियाकलापहरूका आशय र मनसायहरूको ज्ञान, आफूले प्रकाश गर्ने भ्रष्ट स्वभाव र प्रकृति सारको ज्ञान, आफ्ना प्राथमिकताहरू र पछ्याइको ज्ञान, आफूले हिँड्ने मार्गको ज्ञान, कामकुराहरूबारे आफ्ना विचारहरूको ज्ञान, जीवन र मूल्य-मान्यताहरूबारे आफ्नो दृष्टिकोणको ज्ञान, साथै परमेश्‍वर र सत्यताप्रति आफ्नो मनोवृत्तिको ज्ञान। आत्म-ज्ञानमा मुख्यतया यिनै पक्षहरू पर्छन्।

ए. परमेश्‍वरप्रति मानिसहरूको व्यवहारमा हुने विभिन्न प्रकटीकरणहरू

जीवन प्रवेशसम्बन्धी अर्को विषयवस्तु मानिसहरूले परमेश्‍वरप्रति मानिसहरूको व्यवहारम हुने विभिन्न प्रकटीकरणहरूसँग सम्बन्धित छ। उदाहरणका लागि, तिनीहरू परमेश्‍वरबारे धारणा राख्छन्, उहाँबारे गलतफहमी विकास गर्छन् र उहाँप्रति सावधान बन्छन्, उहाँसँग अनुचित मागहरू गर्छन्, सधैँ उहाँदेखि पर बस्न चाहन्छन्, उहाँले बोल्ने वचनहरू मन पराउँदैनन्, र उहाँलाई निन्तर छानबिन गर्न खोज्छन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता छर्लङ्गै देख्न वा चिन्न पनि नसक्ने, र साथै सधैँ परमेश्‍वरको सार्वभौमिकता, बन्दोबस्त, र अख्तियारप्रति शङ्कालु मनोवृत्ति राख्ने, र तिनीहरूमा यी कुराको ज्ञान फिटिक्कै नहुने कुरा पनि छ। त्यसबाहेक, तिनीहरूले गैरविश्‍वासीहरू र संसारले परमेश्‍वरविरुद्ध गर्ने निन्दा र भर्त्सनाबाट टाढा बस्‍न र त्यसलाई इन्कार्न नसक्ने मात्र होइन, बरु उल्टै त्यो साँचो वा वास्तविक त होइन भनेर सोध्नसमेत चाहने कुरा पनि छ। के यो परमेश्‍वरमाथि शङ्का गर्नु होइन र? यी प्रकटीकरणबाहेक अरू के छन्? (परमेश्‍वरबारे शङ्कालु हुनु र उहाँलाई जाँच्नु।) (आफूलाई परमेश्‍वरको कृपापात्र बनाउने कोसिस गर्नु।) (परमेश्‍वरको छानबिन स्विकार्न नचाहनु।) तिनीहरू परमेश्‍वरको छानबीन स्विकार्न चाहँदैनन्, साथै परमेश्‍वरले मानिसहरूको भित्री हृदयको छानबिन गर्न सक्नुहुन्छ भन्ने कुरामा शङ्का गर्छन्। (तिनीहरूके परमेश्‍वरको विरोध गर्ने कुरा पनि छ।) यो पनि एउटा प्रकटीकरण हो—परमेश्‍वरको विरोध गर्नु र उहाँविरुद्ध कोलाहल मच्चाउनु। परमेश्‍वरसँग व्यवहार गर्न, उहाँसँग कुराकानी गर्न र सङ्गत गर्न तिरस्कारपूर्ण र अनादरपूर्ण मनोवृत्ति प्रयोग गर्ने कुरा पनि छ। अरू केही? (परमेश्‍वरसँग झाराटारूवा व्यवहार गर्नु र उहाँलाई छल्‍नु।) (परमेश्‍वरबारे गुनासो गर्नु।) मामिलाहरू सामना गर्दा कहिल्यै समर्पित नहुने वा सत्यता नखोज्‍ने, अनि सधैँ आफ्नै पक्षबाट तर्क र गुनासो गर्ने कुरा छ। (परमेश्‍वरको आलोचना र निन्दा गर्ने कुरा पनि छ।) (हैसियतका लागि परमेश्‍वरसँग होड गर्नु।) (परमेश्‍वरसँग मोलतोल गर्नु र उहाँबाट फाइदा उठाउनु।) (परमेश्‍वरलाई इन्कार्नु, अस्वीकार गर्नु, र विश्‍वासघात गर्नु।) यी सबै महत्त्वपूर्ण समस्या हुन्; यी कुराहरू परमेश्‍वरप्रतिको मानिसहरूको व्यवहारमा हुने विभिन्न स्थिति र भ्रष्ट स्वभावहरू हुन्। यी कुराहरू मूलतः मानिसहरूले परमेश्‍वरलाई कसरी व्यवहार गर्छन् भन्ने कुराका विभिन्न प्रकटीकरण हुन्।

ऐ. सत्यताप्रति मानिसहरूको व्यवहारमा हुने मनोवृत्ति र विभिन्‍न प्रकटीकरणहरू

जीवन प्रवेशसम्बन्धी विषयवस्तुको अर्को पक्ष मानिसहरूले सत्यतालाई कसरी लिन्छन् भन्‍ने हो। यो पक्षमा केकस्ता प्रकटीकरणहरू छन्? एउटा हो, सत्यतालाई सिद्धान्त वा नारा, वा प्रावधान, वा मण्डलीबाट आफ्नो गुजारा चलाउने र हैसियतका लाभको आनन्द उठाउने पूँजीका रूपमा लिनु। यसमा अरू कुरा थप त। (सत्यतालाई आत्मिक भरणपोषणका रूपमा लिनु।) आफ्ना आत्मिक आवश्यकताहरू पूरा गर्नका लागि सत्यतालाई आत्मिक भरणपोषणका रूपमा लिने कुरा छ। (सत्यता नस्विकार्नु र त्यसप्रति वितृष्णा राख्नु।) यो सत्यताप्रतिको एउटा मनोवृत्ति हो। (परमेश्‍वरका वचन अरूलाई खुलासा गर्नका लागि हुन्, ती आफूसँग सम्बन्धित छैनन् भनेर सोच्नु, अनि आफूलाई सत्यताको मालिक ठान्‍नु।) तैँले यो प्रकटीकरणलाई एकदमै उपयुक्त रूपमा व्याख्या गरेको छस्। यस्तो प्रकटीकरण भएका मानिसहरू आफूले परमेश्‍वरद्वारा व्यक्त सबै सत्यता बुझेको छु, र उहाँले खुलासा गर्ने मानिसका भ्रष्ट स्वभाव र सारले उनीहरूलाई नभई अरूलाई नै जनाउँछन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफूलाई सत्यताको मालिक ठान्छन्, र प्रायः परमेश्‍वरका वचनहरू प्रयोग गरेर अरूलाई भाषण दिन्छन्, मानौँ तिनीहरू आफैमाचाहिँ भ्रष्ट स्वभावहरू नै छैनन्, र मानौँ तिनीहरू सत्यताको मूर्तरूप वा प्रवक्ता नै भइसकेका छन्। तिनीहरू कस्ता रद्दीहरू हुन्? तिनीहरू सत्यताको मूर्तरूप हुन चाहन्छन्—के तिनीहरू पावलजस्तै होइनन् र? पावलले प्रभु येशू नै ख्रीष्ट र परमेश्‍वर हुनुहुन्छ भनेर इन्कार गर्‍यो; ऊ आफै ख्रीष्ट र परमेश्‍वरको पुत्र हुन चाहन्थ्यो। यी मानिसहरू पावलजस्तै हुन्, तिनीहरू उसकै प्रकारका हुन्, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। अरू केही छ? (परमेश्‍वरका वचनलाई अभ्यास गर्नुपर्ने सत्यताका रूपमा नभई साधारण व्यक्तिको वचनका रूपमा लिनु, अनि परेश्‍वरका वचनप्रति उपेक्षापूर्ण र सरसरती हेर्ने मनोवृत्ति राख्नु।) परमेश्‍वरका वचनलाई स्वीकार र अभ्यास गर्नुपर्ने सत्यताका रूपमा नभई, मानव वचनका रूपमा लिनु—यो पनि एउटा हो। (परमेश्‍वरका वचनलाई गैरविश्‍वासीका दर्शन र सिद्धान्तहरूसँग जोड्नु।) परमेश्‍वरका वचनलाई दर्शनहरूसँग जोड्ने, परमेश्‍वरका वचनलाई सजावट वा ख्रोक्रा शब्दका रूपमा लिँदै प्रसिद्ध र महान् व्यक्तिका प्रसिद्ध भनाइहरूलाई चाहिँ सत्यता ठान्‍ने, अनि ज्ञान, परम्परागत संस्कृति र प्रथालाई सत्यताका रूपमा लिने र तिनलाई परमेश्‍वरका वचनको ठाउँमा प्रतिस्थापित गर्ने कुरा पनि छ। यस्तो प्रकटीकरण देखाउने मानिसहरू परिस्थितिहरू आइपर्दा सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरूको गवाही दिन र ती फैलाउन चाहनाबारे निरन्तर कुरा गर्छन्, तर हृदयमा भने अधर्मी संसारका प्रसिद्ध र महान् व्यक्तिहरूलाई नै आदर गर्छन्, अनि यसो भन्दै प्राचीन सोङ वंशका बाओ गोङलाई चिल्लो घस्नेसमेत गर्छन्, “उनी एकदमै कडा र निष्पक्ष न्यायाधीश थिए। उनले कहिल्यै अन्यायपूर्ण फैसला गरेनन्, उनको हातबाट न्यायमा कहिल्यै कुनै चूक भएन, र उनको न्यायदण्डले कुनै निर्दोषको ज्यान लिएन!” के यो कुनै प्रसिद्ध व्यक्ति वा साधुलाई चिल्लो घस्नु र तिनको आदर गर्नु होइन र? प्रसिद्ध व्यक्तिहरूका शब्द र कार्यलाई सत्यताका रूपमा प्रस्तुत गर्न खोज्‍नु सत्यताको अपमान र निन्दा गर्नु हो! माण्डलीमा यस्ता मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरू प्रचार गर्न चाहनेबारे धेरै कुरा गर्छन्, तर तिनीहरूले मनमा सोच्ने र सामान्यतया बोल्ने कुराचाहिँ केवल लोक भनाइ र उखानहरू मात्रै हुन्छन्, जसलाई तिनीहरू एकदमै अभ्यस्त र धाराप्रवाह रूपमा व्यक्त गर्छन्। यी कुराहरू सधैँ तिनीहरूको जिब्रोमै झुण्डिएका हुन्छन् र तिनीहरूको मुखबाट सजिलै निस्कन्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूसम्बन्धी आफ्नो अनुभवात्मक बुझाइको एक शब्द पनि कहिल्यै बोलेका हुँदैनन्, परमेश्‍वरका कुन वचनहरू आफ्ना कार्य र आचरणका मापदण्ड वा आधार हुन् भनेर कहिल्यै बोलेको हुनु त परको कुरा हो। तिनीहरू “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ”, “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ”, “सधैँ दयनीय मानिसहरूमै घृणित कुरा हुन्छ,” “आफ्नो लागि केही न केही विकल्प छोड्नू”, “मैले कुनै उपलब्धि हासिल नगरेको भए पनि, कष्ट भोगेको छु, कष्ट नभए थकान भोगेको छु”, “नदी तरेपछि पुल नभत्काऊ; भारी झारेपछि गधा नमार,” “छोरी पिटेर बुहारी तर्साउनु,” र “नयाँ म्यानेजर आफ्‍नो प्रभाव छोड्न साह्रै इच्छुक हुन्छ,” इत्यादि जस्ता भ्रमहरू मात्र छर्छन् —तिनीहरूले भन्‍ने कुनै पनि कुरा सत्यता हुँदैन। कति मानिसहरू समकालीन कविहरूका शब्दहरू कण्ठस्थ गर्छन् र तिनलाई परमेश्‍वरको घरका भिडियोको कमेन्ट गर्ने ठाउँमा पोस्टसमेत गर्छन्। के यो आत्मिक बुझाइ नहुनुको प्रकटीकरण होइन र? के ती शब्दहरू सत्यता हुन्? के ती सत्यतासँग सम्बन्धित छन्? कतिपय मानिस प्रायः “तँभन्दा तीन फिट माथि एउटा परमेश्‍वर हुनुहुन्छ,” र “अन्त्यमा असल र खराबको मूल्य चुकाइनेछ; त्यो समयको कुरा मात्र हो,” जस्ता कुराहरू भन्‍ने गर्छन्। के यी अभिव्यक्तिहरू सत्यता हुन्? (होइनन्।) ती कहाँबाट आएका हुन्? के ती परमेश्‍वरका वचनमा पाइन्छन्? ती बौद्ध संस्कृतिबाट आएका हुन् र तिनको परमेश्‍वरमा विश्‍वास गर्नुसित कुनै सम्बन्ध छैन। यसको बाबजुद, मानिसहरू प्रायः ती कुरालाई सत्यताको स्तरमा लैजाने प्रयास गर्छन्; यो आत्मिक बुझाइ नहुनुको प्रकटीकरण हो। कतिपय मानिसमा आफूलाई परमेश्‍वरका लागि समर्पित गर्ने अलिअलि सङ्कल्प हुन्छ, र तिनीहरू भन्छन्, “परमेश्‍वरको घरले मलाई बढुवा गरेको छ, परमेश्‍वरले मलाई उचाल्नुभएको छ, त्यसैले मैले ‘सज्जन पुरुषले उसलाई बुझ्नेहरूका लागि आफ्नो ज्यानको बलिदान गर्छ’ भन्‍ने भनाइअनुसार जिउनैपर्छ।” तँ सज्जन पुरुष होइनस्, र परमेश्‍वरले तँलाई आफ्नो जीवन बलिदान गर्नू भनेर भन्‍नुभएको छैन। के कर्तव्य निर्वाह गर्दा त्यस्तो धेरै वीरताबोध हुनुपर्छ र? तँ अहिले जीवित छँदा त आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस् भने, मरेपछि चाहिँ त्यो पूरा गर्ने कुनै आशा हुन्छ र? अनि तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्नेछस्? अरू भन्छन्, “म स्वाभाविक रूपमै बफादार छु, म साहसी र जोशिलो व्यक्ति हुँ। मलाई आफ्ना साथीहरूका लागि हरजोखिम मोल्न मन पर्छ। परमेश्‍वरका निम्ति पनि त्यही गर्न मन पर्छ: परमेश्‍वरले मलाई चुन्‍नुभएको छ, बढुवा गर्नुभएको छ, र उचाल्नुभएको छ, त्यसैले मैले उहाँको अनुग्रहको ऋण तिर्नैपर्छ। म परमेश्‍वरका लागि मृत्युसम्‍मै हरजोखिम मोल्नेछु!” के यो सत्यता हो? (होइन।) परमेश्‍वरले एकदमै धेरै वचन बोल्नुभएको छ, किन तिनीहरूले तीमध्ये एउटै पनि याद गरेका छैनन्? हरसमय तिनीहरूले सङ्गति गर्ने कुरा यस्तो मात्र हुन्छ: “अरू कुनै कुरा भन्‍नु आवश्यक छैन। सज्जन पुरुषले उसलाई बुझ्नेहरूका लागि आफ्नो ज्यानको बलिदान गर्छ, र व्यक्तिले आफ्ना साथीहरूका लागि हरजोखिम मोल्नैपर्छ र ऊ बफादार हुनैपर्छ।” तिनीहरूले “परमेश्‍वरको प्रेमको ऋण तिर्ने” भन्‍ने वाक्यांश उच्चारणसमेत गर्न सक्दैनन्। यतिका वर्ष प्रवचन सुनेपछि र परमेश्‍वरका वचन पढेपछि पनि, तिनीहरूलाई एउटै सत्यता थाहा हुँदैन, र तिनीहरू केही आत्मिक शब्दहरूसमेत भन्‍न सक्दैनन्—सत्यतासम्बन्धी तिनीहरूको भित्री बुझाइ र परिभाषा यही हो। लौ भन् त, के यो दयनीय कुरा होइन र? के यो हाँस्यास्पद छैन र? के यो आत्मिक बुझाइ नहुनुको प्रकटीकरण होइन र? यतिका धेरै प्रवचन सुनेपछि पनि, तिनीहरू सत्यता बुझ्दैनन् र सत्यता के हो भनेर जान्दैनन्, तैपनि सत्यतालाई प्रतिस्थापन गर्न ती दुष्ट, हास्यास्पद, बेतुके, र अत्यन्तै हाँसउठ्दा शब्दहरू निर्लज्ज रूपमा प्रयोग गर्छन्। तिनीहरूको भित्री सोचाइ र बुझाइ यस्तो हुने मात्र होइन, तिनीहरूले त यही कुरा अरूलाई निरन्तर फैलाउने र सिकाउने, र यसरी अरूलाई आफ्नै जस्तो बुझाइ राख्न लगाउने समेत गर्छन्। के यसमा केही हदसम्म अवरोध र बाधा पुऱ्याउने प्रकृति हुँदैन र? सत्यता नबुझ्ने र आत्मिक बुझाइ नहुने यी मानिसहरू खतरनाक हुने देखिन्छ, र तिनीहरूले कुनै पनि समय र कुनै पनि ठाउँमा अवरोध र बाधा खडा गर्न एवम् हास्यास्पद र बेतुके कामहरू गर्न सक्छन्। मानिसहरूले सत्यतालाई कसरी लिन्छन् भन्‍नेबारे अन्य केही अभिव्यक्तिहरू केके हुन्? (सत्यतालाई घृणा गर्नु, आफ्नो धारणासँग मिल्ने कुराहरू मात्र स्विकार्नु, अनि आफ्नो धारणासँग नमिल्ने कुराहरू इन्कार्नु र अभ्यास गर्न नमान्‍नु।) आफ्नो धारणासँग मिल्ने कुराहरू मात्र स्वीकार र अभ्यास गर्नु अनि आफ्नो धारणासँग नमिल्ने कुराहरूप्रति एकनासले प्रतिरोध र निन्दा गर्नु—यो एउटा मनोवृत्ति हो। (सत्यताले व्यक्तिको भ्रष्ट स्वभाव हटाउन सक्छ वा आफूलाई परिवर्तन गर्न सक्छ भनेर विश्‍वास नगर्नु।) सत्यतालाई नमान्‍नु वा विश्‍वास नगर्नु पनि एउटा मनोवृत्ति हो। अनि अर्को प्रकटीकरणचाहिँ सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति र दृष्टिकोण उसको मुड, परिवेश र संवेगअनुसार परिवर्तन हुनु हो। यी मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूलाई कुनै दिन राम्रो र एकदमै खुसी महसुस हुँदा, तिनीहरूले सोच्छन्, “सत्यता उत्कृष्ट छ! सत्यता सबै सकारात्मक कुराहरूको वास्तविकता, मानिसहरूले अभ्यास र प्रचार गर्न सबैभन्दा योग्य कुरा हो।” तर तिनीहरूको मुड बिग्रँदा, तिनीहरू सोच्छन्, “सत्यता के हो? सत्यता अभ्यास गर्नाले के फाइदा हुन्छ? के यसबाट पैसा कमाउन सकिन्छ? सत्यताले के परिवर्तन गर्न सक्छ? यदि सत्यता अभ्यास गरियो भने के हुन सक्छ? म यो अभ्यास गर्दै गर्दिनँ—यसले के फरक पार्छ र?” तिनीहरूको पिशाची प्रकृति देखापर्छ। यी प्रकटीकरणहरू मानिसहरूले सत्यतालाई लिने तरिकामा देखाउने विभिन्‍न स्वभाव र स्थितिहरू हुन्। केही अन्य खास प्रकटीकरणहरू केके हुन्? (परमेश्‍वरका वचनहरूलाई सत्यता वा जीवनका रूपमा नलिनु, बरु तिनको विश्‍लेषण र छानबिन गर्नु।) स्विकार्ने र समर्पित हुने कुनै पनि मनोवृत्तिविना प्राज्ञिक मनोवृत्तिसाथ परमेश्‍वरका वचनहरूलाई व्यवहार गर्नु, सधैँ आफ्नो ज्ञानका आधारमा सत्यताको विश्‍लेषण र छानबिन गर्नु। मोटामोटी रूपमा यी कुराहरू नै सत्यताप्रति मानिसहरूको व्यवहारमा हुने कठिनाइहरू हुन्, जसलाई परिभाषित गरेर सारांश शीर्षकहरू बनाउन सकिन्छ।

