३. यदि हामीले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्यौं भने, अनन्त जीवनको बाटो प्राप्त गर्नका लागि हामीले के गर्नुपर्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, यदि तँ सधैँ तीबाट जोगिने वा तीबाहिर खोजी गर्ने प्रयास गरिरहेको छस् भने, तँ घोर पापी होस् भनी म भन्छु। यदि तेरो विश्वास परमेश्वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली र धोकेबाज होस्। परमेश्वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्वरको सामु न्याय गरिनका लागि आउनेहरू, र साथै शुद्ध बनाइएकाहरू सदासर्वदा परमेश्वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्वरको आराधना गर्ने बनाउनु हो, ताकि सृजित प्राणीहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन खुलासा, न्याय, सजाय र निर्दयी श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोर चिन्न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गरेर। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई अन्तिम विजय गरिने माध्यम हुन्, र परमेश्वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्कै जित्ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जानेर, र ती बुझ्ने समझ प्राप्त गरेर। जहाँसम्म मानिसहरूलाई कसरी जित्ने भन्ने सवाल छ, यो तिनीहरू आफैँले गर्न सक्ने कुरा होइन। तैँले गर्न सक्ने भनेको यी वचनहरू खाएर अनि पिएर आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउने, र परमेश्वरको अगाडि लम्पसार पर्ने मात्र हो। यदि, परमेश्वरका अभिप्रायहरू बोध गरेपछि, तैँले अभ्यास गर्न सक्छस्, र यदि तँसँग दर्शनहरू छन् र यी वचनहरूप्रति तँ पूर्ण रूपमा समर्पित हुन सक्छस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ—र त्यो विजय यी वचनहरूकै फलस्वरूप भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
परमेश्वरद्वारा बोलिएका वचनहरू बाहिरी रूपमा सरल होऊन् वा गहन, ती सबै मानिसको जीवन प्रवेशका निम्ति अपरिहार्य सत्यता हुन्; ती जीवित पानीका मुहान हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। तिनले मानिसलाई जीवित रहन चाहिने कुराहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका नियम र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्वरप्रति समर्पित हुनुपर्छ र उहाँको आराधना गर्नुपर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। ती मानिसको अस्तित्व सुनिश्चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र ती मानिसलाई बलियो हुन र दृढ रहन सक्षम बनाउने दह्रिलो टेवा पनि हुन्। ती सत्यता वास्तविकतामा समृद्ध हुन्छन्, जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, ती सत्यतामा समृद्ध हुन्छन्, जसद्वारा मानिस भ्रष्टताबाट उम्कन्छ र शैतानका पासोबाट निस्किहिँड्छ, र ती सृष्टिकर्ताले सृजित मानवजातिलाई दिने गम्भीर र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनामा समृद्ध हुन्छन्। ती मानिसहरूलाई सबै सकारात्मक कुरा बुझ्न मार्गदर्शन र अन्तर्दृष्टि दिने सङ्केत बत्ती हुन्, ती मानिसहरूले सबै न्यायवान, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्ने सुनिश्चित गर्ने प्रत्याभूति हुन्, ती सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गर्ने मापदण्डहरू हुन्, र मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्याउने मार्गदर्शक बत्ती पनि हुन्। परमेश्वरका वचनहरूको व्यावहारिक अनुभवले मात्र मानिसले सत्यता र जीवनको आपूर्ति प्राप्त गर्न सक्छ; यसरी मात्र मानिसले सामान्य मानवता के हो, अर्थपूर्ण जीवन के हो, सृष्टि गरिएको साँचो प्राणी के हो, परमेश्वरप्रतिको वास्तविक समर्पण के हो भनी बुझ्न सक्छ; यसरी मात्र मानिसले आफूले परमेश्वरको कसरी वास्ता गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्नुपर्छ, र वास्तविक मानिसको स्वरूप कसरी प्राप्त गर्नुपर्छ भनी बुझ्न सक्छ; यसरी मात्र मानिसले साँचो विश्वास र साँचो आराधनाको अर्थ के हो भनी बुझ्न सक्छ; यसरी मात्र मानिसले स्वर्ग, पृथ्वी र सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भनी बुझ्न सक्छ; यसरी मात्र मानिसले सारा सृष्टिमाथिका सार्वभौम एउटै उहाँले कुन माध्यमद्वारा सृष्टि गरिएकाहरूलाई शासन गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र भरणपोषण गर्नुहुन्छ भनी बुझ्न सक्छ; यसरी मात्र मानिसले सारा सृष्टिका सार्वभौम एउटै कुन माध्यमहरूद्वारा अस्तित्वमा रहनुहुन्छ, प्रकट हुन आउनुहुन्छ, र काम गर्नुहुन्छ भनी मानिसले बुझ्न र बोध गर्न सक्छ। परमेश्वरका वचनहरूको वास्तविक अनुभवबाट अलग बसेर मानिसले परमेश्वरका वचनहरू र सत्यताप्रति वास्तविक ज्ञान वा अन्तर्दृष्टि प्राप्त गर्दैन। यस किसिमको मानिस जीवित लास हो, खोक्रो खबटा मात्र हो, र यस किसिमको मानिससँग सृष्टिकर्तासँग सम्बन्धित सबै ज्ञानहरूको कुनै काम हुँदैन। परमेश्वरको दृष्टिमा, यस किसिमको मानिसले कहिल्यै पनि उहाँमा विश्वास गरेको हुँदैन, न त कहिल्यै पनि उहाँलाई पछ्याएको नै हुन्छ, त्यसैले परमेश्वरले त्यसलाई न त आफ्नो विश्वासीको रूपमा पहिचान गर्नुहुन्छ न त आफ्नो अनुयायीको रूपमै। उहाँले त्यसलाई सृष्टि गरिएको साँचो प्राणीको रूपमा स्वीकार गर्नुहुने त कुरै छाडौं।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। प्रस्तावना
जीवन पछ्याउने क्रममा, तैँले दुईवटा कुरालाई ध्यान दिनुपर्छ: पहिलो, परमेश्वरका वचनहरूभित्रको सत्यतालाई बुझ्नु; दोस्रो, परमेश्वरका वचनहरूभित्र आफैलाई बुझ्नु। यी दुई कुराहरू सबैभन्दा आधारभूत कुराहरू हुन्। परमेश्वरको वचनभन्दा बाहिर कुनै जीवन वा सत्यता छैन। यदि तैँले परमेश्वरको वचनभित्र सत्यता खोजी गर्दैनस् भने, यसको खोजी गर्न तँ कहाँ जान सक्छस्? संसारमा कहाँ सत्यता छ? के संसारका समाचारपत्र र मिडियाहरूले परमेश्वरको वचनबारे रिपोर्ट गर्छन्? के संसारका राजनीतिक दलहरूले परमेश्वरको गवाही दिन्छन्? के संसारको कुनै पनि देशमा खुल्लमखुल्ला परमेश्वरको वचन प्रचार गर्नु सम्भव कुरा हो? बिलकुलै होइन। त्यसैले संसारमा कुनै सत्यता छैन र यो संसारमा दियाबलस शैतानले शासन गर्छ र यसै कारण यो संसार अँध्यारो र दुष्ट छ। सत्यताको एक त्यान्द्रो पनि कहाँ छ र? परमेश्वरका वचनहरूको सत्यता बुझ्नुका सबैभन्दा महत्त्वपूर्ण भागहरू यी हुन्: उहाँका वचनहरूभित्र परमेश्वरलाई बुझ्नु, उहाँका वचनहरूभित्र मानव जीवनलाई बुझ्नु, र उहाँका वचनहरूभित्र आफूलाई साँचो साँचो रूपमा बुझ्नु र मानव अस्तित्वको अर्थको बारेमा पत्ता लगाउनु, र सत्यताका अन्य पक्षहरू बुझ्नु। सबै सत्यता परमेश्वरका वचनहरूभित्र नै छन्। परमेश्वरका वचनहरूबाहेक अन्य कुराहरूमार्फत सत्यतामा प्रवेश गर्न सकिँदैन। परमेश्वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्र तैँले सत्यताको बुझाइ हासिल गर्न सक्छस्, र साँचो रूपमा सत्यता बुझ्नु भनेकै परमेश्वरका वचनहरू बुझ्नु हो। सबैभन्दा आधारभूत कुरा यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
परमेश्वरका वचनहरूभित्र मानिसहरूमा हुनुपर्ने सत्यताहरू छन्, जुन कुराहरू मानिसहरूका लागि सबैभन्दा बढी लाभदायक र सहयोगी हुन्छन्। ती कुराहरू तिमीहरूको शरीरलाई चाहिने टोनिक र पोषण हुन्, मानिसहरूलाई तिनीहरूको सामान्य मानवता पुनर्स्थापित गर्न मद्दत गर्ने कुरा हुन्, र त्यस्ता सत्यता हुन् जुनद्वारा मानिसहरू सुसज्जित हुनुपर्छ। तिमीहरूले परमेश्वरका वचनहरू जति धेरै अभ्यास गर्छौ, तिमीहरूको जीवन त्यति नै छिटो वृद्धि हुनेछ; तिमीहरूले परमेश्वरका वचनहरू जति धेरै अभ्यास गर्छौ, सत्यता तिमीहरूका लागि त्यति नै प्रस्ट हुनेछ। तिमीहरूको कद वृद्धि हुँदै जाँदा, तिमीहरूले आत्मिक क्षेत्रका कुराहरू अझ प्रस्ट रूपमा देख्नेछौ, र शैतानमाथि विजय प्राप्त गर्नलाई तिमीहरूसँग अझ बढी शक्ति हुनेछ। तिमीहरूले नबुझेका बढीजसो सत्यता तिमीहरूले परमेश्वरका वचनहरू अभ्यास गर्दा प्रस्ट पारिनेछन्। धेरैजसो मानिस परमेश्वरका वचनहरूको शाब्दिक पक्ष मात्र बुझेर नै सन्तुष्ट हुन्छन्, र अनुभव गर्न र गहिरो अभ्यासमा जानुभन्दा आफूलाई धर्मसिद्धान्तहरूले सुसज्जित गर्नमा ध्यान केन्द्रित गर्छन्—के त्यो फरिसीहरूको तरिका होइन र? के यसो गरेर कसैले “परमेश्वरका वचनहरूलाई आफ्नो जीवन बनाउने” भन्ने वाक्यांशको वास्तविकता प्राप्त गर्न सक्छ? मानिसहरूको जीवन परमेश्वरका वचनहरू अभ्यास गरेर मात्र वृद्धि हुन सक्छ; त्यो ती वचनहरू पढेर मात्र वृद्धि हुँदैन। यदि तँ आफूले परमेश्वरका वचनहरू बुझेसम्म आफूसँग जीवन र कद हुने विश्वास गर्छस् भने, तेरो बुझाइ टेढो छ। परमेश्वरका वचनहरू साँच्चै बुझ्न तब सम्भव हुन्छ जब तैँले सत्यता अभ्यास गर्छस्; तैँले “सत्यता अभ्यास गरेर मात्र यसलाई बुझ्न सकिन्छ” भन्ने कुरा बुझ्नैपर्छ। आज, परमेश्वरका वचनहरू पढेपछि, तँ परमेश्वरका वचनहरूबारे सचेत छु भनेर मात्र भन्न सक्छस्, तर तँ तिनलाई बुझ्छु भनेर भन्न सक्दैनस्। कतिपयले सत्यता अभ्यास गर्न सक्नुअघि व्यक्तिले पहिले सत्यता बुझ्नैपर्छ भन्छन्, तर यो आंशिक रूपमा मात्र सही हो, पूर्ण रूपमा सही होइन। तैँले कुनै निश्चित सत्यता अनुभव नगरेसम्म तँलाई त्यसको ज्ञान हुँदैन। कुनै प्रवचनमा त्यो सत्यताबारे सुन्दा तैँले त्यो बुझेको महसुस गर्नु भनेको त्यसलाई साँच्चिकै बुझ्नु होइन—यो त उक्त सत्यताभित्रको साँचो अर्थ नबुझी त्यसको शाब्दिक पक्षलाई मात्र पक्रिनु हो। सत्यताको बाहिरी तह मात्र जान्नुको अर्थ वास्तवमा तँ सत्यता बुझ्छस् वा तँसँग यसको ज्ञान छ भन्ने होइन; सत्यताको साँचो अर्थ यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, जब तँ सत्यता अनुभव गर्छस् तब मात्र तँ यसलाई बुझ्न सक्छस्, र अनुभवमार्फत मात्र तैँले यसका लुकेका पाटोहरू बोध गर्न सक्छस्। आफ्नो अनुभवलाई गहिरो बनाउनु नै सत्यताको मौलिक अर्थ बोध गर्ने, र सत्यताको सार बुझ्ने एक मात्र तरिका हो। त्यसकारण, तँसँग सत्यता हुँदा मात्र तँ संसारभरि स्वतन्त्र रूपमा घुमफिर गर्न सक्षम हुन्छस्। यदि तँसँग सत्यता छैन भने, धार्मिक मानिसहरू धेरैलाई तेरो कुरा मान्न लगाउनु त परै जाओस्—तेरो परिवारका सदस्यहरूले समेत तेरो कुरा मान्नेछैनन्। सत्यताविना तँ उडिरहेको हिउँको कण स्तै हुन्छस्, तर सत्यता हुँदा तँ खुसी र स्वतन्त्र हुन सक्छस्, र कसैले पनि तँलाई आक्रमण गर्न सक्दैन। कुनै सिद्धान्त जतिसुकै बलियो भए पनि, त्यसले सत्यतालाई जित्न सक्दैन। सत्यता साथमा भएपछि, तैँले स्वर्ग र पृथ्वीलाई उल्ट्याउन सक्छस् र पहाड र समुद्रहरू सार्न सक्छस्; सत्यता छैन भने, औँसाहरू समेत तेरो सहरको किल्ला तोडेर भित्र छिर्न सक्छन्। यो एउटा स्पष्ट तथ्य हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ
ठ्याक्कैसित भन्नुपर्दा, आफ्नो विश्वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धर्मविज्ञानको ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनले सत्यता बुझ्न र परमेश्वरका अभिप्रायहरू बोध गर्न, साथै परमेश्वरको स्वभाव र उहाँको प्रेमिलोपनको ज्ञान हासिल गर्नमा ध्यान केन्द्रित गरे। पत्रुसले परमेश्वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट स्थितिहरू, मानिसको प्रकृति सार र मानिसका वास्तविक कमजोरीहरू जान्ने प्रयास पनि गरे। यसरी मात्रै तिनले परमेश्वरलाई सन्तुष्ट पार्न उहाँका मागहरू सजिलै पूरा गर्न सक्थे। परमेश्वरका वचनहरूका सन्दर्भमा पत्रुससँग एकदमै धेरै सही अभ्यास थिए। यो परमेश्वरका अभिप्रायहरूसँग सबैभन्दा बढी मिल्दो थियो र कुनै व्यक्तिले परमेश्वरको काम अनुभव गर्ने क्रममा सहकार्य गर्न सक्ने सबैभन्दा उत्तम तरिका थियो। परमेश्वरले पठाउनुभएका सयौँ परीक्षाहरू भोग्दा, पत्रुसले आफूलाई मानिसको न्याय र खुलासा गर्ने परमेश्वरको हरेक वचन—अनि मानिसबाट उहाँले माग गर्नुहुने हरेक वचनसँग कडाइका साथ मिलाए—आफूलाई जाँचे, र परमेश्वरका वचनहरूको अर्थ सही रूपमा बोध गर्ने प्रयास गरे। येशूले तिनलाई भन्नुभएका सब थोकबारे तिनले गम्भीरतासाथ मनन गरे, र हरेक वचनलाई आफ्नो मनमा दृढ रूपमा राखे—यो तरिका अपनाउँदा निकै राम्रा नतिजा हासिल भए। यसरी अभ्यास गरेर तिनले परमेश्वरका वचनहरूमार्फत आफैलाई चिन्न सके, र तिनी मानिसका विविध भ्रष्ट स्थिति र कमीकमजोरीहरू मात्र होइन, मानिसको सार र प्रकृति पनि चिन्न पुगे। यो नै आफूलाई साँचो रूपमा चिन्नु हो। परमेश्वरका वचनहरूबाट, पत्रुसले एक हिसाबमा आफूबारे साँचो बुझाइ हासिल गरे, अनि अर्को हिसाबमा, तिनले परमेश्वरले व्यक्त गरेको धर्मी स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा, परमेश्वरको कामका लागि उहाँका अभिप्रायहरू र मानवजातिप्रति परमेश्वरका मागहरू देखे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्वरलाई चिने। तिनले परमेश्वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा, र साथै परमेश्वरको प्रेमिलो स्वभाव र मानिसप्रतिका उहाँका मागहरू जाने र बुझे। त्यतिखेर परमेश्वर आजभोलि बोल्नुभए जति बोल्नुहुन्नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै बिरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौँ परीक्षाहरू भोगे; तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्वरका वचनहरू र कामबाट आफैलाई चिन्न पुगेका मात्रै होइन, परमेश्वरलाई पनि चिन्न पुगे। यसबाहेक, तिनले परमेश्वरका वचनहरूभित्र विशेष गरी परमेश्वरले मानिसहरूबाट गर्ने मागहरू र परमेश्वरका अभिप्रायअनुसार हुनका लागि मानिसले परमेश्वरलाई कुन पक्षहरूमा सन्तुष्ट पार्नुपर्छ भन्ने कुरालाई ध्यान दिए, र तिनी यी कुराहरूमा ठूलो प्रयत्न लागु गरेर पूर्ण स्पष्टता हासिल गर्न सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्वरका वचनहरूको जुनै पक्ष भए पनि, ती वचनहरूले जीवनका रूपमा काम गर्न सकुन्जेल र ती सत्यता हुन्जेल, पत्रुसले तिनलाई आफ्नो हृदयमा कुँदेर राखे, जहाँ तिनले तीबारे बारम्बार मनन गरे र तिनलाई बोध गरे। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्न सके, जसले तिनले विशेष रूपमा परमेश्वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्ने देखाउँछ र तिनले अन्त्यमा सच्चा रूपमै नतिजा हासिल गरे। अर्थात्, तिनले परमेश्वरका वचनहरू कुशलतापूर्वक अभ्यास गर्न, सत्यतालाई सही रूपमा अभ्यास गर्न अनि परमेश्वरका अभिप्रायअनुरूप कार्य गर्न, सम्पूर्ण रूपले परमेश्वरका चाहनाअनुरूप कामकुरा गर्न, र आफ्ना व्यक्तिगत दृष्टिकोण र कल्पनाहरू त्याग्न सके। यसरी, पत्रुस परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र व्यवहारहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्वरद्वारा सिद्ध तुल्याइने व्यक्ति हो। के भन्न सकिन्छ भने परमेश्वरको काम र वचनहरूले आफ्नो परिणाम पूर्ण रूपले हासिल गरेका छन्: परमेश्वरका वचनहरू उसको जीवन बनेका छन् र उसले सत्यता हासिल गरेको छ अनि ऊ परमेश्वरका वचनहरूअनुसार जिउन सक्षम छ। यसपछि, उसको देहको प्रकृति—अर्थात्, उसको अस्तित्वको सुरुको आधार—थर्किएर भत्कनेछ र ढल्नेछ। मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्नेछन्। यदि परमेश्वरका वचनहरू तिनीहरूको जीवन बन्छन् भने, यदि परमेश्वरको कामको दर्शन, मानवजातिका लागि उहाँका खुलासा र मागहरू अनि मानिसहरूले पूरा गरून् भनी परमेश्वरले माग गरेको मानव जीवनका मानकहरू तिनीहरूको जीवन बन्छन् भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले सत्यता पछ्याएको मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। पत्रुस परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइए, तिनले परमेश्वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्वरले व्यक्त गरेका सत्यताहरू तिनको जीवन बन्यो, अनि त्यसपछि मात्र तिनी सत्यताप्राप्त गरेका व्यक्ति बने।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने