१. प्रभु येशूले भन्नुभयो, “मैले दिने पानी जसले पिउँछ ऊ कहिल्यै तिर्खाउनेछैन; तर मैले उसलाई दिने पानी अनन्‍त जीवनमा उम्रिनिस्कने पानीको इनार हुनेछ(यूहन्‍ना ४:१४)। बाइबलले यसो पनि भन्छ: “पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ: र पुत्रलाई विश्‍वास नगर्नेले जीवन देख्‍नेछैन(यूहन्‍ना ३:३६)। हामी विश्‍वास गर्छौं, प्रभु येशू नै ख्रीष्ट, मानिसको पुत्र हुनुहुन्छ, र प्रभु येशूको बाटो अनन्त जीवनको बाटो हो। हामी विश्‍वास गर्छौं, जबसम्म हामी प्रभुमा विश्‍वास गर्छौं, तबसम्‍म हामीले अनन्त जीवन पाउन सक्नेछौं। तैपनि तपाईं आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरले मात्र मानिसलाई अनन्त जीवनको बाटो प्रदान गर्न सक्नुहुन्छ भनी गवाही दिनुहुन्छ। के यदि हामी प्रभु येशूको पछि लाग्यौं भने, हामीले अनन्त जीवनको बाटो प्राप्त गर्न सक्दैनौं भनेर तपाईंले भनिरहनुभएको छ? हामीले किन सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूको ख्रीष्टको वचन र कामलाई स्वीकार गर्नु आवश्यक छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“अझै पनि मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

परमेश्वरका सान्दर्भिक वचनहरू:

येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानद्वारा भ्रष्ट तुल्याइएको स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्रशास्त्रका वचनहरूबाट लिइएका थिए अनि उहाँका कामहरू पवित्रशास्त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्नुभयो। उहाँको काम वचनको थिएन, न त मानवजातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानवजातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूको माझमा गरियो जसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गरे। उहाँको काम पवित्रशास्त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहऱ्याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि, क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने, तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका विद्रोहीपन र पापको बारेमा उल्लेख छैन अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने, तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने, के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्‍ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने, विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइन, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (१)