जीवन प्रवेशका कठिनाइहरूबारे हाम्रो विषयवस्तुमा जम्मा आठ पक्ष छन्, र ती जीवन प्रवेश र मुक्ति प्राप्तिसँग सम्बन्धित मुख्य कठिनाइहरू हुन्। यी आठ पक्षभित्र मानिसहरूले प्रकट गरेका स्थिति र स्वभावहरू सबै नै परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका छन्; परमेश्‍वरले मानिसहरूका लागि मापदण्डहरू तय गर्नुभएको छ र तिनीहरूलाई अभ्यास मार्ग औँल्याइदिनुभएको छ। यदि मानिसहरूले परमेश्‍वरका वचनहरूमा प्रयत्‍न लगाउन सक्छन्, र एक गम्भीर मनोवृत्ति, अर्थात् तृष्णा गर्ने मनोवृत्ति अपनाउन सक्छन्, र आफ्नो जीवन प्रवेशका लागि बोझ उठाउन सक्छन् भने, यी आठ प्रकारका समस्याहरू समाधान गर्न तिनीहरूले परमेश्‍वरका वचनहरूमा सान्दर्भिक सत्यताहरू फेला पार्न सक्छन्, र त्यहाँ ती हरेकका लागि नै अभ्यास मार्गहरू छन्। ती कुनै कुरा पनि समाधान गर्न नसकिने चुनौती वा कुनै प्रकारका रहस्य होइनन्। तथापि, यदि तँ आफ्नो जीवन प्रवेशका लागि कुनै बोझ उठाउँदैनस्, र सत्यताप्रति वा आफ्नो स्वभाव परिवर्तन गर्नप्रति कुनै चासो राख्दैनस् भने, परमेश्‍वरका वचनहरू जति नै स्पष्ट र सही भए नि तेरो लागि ती केवल शब्द र सिद्धान्त मात्र रहनेछन्। यदि तँ सत्यता पछ्याउँदैनस् वा अभ्यास गर्दैनस् भने, तँमा जस्तोसुकै समस्याहरू भए नि तैँले समाधान भेट्टाउन सक्‍नेछैनस्, जसले गर्दा तँलाई मुक्ति प्राप्त गर्न एकदमै गाह्रो हुनेछ। सायद तँ सदाका लागि श्रमजीवी हुने चरणमा रहनेछस्; र हुन सक्छ तँ सदाका लागि मुक्ति प्राप्त गर्न नसक्ने अनि परमेश्‍वरद्वारा तिरस्कृत हुने र हटाइने चरणमै रहिरहनेछस्।

झूटा अगुवाहरूको कामका प्रतिकूल प्रभाव र परिणामहरू

मानिसहरूलाई आफ्नो जीवन प्रवेशमा आइपर्ने सबै कठिनाइका सन्दर्भमा भन्‍नुपर्दा, झूटा अगुवाहरूले के गर्छन्? मानिसहरूले यी आठ प्रकारका कठिनाइहरूमध्ये कुनै एउटामा पर्ने कुनै पनि प्रकारको स्थितिको सामना गर्दा, के झूटा अगुवाहरूले यो पहिचान गर्न सक्छन्, र यी मानिसहरूका समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू र आफ्नै अनुभवात्मक ज्ञान प्रयोग गर्न सक्छन्? दुर्भाग्यवश, मानिसहरूलाई कठिनाइहरू आइपर्दा, तिनीहरूका समस्या समाधान गर्न यी झूटा अगुवाहरूले सतही प्रयास मात्र लगाउँछन्, र केवल केही छिपछिपे, बिलकुलै गलत र असान्दर्भिक टिप्पणीहरू मात्र गर्छन्, जसको तिनीहरूका स्वभाव र समस्याहरूसँग कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि, झूटा अगुवाहरूले प्रायः “तिमी सत्यतालाई प्रेम गर्दै गर्दैनौ” भनेर भन्छन्। तिनीहरू यसरी नै मानिसहरूका वास्तविक कठिनाइहरू समाधान गर्ने र तिनीहरूको सारलाई चित्रण गर्ने प्रयास गर्छन्। तिनीहरूले मानिसहरूलाई सानो समस्या वा स्थितिका लागि समेत परमेश्‍वरका वचनहरूमा जवाफ खोज्न मद्दत गर्न सक्दैनन्, न त सत्यतामा सङ्गति गरेर त्यसलाई समाधान गर्न नै सक्छन्। बरु, तिनीहरू केही धर्मसैद्धान्तिक र असम्बन्धित टिप्पणीहरू गर्छन्, वा तिनीहरू कुनै समस्यालाई टिप्छन्, अनि तिललाई पहाड बनाउँदै, मानिसहरूलाई पश्‍चात्ताप गर्ने कुनै अवसर नदिई पूर्ण रूपमा अस्वीकार गर्छन्। वास्तवमा, यदि कसैसँग परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता र आत्मिक बुझाइ छ भने, परमेश्‍वरले आफ्ना वचनमा गर्नुभएको यी आठ पक्षीय स्थितिहरूको खुलासा उसले भेट्टाउन सक्नेछ, यो त्यति कठिन छैन। तथापि, झूटा अगुवाहरूमा आत्मिक बुझाइ नहुने, कमजोर क्षमता हुने, र बोध क्षमताको कमी हुने, साथै तिनीहरूमध्ये कति त केवल उत्साही, कदम चाल्न तत्पर, पाखण्डी र आत्मिक मानिसका रूपमा प्रस्तुत हुने हुनाले, तिनीहरूले अरू मानिसका समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। मानिसहरूलाई आइपर्ने विभिन्‍न समस्याहरूका सन्दर्भमा, झूटा अगुवाहरूले तिनीहरूलाई यसो भन्दै सल्लाह दिन्छन्, “परमेश्‍वरको काम यहाँसम्म आइपुगेको छ; किन तिमी अझै पनि अरूप्रति ईर्ष्यालु हुँदै छौ र अरूसँग विवाद गर्दै छौ? के तिमीसँग त्यसका लागि समय छ? त्यसका लागि लडेर के फाइदा? के तिमी त्यसका लागि लडाइँ नगरी चल्न सक्दैनौ?” “परमेश्‍वरको काम यहाँसम्म आइपुगेको छ, तर तिमी अझै पनि एकदमै भावुक छौ, र तिमी त्यो भावना त्याग्न सक्दैनौ। ढिलोचाँडो, यी भावनाहरूले तिम्रो ज्यान लिनेछन्!” “परमेश्‍वरको काम यहाँसम्म आइपुगेको छ, तैपनि तिमी किन अझै खाने कुरा र लुगाफाटाबारे यति चिन्तित हुन्छौ? तिमीले त्यो एउटा लुगा नलगाए हुन्‍न र? के तिमी एक जोडी छालाको जुत्ता नकिनी बाँच्न सक्दैनौ? तिमीले परमेश्‍वरका वचनहरू र आफ्नो कर्तव्यमा बढी विचार गर्नुपर्छ!” “जब तिमीमाथि केही आइपर्छ, परमेश्‍वरलाई अझ धेरै प्रार्थना गर। तिमीलाई जे आइपरे पनि, त्यसमा एउटा पाठ हुन्छ: परमेश्‍वरमा समर्पित हुन अनि उहाँको सार्वभौमिकता र बन्दोबस्त बुझ्न सिक्ने।” के यो सल्लाहले वास्तविक समस्याहरू समाधान गर्न सक्छ? यसले पटक्कै समाधान गर्न सक्दैन। नत्र तिनीहरूले यसो पनि भन्छन्, “मानिसहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्। के तिमी भावुक भएर परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेका छैनौ र? के तिमीले आफूलाई नचिनेर परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेको छैनौ र?” विद्यमान समस्या जेसुकै भए पनि, झूटा अगुवाहरूलाई व्यक्तिको सार वा स्थिति चिरफार गर्न कसरी सत्यतामा सङ्गति गर्ने भनेर थाहै हुँदैन, तिनीहरू मानिसहरूका स्थिति कसरी उत्पन्‍न हुन्छन् भनेर राम्रोसित बुझ्न, र त्यसपछि तिनीहरूका समस्या सुल्झाउनका लागि तिनीहरूको स्थितिका आधारमा सत्यतामा सङ्गति गर्न, र उचित सहयोग र भरणपोषण प्रदान गर्न सक्दैनन्। बरु यसको साटो, तिनीहरूले सधैँ एउटै कुरा भन्छन्: “परमेश्‍वरलाई प्रेम गर! आफ्नो कर्तव्य निर्वाह गर्न कडा परिश्रम गर, तिमी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, र समस्याहरू आइपर्दा अझ बढी प्रार्थना गर्नैपर्छ!” “सबथोक परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत छ। सबथोक परमेश्‍वरको हातमा छ!” “यदि तिमी सत्यताको खोजी गर्दैनौ भने, त्यसरी काम चल्दैन। तिमीले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नैपर्छ। परमेश्‍वरका वचनले सबै कुरा स्पष्ट पार्छन्, तर मानिसहरू सत्यतालाई प्रेम नै गर्दैनन्!” “विपत्तिहरू आउनै लागेका छन्, सबै कुराको परिणाम निकट छ, र परमेश्‍वरको काम समाप्त हुँदै छ, तर तिमी चिन्तित छैनौ। मानिससँग कति दिन बाँकी छ र? परमेश्‍वरको राज्य आइपुगेको छ!” झूटा अगुवाहरूले यी मिल्दै नमिल्‍ने भनाइहरू मात्र उच्चारण गर्छन्, कहिल्यै विशेष रूपमा विभिन्‍न समस्याहरूको विश्‍लेषण र चिरफार गर्ने, वा मानिसहरूलाई वास्तविक भरणपोषण वा सहयोग गर्ने गर्दैनन्। तिनीहरूले या त मानिसहरूलाई परमेश्‍वरका वचनहरूबाट केही खण्ड खोजेर पढ्न दिन्छन्, या त उनीहरूलाई निराकरण गर्न असान्दर्भिक सल्लाह दिन्छन्। अन्त्यमा के हुन्छ? झूटा अगुवाहरूको हानिमा परेर, मानिसहरूलाई आफ्नो भ्रष्ट स्वभाव मात्र होइन, आफ्नो चरित्र कस्तो छ, आफू कस्तो प्रकारको व्यक्ति हुँ, र आफूसँग कस्तो प्रकृति सार छ भन्‍ने पनि थाहा हुँदैन; तिनीहरू आफ्नो क्षमता कस्तो छ, आफूसँग बोध क्षमता छ कि छैन, वा आफू कुन मार्गमा छु भन्‍नेबारे स्पष्ट हुँदैनन्। तिनीहरू अझै पनि आफूलाई हृदयदेखि मन पर्ने र मूल्यवान् लाग्ने सांसारिक र प्रचलित कुराहरू पक्रिराख्छन्, र कसैले पनि तिनीहरूलाई यी कुराहरू बुझ्न, चिरफार गर्न र विश्‍लेषण गर्न मद्दत गर्दैन। झूटा अगुवाहरूको कामका परिणामहरू यिनै हुन्। समस्याहरू उत्पन्‍न हुँदा, तिनीहरू या त मानिसहरूमाथि आइलाग्छन्, मनमानी ढङ्गले निन्दा गर्छन् र गलत आरोप लगाउँछन्, या त मानिसहरूलाई गलत सल्लाह दिन्छन् र गलत पाठ सिकाउँछन्, या त परमेश्‍वरका वचनहरू प्रयोग गरेर बलजफ्ती गलत तुलनाहरू गर्छन्। तिनीहरूको कुरा सुन्‍नेहरूले सोच्छन्, “मैले कुरा बुझेजस्तो लाग्छ, तर फेरि नबुझेजस्तो पनि लाग्छ—यस्तो लाग्छ, मानौँ मैले तिनीहरूले भनेको कुरा बुझेको छु होला, तर फेरि नबुझेको पनि होला। किन त्यस्तो भएको? अगुवाले भन्‍ने सबै कुरा सही हुन्छ, तर किन म आफ्नो हृदयबाट यो समस्या हटाउन सक्दिनँ? किन म यो कठिनाइको समाधान पाउन सक्दिनँ? किन म अझै पनि यसरी सोच्छु र यी कुराहरू गर्न चाहन्छु? यो समस्याको सार र जड कहाँ छ भनेर किन म बुझ्न सक्दिनँ? अगुवाले म सत्यतालाई प्रेम गर्दिनँ भनेर भन्छन्, र म सत्यतालाई प्रेम गर्दिनँ भन्‍ने कुरा स्विकार्छु, तर यो स्थितिबाट म किन बाहिर निस्कन सक्दिनँ?” के यी अगुवाहरूले कुनै प्रभाव पारेका छन्? तिनीहरूले बोलेका र काम गरेका भए पनि, त्यो सब ठूलो गडबडी मात्र हो, र त्यसले जति प्रभाव पार्नुपर्थ्यो त्यति पारेको छैन। तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका अभिप्राय बुझ्न, आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्न, र आफ्नो स्थितिलाई सही रूपमा बुझ्न, वा आफ्ना कठिनाइहरू समाधान गर्न सक्षम बनाएका छैनन्। जहाँसम्‍म पटक्कै सत्यता नस्विकार्ने, प्रभाव पार्नै नसकिने निर्लज्ज मानिसहरूको कुरा छ, तिनीहरूले जब यी अगुवाहरूले तिनीहरूलाई गम्भीरतापूर्वक र धैर्यसाथ चेताएको सुन्छन्, तब तिनीहरूलाई एकदमै झिजो लाग्छ। त्योसँगसँगै, तिनीहरू यी अगुवाहरूले भनेका शब्दहरूको सुगारटाइ गर्छन्—अगुवाहरूले पहिलो भाग सकेपछि, यी मानिसहरूले अर्को भाग बताउन सक्छन्, तर तिनीहरू चाँडै अधीर हुन्छन् र भन्छन्, “भो अब थप कुरा नभन्‍नुहोस्। तपाईँले भनिरहेको सबै कुरा मैले बुझिसकेको छु। यदि तपाईँले भन्‍न जारी राख्नुभयो भने, मलाई वाकवाक लागेर बान्तै हुनेछ!” अनि अगुवाहरूले भन्छन्, “तिमी सत्यतालाई प्रेम नै गर्दैनौ। यदि तिमीले सत्यतालाई प्रेम गर्थ्यौ भने, मैले भनेको सबै कुरा बुझ्नेथ्यौ।” तिनीहरू ओठे जवाफ दिन्छन्, “मैले सत्यतालाई प्रेम गरे पनि वा नगरे पनि तपाईँले यी शब्दहरू धेरै पटक दोहोर्‍याउनुभएको छ, तिनमा केही नयाँ छैन, र मलाई ती सुन्दा सुन्दा वाक्कै लागिसक्यो!” झूटा अगुवाहरू यसरी नै काम गर्छन्, कडाइसाथ प्रावधानहरू पालन गर्छन् र निश्‍चित वाक्यांशहरूमै एकोहोरिरहन्छन्, र मानिसहरूका वास्तविक कठिनाइहरू हल गर्न पूर्णतः असफल हुन्छन्। यदि कसैसँग परमेश्‍वरबारे धारणा छ भने, झूटा अगुवाहरूले त्यो व्यक्तिले आफूलाई चिन्दैन भनेर भन्छन्। यदि कसैमा कमजोर मानवता छ, ऊ मानिसहरूसँग मिल्न सक्दैन, र ऊसँग सामान्य अन्तरवैयक्तिक सम्बन्धको कमी छ भने, झूटा अगुवाहरूले ऊ र संलग्न अर्को व्यक्ति दुवै दोषी छन् भनेर भन्छन्, तिनीहरूले दुवैलाई भाषण छाँट्छन्, दुवैलाई दोष दिन्छन्, र भन्छन्, “ठिक छ, अब तिमीहरू दुई जनाको हिसाब बराबर भयो। हामी आफ्ना कार्यहरूमा निष्पक्ष र व्यावहारिक हुनुपर्छ, र कुनै पूर्वाग्रह नराखी सबैलाई समान व्यवहार गर्नुपर्छ। समझसाथ बोल्नेले सत्यतालाई प्रेम गर्छ, जबकि समझबिना बोल्नेले आफ्नो मुख बन्द राख्नुपर्छ, कम बोल्नुपर्छ र भविष्यमा धेरै काम गर्नुपर्छ। सही कुरा बोल्ने व्यक्तिको कुरा धेरै सुन्‍नुपर्छ।” के यो समस्या समाधान गर्नु हो? के यो काम गर्नु हो? के यो बच्चाहरूलाई खुसी पार्नु र मानिसहरूलाई मूर्ख बनाउनु जस्तो मात्र होइन र? झूटा अगुवाहरू व्यस्त रहेजस्तो देखिन सक्छन्, तर तिनीहरूले कसैको समस्या समाधान गर्न सक्दैनन्। तिनीहरूको काम कति प्रभावकारी हुन्छ? त्यो बेकार र वाहियात हुन्छ! यी त गैरविश्‍वासीका कार्यहरू हुन्।

परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासको अनुभवभरि, मानिसहरूले प्रायः केही न केही कठिनाइको सामना गर्छन्, तर झूटा अगुवाहरूले तीमध्ये कुनै पनि समस्या समाधान गर्न सक्दैनन्। झूटा अगुवाहरूले त केही शब्दहरूले नै ठिक गर्न सकिने केही स्पष्ट कठिनाइहरूसमेत समाधान गर्न सक्दैनन्, र तिनीहरू ती कुराबारे ठूलो हल्ला मच्चाउँछन् र हरेक सानो समस्यालाई ठूलो समस्या बनाउँछन्। कति मानिसहरू दुष्ट हुँदैनन्, यति मात्र हो कि तिनीहरूमा आफ्नो मानवताको हिसाबले राम्रो बानीबेहोराको अलि कमी हुन्छ, तिनीहरू आधारभूत शिष्टाचार बुझ्दैनन्नन्, र अलि निकम्मा हुन्छन्। झूटा अगुवाहरू ती मानिसहरूमा अमेट छाप छोड्ने उद्देश्यले यी ससाना समस्याहरू पक्रेर ठूलो कोलाहल मच्चाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तीबारे छलफल गर्न, तिनको आलोचना र निन्दा गर्न लगाउँछन्, ताकि तिनीहरूले त्यस्तो व्यवहार गरिरहने साहस नगरून्। के यसो गर्नु आवश्यक छ? के यो समस्या समाधान गर्ने तरिका हो? के यो सत्यता प्रयोग गरेर समस्या समाधान गर्नु हो? (होइन।) यदि कसैको मानवतामा ठूला समस्याहरू छैनन्, र त्यो व्यक्ति दुष्ट होइन र उसले इमानदारीसाथ आफूलाई समर्पित गर्न सक्छ भने, उसले कुनै कुरा स्विकार्न सक्ने परिस्थितिमा, उसमा काम गर्न जारी राख्नु, उसलाई स्मरण गराउनु, सहयोग दिनु, सङ्गति गर्नु, र साथ दिनु काफी हुन्छ। यदि मानिसहरूले निरन्तर यस्तो व्यवहार गर्छन् भने, तिनीहरूको चरित्रमा समस्या वा क्रूर स्वभाव हुन्छ, र त्यसपछि कडा काटछाँट र ताडना आवश्यक पर्छ। यदि तिनीहरूले यो स्विकार्न मानेनन् भने, या त तिनीहरूको कर्तव्य निलम्बित गरिनुपर्छ, या त तिनीहरूलाई हटाइनुपर्छ। झूटा अगुवाहरू यो कुरा बुझ्न सक्दैनन्, न त तिनीहरूले यस्तो व्यवहार नै गर्छन्; तिनीहरूले यस्ता दुष्ट मानिसहरूलाई भेट्दा, उनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छन्, र तिनीहरूलाई मद्दत गर्छन् र साथ दिन्छन्। के यो काम गर्नु हो? के यो सत्यता प्रयोग गरेर समस्या समाधान गर्नु हो? (होइन।) झूटा अगुवाहरूको काम बेतुके, केटाकेटीको जस्तो र हाँसउठ्दो हुन्छ, र यसबारेका कुनै पनि कुरा परमेश्‍वरका अभिप्रायसँग मेल खाँदैन। तिनीहरूले गर्ने सबै कुरामा, तैँले तिनीहरू भुइँमान्छे हुन्, तिनीहरूमा आत्मिक बुझाइको कमी छ, र तिनीहरू सिद्धान्तविना लापरवाह व्यवहार गर्छन् भनेर देख्न सक्छस्। त्यसैगरी, तिनीहरू मानिसहरूले आफ्नो जीवन प्रवेशमा सामना गर्ने विभिन्‍न कठिनाइहरू छर्लङ्गै देख्न वा सही रूपमा बुझ्न सक्दैनन्। फलस्वरूप, समस्या समाधान गर्ने तिनीहरूको प्रयास एकदमै बेढङ्गको, मूर्खतापूर्ण र भुइँमान्छेको जस्तै देखिन्छन्। तिनीहरूको सहयोग स्विकार्नेहरूलाई पनि अप्ठ्यारो र दबिएको महसुस हुन्छ। समय बित्दै जाँदा, कतिले त आस्थासमेत गुमाउँछन्, र भन्छन्, “अगुवाले मसँग धेरै पटक सङ्गति गरेका छन्, तैपनि किन म परिवर्तन भएको छैनँ? किन म पुरानै लतमा फर्किरहन्छु? के मेरो मानवता एकदमै कमजोर भएकाले, र म मुक्ति पाउन असमर्थ भएकाले यस्तो भएको हो??” कतिले त शङ्कासमेत गर्छन्, र भन्छन्, “के मेरो आत्मामा केही गडबडी छ? के ममा दुष्ट आत्माहरूले काम गर्दै छन्? के परमेश्‍वर मलाई मुक्ति दिनुहुन्‍न? के त्यसको अर्थ मेरो आशा छैन भन्‍ने होइन र?” झूटा अगुवाहरूको कामका परिणामहरू यिनै हुन्। तिनीहरू आफ्नो काममा एउटा कुरा र अर्को कुराबीच झुक्किन्छन्, र तिनीहरू हास्यास्पद, बेतुके, मूर्खतापूर्ण र बेढङ्गको तरिकाले काम गर्छन्, जसले गर्दा अन्ततः सत्यता पछ्याउने कतिपय मानिसलाई आइपर्ने विभिन्‍न कठिनाइहरू तुरुन्तै समाधान हुँदैनन्। त्यसको बदलामा, यसले गर्दा ती मानिसहरूमा नकारात्मकता र कमजोरी, साथै परमेश्‍वर र उहाँको कामबारे केही धारणा र गलतफहमी उत्पन्‍न हुन्छन्। तिनीहरू भन्छन्, “मैले परमेश्‍वरका वचन एकदमै धेरै पढेको छु, तैपनि मेरो समस्या किन समाधान हुन सक्दैन?” “के परमेश्‍वरका वचनहरूले मानिसहरूलाई साँच्चै मुक्ति दिन र परिवर्तन गर्न सक्छन्?” तिनीहरूको हृदयमा शङ्का उब्जन्छ, र तिनीहरू अलमल्ल पर्छन्। त्यसकारण, जब झूटा अगुवाहरू काम गर्छन्, तब तिनीहरूले धेरै सकारात्मक परिणामहरू निकाल्दैनन्, बरु धेरै नकारात्मक र प्रतिकूल कुराहरू उत्पन्‍न गर्छन्। तिनीहरूको कामले परमेश्‍वरबारे मानिसहरूका धारणा, शङ्का र आलोचनाहरू हटाउन नसक्ने मात्र होइन, बरु उल्टै परमेश्‍वरबारे तिनीहरूका गलतफहमी र सावधानी बढाउँछ। धेरै वर्ष आस्थामा रहेपछि पनि, यी मानिसहरूका समस्याहरू सुल्झिएका हुँदैनन्। झूटा अगुवाहरूले तिनीहरूलाई भ्रमित पार्दै र बहकाउँदै गर्दा, परमेश्‍वरबारे तिनीहरूको गलतफहमी र सावधानी झन्झन् गहिरिँदै जान्छ। कुरा यस्तो भएकाले, के तिनीहरूले जीवन प्रवेश प्राप्त गर्न सक्छन् त?

सत्यता र मानिसको स्वभाव परिवर्तनजस्ता सकारात्मक कुराहरूबारे झूटा अगुवाहरूको बुझाइले सकारात्मक कुराहरूप्रतिको धेरै मानिसका दृष्टिकोण र मनोवृत्तिलाई प्रभावित पार्न सक्छ। झूटा अगुवाहरूले कुनै काम नगर्नु एउटा कुरा हो—तिनीहरूले काम गर्न थाल्नेबित्तिकै, विचलनहरू देखा पर्छन् र प्रतिकूल परिणामहरू उत्पन्‍न हुन्छन्। यी मण्डलीहरूमा एउटा अनुचित वातावरण छाउँछ, अर्थात्, प्रायः केही गलत र बेतुके भनाइहरू सृजित हुन्छन्, र त्यहाँका मानिसहरूले परमेश्‍वरका वचनमा बारम्बार उल्लेख गरिने आत्मिक शब्दहरू बुझ्दैनन् वा तिनलाई कसरी लागू गर्ने भनेर जान्दैनन्, जबकि यी झूटा अगुवाहरूले प्रायः बोल्ने तथाकथित आत्मिक शब्द र भनाइहरू भने यी मण्डलीहरूमा व्यापक रूपमा फैलाइन्छन्। ती कुराहरूले मानिसहरूमा पार्ने प्रभाव सानो हुँदैन: तिनले मानिसहरूलाई परमेश्‍वरका वचन र सत्यताको अझ व्यावहारिक र सही ज्ञान पाउन मद्दत गर्न, वा उहाँका वचनहरूमा अभ्यासको सही मार्ग फेला पार्न सक्षम बनाउन नसक्ने मात्र होइन, बरु उल्टै तिनले वास्तवमा मानिसहरूलाई सत्यताको अझ विकृत, सैद्धान्तिक र धर्मसैद्धान्तिक ज्ञान लिनसमेत लगाउँछन्, र सँगसँगै मानिसहरूलाई अभ्यासको मार्गबारे झनै अस्पष्टसमेत पारिदिन्छन्। यसो गरेर झूटा अगुवाहरूले मानिसहरूको दृष्टिमा भाँजो हाल्छन् र सत्यताप्रतिको तिनीहरूको शुद्ध बुझाइमा असर पार्छन्। झूटा अगुवाहरूले यी कामहरू गरेर कस्तो प्रभाव हासिल गर्छन्? तिनीहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरूलाई अवरोध र बाधा पुर्‍याउने व्यक्ति भनेर चित्रण गर्नु सायद केही हदसम्म बेसी नै हुन सक्छ, तर तिनीहरूलाई चारैतिर दौडधुप गरिहिँड्ने जोकर भन्‍नु पटक्कै अत्युक्ति हुँदैन। मैले कामको यो चरण भर्खरै सुरु गर्दा केही व्यक्तिहरू भेटेको थिएँ, र मैले तिनीहरूको कुरा सुनिरहेको बेला, तिनीहरूमध्ये एउटाले कुनै व्यक्तिको परिस्थितिबारे सोध्यो, र अर्को एउटाले अचानक यी शब्दहरू प्वाक्क भन्यो, “ऊ जलेर खरानी भयो।” मैले “जलेर खरानी भयो? यसको अर्थ के हो?” भनेर सोध्दा, उसले जवाफमा भन्यो, “जलेर खरानी भयो भन्‍नुको अर्थ उसलाई बर्खास्त गरिएको छ र सायद उसले विश्‍वास गर्न छोडेको छ भन्‍ने हो।” मैले भनेँ, “यो एकदमै निर्दयी शब्द हो—यसले त्यो व्यक्तिलाई कुनै छुट दिँदैन। के मैले कहिल्यै यस्तो कुरा भनेको थिएँ? मलाई यो शब्दबारे कसरी थाहा भएन? मैले कहिल्यै कसैलाई यसरी चित्रित गरेको छैनँ, वा कसैले आफ्नो कर्तव्य निर्वाह गर्न छोड्दा वा परमेश्‍वरबाट टाढिँदा, ऊ ‘जलेर खरानी हुन्छ’ भनेर कहिल्यै भनेको छैनँ। यो शब्द कसरी आयो?” पछि, मैले यो वाक्यांश एक वृद्ध विश्‍वासी, पण्डित्याइँ गर्ने एक वृद्ध व्यक्तिबाट उत्पन्‍न भएको रहेछ भन्‍ने थाहा पाएँ। ऊ धेरै विद्वान थियो, लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको थियो, र ऊ वरिष्ठ थियो। उसले यो वाक्यांश बोल्दा, भ्रमित मानिसहरूको त्यो समूहले त्यसलाई खुट्ट्याएन र ऊबाट त्यो सिक्यो, र त्यो लोकप्रिय वाक्यांश बन्यो। के तिमीहरूलाई यो वाक्यांश सही हो भन्‍ने लाग्छ? के यसको आधार छ? के यो सही छ? (अहँ, यो सही छैन।) हामीले यसलाई कसरी लिनुपर्छ? के यसलाई मण्डलीमा रहिरहन दिनुपर्छ? (अहँ, दिनु हुँदैन।) यसलाई खुलासा र आलोचना गर्नुपर्छ, र यसलाई जरैदेखि समाधान गर्नुपर्छ। पछि, आलोचना र चिरफार गरेपछि, यी भ्रमित मानिसहरूले यो वाक्यांश बोलिरहने आँट गरेनन्, तर केही अनभिज्ञ व्यक्तिहरूले भने अझै पनि यसलाई गोप्य रूपमा प्रयोग गरिरहेका हुन सक्छन्। ती मानिसहरूले यो “प्रसिद्ध व्यक्ति” बाट उत्पन्‍न भएको एकदमै आत्मिक वाक्यांश हो भन्‍ने सोच्‍न सक्छन् र तिनीहरूलाई यो प्रयोग गरिरहनुपर्छ भन्‍ने लाग्‍न सक्छ। के तिमीहरूका अगुवाहरू पनि यस्तै अभ्यासहरूमा संलग्न हुने गरेका छन्? के तिनीहरूले तिमीहरूको जीवन प्रवेश, स्वभाव परिवर्तन, वा तिमीहरू हिँड्ने मार्गमा नकारात्मक असर पारेका छन्? (विगतमा, सुसमाचार प्रचार गर्दा एउटा झूटो अगुवाले एक पटक यसो भन्यो, “परमेश्‍वर हामीलाई न्याय र सजायमार्फत जित्नुहुन्छ, त्यसैले हामीले धार्मिक मानिसहरूलाई सुसमाचार प्रचार गर्दा, उनीहरूसँग कठोर लबजले बोल्नुपर्छ र उनीहरूलाई भाषण दिनुपर्छ; तब मात्र तिनीहरूलाई जित्न सकिन्छ।”) यो अभिव्यक्ति उचित लाग्न सक्छ, तर के यो सत्यता सिद्धान्तहरूसँग मेल खान्छ? के परमेश्‍वरले मानिसहरूलाई यसो गर्न निर्देशन दिनुभएको थियो? के परमेश्‍वरको वचनले “व्यापक रूपमा सुसमाचार प्रचार गर्दा, तिमीहरूले खडा भई फलामको डन्डासाथ मानिसहरूलाई शासन गर्नुपर्छ, र व्यापक रूपमा सुसमाचार प्रचार गर्न न्याय र सजाय प्रयोग गर्नुपर्छ” भनेर भन्छ? (भन्दैन।) त्यसोभए, यो अभिव्यक्ति कहाँबाट आयो? स्पष्ट रूपमै, यो आत्मिक समझको कमी भएको कुनै झूटो अगुवाको दिमागले कल्पना गरेको सिद्धान्त हो। झट्ट हेर्दा, यो भनाइ समस्याजनक भएजस्तो नदेखिन सक्छ: “सबै मानवजाति परमेश्‍वरको न्याय र सजायबाट गुज्रनैपर्छ। यदि तिनीहरूले त्यो परमेश्‍वरका वचनहरूबाट सिधै प्राप्त गर्न सक्दैनन् भने, के तिनीहरूले अप्रत्यक्ष रूपमा प्राप्त गर्न सक्दैनन् र? चाहे जे होस्, परमेश्‍वरका वचनले प्राप्त गर्न खोजेको परिणाम यही हो—सबै मानवजातिलाई जित्नु। के तिनीहरूले यो ढिलोभन्दा बरु चाँडो प्राप्त गर्नु राम्रो हुँदैन र? परमेश्‍वरले कदम चाल्नुअघि, हामी यो रोकथामको उपाय अपनाउनेछौँ, ताकि मानिसहरूले एक प्रकारको प्रतिरोधात्मक क्षमता विकास गर्न सकून्। अनि त्यसपछि जब परमेश्‍वरले तिनीहरूलाई साँच्चै न्याय र सजाय गर्नुहुन्छ, तब ती मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह, उहाँको विरोध, वा उहाँलाई धोका दिनेछैनन्। यसले परमेश्‍वरको भावनामा चोट पुग्नबाट रोक्नेछ। के त्यो राम्रो कुरा होइन र?” झट्ट हेर्दा, यसको प्रत्येक वाक्य सही देखिन्छ, र धर्मसैद्धान्तिक दृष्टिकोणले हेर्दा, यो तार्किक पनि देखिन्छ। तथापि, के यो सत्यता सिद्धान्त हो त? सुसमाचार प्रचार गर्नका लागि परमेश्‍वरको घरमा के-कस्ता सर्तहरू छन्? के यसले मानिसहरूले यो कुरा गरून् भन्‍ने माग गर्छ? (गर्दैन।) त्यसकारण, यो सिद्धान्त मान्य छैन, र यो प्रस्ताव गर्ने व्यक्ति झूटो अगुवा हो।

झूटा अगुवाहरू प्राय: आत्मिक भएको नाटक गर्छन्, केही कपटपूर्ण भ्रमहरू बोलेर मानिसहरूलाई बहकाउन र गलत मार्गदर्शन गर्न खोज्छन्। यी भ्रमहरू सतहमा समस्यारहित लागे पनि, तिनले मानिसहरूको जीवन प्रवेशमाथि हानिकारक प्रभाव पार्छन्, मानिसहरूलाई सत्यता पछ्याउने मार्गमा हिँड्नमा बाधा दिने, भ्रममा पार्ने, र अवरोध दिने गर्छन्। यी नक्कली आत्मिक शब्दहरूका कारण, कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरूप्रति शङ्का र प्रतिरोध साथै परमेश्‍वरबारे धारणाहरू र गलतफहमीहरू अनि परमेश्‍वरविरुद्ध सावधानी समेत विकास गर्छन्, र त्यसपछि उहाँबाट टाढा जान्छन्। झूटा अगुवाहरूका नक्कली आत्मिक भनाइहरूले मानिसहरूमाथि पार्ने प्रभाव यही हो। मण्डलीका सदस्यहरू झूटा अगुवाद्वारा भ्रमित र प्रभावित भइरहँदा, त्यो मण्डली, इसाई धर्म वा क्याथोलिक धर्मजस्तै, एउटा धर्म बन्छ, जसमा मानिसहरूले मानिसकै भनाइ र शिक्षाहरू मात्र पालना गर्छन्। तिनीहरू सबैले पावलका शिक्षाहरूको आराधना गर्छन्, यति सम्म कि परमेश्‍वरको मार्ग पछ्याउनुभन्दा, बरु प्रभु येशूका वचनहरूका ठाउँमा पावलका वचनहरू प्रयोग गर्छन्। फलस्वरूप, तिनीहरू सबै पाखण्डी फरिसी र ख्रीष्टविरोधीहरू बन्छन्। यसरी, तिनीहरू परमेश्‍वरद्वारा श्रापित र निन्दित हुन्छन्। पावलले जस्तै, झूटा अगुवाहरूले आफैलाई उच्च पार्छन् र आफ्नै गवाही दिन्छन्, तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन् र बाधा दिन्छन्। तिनीहरूले मानिसहरूलाई भ्रम अनि धार्मिक अनुष्ठानहरूमा डोऱ्याउँछन्, अनि यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिका धर्ममा रहेका मानिसहरूको जस्तै हुन्छ, जसले परमेश्‍वरमाथिको आस्थामा उनीहरूको सही मार्गमा प्रवेश गर्ने कार्यलाई ढिलो गराइदिन्छ। झूटा अगुवाहरूले निरन्तर रूपमा मानिसहरूलाई भ्रममा पार्ने र बाधा दिने गर्छन्, अनि त्यसपछि ती मानिसहरूले अनेकौँ नक्कली आत्मिक प्रतिपादित सिद्धान्त र भनाइहरू पैदा गर्छन्। यी प्रतिपादित सिद्धान्त, भनाइ, र अभ्यासहरू सत्यताको ठ्याक्कै विपरित हुन्छन्, र सत्यतासँग तिनको कुनै प्रकारको सम्बन्ध हुँदैन। तैपनि झूटा अगुवाहरूले मानिसहरूलाई भ्रममा पारिरहँदा र गलत मार्गदर्शन गरिरहँदा, उनीहरूले यी कुराहरूलाई सकारात्मक कुराका रूपमा, सत्यताका रूपमा लिन्छन्। तिनीहरूले यी कुराहरू सत्यता हुन् र तिनीहरूले हृदयमा यी कुराहरूमाथि विश्‍वास गरुञ्जेल र तिनलाई प्रस्टसित भन्‍न सकुञ्जेल, र ती कुराहरूलाई सबैले अनुमोदन गरुञ्जेल, तिनीरूले सत्यता प्राप्त गरेका विश्वास गर्छन्। यी सोच र विचारहरूद्वारा भ्रमित भएपछि, मानिसहरूले सत्यता बुझ्न नसक्ने मात्र होइन, तर परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गर्न पनि सक्दैनन्, सत्यता वास्तविकतामा प्रवेश गर्न त झनै सक्दैनन्। त्यसको उल्टो, तिनीहरू परमेश्‍वरका वचनहरूबाट टाढिन्छन् र सत्यता वास्तविकताभित्रको प्रवेश बाट त झनै टाढिन्छन्। सैद्धान्तिक रूपमा, झूटा अगुवाहरूले भन्‍ने शब्दहरूहरू र फलाक्ने नाराहरूमा केही पनि गलत हुँदैन, ती सबै सही हुन्छन्। त्यसोभए, तिनीहरूले किन केही पनि हासिल गर्दैनन्? किनकि झूटा अगुवाहरूले जे बुझ्छन् र बोध गर्छन् त्यो एकदम सतही मात्रै हुन्छ। त्यो सबै धर्मसिद्धान्तको कुरा मात्र हुन्छ, जुन परमेश्‍वरका वचनहरूभित्रको सत्यता वास्तविकता, परमेश्‍वरका मागहरू वा उहाँका अभिप्रायहरूसित असान्दर्भिक हुन्छन्। तथ्य के हो भने झूटा अगुवाहरूले प्रचार गर्ने सारा धर्मसिद्धान्तहरू सत्यता वास्तविकताभन्दा धेरै टाढा हुन्छन्—ठ्याक्कै भन्‍नुपर्दा, तिनको सत्यतासँग वा परमेश्‍वरका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। त्यसोभए, झूटा अगुवाहरूले बारम्बार यी शब्द र धर्मसिद्धान्तहरू ओकल्दा, त्यो केसँग सम्बन्धित हुन्छ? तिनीहरू किन सधैँ सत्यता वास्तविकतामा प्रवेश गर्न असक्षम हुन्छन्? यो झूटा अगुवाहरूको क्षमतासित सिधै सम्बन्धित हुन्छ। यो पूर्ण रूपमा निश्चित छ कि झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन् र तिनीहरूमा सत्यता बुझ्ने क्षमता हुँदैन। तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले सत्यता बुझ्नेछैनन् वा तिनीहरूसँग जीवन प्रवेश हुनेछैन, र यो पनि भन्‍न मिल्छ कि तिनीहरूले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुनेछैन। यदि कुनै झूटो अगुवालाई बरखास्त गरिएन, र उसलाई आफ्नो पदमा रहन दिइयो भने, कस्ता प्रकारका परिणामहरू आउनेछन्? उसको अगुवाइले अझ धेरै मानिसहरूलाई धार्मिक अनुष्ठान र प्रावधानहरूमा, शब्द र धर्मसिद्धान्तहरूमा, साथै अस्पष्ट धारणा र कल्पनाहरूमा लैजानेछ। ख्रीष्टविरोधीहरू विपरीत, झूटा अगुवाहरूले मानिसहरूलाई आफूसामु वा शैतानसामु आउन अगुवाइ गर्दैनन्, तर यदि तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई उहाँका वचनहरूको सत्यता वास्तविकताभित्र डोऱ्याउन सक्दैनन् भने, के परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्नेछन्? के उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन सक्नेछन्? कदापि सक्नेछैनन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भने, के उनीहरू अझै पनि शैतानको शक्तिअन्तर्गत जिइरहेका हुँदैनन् र? के उनीहरू अझै पनि शैतानको शक्तिअन्तर्गत रहेका पतित मानिसहरू होइनन् र? के यसको मतलब उनीहरू झूटा अगुवाहरूका हातमा नष्ट हुन पुग्नेछन् भन्‍ने होइन र? त्यसैकारण झूटा अगुवा र ख्रीष्टविरोधीहरूको कामका परिणामहरू मूलत: एउटै हुन्छन्। दुवैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्ने, वास्तविकतामा प्रवेश गर्ने, र मुक्ति हासिल गर्ने तुल्याउन सक्दैनन्। ती दुवैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन् र तिनीहरूलाई नष्ट पार्छन्। परिणामहरू ठ्याक्कै एउटै हुन्छन्।

झूटा अगुवाहरूका केही विधर्म र भ्रमहरू केके हुन्? तिनलाई तिमीहरू पछि आफै सारांशीकरण गर। म तिमीहरूले तिनीहरूलाई चिन्न सक्छौ कि सक्दैनौ भनेर हेर्न यो काम तिमीहरूकै हातमा छोड्छु। के तिमीहरूवरपरका अगुवाहरूले आत्मिक वा मानव भावनासँग मेल खाने र बाहिरी रूपमा सत्यतासँग मिल्दो देखिने तर तिमीहरूको जीवन प्रवेशमा भरणपोषण गर्न र तिमीहरूका वास्तविक समस्याहरू हल गर्न नसक्ने शब्दहरू कहिल्यै बोलेका छन्? यदि तिमीहरू यी शब्दहरूलाई खुट्ट्याउँदैनौ र तिनलाई प्रिय ठान्ने र हृदयमा लिने, अनि आफूमा हाबी हुन र आफूलाई सधैँ डोऱ्याउन र सधैँ आफ्नो विचार र व्यवहार प्रभावित पार्न दिनेसमेत गर्छौ भने, के यसको परिणाम एकदमै गम्भीर हुँदैन र? (हुन्छ।) त्यसोभए तिमीहरूले यी समस्याहरूको जड खोतल्नु अत्यावश्यक छ, र परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास धार्मिक विश्‍वासमा परिवर्तन गर्ने हदसम्म मानिसहरूलाई पतन गराउन सक्ने, र तिनीहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने र परमेश्‍वरद्वारा अस्वीकृत हुने तुल्याउने विधर्म र भ्रमहरू कस्ता कुरा हुन् भनेर पत्ता लगाउनु अत्यावश्‍यक छ। उदाहरणको लागि, मानिलिऊँ कुनै व्यक्तिले भन्छ रे, “अगुवा बन्ने प्रयास नगर। यदि अगुवा बनेपछि बर्खास्त भइयो वा हटाइयो भने, साधारण विश्‍वासी बन्ने मौकासमेत पाइनेछैन।” के यसप्रकारको कुरा झूटा अगुवाहरूको विधर्म र भ्रम हो? (हो।) हो? झूटा अगुवाहरूका विधर्म र भ्रमहरूलाई ख्रीष्टविरोधीहरूका विधर्म र भ्रमहरूबाट छुट्याउनुपर्छ; तिनलाई एकसाथ छ्यासमिस नपार। त्यो व्यक्तिले त्यस्तो कुरा भन्नुको अर्थ के हो? ती शब्दहरूपछाडि कस्ता अभिप्राय लुकेका छन्? के तिनमा कुनै शङ्कास्पद कुरा छ? स्पष्टतः तिनमा मानिसहरूलाई भ्रमित पार्ने चाल छ, उसले त्यसो भन्नुको मतलब अरू मानिसहरू अगुवा बन्ने प्रयास गर्नबाट जोगिनुपर्छ, अगुवा बन्ने प्रयास गर्दा राम्रो परिणाम आउनेछैन भन्ने हो। उसले यसो भन्नुको उद्देश्य मानिसहरूलाई अगुवा बन्ने विचार त्याग्न लगाउनु हो ताकि कसैले पनि प्रतिष्ठा र हैसियतको लागि ऊसँग प्रतिस्पर्धा नगरोस्, यसरी उसलाई सधैँभरि अगुवा बन्न सहज महसुस हुनेछ। अनि सँगसँगै, उसले मानिसहरूलाई यसो पनि भनिरहेको हुन्छ, “परमेश्‍वरको घरले अगुवा र कामदारहरूलाई यसरी नै व्यवहार गर्छ, जब यसलाई तिम्रो आवश्यक पर्छ, तब यसले तिमीलाई बढुवा गर्छ, र जब यसलाई तिम्रो आवश्यकता पर्दैन, तब यसले तिमीलाई एकदमै फेदमै पुर्‍याउँछ, साधारण विश्‍वासी बन्ने मौकासमेत दिँदैन।” यी शब्दहरूको प्रकृति के हो? (परमेश्‍वरविरुद्ध निन्दा।) कस्तो व्यक्तिले परमेश्‍वरविरुद्ध निन्दापूर्ण शब्दहरू बोल्छ? (ख्रीष्टविरोधीले।) यी शब्दहरूभित्र, दुइटा दुष्ट अभिप्राय छन्, जसले दुइटा परिणाम निम्त्याउन सक्छ: एउटा हो, अरूलाई हैसियतको लागि बिलकुलै प्रतिस्पर्धा नगर्नू भनेर भन्नु, जसले उनीहरूकै हैसियत सुरक्षित रहने सुनिश्‍चित गर्छ; अर्को हो, तँलाई परमेश्‍वरलाई गलत बुझ्न लगाउनु, र परमेश्‍वरमा विश्‍वास गर्न रोक्‍नु हो र यसको साटो ऊमाथि विश्‍वास गर्न थाल्न लगाउनु हो। यो सबैभन्दा निर्लज्ज प्रकारको ख्रीष्टविरोधी हो। यस्तो लाग्छ, तिमीहरूमा बोध क्षमताको कमी छ; मैले यसका उदाहरणहरूबारे पहिले नै बोलिसकेको छु। तिमीहरू लापरवाह र कमजोर स्मरणशक्ति भएका मात्र छैनौ, तिमीहरूमा बोध क्षमताको पनि कमी छ। तिमीहरू यस्तो स्पष्ट ख्रीष्टविरोधीलाई समेत चिन्न सक्दैनौ। के झूटा अगुवाहरूले यस्ता कुरा भन्छन्? के तिनीहरूले जानाजानी र खुल्लमखुल्ला मानिसहरूलाई बहकाउँछन् र परमेश्‍वरको प्रतिरोध गर्छन्? (गर्दैनन्।) तर झूटा अगुवाहरूले भन्ने र गर्ने कुराहरू यसो हेर्दा समस्याजनक नदेखिए पनि तिनीहरूका काममा सिद्धान्तहरू हुँदैनन् र तिनले परिणामहरू हासिल गर्न सक्दैनन्। झूटा अगुवाहरूले मानिसहरूको कुनै पनि समस्या समाधान गर्न सक्दैनन्, र तिनीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा ल्याउन वा तिनीहरूलाई परमेश्‍वरसामु डोर्‍याउन सक्दैनन्। तिनीहरूले भन्ने सबै कुरा सही हुन्छन्, तिनीहरू आफ्नो काममा फिटिक्कै छलछाम गर्दैनन्, तिनीहरूसँग जोस र लगाव हुन्छ, र यसो हेर्दा तिनीहरूमा विश्‍वास हुन्छ, सङ्कल्प हुन्छ, र तिनीहरू कष्ट सहन र मूल्य चुकाउन इच्छुक हुन्छन् जस्तो देखिन्छ। त्यसबाहेक, तिनीहरूमा अथाह सहनशीलता हुन्छ र तिनीहरू हरप्रकारका थकान र कठिनाइमा दृढ रहन सक्छन् जस्ता देखिन्छन्। यति मात्र हो, तिनीहरूको सामर्थ्य र बोध क्षमता कमजोर हुन्छ, र तिनीहरूमा सत्यताको सही बुझाइ हुँदैन। बोध क्षमताको यस्तो कमी हुँदा तिनीहरू के गर्छन्? तिनीहरू यो समस्या हल गर्न नियम र धर्मसिद्धान्तहरू, साथै आफूले बारम्बार बोलिरहने आत्मिक सिद्धान्तहरू प्रयोग गर्छन्। तिनीहरूले नेतृत्व गरेको केही वर्षपछि, मानिसहरूमा हरप्रकारका धर्मसिद्धान्त, नियम र बाहिरी अभ्यासहरू देखा पर्छन्। मानिसहरू यी धर्मसिद्धान्त, नियम र अभ्यासहरू पालना गर्छन्, र आफूले सत्यता अभ्यास गरिरहेको र सत्यता वास्तविकतामा प्रवेश गरिरहेको ठान्छन्, तर वास्तवमा तिनीहरू अझै पनि सत्यता वास्तविकताबाट एकदमै टाढा छन्! एकपटक मानिसहरूको हृदय यी कुराहरूले भरिएपछि, र यी कुराहरूले हृदयमा प्रभुत्व जमाएपछि र हृदयलाई डोऱ्याएपछि, यी कुराहरू हल गर्न गाह्रो हुन्छ। ती प्रत्येकलाई एकएक गरी चिरफार र विश्‍लेषण गर्नैपर्ने हुन्छ ताकि तिनलाई मानिसहरूले बुझून्। त्यसपछि, मानिसहरूलाई सत्यता, धर्मसिद्धान्त, नारा र नियमहरू, अनि सत्यताको सही बुझाइ, सही भनाइ र सत्यता सिद्धान्तहरू के हुन् भनेर बताउनैपर्ने हुन्छ। यी सबै कुरा एकएक गरी समाधान गर्न आवश्यक छ; अन्यथा, तुलनात्मक रूपमा सुसंस्कारी, नियमपालक र आत्मिकता पछ्याउनेहरूलाई झूटा अगुवाहरूले बहकाउनेछन् र बर्बाद पार्नेछन्। यी मानिसहरू भक्त, अनि कष्ट सहन र मूल्य चुकाउन सक्षम, र परिस्थितिहरू आइपर्दा प्रार्थना गर्न सक्ने देखिन सक्छन्। तथापि, परमेश्‍वर फर्कनुहुँदा, धर्मका मानिसहरूले जस्तै तिनीहरू कसैले पनि उहाँलाई चिन्दैनन्, तिनीहरू कसैले पनि परमेश्‍वरले फेरि नयाँ काम गरिरहनुभएको छ भनेर स्विकार्दैनन्, र तिनीहरू सबैले नै उहाँको प्रतिरोध गर्छन्। यस्तो किन हुन्छ? किनभने झूटा अगुवा र ख्रीष्टिविरोधीहरूले तिनीहरूलाई बहकाएका छन्—ती झुटा अगुवा र ख्रीष्टिविरोधीहरूले परमेश्‍वरका धेरै इमानदार विश्‍वासीहरूलाई हानि गरेका र बर्बाद पारेका छन्।

झूटा अगुवाहरू शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्—तिनीहरूले मानिसहरूलाई बुझाउने कुरा भनेको केवल धर्मसिद्धान्त हो, सत्यता होइन, र तिनीहरूले मानिसहरूलाई देखाउने कुरा भनेको झूटो आत्मिकता मात्र हो। शब्द र धर्मसिद्धान्तहरू बोल्नुका परिणामहरू के हुन्? झूटो आत्मिकता, झूटो बुझाइ, झूटो ज्ञान, झूटो अभ्यास, र झूटो अनुपालन—त्यो सबै झूटो हुन्छ। त्यो “झूटोपन” कसरी उत्पन्न हुन्छ? त्यो झूटा अगुवाहरूमा सत्यताको विकृत, एकतर्फी र सतही बुझाइ भएकोले र तिनीहरूले सत्यताको सार बिलकुलै बुझ्न नसकेकोले गर्दा उत्पन्न हुन्छ। झूटा अगुवाहरू मानिसहरूलाई थुप्रै नियमहरू, शब्द र धर्मसिद्धान्तहरू, साथै केही नारा र सिद्धान्तहरू दिन्छन्। ती मानिसहरूले परमेश्‍वरका वास्तविक अभिप्राय पटक्कै बुझ्दैनन्, र तिनीहरूलाई विभिन्न जटिल परिस्थितिहरू आइपर्दा, ती कसरी सम्हाल्ने र तिनलाई कसरी लिने, वा परमेश्‍वरका अभिप्राय कसरी बुझ्ने भनेर थाहै हुँदैन। के यस्ता व्यक्तिहरू परमेश्‍वरसामु आउन सक्छन्? के तिनीहरूले परमेश्‍वरलाई स्विकार्न र उहाँको प्रतिरोध गर्न छोड्न सक्छन्? अहँ, तिनीहरूले सक्दैनन्। तसर्थ, तिमीहरूले झूटा अगुवाहरूका विधर्म र भ्रमहरू सारांशीकृत गर्नु र बुझ्नु महत्त्वपूर्ण र अत्यावश्यक छ। अनि सारांशीकृत गर्ने क्रममा, तिनलाई ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन प्रयोग गर्ने भ्रमहरूबाट छुट्याउनु अत्यावश्यक छ। अगुवा र कामदारहरूको दोस्रो जिम्मेवारी—हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने विविध कठिनाइहरू समाधान गर्नु—भन्‍ने सम्बन्धमा, हामी झूटा अगुवाहरूका विभिन्न अभ्यास र झूटा अगुवाहरूका समस्याहरूको सार विश्‍लेषण गर्दै हाम्रो सङ्गति यहीँ समाप्त गर्दछौँ।

विषयवस्तु तीन: हरेक कर्तव्य उचित तरिकाले पालना गर्नको निम्ति बुझ्‍नुपर्ने सत्यता सिद्धान्तहरू सङ्‍गति गर्ने (भाग एक)

झूटा अगुवाहरू मानिसहरूलाई अर्ती दिन शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्

अब, हामी अगुवा र कामदारहरूको तेस्रो जिम्मेवारी—हरेक कर्तव्य उचित तरिकाले पालना गर्नको निम्ति बुझ्‍नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्‍गति गर्ने—भन्‍नेबारे सङ्गति गर्नेछौँ। यो अगुवा र कामदारहरूको महत्त्वपूर्ण र आधारभूत काम हो, र हामी यस जिम्मेवारीको आधारमा झूटा अगुवाहरूका प्रकटीकरणहरूलाई सङ्गति र चिरफार गर्नेछौँ। मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा कुनै अगुवा वा कामदारले स्पष्टसँग सङ्गति गर्न सक्नु भनेको ऊसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुराको सर्वोत्तम सूचक हो, र त्यो उसले वास्तविक काम राम्रोसँग गर्न सक्छ कि सक्दैन भनेर निर्धारण गर्ने कडी हो। अब, झूटा अगुवाहरूले यस कामलाई कसरी सम्हाल्छन् भनेर हेरौँ। झूटा अगुवाहरूको एउटा विशेषता भनेको सत्यता सिद्धान्तहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू राम्रोसँग व्याख्या गर्न वा प्रस्ट पार्न नसक्नु हो। यदि कसैले तिनीहरूलाई सोधेमा, तिनीहरूले उसलाई केही खोक्रा शब्द र धर्मसिद्धान्तहरू मात्र बताउन सक्छन्। समाधान गर्न आवश्यक समस्याहरू सामना गर्नुपर्दा, तिनीहरूले बारम्बार जवाफमा यस्तो वाक्य फर्काउँछन्, “तिमीहरू सबै जना यो कर्तव्य निभाउनमा निपुण छौ। यदि तिमीहरूलाई समस्याहरू छ भने, तिमीहरू आफैले तिनको समाधान गर्नुपर्छ। मलाई नसोध; म कुनै विज्ञ होइन, र म बुझ्दिनँ। त्यसलाई तिमीहरू आफैले सम्बोधन गर।” कतिपय मानिसहरूले प्रतिवाद गर्न सक्छन्, “हामीले समस्या समाधान गर्न नसक्ने भएरै तपाईँलाई सोधेका हौँ; हामीले समाधान गर्न सक्ने भए तपाईँलाई सोध्ने नै थिएनौँ। हामी सत्यता सिद्धान्तहरूसम्बन्धी यो समस्या बुझ्दैनौँ।” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “के मैले तिमीलाई सिद्धान्तहरू बताइसकेको छैन र? आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर, बाधा वा अवरोधहरू सिर्जना नगर। तिमी अझै पनि केका बारेमा सोधिरहेका छौ? तिमीलाई जसरी उचित लाग्छ, त्यसलाई त्यसरी नै सम्हाल! परमेश्‍वरका वचनहरू बोलिसकिएका छन्: परमेश्‍वरको घरका हितहरूलाई प्राथमिकता देऊ।” ती मानिसहरू पूर्णतया अन्योलमा पर्छन्, र यसो सोच्छन्, “यो त समस्याको समाधान होइन!” झूटा अगुवाहरूले कामप्रति यस्तो व्यवहार गर्छन्; तिनीहरूले विरलै त्यसको निरीक्षण गर्छन्, झारा टार्छन्, र समस्याहरूलाई कहिल्यै सम्बोधन गर्दैनन्। मानिसहरूले जस्तोसुकै मामलाहरू उठाए पनि, झूटा अगुवाहरूले उनीहरूलाई आफै सत्यता खोजी गर्न भन्छन्। तिनीहरूले मानिसहरूलाई प्रायः सोध्छन्, “के तिमीलाई कुनै समस्याहरू छन्? तिम्रो जीवन प्रवेश कस्तो छ? के तिमी आफ्ना कर्तव्यहरू झाराटारुवा तरिकाले गरिरहेका छौ?” ती मानिसहरूले यसो भन्दै जवाफ दिन्छन्, “कहिलेकाहीँ, म आफूलाई झाराटारुवा स्थितिमा पाउँछु, अनि प्रार्थनामार्फत, म त्यसलाई समाधान गर्छु र आफूलाई सुल्ट्याउँछु, तर म अझै पनि आफ्नो कर्तव्य पूरा गर्ने सत्यता सिद्धान्तहरू बुझ्दिनँ।” झूटा अगुवाहरू भन्छन्, “के मैले यसअघिको भेलामा तिमीसँग ठोस सिद्धान्तहरू सङ्गति गरिनँ र? मैले तिमीलाई परमेश्‍वरका वचनहरूका कैयौँ खण्डहरूसमेत प्रदान गरेँ। अहिलेसम्ममा तिमीले बुझ्नुपर्ने होइन र?” खासमा, उनीहरूले सबै धर्मसिद्धान्त बुझ्छन् तर अझै पनि आफ्ना समस्याहरू समाधान गर्न असक्षम नै रहन्छन्। झूटा अगुवाहरू भव्य सुनिने वचनहरूसमेत ओकल्ने गर्छन्, “तिमीले त्यसलाई किन समाधान गर्न सक्दैनौ? तिमीले परमेश्‍वरका वचनहरू राम्रोसँग पढेकै छैनौ। यदि तिमीले अझ धेरै प्रार्थना गर्‍यौ र परमेश्‍वरका वचनहरू अझ धेरै पढ्यौ भने, तिम्रा सारा समस्याहरू समाधान हुनेछन्। तिमीहरूले सँगै छलफल गर्न अनि उपाय पत्ता लगाउन सिक्नुपर्छ, त्यसपछि अन्तत: तिमीहरूका समस्याहरू समाधान हुनेछन्। पेशागत समस्याहरूका सम्बन्धमा मलाई नसोध; मेरो जिम्मेवारी भनेको काम निरीक्षण गर्नु हो। मैले आफ्नो कार्य पूरा गरेको छु, बाँकी कुरा पेशागत मामलाहरूसँग सम्बन्धित छन्, जुन म बुझ्दिनँ।” झूटा अगुवाहरू मानिसहरूलाई टार्न र प्रश्नहरू छल्न प्रायः “म बुझ्दिनँ, मैले यो कुरा कहिल्यै सिकिनँ, म कुनै विज्ञ होइन” भन्‍ने कारण र बहानाहरू प्रयोग गर्छन्। तिनीहरू अत्यन्तै विनम्र देखिएलान्; तर, यसले झूटा अगुवाहरूको एउटा गम्भीर समस्या खुलासा गर्छ—तिनीहरूसँग निश्चित कार्यहरूमा पेशागत ज्ञानसम्बन्धी समस्याहरूबारे कुनै बुझाइ हुँदैन, तिनीहरू शक्तिहीन महसुस गर्छन् र अत्यन्तै अफ्ठ्यारो र लज्जित महसुस गरिरहेको देखिन्छन्। त्यसपछि तिनीहरूले के गर्छन्? तिनीहरूले सबैसँग सङ्गति गर्न परमेश्‍वरका वचनका कैयौँ खण्डहरू जम्मा गर्न, र मानिसहरूलाई अर्ती दिन केही धर्मसिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्छन्। अलिकति दया भएका अगुवाहरूले मानिसहरूप्रति चासो देखाउन र बेलाबेलामा उनीहरूलाई यस्तो सोध्न सक्छन्, “के तिमीहरूले आफ्नो जीवनमा हालसालै कुनै कठिनाइहरू सामना गरेका छौ? के तिमीहरूसँग लगाउनका लागि कपडाहरू पर्याप्त छन्? के तिमीहरूमध्ये कसैले गलत व्यवहार गर्दै आएका छौ?” यदि सबैले उनीहरूलाई ती समस्याहरू छैनन् भनेमा, तिनीहरूले “त्यसोभए कुनै समस्या छैन। आ-आफ्नो काम जारी राख; मैले अरू मामलाहरूमा सम्हाल्नु छ” भनेर जवाफ दिन्छन्, र कसैले प्रश्नहरू सोध्ला र तिनलाई समाधान गर्न भन्ला, तिनीहरूलाई लाजमर्दो परिस्थितिमा पार्ला भन्‍ने डरले हतारहतार निस्कन्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले कसरी मण्डलीको काम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन् त? फलस्वरूप, समाधान नभएका समस्याहरूको थुप्रोले अन्तत: मण्डलीको कामलाई असर गर्छ। यो झूटा अगुवाहरूले काम गर्ने तरिकाको प्रमुख विशेषता र प्रकटीकरण हो।

झूटा अगुवाहरू आफ्नो काममा प्रचार गर्न मात्र उत्साहित हुन्छन्, र तिनीहरू शब्द र धर्मसिद्धान्तहरू बोल्न अनि मानिसहरूसित अर्ती र सान्त्वनाका शब्दहरू बोल्न खुबै मन पराउँछन्, र मानिसहरूलाई कर्तव्य निर्वाहमा ऊर्जाशील र व्यस्त बनाइयो भने, त्यो आफूले राम्रो काम गरेजस्तै हो भन्ने सोच्छन्। त्यसबाहेक, झूटा अगुवाहरू प्रत्येक व्यक्तिको दैनिक जीवन स्थितिप्रति ध्यान दिन मरिमेट्छन्। त्यस सम्बन्धमा उनीहरूले कुनै कठिनाइहरू सामना गरिरहेका छन् कि भनेर तिनीहरूले मानिसहरूलाई सोध्छन्, र यदि कसैले साँच्चै कठिनाइ सामना गरिरहेको छ भने, तिनीहरू यी कठिनाइ सुल्झाउन मद्दत गर्न इच्छुक हुन्छन्। तिनीहरू यी सामान्य मामिलाहरूमा एकदमै व्यस्त हुन्छन्, त कहिलेकाहीँ त खाना खान पनि भ्याउँदैनन्, र प्रायः राती अबेरसम्म जागै बस्छन् र बिहान चाँडै उठ्छन्। तर तिनीहरूको व्यस्तता र कडा परिश्रम हुँदा पनि, किन मण्डलीको काममा हुने समस्याहरू र परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य निर्वाहमा सामना गर्ने कठिनाइहरू समाधान हुँदैनन्? किनभने झूटा अगुवाहरू कर्तव्य निर्वाहसँग सम्बन्धित सत्यता सिद्धान्तहरू कहिल्यै स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरूले बोल्ने शब्द र धर्मसिद्धान्त, अनि अर्तीहरू पूरै प्रभावहीन हुन्छन् र ती कुराले वास्तविक समस्याहरू कत्ति पनि समाधान गर्न सक्दैनन्। तिनीहरूले जति नै धेरै बोले नि वा तिनीहरू जति नै व्यस्त वा लखतरान भए नि मण्डलीको काममा कहिल्यै कुनै प्रगति हुँदैन। यसो हेर्दा सबैले आफ्नो कर्तव्य निर्वाह गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले त्यति धेरै वास्तविक परिणामहरू प्राप्त गर्दैनन्, किनभने झूटा अगुवाहरू कर्तव्य निर्वाहसँग सम्बन्धित सत्यता सिद्धान्तहरू सङ्गति गर्न वा वास्तविक समस्याहरू सुल्झाउन सत्यता प्रयोग गर्न सक्दैनन्—त्यसैले तिनीहरू कर्तव्य निर्वाहमा आउने कैयौँ समस्या सुल्झाउनै सक्दैनन्। उदाहरणको लागि, एकपटक परमेश्‍वरको घरलाई परमेश्‍वरका वचनका पुस्तकहरू छाप्न आवश्यक पऱ्यो, र एउटा अगुवाले यो कामको जिम्मेवारी लिने दुई व्यक्ति चुन्नुपर्ने भयो। मानिसहरू चुन्ने मापदण्डहरू केके हुन्? तिनीहरूको मानवता तुलनात्मक रूपले राम्रो हुनुपर्छ, तिनीहरू भरपर्दो हुनुपर्छ, र जोखिम उठाउन सक्षम हुनुपर्छ। ती व्यक्तिहरू छनौट गरिएपछि, त्यो अगुवाले तिनीहरूलाई भन्यो, “आज, मैले तिमीहरू दुवैलाई एउटा कुरा सुम्पन बोलाएको हुँ: परमेश्‍वरको घरको एक पुस्तक छाप्नुपर्ने भो, र तिमीहरूले छापाखाना खोजिदिनुपऱ्यो, र सबै प्रति छापिएपछि, तिमीहरूले ती तुरुन्तै परमेश्‍वरका चुनिएका मानिसहरूलाई वितरण गर्नुपर्छ, ताकि उनीहरूले कुनै ढिलाइ नगरी परमेश्‍वरका वचनहरू खान र पिउन सकून्। के तिमीहरू यो काम पूरा गर्न दृढ छौ? के तिमीहरू यो बोझ र यो जोखिम उठाउन इच्छुक छौ?” ती दुई व्यक्तिले यो त परमेश्‍वरले तिनीहरूलाई उचाल्नुभएको हो भन्ठाने, र त्यसैले तिनीहरूले हुन्छ भने। त्यसपछि अगुवाले तिनीहरूलाई सोध्यो, “के तिमीहरू परमेश्‍वरको आज्ञा पूरा गर्न दृढ छौ? के तिमीहरू शपथ खान इच्छुक छौ?” त्यसपछि ती दुई व्यक्तिले शपथ खाए, र भने, “यदि हामीले परमेश्‍वरको आज्ञा पूरा गर्न सकेनौँ र यो काम बिगाऱ्यौँ, जसले गर्दा परमेश्‍वरको घरका काममा नोक्सानी भयो भने, हामीलाई स्वर्गबाट बिजुली र चट्याङले प्रहार गरियोस्। आमेन!” अगुवाले भन्यो, “साथै, हामीले सत्यता सङ्गति पनि गर्नुपर्छ। अहिले यो काम गर्दा के तिमीहरूले व्यवसाय सञ्चालन गरिरहेका हुन्छौ? के तिमीहरूलाई कर्मचारीका रूपमा काम गर्न भनिएको हो?” ती दुई व्यक्तिले जवाफ दिए, “होइन, यो हाम्रो कर्तव्य हो।” अगुवाले भन्यो, “यो तिमीहरूको कर्तव्य भएकोले, तिमीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। तिमीहरूले परमेश्‍वरलाई दुःखित वा चिन्तित तुल्याउन मिल्दैन। जोखिम उठाउन इच्छुक हुनु काफी छैन; तिमीहरूले आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गर्नुपर्छ। तिमीहरूले आफूलाई समस्याहरू आइपर्दा, अझ धेरै प्रार्थना गर्नुपर्छ र एकअर्कासँग परामर्श गर्नुपर्छ। मनमानी गर्ने वा आफूखुसी काम गर्ने नगर्नू। किन मैले तिमीहरू दुईको जोडी बनाएँ? त्यो तिमीहरूले समस्याहरू उत्पन्न हुँदा छलफल गर्न सक भनेर हो, जसले गर्दा तिमीहरूलाई काम गर्न सजिलो हुन्छ। यदि तिमीहरू सहमतिमा पुग्न सकेनौ भने, प्रार्थना गर। प्रत्येक व्यक्तिले आफ्नो राय जिद्दी गर्न छोड्‍नुपर्छ, र सहमतिमा पुगेपछि मात्र काम गर्नुपर्छ। मलाई आशा छ, तिमीहरू दुईले यो काम सफलतापूर्वक पूरा गर्न सक्नेछौ!” अनि अन्त्यमा, अगुवाले आफ्नो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भन्नेबारे परमेश्‍वरका वचनहरूको एउटा अंश भेट्टायो, र ती तीनै जनाले त्यसलाई धेरैपटक प्रार्थना गर्दै पढे। त्यति गरेपछि, त्यो मामिला तिनीहरूलाई सुम्पिइएको, र अगुवाको जिम्मेवारी पूरा भएको मानियो। त्यो अगुवाको कार्यसम्पादन कस्तो थियो? अगुवालाई निकै सन्तुष्ट महसुस भयो, र ती दुई व्यक्तिलाई पनि त्यस्तै महसुस भयो। देख्नेहरूले भने, “यो अगुवालाई वास्तवमै काम सम्पन्न गर्नेबारे केही कुरा थाहा छ; उसको बोली सुव्यवस्थित र तार्किक छ, र ऊ चरणबद्ध रूपमा काम गर्छ। पहिले, उसले ती दुईलाई काम खटायो, र त्यसपछि विचार र दृष्टिकोणसँग सम्बन्धित तिनीहरूका समस्या समाधान गऱ्यो, र अन्त्यमा, उसले केही कठोर वचनहरू बोल्यो, र तिनीहरूलाई शपथ खान र प्रतिज्ञा गर्न लगायो। उसले यो काम साँच्चै विधिवत्‌ तरिकाले गऱ्यो, र ऊ साँच्चै अगुवा पदवीनामको योग्य छ—ऊ अनुभवी छ र उसले बोझ बोक्छ।” अनि अन्त्यमा, अगुवाले तिनीहरूलाई भन्यो, “यो कुरा याद गर: पुस्तक छाप्नु सजिलो काम होइन, यो साधारण व्यक्तिले गर्न सक्ने कुरा होइन। यो काम मैले वा परमेश्‍वरको घरले तिमीहरूलाई सुम्पेको होइन; यो परमेश्‍वरको आज्ञा हो। तिमीहरूले उहाँलाई कदापि निराश पार्नु हुँदैन। तिमीहरूले यो काम राम्रोसँग पूरा गऱ्यौ भने, तिमीहरूको जीवन अघि बढ्नेछ, र तिमीहरूसँग वास्तविकता हुनेछ।” सैद्धान्तिक रूपमा, यी शब्दहरूमा सिद्धान्तको कुनै समस्या थिएन; तिनलाई लगभग सही मान्न सकिन्थ्यो। त्यसोभए, त्यो मामिला विश्‍लेषण गरौँ र त्यो झूटो अगुवामा “झूट” कहाँ प्रकट भयो, त्यो हेरौँ। के अगुवाले त्यो कार्यसँग सम्बन्धित व्यावसायिक र प्राविधिक पक्षजस्ता विभिन्न विस्तृत मामिलाहरूबारे कुनै निर्देशनहरू दियो? के उसले कुनै निर्दिष्ट सत्यता सिद्धान्त वा आवश्यक मापदण्डहरू सङ्गति गऱ्यो? (गरेन।) उसले केही खोक्रा र अर्थहीन शब्दहरू—धेरैजसो मानिसले बारम्बार बोल्ने शब्दहरू, कुनै वजन नभएका शब्दहरू मात्र व्यक्त गऱ्यो। त्यो अगुवाले व्यक्तिगत रूपमै बोलिरहेको र निर्देशन दिइरहेको हुनाले, मानिसहरूले यी शब्दहरूलाई सामान्यभन्दा बढी वजन भएको ठाने, तर वास्तवमा ती केही असान्दर्भिक कुराकानी थिए र तिनले पुस्तक छपाइसम्बन्धी कुनै पनि वास्तविक समस्याहरू समाधान गर्नमा कुनै प्रभाव पार्दैनथे। त्यसोभए, पुस्तक छपाइमा समावेश केही विशेष कुराहरू के हुन् त? हामीले तीबारे छलफल गर्नुपर्छ र त्यो अगुवाले गरेको काम झूटो अगुवाको काम थियो कि थिएन भनेर हेर्नुपर्छ।

सबभन्दा पहिले त, किताब छाप्दा टाइपसेटिङ गर्नुपर्छ, र त्यसपछि पाठको प्रुफरिडिङ गर्नुपर्छ, र विषयसूची र मुख्य पाठको प्रारूप मिलाउनुपर्छ, र साथमा कागजको वजन, रङ, र गुणस्तरको कुरा पनि आउँछ। त्यसैगरी आवरण सामग्रीको पनि कुरा आँउछ, त्यो नरम हुनुपर्छ कि कडा, अनि आवरणको डिजाइन, रङग, ढाँचा, र फन्ट पनि हेर्नुपर्छ। अन्त्यमा, बाइन्डिङ गर्नुपर्छ, अनि टँसाइ गर्ने कि सिलाइ गर्ने त्यो हेर्नुपर्छ। यी सबै मामिला पुस्तक छपाइका दायराभित्र पर्छन्। के त्यो अगुवाले यीमध्ये कुनै कुराबारे छलफल गऱ्यो? (गरेन।) अर्को मामिला छापाखाना खोज्नु हो: छपाइ र बाइन्डिङ मेसिनहरू अत्याधुनिक छन् कि छैनन्, छपाइ र बाइन्डिङको गुणस्तर कस्तो छ र मूल्य के छ—के उसले यी सबै कुराका लागि, साथै सिद्धान्त र दायराको लागि निर्देशन दिनु पर्दैनथ्यो र? यदि त्यो अगुवाले “म यी कुराहरू बुझ्दिनँ; जे छ आफै खोज,” भनेर भनेको भए, के ऊ उपयोगी अगुवा हुन्थ्यो र? के उसले बोलेका असान्दर्भिक शब्दहरूले पुस्तक छपाइमा संलग्‍ने हुने विभिन्न विस्तृत कुराहरू प्रतिस्थापित गर्न सक्छन् र? (सक्दैनन्।) तैपनि त्यो झूटो अगुवाले प्रतिस्थापित गर्न सक्छन् नै भन्ठान्यो। उसले सोच्यो, “मैले यतिका धेरै सत्यता सङ्गति गरिसकेको छु, र मैले तिनीहरूलाई सबै सिद्धान्त बताएको छु। तिनीहरूले यी कुराहरू बुझ्नुपर्छ!” यो “पर्छ” भन्‍ने कुरा नै झूटा अगुवाहरूको तर्क र समस्या समाधान गर्ने विधि हो। अनि अन्त्यमा, पुस्तकहरू छापिएपछि, कागज एकदमै खराब गुणस्तरको र धेरै पातलो भएर अक्षर दुवैतर्फ देखिने भयो, र यसले गर्दा वृद्ध व्यक्ति र कमजोर दृष्टि भएकाहरूलाई ती पुस्तकहरू पढ्न एकदमै श्रमसाध्य र गाह्रो भयो। अन्तिम चरणमा पनि एउटा कुरा थियो, अर्थात् बाइन्डिङ प्रक्रियाको पनि कुरा थियो—मानकअनुसारको बाइन्डिङ छ कि छैन भन्ने कुराले पुस्तकको समग्र गुणस्तर र टिकाइमा असर पार्छ। त्यो अगुवाले निर्देशन नै नदिएकोले, अनि त्यो काम गर्नेहरूमा सिद्धान्त र अनुभवको कमी भएकोले, र उनीहरू गैरजिम्मेवार सौदाबाजीमा संलग्न भएकोले, छापाखानाले घटिया काम गर्‍यो र लागत उठाउन निम्नस्तरका सामग्रीहरू प्रयोग गर्‍यो, र अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गरिएपछि ती पुस्तकहरू दुई महिनाभित्रै बिग्रन थाले। आवरण र पन्नाहरू उप्किएर निस्किए, र सम्पूर्ण छपाइको काम व्यर्थ भयो। त्यो कसको जिम्मेवारी थियो? यदि कसैलाई जवाफदेही ठहराइन्थ्यो भने, पुस्तक छाप्ने जिम्मेवारीमा रहेका ती दुई व्यक्तिहरू प्रत्यक्ष जिम्मेवार हुन्थे, र अप्रत्यक्ष जिम्मेवार त्यो झूटो अगुवा हुन्थ्यो। त्यो झूटो अगुवाले यसो भन्दै बहानासमेत बनायो: “यो काम नराम्रो भएकोमा तिमीहरूले मलाई दोष दिन मिल्दैन; मलाई पनि यो थाहा छैन! मैले कहिल्यै किताब छापेको छैनँ, र म छापाखानाको मालिक होइन। मलाई यी कुराहरूबारे कसरी थाहा हुन्छ र?” के यो बहानाले काम चल्छ? यो काम एक अगुवाको रूपमा उसको जिम्मेवारीको दायराभित्र पर्थ्यो। चाहे त्यो कुनै पेशा र सीप, वा कुनै प्रकारको ज्ञान, वा सत्यतासँग सम्बन्धित काम नै भए नि उसले यसको हरेक भाग बुझ्नु त आवश्यक थिएन, तैपनि के उसले आफूलाई थाहा नभएको कुरा सिक्ने प्रयास गऱ्यो त? के उसले आफ्नो जिम्मेवारी गम्भीर भएर सावधानीपूर्वक पूरा गऱ्यो त? कति मानिसले भन्लान्, “म आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहन्छु, तर म पनि यो बुझ्दिनँ। मैले जति नै सिक्ने प्रयास गरे नि सिक्नै सक्दिनँ!” यसको अर्थ, अगुवाको रूपमा तिनीहरू योग्य छैनन्; तिनीहरू हरदृष्टिले झूटा अगुवा हुन्। पुस्तकको गुणस्तर कमजोर भएकोले दाजुभाइ-दिदीबहिनीहरू केही हदसम्म अप्रसन्न भए, र भने, “यी किताबहरूमा हाम्रो पैसा नपरे नि गुणस्तर एकदमै खतम छ! यो अगुवाले आफ्नो काम कसरी गर्‍यो? उसले यो काम कसरी पूरा गऱ्यो?” अगुवाले यो कुरा सुनेपछि, यस्तो जवाफ दियो, “के तिमीहरूले त्यसको दोष मलाई दिन मल्छ? म छापाखानाको मालिक होइन, र म अन्तिम निर्णय गर्दिनँ। त्यसबाहेक, के यो परमेश्‍वरको घरको पैसा बचाउनु होइन र? के परमेश्‍वरको घरको पैसा बचाउनु गलत हो र?” अगुवाको कुरा सही थियो, ऊ गलत थिएन; अगुवाले कानुनी जिम्मेवारी लिनुपर्दैनथ्यो। तथापि, त्यसमा एउटा समस्या थियो, त्यो के हो भने, पुस्तक छपाइमा लागेको खर्च खेर गयो। दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गरिएका पुस्तकहरू दुई महिनाभित्रै च्यातिएर पन्नाहरू निस्कन थाले। त्यसको जिम्मेवारी कसले लिनुपर्छ? के त्यो अगुवाको जिम्मेवारी थिएन र? त्यो घटना उसको कामको दायराभित्र घटित भयो, र त्यतिबेला उसले अगुवाको रूपमा सेवा गरिरहेको थियो, त्यसैले के उसले जिम्मेवारी लिनुपर्दैन र? उसले त्यो दोष लिनुपर्छ; उसले आफ्नो जिम्मेवारी अस्वीकार गर्न मिल्दैन! कति मानिसहरू यसो भन्दै अनुचित तरिकाले बोल्नसमेत सक्छन्, “मैले यो काम पहिले कहिल्यै गरेको छैनँ। के आफूले कहिल्यै नगरेको काममा गल्ती हुँदैन र?” केवल यो भनाइको आधारमा पनि उनीहरू आफ्नो कामको लागि योग्य हुँदैनन्, र उनीहरूलाई बर्खास्त गरिनुपर्छ। उनीहरू अगुवा हुन लायक छैनन्; उनीहरू खाँटी झूटा अगुवाहरू हुन्। अनेकौँ मिठामिठा शब्दहरू बोल्नु, तर कुनै वास्तविक काम नगर्नु—झूटो अगुवाको सबैभन्दा स्पष्ट प्रकटीकरण नै यही हो।

कतिपय झूटा अगुवाहरू त व्यावहारिक तरिकाले वास्तविक कामको हरपक्ष उचित र ठोस रूपमा गर्नै सक्दैनन्। तिनीहरू केही सामान्य मामिला मात्र सम्हाल्न सक्छन्, र त्यसपछि तिनीहरू आफूलाई एक योग्य अगुवा, एक गजबको व्यक्ति ठान्छन्, र तिनीहरू प्रायः यसो भन्दै घमन्ड गर्छन्, “मैले मण्डलीका सबै कुराबारे चिन्ता लिनुपर्छ, र हरेक समस्या सम्हाल्नुपर्छ। के मण्डली मविना चल्न सक्छ र? यदि मैले तिमीहरूको लागि भेलाहरू आयोजना नगरेको भए, के तिमीहरू रानीविनाको मौरी हुनेथिएनौ र? यदि मैले चलचित्र निर्माण कार्यमा निगरानी राखेर यसलाई सुचारु राख्न मद्दत नगरेको भए, के मानिसहरूले यसमा निरन्तर बाधा पुर्‍याउनेथिएनन् र? के चलचित्र निर्माण कार्य सुचारु ढङ्गमा अगाडि बढ्न सक्थ्यो र? म भजन कार्यमा सामान्य व्यक्ति भए पनि, यदि म तिमीहरूको कामको निरीक्षण गर्न बारम्बार नआएको भए, मैले तिमीहरूको लागि परिस्थिति ठिकठाक नराखेको भए, र तिमीहरूको लागि भेलाहरू आयोजना नगरेको भए, के तिमीहरूले ती भजनहरू निर्माण गर्न सक्थ्यौ र? तिमीहरूलाई त्यो फत्ते गर्न कति समय लाग्‍थ्यो होला?” यी भनाइहरू उचित र सही लाग्लान्, तर यदि तिमीहरूले ध्यान दिएर हेऱ्यौ भने, यी झूटा अगुवाहरूले रेखदेख गरेको व्यावसायिक कामका विभिन्न पक्षहरूको कसरी प्रगति भइरहेको हुन्छ? के तिनीहरू सत्यता सिद्धान्तहरूमा स्पष्टसँग सङ्गति गर्न सक्छन्? (सक्दैनन्।) एकपटक, एउटा चलचित्र निर्माण टोलीलाई पोशाकको रङसम्बन्धी समस्या आइपऱ्यो। उनीहरूले धेरै स्थिर तस्बिरहरू खिचे, अनि तस्बिरमा भएका पृष्ठभूमि र मानिसहरू फरक थिए, तर पोशाकका रङहरू मूलतः एउटै थिए—ती सबै माटो रङका खैरा र पहेँला थिए। मैले सोधेँ, “यो के भएको? तिनीहरूले किन यी रङका लुगा लगाएका?” तिनीहरूले यो रङ उद्देश्यपूर्ण रूपमा छनौट गरिएको, र धेरै परिश्रम र प्रयास गरेर ती लुगाहरू बजारबाट ल्याइएको हो भनेर भने। मैले भनेँ, “तिमीहरूले किन यो रङ छनोट गरेको? के माथिले त्यसबारे तिमीहरूलाई निर्देशन दिएको हो? के माथिले तिमीहरूलाई विभिन्न रङ प्रयोग गर्नुपर्छ, र रङहरू मर्यादित र शालीन हुनुपर्छ भनेर नर्देशन दिएको होइन र? कसरी यस्तो हुन गयो?” अन्त्यमा, सोधपुछपछि केही मानिसहरूले भने, “अरू रङहरू त्यति मर्यादित र शालीन, वा परमेश्‍वर वा सन्तहरूमा विश्‍वास गर्नेहरूले लाउनेजस्तो देखिँदैनन्। यो रङ मात्र विश्‍वासीहरूले लाउनुपर्नेजस्तो देखिन्छ। त्यसैले, सबैले यस्ता रङका लुगा लाउँदा परमेश्‍वरको सबैभन्दा बढी महिमा हुन्छ र यसले परमेश्‍वरको घरको छविलाई सबैभन्दा राम्रोसित प्रतिनिधित्व गर्छ भन्ने विचार राखे।” मैले भनेँ, “मैले तिमीहरू कसैलाई कहिल्यै यी रङका लुगा लाउनू भनेर भनेको छैनँ। मर्यादित र शालीन रङहरू प्रशस्तै छन्। सोच त, परमेश्‍वरले मानवजातिसँग आफ्नो करारको चिन्हको रूपमा स्थापित गर्नुभएको इन्द्रेणी कति सुन्दर छ। त्यसमा रातो, सुन्तले, पहेँलो, हरियो, नीलो, नीर, र बैजनी रङगहरू छन्—त्यसमा तिमीहरूले लाइरहेको रङबाहेक सबै रङ छन्। किन तिमीहरूले ती रङहरू छनौट गरेको?” के तिनीहरूको अगुवाले यी मामिलामा जाँच गर्न ठोस काम गऱ्यो? म ठोकेरै भन्छु, उसले त्यसो गरेन। यदि त्यो अगुवासँग शुद्ध बुझाइ भएको भए अनि उसले सत्यता र परमेश्‍वरका मापदण्डहरू साँच्चै बुझेको भए, चलचित्र निर्माण टोलीका सदस्यहरूले त्यस्ता पोशाक छनौट गर्नेथिएनन् बरु त्यसबारे माथिसँग परामर्श माग्नेथिएनन्। पोशाकको समस्या तल्लो तहमै समाधान गर्न सकिन्थ्यो, तर त्यो झूटो अगुवाले त्यसलाई समाधान गर्न सकेन। बरु, उसले लाज पचाएर माथिसँग त्यसबारे सोध्यो। के त्यस्तो व्यक्तिलाई काटछाँट गर्नुपर्दैन र? त्यो झूटो अगुवाले त्यस्तो सबैभन्दा साधारण समस्या पनि समाधान गर्न सकेन—उसको के काम छ र? ऊ त केवल कसिङ्गरको टुक्रा मात्र हो! उसलाई परमेश्‍वरको महिमा गर्न र उहाँको गवाही दिन भनिएको थियो, तर उसले परमेश्‍वरलाई बदनाम गऱ्यो। के उसले धेरै कुरा बुझ्दैन र? के उसले ज्ञान र सिद्धान्तहरूको भण्डार व्यक्त गर्न सक्दैन र? तैपनि किन ती सबै सिद्धान्त र ती सबै ज्ञान यो परिस्थितिमा प्रभावहीन भए त? कसरी उसले पोशाकको समस्या सुल्झाउन र जाँच्‍नसमेत सकेन? के उसले अगुवाको रूपमा पार्नुपर्ने प्रभाव पारेको छ? के उसले अगुवाको रूपमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको छ? यो त झूटो अगुवाको एउटा प्रकटीकरण हो। कुनै पनि निर्दिष्ट कार्यमा झूटा अगुवाहरूसित सिद्धान्त बुझाइको कमी हुन्छ। तिनीहरू सत्यताको विकृत बुझाइको कुनै पनि समस्या समयमै सच्च्याउन र समाधान गर्न, र यसमार्फत मानिसहरूलाई दिशा र मार्ग खोज्न सक्षम बनाउन सक्दैनन्। झूटा अगुवाहरू केवल शब्द र धर्मसिद्धान्तहरू व्यक्त गर्छन् र नारा फलाक्छन्; तिनीहरू कुनै पनि ठोस काम गर्न सक्षम हुँदैनन्।

झुटा अगुवाहरू वास्तविक काम गर्दैनन् वा आफ्नो उचित कामलाई ध्यान दिँदैनन्

कतिपय झुटा अगुवाहरू कुनै ठोस काम गर्न सक्दैनन्, तर केही महत्त्वहीन सामान्य मामिलाहरू सम्हाल्छन्, र यो ठोस काम गर्नु हो, यो आफ्ना जिम्मेवारीको दायराभित्र पर्छ भन्ने सोच्छन्। त्यसबाहेक, तिनीहरू यी मामिलालाई एकदमै गम्भीर ढङ्गमा सम्हाल्छन् र तिनमा निकै धेरै प्रयास लगाउँछन्, ती एकदमै शिष्ट तरिकाले पूरा गर्छन्। उदाहरणका लागि, मण्डलीमा एक जना व्यक्ति थियो जसले पहिले पेस्ट्री बाबर्चीका रूपमा काम गरेको थियो। एक दिन, उसले राम्रै मनले मेरा लागि पेस्ट्री बनाउने निर्णय गर्‍यो र मलाई त्यसबारे जानकारी नदिई त्यसको तयारी गर्‍यो। उसले त्यो बनाउन अनुमति छ कि छैन भनेर आफ्ना अगुवाहरूलाई सोध्यो, र तिनीहरूले भने, “बनाऊ न त। यदि त्यो स्वादिष्ट भयो भने, हामी त्यो परमेश्‍वरलाई चढाउनेछौँ। यदि स्वादिष्ट भएन भने, हामी सबैले त्यो खान सक्छौँ।” उसले अगुवाहरूको अनुमति पाएको थियो, जसले गर्दा यो काम वैध र उचित बन्यो, त्यसैले उसले तुरुन्तै सामग्री जुटाएर यसो भन्दै पहिलो खेपको पेस्ट्री बनायो, “यो स्वादिष्ट हुन्छ कि हुँदैन, वा यो परमेश्‍वरलाई चित्तबुझ्दो हुन सक्छ कि सक्दैन, वा उहाँलाई यसको स्वाद मन पर्छ कि पर्दैन, त्यो मलाई थाहा छैन।” अगुवाहरूले जवाफ दिए, “ठिक छ। हामी हाम्रो केही समय र स्वास्थ्य त्याग गर्नेछौँ, र परमेश्‍वरका लागि थोरै जोखिम मोल्नेछौँ। हामी पहिले त्यो चाखेर परमेश्‍वरका लागि ठिक हुन्छ कि हुँदैन भनेर जाँच्नेछौँ। यदि त्यो साँच्चै स्वादिष्ट भएन र हामीले परमेश्‍वरलाई त्यो खान आग्रह गर्‍यौँ भने, उहाँ हामीसँग अप्रसन्न र एकदमै दुःखी हुनुहुनेछ। त्यसकारण, अगुवाका रूपमा हामीसँग यस मामिला सम्बन्धी जाँच गर्ने जिम्मेवारी र दायित्व हुन्छ। यो ठोस काम गर्नु हो।” त्यसपछि, अलिकति “जिम्मेवारी बोध” भएको प्रत्येक समूहको प्रमुखले पेस्ट्री चाख्यो। त्यो चाखेपछि, तिनीहरूले यसो भन्दै समीक्षा गरे, “यस खेपमा ओभन धेरै तातिएछ, तापक्रम अति उच्च भएछ, र सायद त्यसले गर्दा पेस्ट्री भित्रपट्टि डढ्योजस्तो छ—त्यो अलि तितो पनि छ। त्यो राम्रो होइन! हामीले जिम्मेवार मनोवृत्ति राखेर अर्को खेप पकाउनुपर्छ र फेरि त्यो चाख्नुपर्छ!” तिनीहरूले यस खेपको पेस्ट्री चाखेपछि भने, “यो लगभग ठिक छ। यसमा मखनको बास्ना छ, अण्डा र तिलको स्वाद पनि छ। यो हो नि त पेस्ट्री बाबर्चीको कमाल! पेस्ट्रीहरू धेरै छन्, र परमेश्‍वर एक्लैले यी सबै खान सक्नुहुन्न, एउटा सानो भाँडामा १०-२० वटा हालौँ, र नमुनाका रूपमा परमेश्‍वरलाई चाख्न दिऊँ। यदि परमेश्‍वरलाई ती स्वादिष्ट लाग्यो भने, हामी त्यो धेरै मात्रामा पकाउन जारी राख्न सक्छौँ।” तिनीहरूले मलाई एउटा भाँडो दिए, र मैले तीमध्ये दुइटा चाखेँ। मलाई ती ठिकैको नयाँ स्वाद लाग्यो, तर त्यो मुख्य खानाका रूपमा उपयुक्त थिएन, त्यसैले मैले त्यो खान बन्द गरेँ। कतिपय मानिसले त्यो ठिकैको स्वादको भए पनि परमेश्‍वरको घरको सदस्यले घरमै बनाएको, प्रेम, बफादारी र भयले भरिएको, अनि त्यसले धेरै अर्थ बोकेको समेत ठाने। पछि, मैले पेस्ट्रीको भाँडो फिर्ता गरेँ। मलाई त्यस्ता कुरामा रुचि छैन र म त्यसको भोको छैनँ। त्यसबाहेक, यदि मलाई पेस्ट्रीको तीव्र चाहना भएमा, म धेरै पैसा खर्च नगरी बजारमा विभिन्न स्वाद र विभिन्न देशका पेस्ट्री किन्न सक्छु। पछि, मैले तिनीहरूलाई भनेँ, “म तिमीहरूको भावनाको कदर गर्छु, तर कृपया मेरा लागि अब योभन्दा बढी नबनाऊ। म त्यो खानेछैनँ, र यदि मलाई केही चाहियो भने, म आफै किन्नेछु। यदि आवश्यकता पर्‍यो भने, मैले बनाउनू भनेपछि मात्र बनाउनू; यदि मैले तिमीहरूलाई बनाउनू भनेर भनिनँ भने, त्यो फेरि बनाउनु आवश्यक छैन।” के यो कुरा बुझ्न एकदमै सजिलो थिएन र? यदि तिनीहरू सुसंस्कारी र आज्ञाकारी भएका भए, तिनीहरूले मेरा शब्दहरू सम्झनेथिए र फेरि त्यो बनाउन छोड्ने थिए। जब परमेश्‍वर बोल्नुहुन्छ, तब त्यो हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन हो, र “कुनै पनि नबनाऊ” भन्नुको अर्थ “कुनै पनि नबनाऊ” हो। तर, केही समय बितिसकेपछि, तिनीहरूले मलाई थप दुई भाँडा पेस्ट्री पठाए। मैले तिनीहरूलाई भनेँ, “मैले तिमीहरूलाई अबउसो नबनाउनू भनेको होइन?” तिनीहरूले जवाफ दिए, “यो पहिलेको भन्दा फरक छ।” मैले जवाफमा भनेँ, “त्यो फरक भए पनि पेस्ट्री नै त हो। कुनै पनि पेस्ट्री बनाउनु आवश्यक छैन। म सिधै भन्दै छु—यदि मलाई केही चाहिएमा, म तिमीहरूलाई भन्नेछु। के तिमीहरू मानव भाषा बुझ्न सक्दैनौ? अबउसो त्यो नबनाऊ।” के यी शब्दहरू बुझिन्छ? (बुझिन्छ।) तैपनि त्यो बनाउने व्यक्तिले किन सधैँ बिर्सेजस्तो देखिन्छ? यदि पेस्ट्री बनाउने व्यक्तिका अगुवाहरूले उसलाई जाँच गर्न, यो गर्नमा ऊसँग सक्रिय रूपमा सहकार्य नगर्न वा उसलाई प्रोत्साहित नगर्न सकेका, र उसलाई तुरुन्तै प्रतिबन्ध लगाउन सकेका भए, के उसले अझै त्यसो गर्ने हिम्मत गर्नेथ्यो? कम्तीमा पनि, उसले यो यति साहस र बेइमानीपूर्वक गर्नेथिएन। त्यसोभए, ती अगुवाहरूले यस परिस्थितिमा कस्तो प्रभाव पारे? तिनीहरूले हरकुरामाथि नियन्त्रण जमाए, सबै कुरामा हस्तक्षेप गरे, र मेरो तर्फबाट जाँच गर्ने जिम्मेवारी लिए। तिनीहरू यति “प्रेमिला” थिए कि जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। के तिनीहरूले गर्नुपर्ने काम यही हो? परमेश्‍वरको घरको कामका सिद्धान्तहरूभित्र यसो गर्नुपर्ने कुनै निर्देशनहरू थिएनन् र मैले तिनीहरूलाई यो काम सुम्पेको थिइनँ; यो मानिसहरूले नै सुरु गरेका थिए, मैले त्यो अनुरोध गरेको थिइनँ। त्यसोभए यी अगुवाहरूले किन यस कामलाई यति सक्रिय रूपमा अघि बढाए? यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो: आफ्नो उचित कामप्रति ध्यान नदिने। मण्डलीमा तिनीहरूले अनुगमन, निरीक्षण र आग्रह गर्नुपर्ने एकदमै धेरै काम थिए, अनि तिनीहरूले सत्यतामा सङ्गति गरेर समाधान गर्नुपर्ने एकदमै धेरै वास्तविक समस्याहरू थिए, तर तिनीहरूले त्यो कुनै काम गरेनन्। यसको सट्टा, तिनीहरूलाई भान्साकोठामा मेरा लागि पेस्ट्रीहरू चाख्ने फुर्सद थियो। यस मामिलामा तिनीहरू निकै गम्भीर र धेरै प्रयासरत थिए। के यो झूटा अगुवाहरूले गर्ने कुरा होइन र? के यो पहिले नै धेरै घृणित छँदै थियो होइन र? केही समय बितेपछि यो मामिला फेरि देखा पर्नेछ भनेर मैले कहिल्यै सोचेको थिइनँ। पेस्ट्री बनाउने व्यक्तिले फेरि मेरा लागि पेस्ट्री बनाउन सुरु गर्न चाहन्थ्यो। मैले एक जना अगुवालाई तोकेरै भनेँ, “तँ गएर यो कुरा हल गर्। तैँले यो कुरा उसलाई स्पष्ट रूपमा बुझाउनुपर्छ। यदि उसले फेरि त्यसै गर्‍यो भने, म तँलाई जवाफदेही ठहराउनेछु!” मण्डलीमा गर्नुपर्ने धेरै काम भएकाले, कुनै पनि कामले तिनीहरूलाई केही समयका लागि व्यस्त बनाउनेथ्यो। तिनीहरू किन यति निष्क्रिय थिए? के तिनीहरू यहाँ आफूलाई पोस्याउन वा बेकारको गफसफ गर्नका लागि आएका थिए? यो ठाउ ती कुराका लागि होइन। त्यसपछि, यस विषयमा थप कुनै खबर आएन। मैले त्यो निर्देशन दिएपछि, त्यस अगुवाले कुनै रिपोर्ट दिएन। जे भए पनि, कसैले पनि मलाई ती स-साना पेस्ट्रीहरू फेरि पठाएन, जुन धेरै राहतको कुरा थियो। यस घटनालाई नियाल्दा, के हामी यी अगुवाहरूले आफ्नो उचित काममा ध्यान दिइरहेका थिएनन् भनेर भन्न सक्छौँ? (सक्छौँ।) यो मामिला त्यति गम्भीर पनि होइन; त्योभन्दा अझ गम्भीर मामिलाहरू छन्।

म कतिपय मण्डलीमा वरिपरि हेर्न, अगुवाहरूलाई भेट्न, केही काममा निर्देशन दिन र केही समस्याहरू समाधान गर्नका लागि प्रायः गइरहन्छु। कहिलेकाहीँ, मैले यी मण्डलीहरूमा दिउँसोको खाना खानुपर्ने हुन्छ, जसले गर्दा खाना कसले तयार पार्ने भन्ने प्रश्न उठ्छ। अगुवाहरू यति जिम्मेवार थिए कि तिनीहरूले बाबर्ची हुँ भनी दाबी गर्ने व्यक्तिलाई रोजे। मैले भनेँ, “ऊ बाबर्ची हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण होइन; महत्त्वपूर्ण कुरा के हो भने म साधारण खाना रुचाउँछु। मलाई मौलिक स्वादको खानेकुरा चाख्न मन पर्छ। खाना धेरै नुनिलो, चिल्लो वा पिरो हुनु हुँदैन। जाडोमा मलाई तातो कुरा खानुपर्ने हुन्छ। साथै, खाना राम्ररी पाकेको हुनुपर्छ, अधकल्चो पाकेको हुनु हुँदैन, र सजिलै पच्ने हुनुपर्छ।” के मैले यी सिद्धान्तहरू स्पष्ट रूपमा बताएको थिइनँ? के ती पालना गर्न सजिला थिए? ती सम्झन र पूरा गर्न दुवै सजिला थिए। तीनदेखि पाँच वर्षसम्म खाना पकाएको कुनै पनि गृहिणीले यी सिद्धान्तहरू बुझ्न र पालना गर्न सक्थी। त्यसैले, मेरो खाना बनाउनका लागि बाबर्ची खोज्न अड्डी कस्नु पर्दैनथ्यो; घरमा पकाइने खानेकुरा बनाउन सक्ने व्यक्ति भए पुग्थ्यो। तर, यी अगुवाहरू यति “प्रेमिला” थिए कि उनीहरूले मलाई अतिथि सत्कार गर्दा खाना तयार पार्न “बाबर्ची” खोज्न अड्डी कसे। बाबर्चीले आधिकारिक रूपमा मेरा लागि खाना बनाउनुअघि, अगुवाहरूले जाँच गर्नुपर्थ्यो। तिनीहरूले यो कसरी गरे? तिनीहरूले बाबर्चीलाई मोमो र ग्रेभीयुक्त थुक्पाको परिकार बनाउन लगाए, र केही परिकारलाई परपर भुट्न लगाए। विभिन्न समूहका सबै अगुवा र प्रमुखहरूले ती चाखे, र तिनीहरूलाई सबै परिकार निकै राम्रो लाग्यो। अन्त्यमा, तिनीहरूले त्यस बाबर्चीलाई मेरा लागि खाना पकाउने कामको जिम्मा लिन भने। अगुवाहरूको स्वाद परीक्षणका नतिजा र यसमा समावेश समस्याहरूको प्रकृतिलाई छोडेर, पहिले यस बाबर्चीले तयार पारेको खानाबारे कुरा गरौँ। पहिलोपटक म जाँदा, बाबर्चीले केही परिकार परपर भुट्यो, र सबै जना निकै सन्तुष्ट भए। दोस्रोपटक, बाबर्चीले मोमो बनायो। सुरुमा एउटा खाएपछि, मलाई कस्तो-कस्तो लाग्यो—त्यो अलि मसलादार थियो। मेरो वरपरका अरूले पनि मोमो अलि पिरो छ भने, र तिनीहरूलाई जिब्रो सुन्निन थालेको महसुस भयो। तर, मोमो नै मुख्य खाना भएकाले, पिरो भए पनि मैले त्यो सकाउनुपर्‍यो। किमामा खुर्सानी देखिँदैनथ्यो, त्यसैले मैले पिरो हुनुको कारणलाई बेवास्ता गरेँ र खाना सकाएँ। फलस्वरूप, त्यो साँझ मेरो शरीरमा एलर्जी हुन थाल्यो। मेरो शरीरका धेरै ठाउँमा लगातार चिलाउन थाल्यो, र मैले कन्याएको कन्याएकै गर्नुपर्‍यो; मैले रगत निस्किन्जेल कन्याएपछि मात्र अलि आराम मिल्यो। मलाई तीन दिनसम्म चिलायो र त्यसपछि बिस्तारै चिलाउन कम भयो। यो एलर्जी भएपछि, मलाई मोमोमा पक्कै पनि मरिच लगाएको रहेछ भन्ने थाहा भयो; नत्र त्यो त्यति पिरो हुनेथिएन। मैले तिनीहरूलाई मरिचजस्ता पिरो सामग्रीहरूले मलाई राम्रो नगर्ने भएकाले ती नहाल्नू भनेको थिएँ। तर, तिनीहरूले आफ्नो लागि स्वादिष्ट बनाउन त्यो निकै मात्रामा लगाएछन्, जुन सामान्य मात्राभन्दा बढी थियो; त्यो मोमो खाँदा पिरो स्वाद आउँथ्यो। बाबर्चीले खाना पकाउँदा ठिक्क अनुपात मिलाउनसमेत सकेको थिएन, उसले कसैलाई एलर्जी हुनेगरी मरिच हालेको थियो। पछि, मैले उसलाई भनेँ, “ती मसलाहरू फेरि कहिल्यै नहाल्। त्यसले मलाई राम्रो गर्दैन। यदि तँमा साँच्चै कुनै मानवता छ भने, फेरि त्यसो नगर्। यदि तँ आफ्ना लागि खाना पकाउँछस् भने, म तेरा खानेकुरामा हस्तक्षेप गर्नेछैनँ। तर, यदि तँ मेरा लागि खाना पकाउँदै छस् भने, हाल्दै नहाल्। मेरा आवश्यक मापदण्डहरू पालना गर्।” के उसले त्यो गर्न सक्यो? के यो काम अगुवाहरूले सम्हाल्नु पर्दैनथ्यो? दुर्भाग्यवश, कसैले पनि यसमा कुनै ध्यान दिएनन्, र तिनीहरूले गर्नुपर्ने कुनै पनि काम गरेनन्। एकपटक, जब बाबर्चीले फेरि खाना पकाउन लागेको थियो, तब उसले खानामा अलि मरिच हाल्न लाग्दा नजिकै रहेको कसैले त्यो देख्यो र उसलाई रोक्यो। उसको कडा रेखदेखमा, बाबर्चीले त्यो हाल्ने मौका पाएन। अगुवाहरूले यति सानो समस्या पनि समाधान गर्न सकेनन्—त्यसोभए तिनीहरूले के गर्न सक्थे? बाबर्चीले खाना पकाउँदै गर्दा, तिनीहरू त्यसको स्वाद चाख्न एकदमै सक्रिय थिए। केही मानिस त्यसको स्वाद चाख्न जान्थे। त्यो केवल नियमित घरमा पकाइने खाना थियो; त्यसमा त्यस्तो चाख्नलायक के थियो र? के तिनीहरू सबै पाक विशेषज्ञ हुन्? के तिनीहरूले अगुवा बनेपछि सबै कुरा बुझे? के तिनीहरूले स्वास्थ्य सम्बन्धी सिद्धान्तहरू बुझे? के परमेश्‍वरको घरले तिनीहरूलाई यो गर्न बन्दोबस्त गरेको थियो? मैले कहिले तिनीहरूलाई मेरा लागि खाना चाख्ने जिम्मा सुम्पेँ वा आज्ञा गरेँ? तिनीहरूमा समझको एकदमै कमी छ, तिनीहरूमा पटक्कै लाजसरम छैन! अलिकति पनि लाज भएको जोकोहीले यति निर्लज्ज, यति घिनलाग्दो, यति समझहीन काम गर्दैन। यसले के देखाउँछ भने यी व्यक्तिहरूमा कुनै लाजसरम छैन—तिनीहरूले मेरा लागि खाना चाख्थे! तिनीहरूले मैले भनेका कुनै पनि सिद्धान्तहरू पालना गरेनन् वा पूरा गरेनन्। तिनीहरू आफूलाई जे स्वादिष्ट लाग्थ्यो र तिनीहरूको जिब्रोलाई जे ताल पर्थ्यो बाबर्चीलाई त्यही पकाउन लगाउँथे। के त्यो मेरा लागि खाना पकाएको हो? त्यो त तिनीहरूकै लागि पकाएको भएन र? के तिनीहरूले अगुवाका रूपमा काम गरेको यस्तै हो? तिनीहरू फाइदा लिन र कमजोरीहरूको फाइदा उठाउन हरमौका छोप्थे, तैपनि तिनीहरू मेरो कृपापात्र हुन पनि खोज्थे—यदि तिनीहरूले त्यसो गर्न चाहन्थे भने, मलाई हानि पुर्‍याउनु हुँदैनथ्यो! के यो सद्गुणको कमी हुनु होइन? के यो अनुचित अभिप्राय राख्नु होइन? तिनीहरू निर्लज्ज हुन्छन् र अनुचित अभिप्राय राख्छन्, तैपनि तिनीहरू अझै आफूलाई एकदमै बफादार ठान्थे! के तिनीहरूले गरेका यी कुराहरूमध्ये कुनै कुरा अगुवाहरूले वास्तवमै गर्नुपर्ने कुरा थियो? (थिएन।) तिनीहरूले गरेको कुनै पनि कुराको कुनै मानक थिएन। तिनीहरूलाई त कुन खाना स्वस्थकर वा अस्वस्थकर छ भन्नेसमेत थाहा थिएन, तैपनि तिनीहरूले आफू यहाँ आएर मेरा लागि स्वास्थ्य र खाद्य विशेषज्ञको भूमिका निभाउन सक्छु भन्ने ठाने! मेरा लागि खाना पकाउने सन्दर्भमा तिनीहरूले जाँच गर्नैपर्छ भन्ने सर्त कसले तोक्यो? के मण्डलीमा यस्तो सर्त हुन्छ? के परमेश्‍वरको घरले यो प्रबन्ध गरेको थियो? मण्डलीको कामका विभिन्न पक्षमा एकदमै धेरै कमजोरी देखा परे, अत्यन्तै धेरै मानिसमा परमेश्‍वरबारे गलतफहमी थियो र तिनीहरूले सत्यता पटक्कै बुझ्दैनथे, तैपनि यी अगुवाहरूले ती कुरालाई सम्बोधन गरेनन्। बरु, तिनीहरूले आफ्नो “जिम्मेवारी” पूरा गरेको भन्दै भान्साजस्तो सानो क्षेत्रमा आफ्नो प्रयास लगाए। यिनीहरू पूर्ण रूपले झूटा अगुवा हुन्, तिनीहरू पाखण्डी हुन्! यी मानिसहरू मेरै अगाडि कामकुरा जाँचिरहेका थिए—तिनीहरूले के बुझे? के तिनीहरूले मसँग परामर्श गरे? तिनीहरूले आफ्नै विचार व्यक्त गरिरहेका थिए कि मेरो विचार? यदि तिनीहरूले मेरो विचार व्यक्त गरिरहेका, र मैले तिनीहरूलाई त्यो व्यक्त गर्नू भनेको भए, तिनीहरूले गरिरहेको कुरा सही हुनेथ्यो। त्यो तिनीहरूको जिम्मेवारी हुनेथ्यो। यदि तिनीहरूले मेरो नभई आफ्नै विचार व्यक्त गरिरहेका थिए, अनि अरूलाई त्यो सुन्न र स्विकार्न जिद्दी गर्दै बाध्य पारिरहेका थिए भने, यो कस्तो प्रकृतिको कुरा हो? के तिमीहरूलाई यो कुरादेखि मलाई घृणा लागेको थियो भन्ने लाग्छ? म त्यहीँ थिएँ, तर तिनीहरूले मलाई म के खान्छु वा मेरा आवश्यकताहरू के हुन् भनेर एक शब्द पनि सोधेनन्—तिनीहरूले मेरो स्वीकृतिविना निर्णयहरू गरे, र मेरो पिठ्यूँपछाडि मनमानी तरिकाले आदेशहरू दिए। के तिनीहरूले मेरो प्रतिनिधित्व गर्न खोजिरहेका थिए? यो त झूटा अगुवाहरूले नराम्रा कामकुरा गर्दै, आफू आत्मिक भएको, आफूले परमेश्‍वरको बोझलाई विचार गरेको, सत्यता बुझेको नाटक गर्दै, र केवल पाखण्डी कामहरू गर्दै विध्वंश मच्चाउनु हो। के यो अति भएन र? के यो पहिले नै एकदमै घृणित र तिरस्कृत भइसकेको छैन र? (छ।) के तिमीहरूले कुनै अन्तर्दृष्टि पाएका छौ? के तिमीहरूले यसबाट कुनै पाठ सिकेका छौ? यी प्रत्येक मामिलाहरू अघिल्लो भन्दा बढी घृणित छन्, र अर्को त झनै घिनलाग्दो छ।

यसपालीको जाडो याममा, एक जना दयालु व्यक्तिले मलाई हाँसको प्वाँखबाट बनेको “सुन्दर” डाउन ज्याकेट किनिदियो। यसको सुन्दरता भनेको रङ वा स्टाइलमा नभईयसको उच्च मूल्य र उच्च गुणस्तरमा थियो; यो बहुमूल्य वस्तु थियो। अविश्वासीहरूमाझ एउटा भनाइ छ, “हजार माइल टाढाबाट पठाइएको हाँसको प्वाँख: उपहार सानो होला, तर भावना गहन हुन्छ।” यस कोटमा भावना मात्र थिएन, तर यो वास्तवमै एकदमै महँगो थियो। मैले कोट देख्नुअघि नै, त्यो सुन्दर र रातो रङको, राम्रो डिजाइनको र खप्ने खालको छ भन्ने सुनिसकेको थिएँ। मैले यसबारे सुनेको थिएँ, त्यसैले अवश्य नै केही मानिसले पहिले नै त्यो वास्तविक वस्तु देखेका थिए—अर्थात्, धेरै मानिसले त्यो देखिसकेका थिए, लगभग नापेका थिए, र यसो भन्दै त्यसलाई नजिकबाट जाँचेका थिए, “मलाई यो ब्रान्ड थाहा छ,” “यो रङ राम्रो छ, यो एकदमै सुन्दर छ!” “तपाईँले त्यो हेरेपछि, मलाई हेर्न ल्याइदिनुहोस् है,” र त्यसरी नै खबर फैलिएको थियो। यो खबर मेरा कानमा पुग्न र मलाई यसबारे अलिकति जान्न कति समय लाग्यो भन्ने मलाई थाहा छैन। के तिमीहरू यसमा भएको समस्या देख्न सक्छौ? मैले कोट नदेखीकनै, त्यसलाई अरू धेरै मानिसले पहिल्यै देखिसकेका, घुमाइसकेका र प्रदर्शन गरिसकेका थिए। के यो समस्या होइन? के मानिसहरूले मेरो सामान त्यतिकै हेर्न, छुन र प्रदर्शन गर्न मिल्छ? (मिल्दैन।) मानिसहरूले कसको सामान त्यतिकै छुन र हेर्न मिल्छ? (कसैले पनि यस्तो होस् भन्ने चाहँदैन, र कसैले पनि यसो गर्नु हुँदैन।) त्यसोभए, मेरो सामान झनै गोप्य हुनु पर्दैन र? कतिपय मानिस भन्छन्, “ती किन गोप्य हुनुपर्ने? तपाईँ सार्वजनिक व्यक्तित्व हुनुहुन्छ। के सेलिब्रेटी र प्रसिद्ध व्यक्तिहरूको निजी जीवन सधैँ खुलासा हुँदैन र? तिनीहरू कहाँ खेलकुद खेल्छन्, कहाँ सौन्दर्य उपचार गर्छन्, कोसँग सङ्गत गर्छन्, कुन ब्रान्डका चिजबीज लगाउँछन्—के यी सबै कुरा खुलासा हुँदैनन् र? तपाईँका कुराहरू चाहिँ किन खुलासा हुनु हुँदैन र?” के म सेलिब्रेटी हो? म सेलिब्रेटी होइन, र ती मानिसहरू मेरा प्रशंसक होइनन्। तिनीहरू को हुन्? तिनीहरू साधारण मानिस, सृजित प्राणी र भ्रष्ट मानिस हुन्। म को हुँ? (परमेश्‍वर।) म सार्वजनिक व्यक्तित्व होइन; ममा सबै कुरा मानिसहरूलाई खुलासा गर्ने, तिनीहरूलाई सबै कुराको रिपोर्ट गर्ने, वा सबै कुराबारे जानकारी दिने दायित्व छैन। त्यसोभए, तिनीहरूले मेरो स्वामित्वको कुरा किन छोइरहेका थिए? के त्यसो गर्नु घृणित कुरा होइन? के मैले मानिसहरूलाई मेरो यो सम्पत्ति हेर्न र जाँच्न आदेश दिएको थिएँ? थिएन। तैपनि कतिपय मानिसले यस्तो निर्लज्ज पाराले त्यसलाई लिएर त्यतिकै हेर्न, र यताउता पठाउनसमेत हिम्मत गरे। ती मानिसहरूलाई त्यो यताउता पठाउने अधिकार कसले दियो? के यो तिनीहरूको दायित्व थियो? यदि तिनीहरूले परमेश्‍वरमा विश्वास नगरेका भए, हामी एकअर्काका लागि नौलो हुनेथियौँ। तिनीहरूले परमेश्‍वरमा विश्वास गर्ने भएकाले मलाई तिनीहरू को हुन् भन्ने थाहा छ, तर मलाई तिनीहरूको परिवार, दैनिक जीवन, वा आर्थिक अवस्था कस्तो छ भन्ने थाहा छैन, र मलाई जान्ने वास्ता छैन। के हामी घनिष्ठ छौँ? म तिनीहरूको घनिष्ठ साथी, सँगी वा मित्र होइन। हामी परिचित छैनौँ, र हामी मेरा सबै कुरा तिनीहरूका लागि हेर्नलाई खुला गर्नुपर्ने मोडमा पुगेका छैनौँ। के ती मानिसहरूले मलाई तिनीहरूका सबै सरसामान हेर्न र सबैले देख्न र छुनका लागि प्रदर्शन गर्न दिनेछन्? मानिसहरूले बजारबाट घरमा कुनै चिजबिज ल्याउँदासमेत त्यसलाई कीटाणुमुक्त गर्न धेरैपटक धुनुपर्छ! के अरू मानिसले त्यतिकै छोएका चिजहरू घृणित हुँदैनन् र? के ती मानिसहरूले आफूलाई बाहिरी व्यक्तिजस्तो व्यवहार गर्न नसकेका होइनन् र? तिनीहरूलाई मेरो कोट निरीक्षण गर्न कसले आदेश दियो? के मैले तिनीहरूलाई भरोसा गरेको थिएँ? के तिनीहरूले मेरो कोटलाई लापरवाहीपूर्वक छुनुअघि आफ्नो हात धोएर सफा पारे? के मलाई तिनीहरूदेखि घृणा लाग्नेछैन? के तिनीहरू यसबारे स्पष्ट छन्? तिनीहरू किन यति निर्लज्ज छन्? तिनीहरूमा समझको एकदमै कमी छ! तिनीहरूले केही वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएका छन् र धेरै प्रवचन सुनेका छन्; कसरी तिनीहरूमा अलिकति पनि समझ छैन? परमेश्‍वरको स्वामित्वका भेटीहरू त्यतिकै खोल्नु, उहाँको लुगा, उहाँका स्वामित्वमा रहेका चिजहरू त्यतिकै छुनु—यो कस्तो प्रकारको समस्या हो? यी चिजहरूको प्याकेजिङ खोलिएको र फ्याँकिएको देख्दा, म कसरी नरिसाऊँ? मलाई यी कुरादेखि घृणा लाग्छ, र म यी मानिसहरूलाई तिरस्कार गर्छु। म तिनीहरूलाई फेरि हेर्न चाहन्नँ, र म यी सुँगुर र कुकुरभन्दा खराब मानिसहरूसँग अवश्यै सङगत गर्न चाहन्नँ! याद गर्, प्रत्येक व्यक्तिको आफ्नै इज्जत हुन्छ, र मसँग अझ धेरै छ। मेरो स्वामित्वका चिजहरूमा हात नहाल्; नत्र, म तँलाई तिरस्कार र घृणा गर्नेछु!

यसो हेर्दा, झूटा अगुवाहरूले ठूला दुष्टताहरू नगर्लान् वा तिनीहरू पूर्णतया छली खलनायक नहोलान्। तर, तिनीहरूबारे सबैभन्दा घृणित कुरा के हो भने तिनीहरू आफूले गर्नुपर्ने वास्तविक काम देख्न सक्छन् तर त्यो गर्दैनन्, तिनीहरूलाई आफूले समस्याहरू समाधान गर्न सक्दिनँ भन्ने राम्ररी थाहा हुन्छ तर तिनीहरू सत्यता खोज्दैनन्, तिनीहरूले बाधा पुर्‍याउने दुष्ट मानिसहरूलाई देख्छन् तर तह लगाउँदैनन्, त्यसको सट्टा बाहिरी सामान्य मामिलाहरूलाई मात्र ध्यान दिन्छन्। तिनीहरू कम महत्त्वका मुद्दा र सानातिना मामिलाहरूमाथि कडा निगरानी राख्छन् र नियन्त्रण गर्छन्, तर परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित कुनै पनि काम गर्दैनन्, वा सत्यता सिद्धान्तहरूविरुद्धका विभिन्न मामिलाहरूबारे वास्ता गर्दैनन्। बरु, तिनीहरू सत्यतासँग असम्बन्धित काम मात्र गर्छन्। यिनीहरू पूर्णतया झूटा अगुवा हुन्। झूटा अगुवाहरू मण्डलीको कामका विभिन्न पक्षसँग सम्बन्धित सत्यता सिद्धान्तहरूबारे पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। यदि तिनलाई अगुवा र कामदारहरूका सिद्धान्त र मानकहरूसँग मापन गरियो भने, झूटा अगुवाहरू मूर्ख र बेवकूफ हुन्। मण्डलीका काममा उत्पन्न हुने समस्याहरू जति नै गम्भीर भए पनि, झूटा अगुवाहरू ती देख्न वा समाधान गर्न सक्दैनन्, चाहे ती तिनीहरूकै आँखासामु किन घटित नहून्, र माथिले आफै आएर ती समस्या समाधान गर्नुपर्छ। के यी मानिसहरू झूटा अगुवा होइनन् र? (हुन्।) तिनीहरू वास्तवमै झूटा अगुवा हुन्। उदाहरणका लागि, मण्डलीको लेखन-आधारित काममा, कुन पुस्तकहरूको प्रूफरीड गर्नुपर्छ र कुन पुस्तकहरू अनुवाद गर्नुपर्छ—यी कुरा मण्डलीका लागि अत्यन्तै महत्त्वपूर्ण काम हुन्। के पुस्तकहरूको शुद्धाशुद्धि जाँच र अनुवाद गर्ने तरिकाबारे कुनै सिद्धान्तहरू छन्? पक्कै पनि यस कामका सिद्धान्तहरू छन्, यो एकदमै सिद्धान्तमा आधारित हुन्छ, र यसलाई साँच्चै विशेष रूपले सङ्गति र मार्गनिर्देशित गर्नुपर्छ; तर झूटा अगुवाहरू यो काम गर्न सक्दैनन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना कर्तव्यमा व्यस्त देख्दा ढोँग गर्दै भन्छन्, “लेखन-आधारित काम र अनुवाद कार्य विशेष रूपले महत्त्वपूर्ण छन्। तिमीहरूले यो काम मन लगाएर राम्रोसँग गर्नुपर्छ, र म तिमीहरूमा भएका कुनै पनि समस्याहरू समाधान गर्नेछु।” कसैले वास्तवमै कुनै मुद्दा उठाउँदा, यी झूटा अगुवाहरू भन्छन्, “म यो मामिला बुझ्दिनँ। म विदेशी भाषाहरू अनुवाद गर्ने कुरामा अनाडी हुँ। परमेश्‍वरलाई प्रार्थना गरेर उहाँबाटै जबाफ खोज।” कसैले “हामी निश्चित भाषाहरू अनुवाद गर्न उपयुक्त मानिसहरू भेट्टाउन सक्दैनौँ, हामी यसमा के गरौँ?” भन्दै अर्को मुद्दा उठाउँदा, झूटा अगुवाहरू यस्तो जवाफ दिन्छन्, “म यस मामिलामा अनाडी हुँ। यसलाई तिमीहरू आफै सम्हाल।” के यसो भनेर समस्या समाधान हुन्छ? तिनीहरू बहाना खोज्छन् र आफूले आफ्नो काम नगरिरहेको तथ्यलाई यसो भन्दै ढाकछोप गर्छन्, “म एक अनाडी हुँ; म यो पेशा बुझ्दिनँ,” र यसरी आफूले समाधान गर्नुपर्ने समस्याबाट भाग्छन्। झूटा अगुवाहरू यसरी काम गर्छन्। कसैले प्रश्न उठाउँदा, झूटा अगुवाहरू भन्छन्, “परमेश्‍वरलाई प्रार्थना गरेर उहाँबाटै जबाफ खोज; म यो पेशा बुझ्दिनँ, तर तिमीहरू बुझ्छौ।” यो कुरा नम्र लाग्ला, किनकि तिनीहरूले आफू असक्षम छु र आफूले त्यो पेशा बुझ्दिनँ भनेर स्विकारिरहेका हुन्छन्, तर वास्तवमा, तिनीहरू अगुवाका रूपमा काम गर्न पटक्कै सक्दैनन्। अवश्य नै, एउटा अगुवा हुनु भनेको, व्यक्तिले हरप्रकारको पेशा बुझ्नैपर्छ भन्‍ने होइन, तर उसले समस्याहरू समाधान गर्न आवश्यक सत्यता सिद्धान्तहरू प्रस्ट रूपमा सङ्गति गर्नुपर्छ, चाहे ती समस्याहरू जस्तोसुकै पेशासँग सम्बन्धित होऊन्। जबसम्म मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्छन्, समस्याहरूलाई त्यही अनुसार समाधान गर्न सकिन्छ। झूटा अगुवाहरूले “म यो कुरामा अनाडी छु; म यो पेशा बुझ्दिनँ” भन्‍ने कारण प्रयोग गरेर समस्याहरू समाधान गर्नका लागि सत्यता सिद्धान्तहरू सङ्गति गर्नबाट पन्छिन्छन्। यो वास्तविक काम गर्नु होइन। यदि झूटा अगुवाहरूले निरन्तर रूपमा “म यो कुरामा अनाडी छु; म यो पेशा बुझ्दिनँ” भन्‍ने भनाइलाई समस्याहरू समाधान गर्नबाट पन्छिने कारणका रूपमा प्रयोग गर्छन् भने, तिनीहरू अगुवाइको कामका लागि उपयुक्त छैनन्। तिनीहरूले गर्नुपर्ने सर्वोत्तम काम राजीनामा दिनु र अरू कसैलाई आफ्नो ठाउँ लिन दिनु हो। तर के झूटा अगुवाहरूमा यस्तो समझ हुन्छ? के तिनीहरूले राजीनामा दिन सक्नेछन्? सक्नेछैनन्। तिनीहरूले यस्तो समेत सोच्छन्, “उनीहरू किन मैले कुनै काम गरिरहेको छैन भन्छन्? म हरदिन भेलाहरू राख्छु, र म यति व्यस्त हुन्छु कि समयमा खाना समेत खान पाउँदिनँ, र मेरो निद्रा पुगिरहेको छैन। समस्याहरू समाधान भइरहेका छैनन् भनेर कसले भन्छ? म भेलाहरू राख्छु र उनीहरूसँगै सङ्गति गर्छु, र म उनीहरूका लागि परमेश्‍वरका वचनका खण्डहरू खोज्छु।” मानिलिऊँ तैँले तिनीहरूलाई सोधिस्, “कसैले कतिपय भाषाका लागि उपयुक्त अनुवादकहरू खोज्न सकेन भनेर भनेको थियो। तपाईँले यो विशेष समस्या कसरी समाधान गर्नुभयो?” तिनीहरूले भन्नेछन्, “मैले उसलाई म त्यो पेशा बुझ्दिनँ भनेर भनेँ, र उसलाई नै छलफल गरेर त्यो सम्हाल्न लगाएँ।” त्यसपछि तैँले तिनीहरूलाई सोध्छस्, “यो समस्या भेटीहरूको खर्च र मण्डलीको कामको प्रगतिसँग सम्बन्धित छ। उसले आफै निर्णय लिन सक्दैन, उसलाई तपाईँले अरनखटन गर्नुपर्ने र त्यसलाई समाधान गर्न सत्यता सिद्धान्तहरू खोजिदिनुपर्ने हुन्छ। के तपाईँले यो गर्नुभयो?” तिनीहरूले जवाफ दिनेछन्: “मैले कसरी गरिनँ र? मैले कुनै पनि काममा ढिलाइ गरेको छैनँ। यदि त्यो भाषा अनुवाद गर्ने कोही छैन भने, तिनीहरूले अर्को भाषा अनुवाद गरे भैगो!” देखिस् नि, झूटा अगुवाहरू वास्तविक काम गर्न सक्दैनन् र तैपनि धेरै बहाना बनाउँछन्। त्यो साँच्चिकै निर्लज्ज र घिनलाग्दो हुन्छ! तेरो क्षमता अत्यन्तै कमजोर छ, तँ कुनै पेशाहरू बुझ्दैनन्, र तँमा कुनै पनि पेशागत कामको हरेक पक्षमा संलग्न हुने सत्यता सिद्धान्तहरू बुझ्दैनस्—तँलाई अगुवाका रूपमा पाएर के काम? तँ अत्यन्तै मूर्ख र निकम्मा होस्! तैँले कुनै वास्तविक काम गर्न नसक्ने हुनाले, किन तँ अझै मण्डली अगुवाका रूपमा सेवा गरिरहेको छस् त? तँमा समझ छँदैछैन। तँमा आत्म-चेतना नहुने हुनाले, तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको प्रतिक्रिया सुन्‍नुपर्छ र आफुले अगुवा हुने मानक पूरा गर्छु कि गर्दिनँ भनेर मूल्याङ्कन गर्नुपर्छ। र तैपनि, झूटा अगुवाहरूले यी कुराहरूबारे कहिल्यै ख्याल गर्दैनन्। मण्डलीका काममा जतिसुकै ढिलाइ भएको भए पनि, र तिनीहरूले कैयौँ वर्ष अगुवाका रूपमा सेवा गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूले जतिसुकै क्षति भोगेका भए पनि, तिनीहरूले त्यसबारे वास्ता गर्दैनन्। यो खाँटी झूटा अगुवाहरूको कुरूप मुहार हो।

अगुवा र कामदारहरूले आफ्नो काम कसरी सम्हाल्छन् भन्नेबारे विचार गर्—के त्यो मैले भर्खरै तिमीहरूलाई भनेको कुरासँग मेल खान्छ? के वास्तविक काम नगर्ने कोही छ, र के तँ उसलाई झूटो अगुवा हो भनेर चिन्न सक्छस्? यदि तँ उसलाई झूटो अगुवा हो भनेर चिन्छस् भने, तैँले आजदेखि नै उसलाई अगुवाका रूपमा व्यवहार गर्नु हुँदैन; तैँले उसलाई अरू कुनै व्यक्तिलाई जस्तै व्यवहार गर्नुपर्छ। यो नै अभ्यासको सही सिद्धान्त हो। कतिपयले सोच्लान, “के यसको अर्थ ऊ झूटो अगुवा भएको कारण उसलाई भेदभाव गर्नु, होच्याउनु वा बहिष्कार गर्नु हो?” अहँ, त्यसो होइन। ऊ वास्तविक काम गर्न सक्दैन, र तँलाई ढाँट्न र पन्छाउन केही शब्द र धर्मसिद्धान्त अनि केही खोक्रा शब्दहरू मात्र बोल्न सक्छ। यसले तँलाई ऊ तेरो अगुवा होइन भन्ने तथ्य बताउँछ। तैँले आफ्ना काममा सामना गर्ने जुनसुकै समस्या वा कठिनाइका लागि उसलाई निर्देशनहरू माग्नु आवश्यक छैन। आवश्यक भएमा, तैँले त्यसलाई कसरी सम्हाल्ने र समाधान गर्ने भन्नेबारे उसलाई नाघेर त्यो कुरा माथिलाई रिपोर्ट गरी माथिसँग परामर्श गर्न सक्छस्। मैले तँलाई अभ्यासका सबै मार्ग सिकाएको छु, तर तँ कसरी काम गर्छस्, त्यो तँमा नै निर्भर छ। मैले सबै अगुवाहरू परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छन्, तैँले तिनीहरूको कुरा सुन्नैपर्छ र पालना गर्नैपर्छ, अनि तैँले तिनीहरूलाई झूटा अगुवा हुन् भनेर चिने पनि, तिनीहरूको कुरा सुन्नैपर्छ भनेर कहिल्यै भनेको छैनँ। मैले तँलाई त्यसो कहिल्यै भनेको छैनँ। अहिले म झूटा अगुवाहरूलाई कसरी चिन्ने भन्नेबारे सङ्गति गरिरहेको छु। जब तँ कसैलाई झूटो अगुवा हो भनेर चिन्छस्, तब तैँले यदि उसले भन्ने कुरा सही र सत्यतासँग मेल खान्छ भने त्यो स्विकार्न र पालना गर्न सक्छस्। तथापि, यदि उसले समस्या समाधान गर्न सक्दैन, अनि तँलाई ढाँट्छ र पन्छाउँछ, जसले गर्दा कार्य प्रगति प्रभावित हुन्छ भने, तैँले उसको नेतृत्व स्वीकार गर्नुपर्दैन। यदि तिमीहरूले आफै सिद्धान्तहरू बुझ्न सक्छौ भने, तीअनुसार काम गर्नुपर्छ। यदि तिमीहरू सिद्धान्तहरू बुझ्न सक्दैनौ, तीबारे अनिश्चित छौ, वा पक्का छैनौ भने, तिमीहरूले सत्यता खोज्नुपर्छ र समस्या समाधान गर्न एकअर्कासँग छलफल गर्नुपर्छ। यदि तिमीहरूले छलफल गरेपछि पनि अझै निर्णय लिन सकेनौ भने, त्यो समस्या माथिलाई रिपोर्ट गरेर त्यसबारे परामर्श लेऊ। यी सबै समस्या समाधान गर्ने राम्रा तरिका हुन्—समाधान गर्न नसकिने कुनै पनि कठिनाइहरू छैनन्।

हाम्रो सङ्गति आजलाई यहीँ समाप्त गरौँ। फेरि भेटौँला!

जनवरी १६, २०२१

अघिल्लो:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१)

अर्को:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger