अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२८)

विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासन गर्ने (भाग सात)

अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी भनेको “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै खुट्ट्याउने, त्यसपछि निकाला वा निष्कासन गर्ने” हो। पछिल्लो पटक, हामीले विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने दोस्रो मापदण्डका बारेमा सङ्गति गरेका थियौँ, जुन तिनीहरूको मानवतामा आधारित हुन्छ, र यसमा तीन वटा प्रकटीकरणहरू समावेश हुन्छन्। यी तीन वटा प्रकटीकरणहरू पढ। (ज. कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु; झ. कुनै पनि बेला छोडेर जान सक्नु; ण. डगमगाउनु।) यी तीन वटा प्रकटीकरणहरूका बारेमा सङ्गति गरेपछि, के तिमीहरूले ती कुरा बुझ्यौ? (बुझ्यौँ।) यी समस्याहरू भएका धेरैजसो मानिसहरूमा सामान्यतया सत्यता बुझ्ने क्षमताको कमी हुन्छ; तिनीहरूले सत्यता के हो भन्ने कुरा बुझ्दैनन्, न त तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने नै बुझ्छन्। यसका साथै, तिनीहरूमध्ये कतिले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्ने कुरा छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु धार्मिक आस्था मात्रै हो र यसका लागि धार्मिक अनुष्ठानहरू पालना गर्नु मात्रै पर्याप्त हुन्छ भन्ने सोच्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्व बुझ्दैनन्, न त तिनीहरूले कर्तव्य पूरा गर्नुको महत्त्व नै बुझ्छन्; परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा तिनीहरू हृदयमा स्पष्ट समेत हुँदैनन्, र परमेश्‍वरलाई पछ्याउने मार्ग सही छ कि छैन भन्ने कुरामा तिनीहरू निश्चित हुँदैनन्। तिनीहरूले जति वर्षदेखि विश्‍वास गरेका भए पनि, वा तिनीहरूले जति धेरै प्रवचन सुनेका भए पनि, तिनीहरूले कहिल्यै साँचो मार्गमा जग बसाल्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरू डगमगाउँछन्, र यदि तिनीहरूलाई बेखुसी तुल्याउने कुनै घटना घट्यो भने, तिनीहरूले कुनै पनि बेला मण्डली छोडेर जान वा मण्डलीलाई धोका दिन समेत सक्छन्। यी विभिन्न प्रकारका मानिसहरूलाई निराकरण गर्नका लागि परमेश्‍वरको घरका निश्चित सिद्धान्तहरू छन्। तिनीहरूका फरक-फरक परिस्थिति अनुसार, तिनीहरूलाई सम्हाल्ने र समाधान गर्ने निश्चित योजनाहरू छन्; निकाल्नुपर्नेहरूलाई निकालिनेछ र निष्कासित गर्नुपर्नेहरूलाई निष्कासित गरिनेछ। यी मानिसहरूमध्ये केही दुष्ट मानिसहरू नभए पनि, र तिनीहरू ख्रीष्टविरोधीहरू त झनै होइनन् भने पनि, तिनीहरूका यी प्रकटीकरणहरूको प्रकृति र परमेश्‍वरमा विश्‍वास गर्नेप्रति तिनीहरूको मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरू परमेश्‍वरको घरका मानिसहरू होइनन्, न त तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनीहरू नै हुन्। तिनीहरू मण्डलीमा नै रहिरहे भने पनि, तिनीहरूलाई सत्यता बुझ्न निकै गाह्रो हुनेछ। तिनीहरूलाई सत्यता बुझ्न गाह्रो हुनुका निहितार्थहरू के-के हुन्? यसले के जनाउँछ भने, तिनीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू बुझ्न नसक्ने हुनाले र कहिल्यै सत्यता बुझ्न नसक्ने हुनाले, तिनीहरूले अन्तिममा मुक्ति प्राप्त गर्न र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन असफल हुनेछन्। अर्थात्, अन्तमा, तिनीहरू परमेश्‍वरको घरका मानिसहरू बन्न सक्दैनन्, तिनीहरू साँचो सृजित प्राणी बन्न सक्दैनन्, र तिनीहरूले सृजित प्राणीहरूको कर्तव्य पूरा गर्न र तिनीहरू परमेश्‍वरको अघि फर्केर आउन सक्दैनन्। यसका साथै, तिनीहरूले मण्डलीमा प्रायजसो नकारात्मक भूमिका खेल्छन्। तिनीहरूले सकारात्मक प्रभाव पार्न नसक्ने मात्र नभई बेला-बेलामा, तिनीहरूले बाधा र विनाश पनि ल्याउँछन्, जसले कतिपय मानिसहरूको स्थितिमा असर गर्छ र आफ्नो कर्तव्य पूरा गरिरहेका कतिपय मानिसहरूमा बाधा गर्छ। त्यसकारण, मण्डलीले तिनीहरूलाई छोड्न मनाएर होस् वा तिनीहरूलाई निकालेर वा निष्कासित गरेर होस्, तिनीहरूलाई सम्हाल्नका लागि तदनुरूप उपायहरू अपनाउनुपर्छ। जे भए पनि, तिनीहरूलाई मण्डलीमा बाधा र अवरोधहरू ल्याउन दिनु हुँदैन।

विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू

२. व्यक्तिको मानवताका आधारमा

ण. डगमगाउनु

डगमगाउने मानिसहरूले कहिल्यै परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर पुष्टि गर्न सक्दैनन्, र तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर पुष्टि गर्न त झनै सक्दैनन्। आज तिनीहरू यहाँ खोजी गर्न चाहन्छन्, र भोलि तिनीहरू त्यहाँ गएर कुराहरू जाँच्न चाहन्छन्, तिनीहरूलाई साँचो मार्ग कुन हो भन्ने थाहा हुँदैन, र तिनीहरूले सधैँ पर्ख र हेरको मनोवृत्ति राख्छन्। यस्ता मानिसहरूका हकमा, तिनीहरूलाई यसो भन्दै तुरुन्तै छोडेर जान मनाऊ: “तपाईँ कहिल्यै परमेश्‍वरको काम साँचो मार्ग हो भनेर पुष्टि गर्न सक्‍नुहुन्‍न, र आफ्ना कठिनाइहरू समाधान गर्न सत्यताको खोजी गर्नुहुन्‍न। यसरी विश्‍वास गरिरहनाले के-कस्ता परिणाम निम्त्याउन सक्छ? तपाईँ सत्यतालाई प्रेम नगर्ने हुनाले र तपाईँलाई मण्डली जीवन जिउन मन नपर्ने हुनाले, तपाईँ आफ्नै रोजाइका आधारमा आफ्नो रुचिअनुसारको ठाउँमा जानुपर्छ। के तपाईँ अरूभन्दा माथि उठ्ने र ठूलो सफलता हासिल गर्ने कार्यलाई पछ्याउन चाहनुहुन्‍न र? त्यसोभए तपाईँ संसारमा गएर यसका लागि लागिपर्नुपर्छ। सायद तपाईँ धनी बन्न वा पदाधिकारी बन्न सक्‍नुहुन्छ र तपाईँले संसारमा आफ्ना सपनाहरू हासिल गर्न सक्‍नुहुन्छ। तपाईँ अबदेखि परमेश्‍वरको घरमा अल्झिरहनु हुँदैन।” त्यस्ता मानिसहरूका हकमा, तैँले कुनै पनि हालतमा तिनीहरूलाई जबरजस्ती गर्नु हुँदैन वा तिनीहरूलाई बस्न आग्रह गर्ने प्रयास गर्नु हुँदैन। यदि तिनीहरू मण्डली छोड्न चाहन्छन् भने, तिनीहरूलाई जान देओ। यी अविश्‍वासीहरूलाई निरन्तर सल्लाह दिने र प्रोत्साहित गर्ने र तिनीहरूलाई बस्न अनुरोध गर्ने कार्य परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुँदैन। परमेश्‍वरको कामले मानिसहरूलाई कहिल्यै जबरजस्ती गर्दैन, र जब तँ अनिर्णित मानिसहरूलाई घिस्याउने र तान्‍ने गरिरहन्छस्, तब त्यसमा जबरजस्तीको तत्त्व हुन्छ। यी मानिसहरू काम गर्न बाहिर जान, पैसा कमाउन, र राम्रो जीवन जिउन, वा आफूले व्यक्तिगत रूपमा मन पराउने कुराहरू पछ्याउन चाहन्छन्। तिनीहरूसँग सधैँ यी अभिप्रायहरू थिए, र तिनीहरूले सधैँ आफ्नै आकाङ्क्षा र योजनाहरू राख्दै आएका छन्। यो कुरा कसैलाई थाहा नभए पनि, तिनीहरूको व्यवहारले यो कुरा प्रकट गरिसकेको छ। उदाहरणका लागि, तिनीहरू प्रायजसो आधा हृदयले आफ्नो कर्तव्य पूरा गर्छन्, वा प्रायजसो बिर्सिने, झाराटारुवा हुने, र अल्याङटल्याङ गर्ने गर्छन्। तिनीहरूले प्रायजसो आफ्नो कर्तव्य पूरा गर्नमा विशेष अनिच्छा देखाउँछन्, तिनीहरूलाई सधैँ आफूले केही गुमाइरहेको जस्तो लाग्छ, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने कार्यले आफूलाई पैसा कमाउनबाट रोकिरहेको छ भन्ने सोच्छन्। यस्ता मानिसहरूका हकमा, तिनीहरूलाई छोडेर जानका लागि यसो भन्दै मनाउनुपर्छ: “तपाईँ सधैँ आधा हृदयले र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्नुहुन्छ, र अन्ततः तपाईँ सत्यता प्राप्त गर्न असफल हुनुहुनेछ, र परमेश्‍वरले तपाईँलाई अनुमोदन गर्नुहुनेछैन—त्यो ठूलो घाटा हुनेछ! तपाईँलाई सत्यताप्रति रुचि नभएकाले, तपाईँले परमेश्‍वरको अस्तित्व वा उहाँको सार्वभौमिकतालाई पुष्टि गर्न नसक्ने हुनाले, र तपाईँले संसारलाई पछ्याएमा निकै सफल हुन र अरूभन्दा माथि उठ्न सकिन्छ भन्ने विश्‍वास गर्दै संसार शानदार छ भन्ने सोच्ने हुनाले, तपाईँ संसारमा फर्केर गएर त्यहाँ लागिपर्नु नै राम्रो हुन्छ। यहाँ यो कठिनाइ भोग्नुको के अर्थ?” निश्चित रूपमा, यी मानिसहरूलाई प्रायजसो तिनीहरूसँग निश्चित क्षेत्रमा दक्षता छ, तिनीहरूसँग केही सीप र क्षमता छ भन्ने लाग्छ, र यदि तिनीहरू समाज वा संसारमा आफ्नै बलबुतामा अघि बढे भने, तिनीहरूले ख्याति र सम्पत्ति दुवै प्राप्त गर्न सक्छन्, र उच्च हैसियत र इनाम उपभोग गर्न सक्छन् भन्ने विश्‍वास हुन्छ। तैपनि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि र केही वर्ष यताउता हल्लिएर बसेपछि, तिनीहरूले कुनै बढुवा प्राप्त गरेका हुँदैनन् वा तिनीहरू कुनै महत्त्वपूर्ण पदका लागि छनौट भएका हुँदैनन्। अरूभन्दा माथि उठ्न नसक्दा, तिनीहरूलाई हृदयमा निकै पीडा हुन्छ र तिनीहरू अत्यन्तै अनिच्छुक हुन्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्न अनिच्छुक हुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्न त झन् अनिच्छुक हुन्छन्। तिनीहरूको हृदय निरन्तर बेचैन हुन्छ र तिनीहरूको मन भौँतारिरहेको हुन्छ, र तिनीहरू चञ्चल र अस्थिर हुन्छन्। बेला-बेलामा, तिनीहरूले आफ्ना सहपाठी र साथीहरूले कसरी यस्तो राम्रो जागिर पाएका छन्, यति उच्च पदहरू हासिल गरेका छन्, र तिनीहरूले कसरी अरूको भन्दा उच्च स्तरको जीवन जिइरहेका छन् भन्ने बारेमा सोच्छन्, जसले गर्दा तिनीहरूलाई विशेष गरी परमेश्‍वरमा विश्‍वास गरेर आफूलाई ठूलो अन्याय गरेको छु भन्ने महसुस हुन्छ, र तिनीहरू आफूलाई केही न कामको, अयोग्य, र परमेश्‍वरमा विश्‍वास गरेर असफल भएको व्यक्ति ठान्छन्, र आफ्ना आमाबुबा र पुर्खाहरूको अनुहार हेर्नका लागि साह्रै लज्‍जित महसुस गर्छन्। यसले गर्दा तिनीहरू अझै दुःखी र अनिच्छुक हुन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने छनोट गरेकोमै तिनीहरूलाई निकै पछुतो हुन्छ! त्यसकारण तिनीहरूको मन झनै डगमगाउँछ। परमेश्‍वरमा विश्‍वास गरेको र आफ्नो कर्तव्य पूरा गरेको वर्षौँको अवधिमा, तिनीहरूको आस्था दह्रिलो नभएको मात्र होइन, तिनीहरूले आफूसँग कुनै बेला भएको सुरुवाती जोश पनि गुमाएका छन्। तिमीहरूलाई त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ भन्ने लाग्छ? (तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ।) यदि तैँले तिनीहरूलाई छोडेर जानका लागि मनाइस् भने, तिनीहरूले यसो भन्न सक्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भयो, र मैले आफ्नो शिक्षा, विवाह, र सम्भाव्यताहरूलाई त्यागेको छु। अहिले तपाईँ मलाई मण्डली छोड्न लगाइरहनुभएको छ—के यसको अर्थ मैले यत्तिका वर्षहरूमा भोगेका सबै कष्ट व्यर्थ भएको छ भन्ने हुँदैन र? के मेरो कुनै भावी गन्तव्य हुनेछैन? त्यो दुवैतिर घाटा हुनु हो। के त्यो त मेरो ज्यान लिनु जस्तै होइन र?” के तिनीहरूलाई छोडेर जानका लागि मनाउनु अत्यन्तै निर्दयी हुनु हो? के यसो गर्नु उचित हुन्छ? (यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न कहिल्यै चाहेकै थिएनन्। तिनीहरूले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै चलाकी गरेर मण्डलीमा घुसपैठ गरेका हुन्। जब तिनीहरूले मण्डली सधैँ परमेश्‍वरका वचनहरू खाने-पिउने र सत्यतामा सङ्गति गर्ने कार्यमा केन्द्रित रहेको देख्छन्, तब तिनीहरू यी कुराहरूप्रति वितृष्ण हुन्छन् र तिनीहरू छोडेर जान चाहन्छन्। त्यस्ता मानिसहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तिनीहरूलाई पक्रेर राख्न सकिने भए पनि, तिनीहरूको हृदय पक्रेर राख्न सकिँदैन।) यदि तिनीहरूले केही इमानदारीसाथ आफ्नो कर्तव्य पूरा गर्छन् तर तिनीहरूमा सत्यताप्रति स्पष्टताको कमी मात्र छ, वा तिनीहरूले व्यवधान र असफलताहरू सामना गरेकाले वा काटछाँट अनुभव गरेकाले तिनीहरू अस्थायी रूपमा अलिक नकारात्मक र कमजोर बन्छन् भने, यी अवस्थाहरूमा, तैँले तिनीहरूलाई सहयोग गर्न र साथ दिन सत्यतामा सङ्गति गर्न सक्छस्। तर, मानौँ तिनीहरूको कमजोरी अस्थायी होइन, बरु तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा निरन्तर झाराटारुवा हुन्छन् र अल्याङटल्याङ गर्छन्, र आधा हृदयले यसो गर्छन्, र तिनीहरू आफूलाई अन्त कतै नपठाइएकोमा नै सन्तुष्ट हुन्छन्; अनि मानौँ तिनीहरूले इमानदारी वा जोशविना आफ्नो कर्तव्य पूरा गर्छन्, वा अझै सटीक रूपमा भन्दा, तिनीहरूको पछ्याइको कुनै उद्देश्य छैन र तिनीहरूले त्यत्तिकै दिनहरू बिताइरहेका छन्—तिनीहरू यस्तै व्यक्ति हुन् भन्ने कुरा स्पष्ट भयो भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउन सकिन्छ।

कतिपय मानिसहरू अविश्‍वासी हुन्छन्। यदि तैँले तिनीहरू आधारभूत रूपमा सत्यतालाई प्रेम नगर्ने र श्रम गर्न समेत नचाहने मानिसहरू हुन् भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छस् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तिनीहरूका मुख्य प्रकटीकरण के हुन् भने, तिनीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू पढ्दैनन्, कहिल्यै भजनहरू सिक्दैनन्, कहिल्यै प्रवचन सुन्दैनन्, र कहिल्यै सत्यतामा सङ्गति गर्दैनन् वा आफूलाई चिन्ने बारेमा कुरा गर्दैनन्। तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरू सुन्न पनि मन पर्दैन। तिनीहरूले कहिल्यै परमेश्‍वरको घरले निर्माण गरेका चलचित्र वा भजन भिडियोहरू वा अनुभवात्मक गवाहीका भिडियोहरू हेर्दैनन्, र तिनीहरूले हेरिहाले पनि, त्यो मनोरञ्जनका लागि वा जिज्ञासाका कारण मात्रै हुन्छ, र त्यस्तो अवस्थामा तिनीहरूले मन नलागी-नलागी थोरै मात्रै हेर्छन्; अनि यो तिनीहरूको आफ्नै जीवन प्रवेशको बोझको बोधले गर्दा बिलकुलै नभई त्यसो गर्नुको आनन्द र उत्साहका लागि हेर्नु मात्रै हो। तिनीहरूले आफ्नो धेरैजसो समय के काममा बिताउँछन्? कुराकानी गर्ने, गफ गर्ने, वा आफूलाई मन पर्ने कुराहरू हेर्न अनलाइन जाने। उदाहरणका लागि, तिनीहरूमध्ये कतिलाई शेयर बजार मन पर्छ र तिनीहरू निरन्तर अनलाइन शेयर प्रवृत्तिहरू जाँच गर्छन्; कतिलाई कार वा इलेक्ट्रोनिक उत्पादनहरू मन पर्छ र तिनीहरू कुन-कुन ब्रान्डले नयाँ मोडेलहरू निकालेका छन् वा कुन नयाँ प्रविधि विकास गरेका छन् भनेर हेर्नका लागि सधैँ अनलाइन जाँच गरिरहेका हुन्छन्; अरूलाई स्वतन्त्र मिडियाले तयार गरेका अनलाइन समाचार रिपोर्टहरू हेर्न मन पर्छ; अनि कतिलाई सुन्दरता, मेकअप, वा स्वास्थ्य सेवा मन पर्छ र तिनीहरू सुन्दरता, स्वास्थ्य सेवा, वा राम्रो स्वास्थ्य कायम राख्ने र दीर्घायु हासिल गर्ने उपायहरूका बारेमा पढ्नका लागि बारम्बार अनलाइन जान्छन्। मुक्ति पाउनका लागि विश्‍वासीहरूले प्रवेश गर्नुपर्ने विभिन्न सत्यताहरू, वा दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरूमा यी मानिसहरूलाई कुनै चासो हुँदैन। मन नलागी-नलागी थोरै कर्तव्य पूरा गर्ने बाहेक, तिनीहरू सधैँ गैरविश्‍वासीहरूको संसारमा परिवर्तन भइरहेको परिस्थिति, र संसारका नयाँ प्रचलन र महत्त्वपूर्ण समाचारहरू, र तिनीहरूको आफ्नै देशका घटनाक्रमहरू, र अन्य कुराहरूमा ध्यान दिन्छन्। तिनीहरूले यस्तो जानकारी हेर्ने काम मात्रै गर्छन्। तिनीहरूले सधैँ यी कुराहरू हेर्ने हुनाले, तिनीहरूको हृदय त्यस्ता कुराहरूले मात्रै भरिएको हुन्छ, र तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरूका रूपमा बुझ्नुपर्ने सत्यताहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। तिनीहरूसँग जसले सङ्गति गरे पनि, तिनीहरूले यसलाई ग्रहण गर्दैनन्। तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, तिनीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्छन् र आफ्नो कर्तव्य पूरा गर्दा के-कस्ता समस्याहरू हुन्छन्, र परमेश्‍वरले मानिसहरूसँग गर्नुहुने कुन-कुन माग तिनीहरूले पूरा गर्छन् र कुन-कुन माग पूरा गर्दैनन् जस्ता जीवन प्रवेशसँग सम्बन्धित कुराहरूबारे न त चासो हुन्छ, न त चिन्ता नै। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरे पनि, झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्, सत्यता सिद्धान्तहरूको अलिकति पनि खोजी गरिरहेका हुँदैनन्। त्यस्ता मानिसहरूले आफू परमेश्‍वरको विश्‍वासी भएको दाबी गर्ने भए पनि, तिनीहरूले भित्री रूपमा पैसा, हैसियत, र गैरविश्‍वासीहरूका प्रचलनहरूलाई मन पराउँछन् र ध्यान दिन्छन्, र तिनीहरूलाई गैरविश्‍वासीहरूका प्रचलनहरू पछ्याउने मानिसहरूसँग सङ्गत गर्न मन पर्छ। गैरविश्‍वासीहरूको संसारका मामलाहरूका बारेमा कुरा गर्दा, तिनीहरूले ठूलो जाँगर र अथक जोशका साथ त्यसो गर्छन्, यस विषयमा स्पष्ट रूपमा र निरन्तर कुरा गर्छन्, तर जब तिनीहरूले सत्यताबारे सङ्गति गर्न मन पराउने मानिसहरूसँग भेट्छन्, तब तिनीहरूसँग भन्न कुरा केही हुँदैन। जब कुनै दाजुभाइ-दिदीबहिनीले “एउटा भजन अत्यन्तै सुन्दर छ, मैले सबै शब्दहरू याद गरेको छु” भनेर भन्छ, तब तिनीहरूले सतही रूपमा भन्छन्, “तपाईँले याद गर्नुभएछ। एकदम राम्रो।” जब कुनै दाजुभाइ-दिदीबहिनीले “फलानो-फलानो बहिनीको अनुभवात्मक गवाही निकै राम्रो छ!” भनेर भन्छ, तब तिनीहरूले भन्छन्, “अहिले अनुभवात्मक गवाहीका भिडियोहरू धेरै छन्, र कुन चाहिँ राम्रो छैन र? ती सबै निकै राम्रा छन्।” तिनीहरूले यस्तै सतही तरिकाले प्रतिक्रिया मात्रै दिन्छन्; वास्तवमा, तिनीहरूलाई सत्यताप्रति कुनै चासो हुँदैन र दाजुभाइ-दिदीबहिनीहरू र तिनीहरूको भाषा मिल्दैन। जब कसैले तिनीहरूलाई “के तपाईँ परिस्थितिहरूको सामना गर्दा प्रार्थना गर्नुहुन्छ?” भनेर सोध्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “कसरी प्रार्थना गर्ने? केबारे प्रार्थना गर्ने?” तिनीहरूले प्रार्थना गर्दैनन्, न त तिनीहरूसँग परमेश्‍वरलाई भन्नका लागि केही कुरा नै हुन्छ। यी मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यसँग सम्बन्धित कुनै पनि कुरामा चासो हुँदैन, र तिनीहरूको हृदय गैरविश्‍वासीहरूको संसारका सबै किसिमका कुराहरूले भरिएको हुन्छ। तिमीहरूलाई के लाग्छ—के त्यस्ता मानिसहरूमा समस्या हुन्छ? (हुन्छ।) यदि तैँले तिनीहरू सधैँ आधा हृदयले आफ्नो कर्तव्य पूरा गर्छन्, र कुनै पनि काम दिइँदा, तिनीहरू अत्यन्तै अधीर बन्छन्, थोरै कष्ट भोग्ने बित्तिकै गुनासो गर्छन्, र परमेश्‍वरमा विश्‍वास गरेको केही वर्षपछि, तिनीहरूले बारम्बार “परमेश्‍वरमा विश्‍वास गरेर मलाई नोक्सान भएको छ; यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, अहिले मेरो तलब यति-उतिले वृद्धि हुनेथियो, र मैले यस्तो-उस्तो हैसियत, र यस्तो-त्यस्तो विलासितापूर्ण जीवनशैलीको आनन्द लिन सक्थेँ” भन्ने जस्ता विचारहरू प्रकट गर्छन् भने, त्यस्ता मानिसहरूलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ।) त्यस्ता मानिसहरूलाई छोडेर जानका लागि मना र अबदेखि कुनै कर्तव्य पूरा गर्न नलगा, किनभने तिनीहरू श्रम गर्न समेत अनिच्छुक हुन्छन्। तिनीहरूले विश्‍वासीका रूपमा भेलाहरूमा सहभागिता जनाउनु नै सहनीय कुरा हो, तर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने कार्यले तिनीहरूको महान् उद्यमको मार्गमा तगारो हाल्छ भन्ने सोच्छन्। तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरलाई पछ्याउनु तिनीहरूको सुखको पछ्याइका लागि ठूलो बाधा हो भन्ने लाग्छ। तिनीहरू आफूले आफ्नो कर्तव्य पूरा नगरिरहेका भए, आफू अरूभन्दा माथि उठेर, उच्च पदस्थ अधिकारी बनिसकेका हुनेथिए र संसारमा धेरै पैसा कमाउनेथिए भन्ने विश्‍वास गर्छन्। त्यसोभए हामीले किन तिनीहरूलाई रोक्‍ने? त्यसकारण, तिनीहरूलाई छोडेर जानका लागि मनाउनु सबैका लागि राम्रो कुरा हो। तिनीहरूलाई जबरजस्ती गर्नु वा बस्नका लागि आग्रह गर्ने प्रयास गर्नु ठूलो गल्ती हुनेछ। तैँले त्यस्ता मानिसहरूलाई यसरी मनाउनुपर्छ: “तपाईँले किन परमेश्‍वरमा विश्‍वास गर्ने छनौट गर्नुभयो? यदि तपाईँलाई सत्यताप्रति चासो छैन र तपाईँ सधैँ परमेश्‍वरबारेको शङ्काले भरिनुहुन्छ भने, के तपाईँले कहिल्यै सत्यता प्राप्त गर्न सक्‍नुहुन्छ? तपाईँ विचार, पढाइ, र प्रतिभा भएको व्यक्ति हो—यदि तपाईँले बाहिरको संसारमा मेहनत गरिरहनुभएको भए, तपाईँ अवश्य नै कुनै कम्पनीको अध्यक्ष वा प्रमुख कार्यकारी अधिकारी बन्न सक्‍नुहुनेथ्यो, वा करोडपति वा अरबपति बन्न सक्‍नुहुनेथ्यो। परमेश्‍वरको घरमा यसरी भौँतारिएर हिँडेर त, सर्वप्रथम, तपाईँ अरूभन्दा माथि उठ्न सक्‍नुहुन्‍न; दोस्रो, तपाईँले ठूलो सफलता हासिल गर्न सक्‍नुहुन्‍न; अनि अन्तिममा, तपाईँले आफ्ना पुर्खाहरूलाई महिमित पार्न सक्‍नुहुन्‍न। यसका साथै, आफ्नो कर्तव्य पूरा गर्दा, तपाईँ सधैँ झाराटारुवा बन्‍नुहुन्छ, जसले गर्दा तपाईँ काटछाँटमा पर्नुहुन्छ, र त्यसले तपाईँलाई सधैँ दुःखी बनाउँछ। किन यो कष्ट भोग्नु? तपाईँ बाहिरी संसारमा जानुपर्छ, चाहे त्यो राजनीतिमा होस् वा व्यापारमा होस्, र तपाईँले अवश्य नै आफ्ना लागि निश्चित स्तरको सफलता हासिल गर्नुहुनेछ। तपाईँ हामीभन्दा फरक हुनुहुन्छ: तपाईँसँग शिक्षा र प्रतिभा दुवै छ, र तपाईँ एउटा भद्र व्यक्ति हुनुहुन्छ—हामी साधारण मानिसहरूका साथमा परमेश्‍वरमा विश्‍वास गर्नु तपाईँको स्तरभन्दा तलको कुरा होइन र? गैरविश्‍वासीहरूले प्रायजसो, ‘संसार तिम्रो रङ्गमञ्च हो’ भन्‍ने गरेझैँ—तपाईँसँगमौका छँदै, तपाईँले संसारमा अझै पनि केही ख्याति, लाभ, र हैसियत पछ्याउने समय बाँकी छ भन्ने तथ्यको फाइदा उठाउनुपर्छ। यहाँ बसेर आफूलाई अन्याय नगर्नुहोस्।” के यो तिनीहरूलाई मनाउने उचित तरिका हो? शब्द चयन निकै चतुर्‍याइँपूर्ण छ, होइन र? (हो।) यसले तिनीहरूलाई चोट पुर्‍याउँदैन, र यो तिनीहरूले सुन्न चाहेको कुरा भन्नु पनि हो। मलाई लाग्छ, यो तरिका उचित छ, यसले तिनीहरूलाई सल्लाह स्वीकार गर्न सजिलो बनाउँछ, र तिनीहरू कुनै चिन्ताविना निर्भिक रूपमा छोडेर जान सक्छन्। यस्ता मानिसहरूलाई निराकरण गर्दा, यदि तँ तिनीहरू अविश्‍वासी हुन् भन्ने कुरामा पक्का छस्, र तैँले तिनीहरूमा परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा कुनै जोश छैन, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा कहिल्यै इमानदार हुँदैनन्, र तिनीहरूले कहिल्यै जीवन प्रवेश प्राप्त गरेका छैनन्—न त कालान्तरमा तिनीहरूले यो कुरा प्राप्त गर्ने सम्भावना नै छ—भन्ने देख्छस् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। यदि तैँले तिनीहरूलाई छोडेर जानका लागि मनाइनस् भने, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा र उदासीन मनोवृत्ति अपनाउनेछन्, र तिनीहरूले ठूलो विपत्ति ल्याउने समय पनि आउन सक्छ।

त. कायर र शङ्कास्पद हुनु

हामीले दशौँ प्रकटीकरण—डगमगाउनुबारेको सङ्गति समाप्त गरेका छौँ। अब, यसपछि हामी एघारौँ प्रकटीकरण—कायर र शङ्कास्पद हुनुलाई हेरौँ कायर मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? (कायर मानिसहरूलाई पक्राउ र सतावटको सामना गर्दा डर लाग्छ। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न त चाहन्छन्, तर आँट गर्दैनन्।) त्यो एउटा सानो पक्ष मात्रै हो। मुख्य समस्या के हो भने, तिनीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा एउटा दृष्टिकोण हुन्छ: तिनीहरूलाई सधैँ परमेश्‍वरका विश्‍वासीहरू यस संसारमा असुहाउँदा देखिन्छन् भन्ने लाग्छ; तिनीहरूलाई परमेश्‍वरमाथिको उनीहरूको विश्‍वास लाजमर्दो छ भन्ने लाग्छ। विशेष गरी कतिपय निरङ्कुश देश वा धार्मिक स्वतन्त्रता नभएका देशहरूमा, जहाँ परमेश्‍वरका विश्‍वासीहरूलाई कानुनले सुरक्षा नदिने मात्र नभई तिनीहरू सतावटको पनि सिकार हुन्छन्, त्यहाँ कतिपय मानिसहरूले आफू परमेश्‍वरमा विश्‍वास गर्छु भनेर स्वीकार गर्ने आँट गर्दैनन् र अरूले पत्ता लगाउनेछन् भन्ने डर मान्छन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सीधा र आदरणीय कुरा होइन भन्ने लाग्छ। तिनीहरूलाई आफूले साँचो परमेश्‍वरमा विश्‍वास गर्ने गरेको थाहा भए पनि, तिनीहरूलाई यसमा कुनै सम्मान महसुस हुँदैन, न त तिनीहरूमा आत्मविश्‍वास नै हुन्छ। जब समस्याको कुनै लक्षण देखा पर्छ वा जब तिनीहरूले सरकारले विश्‍वासीहरूलाई पक्राउ गरिरहेको, सताइरहेको, दमन गरिरहेको, र बहिष्कार गरिरहेको देख्छन्, तब तिनीहरू आफू पनि यसमा पर्न सक्ने कुराप्रति विशेष रूपमा चिन्तित हुन्छन्। त्यस्ता परिस्थितिहरूमा, कतिपय मानिसहरूले तुरुन्तै मण्डलीबाट आफूलाई अलग गर्छन्, र हस्याङफस्याङ गर्दै परमेश्‍वरको घरमा पुस्तकहरू फर्काउन समेत जान्छन्। अरूले पक्राउ पर्छु भन्ने डरले त्यस उप्रान्त भेलाहरूमा सहभागी हुने आँट गर्दैनन् र दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा अभिवादन गर्ने आँट गर्दैनन्। विशेष गरी आफ्नो विश्‍वासका लागि तुलनात्मक रूपमा चर्चित वा पहिले पक्राउ परेका मानिसहरूका हकमा, यी मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गर्ने आँट त झन् गर्दै गर्दैनन्—तिनीहरू यो हदसम्म कायर हुन्छन्। अझै खराब कुरा त, सरकारले पक्राउको ठूलो लहर सुरु गरेको छ भन्ने सुनेपछि, तिनीहरू आफूले यसभन्दा पहिले परमेश्‍वरमा विश्‍वास गर्ने गरेको र कुन-कुन मानिसहरूले विश्‍वास गर्छन् भन्ने आफूलाई थाहा भएको कुरा सक्रिय रूपमा स्वीकार गर्नका लागि हतार-हतार अधिकारीहरूकहाँ जान्छन्, र आत्मसंरक्षणको एउटै उद्देश्य राखेर दया पाउनका लागि उनीहरूलाई सक्रिय रूपमा धोका दिन्छन् र परमेश्‍वरका वचनहरूका पुस्तकहरू र परमेश्‍वरमाथिको विश्‍वाससँग सम्बन्धित अन्य सामग्रीहरू सुम्पन्छन्। मलाई भन, के यी कायर हुनुका प्रकटीकरणहरू होइनन् र? (हुन्।) विशेष गरी कतिपय मानिसहरूका हकमा, परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूलाई सधैँ अरूले तिनीहरूको आस्थाबारे थाहा पाउनेनेछन् भन्ने डर लाग्छ, र कसैलाई पक्राउ गरियो भने, उसले तिनीहरूलाई धोका दिनेछ भन्ने अझै बढी डर लाग्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भन्ने कुरा कसैले थाहा पाउने बित्तिकै, तिनीहरूले हतार-हतार आफूले अब विश्‍वास गर्न छोडेको भन्दै सफाइ दिन्छन्, र गैरविश्‍वासीहरूलाई तिनीहरू विश्‍वासी हुन् भन्ने शङ्का त्याग्न लगाउनका लागि हतार-हतार कामकुरा समेत गर्छन्। उदाहरणका लागि, तिनीहरूले गैरविश्‍वासीहरूसँग सम्बन्ध जोड्छन्, सँगसँगै खाना खान्छन्, पार्टी गर्छन्, जुवा खेल्छन, मद्यपान गर्छन्, इत्यादि। समस्याको सानो सङ्केत देख्नेबित्तिकै, तिनीहरूले भेलाहरूमा सहभागी हुने आँट गर्दैनन् र आफ्नो कर्तव्य पूरा गर्न छोड्छन्, र तिनीहरूसँग सम्पर्क गर्ने जोकोहीलाई बेवास्ता गर्छन्। जब सबै कुरा शान्त हुन्छ, तब तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा कसरी आशिष्‌हरू मिल्छ, व्यक्ति मर्नबाट जोगिन सक्छ, र स्वर्ग जान र राम्रो गन्तव्य प्राप्त गर्न सक्छ भन्ने बारेमा सोच्छन्—त्यसबेला तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न ऊर्जाले भरिएका हुन्छन्। तर तिनीहरूले अलिक खतरनाक वातावरणको सामना गर्नेबित्तिकै, तिनीहरू नाम-निशाना नदेखिने गरी हराउँछन्। त्यसपछि, जब परिस्थिति बितेर जान्छ र कामकुरा फेरि शान्त हुन्छ, तब तिनीहरू फर्केर आउँछन्। यस्तो व्यक्ति प्रायजसो हराउने गर्छ। तिनीहरूलाई दिइएको कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, अलिकति खतरा पैदा हुनेबित्तिकै, तिनीहरूले आफ्नो कामको निरन्तरताका लागि कुनै बन्दोबस्त नगरी तुरुन्तै त्यसलाई छोड्न सक्छन्, र पछि कसैले पनि तिनीहरूसँग सम्पर्क गर्न सक्दैन। अरू मानिसहरूले पनि यस्तै खतरनाक वातावरणको सामना गर्दा, परिणामलाई उचित रूपमा सम्हाल्न सबै किसिमका उपायहरू सोच्न सक्छन्। यदि अहिले वातावरण अत्यन्तै शत्रुवत् छ र गिरफ्तारीको खतरा धेरै छ भने, तिनीहरूले खतरा बितेर जाऊन्जेल पर्खिन्छन् अनि मात्र कामलाई जारी राख्छन्। वा, यदि तिनीहरू विश्‍वासीका रूपमा अत्यन्तै चर्चित छन् र तिनीहरूले काम गर्न आफ्नो अनुहार देखाए भने सजिलै पक्राउ पर्न सक्छन् भने तिनीहरूले अरू कसैलाई यो काम गर्ने प्रबन्ध गर्छन्। तर जब यी कायर मानिसहरूले अलिकति पनि समस्या महसुस गर्छन्, तब तिनीहरू हतार-हतार लुक्छन्, र आफ्नो टाउको लुकाउने र आफ्नो ज्यान बचाउने सङ्घर्षमा लाग्छन्, मण्डलीको काम र सम्पत्तिलाई पूर्ण रूपमा बेवास्ता र अवहेलना गर्छन्, मण्डलीको कामको रक्षा गर्न वा दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा गर्न कुनै प्रयास गर्दैनन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूलाई सबैभन्दा बढी केको डर लाग्छ? पहिलो, तिनीहरूलाई सरकारले तिनीहरूको विश्‍वासका बारेमा थाहा पाउनेछ भन्ने डर हुन्छ। दोस्रो, तिनीहरूलाई छिमेकीहरूले थाहा पाउनेछन् भन्ने डर हुन्छ। तेस्रो, तिनीहरूलाई सबैभन्दा बढी डर लाग्ने कुरा भनेको पक्राउ र जेल पर्नु, वा कुटपिट गरेर मारिनु हो। त्यसकारण, जब कुनै घटना घट्छ, तब तिनीहरूले सोच्ने पहिलो कुरा भनेको तिनीहरू पक्राउ पर्लान् कि वा तिनीहरू मर्लान् कि भन्ने हुन्छ। यदि यी दुईमध्ये कुनै पनि कुरा हुने सम्भावना १% मात्रै छ भने पनि, तिनीहरूले उम्कने उपाय खोज्छन्। उदाहरणका लागि, भेलाको बेला, कुनै विश्‍वासी दाजुभाइ-दिदीबहिनीले यसो भन्न सक्छ, “म यहाँ आउँदा, मैले नजिकै एक जना अपरिचित जस्तो देखिने व्यक्तिलाई देखेँ। के यो हामीलाई निगरानी गर्ने गैरविश्‍वासी हुन सक्छ?” यो एउटा टिप्पणी सुनेरै, कायर मानिसहरू अर्को भेलामा सहभागी हुँदैनन् र तिनीहरूले सबैसँगको सम्पर्क तोड्छन्। के तँ यसलाई सतर्क हुनु भनेर भन्छस्? (यो सामान्य सतर्कता होइन, तर कायरता हो—तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ हुँदैन।) यो चरम रूपमा सतर्क हुनु हो। वातावरण विशेष रूपमा शत्रुवत् भएका देश वा क्षेत्रहरूमा, विश्‍वासीहरू सतर्क हुनुपर्छ भन्ने कुरा साँचो हो, तर यसको अर्थ पक्राउ पर्ने डरले आफ्नो कर्तव्य पूरा गर्न वा भेलाहरूमा सहभागी हुन छोड्नुपर्छ, र तिनीहरू यति सतर्क हुनुपर्छ कि तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ हुनु हुँदैन भन्ने होइन। सावधान हुने बारेमा कायर मानिसहरूको सिद्धान्त के हो? जेसुकै भए पनि—चाहे त्यो ठूलो होस् वा सानो—तिनीहरूले सबै कुरा परमेश्‍वरको हातमा छ भन्ने कुरामा पटक्कै विश्‍वास गर्दैनन्। तिनीहरूले कोही पनि भर्पद्रो हुँदैन भन्ने सोच्छन्, र आफूलाई रक्षा गर्न आफूमै भर पर्छन्। यो तिनीहरूको सिद्धान्त हो। तिनीहरूले सबै कुरा परमेश्‍वरको हातमा छ; सबै कुरा परमेश्‍वरले योजनाबद्ध गर्नुभएको र बन्दोबस्त गर्नुभएको छ; यदि कुनै कुरा साँच्चै नै भयो भने, त्यो परमेश्‍वरको अनुमतिले हुन्छ, र परमेश्‍वरले अनुमति दिनुभएको छैन भने, कोही पनि पक्राउ पर्नेछैन भन्ने कुरामा विश्‍वास गर्दैनन्। यस विषयमा तिनीहरूमा कुनै आस्था हुँदैन। बरु, तिनीहरूको हृदय कायरताले मात्रै भरिएको हुन्छ। यसका साथै, तिनीहरूको कायरतामा एउटा घातक कमीकमजोरी हुन्छ, र यो तिनीहरूको सबैभन्दा घृणित कुरा पनि हो: आफूलाई रक्षा गर्न र आफूलाई डर महसुस गराउने कुनै पनि वातावरणको सामना गर्नका लागि, तिनीहरूले आफ्नो “सर्वोच्च बुद्धि” का रूपमा आफूले हेर्ने कुरालाई पछ्याउँछन्, जुन के हो भने, जेसुकै भए पनि—तिनीहरूलाई निगरानी गरिए पनि वा पक्राउ गरिए पनि र जेल हालिए पनि—केही गलत भएपछि र तिनीहरूको सुरक्षा खतरामा परेपछि, एक हिसाबमा, तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास गर्ने कुरालाई इन्कार गर्छन्, र अर्को हिसाबमा, तिनीहरूले केही कुरा नलुकाई आफूले जानेको सबै कुरा भनिदिन्छन्। तिनीहरूले किन यसो गर्छन्? आफूलाई शारीरिक कष्टबाट जोगाउनका लागि मात्रै; त्यसकारण, तिनीहरू आफूले जानेको जेसुकै कुरा खुलासा गर्छन्। पहिलो, तिनीहरूले मण्डली अगुवाहरूलाई धोका दिन्छन्, र तिनीहरूले जिल्ला अगुवा र क्षेत्रीय अगुवाहरू को हुन् र तिनीहरू कहाँ बस्छन् भन्ने कुरा खुलासा गर्छन्, र आफूले जानेको सबै कुरा छताछुल्ल पारिदिन्छन्। तिनीहरूले यातना भोग्नुभन्दा पहिले नै सबै कुरा खोलिदिन्छन्। यसका साथै, “तीन-पत्र” मा हस्ताक्षर गर्न लगाइयो भने, तिनीहरूले त्यसबारे विचार समेत नगरी तुरुन्तै हस्ताक्षर गर्छन्—तिनीहरू यसका लागि पहिलेदेखि नै सधैँ तयारी अवस्थामा हुन्छन्। तिनीहरूले जेल पर्नबाट जोगिन, यातनाबाट जोगिन, र मृत्युको कुनै पनि खतराबाट टाढा रहनका लागि यसो गर्छन्। तिनीहरू निकै कायर हुन्छन्। तिनीहरूले न त परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन् न त तिनीहरूले आफ्नो ज्यान जोखिममा पार्न नै सक्छन्। बरु, तिनीहरूले आफूलाई रक्षा गर्ने हरसम्भव तरिकाका बारेमा सोच्छन्। तिनीहरूका लागि, सबैभन्दा राम्रो तरिका भनेको अरू र मण्डलीलाई धोका दिनु हो—सबैभन्दा प्रभावकारी तरिका यही हो। तिनीहरूले आफ्नो सुरक्षाको प्रत्याभूति गर्न र कुनै पनि पीडाबाट जोगिनका लागि अरूलाई गरिने धोकालाई मूल्यका रूपमा प्रयोग गर्छन्। यो तिनीहरूले धेरै पहिले नै योजना बनाएका कुरा हो—यो तिनीहरूको “सर्वोच्च बुद्धि” हो। मलाई भन, के यस्तो व्यक्तिको कायरता सामान्य कायरता हो? (होइन।) त्यसोभए समस्या के हो त? (तिनीहरू यति कायर हुन्छन् कि तिनीहरू कुनै पनि बेला र स्थानमा दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई धोका दिन तयार हुने यहूदा बन्छन्। त्यस्ता मानिसहरू साँचो विश्‍वासी होइनन्।) तिनीहरू साँचो विश्‍वासी हुन् कि झूटा विश्‍वासी हुन् भन्ने कुरालाई अहिलेका लागि पन्छाऔँ। तिनीहरूको मानवतालाई हेर त—तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको इमानदार र आदरणीय कुरा नभई धूर्त र लाजमर्दो कुरा हो भन्ने सोच्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु जस्तो यति इमानदार, आदरणीय, र सकारात्मक कुरालाई नकारात्मक कुराका रूपमा लिन्छन्—तिमीहरूलाई तिनीहरू कस्ता मान्छे हुन् भन्ने लाग्छ? (भ्रमित मानिसहरू, जो तुलनात्मक रूपमा दुष्ट हुन्छन्।) परिस्थितिहरूप्रतिको तिनीहरूको दृष्टिकोण र तिनलाई बुझ्ने तरिका सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। कहिलेकहीँ तिनीहरूले सही र गलतका बीचमा भिन्नता छुट्याउन नसकेर सेतोलाई कालोसमेत भन्न सक्छन्। परमेश्‍वरका विश्‍वासीहरू कसरी जानी-जानी धूर्त हुन सक्छन्? किनभने यो संसार अत्यन्तै दुष्ट छ—कानुनले धार्मिक स्वतन्त्रताको रक्षा गर्दैन, र शैतानी शासनले परमेश्‍वरलाई अझै धेरै घृणा गर्छ र परमेश्‍वरको कामलाई शत्रुताको नजरले लिन्छ। यसले सकारात्मक कुराहरूलाई अस्तित्वमा रहन दिँदैन र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सताउन कुनै कसर बाँकी राख्दैन। त्यसकारण, त्यस्ता सामाजिक परिस्थितिहरूमा, विश्‍वासीहरूसँग भेला हुँदा र आफ्नो कर्तव्य पूरा गर्दा सतर्कता साथ व्यवहार गर्ने बाहेक अरू कुनै विकल्प हुँदैन; तिनीहरूले खुल्लमखुल्ला यसो गर्ने आँट गर्दैनन्। बाहिरबाट हेर्दा, तिनीहरू चोरहरू जस्तै धूर्त भइरहे जस्तो देखिन सक्छ, तर वास्तवमा यो पूर्ण रूपमा सतावटमा परेको सन्दर्भले गर्दा हो, होइन र? (हो।) त्यसोभए ठूलो रातो अजिङ्गरले परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्नो कर्तव्य पूरा गर्नुहरूलाई कसरी व्याख्या गर्छ? “शङ्कास्पद व्यवहार” का रूपमा। के यो शङ्कास्पद व्यवहार हो? (होइन।) यो शङ्कास्पद व्यवहार होइन—यो मानिसहरूले अरू कुनै विकल्प नभएर गर्ने कुरा हो। के यी मानिसहरूले कुनै गैरकानुनी काम गरेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले कुनै गैरकानुनी काम वा सरकारको विरोध गर्ने कुनै काम गरेका हुँदैनन्, तिनीहरूले कानुन तोड्नु वा सार्वजनिक सुव्यवस्था खलबलाउनु त परको कुरा हो। यी मानिसहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले सृजित प्राणीहरूको कर्तव्य मात्रै पूरा गरिरहेका हुन्छन्। यो काम संसारको सबैभन्दा बहुमूल्य, अर्थपूर्ण, र न्यायसङ्गत उद्यम हो। तर यो संसार दुष्ट र अन्धकारमय भएकाले र यसले सेतोलाई कालो भनेर घोषणा गर्ने हुनाले, यसले सबैभन्दा न्यायसङ्गत, बहुमूल्य, र अर्थपूर्ण उद्यमलाई “शङ्कास्पद” भनेर भन्छ। शैतानको व्याख्या यही हो। के शैतानको व्याख्या सत्यता हो? के यो सकारात्मक छ? (छैन।) अवश्य नै छैन। तर जब कायर मानिसहरूले यो व्याख्या सुन्छन्, तब तिनीहरू हृदयमा यस कुरामा पूर्ण रूपमा सहमत मात्र नभई तिनीहरूले शैतानको यो व्याख्यालाई स्वीकार पनि गर्छन्। परिणामस्वरूप, तिनीहरू गुप्त रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु अनुचित कुरा हो र यो अवश्य नै गलत हो भन्ने पनि सोच्छन्। तिनीहरूलाई सधैँ आफूलाई पनि एक दिन समाज र सरकारले यातना दिनेछ, आफूसँग आफ्‍नो प्रतिरक्षामा तर्क गर्ने कुनै ठाउँ हुनेछैन र आफूलाई सहयोग गर्ने वा बचाउने कोही हुनेछैन भन्ने डर हुन्छ। त्यसकारण, तिनीहरूलाई मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासका बारेमा थाहा पाउँछन् कि भन्ने कुरालाई लिएर विशेष डर लाग्छ। तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन्, वा परमेश्‍वरले मानिसहरूलाई हिँड्न अगुवाइ गर्नुहुने मार्ग सही मार्ग हो भनेर हृदयमा स्वीकार गर्दैनन्, तैपनि तिनीहरू अझै पनि परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। के यो विरोधाभासपूर्ण कुरा होइन र? अन्त्यमा, तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गरेको र यस्तो वातावरणमा यी कष्टहरू भोगेकोमा अत्यन्तै पीडा हुन्छ। तिनीहरूलाई किन पीडा हुन्छ? किनभने तिनीहरूलाई यस संसारको दुष्ट शासनको र दियाबलसहरू र शैतानहरूका दुष्ट शक्तिहरूको निकै डर लाग्छ, र तिनीहरूलाई सधैँ दियाबलसहरू र शैतानहरूले यातना दिनेछन् र तिनीहरूको ज्यान लिनेछन् भन्ने डर हुन्छ। तिनीहरूसँग परमेश्‍वरमाथिको कुनै वास्तविक आस्था नहुने हुनाले, तिनीहरूले विशेष रूपमा कायर व्यवहार गर्छन्, यहाँसम्म कि तिनीहरूले आफ्नो कर्तव्य पटक्कै पूरा गर्दैनन्। यदि बिलकुलै कुनै खतरा छैन भने, तिनीहरू भेलाहरूमा सहभागी हुन्छन् वा दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्छन्, वा मण्डलीका लागि केही काम गर्छन्, तर तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरू मण्डलीको भाग हुन् भनेर स्वीकार गर्ने, वा परमेश्‍वरको गवाही दिन वा आफ्नो कर्तव्य पूरा गर्न खडा हुने आँट गर्दै गर्दैनन्—तिनीहरूलाई अत्यन्तै डर लाग्छ। तिनीहरूसँग परमेश्‍वरमाथिको कुनै वास्तविक आस्था हुँदैन, तैपनि तिनीहरूले अझै पनि परमेश्‍वरबाट आशिष्‌हरू र राम्रो गन्तव्य प्राप्त गर्न चाहन्छन्। के तिमीहरू यो विरोधाभासपूर्ण कुरा हो भनेर भन्छौ? (भन्छौँ।) के तिनीहरूको आफ्नै व्यक्तिगत हितहरूमा ध्यान दिने कार्यले तिनीहरूको मनलाई धुमिल्ल्याएको हुँदैन र? (हुन्छ।) यी मानिसहरू व्यक्तिगत फाइदाको लोभमा डुबेका हुन्छन्। तिनीहरू परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूले पूरा गरिरहेका कर्तव्य न्यायसङ्गत, बहुमूल्य, र अर्थपूर्ण छन् भन्ने विश्‍वास गर्दैनन्। तिनीहरूलाई महत्त्वपूर्ण कर्तव्य पूरा गर्न, वा अगुवा र कामदारहरूले प्रायजसो तिनीहरूलाई बाहिर गएर मामलाहरू सम्हाल्न लगाउँछन्, र कुनै कुरा गलत भयो भने, तिनीहरू फस्नेछन् भन्ने कुराको डर लाग्छ। यी कायर मानिसहरू खतराको सामना गर्दा यहूदा बन्न सक्छन् र तिनीहरूले मण्डलीलाई धोका दिन सक्छन्—यो पनि एक प्रकारको खतरनाक व्यक्ति हो।

कायर मानिसहरूमा अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? यी मानिसहरूले कुनै पनि बेला परमेश्‍वरको नामलाई इन्कार गर्न र त्याग्न, कुनै पनि बेला परमेश्‍वरलाई धोका दिन, र तिनीहरू कुनै पनि बेला यहूदा बन्न सक्छन्। कायर मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न लायक हुँदैनन्—यस्तै नै होइन र? (हो।) कायर मानिसहरूको घातक कमजोरी के हो? (तिनीहरूलाई मृत्युको डर लाग्छ र तिनीहरू धोकामा संलग्‍न हुन सक्छन्।) यी मानिसहरू नीच रूपमा जीवनभरि भौँतारिन्छन्, तिनीहरूले जीवनको लोभ गर्छन् र मृत्युको डर मान्छन्। मृत्युको डर तिनीहरूको घातक कमजोरी हो। तिनीहरूलाई मर्न नलगाऊन्जेल, तिनीहरू जेसुकै गर्न तयार हुन्छन्—चाहे त्यो यहूदा बन्नु होस्, विनाशको पुत्र बन्नु होस्, वा श्रापित बन्नु होस्—तिनीहरू जिउन पाऊन्जेल जेसुकै गर्न तयार हुन्छन्। जिउनु नै तिनीहरूको सबैभन्दा ठूलो उद्देश्य हो। तैँले मानिसहरूको जीवन र मृत्यु परमेश्‍वरको हातमा छ; परमेश्‍वरले मानिसहरूको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँ त्यसमाथि सार्वभौम हुनुहुन्छ, र उहाँ त्यसलाई योजनाबद्ध गर्नुहुन्छ; अनि मानिसहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ भनेर जसरी सङ्गति गरे पनि, तिनीहरू यी वचनहरूमा न त विश्‍वास गर्छन्, न त तिनलाई स्वीकार नै गर्छन्। तिनीहरू मानवका रूपमा पुनर्जन्म हुनु दुर्लभ अवसर हो, त्यसकारण तिनीहरू बिलकुलै मर्नु हुँदैन भन्‍ने मात्रै सोच्छन्; तिनीहरू मरेपछि र तिनीहरूको देह नष्ट भएपछि, तिनीहरूको आत्मा कि त पशुका रूपमा पुनर्जन्म हुनेछ, कि त भौँतारिने भूत बन्नेछ, र तिनीहरूले फेरि कहिल्यै मानवका रूपमा पुनर्जन्म हुने मौका पाउनेछैनन् भन्ने पनि सोच्छन्। त्यसकारण, तिनीहरूलाई मृत्युसँग विशेष डर लाग्छ। तिनीहरूका लागि, मृत्यु एउटा विनाशकारी विपत्ति हो, अर्को पुनर्जन्म पाउने राम्रो अवसर होइन, न त अर्को पुनर्जन्मका लागि नयाँ सुरुवात नै हो। त्यसकारण, तिनीहरूले आफ्नो जीवन रक्षा गर्नका लागि कुनै पनि कसर बाँकी राख्दैनन्। यसको अर्थ अरूलाई धोका दिनु वा मण्डलीको काममा कुनै किसिमको हानि गर्नु नै भए पनि, तिनीहरू त्यसो गर्न हिचकिचाउँदैनन्; अनि यसको अर्थ परमेश्‍वरको नाम त्याग्‍नु नै भए पनि, तिनीहरू परिणामहरूका बारेमा वास्ता गर्दैनन्—तिनीहरूलाई सुरक्षित रूपमा जिउने बारेमा मात्रै वास्ता हुन्छ। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? (नीच अस्तित्व भएका मानिसहरू।) तिनीहरू नीच अस्तित्व भएका तल्‍लो स्तरका मानिसहरू हुन्! तिनीहरू इज्जत वा गरिमाविना जिउँछन्, जीवित रहनका लागि मात्रै पनि जेसुकै गर्न तयार हुन्छन्, र जुनसुकै हदसम्‍म पनि गिर्छन्। कतिपय मानिसहरूले खतरनाक वातावरणको सामना गर्नुभन्दा पहिले के गर्ने भनेर हृदयमा हिसाब-किताब गरिसकेका हुन्छन्: “यदि मलाई पक्राउ गरियो भने, म आफ्नो मुख खोल्नेछु। जब ठूलो रातो अजिङ्गरले तिमीहरूलाई यातना दिन्छ, धम्काउँछ, र डर देखाउँछ, र मण्डलीलाई धोका दिन बाध्य पार्छ, तब तिमीहरू सबैले एक शब्द पनि बोल्न मान्दैनौ। म त तिमीहरू जस्तो बोल्नुभन्दा शारीरिक पीडा भोग्न मन पराउने मूर्ख छैनँ। म त कुटपिट वा धम्कीमा पर्नुभन्दा पहिले नै बोल्नेथिएँ—हेर त म कति चलाख छु! भनाइ नै छ, ‘बुद्धिमान् व्यक्ति परिस्थिति अनुसार चल्छ।’ मैले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिनुमा यति नराम्रो कुरा के छ र? सबै जना स्वार्थी हुनुपर्छ, होइन र? के आफ्नो ख्याल नगर्नु मूर्खता होइन र?” केही हुनुभन्दा पहिले नै, तिनीहरूले आफ्नो रक्षा कसरी गर्ने भनेर पत्ता लगाइसकेका हुन्छन्। तिनीहरूले यो कुराबारे धेरै पहिले नै विचार गरेका हुन्छन्। आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने बारेमा तिनीहरूको मत के हुन्छ? “व्यक्तिले किन आफ्नो जीवन आफै कठिन बनाउने? किन यति जिद्दी हुने? आफूलाई राम्रो गरेर मात्रै यो जीवन व्यर्थमा जिइएको हुँदैन!” आफूलाई आचरणमा ढाल्ने सम्‍बन्धी तिनीहरूको मत यही हो। तिनीहरूको कुनै नैतिक सीमा हुँदैन। तिमीहरूलाई यस्ता मानिसहरूलाई के गर्नुपर्छ जस्तो लाग्छ? (यदि त्यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई बुद्धि लगाएर निकाल्नुपर्छ—तिनीहरू टाइमबमहरू जस्तै हुन्।) ठीक भन्यौ, तिनीहरू चलिरहेका टाइमबम हुन्। तिनीहरू सरासर कायर हुन्छन्, र खतरा आइपर्दा, तिनीहरूले मण्डलीलाई धोका दिन्छन्। यदि कुनै व्यक्तिमा सामान्य मानवता छ भने, उसले खतरनाक वातावरणलाई सम्हाल्न बुद्धिमानी विधिहरू प्रयोग गर्नेछ, र उसमा परमेश्‍वरमाथिको साँचो आस्था हुनेछ। तिनीहरूले भेलाहरूमा सहभागी हुने वा आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा बाधा हुन दिँदैनन्, र आफ्नो कद र परिस्थितिहरूका आधारमा तिनीहरूले परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न सक्दो गर्नेछन्। यो सामान्य मानवताको प्रकटीकरण हो। तर कायर मानिसहरूले आफ्नो जीवनलाई विशेष रूपमा बहुमूल्य ठान्छन्; तिनीहरूले जीवनको लोभ गर्छन् र मृत्युको डर मान्छन्, र आफ्नो जीवनलाई अरू सबै कुराभन्दा बढी महत्त्व दिन्छन्। तिनीहरूसँग परमेश्‍वरमाथिको कुनै वास्तविक आस्था हुँदैन र तिनीहरू परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरा देख्न सक्दैनन्। त्यसकारण, जब तिनीहरूले सतावटको सामना गर्छन्, तब तिनीहरू कायर मानिसहरूका रूपमा स्वाभाविक रूपमै प्रकाश हुन्छन्। कायर मानिसहरू आफ्नो रक्षा गर्नका लागि यहूदा बन्न सक्छन्। त्यस्ता मानिसहरू खतरनाक तत्त्वहरू हुन्, तिनीहरू भयानक व्यक्तिहरू हुन्। मण्डलीले तिनीहरूलाई कुनै काम सुम्पन सक्दैन, न त तिनीहरूलाई कुनै कर्तव्य पूरा गर्न नै दिन सक्छ। नत्र भने, यदि तिनीहरू धोकामा संलग्न भए भने, मण्डलीको काममा हुने हानि अत्यन्तै ठूलो हुनेछ; यसले फाइदाभन्दा बढी हानि गर्नेछ।

कायर र शङ्कालु मानिसहरूको शङ्कास्पदता कसरी प्रकट हुन्छ? कतिपय मानिसहरूले कहिल्यै परमेश्‍वरको घरको कामका विभिन्न पक्षहरूलाई स्पष्ट रूपमा देख्न सक्दैनन्। तिनीहरूलाई परमेश्‍वरले ठ्याक्कै कुन काम गरिरहनुभएको छ, वा परमेश्‍वरले बोल्नुहुने वचनहरू सत्यता हुन् कि होइनन् भन्ने थाहा हुँदैन। तिनीहरूसँग यी मामिलाहरूका बारेमा सही बुझाइ वा दृष्टिकोण हुँदैन, त्यसकारण तिनीहरूले परमेश्‍वरको घरको काममा ठ्याक्कै के भइरहेको छ, यो कामले के-कस्ता परिणामहरू हासिल गर्ने उद्देश्य राख्छ, वा यो मानिसहरूलाई मुक्ति दिने उद्देश्यले गरिएको हो कि होइन भनेर पुष्टि गर्न सक्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि कुरालाई स्पष्ट रूपमा देख्न सक्दैनन्। मण्डली भनेको के हो भन्ने बारेमा पनि तिनीहरू स्पष्ट हुँदैनन्। तिनीहरूले जति प्रवचन सुने पनि, तिनीहरूले अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने कार्यलाई सधैँ शङ्का गर्छन्, र मनमनै सोच्छन्, “यी मानिसहरू निरन्तर व्यस्त हुन्छन्, हरेक दिन आउँछन् र जान्छन्—तिनीहरू ठ्याक्कै के गरिरहेका हुन्छन्?” विशेष गरी ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य पूरा गर्ने सन्दर्भमा, अगुवा र कामदारहरूले मण्डलीको कामका निश्चित विषयवस्तुहरूमा—जस्तै प्रशासनिक काम, कर्मचारीको काम, सामान्य मामलाहरूको काम, र विशेष गरी जोखिमहरू उठाउनुपर्ने केही काममा—साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई यी कुराहरूबारे थाहा हुन नदिई सङ्गति र छलफल गर्छन्। यसले तिनीहरूको रक्षा गर्छ, हानि गर्दैन। त, कतिपय मानिसहरूले यो कुरा बुझ्दैनन् र सधैँ यी कुराहरूका बारेमा सोधपुछ गर्न चाहन्छन्। उदाहरणका लागि, तिनीहरूले पुस्तकहरू कहाँ छापिन्छन् वा निश्चित अगुवा र कामदारहरूलाई कहाँ राखिएको छ भन्नेबारे सोधपुछ गर्छन्। के यी कुराहरू जानेर तँलाई फाइदा हुन्छ? (हुँदैन।) के यी कुराहरू थाहा नपाउँदा तैँले केही कुरा गुमाउँछस्? (गुमाउँदिनँ।) यी कुराहरू थाहा नहनुले परमेश्‍वरका वचनहरू खाने-पिउने तेरो कार्यमा असर गर्दैन, यसले तेरो सत्यता प्राप्तिमा असर गर्दैन, र यसले निश्चय नै तेरो जीवन प्रवेश वा तेरो स्वभाव परिवर्तनमा बाधा दिँदैन। त्यसोभए, तैँले यी कुराहरूका बारेमा सोधपुछ र अनुसन्धान गर्नु अनावश्यक हुँदैन र? आतिथ्यसत्कार गर्ने कतिपय मानिसहरू सधैँ शङ्कालु हुन्छन्। जब अगुवा र कामदारहरूले तिनीहरूलाई मण्डलीको कामका बारेमा हुने सङ्गति र छलफलहरूका बारेमा जानकारी दिँदैनन्, तब तिनीहरूले सोच्छन्, “अगुवा र कामदारहरू किन सधैँ मेरो पिठ्यूँ पछाडि भेला भइरहेका र सङ्गति गरिरहेका हुन्छन्? तिनीहरूले के-कस्ता क्रियाकलापहरू गर्न लागेका छन्?” तिनीहरूलाई कतिपय अगुवा र कामदारहरूको व्यक्तिगत जानकारीका बारेमा थाहा हुँदैन, र तिनीहरूले यस्तो सोच्न थाल्छन्, “तिनीहरूले मलाई किन यसबारे थाहा दिँदैनन्? मलाई तिनीहरूको नाम के हो, तिनीहरू कहाँ बस्छन्, वा तिनीहरूको वास्तविक अवस्था कस्तो छ भन्ने थाहा छैन। के यी मानिसहरूले मलाई परमेश्‍वरमाथिको मेरो विश्‍वासमा अगुवाइ गर्ने क्रममा मलाई छल वा हानि गर्न सक्छन्?” भेटीहरू वा केही खतरनाक काम जस्ता केही संवेदनशील प्रकारका कामहरू पनि हुन्छन्—पहिलो कुरा त यी कुराहरूका बारेमा सोध्नु नै हुँदैन, तैपनि यी मानिसहरूले सधैँ तिनका बारेमा सोधपुछ गर्न चाहन्छन्। जब अरूले तिनीहरूलाई उत्तर दिँदैनन्, तब तिनीहरू अझै शङ्कालु बन्छन्। विशेष गरी, कतिपय मानिसहरूले सुरुदेखि नै परमेश्‍वरमा त्यति धेरै आस्था राखेका हुँदैनन्—परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले आफ्नो पारिवारिक व्यापार अझै राम्रो भइरहेको छ र तिनीहरूका परिवारका सदस्यहरू स्वस्थ छन् भन्ने देख्छन्, र तिनीहरूले यो परमेश्‍वरको अनुग्रह र आशिष्‌ हो भन्ने सोच्छन्। यो क्षणिक खुसीले गर्दा, तिनीहरूले थोरै पैसा दिन्छन्, तर त्यसपछि तिनीहरूले यस्तो सोच्न थाल्छन्, “मैले दिएको पैसा कहाँ खर्च भयो? के यसलाई मण्डलीको कामका लागि प्रयोग गरिएको थियो? के यसलाई व्यापारमा लगानी गरिएको थियो वा गैरकानुनी क्रियाकलापहरूका लागि प्रयोग गरिएको थियो?” तिनीहरूले सधैँ यी कुराहरूका बारेमा सोधपुछ गर्न र तिनका बारेमा जान्न चाहन्छन्, र सधैँ यी कुराहरूको जडमा पुग्न चाहन्छन्। कतिपय मानिसहरूको शङ्का अझै दह्रिलो हुन्छ। उदाहरणका लागि, जब मण्डलीले कामका आवश्यकताहरूका कारण कुनै उपकरण वा यन्त्र किन्छ, वा जब यसले आफ्नो कर्तव्य पूरा गरिरहेका मानिसहरूको दैनिक जीवनमा केही हेरचाह र सहयोग प्रदान गर्छ, तब यस्तो शङ्कालु व्यक्तिले सधैँ यस्तो शङ्का गर्छ, “पैसा त धेरै फरक-फरक क्षेत्रमा खर्च भइरहेको छ—यो कहाँबाट आउँछ? के मण्डलीले कुनै व्यापार पनि गरिरहेको छ? के पर्दा पछाडि यसको धनी संरक्षक वा कुनै शक्तिशाली समर्थक छ? के कुनै समूहले मण्डलीलाई सहयोग गरिरहेको छ?” विशेष गरी जब तिनीहरूले मण्डलीलाई बदनाम गर्ने अधिकारीहरूका केही आधारहीन अफवाह र दुष्ट शब्दहरू सुन्छन्—मण्डलीका फलानो-फलानोले हत्या गरेका र कानुन तोडेका छन्, फलानो-फलानो व्यक्ति राज्यले खोजी गरेको अपराधी हो, फलानो-फलानो व्यक्ति ठूलो रकम लिएर विदेश भागेको छ, इत्यादि जस्ता दाबीहरू सुन्छन्—तब मण्डली र परमेश्‍वरको कामप्रतिको तिनीहरूको शङ्का अझै दह्रिलो हुँदै जान्छ। के त्यस्ता मानिसहरूमा सामान्य सोचाइ हुन्छ? के तिनीहरूले विश्‍वासीहरूले पालना गर्नुपर्ने सिद्धान्तहरूलाई स्पष्ट रूपमा देख्न सक्छन्? धेरैजसो मानिसहरूका हकमा, तिनीहरू यो परमेश्‍वरको काम हो भनेर पक्का भएपछि, तिनीहरूसँग परमेश्‍वरबारे कुनै शङ्का हुँदैन। मण्डलीमा जस्तोसुकै समस्याहरू वा जस्तोसुकै प्रकारका मानिसहरू देखा परे पनि, तिनीहरूले तिनलाई परमेश्‍वरका वचनहरू अनुसार लिन सक्छन्। दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बाधाहरू उत्पन्न गरे पनि, तिनीहरूले यसलाई सही रूपमा बुझ्न सक्छन्। तिनीहरूले कहिल्यै परमेश्‍वर वा परमेश्‍वरको काम, वा मण्डली वा परमेश्‍वरको घरबारे शङ्का गर्दैनन्। बढीमा, तिनीहरूमा निश्चित व्यक्तिहरूका बारेमा विचारहरू वा परमेश्‍वरको कामका बारेमा केही धारणाहरू हुन सक्छन्, तर तिनीहरूले मण्डली जीवन जिएर यी कुराहरूलाई क्रमिक रूपमा समाधान गर्न सक्छन्। तर शङ्कालु मानिसहरू फरक हुन्छन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सुरुदेखि नै, तिनीहरूले शङ्का र सबै किसिमका धारणाहरू बोकेका हुन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् कि होइनन् भन्ने कुरामा अनिश्चित हुन्छन्, परमेश्‍वरले यी वचनहरू व्यक्त गर्नु परमेश्‍वरको काम हो कि होइन भन्ने कुरामा अनिश्चित हुन्छन्, र भेला हुने दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरको मण्डली हुन् कि होइनन् भन्ने बारेमा झनै अनिश्चित हुन्छन्। तिनीहरूले निरन्तर शङ्का पाल्छन्, र सधैँ आफ्नो शङ्का सही छ भनेर प्रमाणित गर्न तथ्यगत प्रमाण खोज्छन्। यो कस्तो मनोवृत्ति हो? के तँलाई यस्तो मनोवृत्ति भएका मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा सत्यता बुझ्न सक्छन् भन्ने लाग्छ? (लाग्दैन।) तिनीहरूले कहिल्यै सत्यता बुझ्न सक्दैनन्। तिनीहरू आफ्नो हृदयमा सबैभन्दा बढी के कुरामा केन्द्रित हुन्छन्? तिनीहरूले सधैँ यस्तो मनन गरिरहेका हुन्छन्, “यी मानिसहरू को हुन्? के यो कुनै सामाजिक संस्था हो? मैले यी मानिसहरूलाई मेजमानी गरिरहँदा परमेश्‍वरको घरले तिनीहरूको जीविकोपार्जनको खर्च उठाउने भए पनि, मैले अझै पनि तिनीहरूको मेजमान भएर जोखिम उठाइइरहेको हुन्छु। त्यसैले, के परमेश्‍वरले मेरा असल कार्यहरू याद गर्नुहुनेछ? यदि परमेश्‍वरले तिनलाई याद गर्नुहुन्‍न भने, के मेरो मेजमानी व्यर्थ भएको हुनेछैन र?” तिनीहरूको हृदयमा निरन्तर त्यस्ता शङ्काहरू हुन्छन्। के तँलाई तिनीहरूले स्वेच्छाले दाजुभाइ-दिदीबहिनीहरूको मेजमानी गर्छन् भन्ने लाग्छ? (लाग्दैन।) तिनीहरूले पूर्ण रूपमा आशिष्‌हरू प्राप्त गर्ने इच्छाका कारण नै यसो गर्छन्, साथसाथै तिनीहरू शङ्काले भरिएका हुन्छन्। विशेष गरी जब तिनीहरूले स्पष्ट रूपमा देख्न नसक्‍ने र आफ्ना धारणाहरू अनुसार नकारात्मक ठान्ने केही कुराहरू सुन्छन्, तब तिनीहरूको हृदयमा भएका शङ्काहरू बढ्छन्। उदाहरणका लागि, भेलाहरूमा, कसैले ठूलो रातो अजिङ्गरको शासनका कार्यहरू र पिशाच राजाहरूको कुरूप अनुहारसँग सम्बन्धित विषयहरू उठाउन सक्छ, वा कहिलेकहीँ ठूलो रातो अजिङ्गरले गरेको दमन र पक्राउ, र ठूलो रातो अजिङ्गरको प्रकृति सार, इत्यादि कुराका बारेमा सत्यतामा सङ्गति गर्न सक्छ। यी विषयहरू वास्तवमा राजनीतिसँग सम्बन्धित हुँदैनन्—तिनले मानिसहरूलाई ठूलो रातो अजिङ्गरलाई खुट्ट्याउन र त्यसको अनुहार स्पष्ट रूपमा देख्न सिक्न सहयोग मात्रै गर्छन्, ताकि तिनीहरूले ठूलो रातो अजिङ्गरलाई घृणा र इन्कार गर्न पुगून् र तिनीहरू उप्रान्त शैतानको प्रभावको साङ्लो र बन्धनमा पर्न छोडून्। तर जब शङ्कालु मानिसहरूले त्यस्ता विषयहरू सुन्छन्, तब तिनीहरू कायर र भयभीत हुन्छन्: “यी मानिसहरूले राजनीतिका बारेमा समेत छलफल गरिरहेका छन्! के तिनीहरू राजनीतिक अपराधीहरू होइनन् र? के तिनीहरू प्रतिक्रान्तिकारीहरू होइनन् र? यी विषयहरू अत्यन्तै संवेदनशील छन्! छिटो, झ्यालहरू बन्द गर, ढोकामा ताला लगाऊ, इन्टरनेट र फोन लाइनहरू काट! यदि सरकारले यो कुरा सुन्यो भने, हामी ठूलो समस्यामा पर्न सक्छौँ! हामीलाई अवश्य नै आजीवन कारावास हुनेछ!” तिनीहरू त्यस्ता विषयहरू सुन्न अनिच्छुक हुन्छन् र तिनका बारेमा छलफल हुनबाट रोक्न सङ्गतिमा रोकावट पैदा गर्नका लागि हरेक माध्यम प्रयोग गर्नेछन्। तिनीहरूले मनमनै सोच्छन्, “यी मानिसहरूले ठ्याक्कै कस्तो काम गर्छन्? परमेश्‍वर मानव राजनीतिमा संलग्‍न हुनुहुन्‍न भनेर भनिन्छ, त्यसोभए यी मानिसहरूले किन राजनीतिका बारेमा कुरा गरिरहेका हुन्छन्? के विश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने विषयमा मात्रै कुरा गर्नु पर्दैन र? तिनीहरूले किन यी कुराहरूका बारेमा छलफल गरिरहेका छन्? के यो समस्या निम्त्याउन खोज्नु मात्रै होइन र? यदि तिनीहरू यी कुराहरूका बारेमा कुरा गर्न चाहन्छन् भने, तिनीहरूले आफूले चाहेको ठाउँमा गर्न सक्छन्, तर तिनीहरूले मेरो घरमा यसो गर्नु हुँदैन। म यस विषयमा तिनीहरूलाई ‘आड दिन’ चाहन्‍नँ!” तिनीहरूले केही कुरा पनि स्पष्ट रूपमा देख्न सक्दैनन्। जब तिनीहरूले सरकारले बनाएका केही अफवाहहरू सुन्छन्, तब तिनीहरूले ती कुरा खुट्ट्याउन नसक्‍ने मात्र होइन, तर तिनीहरूको शङ्का अझै दह्रिलो बन्छ। यदि तिनीहरूले शक्तिमा रहेका पिशाचहरूको समूह वा धर्मभित्रका ख्रीष्टविरोधी शक्ति र दुष्ट आत्माहरूका सम्प्रदायहरूप्रति बारम्बार सन्देह र शङ्का गर्ने गरेका भए, त्यसले तिनीहरूलाई वास्तवमा आफूलाई रक्षा गर्न सहयोग गर्नेथियो। तर परमेश्‍वरले काम गर्नुहुने मण्डलीमा, परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, तैपनि तिनीहरूले अझै पनि यसलाई बुझ्न सक्दैनन् र यो साँचो मार्ग हो भनेर निर्धारित गर्न सक्दैनन्। यति लामो समयसम्म प्रवचन सुनेपछि र परमेश्‍वरले धेरै कुरा गर्नुभएको देखेपछि, तिनीहरूको शङ्का समाधान हुँदैन, र तिनीहरूका धारणा र कल्पनाहरू हटेका छैनन्। तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, तिनीहरूमा बुझाइको क्षमता छँदै छैन, र तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन् भन्ने कुरा स्पष्ट छ। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सुरुदेखि नै, तिनीहरूले परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा कहिल्यै विश्‍वास गरेका छैनन्, र तिनीहरूले परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् भन्ने कुरामा कहिल्यै विश्‍वास गरेका छैनन्; तिनीहरूले परमेश्‍वरको घरको कामलाई पूर्ण रूपमा पवित्र आत्माले अगुवाइ गर्नुहुन्छ भन्ने कुरामा विश्‍वास गर्नु त परको कुरा हो। परिणाम स्वरूप, सबै कुराले तिनीहरूलाई शङ्कालु बनाउँछ। उदाहरणका लागि, भेलाहरूमा फरक-फरक प्रकारका मानिसहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गर्दा, हामीले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई कसरी बहकाउँछन्; वा कतिपय मानिसहरू तिनीहरूले उपभोग गर्ने र आनन्द उठाउने सबै कुरा परमेश्‍वरका भेटीहरू प्रयोग गरेर तिनीहरूलाई प्रदान गरिएकोभए पनि कुनै वास्तविक काम गर्दैनन्, जुन मण्डलीलाई चुस्‍नु सरह हो; वा कतिपय मानिसहरूले कसरी भेटीहरू चोर्छन् वा उडाउँछन्; वा मण्डलीका निश्चित व्यक्तिहरू कसरी लम्पट क्रियाकलापहरूमा संलग्न हुन्छन्; वा कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्दा कसरी परमेश्‍वरलाई अपमानित गर्ने कुराहरू गर्छन् भन्ने बारेमा कुरा गर्न सक्छौँ। हामी यी कुराहरूका बारेमा छलफल गर्छौँ ताकि मानिसहरूले अरूलाई कसरी खुट्ट्याउने भनेर सिकून्, र तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न सकून्, यी कुराहरूबाट पाठहरू लिऊन् र सिकून्, र अरूको बहकाउवा बन्धनमा पर्नबाट जोगिन सकून्। तर, जब शङ्कालु मानिसहरूले यी कुराहरू सुन्छन्, तब तिनीहरूले भन्छन्, “हत्तेरिका! यो परमेश्‍वरको घर हो, परमेश्‍वरको काम गरिने ठाउँ हो—यहाँ कसरी यस्ता कुराहरू हुन सक्छन्? मलाई पहिले शङ्का लागेको ठीकै रहेछ। अबदेखि म अझै होसियार हुनुपर्छ। सबै मानिसहरू भर पर्न नसकिने हुन्छन्, र परमेश्‍वरको घरलाई पनि भरपर्दो छैन। त्यसोभए के परमेश्‍वर भरपर्दो हुनुहुन्छ त? कसलाई थाहा—शायद परमेश्‍वर पनि भरपर्दो हुनुहुन्‍न।” हेर त, तिनीहरूले सत्यता बुझ्दैनन्, न त तिनीहरूले यसलाई बोध गर्न नै सक्छन्। परमेश्‍वरको घरले सत्यताको जुनसुकै पक्षमा सङ्गति गरे पनि, तिनीहरू अन्त्यमा सधैँ कुन निष्कर्षमा पुग्छन्? यो कि, तिनीहरूले यति वर्षसम्म शङ्का गर्नु सही थियो, र यो अनावश्यक थिएन। यदि सत्यता पछ्याउने र सामान्य मानवताको सोचाइ भएका मानिसहरूले यी कुराहरू सुने भने, तिनीहरूले तिनलाई सही रूपमा लिन सक्छन्। एक हिसाबमा, तिनीहरूको दृष्टिकोण फराकिलो हुन्छ र तिनीहरूले यी कुराहरूबाट समझशक्ति प्राप्त गर्छन्। अर्को हिसाबमा, तिनीहरूले यी कुराहरूबाट पाठहरू लिन र सिक्न सक्छन्, र मानिसहरूले मानिसलाई पछ्याउनु हुँदैन, तिनीहरूले अरूलाई खुट्ट्याउनुपर्छ र अझै धेरै सत्यता बुझ्नुपर्छ, र सत्यता नबुझेको व्यक्ति कुनै पनि बेला र कुनै पनि ठाउँमा बहकाउमा पर्न सक्छ, र उसले सत्यता बुझेपछि र ऊसँग कद भएपछि, ऊ अरूको बन्धन, बहकाउ, वा नियन्त्रणमा पर्नेछैन भन्ने कुरा बुझ्न सक्छन्। तैपनि शङ्कालु मानिसहरूले कहिल्यै यसरी सोच्दैनन्। परमेश्‍वरको घरले फरक-फरक प्रकारका मानिसहरू र मामलाहरूलाई खुट्ट्याउने बारेमा जति धेरै सङ्गति गर्छ, तिनीहरूलाई तिनीहरूको शङ्का सही छ र त्यसको पुष्टि भएको छ भन्ने त्यति नै महसुस हुन्छ: “हेर्नुहोस् त, म नै चलाख रहेछु! म सतर्क भएको राम्रो भयो। मानिसहरूले प्रायजसो म शङ्कालु र संशयात्मक छु भनेर भन्छन्, तर तथ्यहरूले त मैले शङ्का गरेको सही रहेछ भन्ने प्रमाणित गर्छन्। तिमीहरू सबै कति मूर्ख छौ, हेर त—परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासमा, तिमीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न र आफ्नो अनुभवात्मक ज्ञानका बारेमा कुरा गर्न मात्रै आउँछ। त्यसको के फाइदा? के त्यसले तिम्रो रक्षा गर्न सक्छ? सक्दैन! तिमीले जस्तोसुकै परिस्थितिहरूको सामना गरे पनि, तिमी अझै सचेत हुन्छौ र कुराहरूलाई अझ धेरै प्रश्न गर्छौ भने मात्रै आफ्नो रक्षा गर्न सक्छौ। तिमी सबैदेखि सतर्क हुनुपर्छ। तिमी आफूमा जत्तिको अरू कसैमा भर पर्नु हुँदैन, चाहे ती आफ्ना आमाबुबा नै किन नहोऊन्!” मलाई भन, तिनीहरू कस्ता चाहिँ मानिसहरू हुन् त? के तिनीहरू परमेश्‍वरका विश्‍वासीहरू हुन्? (होइनन्।) परमेश्‍वरको घरले जुनसुकै प्रकारको कामका बारेमा सङ्गति गरे पनि वा यसले जुनसुकै प्रकारका मानिसहरूलाई खुट्ट्याए पनि, र परमेश्‍वरले मानिसहरूका लागि जुनसुकै वातावरण तय गर्नुभए पनि, यसको उद्देश्य भनेको परमेश्‍वरका चुनिएका मानिसहरूले यी कुराहरूबाट पाठहरू सिकून्, तिनीहरूले अझै व्यावहारिक तरिकाले राज्यमा तालिम प्राप्त गरून्, र तिनीहरूले—यी व्यावहारिक पाठहरूमार्फत—सत्यतालाई बुझ्न र मानिसहरूप्रतिको समझशक्ति प्राप्त गर्न पुगून्, मानिसहरू र विभिन्न मामलाहरूलाई स्पष्ट रूपमा देखून्, र यसरी परमेश्‍वरले व्यक्त गर्नुहुने वचन र सत्यताहरूले कुन-कुन वास्तविक मानिसहरू, घटनाहरू, र कामकुराहरूलाई जनाइरहेका छन् भन्ने कुरा अझै राम्ररी बुझ्न सकून् भन्ने हो। तर शङ्कालु मानिसहरूले यी कुराहरूबाट कुनै पाठ सिक्न नसक्‍ने मात्र होइन, बरु तिनीहरू झनै शङ्कालु र धूर्त बन्छन्।

कतिपय शङ्कालु मानिसहरूहरूले परमेश्‍वरको घरमा कुनै कुरा भन्दा वा गर्दा, तिनीहरू सधैँ अत्यन्तै सतर्क हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू वा अगुवा र कामदारहरूले तिनीहरूलाई काटछाँट गर्नेछन् वा कष्ट समेत दिनेछन् भनेर निरन्तर डर मान्छन्। तिनीहरूले भन्छन्, “यदि मैले परमेश्‍वरमा विश्‍वास गर्न छोडेर मण्डली छोडेँ भने, के मण्डलीले मेरो प्रतिकार गर्नेछ?” तिनीहरू यस विषयमा ढुक्क हुनुपर्छ। यदि कुनै अविश्‍वासीले मण्डली छोड्यो भने, यो सबै पक्षका लागि खुसीको कुरा हो—यसबाट सबैलाई फाइदा हुन्छ। त्यसकारण, यदि तँ घर फर्केर आफ्नो जीवन जिउनका लागि मण्डली छोड्न वा आफ्नो कर्तव्य त्याग्न चाहन्छस् भने, तैँले कुनै चिन्ता नगरी साहसका साथ यसबारे कुरा उठाउनुपर्छ। तैँले यसो भन्दै एउटा अभिव्यक्ति पनि लेख्न सक्छस्: “फलानो-फलानो मितिमा, म आधिकारिक रूपमा सर्वशक्तिमान् परमेश्‍वरको मण्डली छोड्छु र आफ्नो कर्तव्य पूरा गर्नेहरूको श्रेणीबाट पछि हट्छु।” यसो गर्न पूर्ण रूपमा अनुमति छ। परमेश्‍वरको घरका ढोकाहरू खुला छन्, र कसैले तेरो प्रतिकार गर्ला भन्ने चिन्ता नगरी तँ साहसका साथ जान सक्छस्। डराउनु वा शङ्का गर्नु पर्दैन। के मण्डलीका यी मानिसहरूका बीचमा तैँले कुनै दुष्ट मानिसहरू देख्छस्? बिलकुलै देख्दैनस्। दुष्ट मानिसहरू छन् भने पनि, तिनीहरूलाई पखालेर फाल्नुपर्छ। धेरैजसो मानिसहरू निकै शिष्ट हुन्छन् र तिनीहरूलाई जीवनमा सही मार्गमा हिँड्न मन पर्छ। अरूको प्रतिकार गर्दा वा तिनीहरूलाई हानि गर्दा सत्यता सिद्धान्तहरू उल्लङ्घन हुन्छन्, र तिनीहरूले कहिल्यै त्यस्तो कुरा गर्न सक्दैनन्। तिमीहरूलाई शङ्कालु मानिसहरूले आफूलाई जसरी आचरणमा ढाल्छन्, त्यसमा के गलत छ भन्ने लाग्छ? तिनीहरूमा संशयात्मक मन मात्रै हुन्छ तर कुनै बुद्धिमत्ता हुँदैन। तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्छन् भन्ने कुराको हकमा, तिनीहरू आफ्नो धूर्त, छली, र संशयात्मक मन नै सबुद्धिको सर्वोच्च रूप हो भन्ने विश्‍वास गर्छन्। तिनीहरूलाई सत्यता सिद्धान्तहरू वा परमेश्‍वरको काम र वचनहरूमा चासो हुँदैन—तिनीहरूले न त यो कुरा बुझ्छन् न त तिनीहरूले यसलाई बुझ्‍ने प्रयास नै गर्छन्। बरु, तिनीहरू शैतानका दर्शनहरू अनुसार मात्रै जिउँछन्, र सोच्छन्, “मलाई जेसुकै आइपरे पनि, मैले अझै धेरै कुराहरूलाई प्रश्न गर्नुपर्छ। यसका साथै, मलाई लाग्छ, मैले जोसुकैप्रति शङ्का गरे पनि, मैले त्यसो गर्नु उचित हुन्छ, र मेरा शङ्काहरू तथ्यहरूसँग मिले पनि वा नमिले पनि, यो न्यायोचित हुन्छ। सारांशमा भन्दा, परिस्थितिहरूको सामना गरेको बेला थप शङ्का गर्दा मलाई फाइदा हुन्छ।” परिणाम स्वरूप, तिनीहरूले जति वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरू कहिल्यै परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले आफूसँग रहेका विभिन्‍न समस्या र शङ्काहरूलाई समाधान गर्न परमेश्‍वरका वचनहरूमा उत्तरहरू नै खोज्छन्। बरु, तिनीहरू यी कुराहरूलाई विश्लेषण र निराकरण गर्न आफ्नै मन, संशयात्मक मानसिकता, संसारसँग व्यवहार गर्ने दर्शनहरू, वा आफ्नै जीवन अनुभवहरूमा भर पर्छन्। अन्तमा, तिनीहरूले विभिन्‍न परिस्थितिहरूको जति सामना गर्छन् र विभिन्‍न प्रकारका जानकारीहरू जति धेरै सुन्छन्, तब तिनीहरूको शङ्कालु प्रकृति अपरिवर्तित नै रहने मात्र होइन, तर तिनीहरूका शङ्काहरू झन्-झन् बढ्छन्। उदाहरणका लागि, जब यस्तो शङ्कालु व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको एक-दुई वर्ष भएको हुन्छ र परमेश्‍वरको घरलाई बदनाम गर्न चिनियाँ कम्युनिस्ट पार्टीले सिर्जना गरेको झाओयुआन प्रकरणका बारेमा सुन्छ, तब उसले सोच्छ, “सायद यो परमेश्‍वरको घरले गरेको हो। यदि यसो गर्न परमेश्‍वरको घरले आदेश नदिएको भए पनि, यो कुरालाई तलका केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले नै गरेका हुनुपर्छ, र तिमीहरूले यसलाई स्वीकार मात्रै गरिरहेका छैनौ।” तिनीहरूले चार-पाँच वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूले अझै पनि घटनाहरूका बारेमा ठूलो रातो अजिङ्गरको संस्करणमा विश्‍वास गर्छन्। आठ-दश वर्षपछि पनि, परमेश्‍वरको घरप्रतिको तिनीहरूको शङ्का समाधान हुँदैन। तिनीहरूले मण्डलीलाई फसाउने र बदनाम गर्ने ठूलो रातो अजिङ्गर थियो भन्ने विश्‍वास गर्दैनन्; तिनीहरूले परमेश्‍वरको घरका मानिसहरूले नै त्यसो गरेका हुन् भन्ने अनुमान गर्छन्। हेर् त, जब तिनीहरूले कुनै मामलालाई हेर्छन्, तब तिनीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू वा सत्यता सिद्धान्तहरूका आधारमा हेर्दैनन्—तिनीहरूले ठूलो रातो अजिङ्गरको संस्करण पत्याउँछन् र यस मामलालाई दियाबलसहरू र शैतानको दृष्टिकोणबाट हेर्छन्। शैतानले परमेश्‍वरका चुनिएका मानिसहरूलाई जसरी दमन र निर्दयी व्यवहार गरे पनि, तिनीहरूलाई यो बुझ्न सकिने कुरा हो भन्ने लाग्छ, तर तिनीहरूले परमेश्‍वरको घर निर्दोष छ वा परमेश्‍वरमा विश्‍वास गरेकोमा सतावट भोग्ने दाजुभाइ-दिदीबहिनीहरू निर्दोष छन् भन्ने कुरामा कहिल्यै विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरू सबै शिष्ट र आफ्नो स्थानमा बस्‍ने मानिसहरू हुन् भन्ने कुरा आफ्नै आँखाले देखे पनि, तिनीहरूले बिना कुनै शङ्का ठूलो रातो अजिङ्गरले मण्डलीलाई बदनाम गर्न गरेका कुराहरूमा सधैँ हृदयमा विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्दा, त्यस्ता मानिसहरूले कठिनाइ भोग्‍न, मूल्य चुकाउन, र भेटी समेत दिन सक्‍ने भए पनि, तिनीहरू अन्तिममा अझै पनि अविश्‍वासी नै हुन्छन्। वास्तवमा, शङ्कालु मानिसहरू सत्यतालाई प्रेम नगर्ने वा स्वीकार नगर्ने मानिसहरूभन्दा समस्याग्रस्त हुन्छन्। तिनीहरू कसरी अझै समस्याग्रस्त हुन्छन्? सत्यताप्रति चासो नभएका मानिसहरू मण्डलीको काम र कर्तव्य निर्वाहप्रति पूर्ण रूपमा उदासीन हुन्छन् र तिनीहरूलाई चासो हुँदैन; विश्‍वासीहरूले परमेश्‍वरलाई जसरी पछ्याए पनि वा आफ्नो कर्तव्य जसरी पूरा गरे पनि, तिनीहरूका लागि यो कुरा महत्त्वपूर्ण हुँदैन। परिणाम स्वरूप, तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने वा कर्तव्य पूरा गर्ने विषयमा कुनै शङ्का हुँदैन, र तिनीहरूले मण्डलीका मामलाहरूका बारेमा मूलतः कहिल्यै सोधपुछ गर्दैनन्। तर शङ्कालु मानिसहरू ठीक यसको विपरीत हुन्छन्—तिनीहरूलाई अफवाहका बारेमा सोधपुछ गर्न मन पर्छ। तिनीहरूले किन यी कुराहरूका बारेमा सोधपुछ गर्न चाहन्छन्? तिनीहरूको एउटा उद्देश्य अवश्य नै यो हुन्छ: “यदि मैले थप सोधपुछ गरेँ र थप कुरा थाहा पाएँ भने, यसले मलाई अग्रिम रूपमा मेरो वैकल्पिक योजना तयार गर्न, र कुनै पनि बेला बस्‍ने कि जाने भनेर निर्णय गर्न सहयोग गर्नेछ।” तिनीहरू निश्चित अगुवा वा कामदारको वास्तविक नाम के हो, उनीहरू कहाँ बस्छन्, बाहिरी संसारमा तिनीहरूको करियर के-कस्तो छ, वा उनीहरूले आफ्नो कर्तव्य पूरा गर्न किन आफ्नो घर छोडेका हुन् भन्ने जस्ता निश्चित मामलाहरूका बारेमा सोधपुछ गर्ने कार्यमा पनि केन्द्रित हुन्छन्। तिनीहरूले सुसमाचार प्रचार गर्नेहरूका बारेमा पनि सोधपुछ गर्न सक्छन्, जस्तै तिनीहरूले कसलाई प्रचार गरेका छन्, तिनीहरूको परिवारका कुन-कुन सदस्यहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरूले कति वर्षदेखि सुसमाचार प्रचार गर्दै आइरहेका छन्, तिनीहरूले कति जना मानिसहरूलाई विश्‍वासमा ल्याएका छन्, इत्यादि। तिनीहरूले यी सबै कुराहरूका बारेमा विस्तृत रूपमा सोधपुछ गर्छन्। शङ्कालु मानिसहरूलाई यस्तो जानकारी सङ्कलन गर्न मन पर्छ, र तिनीहरूले त्यो सङ्कलन गरेपछि, तिनीहरूलाई यी कुराहरू जान्नु अत्यन्तै अत्यावश्यक छ, र तिनीहरूले यो जानकारीलाई महत्त्वपूर्ण समयमा प्रयोग गर्न सक्छन् भन्ने सोच्दै ढुक्‍क हुन्छ। शङ्कालु मानिसहरूलाई धेरै कुरा थाहा हुन्छ। तिनीहरू “जानकारी डाटाबेसहरू” हुन्, र तिनीहरूलाई अगुवा र कामदारहरूलाई थाहा नभएका केही कुराहरू समेत थाहा हुन्छ, जस्तै आफ्नो कर्तव्य पूरा गर्न को विदेश गएको छ र तिनीहरू कुन देशमा गएका छन्—तिनीहरूलाई अरू देशमा जाने मानिसहरूका बारेमा यी कुराहरू समेत थाहा हुन्छ। तर यदि तैँले तिनीहरूलाई प्रवचनहरूको कुन भाग हालै जारी गरिएको थियो भनेर सोधिस् भने, तिनीहरूले तँलाई भन्न सक्दैनन्। तिनीहरूले जीवन प्रवेशका मामलाहरूमा कहिल्यै ध्यान दिँदैनन्, तर जब दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी र मण्डलीका केही परिस्थितिहरूका कुरा आउँछ, तब तिनीहरू ती कुराहरूका बारेमा अत्यन्तै स्पष्ट हुन्छन्। बारम्बार कुराहरूका बारेमा सोधपुछ गर्नुको तिनीहरूको एउटा उद्देश्य भनेको सबै प्रकारका परिस्थितिहरूका बारेमा थप जान्नु हो, त्यसपछि तिनीहरूले कुनै पनि बेला आफ्‍नो लागि बाहिर निस्कने बाटो तयार गर्न सक्छन्। तिनीहरूले आफ्नो बाहिर निस्कने बाटोका बारेमा विचार नगर्नु अत्यन्तै मूर्खतापूर्ण हुनेछ भन्ने विश्‍वास गर्छन्—गैरविश्‍वासीहरूका शब्दहरूमा भन्दा, तिनीहरूले “धोकेबाजलाई विश्‍वास गरिरहेका हुन्छन्!” वास्तवमा, तिनीहरू कुहिएका बासी खानाहरू जस्तै हुन्छन्, जसको मूल्य एक पैसाको पनि हुँदैन, तैपनि तिनीहरूले आफूलाई अत्यन्तै बहुमूल्य ठान्छन्। तिमीहरूलाई के लाग्छ, के यी मानिसहरू शङ्कालु हुन्छन्? (हुन्छन्।) तिनीहरू साँच्चै नै शङ्कालु मानिसहरू हुन्। शङ्कालु मानिसहरूमा विशेष रूपमा धूर्त र छली मानवता हुन्छ। कतिपय मानिसहरूले धूर्तता र छललाई उच्च बुद्धिमत्ताको लक्षणका रूपमा हेर्छन्, तर यो गलत कुरा हो। वास्तवमा, यी धूर्त र छली मानिसहरू अत्यन्तै मूर्ख हुन्छन् र तिनीहरूमा अलिकति पनि क्षमता हुँदैन। तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, र यसलाई परिवर्तन गर्न पहिले नै गाह्रो हुन्छ; तिनीहरू धूर्त हुनुको अर्थ तिनीहरूलाई निको पार्न झनै गाह्रो हुन्छ भन्ने हो। यदि कुनै व्यक्तिको क्षमता कमजोर मात्रै छ तर ऊ तुलनात्मक रूपमा इमानदार छ र धूर्त छैन, र उसले इमानदारी साथ आफ्नो कर्तव्य पूरा गर्न सक्छ भने, सायद ऊसँग अझै पनि मुक्ति पाउने केही आशा हुन्छ। यदि तिनीहरूको क्षमता कमजोर छ र तिनीहरू अलिक छली छन् तर तिनीहरूले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्‍न सक्छन् भने, सायद तिनीहरूसँग आफ्नो छली स्वभाव त्याग्ने आशाको किरण हुन्छ। यदि तिनीहरूले सत्यता बुझ्न र क्रमिक रूपमा जान्न र त्यसमा प्रवेश गर्न सक्छन् भने, तिनीहरूको शङ्कालाई अलि-अलि गर्दै हटाउन सकिन्छ। तर दुर्भाग्यवश, यी मानिसहरू क्षमता नभएका, र छली र धूर्त दुवै हुन्छन्, र तिनीहरू निकै हदसम्म मूर्ख पनि हुन्छन्। यो त अन्धो व्यक्तिले आँखाको समस्या भोग्‍नु जस्तै हो—त्यसको कुनै उपचार हुँदैन, होइन र? (हो।) त्यस्ता मानिसहरूलाई उद्धार गर्न सकिँदैन। यी मानिसहरू उद्धार गर्ने नसकिने हदसम्म शङ्कालु हुने हुनाले, तिमीहरूलाई तिनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने लाग्छ? (यदि त्यस्ता मानिसहरू पत्ता लागे भने, तिनीहरूदेखि सतर्क हुनुपर्छ। तिनीहरूले आफ्नो रक्षा गर्न मण्डलीलाई धोका दिन सक्छन्; तिनीहरू खतरनाक व्यक्तिहरू हुन्। हामीले तिनीहरूलाई खुलासा गर्ने र निकाल्ने अवसरहरू खोज्न सक्छौँ, वा यदि हामीले त्यसो गर्ने अवसर भेट्टाउन सकेनौँ भने, तिनीहरूलाई बुद्धिमानी ढङ्गले जानका लागि मनाउन सक्छौँ।) कुनै व्यक्ति शङ्कालु व्यक्ति हो भन्ने कुरा पक्का भएपछि, ऊसँग कुनै सम्बन्ध नराख्। तिनीहरूसँग सम्बन्ध राख्दा समस्या मात्रै आउँछ। यदि तैँले तिनीहरूसँग सम्बन्ध राखिस् भने, तिनीहरूले सधैँ तँलाई राम्ररी चिन्‍ने प्रयास गर्नेछन्। यदि तँ बाहिर जाँदैछस् भने, तिनीहरूले तँलाई नजिकबाट नियाल्नेछन्, र निरन्तर सोधिरहनेछन्, “तपाईँ कहाँ जाँदै हुनुहुन्छ? तपाईँ कति दिनका लागि जानुभएको हो? तपाईँले के गर्नुहुनेछ?” जब तँ फर्केर आउँछस्, तब तिनीहरूले सोध्छन्, “तपाईँले कसलाई भेट्नुभयो? के तपाईँले आफ्नो काम पूरा गर्नुभयो? तपाईँहरू सबैले केका बारेमा कुरा गर्नुभयो?” यदि तैँले तिनीहरूलाई उत्तर दिइनस् भने, तिनीहरूले गुनासो गर्नेछन्: “तिनीहरूले मलाई कुनै कुराका बारेमा थाहा दिँदैनन्। तिनीहरूले मलाई भरोसा गर्दैनन्, गर्छन् र? तिनीहरूले मलाई परमेश्‍वरको घरको सदस्य जस्तो व्यवहार गरिरहेका छैनन्! तिनीहरूले मण्डलीको काम गर्न लागेका हुन् भनेर भने, तर तिनीहरूले किन यो कुरा मबाट लुकाइरहेका थिए? तिनीहरू अवश्य नै कुनै गैरकानुनी काम गर्न गएका हुनुपर्छ।” तिनीहरूले सधैँ तेरो पिठ्यूँ पछाडि तेरो चियो गर्नेछन्। त्यस्ता मानिसहरू साँच्चै नै समस्याग्रस्त हुन्छन्। तिनीहरूले सबै कुरा जान्‍न चाहन्छन्, त्यसकारण धेरै कुराका बारेमा सोधपुछ गर्छन्। तर तिनीहरूले ती कुराहरू जानेपछि, तिनलाई शुद्ध रूपमा बुझ्न वा तिनलाई सही रूपमा लिन सक्दैनन्, र तिनीहरूले तिनमा शङ्कालु पक्षहरू पनि खोज्ने प्रयास गर्छन्, जसले गर्दा तिनीहरूको शङ्का झन्-झन् ठूलो हुँदै जान्छ। मानौँ, तैँले तिनीहरूलाई यसो भन्दै सल्लाह दिइस्, “तपाईँसँग परमेश्‍वरबारे यति ठूला शङ्काहरू भएका हुनाले, र तपाईँले परमेश्‍वरका वचनहरू सत्यताहरू हुन्, र तिनले मानिसलाई शुद्ध पार्न र मुक्ति दिन सक्छन् भन्ने कुरामा विश्‍वास नगर्ने हुनाले, तपाईँले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नुपर्छ!” तिनीहरू त्यसो गर्न इच्छुक हुनेछैनन्—तिनीहरूले अझै पनि विश्‍वास गर्न र आशिष्‌हरू प्राप्त गर्न चाहनेछन्। के यी मानिसहरू समस्याग्रस्त हुँदैनन् र? (हुन्।) यी मानिसहरूलाई सम्हाल्न सजिलो हुन्छ। यदि तिनीहरूले मण्डलीमा ठूलो समस्या ल्याउन सक्छन् भने, तिनीहरूलाई तुरुन्तै छोडेर जानका लागि मनाओ। यी मानिसहरू भरपर्दा हुँदैनन्, तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुँदैन, र तिनीहरूले थोरै कर्तव्य पूरा गर्न सके पनि, तिनीहरूले परमेश्‍वरको घरमा ठूलो समस्या ल्याउनेछन्—तिनीहरूले फाइदाभन्दा बढी हानि गर्छन्। त्यसकारण, तिनीहरूलाई छोडेर जानका लागि मनाउनु अत्यावश्यक हुन्छ।

कायर मानिसहरू समस्याग्रस्त हुन्छन्, र शङ्कालु मानिसहरू पनि समस्याग्रस्त हुन्छन्। तर कायर र शङ्कालु दुवै हुने मानिसहरू झनै समस्याग्रस्त हुन्छन्। यी मानिसहरू अत्यन्तै डरपोक हुन्छन् र तिनीहरूलाई मृत्युको डर लाग्छ, र तिनीहरू सबै कुरालाई शङ्का गर्छन्, परमेश्‍वरमा विश्‍वास गर्नाले तिनीहरू छलमा पर्न सक्छन् कि सक्दैनन् भन्ने बारेमा निरन्तर शङ्का गर्छन्। तिनीहरूलाई तिनीहरूको सम्भाव्यतामा अड्चन उत्पन्न हुन सक्छ भन्ने डर लाग्छ र तिनीहरूलाई पक्राउ र सतावटमा पारिएर मारिनु त्यति सार्थक हुँदैन भन्ने लाग्छ। यदि तिनीहरू यस हदसम्म शङ्कालु हुन्छन् भने, तिनीहरूका लागि परमेश्‍वरमा विश्‍वास गर्नुको के मतलब भयो र? के यो आफ्‍नो लागि परिस्थिति कठिन बनाउनु मात्रै होइन र? तिनीहरू ठगहरूदेखि सतर्क भएझैँ गरी दाजुभाइ-दिदीबहिनीहरू र परमेश्‍वरको घरको हरेक कामका बन्दोबस्तहरूदेखि सतर्क हुन्छन्, जसरी तिनीहरू ठूलो रातो अजिङ्गर वा दियाबलसहरू र शैतानहरूदेखि सतर्क भइरहेका हुन्छन्। कतिपय मानिसहरूले अझै पनि तिनीहरूलाई यसो भन्दै सल्लाह दिने प्रयास गर्छन्, “परमेश्‍वरमा लगनशीलताका साथ विश्‍वास गर्नुहोस्, सत्यता पछ्याउनुहोस्, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुहोस्, अनि परमेश्‍वरले तपाईँलाई अनुमोदन गर्नुहुनेछ।” तर तिनीहरूले भित्री रूपमा के सोचिरहेका हुन्छन्? “तपाईँ मैले आफ्नो कर्तव्य उचित रूपमा पूरा गरूँ भन्ने चाहनुहुन्छ, तर म प्रसिद्ध भएपछि र ठूलो रातो अजिङ्गरले मलाई पक्राउ गरेपछि, के त्यो मेरो अन्त्य हुनेछैन र?” यदि तिनीहरूको मानसिकता साँच्चै यही हो भने, तिनीहरूलाई सल्लाह दिने प्रयास गर्नुको कुनै अर्थ हुँदैन। तिनीहरू अत्यन्तै डरपोक हुन्छन्, र तिनीहरू सधैँ मृत्युदेखि भयभीत हुन्छन्। जब तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरू पक्राउ परेका छन् भन्ने सुन्छन्, तब तिनीहरू यति डराउँछन् कि तिनीहरूले कट्टुमा पिसाब फेर्छन्। तर जब व्यापारमा मानिसहरूलाई ठग्ने र लुट्ने कुरा आउँछ, तब तिनीहरू जति नै धेरै समस्यामा परे पनि, तिनीहरूलाई पटक्कै डर लाग्दैन—तिनीहरू यस विषयमा निकै निर्भीक हुन्छन्। तैपनि, जब परमेश्‍वरमा विश्‍वास गर्ने मामलाहरू आउँछन्, तब तिनीहरू अत्यन्तै डरपोक हुन्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू, परमेश्‍वरको घर, र विशेष गरी परमेश्‍वर र परमेश्‍वरका वचन र कामका बारेमा सबै किसिमका शङ्काहरूले भरिएका हुन्छन्, र जति सङ्गति गरिए पनि त्यसले यी शङ्काहरूलाई समाधान गर्न सक्दैन। तिनीहरूले जति वर्ष विश्‍वास गरे पनि, तिनीहरूलाई अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो वा तिनीहरूले किन भेला भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने थाहा हुँदैन। यी मानिसहरूको बुद्धि कमजोर हुन्छ, र तिनीहरू निकै धूर्त र छली हुन्छन् भन्ने कुरा स्पष्टै छ। त्यस्ता मानिसहरूलाई तुरुन्तै छोडेर जानका लागि मनाउनुपर्छ। यदि तिनीहरू कायर भएकाले वा अरू कुनै कारणले गर्दा भेलाहरूमा आउन छोड्छन् र उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन् भने, त्यो एकदम राम्रो कुरा हो—यसले गर्दा तिनीहरूलाई निकालिरहनु पर्दैन र यसले झन्झटबाट जोगाउँछ। यदि कुनै दिन तिनीहरूले फेरि परमेश्‍वरमा विश्‍वास गर्नमा रुचि लिन्छन् र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न फर्केर आउन चाहन्छन् भने, तैँले तिनीहरूलाई यसो भन्‍न सक्छस्, “परमेश्‍वरको विश्‍वासीका रूपमा, तपाईँलाई कुनै पनि बेला पक्राउ गरिन र जेल हालिन सक्छ, र तपाईँको ज्यान जाने खतरा समेत हुन्छ। तर यदि तपाईँले परमेश्‍वरमा विश्‍वास गर्नुभएन, बरु संसारमा व्यापार गर्नुभयो र धेरै पैसा कमाउनुभयो भने, सायद तपाईँले केही आरामदायी दिनहरूको आनन्द लिन पाउनुहुनेछ।” यो सुनेपछि, तिनीहरूको हृदय पूर्ण रूपमा शान्त हुनेछ, र तिनीहरूले उप्रान्त परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सोच्नेछैनन्। तिनीहरूले यस्तो सोच्नेछन्, “बल्‍ल, मेरो वर्षौँको चिन्ता र भय समाप्त भयो। मैले मण्डली, दाजुभाइ-दिदीबहिनीहरू, वा परमेश्‍वरको घरलाई अबदेखि शङ्का गर्नु पर्दैन। म बल्ल स्वतन्त्र भएँ।” अनि यसरी नै, यी कायर र शङ्कालु मानिसहरू छोडेर जानका लागि विश्‍वस्त हुन्छन्। यसले ठूलो समस्या समाधान गर्छ, होइन र? (हो।) यो मामला समाधान गर्ने उत्कृष्ट तरिका हो।

ठ. समस्या निम्त्याउने प्रवृत्ति हुनु

हामी अर्को प्रकटीकरण: समस्या निम्त्याउने प्रवृत्त हुनुलाई हेरौँ। के तिमीहरूलाई कस्तो प्रकारका मानिसहरूमा समस्या निम्त्याउने प्रवृत्ति हुन्छन् भन्ने थाहा छ? के तिमीहरूले मण्डलीमा समस्याहरू निम्त्याउने प्रवृत्ति भएको यस्तो व्यक्तिलाई भेटेका छौ? तिनीहरूको उमेर, लिङ्ग, वा संसारमा तिनीहरूको पेसा जेसुकै भए पनि, यदि तिनीहरूले सधैँ समस्या निम्त्याउँछन् र सधैँ कानुन र प्रावधानहरू उल्लङ्घन गर्ने, मण्डलीमा नकारात्मक असर पार्ने र सुसमाचारको काममा ठूला बाधाहरू उत्पन्न गर्छन् भने, मण्डलीले यी मानिसहरूलाई तुरुन्तै तह लगाउनुपर्छ। सुरुमा, तिनीहरूलाई चेतावनी देओ, र यदि परिस्थिति अत्यन्तै गम्भीर छ भने, तिनीहरूलाई निष्कासित गर वा निकाल। तिमीहरूले तिनीहरूलाई कुनै शिष्टाचार देखाउनु हुँदैन। समस्याहरू निम्त्याउने प्रवृत्ति भएका मानिसहरू कस्ता मानिसहरू हुन्? उदाहरणका लागि, कतिपय मानिसहरूले संसारमा व्यापार गर्दा वा कारखानाहरू चलाउँदा, सन्दिग्ध व्यक्तिहरूसँग सङ्गत गर्छन् र प्रायजसो कानुन र प्रावधानहरू उल्लङ्घन गर्ने कुराहरू गर्छन्। आज, तिनीहरू करहरू छल्छन् वा कम कर तिर्छन्; भोलि, तिनीहरू ठगी र छलमा संलग्‍न हुन्छन्, वा ज्यान मारेकोमा कानुनी मामलाहरूमा संलग्‍न समेत हुन्छन्। यी कुराहरूका कारण, तिनीहरूले प्रायजसो अदालतबाट बोलावट आदेश प्राप्त गर्छन्, आफ्ना दिनहरू मुद्दामा व्यस्त भएर बिताउँछन्, र निरन्तर विवादहरूमा मुछिन्छन्। के त्यस्ता मानिसहरूले इमानदारी साथ परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? त्यो असम्भव कुरा हो। परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी गर्ने तर अत्यन्तै अनौठा र असामान्य तरिकाले व्यवहार गर्ने कतिपय मानिसहरू पनि हुन्छन्। आज, तिनीहरूले विपरीत लिङ्गीलाई दुर्व्यवहार गरिरहेका हुन्छन्; भोलि, तिनीहरूले कसैलाई यौनजन्य दुर्व्यवहार गर्न सक्छन् र रिपोर्ट गरिन सक्छन्। के तँ यी मानिसहरूमा समस्या निम्त्याउने प्रवृत्ति हुन्छ भनेर भन्छस्? (भन्छु।) त्यसोभए, के त्यस्ता मानिसहरूले इमानदारी साथ परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? (सक्दैनन्।) समस्या निम्त्याउने प्रवृत्ति भएका यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि सधैँ समाजका सन्दिग्ध व्यक्तिहरूसँग सङ्गत गर्छन् र निरन्तर भावनात्मक मामलाहरू, वित्त, सम्पत्ति, वा व्यक्तिगत हितहरूका बारेमा विवादहरू जस्ता कुराहरू पैदा गर्छन्। वा, तिनीहरूको कुनै सम्बन्धमा तनाव पैदा गर्ने कुनै घटनाका कारण, वा तिनीहरूले गलत तरिकाले कमाएका नाफाहरू असमान रूपमा बाँडफाँट भएकाले, तिनीहरूलाई समस्यामा पार्न खोज्ने मानिसहरू सधैँ हुन्छन्। जब दाजुभाइ-दिदीबहिनीहरू कहिलेकाहीँ तिनीहरूको घरमा जान्छन्, तब तिनीहरूले यी सन्दिग्ध मानिसहरूलाई भेट्न सक्छन्। तिनीहरू भेलाहरूमा हुँदा वा तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहँदा पनि, यी सन्दिग्ध मानिसहरू कहिलेकाहीँ ढोकामा देखा पर्छन् वा हैरान पार्ने मेसेजहरू पठाउँछन्, त्यसकारण समस्या निम्त्याउने प्रवृत्ति भएका यी मानिसहरूको सङ्गत गर्ने जोकोही व्यक्ति तिनीहरूका समस्याहरूमा मुछिने सम्भावना हुन्छ; विशेष गरी, मण्डलीको काम र प्रतिष्ठामा आँच आउने हुने र ती मानिसहरूले तिनलाई हानि गर्ने सम्भावना अझै बढी हुन्छ। मलाई भन, के त्यस्ता मानिसहरू मण्डलीमा बस्नु राम्रो हुन्छ? (हुँदैन।) यस्तो व्यक्तिलाई पनि निकाल्नुपर्छ र तह लगाउनुपर्छ।

कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसको समाजमा जस्तोसुकै पेसा भए पनि, तिनीहरू सधैँ सरकार, सरकारी अधिकारीहरू, वा निश्चित सामाजिक समूह र सार्वजनिक व्यक्तित्वहरूसँग मतभेद राख्ने व्यक्तिहरू हुन्छन्। आज, तिनीहरूले सरकारका अनुचित कार्यहरूलाई खुलासा गरिरहेका हुन्छन्; भोलि, तिनीहरूले कुनै समूह वा संगठनलाई मुद्दा हालिरहेका हुन्छन्, क्षतिपूर्ति माग गरिरहेका हुन्छन्; भोलिपल्ट, तिनीहरूले कुनै सार्वजनिक व्यक्तिको निजी जीवनको खुलासा गरिरहेका हुन्छन्, जसले गर्दा मानिसहरू तिनीहरूको खोजी गर्न आउँछन्। के यो समस्या निम्त्याउनु होइन र? (हो।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि, तिनीहरू अझै पनि सामाजिक मामलाहरूमा संलग्‍न हुन चाहन्छन्। जब तिनीहरूले आफूलाई असन्तुष्ट र आक्रोशित महसुस गराउने कुनै कुरा देख्छन्, तब तिनीहरू सधैँ देखावटी गर्नका लागि इन्साफको पक्षमा खडा हुन, वा त्यस मामलाका सही र गलत कुराहरूको मूल्याङ्कन गर्नका लागि टिप्पणी गर्न वा लेख लेख्न चाहन्छन्। अन्त्यमा के हुन्छ? तिनीहरूले केही हासिल गर्दैनन्, तर अन्तमा आफूलाई धेरै समस्यामा पार्छन्, मुद्दाहरूमा फस्छन् र तिनीहरूको प्रतिष्ठा बरबाद हुन्छ। अनि समाजका सन्दिग्ध मानिसहरूले सधैँ तिनीहरूको खोजी गरिरहेका हुन्छन्, तिनीहरूको प्रतिरोध गर्न वा तिनीहरूलाई कारबाही गर्न चाहन्छन्, त्यसकारण तिनीहरू चरम डरमा जिउँछन्। यस्तो जीवनबाट उम्कन र समस्याबाट जोगिनका लागि, तिनीहरूले धेरै घर किन्छन्, र यसो भनेर व्याख्या गर्छन्, “भनाइ नै छ, ‘चलाख खरायोका तीन वटा दुलो हुन्छन्।’ मानिसहरूलाई मेरा तीन वटा घरमध्ये एउटाबारे मात्रै थाहा छ; अरू दुई वटाका बारेमा कसैलाई थाहा छैन। म ती घर मण्डलीलाई प्रयोग गर्न दिन र दाजुभाइ-दिदीबहिनीहरूलाई बस्न दिनका लागि राखिरहेको छु।” के तँलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू त्यहाँ बस्दा सुरक्षित हुन्छन् भन्ने लाग्छ? (अहँ, हुँदैनन्।) तिनीहरूका सबै शब्दहरू अत्यन्तै राम्रा सुनिन्छन्, र यसो गर्नुपछाडिको तिनीहरूको अभिप्राय राम्रो हुन्छ, तर तिनीहरूको चरित्र र समस्या निम्त्याउने प्रवृत्ति हुने तिनीहरूको कमजोरीका आधारमा, तिनीहरूको घरमा बस्ने आँट कसले गर्ला र? यदि तँ त्यहाँ बसिस् भने, मानिसहरूले तँ तिनीहरूको परिवारको भाग भएको सोच्न सक्छन्। यदि कसैले तिनीहरूलाई कुटपिट गर्न खोजिरहेको छ तर भेट्टाउन सकेको छैन भने, के तिनीहरूले त्यसको साटो तँलाई पो कुटपिट नगर्लान् र? कतिपय मानिसहरूले समस्या निम्त्याउने प्रवृत्ति हुन्छ। जब तिनीहरू सामान्य रूपमा सवारी चलाइरहेका हुन्छन् र तिनीहरू कुनै दुर्गम क्षेत्र पार गरिरहेका जान्छन्, तब तिनीहरूलाई कसैले रोक्न सक्छ, त्यसपछि उसले तिनीहरूलाई कारबाट तानेर, निर्घात कुटपिट गर्न, र चेतावनी दिन सक्छ। तिनीहरूले सुरुमा कसैलाई चिढ्याएकाले र आफैलाई समस्यामा पारेकाले, र तिनीहरूले चिढ्याएका जोकोहीले तिनीहरूलाई कष्ट दिन चाहेकाले यस्तो भएको हो भन्ने तिनीहरूलाई थाहा हुन्छ। के यो ठ्याक्कै तिनीहरू हकदार भएकै कुरा होइन र? यस्तो व्यक्ति समस्या निम्त्याउने प्रवृत्ति भएको व्यक्ति हो। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, मण्डलीले जुनसुकै विषयमा छलफल गरिरहेको भए पनि, तिनीहरू सधैँ हस्तक्षेप गर्न चाहन्छन्; तिनीहरू यस विषयमा आफ्नो विचार राख्न र केही टिप्पणी गर्न चाहन्छन्, साथै मानिसहरूलाई आफ्‍नो कुरा सुनाउने प्रयास पनि गर्छन्। यदि मण्डलीले तिनीहरूको सुझाव अपनाएन भने, तिनीहरू सीधै असन्तुष्ट र क्रोधित हुन्छन्, र तिनीहरूलाई आफ्नै क्षमताका बारेमा थाहा हुँदैन। तिनीहरूले जति धेरै नोक्सानी भोगे पनि, तिनीहरूले ती कुरा कहिल्यै याद गर्दैनन् वा आफ्ना असफलताहरूबाट पाठहरू सिक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा पनि समस्या निम्त्याउँछन्। एकातर्फ, तिनीहरूले सत्यता बुझेका हुँदैनन् तैनि तिनीहरू सधैँ मण्डलीको काममा संलग्‍न हुन चाहन्छन्, सबै कुरामा हस्तक्षेप गर्ने प्रयास गर्छन्, जसले गर्दा तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउँछन्। अर्कोतर्फ, जब तिनीहरूले कुनै पनि विश्‍वासी दाजुभाइ-दिदीबहिनीसँग धेरै समय बिताउँछन्, तब तिनीहरूले उनीहरूमाथि पनि समस्या ल्याउँछन्। समस्याहरू निम्त्याउने प्रवृत्ति भएका यस्ता मानिसहरू अत्यन्तै पीडादायी हुन्छन्। के तँलाई समस्या पैदा गर्ने मानिसहरू तरङ्ग पैदा नगर्ने मानिसहरू हुन् भन्ने लाग्छ? के तिनीहरू आफ्नो उचित स्थानमा बस्‍ने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू पक्कै पनि आफ्नो उचित स्थानमा बस्‍ने मानिसहरू होइनन्। सामान्यतया, सभ्य जीवन जिउने मानिसहरू आफ्नो उचित स्थानमा बस्ने गर्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासले सामाजिक मामलाहरूसँग कुनै सम्बन्ध नराखून्जेल, तिनीहरू ती कुराहरूमा पटक्कै संलग्‍न हुँदैनन् वा तिनीहरूले तिनका बारेमा सोधपुछ गर्दैनन्। तर्कसङ्गत बन्नु, समयलाई बुझ्नु, र कामकुराहरूको भाव बुझ्नु भनेको यही हो। यो समाज र मानवजाति अत्यन्तै दुष्ट र जटिल छन्। गैरविश्‍वासीहरूले भन्ने गरेझैँ, “यो अस्तव्यस्त युग र अस्तव्यस्त संसारमा, मानिसहरूले आफूलाई कसरी रक्षा गर्ने भनेर सिक्नुपर्छ।” यसका साथै, तँ सधैँ सामाजिक मामलाहरूका बारेमा टिप्पणी गरिरहेको र तिनमा संलग्‍न हुन चाहिरहेको हुन्छस्, तर तँ जीवनमा हिँड्नुपर्ने मार्ग त्यो होइन। ती कुराहरू गर्नुको कुनै मूल्य हुँदैन र त्यो जीवनको सही मार्ग होइन। तैँले निष्पक्ष रूपमा बोल्न सके पनि, त्यसलाई न्यायसङ्गत कार्यका रूपमा गनिँदैन। किन गनिँदैन? किनभने यस संसारमा कुनै निष्पक्षता छैन; दुष्ट प्रचलनहरूले यसको अनुमति दिँदैनन्। यदि तँ परमेश्‍वरको घरमा साँच्चै नै निष्पक्ष र इमानदार शब्दहरू बोल्न सक्छस् भने, त्यसको मूल्य र महत्त्व हुन्छ। तर यदि तैँले मानिसको यो दुष्ट, भ्रष्ट, र अस्तव्यस्त संसारमा निष्पक्ष र इमानदार शब्दहरू बोलिस् भने, त्यस्ता शब्दहरूले सजिलै समस्या निम्त्याउँछन् र खतरा ल्याउँछन्। त्यसोभए त्यस्ता शब्दहरू बोल्नु अत्यन्तै मूर्खतापूर्ण कुरा हुँदैन र? यसो गर्दा तैँले मूल्यवान् तरिकाले जिउन नपाउने मात्र होइन, तर यसले तँलाई अनवरत समस्यामा पनि पार्नेछ। त्यसकारण, चलाख मानिसहरूले यी सामाजिक मामलाहरू अभिशाप हुन् भन्ने देख्छन् र आफूलाई ती कुराबाट टाढा राख्छन् र ती कुराबाट जोगिन्छन्, जबकि मूर्ख मानिसहरू ती कुराहरूतिर अघि बढ्छन्, जसले गर्दा तिनीहरूले आफूमाथि धेरै समस्या ल्याउँछन्। विशेष गरी कतिपय मानिसहरूले केही दिनसम्म मार्सल आर्टको तालिम लिएपछि, केही आकर्षक विधिहरू सिक्छन् र थोरै ख्याति प्राप्त गर्छन्, अनि त्यसपछि इन्साफका लागि लडाइँ गर्न र गरिबलाई सहयोग गर्न धनीलाई लुट्न चाहन्छन्। तिनीहरूले घुमन्ते शूरवीर वा तरवारधारीको भूमिका निभाउन, अन्यायहरू सच्याउँदै हिँड्न चाहन्छन्, र अन्याय देख्नेबित्तिकै सहयोग गर्न अघि बढ्छन्। परिणाम स्वरूप, यसले समस्या ल्याउँछ—तिनीहरूले समाज कति जटिल छ भन्ने बुझ्दैनन्। मलाई भन, जब तँ सहयोग गर्न अघि बढ्छस्, तब के तैँले कतिपय मानिसहरूलाई चिढ्याउनेछैनस् र? के तैँले कतिपय मानिसहरूले बनाएका सावधानीपूर्ण योजनाहरूलाई बरबाद गर्नेछैनस् र? (हो।) जब तैँले ती मानिसहरूका सावधानीपूर्ण योजनाहरूलाई बरबाद गर्छस्, तब के तिनीहरूले तँलाई त्यसबाट उम्कन दिनेछन्? (दिनेछैनन्।) तैँले यसो भन्न सक्छस्, “मैले जे गरिरहेको छु, त्यो न्यायसङ्गत कार्य हो,” तर यो न्यायसङ्गत कार्य भए पनि, त्यसले काम गर्दैन—यो संसारले तँलाई न्यायसङ्गत कार्यहरू गर्न दिनेछैन। यदि तैँले त्यसो गरिस् भने, तैँले समस्याहरू निम्त्याइरहेको हुनेछस्। मूर्खहरूले यो कुरा बुझ्दैनन्, तिनीहरूले संसारलाई छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरू सधैँ के सोच्छन् भने, तिनीहरू घुमन्ते शूरवीर भएका हुनाले, तिनीहरू अरूलाई सहयोग गर्न अघि सर्नुपर्छ। तर अन्तमा, तिनीहरूले कसैका सावधानीपूर्ण योजनाहरूलाई बरबाद गर्छन्, र त्यो व्यक्तिले तिनीहरूसँग बदला लिन खोज्छ र हार मान्न अस्वीकार गर्छ। तिनीहरूले यसरी नै विपत्ति निम्त्याउँछन्। अर्को व्यक्तिले गुप्त रूपमा तिनीहरूको नाम के हो, तिनीहरू कहाँ बस्छन्, तिनीहरूको पारिवारिक अवस्था कस्तो छ, तिनीहरूको परिवारका सदस्यहरू को हुन्, त्यो क्षेत्रमा तिनीहरूको कुनै प्रभाव छ कि छैन, र तिनीहरूविरुद्ध कसरी सबैभन्दा राम्ररी कारबाही गर्नुपर्छ भन्ने कुरा पत्ता लगाउन थाल्छ। यो सबैका बारेमा तिनीहरूलाई स्पष्ट बुझाइ भएपछि, तिनीहरूले “घुमन्ते शूरवीर” विरुद्ध कदम चाल्न थाल्छन्, जसको जीवन त्यस बेलादेखि कठिन हुँदै जान्छ। यस्ता मानिसहरूले प्रायजसो समस्या निम्त्याउँछन् र तिनीहरूले जति नै ठूलो नोक्सानी भोगे पनि, तिनीहरूले कहिल्यै आफ्नो पाठ सिक्दैनन्। जब तिनीहरूले अन्यायपूर्ण लागेको कुराको सामना गर्छन्, तब तिनीहरू अझै पनि इन्साफका लागि लडाइँ गर्न, र अघि सरेर सहयोग गर्न चाहन्छन्। तिनीहरूले आफूमाथि समस्या ल्याउने मात्र होइन, तिनीहरूले आफ्नो परिवारलाई पनि खतरामा पार्छन्, र कहिलेकाहीँ आफ्ना साथीभाइ वा सहकर्मीहरूलाई समेत यसमा तान्छन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे र मण्डलीमा प्रवेश गरे भने, दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूद्वारा खतरामा पारिन सक्छन्। उदाहरणका लागि, यदि तिनीहरू समाजमा समस्यामा पर्छन् र कसैले तिनीहरूको प्रतिकार गर्न चाहन्छ, र त्यो व्यक्तिलाई तँ तिनीहरूसँग भेलाहरूमा सहभागी हुन्छस् भन्ने थाहा छ भने, ऊ तिनीहरूको व्यक्तिगत र पारिवारिक परिस्थितिका बारेमा जानकारी लिन तँकहाँ आउन सक्छ। त्यसोभए, तैँले त्यो व्यक्तिलाई भन्नेछस् कि भन्नेछैनस्? यदि तैँले भनिस् भने, यो तिनीहरूलाई धोका दिनु सरह हुन्छ, जसले गर्दा तिनीहरूमाथि समस्या आइपर्नेछ; यदि तैँले भनिनस् भने, त्यो व्यक्तिले तँलाई कष्ट दिन सक्छ। यस संसारमा धेरै दुष्ट मानिसहरू छन्, र दुष्ट मानिसहरू सबै समझहीन हुन्छन्। यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, तिनीहरूले बदला लिनका लागि कुनै पनि माध्यमको सहारा लिनेछन्। के कुरा त्यही होइन र? (हो।) समस्या निम्त्याउने प्रवृत्ति भएका मानिसहरू जस्तोसुकै समस्यामा परे पनि, यसले सधैँ तिनीहरूको कर्तव्य निर्वाहमा समस्या र बाधा ल्याउँछ र यसले फरक-फरक हदसम्म मण्डलीको काममा असर पनि पार्न सक्छ। यदि कसैले निरन्तर समस्या निम्त्याउँछ भने, के तिमीहरूलाई तिनीहरूसँग सत्यतामा सङ्गति गरेर यो समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्छ? (लाग्दैन।) यस्ता मानिसहरूमा प्रायजसो राम्रो समझको कमी हुन्छ। तिनीहरू समस्यामा पर्दा पनि, यसलाई समस्याका रूपमा हेर्दैनन्; तिनीहरूले आफूसँग न्यायको बोध छ भन्ने समेत सोच्न सक्छन्। त्यस्ता परिस्थितिहरूमा, तिनीहरूसँग सत्यतामा सङ्गति गर्नु व्यर्थ हुन्छ, किनभने तिनीहरू विकृत बुझाइ भएका मानिसहरू हुन्, तिनीहरू बेतुका व्यक्तिहरू हुन्। बेतुका व्यक्तिहरूले सजिलै सत्यतालाई स्वीकार गर्दैनन्। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तिनीहरूले कठिनाइको सामना गरिरहेका छन्; हामीले तिनीहरूलाई कसरी बेवास्ता गर्न सक्छौँ? हामी कसरी तिनीहरूलाई केही दया नदेखाई बस्न सक्छौँ? हामीले तिनीहरूलाई प्रेमसाथ व्यवहार गर्नुपर्छ।” तिनीहरूलाई प्रेमसाथ व्यवहार गर्नु ठीकै हुन्छ, तर के तिनीहरूले यसलाई स्वीकार गर्न सक्छन्? यदि तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र आफ्नै दृष्टिकोणहरूलाई पक्रिराख्छन् भने, के तैँले तिनीहरूसँग सत्यतामा अनवरत सङ्गति गरिरहनु उचित हुन्छ? (हुँदैन।) यो किन उचित हुँदैन? (यस्ता मानिसहरूले परमेश्‍वरमा इमानदारीसाथ विश्‍वास गर्दैनन्। तिनीहरूको सार अविश्‍वासीहरूको सार हो। हामीले तिनीहरूसँग सत्यतामा सङ्गति गरे पनि, यसले समस्या समाधान गर्दैन, र तिनीहरूले अझै पनि मण्डलीमा धेरै समस्या ल्याउन सक्छन्।) त्यसोभए, के यस्ता मानिसहरूलाई निकाल्नुपर्छ? (हो, तिनीहरूलाई निकाल्नुपर्छ।)

अर्को प्रकारका मानिसहरू पनि छन्, जसमा समस्या निम्त्याउने प्रवृत्ति हुन्छ। मण्डलीमा, तिनीहरूले सधैँ दाजुभाइ-दिदीबहिनीहरूलाई निश्चित कुराहरू गर्न उक्साइरहेका हुन्छन्। उदाहरणका लागि, तिनीहरू भन्छन्: “सरकारले चालेको त्यो कदम र त्यसले तय गरेको नीति अनुचित छन्। इसाईहरूका रूपमा, हामीले धार्मिकताको अभ्यास गर्नुपर्छ, हामी बोल्नुपर्छ र हामीले कायरहरूले जस्तै आफ्नो पुच्छर लुकाउनु हुँदैन। हामीले दाजुभाइ-दिदीबहिनीहरू, हाम्रो मण्डली, र सारा मानवजातिको भलाइका लागि लडाइँ गर्दै ब्यानरहरू लिएर सडकमा जुलुस निकाल्‍नुपर्छ र विरोध गर्नुपर्छ!” अनि यसको परिणाम के हुन्छ? तिनीहरूले जुलुस निकाल्नुभन्दा पहिले नै, सरकारले थाहा पाइसकेको हुन्छ, र अदालतले बोलावट आदेश पठाउँछ। मलाई भन, मण्डलीमा त्यस्ता मानिसहरू हुनु सौभाग्यपूर्ण कुरा हो कि दुर्भाग्यपूर्ण कुरा? (दुर्भाग्यपूर्ण कुरा।) कतिपय मानिसहरू भन्छन्: “हाम्रो मण्डलीमा यस्तो प्रतिभाशाली व्यक्ति रहेछ—यो व्यक्ति अगुवाइ गर्न लायक छ! हाम्रो मण्डलीका मानिसहरूलाई हेर त; तिनीहरू सबै निरीह छन् र भनेको कुरा मान्छन्, र समाजमा तिनीहरूको कुनै प्रभाव छैन। तिनीहरू डरपोक छन् र कुनै पनि ठूला मामलाहरू उठाउने आँट गर्दैनन्, र तिनीहरूलाई समस्या निम्त्याउने ठूलो डर हुन्छ। यो व्यक्ति फरक छ—ऊ साहसी, अन्तर्दृष्टिपूर्ण, र निर्णायक छ; समाजमा पनि उसको प्रभाव छ, ऊ सक्षम छ, र जब उसले अन्याय देख्छ, तब उसले उभिने र अघि सर्ने आँट गर्छ। कानुनी मुद्दाको सामना गर्दा पनि, ऊ हडबडाउँदैन वा तनावमा पर्दैन। उसको मानसिक क्षमताले नै उसलाई स्वाभाविक रूपमा पदाधिकारी बन्न उपयुक्त बनाउँछ। यदि यो व्यक्ति राजनीतिमा संलग्‍न भएको भए, ऊ या त एउटा प्रान्तको प्रतिनिधि वा कम्तीमा पनि गभर्नर हुनेथियो। हामी पर्याप्त रूपमा असल छैनौँ। त्यसकारण, मण्डलीले उसलाई अगुवाका रूपमा छनौट गर्नुपर्छ। यदि उसले हामीलाई अगुवाइ गर्‍यो भने, हामीले अवश्य नै मुक्ति प्राप्त गर्नेछौँ!” कतिपय मूर्ख मानिसहरूले समाजमा समस्या निम्त्याउने प्रवृत्ति भएका मानिसहरूलाई विशेष रूपमा उच्च सम्मान दिन्छन् र तिनीहरूलाई आदर्श ठान्छन्, र तिनीहरूलाई मण्डली अगुवाका रूपमा निर्वाचित गर्न समेत चाहन्छन्। के तिमीहरूलाई यो उचित लाग्छ? (लाग्दैन।) यो किन उचित होइन? के मण्डलीलाई त्यस्ता “सक्षम मानिसहरू” चाहिँदैन र? (मण्डलीलाई त्यस्ता मानिसहरूको चाहिँदैन। मण्डली अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई भेलाहरूमा सँगै परमेश्‍वरका वचनहरू खान-पिउन, सत्यता पछ्याउन, र सुसमाचार प्रचार गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्न अगुवाइ गर्नुपर्छ। त्यस्ता मानिसहरूमा बाहिरी रूपमा तथाकथित साहस, अन्तर्ज्ञान, र निर्णायकता भए जस्तो देखिए पनि, तिनीहरूले यस्तो काम गर्न सक्दैनन् र तिनीहरूले मण्डलीमा अन्तहीन समस्या ल्याउनेछन्। त्यसकारण, तिनीहरू मण्डली अगुवा बन्न लायक हुँदैनन्।) म तँलाई भन्छु, यस्तो व्यक्ति मण्डलीमा रहिरहनु गल्ती हो, र त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा निर्वाचित गर्नु अझै विनाशकारी हुनेछ। तिनीहरूले मण्डलीलाई कतातिर डोर्‍याउनेछन्? तिनीहरूले मण्डलीलाई धार्मिक समूहमा परिणत गर्नेछन्! किनभने जब तिनीहरूले समाजमा अन्यायहरू देख्छन्, तब तिनीहरूले मुद्दा दायर गर्छन्; जब तिनीहरूले दुष्ट मानिसहरूले गरिबहरूलाई हेपिरहेका देख्छन्, तब तिनीहरूले उनीहरूका लागि लडाइँ गर्छन्; जब तिनीहरूले भ्रष्ट अधिकारीहरूले मानिसहरूलाई निर्दयी रूपमा हानि गरेको देख्छन्, तब तिनीहरू स्वर्गको तर्फबाट न्यायको पक्षमा खडा हुन चाहन्छन्। परिणाम स्वरूप, तिमीहरू सबै पनि क्रमिक रूपमा इन्साफका लागि लडाइँ गर्ने घुमन्ते-शूरवीरहरू बन्नेछौ। यसरी, के तिमीहरूले अझै पनि मुक्ति प्राप्त गर्न सक्थ्यौ? झट्ट हेर्दा, समस्या निम्त्याउने प्रवृत्ति भएका मानिसहरू निकै सक्षम देखिन्छन् होला, तर अन्त्यमा, के हुन्छ? मण्डलीको काममा बाधा र अवरोध गरेकोमा तिनीहरू सबैलाई हटाइन्छ, किनभने तिनीहरूले पछ्याउने मार्ग सही मार्ग हुँदैन। तिनीहरूले जस्तोसुकै समस्या निम्त्याए पनि, तिनीहरू सही मार्गमा हिँडिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरको इच्छा नै पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने कुनै पनि कुराको मण्डली, परमेश्‍वरको काम, वा परमेश्‍वरका अभिप्रायहरूसँग कुनै सम्बन्ध हुँदैन; तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका अभिप्रायहरूबाट टाढा हुन्छन् र तिनीहरू सही मार्गबाट तर्किन्छन्। तिनीहरूले समस्या निम्त्याउनुको प्रकृति के हो भने, तिनीहरू दियाबलसहरूसँग व्यवहार गरिरहेका र अल्झिरहेका हुन्छन्; तिनीहरूलाई दियाबलसहरूले सताइरहेका हुन्छन्। त्यसकारण, परमेश्‍वरको घरले आफू र त्यस्ता मानिसहरूका बीचमा स्पष्ट रेखा कोर्नुपर्छ। यदि तिनीहरूले बारम्बार समस्या निम्त्याउँछन्, तिनीहरूलाई सल्लाह दिन प्रयास गर्ने जोकोहीलाई पनि सुन्न मान्दैनन्, र तिनीहरूले आफ्ना गल्तीहरूबाट नसिकी समस्या निम्त्याउँछन्, जथाभाबी दुष्कर्म समेत गर्छन् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तैँले यसो भन्न सक्छस्: “तपाईँले निम्त्याउनुभएका सबै समस्याहरूलाई हेर्नुहोस् त, यो मण्डलीको काममा कति ठूलो व्यवधान भएको छ, र कति जना मानिसहरूको कर्तव्य निर्वाहमा असर परेको छ। तपाईँ कसरी यो कुरा बुझ्नुहुन्न? तपाईँको मनको चौडाइ अत्यन्तै फराकिलो छ—यो सम्पूर्ण संसारलाई नै समेट्न सक्ने जत्तिको फराकिलो छ। तपाईँ जस्तो व्यक्तिले त संसारमा केही गरौँ भनेर अगाडि बढ्नुपर्छ; तपाईँले आफ्नो वृद्धि-विकास गर्नुपर्छ र राष्ट्रलाई शासन गर्दै संसारमा शान्ति ल्याउनुपर्छ। तपाईँ उच्च-पदस्थ अधिकारीहरूसँग सङ्गत गर्न सुहाउँदो हुनुहुन्छ; त्यसपछि मात्रै तपाईँ दैनिक सामान्य कुराभन्दा माथि उक्लेर आफ्नो पखेटा फैलाउन र उड्न सक्‍नुहुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग दिनभरि बस्नु—के त्यसले तपाईँका भव्य महत्त्वाकाङ्क्षाहरूलाई रोक्ने र आफ्नो पखेटा फैलाउने र उड्ने तपाईँको क्षमतालाई सीमित गर्दैन र? हामीलाई हेर्नुहोस् त—हामीमध्ये कसैसँग पनि ठूला आकाङ्क्षाहरू छैनन्। हामी परमेश्‍वरमा विश्‍वास गर्ने, केही सत्यताहरू बुझ्नका लागि परमेश्‍वरका अझै धेरै वचनहरू पढ्ने, र कम दुष्कर्म गर्ने कार्यमा मात्रै ध्यान केन्द्रित छौँ, सायद त्यसपछि हामीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौँ—त्यति मात्रै हो। हामी सबै सांसारिक मानिसहरूद्वारा निन्दित र अपमानित, संसारद्वारा इन्कार गरिएका मानिसहरू हौँ, त्यसकारण तपाईँले हामी जस्ता मानिसहरूको सङ्गत गर्नु हुँदैन। तपाईँ संसारमा फर्कनुभयो र त्यहीँ लागिपर्नुभयो भने तपाईँलाई राम्रो हुनेछ; सायद तपाईँले ठूलो सफलता हासिल गर्नुहुनेछ र आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्नुहुनेछ।” के तिनीहरूलाई यसरी छोडेर जानका लागि मनाउनु उचित हुन्छ? के यो समस्या समाधान गर्ने राम्रो तरिका हो? (हो।) मण्डलीले त्यस्ता अविश्‍वासीहरूलाई यसरी नै सम्हाल्नुपर्छ; यसरी मामला समाधान गर्नु पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ।

अरू कस्तो प्रकारका मानिसहरूमा समस्या निम्त्याउने प्रवृत्ति हुन्छ? एक प्रकारको व्यक्ति विपरीत लिङ्गीमाझ विशेष रूपमा लोकप्रिय हुन्छ र ऊ सधैँ सन्दिग्ध व्यक्तिहरूसँग जिस्किने गर्छ। उसले उचित रोमान्टिक सम्बन्धको खोजी गरिरहेका हुँदैनन्; बरु, तिनीहरूले विपरीत लिङ्गका धेरै मानिसहरूसँग अत्यन्तै घनिष्ठ र अनुचित सम्बन्ध कायम राख्छन्। तिनीहरूले यी सम्बन्धहरूलाई उचित रूपमा सम्हाल्न नसक्‍ने हुनाले, तिनीहरू जिस्किने मानिसहरूले एक-अर्काको डाहा गर्ने वा एक-अर्कासित बदला समेत लिने सम्भावना हुन्छ। के यो तिनीहरूका लागि समस्या हो? (हो।) यो पनि ठूलो समस्या हो। कतिपय मानिसहरूलाई यी कुराहरूको वास्ता नलाग्न सक्छ, तर त्यस्ता कुराहरूले प्रायजसो तिनीहरूको व्यक्तिगत जीवन र तिनीहरूको आस्थामा समस्या ल्याउँछन्, र यसले तिनीहरूको व्यक्तिगत सुरक्षामा समेत असर पार्न सक्छ। यी समस्याहरूले तिनीहरूलाई निरन्तर पछ्याउँछन्, र तिनीहरूसँग बारम्बार अन्तरक्रिया गर्नेहरू पनि यसबाट अछुतो नरही बस्न सक्दैनन्। चाहे तिनीहरू विपरीत लिङ्गका यी व्यक्तिहरूसँग साँचो रूपमा रोमान्टिक सम्बन्धमा होऊन् वा एक-अर्कासँग जिस्किरहेका र एक-अर्कालाई प्रयोग गरिरहेका मात्रै होऊन्, हामीलाई त्यस्ता कुराहरूका बारेमा चासो हुँदैन। हामीलाई के कुराको चासो हुन्छ? हामीलाई तिनीहरूले ल्याउने समस्याहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीमा कुनै हानिकारक असर पार्छन् कि पार्दैनन् भन्ने बारेमा चासो हुन्छ। यदि कुनै असर पर्छ भने, मण्डलीले समस्या समाधान गर्न र त्यसलाई सम्हाल्न कदम चाल्नुपर्छ, र यी समस्याहरूलाई उचित रूपमा सम्हाल्नका लागि तिनीहरूलाई सल्लाह दिनुपर्छ। तिनीहरूले यसलाई कसरी सम्हाल्छन् भन्ने कुराका हकमा भन्दा, हामी त्यस कुरामा हस्तक्षेप गर्नेछैनौँ। यदि तिनीहरूलाई जसरी सल्लाह दिइए पनि, तिनीहरूले अझै पनि सुन्न मान्दैनन् र यी समस्याहरूलाई सम्हाल्दैनन् वा समाधान गर्दैनन् भने, तिनीहरूलाई अलग राख्‍नुपर्छ र चेतावनी दिनुपर्छ: “तपाईँले सुरुमा आफ्ना व्यक्तिगत समस्याहरू सम्हाल्नुपर्छ। तिनलाई सम्हालेपछि, तपाईँले आफ्नो कर्तव्य पूरा गर्न पुनः सुरु गर्न सक्‍नुहुन्छ। यदि तपाईँले तिनलाई उचित रूपमा सम्‍हाल्‍नुभएन भने, तपाईँ अलग रहिरहनुहुनेछ।” तिनीहरू विश्‍वासी भए पनि र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सक्‍ने भए पनि—सायद कुनै महत्त्वपूर्ण कर्तव्य समेत पूरा गर्न सक्‍ने भए पनि—तिनीहरूको व्यक्तिगत जीवनका गम्भीर समस्याहरू र तिनीहरूले निम्त्याउने समस्याले मण्डलीको काममा असर पार्न सक्‍ने हुनाले, मण्डली अगुवाहरूले यसलाई बेवास्ता गर्न मिल्दैन, किनभने यी समस्याहरूले सम्भावित जोखिमहरू पैदा गर्छन्। उदाहरणका लागि, तिनीहरूले सम्बन्ध राख्ने मानिसहरूले तिनीहरूबाट मण्डलीका केही परिस्थितिहरू वा दाजुभाइ-दिदीबहिनीहरूका बारेमा व्यक्तिगत जानकारी थाहा पाउन सक्छन्। यदि तिनीहरूले यो जानकारी खराब अभिप्राय भएका व्यक्तिहरू वा ठूलो रातो अजिङ्गरलाई चुहाए भने, यो मण्डली र दाजुभाइ-दिदीबहिनीहरू दुवैका लागि हानिकारक हुनेछ। त्यसकारण, मण्डलीका लागि, यी सबै समस्या वा सम्भावित जोखिमहरू तिनीहरूले नै ल्याउँछन्, त्यसकारण मण्डलीले तिनीहरूलाई सुरुमा आफ्ना व्यक्तिगत समस्याहरू समाधान गर्न लगाउनुपर्छ। यदि तिनीहरूले समस्याहरूलाई पूर्ण रूपमा सम्हाले भने, परमेश्‍वरको घरले तिनीहरूको परिस्थितिका आधारमा तिनीहरूलाई फेरि स्वीकार गर्ने निर्णय गर्न सक्छ। तर यदि तिनीहरू समस्याहरू समाधान नगर्न जारी राख्छन्, तैपनि आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन् भने, के गर्नुपर्छ? (तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न दिनु हुँदैन।) त्यस्तो अवस्थामा, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ वा निकाल्नुपर्छ। छोटकरीमा भन्दा, चाहे मण्डली अगुवाहरू होऊन् वा दाजुभाइ-दिदीबहिनीहरू होऊन्, तिनीहरूले मण्डलीमा समस्या निम्त्याउने प्रवृत्ति भएका मानिसहरू छन् भन्ने पत्ता लगाएपछि, सिद्धान्तहरू अनुसार यस मामलालाई सम्बोधन गर्नुपर्छ र तुरुन्तै सम्हाल्नुपर्छ। तिनीहरूले यसलाई सम्हाल्नु र समाधान गर्नुभन्दा पहिले यी व्यक्तिहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई खतरामा पारुञ्जेल वा मण्डलीको काममा समस्या ल्याऊञ्जेल पर्खिनु हुँदैन।

कतिपय मानिसहरू चाँडै समस्या पैदा गर्न र लडाइँ-झगडा र कुटाकुट गर्न तम्सिन्छन्। तिनीहरूलाई सधैँ आफूले राम्रो मुक्का प्रहार गर्न सक्छु भन्ने लाग्छ, तिनीहरू सधैँ संसारका सबै जनालाई हराउन चाहन्छन्, वा, यदि तिनीहरूलाई अलिक राम्रो मार्शल आर्ट आउँछ भने, सधैँ अरूको विरुद्धमा हिंसा र बल प्रयोग गर्न चाहन्छन्। के यस्तो व्यक्तिमा पनि समस्या निम्त्याउने प्रवृत्ति हुँदैन र? (हुन्छ।) जहाँ गए पनि आफ्नो उचित स्थानमा नबस्ने मानिसहरू पनि हुन्छन्। तिनीहरूले नियमहरू वा सार्वजनिक सुव्यवस्था पालना गर्दैनन् र तिनीहरू सधैँ अपरम्परागत हुन चाहन्छन्। सवारी चलाउँदा, तिनीहरूले रातो लाइट बल्दा पनि गाडी नरोक्न जिद्दी गर्छन्, वा अनुमति नभएको ठाउँमा बाँया मोड्न जिद्दी गर्छन्, र पुलिसले रोकेर जरिवाना तिराउँदा, तिनीहरू त्यसलाई स्वीकार गर्न मान्दैनन् र पुलिसबारे रिपोर्ट गर्न चाहन्छन्। हेर् त, तिनीहरूले जोसुकैबारे रिपोर्ट गर्ने आँट गर्छन्। पुलिसले कानुन अनुसार काम गर्ने भए पनि, तिनीहरूले अझै पनि उनीहरूबारे रिपोर्ट गर्न चाहन्छन्—तिनीहरूले कानुनको अवज्ञा गर्छन्। के यी मूर्खहरू पनि समस्या निम्त्याउने प्रवृत्तिका हुँदैनन् र? (हुन्छन्।) समस्या निम्त्याउने प्रवृत्ति भएको यस्तो व्यक्तिले आफूले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले आफूसँग भर पर्नका लागि परमेश्‍वर हुनुहुन्छ, र मण्डलीमा धेरै मानिसहरू छन् र यसको प्रभाव ठूलो छ भन्ने सोच्छ, त्यसकारण उसले केही कुराको डर मान्दैन। उसले आफ्नो क्षमताको धाक लगाउन र आफू कति भयानक छु भनेर देखाउनका लागि जताततै जथाभाबी दुष्कर्म गर्छन्। कानुनी समस्यामा परेपछि पनि, तिनीहरूलाई आफ्नो मार्ग कसरी परिवर्तन गर्ने भन्ने थाहा हुँदैन। अन्त्यमा, तिनीहरूले के भन्छन्? “यो संसार साँच्चै नै दुष्ट छ। इन्साफका लागि खडा भएकोमै मलाई पक्राउ गरियो। यो संसार साँच्चै नै अन्यायपूर्ण छ!” तिनीहरू अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्न मान्दैनन्। तिनीहरू आफैँले समस्या पैदा गर्छन् र त्यसलाई आफूमाथि निम्त्याउँछन्, तैपनि यो तिनीहरूप्रति अन्यायपूर्ण छ भनेर गुनासो गर्छन्। के यो अत्यन्तै बेतुका कुरा होइन र? (हो।) संसार जति नै दुष्ट र अन्धकारमय भए पनि, तिनीहरूले समस्या पैदा गर्नु मूर्खतापूर्ण हुन्छ। परमेश्‍वरले कहिल्यै कसैलाई समस्या पैदा गर्न लगाउनुभएको छैन, न त उहाँले कसैलाई परमेश्‍वरमा विश्‍वास गर्ने नाममा स्वर्गको तर्फबाट इन्साफका लागि लडाइँ गर्न र इन्साफ लागू गर्न नै लगाउनुभएको छ। कतिपय मानिसहरूले भन्छन्, “यस संसारका नियमहरू सत्यता होइनन्, त्यसकारण तिनलाई पालना गर्नु पर्दैन।” कानुन सत्यता नभए पनि, परमेश्‍वरले तँलाई आफूले चाहे अनुसार कानुन तोड्न सकिन्छ भनेर कहिल्यै भन्नुभएको छैन, न त उहाँले तँलाई हत्या गर्न वा आगजनी गर्न सकिन्छ भनेर नै भन्नुभएको छ। परमेश्‍वरले तँलाई समाजको कानुन र सार्वजनिक सुव्यवस्था पालना गर्न, जहाँ गए पनि नैतिक मापदण्डहरू र नियमहरू पालना गर्न जान्न, उक्साउने व्यवहार नगर्न, र समस्या ननिम्त्याउन लगाउनुहुन्छ। यदि तैँले कानुन तोडिस् भने, परिणामहरू आफै भोग्नेछस्—परमेश्‍वरको घरले तेरा लागि जिम्मेवारी लिनेछ भन्ने अपेक्षा नगर्, किनभने यो व्यक्तिगत व्यवहार हो र यसले तँलाई व्यक्तिका रूपमा मात्रै प्रतिनिधित्व गर्छ; परमेश्‍वरको घरले तँलाई कहिल्यै कुनै गैरकानुनी काम गर्न निर्देशन दिएको छैन। तैँले जुनसुकै देशमा मामलाहरू सम्हालिरहेको भए पनि, परमेश्‍वरको घरले तँलाई कानुन जाँच गर्न र वकीलसँग परामर्श गर्न लगाउँछ। वकीलले जे उचित छ भनेर भन्छ, तैँले त्यही गर्नुपर्छ। यदि वकीलले तँलाई निश्चित तरिकाले व्यवहार गर्न सल्लाह दिएन, र तैँले अन्धाधुन्ध काम गरिस्, मामलाहरू बिगारिस्, र कानुन तोडिस् भने, तैँले आफै परिणामहरू भोग्नेछस्—परमेश्‍वरको घरमा समस्या ल्याउने नगर्। वकीलले सुझाव दिएको तौरतरिका सबैभन्दा राम्रो विकल्प नभए पनि, तैँले अझै पनि वकीलको सल्लाह मान्नुपर्छ। यो कानुनी छ र यसले परमेश्‍वरको घरमा ठूलो हानि गर्दैन भने, यो काम गर्न सकिन्छ। परमेश्‍वरको घरले मानिसहरूलाई सधैँ वकीलहरूको परामर्श लिन र कानुन अनुसार मामलाहरू सम्हाल्न लगाएको छ। तर, कतिपय मानिसहरू सोच्छन्, “परमेश्‍वरको घर संसारको होइन, त्यसकारण हामीले संसारका प्रचलनहरू पछ्याउनु हुँदैन! कानुनले सत्यतालाई प्रतिनिधित्व गर्दैन—परमेश्‍वर मात्रै सत्यता हुनुहुन्छ, र परमेश्‍वर सर्वोच्च हुनुहुन्छ। हामी सत्यता र परमेश्‍वरमा मात्रै समर्पित हुन्छौँ!” यो अभिव्यक्ति सही भए पनि, तँ अझै पनि यो संसारमा जिइरहेको छस् र तैँले धेरै वास्तविक समस्याहरूको सामना गर्नुपर्छ। त्यसकारण, तैँले व्यवस्था उल्लङ्घन गर्न मिल्दैन, न त तैँले सत्यता सिद्धान्तहरू नै उल्लङ्घन गर्न मिल्छ। परमेश्‍वरको श्रेष्ठताले परमेश्‍वरको पहिचान र हैसियतलाई जनाउँछ; यो तँ समाजमा गैरकानुनी क्रियाकलापहरूमा संलग्‍न हुनु वा निरङ्कुश रूपमा व्यवहार गर्नु, आफूले जे चाह्यो त्यही गर्नु, र जताततै समस्या निम्त्याउनुका लागि कारण होइन। परमेश्‍वरले कसैलाई कुनै पनि काम गर्दा कानुन तोड्न प्रोत्साहित गर्नुभएको वा माग गर्नुभएको छैन, बरु तँलाई कानुन र सामाजिक नियमहरू पालना गर्नू भनेर भन्नुहुन्छ, यदि तैँले कानुन तोडिस् र तँलाई दण्ड दिइयो छ भने, तैँले दण्ड स्वीकार गर्नुपर्छ, र तैँले झमेला गर्नु वा समस्या निम्त्याउनु हुँदैन भनेर भन्नुहुन्छ। यदि तैँले सधैँ समस्या निम्त्याइरहेको हुन्छस्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, परमेश्‍वरले तँलाई साथ दिइरहनुभएको छ भनेर सधैँ सोचिरहेको हुन्छस्, त्यसकारण तैँले केही कुराको डर मान्दैनस् भने, म तँलाई भन्छु, तँ गलत छस्! सबै कुराको अगाडि तैँले देखाउने निर्भयतालाई परमेश्‍वरले समर्थन गर्नुहुन्न, र परमेश्‍वरको घरले तेरो बदमासको जस्तो तर्कको खर्च बेहोर्नेछैन। परमेश्‍वरको घरमा धेरै मानिसहरू भएकाले र यसको ठूलो प्रभाव भएकाले, तैँले जे मन लाग्यो त्यही गर्न सक्छस् भन्ने कहिल्यै नसोच्। यदि तँ यसरी सोच्छस् भने, तँ गलत छस्। यो शैतानको तर्क हो। परमेश्‍वरको घरले कहिल्यै यस्तो कुरा भनेको छैन, न त परमेश्‍वरले नै भन्नुभएको छ। परमेश्‍वरको घरले कसैलाई पनि यसरी व्यवहार गर्न प्रोत्साहित गर्दैन। परमेश्‍वरको घरमा धेरै मानिसहरू छन् भन्ने कुरा साँचो हो, तर मानिसहरूको सङ्ख्या—चाहे त्यो धेरै होस् वा थोरै—कसैलाई साथ दिन, कसैलाई प्रोत्साहित गर्न, वा कसैलाई समस्याबाट जोगाउन र कुराहरू सहज बनाउनका लागि होइन। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले उहाँलाई र उहाँको इच्छा पछ्याउन, सृजित प्राणीका रूपमा मापदण्ड पूरा गर्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न सकून् भनेर छनौट गर्नुहुन्छ। तँ संसारको विरुद्धमा जान सक्, तँलाई संसारमा भव्य सुनिने विचारहरू बोल्न लगाउन, र तैँले संसारलाई पाठ सिकाउन भनेर त पक्कै पनि उहाँ यसो गर्नुहुन्न। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रवाहको विरुद्धमा जानु होइन; प्रवाहको विरुद्धमा जानु वा संसारलाई घृणा गर्नुसँग यसको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, मानिसहरूका लागि परमेश्‍वरका अभिप्रायहरूलाई गलत रूपमा नबुझ्, र परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्वलाई गलत रूपमा अर्थ लगाउने वा गलत रूपमा बुझ्‍ने काम नगर्। परमेश्‍वरले मानिसहरूलाई छनौट गर्नुको उद्देश्य के हो? (मानिसहरूले परमेश्‍वरलाई पछ्याऊन्, परमेश्‍वरको इच्छालाई पछ्याऊन्, र सृजित प्राणीहरूको कर्तव्य पूरा गरून् भनेर हो।) परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्न, साँचो सृजित प्राणीहरू प्राप्त गर्न, परमेश्‍वरलाई साँचो रूपमा आराधना गर्ने मानिसहरूलाई प्राप्त गर्नका लागि चुन्नुहुन्छ; परमेश्‍वरको आराधना गर्न सक्ने नयाँ मानवजाति देखा परोस् भनेर उहाँ यस्तो गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई छनौट गर्नुको उद्देश्य तिनीहरू यो संसार वा मानवजातिका विरुद्धमा जाऊन् भन्‍ने होइन। त्यसकारण, समस्या निम्त्याउने प्रवृत्ति भएकाहरूलाई अरूको कर्तव्य निर्वाहमा असर गर्न नदिनका लागि मण्डलीबाट र मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँहरूबाट जति सक्दो टाढा राख्नुपर्छ।

जहाँसम्म समस्या निम्त्याउने प्रवृत्ति भएका मानिसहरूको कुरा छ, तिनीहरूले जस्तोसुकै समस्या निम्त्याए पनि, यदि यसले मण्डलीमा समस्या ल्यायो र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा असर गर्‍यो भने, अगुवा र कामदारहरूले हस्तक्षेप गरेर मामला समाधान गर्नुपर्छ। यो कुरालाई जाँच नगरी त्यत्तिकै छोड्नु हुँदै हुँदैन। तिनीहरूले तुरुन्तै परिस्थिति बुझ्नुपर्छ र जान्‍नुपर्छ, समस्याको जडलाई स्पष्ट पार्नुपर्छ, त्यसपछि उचित समाधान खोजेर यसलाई सम्हाल्नुपर्छ। यसलाई किन सम्हाल्नुपर्छ? एक हिसाबमा, यी समस्याहरूले मण्डलीको काम, मण्डली जीवन, वा दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाहमा असर गर्न सक्छन्। अर्को हिसाबमा, समस्या निम्त्याउने प्रवृत्ति भएका यी व्यक्तिहरूलाई अरूले प्रतिभाशाली ठाने पनि वा आवारा र बदमास ठाने पनि, तिनीहरूले समस्या ल्याए भने, तिनीहरूलाई समयमा नै सम्हाल्नुपर्छ। त्यसोभए तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? यो समस्यालाई सम्हाल्‍नु नभई समस्या ल्याउन जिम्मेवार रहेका मानिसहरूलाई सम्हाल्नु हो। तिनीहरूलाई मण्डलीबाट पखाली फ्याँकेर, समस्याको जड समाधान हुन्छ, र यसरी मामिला सम्हालिन्छ। समस्या निम्त्याउने प्रवृत्ति भएका कतिपय मानिसहरू तेरो नजरमा सक्षम वा वरदानप्राप्त देखिएको भरमै तँ कहिल्यै उदार हुनु हुँदैन। यदि तँ तिनीहरूप्रति उदार हुन सक्छस् भने, तँ साँच्चै नै अत्यन्तै दिग्भ्रमित व्यक्ति होस् र तँ मण्डली अगुवा बन्न लायक छैनस्, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई तेरो पदबाट हटाउनुपर्छ। यदि तँ परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्दैनस्, बरु दुष्ट मानिसहरू र समस्या पैदा गर्नेहरूको सुरक्षा गर्छस्, तिनीहरूलाई हदभन्दा बढी आदर्श ठान्छस्, तिनीहरूलाई आदरणीय अतिथि र वरदानप्राप्त व्यक्तिहरूका रूपमा व्यवहार गर्छस्, तिनीहरू मण्डलीमा भेट्टाउन गाह्रो हुने प्रतिभाशाली मानिसहरू हुन् भन्ने सोच्छस्, तिनीहरूलाई महत्त्वपूर्ण कामहरूमा प्रयोग गर्छस्, र तिनीहरूका समस्याहरूलाई समेत सहज बनाइदिन्छस् भने—तँ मण्डली अगुवाको भूमिकाका लागि पूर्ण रूपमा अयोग्य छस्। तँ भ्रमित व्यक्ति र झूटो अगुवा होस्, र तँलाई बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। यदि मण्डली अगुवाले सल्लाह सुन्न मान्दैन र समस्याहरू निम्त्याउने प्रवृत्ति भएको कुनै दुष्ट व्यक्तिलाई रक्षा गर्न वा उसलाई महत्त्वपूर्ण कामहरूमा प्रयोग गर्न जिद्दी गर्छ भने, दाजुभाइ-दिदीबहिनीहरूले अगुवालाई हटाउनुपर्ने मात्रै नभई उसलाई समस्या निम्त्याउने यो व्यक्तिसँग जोडेर दुवैलाई हटाउनुपर्छ। के तैँले समस्या निम्त्याउने व्यक्तिलाई आदर्श ठान्दैनस् र? तिनीहरूलाई तैँले पनि सुरक्षा दिएको छस् भन्‍ने महसुस हुन्छ, र तिमीहरू निकै राम्ररी मिलेर बस्छौ—त्यसोभए, माफ गर, तर तिमीहरू दुवै जानुपर्छ। परमेश्‍वरको घरलाई तिमीहरूमध्ये कसैको आवश्यकता पर्दैन! यदि मण्डलीमा समस्या निम्त्याउने प्रवृत्ति भएका मानिसहरू छन्, र माथिल्लो स्तरका अगुवाहरूलाई यसबारे थाहा छैन, जबकि मण्डली अगुवा भ्रमित छ र उसमा समझशक्तिको कमी छ भने, सत्यता बुझ्ने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले समस्या समाधान गर्न कदम चाल्नुपर्छ। एक हिसाबमा, तिनीहरूले तुरुन्तै माथिल्लो स्तरका अगुवाहरूलाई यस मामिलाको रिपोर्ट गर्नुपर्छ। यसका साथै, तिनीहरू सङ्गति गर्न र झूटा अगुवालाई खुट्ट्याउका लागि अरू दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट हुनुपर्छ। ऊ झूटो अगुवा हो भन्ने कुरा पुष्टि भएपछि, उसलाई बर्खास्त गर्नुपर्छ वा हटाउनुपर्छ, र नयाँ अगुवा निर्वाचित गर्नुपर्छ—जसले परमेश्‍वरको घर, मण्डलीको काम, र मण्डली जीवनका हितहरूको रक्षा गर्न सक्छ। के यसरी अभ्यास गर्नु उचित हुन्छ? (हुन्छ।) यो मण्डली अगुवा र समस्या निम्त्याउने प्रवृत्ति भएको व्यक्तिलाई सँगै पखाल। के तिनीहरू एउटै नीच गुण भएका कारण एक-अर्कालाई डाहा र प्रशंसा गर्दै एक-अर्कासँग साह्रै मिल्‍ने दुई जना मानिसहरू होइनन् र? त्यसोभए तिनीहरूको इच्छा पूरा गर अनि तिनीहरूलाई सँगै संसारमा फर्केर जान देओ—परमेश्‍वरको घरलाई तिनीहरू जस्ता मानिसहरू चाहिँदैन। यदि तिनीहरू मण्डलीमै रहे भने, तिनीहरूले समस्या निम्त्याउने र पैदा गर्ने काम मात्रै गर्छन्, जसले गर्दा मण्डलीको काममा ठूलो हानि हुनेछ। तिनीहरूलाई पखालेर फाल्नुपर्छ। तिनीहरू जहाँ जान चाहन्छन् र तिनीहरूले जति नै ठूलो समस्या निम्त्याउन चाहन्छन्, त्यो तिनीहरूको आफ्नै मामला हो। जे भए पनि, मण्डलीसँग यसको कुनै सम्बन्ध हुँदैन र यसले मण्डलीलाई फसाउँदैन। के त्यसले समस्या समाधान गर्नेछैन र? (गर्नेछ।) यो समाधान निकै राम्रो छ। समस्या निम्त्याउने प्रवृत्ति भएका मानिसहरूको बाह्रौँ प्रकटीकरणबारे गरिएको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

ड. जटिल पृष्ठभूमि हुनु

हामी अर्को प्रकटीकरणलाई हेरौँ: जटिल पृष्ठभूमि हुनु। तिमीहरूलाई कस्तो प्रकारका मानिसहरूको पृष्ठभूमि जटिल हुन्छ जस्तो लाग्छ? (कतिपय मानिसहरू आपराधिक भूमिगत संसार र वैध वृत्त दुवैमा संलग्‍न हुन्छन्, र तिनीहरूको सामाजिक पृष्ठभूमि तुलनात्मक रूपमा जटिल हुन्छ—के तिनीहरू यो वर्गमा पर्छन्?) जब हामी जटिल पृष्ठभूमिहरूका बारेमा कुरा गर्छौँ, तब हामीले अवश्य नै सांसारिक-बुद्धिमानी मानिसहरूलाई जनाइरहेका हुन्छौँ। सांसारिक-बुद्धिमानी मानिसहरूको सामान्य हाउभाउ कस्तो हुन्छ? तिनीहरू बस्छन्, उपरखुट्टी लगाउँछन्, र अविराम कुरा गर्न थाल्छन्; तिनीहरूले हरसम्भव कुराका बारेमा बकबक गर्छन्, र तिनीहरूले घरेलु र अन्तर्राष्ट्रिय मामलाहरू दुवैका बारेमा केही समयसम्म गनगन गर्न सक्छन्, तर तिनीहरूले भन्ने एउटा पनि शब्द साँचो हुँदैन—ती सबै ठूला कुरा मात्र हुन्छन्, जुन कि त बनावटी हुन्छन् कि त काल्पनिक मात्रै। धाक लगाउनेहरू जटिल सामाजिक पृष्ठभूमि भएका मानिसहरू नै हुन् भन्‍ने हुँदैन। धाक लगाउनेहरू त आवाराहरू, र साधारण मानिसहरू मात्रै हुन सक्छन्—तिनीहरू जहाँ गए पनि, तिनीहरूले मानिसहरूलाई बहकाउन र अरूलाई तिनीहरूका बारेमा राम्रो सोच्न लगाउनका लागि उच्च र अवास्तविक कुराहरूका बारेमा बताउँदै ठूला कुरा गर्छन्, र तिनीहरूको प्रतिष्ठा बरबाद हुन त्यति धेरै समय लाग्दैन। कस्तो प्रकारका मानिसहरूको पृष्ठभूमि जटिल हुन्छ? उदाहरणका लागि, कतिपय मानिसहरू समाजमा राजनीतिक पार्टीमा आबद्ध हुन्छन्, तर अनेकौँ वर्ष प्रयास गरेपछि पनि, तिनीहरूले कुनै हैसियत प्राप्त गर्दैनन्। त्यसपछि, तिनीहरू अर्को पार्टीमा आबद्ध हुन्छन्, र तिनीहरूले बल्ल सानोतिनो नेता वा सानोतिनो अधिकारीको पद प्राप्त गर्न सफल हुन्छन्। तिनीहरूका सामाजिक सम्बन्धहरू निकै जटिल हुन्छन्। तिनीहरूले सङ्गत गर्ने मानिसहरू तिनीहरूका मित्र हुन् कि शत्रु हुन् भनेर कसैले पनि निश्‍चित रूपमा भन्‍न सक्दैन—तिनीहरूको आफ्नै परिवारलाई समेत थाहा हुँदैन, तिनीहरू आफैलाई मात्रै थाहा हुन्छ। के त्यस्ता मानिसहरूको पृष्ठभूमि जटिल हुँदैन र? (हुन्छ।) यी मानिसहरूको पृष्ठभूमि राजनीतिक रूपमा जटिल हुन्छ। आज तिनीहरू यो पार्टीलाई समर्थन गर्छन्, भोलि अर्कोलाई समर्थन गर्छन्; आज तिनीहरूले निर्वाचनमा एउटा व्यक्तिलाई समर्थन गर्छन्, र भोलि अरू कसैलाई समर्थन गर्छन्। छोटकरीमा भन्दा, तिनीहरू वास्तवमा के सोच्छन् भन्‍ने कुरा कसैलाई थाहा हुँदैन। तिनीहरूले साधारण मानिसहरूलाई तिनीहरू कसलाई समर्थन गर्छन्, वा तिनीहरूको राजनीतिक अडान वा राजनीतिक उद्देश्यहरू ठ्याक्कै के-के हुन् भनेर बताउँदैनन्; तिनीहरू यी कुराहरूका बारेमा विशेष रूपमा गुप्त हुन्छन्, र साधारण मानिसहरूलाई—तिनीहरूको आफ्नै परिवारलाई समेत—तिनीहरूका बारेमा यी कुराहरू थाहा हुँदैन। तर, तिनीहरू राजनीतिबारे विशेष रूपमा जोशले भरिपूर्ण हुन्छन्, र तिनीहरूका केही चिनेजानेका मानिसहरू हुन्छन् र तिनीहरू राजनीतिक क्षेत्रका केही मानिसहरूसँग परिचित हुन्छन्; यति मात्र हो कि अहिलेका लागि, तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षाहरू हासिल गरेका हुँदैनन्। यस्तो व्यक्ति मण्डलीमा प्रवेश गरेपछि, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू राजनीति नबुझ्ने वा त्यसमा संलग्‍न नहुने साधारण मानिसहरू मात्रै हुन् भन्‍ने देख्छन्, र आफ्नो हृदयमा, तिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरूलाई घृणा गर्छन्। तैपनि, तिनीहरूले सधैँ धार्मिक संसार र समाजमा रहेको मण्डलीको ख्यातिबाट लाभ लिन वा आफूले चाहेको कुरा गर्न, आफ्ना अत्यधिक चाहनाहरू पूरा गर्न वा आफ्ना राजनीतिक महत्त्वाकाङ्क्षाहरू पूर्ण रूपमा पूरा गर्न मण्डलीको प्रभावको फाइदा उठाउन चाहन्छन्—अर्थात्, तिनीहरू मण्डलीभित्र लुक्न, र सही अवसरको प्रतीक्षा गर्न चाहन्छन्, ताकि तिनीहरूले आफ्ना राजनीतिक उद्देश्यहरू पूरा गर्न मण्डली समुदाय वा मण्डलीभित्रका निश्‍चित मानिसहरू, घटनाहरू, र कामकुराहरूलाई प्रयोग गर्न सकून्। के यस्तो व्यक्तिको पृष्ठभूमि जटिल हुन्छ भनेर मान्‍न सकिन्छ? (सकिन्छ।) राजनीतिमा संलग्‍न हुनेहरूले प्रयोग गर्ने विचार, मामलाहरू सम्हाल्ने सिद्धान्तहरू, विभिन्‍न कार्यनीतिहरू, र बोल्ने रणनीति र विधिहरू साधारण मानिसहरूले छर्लङ्ग देख्‍न नसक्‍ने कुराहरू हुन्। विशेष गरी, जवान मानिसहरू वा सामाजिक अनुभव नभएका मानिसहरूले तिनीहरूलाई छर्लङ्ग देख्नै सक्दैनन्। राजनीतिक रूपमा जटिल पृष्ठभूमि भएका यी मानिसहरूका लागि राजनीतिक चेत नभएका मानिसहरू तिनीहरूको हातका खेलौनाहरू हुन्, र तिनीहरूले त्यस्ता मानिसहरूलाई पूर्णतः हेयको दृष्टिले हेर्छन्। अस्पष्ट उदाहरणका दिनुपर्दा, पशु जगतमा, सबैभन्दा धूर्त प्राणीहरू सर्प, स्याल, र बाघहरू हुन्। तिनीहरूको दृष्टिकोणमा, भेडा, खरायो, मिर्ग, र कुकुर जस्ता पशुहरू मूर्ख हुन्छन्। राजनीतिक पृष्ठभूमि भएका मानिसहरूले धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसरी नै हेर्छन्, जसरी स्याल र सर्प जस्ता धूर्त पशुहरूले भेडा, मिर्ग, र कुकुर जस्ता निश्छल पशुहरूलाई हेर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई स्पष्ट रूपमा देख्‍न सक्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न सक्दैनन्। त्यसोभए हामीले राजनीतिक रूपमा जटिल पृष्ठभूमि भएका मानिसहरूलाई कसरी खुट्ट्याउन सक्छौँ? राजनीतिमा संलग्‍न हुने मानिसहरूको हृदय राजनीति र शक्तिमा केन्द्रित हुन्छ। तिनीहरूलाई शक्ति र राजनीतिमा संलग्‍न हुन मनपर्छ भने, ढिलो-चाँडो तिनीहरू राजनीतिमा सहभागी हुनेछन्; तिनीहरू सधैँ मण्डलीमा लुकेर बस्‍न सक्दैनन्। जब तिनीहरूले आफूलाई खुलासा गर्छन्, तब तैँले यो कुरा बुझ्नेछस्: “त्यसोभए, तिनीहरूले त राजनीतिक उद्देश्यका लागि पो परमेश्‍वरमा विश्‍वास गर्दा रहेछन्! तिनीहरूको राजनीतिक पृष्ठभूमि छ र तिनीहरू परमेश्‍वरमा इमानदारी साथ विश्‍वास गर्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नुपछाडि तिनीहरूको अर्कै एजेन्डा छ!” जब ती मानिसहरू पहिलो पटक मण्डलीमा प्रवेश गर्छन्, तब तिनीहरूले आफूलाई विशेष रूपमा लुकाउँछन्, भेलाहरूमा सहभागी हुन्छन् र सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्छन्। तर अनुकूल समय आएपछि, तिनीहरूले आफूले चाहेको कुरा गर्न मण्डलीलाई प्रयोग गर्ने प्रयास गर्नेछन्, र तिनीहरूका अत्यधिक चाहनाहरू र साँचो अनुहार स्वाभाविक रूपमै खुलासा हुनेछन्। त्यसपछि मात्रै दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू अविश्‍वासीहरू हुन् भन्‍ने कुरा देख्‍न सक्‍नेछन्। जब तिनीहरूको खुलासा हुन्छ, तब तिनीहरूलाई खुट्ट्याउन निकै सजिलो हुन्छ। उदाहरणका लागि, जब ब्वाँसो भेडाका भेष धारण गरेर बगालसँग मिसिन्छ, तब तैँले त्यो ब्वाँसा हो कि भेडा हो भनेर खुट्ट्याउन नसक्लास्, तर जब त्यसले भेडा खान थाल्छ, तब तैँले त्यसलाई ब्वाँसोका रूपमा खुट्ट्याउनेछस्। राजनीतिमा संलग्‍न हुनेहरू सबै मण्डलीमा घुसपैठ गरे का अविश्‍वासीहरू हुन्। जब यी मानिसहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएर कुनै राजनीतिक पार्टीमा आबद्ध हुन र तिनीहरूसँग राजनीतिमा सहभागी हुन आकर्षित गराउने प्रयास गर्छन्, तब तैँले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास झूटो छ, र तिनीहरूको साँचो उद्देश्य भनेको राजनीतिमा संलग्‍न हुनु हो भन्‍ने देख्‍नेछस्—तिनीहरूको पृष्ठभूमि जति नै जटिल भए पनि, यो कुरा देखा पर्नेछ र खुलासा हुनेछ। यस विन्दुमा, मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सक्‍नेछन्। जटिल पृष्ठभूमि भएको एक प्रकारको व्यक्ति—राजनीतिक रूपमा जटिल पृष्ठभूमि भएका मानिसहरू यस्तै हुन्छन्।

जटिल पृष्ठभूमि भएका मानिसहरूको वर्गमा पर्ने अर्को प्रकारको व्यक्ति पनि छ। समाजका कतिपय मानिसहरू आफ्नो उचित स्थानमा बस्दैनन् र तिनीहरूले भद्र जीवन जिउँदैनन्, बरु तिनीहरू शङ्कास्पद व्यक्तिहरूको सङ्गत गर्न मन पराउँछन्। उदाहरणका लागि, यी व्यक्तिहरूमा जालसाजी र ठगी गर्ने वा आपराधिक संसारका सदस्यहरू पर्छन्; समाजमा हैसियत, ख्याति, र प्रतिष्ठा भएका, बाहिरी रूपमा सरकारी अधिकारी वा व्यापारीका रूपमा काम गर्ने, तर सधैँ पर्दा पछाडि गैरकानुनी र आपराधिक क्रियाकलापहरूमा संलग्‍न हुने, राज्यले निषेध गरेको बन्दुक, लागूऔषध, वा अरू निषेधित वस्तु तस्करी गर्न निश्‍चित अधिकारी वा अपराधी संसारका सदस्यहरूसँग मिलेमतो गर्ने मानिसहरू; साथै धेरै पटक दोषी ठहरिएका र जेल परेका र चिहान लुट, बलात्कार, यौन दुर्व्यवहार जस्ता कुनै दुष्ट कार्यहरू गरेका, वा मानव तस्करी समेत गर्ने मानिसहरू समावेश हुन्छन्। जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरूले यस्ता व्यक्तिहरूको सङ्गत गर्छन्, अनि यसका साथै तिनीहरूसँग विशेष रूपमा घनिष्ठ सम्बन्ध राख्छन्—तिनीहरूले एक-अर्कालाई “दाजुभाइ” भन्छन्, र तिनीहरूले एक-अर्कालाई प्रयोग गर्छन् र एक-अर्काका लागि कामकुरा गर्छन्। झट्ट हेर्दा, यी मानिसहरूले कुनै स्पष्टतः दुष्ट कार्य गर्दैनन्, र तिनीहरूले चोरी, लुटपाट, हत्या, वा आगजनी गर्दैनन्, तर तिनीहरूले सङ्गत गर्ने समूह र तिनीहरू घुलमिल हुने वृत्तहरू सबै यी अभद्र व्यक्तिहरूद्वारा बनेका हुन्छन्। के यस्तो व्यक्ति पनि निकै डरलाग्दो हुँदैन र? (हुन्छ।) तिनीहरूले व्यापारमा लगानी गर्न यी व्यक्तिहरूसँग साझेदारी गर्छन्, र जब तिनीहरूको साझेदारले कुनै गैरकानुनी काम गर्छ र उसलाई तिनीहरूको सहयोगको खाँचो पर्छ, तब तिनीहरूले सहयोग प्रदान गर्छन्। तिनीहरू मुख्य दोषी नहुने भए पनि, तिनीहरू सहयोगी हुन्छन्। यस्तो व्यक्तिले बारम्बार कानुनको सीमा तोड्छ भनेर भन्‍न सकिन्छ। “कानुनको सीमा तोड्नु” को अर्थ के हो? (यसको अर्थ तिनीहरू प्रायजसो कानुन तोड्ने सम्भावना भएका क्रियाकलापहरूमा संलग्‍न हुन्छन् भन्‍ने हुन्छ।) त्यो एउटा पक्ष हो। यसका साथै, तिनीहरूले प्रायजसो कानुनी कमजोरीहरूको फाइदा उठाउँछन्, र तिनीहरू संलग्‍न हुने कुराहरू सबै प्रमुख मामिलाहरू हुन्छन्। यदि तिनीहरूलाई कुनै बेला पक्राउ गरियो भने, तिनीहरूले सहयोगीका रूपमा समेत १०-२० वर्षको जेल सजाय पाउन सक्छन्, वा तिनीहरूलाई ठूलो जरिवाना लाग्न सक्छ। के तँ यस्तो व्यक्ति समस्याग्रस्त हुन्छ भनेर भन्दैनस् र? (भन्छु।) तैँले तिनीहरूलाई कहिल्यै स्पष्ट रूपमा दुष्ट कार्य गरेको देखेको हुँदैनस्, र तिनीहरूले मानिसहरूलाई मार्ने, आगो लगाउने, वा कसैलाई ठग्‍ने वा फसाउने गरेको देखेको हुँदैनस्, तर जब गैरकानुनी रूपमा आफ्‍नो गोजी भर्ने र अपराधिक भूमिगत संसार र वैध वृत्त दुवैमा कानुन तोड्ने मानिसहरू ठूलो नाफा कमाउनका लागि गैरकानुनी क्रियाकलापहरूमा संलग्‍न हुन्छन्, तब यस्तो व्यक्तिले पनि लूटको एक हिस्सा लिन्छ र उसले नाफाको भाग पाउँछ। के तिमीहरू यस्तो व्यक्तिलाई जटिल पृष्ठभूमि भएको व्यक्ति मानिन्छ भनेर भन्छौ? (भन्छौँ।) के त्यस्ता मानिसहरू परमेश्‍वरको घरमा रहनु राम्रो कुरा हो? (होइन।) तिनीहरू अपराधी भूमिगत संसार र वैध वृत्तहरू दुवैको सङ्गत गर्छन्, र त्यति मात्र होइन, तिनीहरू गैरकानुनी क्रियाकलापहरूमा पनि संलग्‍न हुन्छन्—यो जटिल पृष्ठभूमि हो। यदि तिनीहरू केही सरकारी अधिकारीहरूको सङ्गत गर्छन्, र तिनीहरू सामान्य तरिकाले उनीहरूको सङ्गत र अन्तरक्रिया गर्छन् भने, त्यो स्वीकार्य हुन्छ। तर, यदि तिनीहरूले सङ्गत गर्ने मानिसहरू विभिन्‍न गैरकानुनी र आपराधिक क्रियाकलापहरूमा संलग्‍न हुने नकारात्मक पात्रहरू हुन् भने, त्यो अत्यन्तै समस्याग्रस्त कुरा हो, र ढिलो-चाँडो, केही नराम्रो हुनेछ। यस्तो व्यक्तिलाई ती मानिसहरूको सङ्गत गर्न मन पर्छ; तिनीहरू पैसा कमाउन, धनी हुन, र राम्रो जीवन जिउनका लागि तिनीहरूको प्रभावमा भर पर्दै उनीहरूको फाइदा पनि उठाउँछन्। त्यसोभए के तिनीहरूलाई असल व्यक्ति मान्‍न सकिन्छ? (सकिँदैन।) मानिसहरूले प्रायजसो यसो भन्ने गर्छन्, “चोर चोरसँग, साधु साधुसँग”—तिनीहरूले आपराधिक संसारका सदस्यहरू र वैध वृत्तका सदस्यहरू दुवैसँग सङ्गत गर्न सक्छन्, के तँलाई तिनीहरू आफ्नो उचित स्थानमा बस्‍ने सभ्य व्यक्ति हुन् भन्‍ने लाग्छ? (लाग्दैन।) तिनीहरू अवश्य नै त्यस्ता होइनन्। एक हिसाबमा, तिनीहरू सायद ती मानिसहरूका लागि उपयोगी हुने भएकाले ती व्यक्तिहरूको सङ्गत गर्छन्—तिनीहरूले आफूले सङ्गत गर्नेहरूका लागि निश्‍चित कामहरू सम्हाल्न सक्छन्। अर्को हिसाबमा, तिनीहरूलाई आफूले सङ्गत गरेका अपराधिक भूमिगत संसार र वैध वृत्त दुवैका मानिसहरू मन पर्ने हुनाले तिनीहरू त्यसो गर्छन्—ती मानिसहरूको सीप, क्षमता, र प्रभाव, र तिनीहरूलाई उनीहरूबाट मिल्ने फाइदाहरू, सबै तिनीहरूलाई चाहिने र तिनीहरूले आनन्द लिने कुराहरू हुन्। त्यसोभए, तिनीहरू वास्तवमा कस्ता व्यक्ति हुन्? (तिनी सभ्य व्यक्ति होइनन्।) हामी यसलाई यसरी मात्रै भन्‍न सक्छौँ। तिनीहरू आफूले सङ्गत गर्ने मानिसहरू जस्तै हुन्छन्—तिनीहरू सबैले एक-अर्कालाई प्रयोग गर्छन्। यस संसारमा, तेरा लागि काम गर्न वा तँमा पूर्ण रूपमा भरोसा गर्न र तेरो साथी हुन सक्‍ने मानिसहरू धेरै हुँदैनन्, तर तिनीहरू अस्तित्वमा चाहिँ हुन्छन्—त्यस्ता मानिसहरूको सङ्गत गर्नु आवश्यक हुँदैन। यस्तो व्यक्तिले तिनीहरूको सङ्गत गर्छ, किनभने एक हिसाबमा तिनीहरूका साझा नीच गुणहरूका कारण तिनीहरू सँगै मिलेर बस्छन् र तिनीहरू एउटै ड्याङका मूला जस्तै हुन्छन्। अर्को हिसाबमा, यो व्यक्ति आफ्नो हितका लागि र अधर्मी संसारमा आफ्नो अस्तित्वका लागि कुनै पनि हदसम्म जान्छ, र मानिसहरूको सङ्गत गर्ने बारेमा तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन, न त तिनीहरूसँग आफूले गर्ने कुनै पनि कुराका बारे नै कुनै सिद्धान्त हुन्छ। गैरविश्‍वासीहरूले यसो समेत भन्छन्, “भद्र व्यक्तिले सम्पत्तिलाई प्रेम गर्छ तर त्यो सही तरिकाले आर्जन गर्छ”, र तिनीहरूले यसलाई न्यूनतम मापदण्डका रूपमा लिन्छन्। तिनीहरूले यो न्यूनतम मापदण्ड पूरा गर्न सके पनि वा नसके पनि, जे भए पनि, यसलाई मानवजातिका बीचमा अस्तित्वका लागि तुलनात्मक रूपमा आदर्शमय दर्शनका रूपमा गनिन्छ। तर, जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू आफ्नै हितहरू र नाफा प्राप्तिका लागि मानिसहरूको सङ्गत गर्दा बेइमान र अविवेकी हुन्छन्—तिनीहरूले सङ्गत गरेर फाइदाहरू प्राप्त गर्न सक्छन् भने, जोसुकैको सङ्गत गर्नेछन्। यति मात्र होइन, तिनीहरूलाई ती मानिसहरूको सङ्गत गर्न पाउँदा निकै गर्व लाग्छ, र तिनीहरू आफूले मानिसहरूको सङ्गत गर्नका लागि प्रयोग गर्ने विधिहरू उत्कृष्ट छन् भन्‍ने सोच्छन्। त्यसोभए, हामीले यस्तो व्यक्तिलाई कसरी हेर्नुपर्छ? तिनीहरू अपराधी भूमिगत संसार र वैध वृत्तहरू दुवैमा संलग्‍न हुन्छन्—यो जटिल पृष्ठभूमि हो। यस्तो व्यक्ति कति डरलाग्दो हुन्छ! के तिनीहरूले देखाउने अनुहार वास्तविक हुन्छ? अहँ, तिनीहरूले सधैँ मुखौटो लगाइरहेका हुन्छन्। तैँले कहिल्यै तिनीहरूलाई छर्लङ्ग देख्‍न सक्दैनस् वा तिनीहरूले भित्रभित्रै के सोचिरहेका छन् भन्‍ने कुरा जान्‍न सक्दैनस्। तिनीहरूले तेरो सङ्गत गर्दा मुखौटो लगाउँछन्, र तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूका बीचमा समेत लुकेर बस्छन्। यो त मानिसहरूको भीडमा शैतान मिसिएको जस्तै हो, वा भेडाको बगालमा स्याल वा ब्वाँसो घुसे जस्तै हो। के त्यसले तँलाई सुरक्षित महसुस गराउँछ? (गराउँदैन।) तँ किन यसो भन्छस्? यो तिनीहरूको धूर्त, क्रूर, र दुष्ट प्रकृतिमा आधारित छ; तिनीहरूले निरन्तर तेरो विरुद्धमा षड्यन्त्र गरिरहेका हुन्छन्—यस्तो लाग्छ कि तेरो पछाडि सधैँ एक जोडी कुटिल र दुष्ट आँखाहरू छन्, र तिनले तेरो हरेक चाललाई नियालिरहेका छन्—अनि तिनीहरूले तँलाई नष्ट गर्ने र निल्‍ने अवसरको प्रतीक्षा मात्रै गरिरहेका हुन्छन्। के त्यो भयानक कुरा होइन र? (हो।) यस्तो व्यक्तिले तँलाई दिने अनुभूति कहिल्यै सुरक्षाको अनुभूति हुँदैन, किनभने उसको प्रकृति र पृष्ठभूमिले तँलाई सधैँ ऊ तेरा लागि खतरा हो भन्‍ने महसुस गराउँछ। कस्तो खतरा? यस्तो कि, तिनीहरू नजिक हुँदा, तँलाई तिनीहरूले कुनै पनि बेला र स्थानमा तेरो विरुद्धमा षड्यन्त्र गर्न सक्छन्, तँलाई खेलाउन सक्छन्, र तेरा लागि पासोहरू थाप्न सक्छन् भन्‍ने अनुभूति हुन्छ, र तिनीहरूले कहिले तँलाई प्रयोग गर्न वा हानि गर्न सक्छन्, र तँ तिनीहरूको हातबाट मर्छस् वा तिनीहरूले तँलाई बरबाद गर्छन् भन्‍ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। त्यसकारण त्यस्ता मानिसहरूलाई पटक्‍कै नजिक राख्‍नु हुँदैन। मलाई भन, के कुराहरू यस्तै छैनन् र? (छन्।) उदाहरणका लागि, ब्वाँसोलाई भेडाको बगालमा राख्दा भेडाको रक्षा हुन्छ कि ती बरबाद हुन्छन्? (ती बरबाद हुनेछन्।) ब्वाँसोको प्रकृति अनुसार, यो कहिल्यै भेडाको पक्षमा रहनेछैन र यसले तिनको सुरक्षा गर्नेछैन, किनभने यसको मनमा, भेडा नै यसको खाना हो, र जब-जब वा जहाँ-जहाँ यो भोकाउँछ, यसले तिनलाई खान्छ; यसमा भेडाप्रति कुनै दया हुँदैन र यसले त्यसलाई छोड्दैन। ब्वाँसोसँग कुकुरको क्षमता हुँदैन। यदि कुकुर भेडासँगै हुर्केको छ भने, यसले भेडालाई रक्षा गर्नुपर्ने कुरा मान्छ, र जब ब्वाँसो भेडालाई आक्रमण गर्न वा खान आउँछ, तब कुकुर त्यससँग लड्न अघि बढ्छ, भेडाको रक्षा गर्ने जिम्मेवारीलाई आफ्नो परम कर्तव्यका रूपमा लिन्छ—कुकुरहरूमा यो अन्तर्निहित गुण हुन्छ। तर ब्वाँसाहरू फरक हुन्छन्; भेडा खान चाहनु ब्वाँसाहरूको अन्तर्निहित गुण हो। जब जटिल पृष्ठभूमि भएको यस्तो व्यक्तिले मण्डलीमा घुसपैठ गर्छ, तब यो भेडाको बगालमा ब्वाँसोले घुसपैठ गर्नु जस्तै हुन्छ—जब ब्वाँसो भोकाएको हुँदैन, तब त्यसले भेडालाई खतरामा नपार्न सक्छ, तर जब यो भोकाउँछ, तब अवश्यैत्यसले खाने खाना भेडा नै बन्छ, र कसैले पनि यो तथ्यलाई परिवर्तन गर्न सक्दैन। यो त्यसको प्रकृतिले निर्धारित गर्छ। ब्वाँसोले भेडा खाने समस्यालाई समाधान गर्नका लागि, तैँले तुरुन्तै ब्वाँसोलाई पहिचान गर्नुपर्छ। भेडाको भेष धारण गरेको ब्वाँसो को हो भनेर पहिचान गरेपछि, तैँले त्यसलाई तुरुन्तै हटाउनैपर्छ—हिचकिचाउनु हुँदैन, र त्यसलाई कुनै दया देखाउनु हुँदैन। जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरूलाई होसियारी साथ व्यवहार गर्नुपर्छ। यदि तैँले तिनीहरूले दुष्टता गरिरहेका र मण्डलीमा बाधा दिइरहेका छन् भन्‍ने कुरा पत्ता लगाइस् भने, तैँले तिनीहरूलाई कुनै शिष्टता देखाउनै हुँदैन। तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ: “तपाईँ सांसारिक-बुद्धिमानी व्यक्ति हुनुहुन्छ र तपाईँ परमेश्‍वरमाथिको विश्‍वासका लागि सुहाउँदो हुनुहुन्न। तपाईँले परमेश्‍वरको घरमा आएर गलत ठाउँ छनौट गर्नुभएको छ; यो ठाउँ तपाईँका लागि सही छैन। तपाईँले समाजमा आफ्नै सम्भाव्यताहरूलाई पछ्याउनुपर्छ। परमेश्‍वरका विश्‍वासीहरूले केवल परमेश्‍वरका वचनहरू पढ्छन्, सत्यतामा सङ्गति गर्छन्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्छन्; तिनीहरू षड्यन्त्र र युक्तिहरूमा संलग्‍न हुँदैनन् वा राजनीतिमा सहभागी हुँदैनन्। यहाँ, तपाईँ पदोन्नति गर्न वा धनी बन्‍न, वा अरूको भन्दा श्रेष्ठतर जीवन जिउन सक्‍नुहुन्‍न। तपाईँ यहाँ जति लामो समयसम्म हल्लिएर बसे पनि, यो समयको बरबादी मात्रै हुनेछ।” यसरी, तिनीहरू मण्डली छोडेर जान मान्‍नेछन्, होइन र? (हो।) जटिल सामाजिक सम्बन्ध भएका कतिपय मानिसहरू दुष्ट मानिसहरू नै हुन्छन् भन्‍ने हुँदैन, न त तिनीहरूले ठूलो दुष्टता नै गरेका हुन्छन्, तर तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र तिनीहरू साँच्‍चै नै अविश्‍वासीहरूको वर्गमा पर्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्न र सत्यता पछ्याउन लगाउने प्रयास गर्नु भनेको ब्वाँसलाई भेडामा परिणत गर्ने प्रयास गर्नु जस्तै हो—यो असम्भव कुरा हो। ब्वाँसोले जति समयसम्म भेडाको भेष धारण गरे पनि, त्यो ब्वाँसा नै रहन्छ; त्यो कहिल्यै भेडा बन्‍नेछैन। कुरा यस्तै छ। त्यसकारण, यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नु त मजाक मात्रै हो; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर गलत कदम चालिरहेका मात्रै हुन्छन्!

जटिल पृष्ठभूमि भएको अर्को प्रकारको व्यक्ति पनि हुन्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, फरक-फरक सम्प्रदायका केही धार्मिक अगुवा, अधिकारीहरू, वा हैसियत भएका मानिसहरूसँग तिनीहरूका नजिकका सम्बन्धहरू हुन्छन्। तिनीहरूलाई यी मानिसहरूको सङ्गत गर्न मन पर्छ र तिनीहरू प्रायजसो विभिन्‍न सम्प्रदायका धार्मिक क्रियाकलापहरूमा सहभागी हुन्छन्; तिनीहरूले यी मानिसहरूसँग सम्बन्ध र मित्रता निर्माण गर्छन्, र तिनीहरूले एक-अर्कालाई प्रयोग गर्छन् र एक-अर्काका लागि कामकुरा गर्छन्। बेला-बेलामा, चाहे जानी-जानी होस् वा अनजानमा होस्, तिनीहरूले यी व्यक्तिहरूलाई मण्डलीका आन्तरिक सामान्य मामलाहरूको काम वा कर्मचारीहरूको कामको समेत खुलासा गर्छन्। यो अत्यन्तै समस्याग्रस्त समस्या हो। यदि तँ धर्मका मानिसहरूसँग अन्तरक्रिया मात्रै गर्छस् वा तँलाई ती धार्मिक स्थलहरूबाट आफूलाई अलग गर्न असम्भव लाग्छ, र तँलाई विभिन्‍न धार्मिक चाडपर्वका क्रियाकलापहरू र विभिन्‍न धार्मिक अनुष्ठानहरूमा सहभागी हुन पनि मन पर्छ भने, त्यो स्वीकार्य कुरा हो। तर, तैँले यी परिस्थितिहरूमा मण्डलीको काम वा दाजुभाइ-दिदीबहिनीहरूसम्बन्धी जानकारी खुलासा गर्नु हुँदैन। उदाहरणका लागि, तैँले निश्‍चित व्यक्तिले गरेको “पूर्वीय ज्योति” को स्वीकार, उसले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा कस्तो कर्तव्य पूरा गर्छ, ऊ कहाँ बस्छ, र उसले प्रायजसो कसको सङ्गत गर्छ भन्ने जस्ता कुराहरू खुलासा गर्नु हुँदैन—यदि तैँले यी कुराहरू खुलासा गरिस् भने, यसले तँ अत्यन्तै अनैतिक छस् भन्‍ने देखाउँछ। यदि कसैले सरकारलाई यो जानकारी रिपोर्ट गर्‍यो भने, परिणामहरू अकल्पनीय हुनेछन्। यदि तँ धर्मका मानिसहरूसँग अत्यन्तै नजिक छस्, वा तेरा केही स्वार्थहरू तिनीहरूसँग जोडिएका छन् वा तैँले तिनीहरूसँग उपकारहरू साटासाट गरेको छस् भने, बढीमा, यसलाई तेरो पृष्ठभूमि जटिल हुनु मान्‍न सकिन्छ। तर, यदि तँ गुप्त रूपमा अरू केही कुराहरू गर्छस्, जस्तै परमेश्‍वरको घरका कामका बन्दोबस्तहरू खुलासा गर्छस्, वा परमेश्‍वरको घरका आन्तरिक मामलाहरू वा दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी खुलासा गर्छस् भने, यसको प्रकृति धोकाको प्रकृति बन्छ, र यसलाई निन्दा गरिन्छ। विशेष गरी, कतिपय विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई तिनीहरूको परिस्थिति थाहा होस् वा यो कुरा खुलासा होस् भन्‍ने चाहँदैनन्, किनभने तिनीहरूलाई पहिले पक्राउ गरिएको हुन्छ वा तिनीहरू अहिले खोजी सूचीमा परेका हुन्छन्, तैपनि जटिल पृष्ठभूमि भएको यस्तो व्यक्तिले यो जानकारीलाई निश्‍चित फाइदाहरूसँग साट्ने कुराका रूपमा लिन्छ वा यसलाई बस महत्त्वहीन ठान्छ, र तिनीहरूले यो कुरा खुलासा गर्छन्, जसले गर्दा ती विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू समस्यामा पर्छन्। यदि परमेश्‍वरको घरले त्यस्ता कुराहरू पत्ता लगायो भने, यसले त्यो व्यक्तिलाई त्यत्तिकै छोड्नेछैन; त्यस्ता मानिसहरूलाई तुरुन्तै पखालेर फाल्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गरेकोमा मानिसहरूलाई सताइने सामाजिक सन्दर्भमा, विश्‍वासीहरूलाई कर्तव्य पूरा गर्ने अवसर प्राप्त गर्न समेत गाह्रो हुन्छ, र हरेक व्यक्तिले यसलाई साँच्‍चै नै कदर गर्छ। अरूका कारण वा आफ्नै मूर्खताका कारण आफ्नो कर्तव्य निर्वाहमा सम्भावित जोखिम आइपरोस् भन्ने कसैले पनि चाहँदैन। त्यसकारण, यदि कसैले दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा वा तिनीहरूको व्यक्तिगत सुरक्षामा सम्भावित जोखिमहरू ल्याउँछ, वा यदि कसैले परमेश्‍वरमा विश्‍वास गर्ने अरूको मार्गमा तगारो हाल्छ भने, परमेश्‍वरको घरले उसलाई त्यत्तिकै छोड्नेछैन। परमेश्‍वरको घरले तिनीहरूलाई पत्ता लगाएपछि, यसले तिनीहरूलाई तुरुन्तै निकाल्नेछ वा निष्कासित गर्नेछ, र यो बिलकुलै पछि हट्नेछैन! यदि तिनीहरूले “मैले ध्यान नदिएकाले क्षणिक रूपमा जिब्रो चिप्लेको मात्र थियो” भनेर औचित्य सिद्ध गरेर र बहाना बनाएर आफ्नो प्रतिरक्षा गर्छन् भने, तैँले त्यसलाई पटक्‍कै विश्‍वास गर्नु हुँदैन—यस्ता बहानाहरू खरो उत्रन सक्दैनन्। तिनीहरूले किन मानिसहरूलाई आफ्नै पारिवारिक मामलाहरूका बारेमा बताएनन् त? बरु तिनीहरूले किन दाजुभाइ-दिदीबहिनीहरूका मामलाहरूका बारेमा कुरा गरे? तिनीहरूले स्पष्ट रूपमा नै खराब अभिप्रायहरू पालेका हुन्छन्। तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूसम्बन्धी जानकारी खुलासा गरे; यदि यसले दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पार्‍य भने, तिनीहरूलाई श्राप दिनुपर्छ! के यस्ता मानिसहरूलाई श्राप दिनु पर्दैन र? (पर्छ।) मण्डलीले आफ्नो सुसमाचारको काम फैलाउने क्रममा, यस्ता कतिपय मानिसहरू मण्डलीमा आबद्ध हुनु अवश्यम्भावी नै हुन्छ। तिनीहरूलाई मण्डलीलाई धोका दिने, दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने, र परमेश्‍वरको घरका हितहरूलाई समेत धोका दिने बारेमा कुनै सन्देह हुँदैन। तिनीहरूले निजी रूपमा सबै प्रकारका मानिसहरूको सङ्गत गर्छन्, र तिनीहरूको सङ्गत गर्नुको तिनीहरूको उद्देश्य शुद्ध हुँदैन। ती मानिसहरूसँग अन्तरक्रिया गर्दा, तिनीहरू मुखमा लगाम नलगाई बोल्ने समेत गर्छन्, आफूले जानेका मण्डलीका सबै आन्तरिक जानकारी उनीहरूलाई बताउँछन्, केही पनि कुरा भन्न बाँकी राख्दैनन्, र यसले अन्ततः दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई समस्यामा पार्छ। यसको दोष मुखमा लगाम नलगाई बोल्‍ने यी मानिसहरूको हुनुपर्छ। तिनीहरूमध्ये कतिले तिनीहरूले जानी-जानी यसो गरेका होइनन् भनेर भन्‍न सक्छन्, तर यो जानी-जानी गरिएको नभए पनि, त्यसले यसलाई स्वीकार्य बनाउँदैन। यदि यो जानी-जानी गरिएको थिएन भने, तैँले किन उल्टै आफूलाई नै हानि गरिनस् त? तैँले किन अरूलाई मात्रै हानि गरिस्? तैँले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पारेको छस्, यो स्थापित तथ्य हो। त्यसकारण, दोष तेरै हुनुपर्छ। यदि तैँले कसैलाई मारिस् र त्यसपछि “मैले जानी-जानी यसो गरेको होइनँ; मैले उसलाई मार्ने अभिप्राय कहिल्यै राखेको थिइनँ—मैले त्यस्तो सोचेको थिइनँ” भनेर भनिस् भने, के त्यो अभिव्यक्तिका कारण कानुनले तँलाई निर्दोष ठान्‍नेछ? (ठान्‍नेछैन।) तैँले सत्य कुरा भनिरहेको भए पनि, त्यो व्यर्थ हुनेछ। तथ्य के हो भने, तैँले कसैलाई मारिस्, र कानुनी हिसाबमा, यसको ठोस प्रमाण छ, त्यसकारण तँलाई तथ्यहरूका आधारमा दोषी घोषित गरिनुपर्छ। तैँले हत्याको अपराध गरिस्, त्यसकारण तँ हत्यारा होस्, र तैँले आफूलाई सही ठहर्‍याउने जतिसुकै प्रयास गरे पनि, त्यसले तँलाई सहयोग गर्नेछैन। कतिपय मानिसहरूले आफ्नो व्यवहारमार्फत मण्डलीलाई बारम्बार समस्या पार्छन्, र कहिलेकाहीँ यो समस्या ठूलो हुन्छ, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरू गिरफ्तार भएर जेल पर्ने मात्र नभई, यसले मण्डलीको काममा पनि गम्भीर असर पार्छ। परमेश्‍वरको घरले त्यस्ता मानिसहरूलाई पटक्‍कै छोड्नेछैन; यसले पक्राउ गरेको हरेकलाई निष्कासित गर्नेछ, र तिनीहरूलाई श्राप दिनेछ—परमेश्‍वरको घरले आफूलाई पटक्कै रोक्नेछैन! यदि व्यवस्थाको युगमा यी कुराहरू भएका भए, दुष्कर्मीहरूलाई घिस्याउँदै बाहिर लगिनेथियो र डण्डीले प्रहार गरेर वा ढुङ्गाले हानेर मारिनेथियो; त्यस्ता मामलाहरूलाई यसरी नै सम्हाल्नुपर्थ्यो। अहिले, यस्तो कार्य परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूको भाग नभएको हुनाले, तिनीहरूलाई निष्कासित गरिनेछ, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा तिनीहरूलाई श्राप दिनेछन्। तिनीहरूले आशिष् वा मुक्ति प्राप्त गर्ने कुनै सम्भावना हुँदैन—तिनीहरूलाई नरकमा पठाउनैपर्छ र दण्ड दिनैपर्छ!

जटिल पृष्ठभूमि भएको अर्को प्रकारको व्यक्ति पनि हुन्छ; तिनीहरू विशेष मिसनहरू पूरा गर्नका लागि मण्डलीमा आउँछन्। यस्ता कतिपय व्यक्तिहरूलाई सरकारले पठाएको हुन्छ, जबकि अरूलाई निश्‍चित धार्मिक वा सामाजिक समूहहरूले मिसनहरूमा खटाएका हुन्छन्। उदाहरणका लागि, यी मिसनहरूमा दाजुभाइ-दिदीबहिनीहरूको निगरानी गर्नु, मण्डलीको निगरानी गर्नु, वा विभिन्न अवधिका मण्डलीको कामका विभिन्‍न विषयहरू र कामका बन्दोबस्तहरूबारे चियोचर्चो गर्नु जस्ता कार्य समावेश हुन सक्छ। तिनीहरूको मिसन जेसुकै भए पनि, हाम्रो दृष्टिकोणबाट हेर्दा यस्तो व्यक्तिको पृष्ठभूमि जटिल हुन्छ। जटिल पृष्ठभूमि भएका यीमध्ये धेरैजसो मानिसहरू अविश्‍वासीहरू हुन्; तिनीहरू सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने मानिसहरू हुन्। तिनीहरू थोरै आस्था, कमजोर क्षमता, वा धेरै धारणा भएका मानिसहरूभन्दा फरक हुन्छन्—ती मानिसहरूले साँचो रूपमा विश्‍वास गर्छन्, जबकि जटिल पृष्ठभूमि भएका यी मानिसहरूमा गम्भीर समस्या हुन्छ। सुरुमा, विचार गरौँ: त्यस्ता मानिसहरूमा कस्तो मानवता हुन्छ? (तिनीहरूमा खराब मानवता हुन्छ, तिनीहरू दुष्ट हुन्छन्, र तिनीहरू शैतानको गिरोहका सदस्यहरू हुन्।) त्यसोभए, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? (तिनीहरू दियाबलसहरू हुन्।) ठीक भन्यौ, तिमीहरूले ठ्याक्‍कै सही कुरा भन्यौ—तिनीहरू मण्डलीमा घुसपैठ गर्ने दियाबलसहरू हुन्। तिनीहरू विभिन्‍न युक्ति र उद्देश्यहरू बोक्दै मण्डलीमा घुसपैठ गर्ने र छायाँमा जिउने मानिसहरू हुन्। त्यस्ता मानिसहरू दियाबलसहरू हुन्। यी मानिसहरू मण्डलीमा प्रवेश गरेदेखि नै तिनीहरूले असल अभिप्रायहरू राखेका हुँदैनन्। तिनीहरूलाई जसले आज्ञा दिए पनि—कतिपयलाई सरकारले वा निश्‍चित समूहहरूले आज्ञा दिएको हुन सक्छ, जबकि अरूलाई कसैले पनि आज्ञा नदिएको हुन सक्छ र तिनीहरू आफै मण्डलीमा घुसपैठ गर्न चाहेका हुन्छन्—त्यस्ता मानिसहरू पूर्ण रूपमा सांसारिक-बुद्धिमानी व्यक्तिहरू हुन्। तिनीहरूले विभिन्‍न प्रकारका मानिसहरूको सङ्गत गर्छन्, र तिनीहरूका जटिल अन्तरवैयक्तिक सम्बन्ध र सामाजिक सम्पर्कहरू हुन्छन्—तिनीहरूको पृष्ठभूमि जटिल हुन्छ। “जटिल पृष्ठभूमि” को अर्थ तिनीहरूको सामाजिक सम्पर्क, अन्तरवैयक्तिक सम्बन्ध, र जिउने वातावरण विशेष रूपमा अशुद्ध हुन्छ र यो सरल त हुँदै हुँदैन भन्‍ने हुन्छ; तिनीहरू पैसा कमाउने र राम्रो जीवन जिउने प्रयास गरिरहेका साधारण मानिसहरू जस्ता हुँदैनन्। यी मानिसहरूले समाजमा खेल्ने भूमिकाहरू विभिन्‍न वृत्त र समूहहरूका प्रतिष्ठित व्यक्तिहरू, अगुवाहरू, वा तुलनात्मक रूपमा असाधारण व्यक्तित्वहरूका भूमिका हुन्—तिनीहरू त्यस्तो प्रकारका मानिसहरू हुन्, जसलाई गैरविश्‍वासीहरूले “सक्षम व्यक्तिहरू” वा “गुरूहरू” भन्ने गर्छन्। तिनीहरू जहाँ भए पनि, तिनीहरू आफ्नो उचित स्थानमा बस्‍ने मानिसहरू होइनन्, र तिनीहरू सभ्य मानिसहरू होइनन्। चाहे तिनीहरूले व्यक्तिगत फाइदा, वा शक्ति प्राप्त गर्ने मौकाहरू, वा विभिन्‍न समूह र वृत्तभित्रका अरूलाई नियन्त्रण गर्ने अवसरहरू खोजून्, तिनीहरूको उद्देश्य यही हुन्छ, र तिनीहरूको अस्तित्वको लक्ष्य यही हुन्छ। तिनीहरू जुनसुकै मण्डलीमा भए पनि, तिनीहरूको मानसिकता दियाबलसको जस्तै हुन्छ, तिनीहरू सधैँ कुनै कदम चाल्न उत्सुक हुन्छन्, परिस्थितिहरूलाई नियन्त्रण गर्न, मानिसहरूलाई नियन्त्रण गर्न, पैसा नियन्त्रण गर्न, आफ्‍नो प्रभाव जमाउन, र शक्ति हात पार्न चाहन्छन्। यस्ता व्यक्तिका प्रकटीकरणहरू यिनै हुन्। त्यसकारण, त्यस्ता मानिसहरूको मिसन भए पनि वा नभए पनि, वा तिनीहरूलाई सरकारले वा कुनै सामाजिक समूहले आज्ञा दिए पनि वा नदिए पनि, तिनीहरू मण्डलीमा आएपछि आफ्नो उचित स्थानमा सम्भवतः बस्‍न सक्दैनन्। तिनीहरूको कुनै मिसन नभए पनि, र मण्डली वा दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको शोषणको निसाना नभए पनि, तिनीहरू परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्न चाहने मानिसहरू होइनन्, र तिनीहरू अवश्य नै परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने मानिसहरू होइनन्। मण्डलीमा आबद्ध हुनुपछाडिको तिनीहरूको उद्देश्य पटक्‍कै शुद्ध हुँदैन—कम्तीमा पनि, तिनीहरूका लागि एउटा कुरा अत्यन्तै वास्तविक हुन्छ, जुन “मण्डलीको काँधमा चढेर यात्रा गर्नु” र आफ्नै एजेण्डाहरू अघि बढाउने अवसरको प्रतीक्षा गर्नु हो। यदि तिनीहरूले आफ्ना उद्देश्यहरू हासिल गर्न सकेनन् र तिनीहरूका चाहनाहरू धराशायी भए भने, तिनीहरू कुनै पनि बेला मण्डली छोडेर जाने सम्भावना हुन्छ। तिनीहरू प्रहार गर्ने उपयुक्त क्षणको प्रतीक्षा गरेर अवसरहरू खोज्ने गर्छन्—यदि आफ्नो उद्देश्य, महत्त्वाकाङ्क्षा, वा आकाङ्क्षाहरू साकार गर्नका लागि तिनीहरूले फाइदा उठाउन सक्‍ने कुनै व्यक्ति वा उपयुक्त क्षण छ भने, तिनीहरूले त्यो व्यक्ति वा क्षणलाई पटक्‍कै छोड्नेछैनन्। यदि तिनीहरूले निरन्तर अवसर भेट्टाउन सकेनन् भने, तिनीहरू निरुत्साहित र निराश हुन्छन्, र तिनीहरू मण्डली छोडेर जान चाहन्छन्। त्यसकारण, यस्तो व्यक्ति पनि मण्डलीभित्रको खतरनाक व्यक्ति हो, र उसलाई खुट्ट्याउनैपर्छ र उसलाई टाढा राख्नैपर्छ। अर्को झनै महत्त्वपूर्ण सिद्धान्त के हो भने, यदि तँ व्यक्तिको पृष्ठभूमि के हो भन्‍ने कुराबारे अनिश्‍चित छस्, वा तँलाई उसको पृष्ठभूमि अत्यन्तै जटिल छ भन्‍ने कुरा अलिअलि महसुस हुन्छ भने, अगुवा वा कामदारका रूपमा, तँलाई कम्तीमा पनि यो व्यक्तिलाई महत्त्वपूर्ण पदहरूमा नियुक्त गर्न, वा हैसियत वा शक्ति प्राप्त गर्न दिन, वा मण्डलीभित्र कुनै पनि महत्त्वपूर्ण काम गर्ने अनुमति दिन सकिँदैन भन्‍ने कुरा थाहा हुनुपर्छ। यदि तँ उसलाई छर्लङ्ग देख्‍न सक्दैनस् भने, तैँले उसलाई नियालेर हेर्न सक्छस्, तर तैँले हडबडीमा वा समय अगावै कदम चाल्नु हुँदैन। यदि तैँले तिनीहरूलाई छर्लङ्ग देख्नुभन्दा पहिले नै तिनीहरूलाई हैसियत दिइस् वा तिनीहरूलाई महत्त्वपूर्ण कामको जिम्मेवारी समेत दिइस् भने, तैँले अत्यन्तै मूर्ख भइरहेको हुन्छस्! तैँले तिनीहरूलाई छर्लङ्गजति कम देख्‍न सक्छस्, तैँले तिनीहरूलाई महत्त्वपूर्ण काम त्यति नै कम सुम्पनुपर्छ, तँ त्यति नै सतर्क हुनुपर्छ, र तैँले त्यति नै नजिकबाट तिनीहरूमाथि नजर राख्नुपर्छ र कडाइका साथ निगरानी गर्नुपर्छ। वास्तवमा, यस्ता मानिसहरूको कुनै मिसन भए पनि वा नभए पनि, जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू अन्ततः मण्डलीमा लामो समय बस्दैनन्। किनभने, यी अविश्‍वासीहरू हृदयमा आस्थाका मामलाहरूदेखि विकर्षित हुन्छन्। नास्तिकहरू परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्, र तिनीहरूलाई परमेश्‍वर, परमेश्‍वरको काम, वा परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतासँग सम्बन्धित कुनै पनि कुरामा चासो हुँदैन। तिनीहरू निरन्तर अनुसन्धान गरिरहेका हुन्छन्: “के परमेश्‍वरमा विश्‍वास गर्नुमा कुनै फाइदा हुन्छ? के मैले यसबाट धेरै पैसा कमाउन र धनी हुन सक्छु? के मैले संसारमा जस्तै यहाँ पनि मेरा युक्ति र चलाकीहरू प्रयोग गर्न सक्छु?” परमेश्‍वरको घरले यी कुराहरू प्रवर्धन गर्दैन, तर सधैँ इमानदार व्यक्ति बन्‍ने बारेमा कुरा गर्छ, र आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा वा आधा हृदय हुने जोकोहीलाई प्रायजसो काटछाँट गरिन्छ भन्‍ने देख्दा, तिनीहरू विकर्षित हुन्छन्, र तिनीहरूलाई परमेश्‍वरको घरमा दुःखी र अस्वतन्त्र महसुस हुन्छ, र तिनीहरू सधैँ छोडेर जानका लागि मौका खोज्न चाहन्छन्। यदि कुनै व्यक्ति साँच्‍चै नै परमेश्‍वरको भेडामध्येको एक हो, परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूमध्येको एक हो भने, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा बारम्बार छलफल गरिएका सत्यताहरू २०-३० वर्षसम्म छलफल गरिए पनि, ऊ ती सुनेर थाक्दैन; उसले ती कुराहरू आफ्नो सम्पूर्ण जीवनभरि सुने पनि उसलाई त्यो अझै ताजा लाग्छ। उसले जति सुन्छ, यी सत्यताहरू उसका लागि त्यति नै स्पष्ट बन्छन्; उसले जति सुन्छ, उसको हृदयले त्यति नै पोषण पाउँछ; उसले जति सुन्छ, उसलाई सत्यताको त्यति नै तृष्णा हुन्छ। उसले हरेक दिन यी वचनहरू सुन्‍नु पर्‍यो पनि, ऊ त्यसो गर्न इच्छुक हुन्छ। विशेष गरी, जब उसले आफ्ना लागि उपयोगी अनुभवात्मक गवाहीहरू सुन्छ, तब उसलाई ठूलो भोजको आनन्द लिएझैँ आनन्दित र सन्तुष्ट महसुस हुन्छ—उसले सुनको टुक्रा उठाएको भन्दा पनि धेरै खुसी महसुस गर्छ। जहाँसम्म यी अविश्‍वासीहरू, यी दियाबलसहरू—विशेष गरी जटिल पृष्ठभूमि भएका यी मानिसहरूको कुरा छ—तिनीहरूले सत्यतामा गरिएको सङ्गति जति सुन्छन्, तिनीहरूलाई त्यति नै झिजो लाग्छ; तिनीहरूले जति सुन्छन्, तिनीहरूलाई भित्रभित्रै त्यति नै छटपटी र विकर्षित महसुस हुन्छ। जब तिनीहरूले यी वचनहरू सुन्छन्, तब तिनीहरूलाई ती न्यास्रोलाग्दा, खिन्‍नलाग्दा, र थकाइलाग्दा लाग्छ। यदि तैँले तिनीहरूलाई बसेर प्रवचनहरू सुन्‍न लगाइस् भने, तिनीहरूलाई यातना भोगे जस्तै लाग्छ। तिनीहरू भन्छन्, “तिमीहरू सबै कसरी यी वचनहरू सुन्दा यति रमाउँछौ, मानौँ तिमीहरूले ठूलो भोज खाएका छौ? ती कुरा सुन्दा मलाई किन यति विकर्षित महसुस हुन्छ?” लामो समयसम्म सुनेपछि, तिनीहरू थपक्‍क बस्‍न सक्दैनन्। यदि तिनीहरू अगुवा हुन सक्दैनन् भने, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न वा कठिनाइ भोग्‍न अनिच्छुक हुन्छन्, र समय बित्दै जाँदा, तिनीहरूलाई यो सबै व्यर्थ लाग्छ; आफ्नो आस्था त्याग्‍ने विचारहरू देखा पर्न थाल्छन्। अविश्‍वासीहरू यसरी नै प्रकट हुन्छन्। जटिल पृष्ठभूमि भएका यी मानिसहरूका हकमा भन्दा, यदि तैँले तिनीहरूलाई नियाल्ने क्रममा तिनीहरूको मूल शङ्कास्पद छ र तिनीहरूको पृष्ठभूमि जटिल छ भन्‍ने पत्ता लगाइस् भने, तिनीहरूलाई मण्डली छोडेर जानका लागि मनाउने मौका खोज्नका लागि हरसम्भव माध्यम प्रयोग गर्। सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने त्यस्ता मानिसहरूका हकमा, केही बुद्धि प्रयोग गर्नु जरुरी हुन्छ। तैँले तिनीहरूलाई यसो भन्‍न सक्छस्, “तपाईँ धनी बन्‍न चाहनुहुन्छ, र तपाईँ पदाधिकारी बन्‍ने सपना देख्‍नुहुन्छ—यदि तपाईँ आफ्नो सम्पूर्ण जीवनकालमा पदाधिकारी बन्‍नुभएन भने, तपाईँलाई साँच्चै घाटा हुनेछ! तपाईँ पदाधिकारी बन्‍नुपर्छ, धनी बन्‍नुपर्छ, र संसारको पछि लाग्‍नुपर्छ—मूर्त फाइदाहरू त्यहीँ छन्। तपाईँसँग व्यापार गर्ने दिमाग छ र तपाईँ अधिकारी बन्‍न योग्य हुनुहुन्छ—यदि तपाईँ संसारको पछि लाग्‍नुभयो भने, तपाईँ अवश्य नै धनी र पदाधिकारी बन्‍न सक्‍नुहुनेछ।” जब तिनीहरूले यो सुन्छन्, तब तिनीहरूले आत्मीय आत्मा भेट्टाएको छु भन्‍ने सोच्छन् र भन्छन्: “तपाईँले एकदम सही भन्‍नुभयो! मैले परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन जस्तो महसुस गर्दै आइरहेको छु—तपाईँले भन्‍नुभएको कुराले मेरो साँच्‍चै मन छोयो। आस्थाले वास्तवमा मनोवैज्ञानिक प्रभाव मात्रै पार्छ; तपाईँसँग आस्था छ कि छैन भन्‍ने कुराले वास्तवमा फरक पार्दैन। जीवन छोटो छ—केही दशक त आँखा झिमिक्‍क गर्दा नै बित्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग यहाँ सधैँ समय बरबाद गरेर मैले केही पाएको छैन, र मलाई सधैँ असन्तुष्ट महसुस हुन्छ। के यसो गरेर मैले आफूलाई केवल अन्याय गरिरहेको छैनँ र? धेरै पैसा कमाउन बाहिर जानु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” तिनीहरू तैँले भनेको कुरामा सहमत हुनेछन्। तिनीहरू सहमत भएपछि, सायद एक दिन तिनीहरूलाई मण्डलीमा बस्‍नु व्यर्थ छ भन्‍ने लागेर, र त्यसमाथि, तिनीहरूका लागि केही कुराहरू गलत भएर, वा तिनीहरूले केही असफलता र अड्चनहरू, र केही काट-छाँट अनुभव गरेर, तिनीहरू आफै जान्छन्। के त्यो राम्रो होइन र? (हो। यो बुद्धिमानी तौरतरिका हो।) दियाबलसहरूलाई मण्डली छोडेर जान लगाउन सजिलो हुन्छ: तैँले तिनीहरूको मानसिकता पत्ता लगाएपछि, यदि तिनीहरूले कुनै कुरा चाहन्छन् भने, तिनीहरूलाई यो कुरा पछ्याउन प्रोत्सासित गर्। यसरी, तैँले तिनीहरूलाई छोडेर जानका लागि मनाउन सक्छस्। तिनीहरूलाई मार्गदर्शन गर्न प्रवाहसँग मिलेर काम गर्। यस्तो अविश्‍वासीलाई यसरी सम्हाल्नुपर्छ।

यदि मण्डलीमा जटिल पृष्ठभूमि भएका त्यस्ता मानिसहरू भेट्टाइए भने, तिनीहरूलाई मण्डली छोडेर जानका लागि मनाउनुपर्छ वा तुरुन्तै निकाल्नुपर्छ; तिनीहरूलाई बस्‍न उत्प्रेरित गर्ने प्रयास नगर्। किन नगर्ने? एक हिसाबमा, तिनीहरूले मण्डलीमा कुनै राम्रो भूमिका खेल्दैनन्; अर्को हिसाबमा, तिनीहरू परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूमध्येका पटक्‍कै हुँदैनन्। यसका साथै, तिनीहरू मण्डलीमा नै रहे भने पनि, अन्तमा, तिनीहरूले मुक्ति पाउनका लागि परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, वा परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नु अझै पनि असम्भव हुनेछ। यदि तिनीहरू मण्डलीमा नै रहे भने, यसले मण्डलीको काममा हानि गर्नेछ, र तिनीहरूले सानो कदका कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र प्रभाव पार्न सक्छन्। परमेश्‍वरको घरका मानिसहरूलाई तिनीहरू अप्रिय लाग्छन्, र बदलामा तिनीहरूले परमेश्‍वरको घरका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि त्यस्तै अप्रिय नजरले हेर्छन्। हृदयमा, तिनीहरूले सधैँ परमेश्‍वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरूलाई शत्रुताको नजरले हेर्छन्। त्यसकारण मलाई भन, यदि मण्डलीमा त्यस्तो शत्रु, यस्तो विरोधी छ भने, के तिमीहरूलाई बाधा महसुस हुनेछ? (हुनेछ।) त्यसकारण, त्यस्ता मानिसहरूलाई बस्‍न उत्प्रेरित नगर्नु नै राम्रो हुन्छ। तिनीहरूलाई पत्ता लगाइएपछि, तुरुन्तै मण्डली छोडेर जानका लागि मनाओ, निकाल, वा निष्कासित गर। सुसमाचार प्रचार गर्ने क्रममा त्यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? (बस तिनीहरूबाट टाढा बस्नु र तिनीहरूलाई बेवास्ता गर्नु मात्रै पर्छ।) जब तैँले यस्तो व्यक्तिलाई भेट्छस्, तब तैँले उसलाई सुसमाचार प्रचार गर्नु हुँदैन। तिनीहरूले निकै रवाफी, आधारहीन तरिकाले बोल्छन् र तिनीहरू बोलक्कड हुन्छन्, तर तिनीहरूसँग वास्तवमा कुनै प्रतिभा हुँदैन। परमेश्‍वरको घरलाई जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरूको आवश्यकता पर्दैन; तिनीहरू परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूमध्येका होइनन्। तिनीहरू अहिले विश्‍वासमा नै आए भने पनि, ढिलो-चाँडो, तिनीहरूलाई निकाल्नुपर्ने हुन्छ। त्यसकारण, जब सुसमाचार प्रचार गर्नेहरूले त्यस्ता मानिसहरूलाई भेट्छन्, तब तिनीहरूले उनीहरूलाई त्याग्‍नुपर्छ। परमेश्‍वरको घरले त्यस्ता मानिसहरूलाई न त चाहन्छ, न त स्वागत नै गर्छ। जटिल पृष्ठभूमि भएका मानिसहरूलाई सम्हाल्ने तरिका यही हो, र सिद्धान्त यही हो। अवश्य नै, यो समस्यालाई सम्हाल्दा, तिललाई पहाड बनाउनु आवश्यक हुँदैन; तैँले व्यक्ति जटिल पृष्ठभूमि भएका मानिसहरूको वर्गमा पर्छ कि पर्दैन भन्‍ने कुरालाई स्पष्ट रूपमा बुझ्नैपर्छ। यदि तिनीहरूको प्रकटीकरण यस्तो व्यक्तिको जस्तै छ भने, तिनीहरूलाई यो समूहको वर्गमा राख्नुपर्छ। तर, यदि कसैले कहिलेकाहीँ मात्रै घमण्ड गर्छ वा वाहियात कुराहरू बोल्छ र उसको अत्यधिक घमण्डका कारण उसलाई भूलवश जटिल पृष्ठभूमि भएको व्यक्ति ठानिन्छ, तर वास्तवमा, परमेश्‍वरमाथिको उसको विश्‍वास साँचो छ र ऊ यो वर्गमा पर्दैन भने, असल व्यक्तिलाई गलत तरिकाले दोष दिनबाट जोगिनका लागि यो परिस्थितिलाई फरक तरिकाले लिनुपर्छ।

३. आफ्नो कर्तव्य पूरा गर्ने क्रममा व्यक्तिमा हुने मनोवृत्तिका आधारमा

हामीले मानिसहरूको मानवताका आधारमा तिनीहरूलाई खुट्ट्याउने मापदण्डबारेको सङ्गति लगभग समाप्त गरेका छौँ। अर्को मापदण्ड पनि छ—मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूमा हुने मनोवृत्तिका आधारमा तिनीहरूलाई खुट्ट्याउनु। हामीले यसभन्दा पहिलेका प्रवचनहरूमा यो मापदण्डका बारेमा धेरै कुरा गरेका छौँ, त्यसकारण यसबारे थप केही भन्‍नु आवश्यक छैन।

एकदम राम्रो। आजको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। बिदा!

जुलाई ६, २०२४

अघिल्लो:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२७)

अर्को:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२९)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger