क. परमेश्‍वरको अख्तियारको सम्बन्धमा

५२९. ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र प्रजनन गर्छन्, जीवनको नियम अनन्त चक्रमा पालन गर्छन्, अनि अपरिवर्तनीय नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले आफैलाई यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारमाथि शासन गर्छ? अनि कसले यी मानवजातिलाई सृष्टि गऱ्यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृतिले नै सृष्टि गरेको हो त? के मानवजातिले साँच्‍चै आफ्नै भाग्यलाई आफ्नै नियन्त्रणमा राखेको छ? … मानवजातिले निरन्तर रूपमा हजारौँ वर्षदेखि सोध्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूले मानिस जति एकोहरो बनेको छ, उसमा विज्ञानको तृष्णा त्यति नै बढी जागेको छ। विज्ञानले देहका लागि क्षणिक सन्तुष्टि र अस्थायी आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको गहिराइमा रहेको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसक्ने आतङ्क र असहायपनबाट स्वतन्त्र गर्नका लागि त्यो पटक्कै पर्याप्त छैन। मानवजातिले आफ्‍नो हृदयलाई लट्याउनका लागि आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ भन्‍ने थाहै छैन, झन् मानवजातिको सुरुवात र भविष्यबारे जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमबीच केवल विवश भएर जिउँछन्। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एउटा मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँलाई कुनै पनि मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूमा सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि आपूर्ति गर्ने र उसलाई पोषण दिने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई आजको दिनसम्‍म डोऱ्याउने उहाँ नै हुनुहुन्छ। यसबाहेक, मानवजातिले बाँच्नका लागि भर पर्ने एकमात्र जन उहाँ नै हुनुहुन्छ। यावत् थोकमाथि र ब्रह्माण्डका सारा जीवित प्राणीमाथि उहाँले नै सार्वभौमिकता राख्नुहुन्छ। चार ऋतुमाथि उहाँकै शासन छ अनि बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानिसलाई पहाड, ताल, नदी र तीभित्रका सबै प्राणी दिँदै, स्वर्ग र पृथ्वी पसार्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र उहाँको बुद्धि र अख्तियारको एउटा प्रकटीकरण हो। उहाँको सार्वभौमिकताबाट कसले आफूलाई उम्काउन सक्छ? उहाँका प्रबन्धबाट कसले आफूलाई छुटाउन सक्छ? यावत् थोक उहाँकै नजरमुनि अस्तित्वमा छन्, र यसबाहेक, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्नेबाहेक कुनै विकल्‍प दिँदैनन्। उहाँबाहेक कुनै कुराले पनि ब्रह्माण्डमाथि शासन गर्न सक्दैन, झन् यो मानवजातिलाई अटुट रूपमा आपूर्ति गर्ने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो भाग्य परमेश्‍वरद्वारा नियोजित हुन्छ भन्‍ने कुरामा कुनै शङ्‍का छैन, र यावत् थोकमाथि सधैँ परमेश्‍वर नै सार्वभौम हुनुहुनेछ भन्‍ने कुरामा पनि कुनै शङ्‍का छैन। मानवजातिले उहाँको अस्तित्व र अख्तियार पहिचान गर्छन् कि गर्दैनन् र बुझ्छन् कि बुझ्दैनन् भन्‍ने आधारमा ती अस्तित्व र अख्तियार निर्धारित हुँदैनन्। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको भाग्य निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यी सबै देख्‍नेछन्, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै नजर सामु मानवजाति जिउँछन् र मर्छन्। मानिस परमेश्‍वरको व्यवस्थापनका लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखा चिम्‍लन्छ, ती यही व्यवस्थापनकै खातिर नै बन्द हुन्छन्। मानिस घरीघरी, आउँछ-जान्छ, आउँछ-जान्छ। कुनै अपवादबिना, यी सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाका भाग हुन्। परमेश्‍वरको व्यवस्थापन सदा अघि बढिरहेको छ; त्यो कहिल्यै रोकिएको छैन। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत रहने, उहाँको सार्वभौमिकतामा विश्वास गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। यो उहाँको योजना हो, उहाँले हजारौँ वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

५३०. उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई चाहे जुन ढङ्गले सृष्टि गर्नुभए तापनि, तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, यावत् थोक परमेश्वरकै वचनका कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिका लागि यावत् थोक सृष्टि गर्न आफ्‍नो शक्ति र अख्तियार प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयार गर्नको लागि आफ्ना अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएका सबै कुरा मानवजातिको तयारीका लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्नलागेका थिए। भन्‍नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक सम्पूर्ण सृष्टिहरूमा, स्वर्ग, ज्योति, समुद्र र भूमिजस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गी, साथै नाङ्गो आँखाले देख्‍न नसकिने विभिन्‍न प्रकारका ब्याक्टेरियालगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवजस्ता साना कुरामा परमेश्‍वरको अख्तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनका कारण हरेकले प्रजनन गरे, र उहाँकै वचनका कारण सबै कुरा नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, आफ्ना विभिन्‍न रूप र संरचनाद्वारा नै सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्‍न सक्‍ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवन व्यक्त गर्ने तरिका तिनीहरू सबैले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवन-शक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई प्रजनन गरेर वृद्धि हुने प्रवृत्ति पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएका बाँच्‍नेसम्‍बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्‍नो अख्तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले बृहत् वा सूक्ष्‍म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डको सञ्चालनको कमान सम्हाल्न र यावत् थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ, यसका साथै, यावत् थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई व्यवस्थित गर्न सक्नुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाको काम गर्ने तरिकालाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका यावत् थोकमाथि सार्वभौमिकता राख्न सक्‍नुहुन्छ, त्यसबाहेक, उहाँ यावत् थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्‍नुहुन्छ। मानवजातिबाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालका लागि मात्रै होइन; यो कहिल्यै रोकिनेछैन, न त यसले विश्राम नै गर्नेछ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुऱ्याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्‍न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई हासिल गर्न सक्दैन। उदाहरणको लागि, परमेश्‍वरका दूतहरू र स्वर्गदूतहरूलाई लिऊँ। तिनीहरूसँग परमेश्‍वरको शक्ति छैन, सृष्टिकर्ताको अख्तियार हुने कुरा त परै जाओस्, र तिनीहरूमा सृष्टिकर्ताको सार नभएको कारण तिनीहरूमा परमेश्‍वरको शक्ति र अख्‍तियार हुँदैन। परमेश्‍वरका दूत र स्वर्गदूतहरूजस्ता सृष्टि नगरिएका प्राणीहरूले परमेश्‍वरको सट्टामा केही कुरा गर्न सक्‍ने भए तापनि, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूसँग मानिसमा नभएका केही शक्ति भए तापनि, परमेश्‍वरको अख्‍तियार छैन, अर्थात् सबै थोक सृष्टि गर्ने, सबै थोकमाथि हुकुम गर्ने, र सबै थोकमाथि सार्वभौमिकता राख्‍ने परमेश्‍वरको अख्‍तियार तिनीहरूसँग छैन। त्यसकारण, परमेश्‍वरको अद्वितीयतालाई सृष्टि नगरिएको प्राणीले प्रतिस्थापन गर्न सक्दैन, त्यसरी नै, सृष्टि नगरिएको कुनै पनि प्राणीले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रतिस्थापन गर्न सक्दैन। के बाइबलमा, परमेश्‍वरको कुनै दूतले सबै थोक सृष्टि गर्‍यो भनेर तैँले पढेको छस्? परमेश्‍वरले सबै थोक सृष्टि गर्नको लागि किन आफ्नो कुनै पनि दूत वा स्वर्गदूतलाई खटाउनुभएन? किनभने तिनीहरूसँग परमेश्‍वरको अख्‍तियार थिएन, त्यसकारण परमेश्‍वरको अख्‍तियार प्रयोग गर्ने क्षमता तिनीहरूसँग थिएन। सम्पूर्ण सृष्टि गरिएका प्राणीहरू जस्तै, तिनीहरू सबै नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा, र सृष्टिकर्ताको अख्तियारको अधीनमा छन्, त्यसरी नै, सृष्टिकर्ता तिनीहरूका परमेश्‍वर र तिनीहरूका सार्वभौम हुनुहुन्छ। तिनीहरूमध्ये हरेकको बीचमा—चाहे ती कुलीन वा नीच होऊन्, ठूलो शक्ति भएको वा सानो शक्ति भएका होऊन्—सृष्टिकर्ताको अख्‍तियारलाई नाघ्‍न सक्‍ने एउटै छैन, त्यसकारण, तिनीहरूका बीचमा, सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्‍ने एउटै छैन। तिनीहरूलाई कहिल्यै पनि परमेश्‍वर भनिनेछैन, र तिनीहरू कहिल्यै पनि सृष्टिकर्ता बन्‍न सक्‍नेछैनन्। यी अपरिवर्तनीय सत्यता र तथ्य हुन्!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५३१. आफूले सृष्टि गर्नुभएका सबै थोक उहाँकै वचनको कारण अस्तित्वमा आएको, खडा भएको, अनि क्रमिक रूपमा परिवर्तन हुन सुरु गरेको परमेश्‍वरले हेर्नुभयो। यो समयमा, उहाँले आफ्‍ना वचनद्वारा बनाउनुभएका कुराप्रति र उहाँले हासिल गर्नुभएका विभिन्‍न कार्यप्रति के उहाँ सन्तुष्ट हुनुहुन्थ्यो? यसको उत्तर “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने हो। तिमीहरू यहाँ के देख्छौ? “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” ले केलाई प्रतिनिधित्व गर्छ? यो केको प्रतीक हो? यसको अर्थ परमेश्‍वरले आफूले योजना बनाउनुभएका र निर्धारित गर्नुभएका कुरालाई हासिल गर्ने, हासिल गर्नको लागि तय गर्नुभएका लक्ष्यहरूलाई हासिल गर्ने शक्ति र बुद्धि उहाँसँग छ भन्‍ने हुन्छ। जब परमेश्‍वरले प्रत्येक काम पूरा गर्नुभयो, के उहाँलाई पछुतो लाग्यो? यसको उत्तर अझै पनि “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” भन्‍ने नै हो। अर्को शब्‍दमा भन्नुपर्दा, उहाँलाई कुनै पछुतो नलागेको मात्रै होइन, तर यसको सट्टा उहाँ सन्तुष्ट हुनुभयो। उहाँलाई कुनै पछुतो भएन भन्‍नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको योजना सिद्ध छ, उहाँका शक्ति र बुद्धि सिद्ध छन्, र उहाँको अख्‍तियारद्वारा मात्रै त्यस्तो सिद्धता हासिल गर्न सकिन्छ भन्‍ने हो। जब मानिसले कुनै काम गर्छ, के उसले पनि परमेश्‍वरले जस्तै यसलाई हेरेर असल देख्‍न सक्छ? के मानिसले गर्ने सबै कुरामा उसले सिद्धता हासिल गर्न सक्छ? के मानिसले कुनै कुरा सदा अनन्तसम्‍मको लागि पूरा गर्न सक्छ? मानिसले “कुनै पनि कुरा सिद्ध हुँदैन, अलिक उत्तम मात्रै हुन्छ” भनेजस्तै, उसले गर्ने कुनै कुराले पनि सिद्धता हासिल गर्न सक्दैन। जब परमेश्‍वरले आफूले गर्नुभएको र हासिल गर्नुभएका सबै कुरा असल देख्‍नुभयो, उहाँले बनाउनुभएका सबै कुरा उहाँकै वचनले तय गरेको थियो, भन्‍नुको अर्थ, जब “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” उहाँले बनाउनुभएका सबैले स्थायी स्वरूप लिएका थिए, प्रकारअनुसार वर्गीकरण भएका थिए, र सदा अनन्तको लागि निश्‍चित स्थान, उद्देश्य र कार्य दिइएको थियो। यसका साथै, सबै थोकको बीचमा तिनीहरूको भूमिका, र सबै थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको अवधिमा तिनीहरूले गर्नैपर्ने यात्रा उहाँले पहिले नै नियुक्त गरिसक्‍नुभएको थियो, र ती अपरिवर्तनीय थिए। यो, सृष्टिकर्ताले सबै थोकका लागि दिनुभएको स्वर्गीय नियम थियो।

“त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” यी सरल, कम रूपमा बुझिएका, धेरै पटक बेवास्ता गरिएका वचनहरू, परमेश्‍वरले सारा प्राणीलाई दिनुभएका स्वर्गीय नियम र स्वर्गीय अध्यादेशका वचनहरू हुन्। ती सृष्टिकर्ताको अख्‍तियारको अर्को मूर्तरूप हो, जुन अझै बढी व्यावहारिक, र अझै बढी गहन छ। सृष्टिकर्ताले आफ्‍ना वचनहरूद्वारा आफूले हासिल गर्न तय गर्नुभएका सबै कुरालाई प्राप्त मात्रै गर्न सक्‍नुभएन, र उहाँले प्राप्त गर्न तय गर्नुभएका सबै हासिल मात्रै गर्न सक्‍नुभएन, तर आफूले सृष्टि गर्नुभएका सबैलाई आफ्‍नै हातले नियन्त्रण गर्न, र आफ्‍नो अख्‍तियारको अधीनमा आफूले बनाउनुभएका सबै थोकलाई शासन गर्न पनि सक्‍नुभयो, यसका साथै सबै व्यवस्थित र क्रमबद्ध थिए। सबै कुरा उहाँकै वचनद्वारा सङ्ख्यामा वृद्धि भए, अस्तित्वमा रहे, र नाश भए, यसका साथै, उहाँको अख्‍तियारद्वारा नै ती उहाँले अघि सार्नुभएको नियमको बीचमा अस्तित्वमा रहे, र यसमा कसैलाई छूट थिएन! “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” भनी भनिएकै क्षण यो नियमको सुरुवात भयो र सृष्टिकर्ताले रद्द गर्नुहुने दिनसम्‍मै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर यो अस्तित्वमा रहिरहन्छ, निरन्तर रहन्छ, र सुचारु भइरहन्छ! सबै थोक सृष्टि गर्ने र सबै थोकलाई आज्ञा गरी अस्तित्वमा ल्याउने उहाँको क्षमतामा मात्रै होइन, तर सबै थोकलाई शासन गर्ने र तिनमाथि सार्वभौमिकता राख्‍ने, र सबै थोकमाथि जीवन र जीवनशक्ति प्रदान गर्ने उहाँको क्षमतामा, साथै, उहाँले बनाउनुभएको संसारमा आफ्‍नो योजनामा सृष्टि गर्नुभएको यावत् थोक सिद्ध आकार, र सिद्ध जीवन संरचना, अनि सिद्ध भूमिकासहित सदा अनन्तको लागि देखा पर्ने र अस्तित्वमा रहने तुल्याउने उहाँको क्षमतामा पनि सृष्टिकर्ताको अद्वितीय अख्तियार प्रकट भयो। त्यसरी नै सृष्टिकर्ताका विचारहरू कुनै पनि सीमाका अधीनमा थिएनन्, समय, स्थान, वा भूगोलद्वारा सीमित थिएनन् भन्‍ने तरिकामा पनि यसको प्रकटीकरण भयो। सृष्टिकर्ताको अख्तियारजस्तै, उहाँको अद्वितीय पहिचान पनि अनन्‍तदेखि अनन्‍तसम्‍म अपरिवर्तित रहन्छ। उहाँको अख्तियार सधैँ नै उहाँको अद्वितीय पहिचानको प्रतिनिधित्व र प्रतीक हुनेछ, र उहाँको अख्‍तियार उहाँको पहिचानसँग एकसाथ सदासर्वदा रहिरहन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५३२. परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, अनि तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वरले नै सबै थोकलाई आज्ञा दिनुहुन्छ, र सबै कुरालाई व्यवस्थित र श्रेणीबद्ध गर्नुहुन्छ, र हरेकलाई परमेश्वरका चाहनाअनुसार तिनको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, र प्रत्येकलाई आफ्‍नो स्थानमा राख्नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने वा परमेश्‍वरबाट कुनै माग गर्ने आँट गर्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

५३३. यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्‍वरको नियन्त्रणमा रही आफ्‍ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्‍चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्‍कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्‍चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्‍न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्‍तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रण अन्तर्गत तिनीहरूले आफ्‍नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्‍वरको अस्तित्वलाई मानवजातिले मान्दैन न सृष्टिकर्ताले सबथोक बनाउनुभयो र तीमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने नै स्विकार्छ, साथै उसले सृष्टिकर्ताको अख्‍तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोल र भौतिकशास्‍त्रीहरूले झन् झन् बढी पत्ता लगाइरहेका छन् कि, यावत् थोकको अस्तित्व र चाललाई निर्धारण गर्ने सिद्धान्त र ढाँचाहरूलाई व्यापक र गुप्त अँध्यारो ऊर्जाले शासन र नियन्त्रण गर्छ। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्‍न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरामाथि सार्वभौम शासन र नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकतापार कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई सामना गर्दा, यावत् थोकको अस्तित्व निर्देशन गर्ने व्यवस्थाहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्‍ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र ती प्राकृतिक रूपमा नै घटिरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्‍ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्‍न सक्‍ने परमेश्‍वरको अख्‍तियारका अभिव्यक्तिहरू हुन्।

सूक्ष्‍म स्तरमा, मानिसले पृथ्वीमा देख्‍न सक्‍ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्‍म जीव, र मानिस लगायत पृथ्वीमा बसोबास गर्ने सबै थोक परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरू अनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरका वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरू अनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

५३४. परमेश्‍वरका वचनहरू उच्‍चारण गरिएपछि, परमेश्‍वरको अख्‍तियारले यो कार्यमा हुकुम चलाउँछ, र परमेश्‍वरको मुखले प्रतिज्ञा गरेको तथ्य क्रमिक रूपमा यथार्थ बन्‍न थाल्छ। परिणामस्वरूप, जसरी वसन्तको आगमनसँगै घाँसहरू हरिया बन्‍न थाल्छन्, फूलहरू फुल्‍न थाल्छन्, रूखका मुनाहरू पलाउन थाल्छन्, चराचुरुङ्गी गाउन थाल्छन्, हाँसहरू फर्केर आउँछन्, र भूमि मानिसहरूले भरिन्छन्, त्यसरी नै सबै थोकको बीचमा परिवर्तनहरू देखा पर्न थाल्छ…। वसन्तको आगमनसँगै सबै थोक नयाँ हुन्छन्, र यो सृष्टिकर्ताको आश्‍चर्यजनक कार्य हो। जब परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू हासिल गर्नुहुन्छ, स्वर्ग र पृथ्वीका सबै थोक नवीकरण हुन्छन् र परमेश्‍वरका विचारहरू अनुसार परिवर्तन हुन्छन्—कसैलाई पनि छूट छैन। जब परमेश्‍वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्‍चारण गरिन्छ, सबै थोक यसलाई पूरा गर्नमा लाग्छन् र यसलाई पूरा गर्नकै खातिर सबै थोकलाई चलाकीसाथ परिचालित गरिन्छ; सबै प्राणीहरू परमेश्‍वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्‍नै भूमिका निर्वाह गर्छन्, र आ-आफ्‍नै प्रकार्य पूरा गर्छन्। सृष्टिकर्ताको अख्‍तियारको प्रकटीकरण यही हो। यसमा तँ के देख्छस्? तँ परमेश्‍वरको अख्‍तियारलाई कसरी जान्दछस्? के परमेश्‍वरको अख्तियारको कुनै दायरा छ? के समयको सीमितता छ? के यसको निश्‍चित उचाइ, वा निश्‍चित लम्‍बाइ छ भनेर भन्‍न सकिन्छ? के यसको निश्‍चित आकार वा सामर्थ्य छ भनेर भन्‍न सकिन्छ? के यसलाई मानिसका आयामहरूबाट मापन गर्न सकिन्छ? परमेश्‍वरको अख्‍तियार घरी सक्रिय, घरी निष्क्रिय हुने हुँदैन, यो आउने र जाने गर्दैन, र उहाँको अख्तियार वास्तवमा कति महान् छ भनेर नाप्‍न सक्‍ने कोही पनि छैन। जति धेरै समय बिते पनि, जब परमेश्‍वरले कुनै व्यक्तिलाई आशिष्‌ दिनुहुन्छ, यो आशिष्‌ अघि बढिरहनेछ, र यसको निरन्तरताले परमेश्‍वरको अख्‍तियारको अतुलनीय साक्षी दिनेछ, र सृष्टिकर्ताको ननिभ्‍ने जीवनशक्तिको पुन: देखा पर्ने घटनालाई बारम्‍बार देख्‍न मानवजातिलाई समर्थ तुल्याउनेछ। उहाँको अख्तियारको हरेक प्रदर्शन सबै थोकमा, र मानवजातिमा प्रदर्शन गरिने उहाँको मुखका वचनहरूको सिद्ध प्रदर्शन हुन्। यसको साथै, उहाँको अख्‍तियारले हासिल गर्ने सबै कुरा अति उत्तम, अतुलनीय, र अत्यन्तै त्रुटिहीन छन्। के भन्‍न सकिन्छ भने, उहाँका विचारहरू, उहाँका वचनहरू, उहाँको अख्तियार, र उहाँले हासिल गर्नुहुने सबै कार्यहरू अतुलनीय रूपमा सुन्दर चित्र हुन्, र प्राणीहरूका लागि, यसको महत्त्व र मूल्यलाई स्पष्ट पार्न मानवजातिको भाषा असमर्थ छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरूको बारेमा सबै कुरा परमेश्‍वरको लागि उहाँको हातको पछाडिको भाग जत्तिकै परिचित हुन्छ, चाहे यो तिनीहरू कहाँ बस्‍छन् भन्‍ने होस् वा तिनीहरू कहाँ जान्छन् भन्‍ने नै होस्, तिनीहरूले प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिलेको वा पछिको तिनीहरूको पृष्ठभूमि होस्, वा तिनीहरूको जिउने वातावरणमा कति ठूलो कायापलट आएको छ त्यो नै होस्। परमेश्‍वरका वचनहरू बोलिएपछि जति धेरै समय बिते पनि, उहाँको लागि, ती भर्खरै उच्‍चारण गरिएका जस्तै हुन्छन्। भन्‍नुको अर्थ परमेश्‍वरसँग शक्ति छ, र उहाँसँग उहाँले मानवजातिसँग गर्नुहुने हरेक प्रतिज्ञाको लेखाजोखा राख्‍ने, नियन्त्रण गर्ने, र पूरा गर्ने अख्‍तियार छ, र प्रतिज्ञा जेसुकै भए तापनि, यो पूर्ण रूपमा पूरा हुन जति समय लागे पनि, यसको साथै, यसको पूर्णताले जति वृहत् दायरालाई छोए तापनि—उदाहरणको लागि, समय, भूगोल, जाति, र यस्तै इत्यादि—यो प्रतिज्ञा हासिल गरिनेछ र पूरा गरिनेछ, यसको साथै, यसलाई हासिल गर्न र पूरा गर्नको लागि उहाँलाई अलिकति समेत प्रयासको आवश्यकता पर्नेछैन। यसले केलाई प्रमाणित गर्छ? परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्र सम्पूर्ण ब्रह्माण्ड, र सम्पूर्ण मानवजातिलाई नियन्त्रण गर्नको लागि पर्याप्त छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५३५. आज मानवजातिको विकासमा, मानवजातिको विज्ञानले प्रगति गरिरहेको छ भनेर भन्‍न सकिन्छ, र मानिसको वैज्ञानिक अन्वेषणका उपलब्धिहरू उल्‍लेखनीय छन् भनेर व्याख्या गर्न सकिन्छ। मानिसको क्षमता झन्-झन् ठूलो हुँदै वृद्धि भइरहेको छ भनेर भन्‍नुपर्छ, तर मानिसले हासिल गर्न नसकेको एउटा वैज्ञानिक सफलता छ: मानवजातिले हवाई जहाज, विमान वाहक, र परमाणु बम बनाएको छ, मानवजाति अन्तरिक्षमा गएर चन्द्रमामा हिँडेको छ, इन्टरनेटको आविष्कार गरेको छ, र उच्‍च प्रविधिको जीवनशैली जिउन पुगेको छ, तैपनि मानवजातिले जीवित, सास फेर्ने थोक बनाउन सक्दैन। हरेक जीवित प्राणीका प्राकृतिक गुण र तिनीहरू जिउने नियम, र हरेक जीवित थोकको जीवन र मृत्युको चक्र—यी सबै नै मानवजातिको विज्ञानको शक्तिभन्दा बाहिर छन्, र तिनलाई यसले नियन्त्रण गर्न सक्दैन। यस विन्दुमा, मानिसको विज्ञानले हासिल गरेका उचाइहरू जति नै माथि भए पनि, सृष्टिकर्ताका कुनै पनि विचारहरूसँग यो अतुलनीय छ, र सृष्टिकर्ताले गर्नुभएको सृष्टिको आश्‍चर्यता र उहाँको अख्तियारको सामर्थ्यलाई यसले पत्ता लगाउन सक्दैन। पृथ्वीमा धेरै समुद्रहरू छन्, तैपनि तिनीहरू आफ्‍ना सीमितताहरूलाई नाघेर कहिल्यै पनि स्वेच्छाले भूमिमा आएका छैनन्, किनभने तिनीहरू प्रत्येकको लागि परमेश्‍वरले नै सीमाहरू तोक्‍नुहुन्छ; उहाँले तिनीहरूलाई जहाँ रहने आज्ञा दिनुभयो तिनीहरू त्यहीँ बसे, र परमेश्‍वरको अनुमतिविना तिनीहरू स्वतन्त्रतापूर्वक हलचल गर्न सक्दैनन्। परमेश्‍वरको अनुमतिविना, तिनीहरूले एक-अर्कालाई अतिक्रमण गर्न सक्दैनन्, र परमेश्‍वरले भन्‍नुहुन्छ भने मात्रै तिनीहरू हलचल गर्न सक्छन्, र तिनीहरू कहाँ जान्छन् र बस्छन् सो कुरा परमेश्‍वरको अख्‍तियारले नै निर्धारित गर्छ।

यसलाई सरल रूपमा भन्दा, “परमेश्‍वरको अख्‍तियार” को अर्थ यो कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने हुन्छ। कुनै कुरा गर्ने निर्णय गर्ने अधिकार परमेश्‍वरसँग छ, र उहाँले जसरी चाहनुहुन्छ यो त्यही अनुरूप गरिन्छ। सबै थोकको नियम परमेश्‍वरकै हातमा छ, मानिसको हातमा होइन; न त यसलाई मानिसले परिवर्तन नै गर्न सक्छ। यसलाई मानिसको इच्‍छाले बदल्न सकिँदैन, बरु यो परमेश्‍वरका विचारहरू, परमेश्‍वरको बुद्धि, र परमेश्‍वरका पूर्वनिर्धारणद्वारा परिवर्तन हुन्छ; यो कुनै पनि मानिसले इन्कार गर्न नसक्‍ने तथ्य हो। स्वर्ग र पृथ्वी अनि यावत् थोक, ब्रह्माण्ड, ताराले भरिएको आकाश, वर्षका चार ऋतु, मानिसले देख्‍न सक्‍ने र देख्‍न नसक्‍ने कुरा—परमेश्‍वरको अख्‍तियारको अधीनमा, परमेश्‍वरका पूर्वनिर्धारणहरूअनुसार, परमेश्‍वरका आज्ञाहरू अनुसार, र सृष्टिको सुरुवातका नियमहरू अनुसार नै ती सबै अस्तित्वमा रहन्छन्, काम गर्छन्, र कुनै पनि गल्ती विना नै परिवर्तन हुन्छन्। कुनै एक व्यक्ति वा वस्तुले तिनीहरूको नियम परिवर्तन गर्न, वा तिनले काम गर्ने अन्तर्निहित तरिकालाई परिवर्तन गर्न सक्दैन; ती परमेश्‍वरको अख्‍तियारको कारणले नै अस्तित्वमा आए, र परमेश्‍वरको अख्‍तियारकै कारणले ती नाश हुन्छन्। परमेश्‍वरको अख्‍तियार यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५३६. अख्‍तियार स्वयम्‌लाई परमेश्‍वरको शक्तिको रूपमा व्याख्या गर्न सकिन्छ। पहिलो, अख्‍तियार र शक्ति दुवै सकारात्मक छन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ। कुनै पनि नकारात्मक कुरासँग तिनको कुनै सम्‍बन्ध छैन, र सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीसँग ती सम्‍बन्धित छैनन्। परमेश्‍वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्‍वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्‍वरको अख्‍तियारले हरेक जीवित प्राणीलाई परमेश्‍वरको हरेक वचन पालना गर्ने तुल्याउन सक्छ, अर्थात् परमेश्‍वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्‍वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्‍वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्‍नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्‍तियार” शब्‍द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्‍बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्‍तियार” भन्‍ने शब्दसँग सम्‍बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्थ-अनुवाद यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५३७. “म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।” यी सृष्टिकर्ताले मानवजातिसँग बोल्‍नुभएका मूल वचनहरू हुन्। उहाँले यी वचनहरू भन्‍नुभएपछि, मानिसको अघि एउटा इन्द्रेनी देखा पर्‍यो, र आजको दिनसम्‍म नै यो यस्तै रहिआएको छ। सबैले त्यस्तो इन्द्रेनी देखेको हुन्छ, र जब तँ यसलाई देख्छस्, यो कसरी देखा पर्छ के तँलाई थाहा छ? यसलाई प्रमाणित गर्न, वा यसको स्रोत पत्ता लगाउन, वा यो कहाँबाट आउँछ भन्‍ने पहिचान गर्न विज्ञानले सकेको छैन। किनभने इन्द्रेनी सृष्टिकर्ता र मानिसको बीचमा स्थापित गरिएको करारको चिन्‍ह हो; यसको लागि कुनै वैज्ञानिक आधार चाहिँदैन, यो मानिसले बनाएको होइन, न त मानिसले यसलाई परिवर्तन गर्न नै सक्छ। उहाँले आफ्‍ना वचनहरू बोल्‍नुभएपछिको यो सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता हो। सृष्टिकर्ताले मानिससँगको आफ्‍नो करार र आफ्‍नो प्रतिज्ञालाई पालन गर्न आफ्‍नै निश्‍चित विधिको प्रयोग गर्नुभयो, त्यसकारण उहाँले स्थापना गर्नुभएको करारको चिन्‍हको रूपमा उहाँले इन्द्रेनीको प्रयोग गर्नुभएको कुरा स्वर्गीय अध्यादेश र नियम नै थियो जुन सदासर्वदा नै अपरिवर्तित रहनेछ, चाहे त्यो सृष्टिकर्ताको हकमा होस् वा सृष्टि गरिएको मानवजातिको हकमा। यो अपरिवर्तनीय नियम उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछिको सृष्टिकर्ताको अख्‍तियारको अर्को साँचो प्रकटीकरण हो भनेर भन्‍नुपर्छ, र सृष्टिकर्ताको अख्‍तियार र शक्ति असीमित छ भनेर भन्‍नैपर्छ; उहाँले इन्द्रेनीलाई चिन्‍हको रूपमा गर्नुभएको प्रयोग सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता र विस्तार हो। यो परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गरेर गर्नुभएको अर्को काम थियो, र वचन प्रयोग गरेर परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारको चिन्‍ह थियो। उहाँले जे ल्याउने अठोट गर्नुभएको थियो, र यो जसरी पूरा गरिने र हासिल गरिनेथियो त्यसको बारेमा उहाँले मानिसलाई बताउनुभयो। यसरी उक्त कुरा परमेश्‍वरको मुखको वचन अनुसार पूरा भयो। त्यस्तो शक्ति परमेश्‍वरसँग मात्रै छ, र उहाँले यी वचनहरू बोल्‍नुभएपछिको हजारौँ वर्षपछि आज समेत, परमेश्‍वरको मुखले बोलेर आएको इन्द्रेनीलाई मानिसले हेर्न सक्छ। परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूका कारण, यो कुरा आजको दिनसम्‍मै तलमाथि नभई अपरिवर्तित रहेको छ। कसैले पनि यो इन्द्रेनीलाई हटाउन सक्दैन, कसैले पनि यसको नियम परिवर्तन गर्न सक्दैन, र यो केवल परमेश्‍वरको वचनको लागि मात्रै अस्तित्वमा रहन्छ। परमेश्‍वरको अख्‍तियार वास्तवमा यही नै हो। “परमेश्‍वर जे भन्नुहुन्छ उहाँको तात्पर्य त्यही हुन्छ, उहाँ जे भन्‍नुहुन्छ त्यो पूरा हुनेछ, र उहाँ जे गर्नुहुन्छ त्यो सदासर्वदा रहिरहनेछ।” यस्ता वचनहरू यहाँ स्पष्ट रूपमा प्रकट हुन्छन्, र यो परमेश्‍वरको अख्‍तियार र शक्तिको स्पष्ट चिन्‍ह र विशेषता हो। त्यस्तो चिन्‍ह वा विशेषता सृष्टि गरिएको कुनै पनि प्राणीसँग छैन वा तिनमा देखिँदैन, न त सृष्टि नगरिएको कुनै प्राणीमा नै यो देखिन्छ। यो अद्वितीय परमेश्‍वरको स्वामित्वमा मात्रै छ, र यसले सृष्टिकर्तामा निहित पहिचान र सारलाई सृष्टि गरिएका प्राणीहरूको पहिचान र सारबाट अलग गर्छ। यसको साथै, यो त्यस्तो चिन्‍ह र विशेषता हो जसलाई परमेश्‍वर स्वयम्‌ बाहेक सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले कहिल्यै नाघ्‍न सक्दैन।

मानिससँग परमेश्‍वरले आफ्‍नो करार स्थापना गर्नुभएको कार्य निकै महत्त्वपूर्ण थियो, जसलाई मानिससँग आफ्‍नो तथ्य व्यक्त गर्न र उहाँको अभिप्राय मानिसलाई बताउनको लागि प्रयोग गर्ने अभिप्राय उहाँको थियो। यसको लागि उहाँले मानिससँग करार स्थापना गर्नको लागि विशेष चिन्‍हको प्रयोग गर्दै अद्वितीय विधिको प्रयोग गर्नुभयो, जुन चिन्‍ह उहाँले मानिससँग स्थापित गर्नुभएको करारको प्रतिज्ञा थियो। त्यसोभए, के यो करारको स्थापना महान् घटना थियो? यो कति महान् थियो? करार यति विशेष हुनुको कारण ठ्याक्‍कै यही नै हो: यो मानिस-मानिसले एक-अर्काको बीचमा स्थापना गरेको करार थिएन, न त एउटा समूहले अर्को समूहसँग, वा एउटा देशले अर्को देशसँग स्थापना गरेको करार नै थियो, तर यो सृष्टिकर्ता र सम्पूर्ण मानवजातिको बीचमा स्थापना गरिएको करार थियो, र सृष्टिकर्ताले सबै थोक रद्द गर्नुहुने दिनसम्‍म यो मान्य रहनेछ। यो करार लागू गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र यसलाई कायम राख्‍ने पनि सृष्टिकर्ता नै हुनुहुन्छ। छोटकरीमा भन्दा, मानवजातिसँग स्थापना गरिएको इन्द्रेनीको करारको सम्पूर्णता सृष्टिकर्ता र मानवजातिको बीचमा भएको कुराकानी अनुसार पूरा भयो र हासिल गरियो, र यो आजको दिनसम्‍मै त्यही अवस्थामा रहिआएको छ। सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको अख्‍तियारमा समर्पित हुने, त्यसको पालना गर्ने, त्यसमा विश्‍वास गर्ने, त्यसको कदर गर्ने, त्यसको साक्षी दिने, र त्यसलाई सम्‍मान गर्ने बाहेक के गर्न सक्छन्? किनभने त्यस्तो करार स्थापना गर्ने शक्ति अद्वितीय परमेश्‍वरमा बाहेक कसैसँग छैन। बारम्‍बार इन्द्रेनी देखा पर्नु भनेको सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करारको बारेमा मानवजातिलाई गरिने घोषणा हो र त्यसप्रति ध्यानाकर्षण गर्न उसलाई गरिने बोलावट हो। सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करार निरन्तर देखा पर्ने क्रममा, मानवजातिलाई इन्द्रेनी वा करार स्वयम्‌लाई होइन, तर सृष्टिकर्ताको अपरिवर्तनीय अख्‍तियारलाई देखाइन्छ। बारम्‍बार इन्द्रेनी देखा पर्नुले गुप्त ठाउँहरूमा सृष्टिकर्ताले गर्नुहुने अथाह र आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गर्छ, यसको साथै, यो कहिल्यै ओइलिएर नजाने, कहिल्यै परिवर्तन नहुने सृष्टिकर्ताको अख्‍तियारको महत्त्वपूर्ण प्रतिबिम्ब हो। के यो सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्को पक्षको प्रदर्शन होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५३८. उत्पत्ति १८:१८ मा “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्” भन्‍ने पढिसकेपछि, के तिमीहरू परमेश्‍वरको अख्‍तियारलाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको असाधारणतालाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको सर्वोच्‍चतालाई अनुभूति गर्न सक्छौ? परमेश्‍वरका वचनहरू निश्‍चित छन्। आफ्‍नो सफलताको सुनिश्‍चितताको कारण, वा त्यसको प्रतिनिधित्व स्वरूप परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुहुन्‍न; बरु, ती परमेश्‍वरका वाणीहरूको अख्तियारको सबुत हुन्, र परमेश्‍वरको वचनहरूलाई पूरा गर्ने आज्ञा हुन्। तिमीहरूले यहाँ ध्यान दिनुपर्ने दुई वटा अभिव्यक्ति छन्। परमेश्‍वरले “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्,” भनी भन्‍ने क्रममा, के यी वचनहरूमा कुनै अस्पष्टताको तत्व छ? के कुनै चिन्ताको तत्व छ? के कुनै डरको तत्व छ? परमेश्‍वरका वाणीहरूका “अवश्य नै हुनेछ” र “हुनेछ” भन्‍ने शब्‍दहरूको कारणले, मानिसमा निश्‍चित रूपमा हुने र उसमा प्रायजसो देखिने यी तत्वहरूले सृष्टिकर्तासँग कहिल्यै कुनै सम्‍बन्ध राखेका छैनन्। अरूलाई शुभकामना दिँदा कसैले पनि त्यस्ता वचनहरूको प्रयोग गर्ने आँट गर्दैनन्, कसैले पनि अरूलाई ठूलो र शक्तिशाली जाति दिने भनी आशिष्‌ दिन, वा पृथ्वीका सबै जातिले तिनमा आशिष्‌ पाउनेछन् भनेर प्रतिज्ञा गर्न कसैले पनि आँट गर्दैनन्। परमेश्‍वरका वचनहरू जति निश्‍चित छन्, तिनले कुनै कुरालाई त्यति नै प्रमाणित गर्छन्—र त्यो कुनै कुरा के हो? तिनले परमेश्‍वरसँग त्यस्तो अख्‍तियार छ, उहाँको अख्‍तियारले यी कुराहरू पूरा गर्न सक्छ, र ती पूरा हुनु अपरिहार्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छन्। उहाँले अब्राहामलाई जे आशिष्‌ दिनुभएको थियो त्यसको बारेमा परमेश्‍वर आफ्‍नो हृदयमा सुनिश्‍चित हुनुहुन्थ्यो, उहाँमा अलिकति पनि हिचकिचाहट थिएन। यसको साथै, यसको पूर्णता उहाँका वचनहरू अनुसार नै हासिल हुनेथिए, र यसको पूर्णतालाई कुनै पनि शक्तिले परिवर्तन गर्न, रोक्‍न, हानी गर्न, वा बाधा दिन सक्‍नेथिएन। अरू जेसुकै भए तापनि, परमेश्‍वरका वचनहरू पूर्ण हुनु र पूरा हुनुलाई कुनै कुराले पनि रोक्‍न वा बाधा दिन सकेन। यो सृष्टिकर्ताको मुखबाट बोलिएका वचनहरूको शक्ति, र मानिसको इन्कारमा नरोकिने सृष्टिकर्ताको अख्तियार हो! यी वचनहरूलाई पढिसकेपछि, के तँलाई अझै शङ्‍का लाग्छ? यी वचनहरू परमेश्‍वरको मुखबाट बोलिएका थिए, र परमेश्‍वरका वचनहरूमा शक्ति, प्रताप, र अख्तियार छ। त्यस्तो शक्ति र अख्तियार, र तथ्यहरू पूरा हुने अपरिहार्यतालाई सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले प्राप्त गर्न सक्दैन, र सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई नाघ्‍न सक्दैन। सृष्टिकर्ताले मात्रै मानवजातिसँग त्यस्तो शैली र स्वरमा कुराकानी गर्न सक्‍नुहुन्छ, र उहाँका प्रतिज्ञाहरू खोक्रा शब्‍दहरू, वा फोकट घमण्ड होइनन्, तर कुनै पनि व्यक्ति, घटना, वा थोकले नाघ्‍न नसक्‍ने अद्वितीय अख्तियारको अभिव्यक्ति हुन् भन्‍ने कुरालाई यी तथ्यहरूले प्रमाणित गरेको छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५३९. जब परमेश्‍वरले “तेरा सन्तानलाई वृद्धि गर्नेछु,” भनी भन्‍नुभयो, यो परमेश्‍वरले अब्राहामसँग स्थापित गर्नुभएको करार थियो, र इन्द्रेनीको करारजस्तै, यो अनन्तसम्‍मको लागि हासिल गरिनेथियो, र यो परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पनि थियो। यो प्रतिज्ञालाई पूरा गर्न परमेश्‍वर मात्र योग्य र सक्षम हुनुहुन्छ। मानिसले यसलाई विश्‍वास गरे पनि वा नगरे पनि, मानिसले यसलाई स्वीकार गरे पनि वा नगरे पनि, र मानिसले यसलाई जसरी हेरे पनि र जसरी लिए पनि, यो सबै शब्‍द-शब्‍द गरी परमेश्‍वरले बोल्‍नुभएको वचन अनुसार नै पूरा हुनेछ। मानिसको इच्‍छा वा धारणाहरूमा आएको परिवर्तनको कारणले परमेश्‍वरको वचन परिवर्तन हुनेछैन, र कुनै व्यक्ति, घटना, वा कुरामा आएको परिवर्तनको कारणले यो परिवर्तन हुनेछैन। सबै थोक हराएर जान सक्छ, तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहनेछ। वास्तवमा, सबै थोक हराएर जाने दिन नै परमेश्‍वरका वचनहरू पूर्ण रूपमा पूरा हुने दिन हो, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा सृष्टिकर्ताको अख्‍तियार छ, सृष्टिकर्ताको शक्ति छ, र उहाँले नै सबै थोक र सबै जीवनशक्तिलाई नियन्त्रण गर्नुहुन्छ; उहाँले शून्यताबाट कुनै थोक अस्तित्वमा ल्याउन, वा कुनै थोकलाई शून्यतामा हराउन सक्‍नुहुन्छ, र उहाँले सबै थोकको जीवितबाट मृतकमा हुने रूपान्तरणलाई नियन्त्रण गर्नुहुन्छ; परमेश्‍वरको लागि, कसैको बीउलाई वृद्धि गराउने जत्तिको सरल केही पनि हुन सक्दैन। यो मानिसको लागि परी-कथाजस्तै शानदार सुनिन सक्छ, तर परमेश्‍वरको लागि, उहाँले जुन कुरा गर्ने निर्णय र प्रतिज्ञा गर्नुहुन्छ त्यो काल्‍पनिक होइन, न त परी-कथा नै हो। बरु, यो त परमेश्‍वरले पहिले नै देखिसक्‍नुभएको तथ्य हो, र जसलाई अवश्य नै हासिल गर्न सकिन्छ। के तिमीहरू यसलाई बुझ्छौ? के अब्राहामका सन्तान अनगिन्ती थिए भनेर तथ्यहरूले प्रमाणित गर्छ? तिनीहरू कति धेरै अनगिन्ती थिए? के तिनीहरू परमेश्‍वरले बोल्‍नुभएका “आकाशका ताराहरू, र समुद्र किनारको बालुवा” जत्तिकै अनगिन्ती थिए? के तिनीहरू संसारका सबै राष्ट्रहरू र क्षेत्रहरूमा, हरेक ठाउँमा फैलिए? केद्वारा यो तथ्य हासिल गरियो? के यो परमेश्‍वरका वचनहरूको अख्‍तियारद्वारा हासिल गरिएको थियो? परमेश्‍वरका वचनहरू बोलिएको सयौँ वा हजारौँ वर्षसम्‍म, परमेश्‍वरका वचनहरू निरन्तर रूपमा पूरा भए, र ती अटुट रूपमा तथ्यमा परिवर्तन भइरहे; परमेश्‍वरका वचनहरूको सामर्थ्य, र परमेश्‍वरको अख्‍तियारको प्रमाण यही हो। जब सुरुमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्” अनि उज्यालो भयो। यो शीघ्र रूपमा भयो, यो छोटो समयमा पूरा भयो, र यसको उपलब्धि र पूर्णतामा कुनै ढिलाइ भएन; परमेश्‍वरका वचनहरूका प्रभावहरू तत्‍कालीन थिए। ती दुवै नै परमेश्‍वरको अख्तियारको प्रदर्शन थिए, तर जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, उहाँले मानिसलाई परमेश्‍वरको अख्तियारको सारको अर्को पक्ष, साथै सृष्टिकर्ताको अख्‍तियार गन्तीभन्दा बाहिरको कुरा हो भन्‍ने देखाउनुभयो, यसको साथै उहाँले मानिसलाई सृष्टिकर्ताको अख्‍तियारको अझै व्यावहारिक, अझै उत्कृष्ट पक्ष देखाउनुभयो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५४०. परमेश्‍वरले अब्राहाम र अय्यूबलाई आशिष्‌ दिनुभएपछि, परमेश्‍वर जहाँ हुनुहुन्थ्यो त्यहीँ बस्‍नुभएन, न त के परिणाम आउनेछ भनेर प्रतीक्षा गर्दै उहाँले आफ्‍ना दूतहरूलाई नै काम गर्न पठाउनुभयो। यसको विपरीत, परमेश्‍वरले आफ्‍ना वचनहरू उच्‍चारण गरिसक्‍ने बित्तिकै, परमेश्‍वरको अख्तियारको निर्देशनमा, परमेश्‍वरले गर्ने अभिप्राय राख्‍नुभएका कामलाई सबै थोकले अनुपालन गर्न थाले, र परमेश्‍वरलाई आवश्यक परेका मानिसहरू, थोकहरू, र वस्तुहरू तयार भए। भन्‍नुको अर्थ, परमेश्‍वरको मुखबाट वचनहरू उच्‍चारण गर्ने बित्तिकै, परमेश्‍वरको अख्तियारले सारा भूमिभरि काम गर्न थाल्यो, र उहाँले अब्राहाम र अय्यूबसँग गर्नुभएका प्रतिज्ञाहरूलाई हासिल गर्न र पूरा गर्न मार्ग तय गर्नुभयो, यसको साथै उहाँले अघि बढाउने योजना गर्नुभएका हरेक कदम र हरेक मुख्य चरणको लागि सम्पूर्ण उचित योजना र तयारीहरू गर्नुभयो। यो समय अवधिमा, उहाँले आफ्‍ना दूतहरूलाई मात्रै होइन, तर उहाँले सृष्टि गर्नुभएका सबै थोकलाई चलाउनुभयो। भन्‍नुको अर्थ परमेश्‍वरको अख्तियार प्रयोग गरिएको क्षेत्रमा दूतहरू मात्रै होइनन्, तर सृष्टिका सबै थोक समावेश थिए, जसलाई उहाँले पूरा गर्ने अभिप्राय राख्‍नुभएको कामको अनुपालन गर्नको लागि चलाउनुभयो; परमेश्‍वरको अख्तियार प्रयोग गरिएको निश्‍चित तरिकाहरू यिनै थिए। तिमीहरूका कल्‍पनाहरूमा, कति जनासँग परमेश्‍वरको अख्तियारको बारेमा निम्‍न बुझाइ हुन सक्छ: परमेश्‍वरसँग अख्तियार छ, र परमेश्‍वरसँग शक्ति छ, त्यसकारण परमेश्‍वर तेस्रो स्वर्गमा, वा निश्‍चित स्थानमा मात्रै रहनु आवश्यक हुन्छ, र कुनै पनि खास कार्य गर्नु आवश्यक हुँदैन, र परमेश्‍वरको कार्यको पूर्णता उहाँका विचारहरूमा नै पूर्ण हुन्छन्। कतिले के पनि विश्‍वास गर्न सक्छन्, परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभएको भए तापनि, परमेश्‍वरले केही पनि गर्नु परेन, र उहाँले आफ्‍ना वचनहरू बोल्‍नु नै पर्याप्त थियो। के वास्तवमा यही भएको हो त? अवश्य नै होइन! परमेश्‍वरसँग अख्‍तियार र शक्ति भए तापनि, उहाँको अख्‍तियार साँचो र वास्तविक हो, रित्तो होइन। परमेश्‍वरको अख्तियार र शक्तिको विशुद्धता र वास्तविकता उहाँले गर्नुभएको सबै थोकको सृष्टिमा, सबै थोकमाथिको उहाँको नियन्त्रणमा, र उहाँले मानवजातिलाई अगुवाइ गर्ने र व्यवस्थापन गर्ने प्रक्रियामा क्रमिक रूपमा प्रकट र मूर्तरूप गरिन्छ। मानवजाति र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको हरेक विधि, हरेक दृष्टिकोण, र हरेक विवरण, र उहाँले पूरा गर्नुभएको सबै काम, साथै सबै थोकबारे उहाँको बुझाइ—ती सबैले परमेश्‍वरको अख्‍तियार र शक्ति खोक्रा शब्‍दहरू होइनन् भन्‍ने कुरालाई ठेड रूपमा प्रमाणित गर्छ। उहाँको अख्‍तियार र शक्तिलाई सबै कुरामा अटुट रूपमा देखाइन्छ र प्रकट गरिन्छ। यी प्रकटीकरण र प्रकाशले परमेश्‍वरको अख्तियारको यथार्थ अस्तित्वबारे बताउँछन्, किनभने उहाँले आफ्‍नो कार्यलाई जारी राख्‍न र सबै थोकमाथि हुकुम चलाउन, र हरेक क्षणमा सबै थोकलाई शासन गर्नको लागि उहाँले आफ्‍नो अख्‍तियार र शक्तिको प्रयोग गरिरहनुभएको छ; उहाँको शक्ति र अख्तियारलाई न त स्वर्गदूतहरूले न त परमेश्‍वरका कुनै दूतहरूले नै प्रतिस्थापन गर्न सक्छन्। अब्राहाम र अय्यूबलाई के-कस्ता आशिषहरू दिने हो त्यसको निर्णय परमेश्‍वरले नै गर्नुभयो—यो परमेश्‍वरले नै गर्नुपर्ने निर्णय थियो। परमेश्‍वरका दूतहरूले अब्राहाम र अय्यूबलाई व्यक्तिगत रूपमा नै भेटेका भए तापनि, तिनीहरूका कार्य परमेश्‍वरका आज्ञाहरूमा आधारित थिए, र तिनीहरूका कार्यहरू परमेश्‍वरको अख्‍तियारको अधीनमा गरिएका थिए, त्यसरी नै, दूतहरू परमेश्‍वरको सार्वभौमिकताको अधीनमा थिए। परमेश्‍वरका दूतहरूले अब्राहामलाई भेट्छन् भन्‍ने मानिसले देखे तापनि, बाइबलका विवरणहरूमा यहोवा परमेश्‍वरले आफै केही गर्नुहुन्छ भन्‍ने नदेख्‍ने भए तापनि, वास्तवमा, शक्ति र अख्तियारको प्रयोग गर्ने एक मात्र व्यक्ति परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, र यसले कुनै पनि मानिसमा शङ्का पैदा गर्दैन! तैँले स्वर्गदूतहरू र दूतहरूसँग महान् शक्ति भएको र तिनीहरूले आश्‍चर्यकर्महरू गरेको, वा तिनीहरूले परमेश्‍वरले आज्ञा गर्नुभएका केही कुराहरू गरेका देखेका भए तापनि, तिनीहरूका कार्यहरू परमेश्‍वरका आज्ञाहरू पालन गर्नको खातिर मात्रै हुन्, र ती कुनै पनि हालतमा परमेश्‍वरको अख्‍तियारको प्रदर्शन होइनन्—किनभने कुनै मानिस वा वस्तुमा सबै थोक सृष्टि गर्ने र सबै थोकलाई शासन गर्ने सृष्टिकर्ताको अख्तियार वा स्वामित्व छैन। त्यसकारण, कुनै पनि मानिस वा वस्तुले सृष्टिकर्ताको अख्‍तियारलाई प्रयोग गर्न वा प्रदर्शन गर्न सक्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५४१. के परमेश्‍वरले आफ्‍नो पहिचानलाई प्रमाणित गर्न केही गर्न सक्नुहुन्थ्यो? परमेश्‍वरको निम्ति, यो साह्रै सजिलो थियो—यो सजिलै हासिल गर्न सकिने कुरा थियो। आफ्नो पहिचान तथा सारलाई प्रमाणित गर्न उहाँले केही कुरा कुनै पनि ठाउँमा, कुनै पनि समयमा गर्न सक्नुहुन्थ्यो तर परमेश्‍वरको काम गर्ने आफ्नै तरिकाहरू थिए—योजनासहित, अनि चरणबद्ध रूपमा। उहाँले अन्धाधुन्ध कामहरू गर्नुभएन, बरु जुन कुरा उहाँले मानिसलाई देखाउनुहुन्थ्यो, अर्थले भरिएको हुन्थ्यो त्यस्तो कुनै कुरा गर्न उहाँले ठीक समय र ठीक अवसर खोज्नुहुन्थ्यो। यस प्रकारले, उहाँले आफ्नो अख्तियार तथा पहिचानलाई प्रमाणित गर्नुभयो। त्यसोभए, के लाजरसको पुनरुत्थानले प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न सक्यो त? धर्मशास्त्रको निम्न अध्यायलाई हेरौँ: “अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा ‘लाजरस, बाहिर आऊ’ भनी भन्‍नुभयो। तब मरेको मानिस तिनी बाहिर आए…।” जब प्रभु येशू ख्रीष्टले यसो गर्नुभयो, तब उहाँले केवल एउटा कुरा गर्नुभयो: “लाजरस, बाहिर आऊ।” तब लाजरस उसको चिहानबाट बाहिर आए—प्रभुले उच्चारण गर्नुभएका केवल केही वचनहरूको कारणले यो कार्य सम्पन्न भएको थियो। त्यस समयावधिमा, प्रभु येशूले वेदी खडा गर्नुभएन, अनि उहाँले कुनै अन्य कामहरू गर्नुभएन। उहाँले केवल एउटै कुरा गर्नुभयो। यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि आज्ञा? अथवा, के त्यो कुनै प्रकारको जादुगरी थियो? झट्ट हेर्दा, यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि भन्‍ने देखिन्छ, अनि यदि तैँले यसलाई आधुनिक दृष्टिकोणबाट हेर्छस् भने तैँले यसलाई आश्‍चर्यकर्म नै भन्न सक्छस्। तैपनि, यसलाई मृतकबाट प्राण फर्काउनको निम्ति बोलाइने एक प्रकारको जादु भनेर निश्चय नै भन्‍न सकिँदैन, र यो कुनै पनि प्रकारको जादूगरी अवश्य थिएन। यो आश्‍चर्यकर्म सृष्टिकर्ताको अख्तियारको सबैभन्दा सामान्य अनि सानो प्रदर्शन थियो भन्नु सही हुन्छ। यो परमेश्‍वरको अख्तियार र शक्ति हो। कुनै व्यक्तिलाई मर्न दिने, उसको आत्मालाई उसको शरीर छोडेर मृत लोक वा त्यो जहाँसुकै जानुपर्ने हो त्यहाँ जान दिने अधिकार परमेश्‍वरसित छ। व्यक्तिको मृत्यु हुने समय र मृत्युपछि तिनीहरू जानुपर्ने ठाउँ—यी कुराहरू परमेश्‍वरद्वारा निर्धारित हुन्छन्। उहाँले यी निर्णयहरू मानवहरू, घटनाहरू, वस्तुहरू, स्थान वा भूगोलको दबाबमा नपरी कुनै पनि समयमा र कुनै पनि ठाउँमा गर्न सक्नुहुन्छ। यदि उहाँले यो गर्न चाहनुहुन्छ भने उहाँले यो गर्न सक्नुहुन्छ, किनकि सबै कुराहरू र जीवित प्राणीहरू उहाँको शासनको अधीनमा छन् र सबै कुराहरू उहाँको वचन र उहाँको अधिकारद्वारा जन्‍मन्छन्, जिउँछन्, र नष्ट हुन्छन्। उहाँले मृतकलाई बौरी उठाउन सक्नुहुन्छ, अनि यो पनि उहाँले कुनै पनि समयमा, कुनै पनि स्थानमा गर्नसक्ने कुरा हो। यो केवल सृष्टिकर्तामा निहित रहेको अख्तियार हो।

प्रभु येशूले लाजरसलाई मृत्युबाट ब्युँताउने कार्य गर्नुभयो, र उहाँको लक्ष्य भनेको मानिसहरू तथा शैतानलाई देखाउन प्रमाण दिनु थियो, र मानिसहरू तथा शैतानलाई मानवजातिको बारेमा हरेक कुरा, मानवजातिको जीवन तथा मृत्यु परमेश्‍वरद्वारा निर्धारित हुन्छन्, अनि परमेश्‍वर देहधारी भइसक्‍नुभएको भए तापनि, देख्न सकिने भौतिक संसारको साथै मानिसहरूले देख्न नसक्ने आत्मिक क्षेत्रमाथि उहाँको हुकुम कायम छ भन्‍ने कुरा जान्‍न दिनु थियो। यो यसकारण गरिएको थियो ताकि मानवजातिको सबै कुरा शैतानको अधीनमा छैन भनी मानवजाति र शैतानले जान्न सकून्। यो परमेश्‍वरको अधिकारको प्रकाश तथा प्रदर्शन थियो, अनि यो मानवजातिको जीवन र मृत्यु परमेश्‍वरको हातमा छन् भनी सबै कुराहरूलाई सन्देश पठाउने परमेश्‍वरको एउटा तरिका पनि थियो। प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थान सृष्टिकर्ताले मानवजातिलाई शिक्षा र प्रशिक्षण दिने एउटा तरिका थियो। यो एउटा यस्तो ठोस कार्य थियो जसमा मानवजातिलाई शिक्षा दिन र प्रबन्ध गर्न उहाँले आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो। यी वचनहरू प्रयोग नगरी सबै कुराहरू उहाँको अधिकारमा छन् भन्‍ने सत्यता मानिसहरूलाई देखाउने सृष्टिकर्ताको तरिका थियो। यो उहाँद्वारा बाहेक अरू कसैमा मुक्ति छैन भनी मानवजातिलाई यी व्यवहारिक कार्यहरूद्वारा बताउने उहाँको एउटा तरिका थियो। मानवजातिलाई प्रशिक्षण दिन उहाँले प्रयोग गर्नुभएको यो शान्त विधि अनन्त, अमेट छ, जसले मानव हृदयहरूमा कहिल्यै ओइलाउन नसक्ने झट्का र अन्तर्दृष्टि ल्याउँछ। लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्यायो—परमेश्‍वरका हरेक अनुयायीहरूमाथि यसको गहिरो प्रभाव छ। यो घटना गहिरो प्रकारले बुझ्ने हरेक व्यक्तिमा केवल परमेश्‍वरले मात्र मानवजातिको जीवन र मृत्युमाथि हुकुम चलाउन सक्नुहुन्छ भन्‍ने बुझाइ र दर्शनलाई यसले दृढतासहित स्थापित गरिदिन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

५४२. तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्‍माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्‍वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्‍वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यो सब कुरामा विश्‍वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्‍वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्‍वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

५४३. व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने, उसको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने, उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। प्रत्येक व्यक्तिको जन्मका लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू तय गर्नुभएको हुँदा, पक्‍कै पनि उहाँले तिनीहरूको मृत्युका लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको पनि मृत्यु अचानक आउँदैन, अनि जन्‍म र मृत्यु दुवै व्यक्तिको अघिल्‍लो जीवन र वर्तमान जीवनसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्‍मका परिस्थितिहरू कस्ता हुन्छन् र उसको मृत्युका परिस्‍थितिहरू के हुन् भन्ने कुरा सृष्टिकर्ताले गर्नुहुने पूर्वनिर्धारणहरूसँग सम्बन्धित हुन्छन्; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्‍मसम्‍बन्धी विभिन्‍न व्याख्याहरू रहेका हुनाले, व्यक्तिको मृत्युका पनि विशेष परिस्थितिहरू अवश्य नै हुन्छन्। यसरी, मानवजातिका बीचमा फरक-फरक आयुहरू अनि तिनीहरूको मृत्युका गरक-फरक तरिका र समयहरू अस्तित्वमा आए। कतिपय मानिसहरू बलिया र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू बुढेसकालसम्म बाँच्‍छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अप्राकृतिक कारणले मर्छन्, अरूहरू प्राकृतिक रूपमा मर्छन्। कतिपय घरबाट टाढा हुँदा मर्छन्, अरूहरूले आफ्‍ना प्रियजन आफ्‍नै छेउ हुँदा आफ्‍ना आँखाहरू अन्तिम पटक चिम्‍लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुबेर मर्छन्, अरू विपत्तिमा परेर मर्छन्। कोही बिहान मर्छन्, कोही राती। … हरेक व्यक्तिले चहकिलो जन्‍म, शानदार जीवन, अनि गौरवशाली मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियतिलाई उछिन्न सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसहरूले आफ्‍नो भविष्यका लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छन्, तर कसैले पनि आफू जन्मने तरिका र संसारबाट बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन। सबै मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई प्रतिरोध गर्न सक्दो कोसिस गरे पनि, तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। आफ्नो मृत्यु कहिले वा कसरी हुने हो भन्ने कुरा कसैलाई थाहा हुँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा, जीवन र मृत्युमाथिको सर्वोच्च शक्ति मानिससँग छैन, न त प्राकृतिक संसारको कुनै प्राणीसँग नै छ, तर सृष्टिकर्तासँग छ, जोसँग अद्वितीय अख्तियार छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको नतिजा हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

५४४. परमेश्‍वरको अख्तियारअन्तर्गत हरेक व्यक्तिले उहाँको सार्वभौमिकता र बन्दोबस्तलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, र जीवन जिउने क्रममा व्यक्तिले जसरी संघर्ष गरे पनि, उसले जति धेरै कुटिल मार्गहरू हिँडे पनि, आखिरमा ऊ सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमापथमै फर्कनेछ। यो सृष्टिकर्ताको अख्‍तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवन नियन्त्रण गर्छन्, हस्तक्षेपविनै बारम्‍बार मानिसहरूलाई पुनर्जन्‍म लिन दिन्छन्, अनि दिनहुँ र वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुमाउँछन् र अघि बढाउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझेका छौ, र तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्‍बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यता वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्‍वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, र तैँले परमेश्‍वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तसम्‍बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ? के परमेश्‍वरमा यो अख्‍तियार छ भन्‍ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? परिस्‍थिति जस्तोसुकै भए पनि परमेश्‍वरको अख्तियार अस्तित्वमा रहन्छ। हर परिस्थितिमा, परमेश्‍वरले आफ्‍ना विचार र चाहनाहरूअनुसार मानव नियति र सबै कुराहरू नियन्त्रित र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुँदैन; यो मानिसको इच्‍छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्‍वरको अख्तियार नै उहाँको सार हो। मानिसले परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍न र स्वीकार गर्न सक्छ कि सक्दैन, र यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई रत्तीभर परिवर्तन गर्न सक्दैन। भन्‍नुको अर्थ, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्‍वरकै सार्वभौमिकता छ भन्‍ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि अझै पनि उहाँकै नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्‍न सकिनस् भने पनि, उहाँको अख्‍तियार अस्तित्वमै रहिरहन्छ। परमेश्‍वरको अख्तियार र मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्य मानव इच्‍छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरूअनुसार ती परिवर्तन हुँदैनन्। परमेश्‍वरको अख्तियार जुनसुकै ठाउँ, जुनसुकै घडी, र जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी नासिएर जालान्, तर उहाँको अख्‍तियार कहिल्यै नाश हुनेछैन, किनभने उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्‍तियार छ, र उहाँको अख्‍तियार मानिसहरू, घटनाहरू, वा वस्तुहरूद्वारा, स्थान वा भूगोलद्वारा नियन्त्रित वा सीमित छैन। हरसमय, परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, आफ्‍नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँझैँ आफ्‍नो व्यवस्थापन कार्यलाई जारी राख्‍नुहुन्छ; हरसमय, उहाँले सधैँझैँ यावत् थोकमाथि शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्य रहिआएको छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

५४५. परमेश्‍वरको अख्तियार सम्‍बन्धी सत्यताहरू हरेक व्यक्तिले गम्‍भीर रूपमा लिनुपर्ने, आफ्‍नो हृदयबाट अनुभव गर्नुपर्ने र बुझ्‍नुपर्ने सत्यताहरू हुन्; किनभने यी सत्यताहरूले हरेक व्यक्तिको जीवनमा प्रभाव पार्दछन्; हरेक व्यक्तिको विगत, वर्तमान, र भविष्यमा प्रभाव पार्दछन्; हरेक व्यक्तिले जीवनमा पार गर्नैपर्ने महत्त्वपूर्ण घडीहरूमा प्रभाव पार्दछन्; परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी मानिसको ज्ञान र परमेश्‍वरको अख्तियारलाई व्यक्तिले सामना गर्नुपर्ने मनोवृत्तिमा प्रभाव पार्दछन्; अनि, स्वाभाविक रूपमै, हरेक व्यक्तिको अन्तिम गन्तव्यलाई प्रभाव पार्दछन्। त्यसकारण, तिनलाई जान्‍न र बुझ्‍नको लागि जीवनभरको मोल आवश्यक पर्छ। जब तैँले परमेश्‍वरको अख्तियारलाई प्रत्यक्ष रूपमा हेर्छस्, जब तैँले उहाँको सार्वभौमिकतालाई स्वीकार गर्छस्, तब तैँले क्रमिक रूपमा परमेश्‍वरको अख्तियारको अस्तित्व सम्‍बन्धी सत्यतालाई महसुस गर्नेछस् र बुझ्‍नेछस्। तर यदि तैँले परमेश्‍वरको अख्तियारलाई कहिल्यै पहिचान गर्दैनस् र उहाँको सार्वभौमिकतालाई कहिल्यै स्वीकार गर्दैनस् भने, तँ जति वर्ष बाँचे पनि, तैँले परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान पनि प्राप्त गर्नेछैनस्। यदि तैँले परमेश्‍वरको अख्तियारलाई साँचो रूपमा जान्दैनस् र बुझ्दैनस् भने, तैँले दशकौंसम्‍म परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तँ बाटोको अन्त्यमा पुग्दा तँसँग आफ्‍नो जीवनको लागि देखाउने कुरा केही पनि हुँदैन, अनि स्वाभाविक रूपमै तँसँग मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताको अलिकति ज्ञान समेत हुनेछैन। के यो अत्यन्तै दुःखलाग्दो कुरा होइन र? त्यसैले तँ जीवनमा चाहे जति नै टाढासम्म हिँडिसकेको भए पनि, तँ अहिले जति नै उमेरको भए पनि, तेरो बाँकी यात्रा जति नै लामो भए पनि, तैँले सर्वप्रथम परमेश्‍वरको अख्तियारलाई अनुमोदन गर्नैपर्छ र त्यसलाई गम्‍भीर रूपमा लिनैपर्छ, अनि परमेश्‍वर तेरो अद्वितीय सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गर्नैपर्छ। मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता सम्‍बन्धी यी सत्यताहरूको स्पष्ट एवम् सही ज्ञान र बुझाइ प्राप्त गर्नु सबैका लागि अनिवार्य पाठ हुन्; यो पाठ मानव जीवनलाई जान्‍ने र सत्यतालाई प्राप्त गर्ने चाबी हो। यो परमेश्‍वरलाई चिन्‍ने जीवन, उहाँलाई चिन्ने अध्ययनको आधारभूत पाठ पनि हो, जसलाई सबैले प्रत्येक दिन सामना गर्नुपर्छ अनि जसबाट कोही पनि उम्‍कन सक्दैन। यदि यो लक्ष्यमा पुग्‍नको लागि कसैले छोटो बाटो लिने इच्छा गर्छ भने, म तँलाई अहिले नै भन्छु, त्यो असम्‍भव हुन्छ! यदि तँ परमेश्‍वरको सार्वभौमिकताबाट उम्‍कन चाहन्छस् भने, त्यसको सम्‍भावना त झनै कम हुन्छ! परमेश्‍वर मानिसको एक मात्र प्रभु हुनुहुन्छ, परमेश्‍वर नै मानव नियतिको एक मात्र सार्वभौम हुनुहुन्छ, त्यसकारण मानिसले आफ्‍नो नियतिमाथि सार्वभौमिकता राख्‍न असम्‍भव छ, उसले नियतिबाहिर पाइला टेक्न असम्‍भव हुन्छ। व्यक्तिका क्षमताहरू जति नै ठूला भए पनि, उसले अरूको नियतिलाई प्रभाव पार्न सक्दैन, त्यसलाई योजनाबद्ध गर्ने, प्रबन्ध गर्ने, नियन्त्रण गर्ने, वा परिवर्तन गर्ने कुरा त परै जाओस्। अद्वितीय परमेश्‍वर स्वयम् मात्रै मानिसका यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ। मानव नियतिमाथि सार्वभौमिकता राख्‍ने अद्वितीय अख्तियार अद्वितीय परमेश्‍वर स्वयम्सँग मात्रै भएकाले, सृष्टिकर्ता मात्रै मानिसको अद्वितीय सार्वभौम हुनुहुन्छ। सृष्टि गरिएका मानवजातिमाथि मात्रै होइन, कुनै पनि मानिसले देख्‍न नसक्‍ने सृष्टि नगरिएका प्राणीहरू, तारामण्डल, आकाशमण्डलमाथि समेत परमेश्‍वरको अख्तियारको सार्वभौमिकता छ। यो निर्विवाद तथ्य हो, साँचो रूपमा अस्तित्वमा रहेको तथ्य हो, जसलाई कुनै पनि व्यक्ति वा वस्तुले परिवर्तन गर्न सक्दैन। यदि तिमीहरूमध्ये कोही अझै पनि आफूसँग केही विशेष सीप वा क्षमता छ भन्‍ने विश्‍वास गर्दै, र सौभाग्यले आफ्नो वर्तमान परिस्‍थितिहरूलाई परिवर्तन गर्न वा ती परिस्थितिहरूबाट उम्‍कन सक्छु भन्‍ने ठान्दै, हाल अवस्था वा काम-कुराहरू जे-जस्तो रूपमा छन् त्यसप्रति असन्तुष्ट छौ भने, यदि तिमीहरूले आफ्‍नो नियतिलाई मानव प्रयासको माध्यमद्वारा परिवर्तन गरेर आफूलाई आफ्ना साथीसंगीहरूभन्दा राम्रो देखाउने र ख्याति र सम्पत्ति कमाउने प्रयास गर्छौ भने, म तँलाई भन्छु, तैँले आफ्‍नै लागि परिस्थिति कठिन तुल्याइरहेको छस्, तैँले दुःख पाउन मात्र खोजिरहेको छस्, तैँले आफ्‍नै चिहान खनिरहेको छस्! ढिलो-चाँडो, एक दिन तैँले आफूले गलत निर्णय गरेछु र आफ्ना प्रयासहरू व्यर्थ भएछन् भन्‍ने पत्ता लगाउनेछस्। नियति विरुद्ध संघर्ष गर्ने तेरो महत्वाकांक्षा, तेरो इच्‍छा, अनि तेरो आफ्‍नै खराब आचरणले तँलाई फर्की आउनै नसकिने ओरालो बाटोतर्फ डोर्‍याउनेछ, अनि यसको लागि तैँले तीतो मूल्य चुकाउनेछस्। हाल तैँले यी परिणामहरूको गम्‍भीरतालाई नदेख्‍ने भए तापनि, परमेश्‍वर नै मानव नियतिका सार्वभौम हुनुहुन्छ भन्‍ने सत्यतालाई अझै गहन रूपमा अनुभव गर्दै र बुझ्दै जाने क्रममा, तैँले बिस्तारै मैले आज बोलेको कुरा र यसको वास्तविक अर्थहरूलाई महसुस गर्दै जानेछस्। तँसँग साँचो रूपमा हृदय र आत्मा छ कि छैन अनि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरा परमेश्‍वरको सार्वभौमिकता र सत्यताप्रति तैँले कस्तो मनोवृत्ति राख्छस् भन्ने कुरामा भर पर्छ। यसले प्राकृतिक रूपमै तैँले परमेश्‍वरको अख्तियारलाई साँच्चै चिन्‍न र बुझ्‍न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा निर्धारित गर्छ। यदि तैँले आफ्नो जीवनकालमा कहिल्यै परमेश्वरको सार्वभौमिकता र उहाँका प्रबन्धहरू महसुस गरेको छैनस्, परमेश्वरको अख्तियार त झनै मानेको र स्विकारेको छैनस् भने, तब तँ पूर्णतः बेकामको हुनेछस्, र निःसन्देह परमेश्वरद्वारा तिरस्कृत हुनेछस्, यसको कारण तैँले लिएको मार्ग र तैँले गरेको छनौट हुनेछ। तर परमेश्‍वरको काममा उहाँको परीक्षा, उहाँको सार्वभौमिकता स्विकार्न सक्ने, उहाँको अख्तियारमा समर्पित हुन सक्‍ने, अनि बिस्तारै उहाँका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्न सक्नेहरूले परमेश्‍वरको अख्तियारको वास्तविक ज्ञान, उहाँको सार्वभौमिकताको वास्तविक अनुभव प्राप्त गरेका हुनेछन्; तिनीहरूले साँच्चै आफूलाई सृष्टिकर्तासामु समर्पण गरेका हुनेछन्। त्यस्ता मानिसहरू मात्रै साँच्चै मुक्ति दिइएका हुनेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

५४६. परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, र, त्यसमाथि, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका वास्तुकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई दिन-रात हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका हातद्वारा निर्मित बन्दोबस्तहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राष्ट्रको उदय र पतन परमेश्‍वरका बन्दोबस्तअन्तर्गत पर्छ भनी तैँले अवश्यै विश्‍वास गर्नेछस्। कुनै देश वा राष्ट्रको भवितव्य परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको मार्ग नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति चाहन्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नैपर्छ, र परमेश्‍वरसामु पश्चात्ताप र स्वीकार गर्न उहाँसामु आउनैपर्छ, अन्यथा मानवको नियति र गन्तव्य एउटा अपरिहार्य विपत्ति हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

५४७. मानवजाति र यावत कुराहरूका भाग्य सृष्टिकर्ताको सार्वभौमिकतासँग घनिष्ट रूपले गाँसिएका र सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूसँग अभिन्न रूपले जोडिएका हुन्छन्; अन्त्यमा, ती सृष्टिकर्ताको अख्तियारसँग अविभाज्य हुन्छन्। सबै कुराहरूका नियमहरूमा, मानिसले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकतालाई बुझ्‍न पुग्छ; यावत् थोकहरूको अस्तित्वका नियमहरूमा, उसले सृष्टिकर्ताको शासनलाई जान्‍न पुग्छ; यावत् थोकहरूका नियतिहरूमा, उसले सृष्टिकर्ताले कसरी तिनीहरूउपर आफ्‍नो सार्वभौमिकता र नियन्त्रण प्रयोग गर्नुहुन्छ सो निष्कर्ष निकाल्न पुग्छ; अनि मानवजाति र यावत् थोकका जीवन चक्रहरूमा मानिसले साँच्‍चै नै यी यावत् थोक र जीवित प्राणीहरूका निम्ति सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूको अनुभव गर्न पुग्छ, कसरी ती योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूले सारा सांसारिक कानुनहरू, नियमहरू, र संस्थाहरू, अन्य सारा शक्तिहरू र सामर्थ्यहरूलाई नाघ्छन् भन्‍ने कुरा देख्‍न पुग्छ। त्यसो हुनाले, सृष्टिकर्ताको सार्वभौमिकतालाई कुनै पनि सृष्टि गरिएको प्राणीले उल्‍लङ्घन गर्न सक्दैन, सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएका घटना र काम-कुराहरूलाई कुनै पनि शक्तिले बाधा दिन वा परिवर्तन गर्न सक्दैन भन्‍ने कुरा स्वीकार गर्न मानवजाति बाध्य छ। यिनै स्वर्गका व्यवस्था र नियमहरूमा नै मानवजाति अनि यावत् थोक जिउँछन् र एक पुस्तादेखि अर्को पुस्तासम्‍म पुनरुत्पादन गर्दै जान्छन्। के सृष्टिकर्ताको अख्तियारको साँचो मूर्त रूप यही होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

५४८. परमेश्‍वरसँग अख्‍तियार र शक्ति भए पनि, उहाँका कार्यहरूमा उहाँ अत्यन्तै कठोर र सिद्धान्तनिष्ठ हुनुहुन्छ, र आफ्‍नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको कठोरता, र उहाँका कार्यहरूका सिद्धान्तहरूले सृष्टिकर्ताको चिढ्याउन नसकिने गुण र सृष्टिकर्ताको अख्‍तियारको अजेयतालाई देखाउँछन्। उहाँसँग सर्वोच्‍च अख्‍तियार भए तापनि, र यावत् थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग यावत् थोकमाथि सार्वभौम हुने शक्ति भए तापनि, परमेश्‍वरले आफ्‍नै योजनालाई कहिल्यै हानि वा अस्तव्यस्त गर्नुभएको छैन, र उहाँले हरेक पटक आफ्‍नो अख्तियार कार्यान्वयन गर्नुहुँदा, यो कडा रूपमा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई ठ्याक्कै पछ्याउँछ, र उहाँको योजनाका कदम र उद्देश्यहरूलाई नै पछ्याउँछ। स्पष्ट छ, परमेश्‍वरको सार्वभौमिकता अन्तर्गतका यावत् थोकले पनि परमेश्‍वरको अख्तियार कार्यान्वयन गरिने सिद्धान्तहरूलाई नै पालन गर्छन्, र उहाँको अख्‍तियारका योजनाबद्ध कार्यहरूबाट कुनै पनि मानिस वा वस्तु उम्कन सक्दैन, न त तिनीहरूले उहाँको अख्तियार कार्यान्वयन हुने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। परमेश्‍वरका नजरमा, जो आशिषित छन् तिनीहरूले उहाँको अख्तियारका कारण आशिष्‌हरू प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्‍वरकै अख्‍तियारका कारण आफ्‍ना दण्ड प्राप्त गर्छन्। परमेश्‍वरको अख्तियारको सार्वभौमिकताअन्तर्गत, उहाँको अख्‍तियारको कार्यान्वयनबाट कुनै पनि मानिस वा कामकुरा उम्कन सक्दैन, न त तिनीहरूले उहाँको अख्‍तियार कार्यान्वयन गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्‍तियारलाई कुनै पनि तत्त्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियार कार्यान्वयन गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वीले ठूला-ठूला परिवर्तनहरू भोग्लान्, तर सृष्टिकर्ताको अख्‍तियार परिवर्तन हुनेछैन; यावत् थोक बितेर जालान्, तर सृष्टिकर्ताको अख्‍तियार कहिल्यै बितेर जानेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने अख्‍तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन ठ्याक्कै यही हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५४९. शैतानले परमेश्‍वरको अख्‍तियार नाघ्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्‍वरका आदेशहरू र निश्‍चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्‍लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्‍वरका कुनै पनि आदेशहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्‍ने आँट कहिल्यै गरेन। के यो परमेश्‍वरको अख्तियारको सामर्थ्य होइन र? के यो परमेश्‍वरको अख्तियारको साक्षी होइन र? परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने र परमेश्‍वरप्रति कस्तो दृष्टिकोण राख्ने भन्‍ने बारेमा मानवजातिलाई भन्दा शैतानलाई अझै बढी स्पष्ट रूपमा थाहा छ, त्यसकारण, आत्मिक क्षेत्रमा, शैतानले परमेश्‍वरको हैसियत र अख्‍तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्‍वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन बोध गर्छ। यसले तिनलाई बेवास्ता गर्ने आँट बिलकुलै गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्‍लङ्घन गर्ने, वा परमेश्‍वरको अख्‍तियारलाई नाघ्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्‍वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्‍वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्‍ने आँट शैतानले कहिल्यै गरेको छैन। करोडौँ वर्षसम्‍म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्‍वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्‍ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमान् छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्‍नै सीमाहरू थाहा छ। शैतानको “समर्पित” कार्यहरूबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरको अख्‍तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्‍न सक्दैन, र परमेश्‍वरको अद्वितीयपन र अख्‍तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्‍वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र प्रजनन गर्न सक्छ, यस व्यवस्थालाई भङ्ग गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्‍ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको पूर्वनिर्धारण र अख्‍तियारबाट आउँछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५५०. शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा पनि अख्‍तियार छ, किनभने शैतानले पनि आश्‍चर्यकर्महरू देखाउन सक्छ, र मानवजातिको लागि असम्‍भव रहेका कुराहरू गर्न सक्छ भनी विश्‍वास गर्ने धेरै मूर्ख मानिसहरू समेत छन्। त्यसैले, परमेश्‍वरलाई आराधना गर्ने बाहेक, मानिसले आफ्‍नो हृदयमा शैतानको लागि पनि ठाउँ साँचेर राख्छ, र शैतानलाई परमेश्‍वरको रूपमा आराधना समेत गर्छ। यी मानिसहरू दयनीय र घृणास्पद दुवै छन्। तिनीहरूको अज्ञानताको कारण तिनीहरू दयनीय छन्, र तिनीहरूको विधर्म र अन्तर्निहित दुष्ट सारको कारण तिनीहरू घृणास्पद छन्। यस विन्दुमा, तिमीहरूलाई अख्‍तियार भनेको के हो, यो केको प्रतीक हो, र यसले केलाई प्रतिनिधित्व गर्छ सो बारेमा जानकारी दिनु अत्यावश्यक छ भन्‍ने मलाई लाग्छ। वृहत् रूपमा भन्दा, परमेश्‍वर स्वयम्‌ नै अख्‍तियार हुनुहुन्छ, उहाँको अख्‍तियार परमेश्‍वरको सर्वोच्‍चता र सारको प्रतीक हो, र परमेश्‍वर स्वयम्को अख्तियारले परमेश्‍वरको हैसियत र पहिचानलाई प्रतिनिधित्व गर्छ। यसो हुनाले, के शैतानले त्यो आफै परमेश्‍वर हो भनेर भन्‍ने आँट गर्छ? के शैतानले त्यसले नै सबै थोक सृष्टि गरेको हो, र सबै थोकमाथि त्यसको सार्वभौमिकता छ भनेर भन्‍ने आँट गर्छ? अवश्य यसले त्यसो भन्दैन! किनभने यसले सबै थोक सृष्टि गर्न सक्दैन; अहिलेको मितिसम्‍म, परमेश्‍वरले सृष्टि गर्नुभएको कुनै पनि थोक यसले बनाएको छैन, र जीवन भएको कुनै पनि कुरा सृष्टि गरेको छैन। त्योसँग परमेश्‍वरको अख्तियार नभएको हुनाले, त्यसमा परमेश्‍वरको हैसियत र पहिचान हुनु कहिल्यै सम्‍भव हुन सक्दैन, र यसलाई त्यसकै सारले निर्धारित गर्छ। के त्योसँग परमेश्‍वरको जस्तै शक्ति छ? अवश्य त्यसमा त्यस्तो शक्ति छैन! शैतानले गरेका कार्यहरूलाई, र शैतानले प्रदर्शन गरेका आश्‍चर्यकर्महरूलाई हामी के भन्छौँ? के यो शक्ति हो? के यसलाई अख्‍तियार भनेर भन्‍न सकिन्छ? अवश्य सकिँदैन! शैतानले दुष्टताको छाललाई निर्देशित गर्छ, र परमेश्‍वरको कार्यका हरेक पक्षलाई बाधा दिने, बिगार्ने, र बिथोल्ने गर्छ। विगत हजारौँ वर्षदेखि, मानवजातिलाई भ्रष्ट तुल्याउने र दुर्व्यवहार गर्ने, र मानिस मृत्युको छायाको घाटीतर्फ हिँडोस् भनेर मानिसलाई प्रलोभन र भ्रममा पारेर भ्रष्टता र परमेश्‍वरलाई इन्कार गर्ने कार्यमा लगाउने बाहेक, के शैतानले त्यस्तो केही गरेको छ जसको लागि मानिसले त्यसलाई अलिकति समेत स्मरण गर्नु, तारिफ गर्नु, वा कदर गर्नु योग्य छ? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा भ्रष्ट तुल्याइएको हुनेथियो? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा हानि गरिएको हुनेथियो? यदि शैतानसँग शक्ति र अख्तियार भएको भए, के मानवजाति परमेश्‍वरलाई त्यागेर मृत्युको शरण परेको हुनेथियो? शैतानसँग कुनै अख्‍तियार वा शक्ति नभएको हुनाले, त्यसले गर्ने सबै कुराको सारको बारेमा हामीले के निष्कर्ष निकाल्‍नुपर्छ? शैतानले गर्ने सबै कुरा छल मात्रै हुन् भनेर परिभाषित गर्नेहरू पनि छन्, तैपनि त्यस्तो परिभाषा त्यति उपयुक्त छैन भन्‍ने मलाई विश्‍वास छ। के मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसका दुष्ट कार्यहरू छल मात्रै हुन् त? अय्यूबलाई दुर्व्यवहार गर्नको लागि शैतानले प्रयोग गरेको दुष्टताको शक्ति, र तिनलाई दुर्व्यवहार गर्ने र तिनलाई निल्ने त्यसको तीव्र इच्‍छालाई छलद्वारा मात्रै हासिल गर्न सकिँदैन। फर्केर हेर्दा, पहाड-पर्वतभरि टाढा-टाढासम्‍म छरपष्ट भएका अय्यूबका बथान र बगालहरू एकै क्षणमा विलय भएका थिए; एकै क्षणमा, अय्यूबको भाग्य हराएर गयो। के त्यसलाई छलले मात्रै हासिल गर्न सकियो? शैतानले गर्ने सबै कुराको प्रकृति बिगार्ने, बिथोल्ने, नष्ट गर्ने, गम्भीर रूपमा हानी गर्ने, दुष्टता, दुर्भावना, र अन्धकार जस्ता नकारात्मक शब्‍दहरूसँग सम्‍बन्धित छन् र तीसँग मिल्छन्, त्यसकारण घट्ने सबै अन्यायी र दुष्ट घटनाहरू अपरिहार्य रूपमा नै शैतानका कार्यहरूसँग जोडिएका हुन्छन्, र त्यसलाई शैतानको घिनलाग्दो सारबाट अलग गर्न सकिँदैन। शैतान, जति नै “अत्यन्तै शक्तिशाली” भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने क्षमताहरूको दायरा जति नै व्यापक भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति अवस्थित रहने स्वरूप जति नै अनन्त रूपमा परिवर्तनीय भए तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस्, त्यसले कुनै पनि वस्तुलाई कहिल्यै नियन्त्रण र शासन गर्न सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालना गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले भूमिमा पानीको थोपा वा बालुवाको कण समेत सजिलै छुन सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो—परमेश्‍वरलाई सेवा प्रदान गर्नु—र प्रतिभारका रूपमा राम्रोसँग सेवा प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको हातको खेलौना मात्रै हो, परमेश्‍वरले सेवाका लागि प्रयोग गर्नुहुने यन्त्र मात्रै हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५५१. शैतानले अय्यूबमाथि लोभी नजरले हेरेको भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्‍वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्‍नुभएपछि, परमेश्‍वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्‍प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्‍वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्‍वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्‍वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्‍न सकिन्छ भने शैतानले यहोवा परमेश्‍वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्‍वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्‍वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्‍वरको वचनको पछाडि परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्‍वरका दण्डहरू सङ्केत गरिएको हुन्छ। यदि त्यसले परमेश्‍वरका आदेशहरू उल्‍लङ्घन गर्‍यो भने, परमेश्‍वरको अख्‍तियारलाई नाघेको र स्वर्गीय नियमहरूलाई विरोध गरेको परिणामहरूलाई त्यसले स्वीकार गर्नैपर्छ भन्‍ने कुरा शैतानलाई स्पष्टै थाहा छ। यी परिणामहरू आखिर के-के हुन् त? अवश्य नै, ती परमेश्‍वरले त्यसलाई दिनुहुने दण्ड हुन्। अय्यूबप्रति शैतानले गरेका कार्यहरू त्यसले मानिसलाई कति भ्रष्ट तुल्याएको छ भन्‍ने कुराको सानो टुक्रा मात्रै थियो, र जब शैतानले यी कार्यहरू गरिरहेका थिए, परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू र उहाँले जारी गर्नुभएका आदेशहरू त्यसले गर्ने सबै कुराको पछाडिका सिद्धान्तहरूको सानो टुक्रा मात्रै थियो। यसको साथै, यस विषयमा शैतानको भूमिका र स्थान परमेश्‍वरको व्यवस्थापनको कार्यमा रहेको त्यसको भूमिका र स्थानको सानो भाग मात्रै थियो, र अय्यूबलाई परीक्षा गर्ने क्रममा शैतानले गरेको परमेश्‍वरको पूर्ण आज्ञापालन परमेश्‍वरको व्यवस्थापन कार्यमा कसरी शैतानले परमेश्‍वरलाई अलिकति विरोध गर्ने आँट पनि गरेन त्यसको सानो भाग मात्रै थियो। यी साना भागहरूले तिमीहरूलाई के चेतावनी दिन्छ? शैतान लगायत सबै थोकको बीचमा, सृष्टिकर्ताले तय गर्नुभएका स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्न सक्‍ने कुनै व्यक्ति वा थोक छैन, र यी स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्ने आँट कुनै व्यक्ति वा थोकले गर्दैन, किनभने तिनलाई अवज्ञा गर्नेहरूलाई सृष्टिकर्ताले दिनुहुने दण्डलाई कुनै व्यक्ति वा थोकले परिवर्तन गर्न वा त्यसबाट उम्‍कन सक्दैन। सृष्टिकर्ताले मात्रै स्वर्गीय नियम र अध्यादेशहरू जारी गर्न सक्‍नुहुन्छ, तिनलाई लागू गर्ने शक्ति सृष्टिकर्तासँग मात्रै छ, र सृष्टिकर्ताको शक्तिलाई मात्रै कुनै व्यक्ति वा थोकले भङ्ग गर्न सक्दैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो, र यो अख्‍तियार सबै थोकको बीचमा सबैभन्दा सर्वोच्‍च छ, त्यसकारण “परमेश्‍वर सबैभन्दा महान् हुनुहुन्छ र दोस्रो नम्बरमा शैतान छ” भनेर भन्‍नु असम्‍भव छ। अद्वितीय अख्तियार निहित भएको सृष्टिकर्ता बाहेक, अरू कुनै परमेश्‍वर छैन!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५५२. शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता गरेको छ, एकपछि अर्को पुस्तालाई भ्रममा पारेको छ, र मानव संसारमा भयानक अपराधहरू गरेको छ। त्यसले मानिसलाई दुर्व्यवहार गरेको छ, मानिसलाई भ्रममा पारेको छ, मानिसलाई परमेश्‍वरको विरोध गर्न प्रलोभनमा पारेको छ, र परमेश्‍वरको व्यवस्थापन योजनालाई बाधा दिने र क्षय गर्ने अनगिन्ती दुष्ट कार्यहरू गरेको छ। तैपनि, परमेश्‍वरको अख्‍तियारमा, यावत् थोक र जीवित प्राणीहरू परमेश्‍वरले खडा गर्नुभएका नियम र व्यवस्थाहरूलाई सधैँ झैँ निरन्तर पालना गर्छन्। परमेश्‍वरको अख्‍तियारका तुलनामा, शैतानको दुष्ट प्रकृति र उच्छृङ्खलता अत्यन्तै कुरूप, अत्यन्तै घिनलाग्दो र तिरस्करणीय, र अत्यन्तै सानो र निहत्था छ। शैतान परमेश्‍वरले सृष्टि गर्नुभएको यावत् थोकको बीचमा घुमफिर गर्ने भए तापनि, परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएका मानिस, घटना, र कामकुराहरूमा यसले अलिकति पनि परिवर्तन ल्याउन सक्दैन। हजारौँ वर्ष बितिसकेको छ, र मानवजातिले अझै पनि परमेश्‍वरले दिनुभएको ज्योति र हावाको आनन्द लिन्छ, अझै पनि परमेश्‍वर स्वयम्‌ले फुकिदिनुभएको सास फेर्छ, अझै पनि परमेश्‍वरले सृष्टि गर्नुभएका फूल, चराचुरुङ्गी, माछा र कीरा-फट्याङ्ग्रामा रमाउँछ, र परमेश्‍वरले प्रदान गर्नुभएका सबै थोकमा आनन्द लिन्छ; दिन र रात अझै पनि आउने-जाने क्रम जारी छ; सधैँ झैँ चार ऋतु परिवर्तन भइरहन्छ; आकाशमा उड्ने हाँस शिशिरमा बिदा हुन्छन्, तैपनि अर्को वसन्तमा फर्कन्छन्; पानीमा बस्‍ने माछाले कहिल्यै खोलानाला र ताल-तलैयाहरू—आफ्नो घर छोड्दैनन्; ग्रीष्म याममा पृथ्वीका झ्याउँकिरीहरू आफ्‍नो हृदय खोलेर गीत गाउँछन्; शरद याममा घाँस-पातभित्रबाट किरकिर गर्ने फट्याङ्ग्रोले बताससँगै समय-समयमा मन्द स्वरमा गुनगुनाउँछ; पानी-हाँसहरू बथानमा भेला हुन्छन्, जबकि चीलहरू एकला-एकलै रहन्छन्; सिंहका समूहले सिकार खेलेर आफ्‍नो पेट पाल्छन्; बाह्रसिङ्गे मृग घाँस-पात र फूलहरूबाट अलग हुन मिल्दैन…। सबै थोकका बीचमा रहेका हरेक प्रकारका जीवित प्राणी बिदा हुन्छन् र फर्कन्छन्, त्यसपछि फेरि बिदा हुन्छन्, आँखाको एक निमेषमा करोडौँ परिवर्तन भइरहन्छ—तर परिवर्तन नहुने भनेका तिनीहरूका प्रवृत्ति र अस्तित्वका व्यवस्थाहरू हुन्। ती परमेश्‍वरको बन्दोबस्‍त र पालनपोषणमा जिउँछन्, र कसैले पनि तिनीहरूको प्रवृत्ति परिवर्तन गर्न सक्दैन, न त अस्तित्व सम्‍बन्धी तिनीहरूका व्यवस्थाहरूलाई नै कसैले बिगार्न सक्छ। यावत् थोकको बीचमा जिउने मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको र भ्रममा पारेको भए तापनि, परमेश्‍वरले बनाउनुभएको पानीलाई, र परमेश्‍वरले बनाउनुभएको हावालाई, अनि परमेश्‍वरले बनाउनुभएको यावत् थोकलाई मानिसले अझै त्याग्‍न सक्दैन, र परमेश्‍वरले सृष्टि गर्नुभएको यो क्षेत्रमा नै मानिस अझै जिउँछ र वृद्धि हुन्छ। मानवजातिको प्राकृतिक गुण परिवर्तन भएको छैन। मानिसले अझै पनि हेर्नका लागि आफ्‍नो आँखा, सुन्‍नका लागि आफ्‍नो कान, विचार गर्नका लागि आफ्‍नो मस्तिष्क, बुझ्‍नका लागि उसको हृदय, हिँड्नका लागि आफ्‍ना हात-खुट्टा, काम गर्नका लागि आफ्‍ना हातमा भर पर्छ, र यस्तै इत्यादि; उसले परमेश्‍वरको आपूर्तिलाई स्वीकार गर्न सकोस् भनेर परमेश्‍वरले मानिसलाई दिनुभएका सबै प्राकृतिक गुणहरू अपरिवर्तित नै रहन्छन्, परमेश्‍वरसँग मानिसले जुन अङ्गहरूको प्रयोग गरी सहकार्य गर्छ ती परिवर्तन भएका छैनन्, सृजित प्राणीको कर्तव्य पूरा गर्ने मानवजातिको अङ्ग परिवर्तन भएको छैन, मानवजातिका हृदयका खाँचोहरू परिवर्तन भएका छैनन्, आफ्‍नो व्युत्पत्ति पत्ता लगाउने मानवजातिको चाहना परिवर्तन भएको छैन, सृष्टिकर्ताद्वारा मुक्ति दिइने मानवजातिको चाहना परिवर्तन भएको छैन। मानवजातिका वर्तमान परिस्‍थितिहरू यस्तै छन्, जो परमेश्‍वरको अख्‍तियारको अधीनमा जिउँछन्, र जसले शैतानद्वारा ल्याइएका खूनी ध्वंशलाई सहेको छ। मानवजातिले शैतानको धेरै विनाश भोगेको छ, र त्यो उप्रान्त प्रारम्भमा सृष्टि गरिएको आदम र हव्वा होइन, बरु ज्ञान, कल्पना, धारणाहरू इत्यादि जस्ता परमेश्‍वरको विरोध गर्ने कुराहरूले भरिएको छ, र शैतानी भ्रष्ट स्वभावले भरिएको छ, तैपनि, परमश्‍वरको नजरमा मानवजाति अझै पनि उहाँले सृष्टि गर्नुभएको मानवजाति नै हो। मानवजाति अझै पनि परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यको अधीनमा छ, र अझै पनि परमेश्‍वरले तय गर्नुभएको मार्गभित्रै जिउँछ, त्यसकारण परमेश्‍वरको नजरमा, शैतानले भ्रष्ट तुल्याएको मानवजाति केवल फोहोरले ढाकिएको, भोको पेट, अलिक सुस्त प्रतिक्रिया, अनि अलिक ह्रास आएको स्मरणशक्ति, र अलिक वृद्ध अवस्थामा पुगेको छ, त्यति हो, जबकि मानिसका सबै निर्धारित कार्य र अन्तर्निहित प्रवृत्तिहरू जस्ताको त्यस्तै छन्। परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको मानवजाति यही नै हो। यो मानवजातिले सृष्टिकर्ताको बोलावटलाई र सृष्टिकर्ताको आवाजलाई सुनेसम्म, तिनीहरू खडा हुन सक्‍नेछन् र यो आवाजको स्रोत पत्ता लगाउन हतार गर्नेछन्। यो मानवजातिले सृष्टिकर्ताको आकृति देखेसम्म, तिनीहरूले परमेश्‍वरप्रति आफैलाई समर्पित गर्नका लागि अरू सबैलाई बेवास्ता गर्नेछन्, र सबै कुरा त्याग्नेछन्, र उहाँका लागि आफ्‍नो ज्यान समेत दिनेछन्। जब मानवजातिले हृदयबाट सृष्टिकर्ताको हृदयको आवाज बुझ्छ, उसले शैतानलाई इन्कार गरेर सृष्टिकर्ताको पक्षमा आउनेछ; जब मानवजातिले आफ्‍नो शरीरबाट फोहोर-मैला पूर्ण रूपमा धोएको हुन्छ, र फेरि एक पटक सृष्टिकर्ताको भरणपोषण र आपूर्ति प्राप्त गरेको हुन्छ, तब मानवजातिको स्मरणशक्ति पुनःस्थापित हुनेछ, र यस क्षण मानवजाति सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा फर्केको हुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

५५३. परमेश्‍वरको अख्‍तियारलाई मानिसले अनुकरण गर्न सक्दैन, र परमेश्‍वरको पहिचान र हैसियतलाई मानिसले नक्‍कल गर्न सक्दैन। परमेश्‍वरले बोल्‍नुहुने स्वरलाई तैँले अनुकरण गर्न सक्‍ने भए तापनि, तैँले परमेश्‍वरको सारलाई अनुकरण गर्न सक्दैनस्। तँ परमेश्‍वरको स्थानमा खडा हुन र परमेश्‍वरको नक्कल गर्न सक्‍ने भए तापनि, परमेश्‍वरले जे गर्ने अभिप्राय राख्‍नुहुन्छ त्यो गर्न तँ कहिल्यै सक्‍नेछैनस्, र तैँले सबै थोकमाथि सार्वभौमिकता राख्‍न र हुकुम गर्न कहिल्यै सक्‍नेछैनस्। परमेश्‍वरको नजरमा, तँ सदासर्वदा सानो सृष्टि गरिएको प्राणी हुनेछस्, र तेरा सीप र क्षमताहरू जति ठूलो भए तापनि, तँसँग जति वरदानहरू भए तापनि, तँ तेरो सम्पूर्णतामा सृष्टिकर्ताकै प्रभुत्वमा हुन्छस्। तैँले केही साहसिक शब्‍दहरू भन्‍न सक्‍ने भए तापनि, न त यसले तँसँग सृष्टिकर्ताको सार छ भन्‍ने कुरालाई देखाउन सक्छ, न त तँसँग सृष्टिकर्ताको अख्तियार छ भन्‍ने नै प्रस्तुत गर्न सक्छ। परमेश्‍वरको अख्तियार र शक्ति परमेश्‍वर स्वयमको सार हो। ती सिकेका वा बाहिरी रूपमा थपिएका होइनन्, तर ती परमेश्‍वर स्वयम्‌को अन्तर्निहित सार हुन्। त्यसैले सृष्टिकर्ता र सृष्टि गरिएका प्राणीहरूका बीचको सम्‍बन्धलाई कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन। एक सृष्टि गरिएको मानवता भएको नाताले, व्यक्तिले आफ्‍नो स्थान कायम राख्नैपर्छ, र शिष्ट तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति कोसिस नगर्, साथै परमेश्‍वर बन्न नखोज्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। बहुमूल्य कुरा, र सृष्टि गरिएका प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो सृष्टि गरिएको प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

अघिल्लो:  ११. परमेश्‍वरलाई चिन्‍नुसँग सम्बन्धित वचनहरू

अर्को:  ख. परमेश्‍वरको धर्मी स्वभावको सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger