तँ ठ्याक्कै कोप्रति बफादार छस्?
अहिले, तिमीहरू जिउने प्रत्येक दिन अत्यन्तै महत्त्वपूर्ण छ, र तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्यका लागि यसको ठूलो महत्त्व छ, त्यसैले तिमीहरूले आफूसँग आज भएका सबै कुराको कदर गर्नैपर्छ र बित्ने प्रत्येक मिनेटलाई महत्त्व दिनैपर्छ। तिमीहरूले सबैभन्दा ठूला प्राप्तिहरू हासिल गर्न सक्षम हुनका लागि हरेक क्षणको फाइदा लिनैपर्छ ताकि तिमीहरूले यो जीवन व्यर्थमा जिएको नहोस्। तिमीहरू म किन त्यस्ता वचनहरू बोलिरहेको छु भन्ने कुराले अन्योलमा पर्न सक्छौ। नलुकाई भन्नुपर्दा, म तिमीहरूमध्ये कसैको व्यवहारबाट खुसी छैन, किनकि मैले तिमीहरूप्रति जस्तो आशा राखेको थिएँ आज तिमीहरू त्यस्तो भएनौ। तसर्थ, म यति भन्न सक्छु, तिमीहरूमध्ये प्रत्येक जना खतराको सङ्घारमा छौ र विगतमा तिमीहरूले मद्दतका लागि गरेका हारगुहार अनि सत्यतालाई पछ्याउने र ज्योतिको खोजी गर्ने तिमीहरूका पहिलेका आकाङ्क्षाहरू अन्त्यतिर पुग्न लागेका छन्। यो मप्रति तिमीहरूले देखाएको अन्तिम परिपूर्ति हो र यो मैले कहिल्यै अपेक्षा नगरेको कुरा हो। म तथ्यहरूको विपरीत बोल्न चाहन्न, किनकि तिमीहरूले मलाई एकदमै निराश तुल्याएका छौ। सायद तिमीहरू यसलाई सहर्ष स्विकार्न चाहँदैनौ, वास्तविकताको सामना गर्न चाहँदैनौ—तैपनि मैले तिमीहरूलाई यो कुरा गम्भीर रूपमा सोध्नैपर्छ: यतिका वर्ष तिमीहरूको हृदय वास्तवमा केले भरिएको थियो? तिमीहरूको हृदय ठ्याक्कै कोप्रति बफादार छ? यी प्रश्नहरू यत्तिकै आएका हुन् नभन र मैले यस्ता कुराहरू किन सोधेँ भनेर मलाई नसोध। यो कुरा जान: म तिमीहरूलाई अत्यन्तै राम्रोसँग चिन्छु, तिमीहरूको एकदमै ख्याल गर्छु र तिमीहरूको आचरण र कार्यहरूमा मैले मेरो हृदय धेरै नै समर्पित गरेको छु, त्यसैले मैले तिमीहरूलाई निरन्तर जवाफदेही बनाएको छु र कठोर दुःखकष्ट सहँदै आएको छु। तर तिमीहरूले भने यसको बदलामा मलाई उदासीनता र विवश समर्पण मात्र फर्काएका छौ। तिमीहरूले मलाई ज्यादै उपेक्षा गरेका छौ; के मलाई यसको बारेमा केही पनि थाहा नहुनु सम्भव छ र? यदि तिमीहरू यस्तै विश्वास गर्छौ भने, यसले तिमीहरू मलाई दयापूर्वक साँचो रूपमा व्यवहार गर्दैनौ भन्ने तथ्यलाई थप प्रमाणित गर्छ। त्यसैले म त भन्छु कि तिमीहरू आफैलाई धोका दिइरहेका छौ। तिमीहरू सबै जना यति चलाख छौ कि तिमीहरूलाई आफू के गर्दै छु भन्ने समेत थाहा छैन—त्यसैले तिमीहरू के प्रयोग गरेर मलाई जवाफ दिन्छौ?
वास्तवमा तिमीहरूको हृदय कोप्रति निष्ठावान् छ भन्ने प्रश्न नै मेरो लागि सबैभन्दा चासोको प्रश्न हो। मलाई आशा छ, तिमीहरूमध्ये प्रत्येकले आफ्ना सोच व्यवस्थित गर्ने प्रयास गर्नेछौ र तिमीहरू कोप्रति निष्ठावान् छौ र कसको लागि तिमीहरू बाँच्छौ भनेर आफैलाई सोध्नेछौ। सायद तिमीहरूले कहिल्यै पनि यी प्रश्नहरूमा ध्यानपूर्वक विचार गरेका छैनौ, त्यसैले मैले तिमीहरूका निम्ति उत्तरहरू प्रकट गरिदिँदा कस्तो होला?
सम्झना भएका जोकोहीले पनि यो तथ्य स्विकार्नेछ: मानिस आफ्नो लागि बाँच्छ र आफैप्रति बफादार हुन्छ। मलाई तिमीहरूका जबाफ पूर्णतया सही छन् भन्ने विश्वास छैन, किनकि तिमीहरूमध्ये प्रत्येक आ-आफ्नै जीवनमा जिइरहेको हुन्छ र आफ्नै व्यक्तिगत पीडाका बीचमा सङ्घर्ष गरिरहेको हुन्छ। यस्तो भएकाले, तिमीहरू आफूले प्रेम गर्ने मानिसहरूप्रति र आफूलाई मन पर्ने वस्तुहरूप्रति बफादार छौ; तिमीहरू आफूप्रति पूर्णतया बफादार छैनौ। तिमीहरू प्रत्येक आफ्ना वरिपरिका मानिस, घटना र कामकुराहरूबाट प्रभावित भएकाले, तिमीहरू आफूप्रति साँचो रूपमा बफादार छैनौ। तिमीहरू आफूप्रति बफादार हुनुपर्छ भन्ने कुरालाई समर्थन गर्नका लागि नभई, बरु कुनै एउटा कुराप्रति तिमीहरूको बफादारीको खुलासा गर्नका लागि म यी वचनहरू बोल्छु, किनभने यत्तिका वर्षसम्म, मैले तिमीहरूमध्ये कसैबाट पनि बफादारी प्राप्त गरेको छैन। तिमीहरूले यत्तिका वर्षसम्म मलाई पछ्याएका छौ, तर अहिलेसम्म मलाई अलिकति पनि बफादारी दिएका छैनौ। बरु, तिमीहरू आफूलाई मन पर्ने मानिस र कुराहरूको वरिपरि घुमेका छौ—यतिसम्म कि तिमीहरू हरेक समयमा र जहाँसुकै जाँदा पनि ती कुराहरूलाई आफ्नो हृदयको नजिक राख्छौ र कहिल्यै तिनलाई त्यागेका छैनौ। जब तिमीहरू आफूले प्रेम गर्ने कुनै पनि कुराप्रति उत्सुक वा उत्साहित भइरहेका हुन्छौ, तिमीहरू मलाई पछ्याइरहेको बेला नै, वा तिमीहरूले मेरा वचनहरू सुनिरहेको बेला समेत त्यसो भइरहेका हुन्छौ। त्यसकारण, म भन्छु, मैले तिमीहरूसँग मागेको बफादारीलाई तिमीहरूले आफ्ना “प्रिय” हरूप्रति बफादार हुन र तिनलाई माया गर्न प्रयोग गरिरहेका छौ। तिमीहरूले मेरो लागि एक-दुई वटा कुरा त्याग गरे तापनि, यसले तिमीहरूका सबै कुरालाई प्रतिनिधित्व गर्दैन र तिमीहरू साँचो रूपमा मप्रति नै बफादार छौ भन्ने देखाउँदैन। तिमीहरू आफूले गहिरो रुचि राख्ने कामहरूमा नै आफूलाई संलग्न गराउँछौ; तिमीहरूमध्ये केही आफ्ना छोरा र छोरीहरूप्रति बफादार हुन्छौ भने अरूहरूचाहिँ आफ्नो पति, पत्नी, धन, काम, वरिष्ठ अधिकारी, हैसियत वा महिलाहरूप्रति बफादार हुन्छन्। तिमीहरू आफू बफादार रहेका कुराहरूप्रति कहिल्यै थकित वा वाक्क हुँदैनौ; बरु, तिमीहरू अझ बढी मात्रामा र अझ राम्रो तरिकाले ती कुराहरू पाउन उत्सुक हुन्छौ र कहिल्यै पनि हरेस खाँदैनौ। मेरा वचनहरूलाई र मलाई जहिले पनि तिमीहरूले गहिरो रुचि राख्ने कुराहरूभन्दा पछाडि धकेलिन्छ, अनि तिनलाई अन्तिम दर्जा दिनु बाहेक तिमीहरूसँग अरू कुनै विकल्प हुँदैन। त्यस्ता व्यक्तिहरू पनि छन्, जसले आफूले अहिलेसम्म पत्ता लगाइ नसकेको भए पनि आफू बफादार रहेका कुराहरूका लागि अन्तिम स्थान साँचेर राख्छन्। उनीहरूको हृदयमा मेरो हल्का निशान समेत कहिल्यै रहेको छैन। तिमीहरूले सोच्छौ होला, म तिमीहरूसँग धेरै नै माग्छु वा तिमीहरूलाई अन्यायपूर्ण रूपमा आरोप लगाइरहेको छु—तर के तिमीहरू आफ्नो परिवारसँग खुसीसाथ समय बिताइरहेको बेला मप्रति एक पटक पनि बफादार भएका छैनौ भन्ने तथ्यबारे कहिल्यै सोचेका छौ? त्यतिबेला, के यसले तिमीहरूलाई पीडा दिँदैन? जब तिमीहरूको हृदय आफ्नो श्रमका लागि आफूलाई भुक्तानी गरिएकोमा हर्षले भरिन्छ, तब के तिमीहरू आफूलाई पर्याप्त सत्यताहरूले सुसज्जित नगरेकोमा निरुत्साहित महसुस गर्दैनौ? तिमीहरू मेरो स्वीकृति प्राप्त नगर्दा कहिले रोएका छौ? तिमीहरू आफ्ना छोरा र छोरीहरूका लागि आफ्नो दिमाग खियाउँछौ र धेरै मेहनत लगाउँछौ, तैपनि तिमीहरू सन्तुष्ट हुँदैनौ; तिमीहरू अझै पनि तिनीहरूका खातिर लगनशील भएका छैनौ, तिनीहरूका लागि आफूले गर्न सक्ने सबै कुरा गरेका छैनौ भन्ने विश्वास गर्छौ। तर, मप्रति भने तिमीहरू सधैँ नै उपेक्षापूर्ण र लापरवाह भएका छौ; म तिमीहरूको सम्झनामा मात्र छु, तर म तिमीहरूको हृदयमा रहिरहँदिनँ। तिमीहरू कहिल्यै मेरा श्रमसाध्य अभिप्राय बुझ्न, वा तीबारे विचार गर्न खोज्दैनौ। तिमीहरू केवल क्षणिक रूपमा तीबारे चिन्तन गर्छौ र यति नै पर्याप्त हुनेछ भन्ने विश्वास गर्छौ। यस्तो “बफादारी” म लामो समयदेखि लालायित भएको कुरा होइन, बरु त्यो त मैले लामो समयदेखि घृणा गरेको कुरा हो। तथापि, मैले जेसुकै भने पनि, तिमीहरू एक-दुई वटा कुरा मात्र स्विकारिरहन्छौ; तिमीहरू यसलाई पूर्णतया स्विकार्न सक्दैनौ, किनकि तिमीहरू सबै अत्यन्तै “विश्वस्त” छौ, र सधैँ मैले बोलेका वचनहरूबाट के स्विकार्ने भनी छान्छौ र चुन्छौ। तिमीहरू आज पनि यस्तै छौ भने, मसँग तिमीहरूको आत्मविश्वासलाई काटछाँट गर्ने केही विधि छन्—र त्यति मात्र होइन, म मेरा सबै वचन सत्य छन्, र तीमध्ये कुनैले पनि तथ्यहरूलाई विकृत गर्दैनन् भनेर तिमीहरूलाई स्वीकार गर्न लगाउनेछु।
यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरू एउटा हातले पैसा थुत्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका छौ, छैनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ;[क] विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले, अनपेक्षित रूपमा, मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो पारिएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि राखिएको छ र तिमीहरूले सामना गर्ने कुरा नयाँ जीवन र एक नयाँ सुरुवाती विन्दु हो। तर, मैले तिमीहरूलाई के भन्नैपर्छ भने, यो सुरुवाती विन्दु विगतको जस्तै नयाँ कामको आरम्भ होइन, बरु पुरानो कामको समापन हो। अर्थात्, अन्तिम कार्य यही नै हो। मलाई यस सुरुवाती विन्दुबारे के असामान्य छ भन्ने कुरा तिमीहरू सबैले बुझ्न सक्छौ भन्ने लाग्छ। तर, एक दिन चाँडै तिमीहरूले यस सुरुवाती विन्दुको साँचो अर्थ बुझ्नेछौ, त्यसकारण हामी एकसाथ त्यसभन्दा अघि बढौँ र आउने समापनलाई स्वागत गरौँ। तर, मलाई तिमीहरूको के कुराबारे निरन्तर चिन्ता लाग्छ भने, अन्याय र न्यायको सामना गर्दा, तिमीहरू सधैँ अघिल्लोलाई छनौट गर्छौ। तथापि, त्यो सबै तिमीहरूको अतीतमा छ। म तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, मसँग यसो गर्ने निकै राम्रो तरिका छ: भविष्यले अतीतलाई प्रतिस्थापन गरोस्, र तिमीहरूको अतीतको छायालाई हटाएर आजको तिमीहरूको साँचो रूप अगाडि आउन देओस्। यसरी, मैले तिमीहरूलाई फेरि पनि छनौट गर्न कष्ट दिनैपर्छ: तिमीहरू ठ्याक्कै कोप्रति बफादार छौ?
फूटनोटहरू:
क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्ने हुन्छ।