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। यी वचनहरू स्वीकार गर्दा यी मानिसहरूमा ल्याइने परिवर्तनहरू, अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गर्दा मानिसहरूमा ल्याइएका परिवर्तनहरूभन्दा ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभाव अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका भ्रष्ट शैतानी स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसको आस्थाका कारण, उसलाई केवल मुक्ति दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्‍वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र रूपान्तरित गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानी स्वभावअन्तर्गत जिइरह्यो। यस्तो भएकोले, मानिसलाई उसको भ्रष्ट शैतानी स्वभावबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, ताकि उसको पापी प्रकृति पूर्ण रूपले फालियोस्, र फेरि कहिल्यै विकास नहोस्, यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्‍वरका अभिप्रायअनुसार होस्, ताकि उसले आफ्नो भ्रष्ट शैतानी स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध गर्नु हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनु हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहँदा, मानिसले अझै पनि पाप गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव खुलासा गर्न वचन प्रयोग गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्ने तुल्याउनुहुन्छ। कामको यो चरण अघिल्लोभन्दा अझ बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई आपूर्ति गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण हुने तुल्याउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले विश्‍वास गर्‍यो भने उसले मुक्ति पाउँथ्यो। आज, मुक्तिको सट्टामा विजय र सिद्धताको कुरा मात्र गरिन्छ। एक व्यक्तिले विश्‍वास गर्दा उसको सम्पूर्ण परिवारले आशिष् पाउँछ वा एकपल्ट मुक्ति पाएपछि सधैँभरि मुक्ति पाइन्छ भनी कहीँ पनि भनिँदैन। आज यस्ता शब्दहरू कसैले बोल्दैन र त्यस्ता कुराहरू पुराना भएका छन्। त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने, तँ उप्रान्त पापको वशमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ मानिस येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको थियो भन्‍ने होइन, तर मानिस अब पापको अधीनमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्‍ने हुन्थ्यो। तैँले विश्‍वास गर्दा तँ कहिल्यै पापको अधीनमा हुनेथिइनस्। त्यस बेला येशूले धेरै काम गर्नुभयो जुन उहाँका चेलाहरूले बुझ्‍दैनथिए, अनि उहाँले भन्नुभएका धेरै कुराहरू मानिसहरूले बुझ्‍दैनथिए। किनकि त्यस बेला उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसैले उहाँ जानुभएको धेरै वर्षपछि मत्तीले येशूको वंशावली बनाए, र अरूले पनि धेरै काम गरे, जुन मानिसको इच्छा थियो। येशू मानिसलाई सिद्ध बनाउन र प्राप्त गर्न होइन, तर एक चरणको काम गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि येशू क्रूसमा टाँगिनुभएपछि उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचनहरू बोल्नुपर्छ, अझ धेरै काम गर्नुपर्छ र अझ धेरै प्रक्रियाहरू हुनुपर्छ। त्यसरी नै येशू र यहोवाको कामका रहस्यहरू पनि प्रकट गरिनुपर्छ, ताकि सबै मानिसहरूले आफ्नो विश्‍वासको समझ र स्पष्टता प्राप्त गर्न सकून्, किनकि आखिरी दिनहरूको काम यही नै हो, अनि आखिरी दिनहरू परमेश्‍वरको कामका अन्त्य हुन्, कामहरू समाप्त हुने समय हुन्। यो चरणको कामले तँलाई यहोवाका व्यवस्था र येशूले दिनुभएको छुटकाराबारे स्पष्ट पार्नेछ, अनि यो विशेष गरी तैँले परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाका सबै कामहरू बुझ्न सक् अनि यो छ हजार वर्षको व्यवस्थापन योजनाको अर्थ र सारको महत्त्वलाई बुझ्न सक्, अनि येशूले गर्नुभएका सबै काम र उहाँले बोल्नुभएका वचनहरूको उद्देश्य, अनि तेरो अन्धविश्‍वास र बाइबलप्रतिको भक्तिलाई समेत बुझ्न सक् भनेर हो। यी सबैले तँलाई सबै कुरा पूर्ण रूपमा बुझ्ने तुल्याउनेछ। तैँले येशूले गर्नुभएको काम र आज परमेश्‍वरले गर्नुभएको काम, दुवै बुझ्नेछस्; तैँले सत्य, जीवन र बाटो सबै बुझ्नेछस् र देख्‍नेछस्। येशूले गर्नुभएको कामको चरणमा उहाँ किन अन्तिम कार्य नगरी बिदा भएर जानुभयो? किनकि येशूको कामको चरण अन्तिम काम थिएन। उहाँलाई क्रूसमा टाँगिएपछि उहाँका वचनहरूको पनि अन्त्य भयो; उहाँको क्रूसीकरणपछि उहाँको काम पूर्ण रूपले समाप्त भयो। वर्तमान चरण भिन्नै छ: आखिरीसम्म वचन बोलिसकेपछि र परमेश्‍वरका सबै काम समाप्त भएपछि मात्र उहाँको काम पूरा भएको हुनेछ। येशूको कामको चरणमा, धेरै वटा वचनहरू नबोलिएकै अवस्थामा रहे वा जसलाई पूर्ण रूपमा व्यक्त गरिएन। तापनि उहाँले के भन्नुभयो र के भन्नुभएन भन्‍ने कुरा येशूले वास्ता गर्नुभएन, किनकि उहाँको सेवकाइ वचनको सेवकाइ थिएन, यसैले उहाँलाई क्रूसमा झुण्ड्याइएपछि उहाँ बिदा हुनुभयो। कामको त्यो चरण विशेष गरी क्रूसीकरणको निम्ति थियो, र त्यो वर्तमान चरणजस्तो थिएन। यो वर्तमान चरणको काम विशेष गरी पूरा गर्नु, स्पष्ट पार्नु अनि सबै कामलाई टुङ्गोमा पुर्याउनु हो। यदि वचनहरू अन्त्यसम्मै बोलिएन भने, यो कामलाई टुङ्गोमा पुऱ्याउने कुनै उपाय हुनेछैन, किनकि यो चरणको काममा वचनहरू प्रयोग गरेर सबै कामलाई समाप्तिमा पुऱ्याइनेछ र पूरा गरिनेछ। त्यो बेला, येशूले त्यस्ता धेरै काम गर्नुभयो जुन मानिसले बुझ्न सकेनन्। उहाँ चुपचाप बिदा हुनुभयो, अनि आज पनि धेरै मानिसहरू छन्, जसले उहाँको वचन बुझ्दैनन्, जसको बुझाइ गलत छ, तापनि तिनीहरू त्यो सही छ भनी विश्‍वास गर्छन्, अनि तिनीहरू गलत छन् भनी जान्दैनन्। अन्तिम चरणले परमेश्‍वरको कामलाई पूर्ण समाप्तिमा पुऱ्याउनेछ, र त्यसलाई निष्कर्ष प्रदान गर्नेछ। सबैले परमेश्‍वरको व्यवस्थापन योजनालाई बुझ्ने र जान्नेछन्। मानिसभित्र हुने धारणाहरू, उसका अभिप्रायहरू, उसको भ्रमित बुझाइ, यहोवा र येशूको कामको सम्बन्धमा उसका धारणाहरू, गैरविश्वासीहरूको विषयमा उसका दृष्टिकोणहरू र अन्य वकृतिहरू सुधारिनेछन्। अनि मानिसले जीवनका सबै सही मार्गहरू र परमेश्‍वरले गर्नुभएका सबै काम र सम्पूर्ण सत्यतालाई बुझ्नेछ। जब त्यस्तो हुन्छ, यो चरणको काम समाप्त हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका माध्यमहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्‍नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, मानिसले वचन देहमा देखा पर्नुभएका परमेश्‍वरलाई साँच्चै देख्ने तुल्याउनुहुन्छ, र उहाँको बुद्धि र अद्भुतता देख्ने तुल्याउनुहुन्छ। मानिसहरूलाई विजय गर्ने, मानिसहरूलाई सिद्ध पार्ने, र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझै राम्ररी हासिल गर्न परमेश्वर यसरी काम गर्नुहुन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो, त्यो थाहा पाउन पुग्छन्। वचनहरूद्वारा, परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको सबै काम हासिल हुन्छन्। वचनहरूद्वारा, मानिसहरूलाई प्रकाश गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरू परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिमा, र मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्‍वरको हृदयमा विश्‍वास गर्न पुगेका छन्। “वचनहरू” भन्‍ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनले मानिसहरूका हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यसरी काम गर्नुहुन्छ, र केवल उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यस प्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयदेखि, मानिस परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको खुवाइ र आपूर्तिमाझ जिउँछ; मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूका श्रापहरू र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिसहरू त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी सबै वचनहरू र यो काम मानिसको मुक्तिका खातिर, परमेश्‍वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले ब्रह्माण्डका सबै मानिसहरूलाई अगुवाइ गर्नुहुन्छ, वचनहरू प्रयोग गरेर नै उहाँ उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वर स्‍वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्‍नेले जीवन कहिल्यै प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्‍दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्‍पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण शरीर तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्‍दहरू जीवनका रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्‍वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्‍वरले व्यक्त गर्नुहुने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्‍वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्। यदि तैँले विगतका युगहरूमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको अभिलेखलाई लिएर आजको दिनमा पालन गर्छस् भने, त्यसले तँलाई पुरातत्त्वविद् बनाउँछ, जुन अवस्थामा, तँलाई व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी विज्ञ होस् भनेर भन्‍नु हो। तँ सधैँ परमेश्‍वरले विगतका समयमा गर्नुभएका कामका निसानहरूमा विश्‍वास गर्छस्, तँ यसभन्दा पहिले परमेश्वरले मानिसमाझ काम गर्नुभएको बेलाको उहाँको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले उहाँका अनुयायीहरूलाई दिनुभएको मार्गमा मात्रै विश्‍वास गर्छस्, तर तँ परमेश्‍वरको आजको कामको रुझानमा विश्‍वास गर्दैनस्, परमेश्‍वरको आजको महिमामयी मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हालै व्यक्त गर्नुभएको सत्यताको मार्गमा विश्‍वास गर्दैनस्। त्यसकारण, तँ निर्विवाद रूपमा दिवास्वप्‍न देख्‍ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा टाढा छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्‍ने शब्दहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो[क] काम नलाग्‍ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

फूटनोटहरू:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।


आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्‍त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र ऊ परमेश्‍वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्‍न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्‍वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्‍वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस् र? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्‍याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्‍वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्ध पार्ने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूलाई बोध गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अघिल्लो:  ३. प्रभु येशूले भन्नुभयो, “मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)। “प्रभु, प्रभु” भन्ने सबैले विश्‍वास गर्छन् र प्रभुको सेवा गर्छन्। तिनीहरूले सधैँ बलिदान गरेका हुन्छन्, आफैलाई खर्च गरेका हुन्छन्, र प्रभुका लागि कठोर परिश्रम गरेका हुन्छन्, र तिनीहरूले सुसमाचार फैलाएका हुन्छन् र मण्डलीहरू निर्माण गरेका हुन्छन्। के तिनीहरूले यी सब गरेर प्रभुको इच्छा पालन गरेका हुँदैनन् र? जब प्रभु येशू फर्केर आउनुहुन्छ, प्रभुले तिनीहरूलाई किन स्याबासी दिनुहुनेछैन, र त्यसको सट्टामा उहाँले तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा दोषी ठहर्‍याउनुहुनेछ?

अर्को:  २. प्रभु येशू र सर्वशक्तिमान् परमेश्‍वर एउटै परमेश्‍वर हुनुहुन्छ। उहाँहरूले फरक-फरक युगमा फरक-फरक काम गर्नुहुन्छ। प्रभु येशूले छुटकाराको काम गर्नुभयो र पश्चातापको बाटोको प्रचार गर्नुभयो, र सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनहरूको न्याय र शुद्धीकरणको काम गर्नुहुन्छ, र अनन्त जीवनको बाटो ल्याउनुहुन्छ। त्यसो भए पश्चात्तापको बाटो र अनन्त जीवनको बाटोको बीचमा के भिन्नता छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger