१. प्रभु येशूले भन्नुभयो, “मैले दिने पानी जसले पिउँछ ऊ कहिल्यै तिर्खाउनेछैन; तर मैले उसलाई दिने पानी अनन्त जीवनमा उम्रिनिस्कने पानीको इनार हुनेछ” (यूहन्ना ४:१४)। बाइबलले यसो पनि भन्छ: “पुत्रमा विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ: र पुत्रलाई विश्वास नगर्नेले जीवन देख्नेछैन” (यूहन्ना ३:३६)। हामी विश्वास गर्छौं, प्रभु येशू नै ख्रीष्ट, मानिसको पुत्र हुनुहुन्छ, र प्रभु येशूको बाटो अनन्त जीवनको बाटो हो। हामी विश्वास गर्छौं, जबसम्म हामी प्रभुमा विश्वास गर्छौं, तबसम्म हामीले अनन्त जीवन पाउन सक्नेछौं। तैपनि तपाईं आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वरले मात्र मानिसलाई अनन्त जीवनको बाटो प्रदान गर्न सक्नुहुन्छ भनी गवाही दिनुहुन्छ। के यदि हामी प्रभु येशूको पछि लाग्यौं भने, हामीले अनन्त जीवनको बाटो प्राप्त गर्न सक्दैनौं भनेर तपाईंले भनिरहनुभएको छ? हामीले किन सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूको ख्रीष्टको वचन र कामलाई स्वीकार गर्नु आवश्यक छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्रशास्त्रका वचनहरूबाट लिइएका थिए अनि उहाँका कामहरू पवित्रशास्त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्नुभयो। उहाँको काम वचनको थिएन, न त मानवजातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानवजातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूको माझमा गरियो जसले परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गरे। उहाँको काम पवित्रशास्त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहऱ्याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि, क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने, तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका विद्रोहीपन र पापको बारेमा उल्लेख छैन अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने, तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने, के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने, विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइन, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (१)
आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। मानिसहरूले यी वचनहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरू मानिसहरूले अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरूभन्दा अत्यन्तै ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभावहरू अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका शैतानी भ्रष्ट स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको आस्थाका कारण मात्रै छुटकारा दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसका भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र उसको जीवन स्वभाव कसरी केही हदसम्म परिवर्तन गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिएका छन्, र यो परमेश्वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस आफ्ना पुराना शैतानी भ्रष्ट स्वभावहरूभित्रै जिउन जारी राख्छ। यस्तो भएकोले, मानिसलाई उसका शैतानी भ्रष्ट स्वभावहरूबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, उसको पापी प्रकृति फेरि कहिल्यै विकास नहुने गरी, पूर्ण रूपले फालिनैपर्छ, र उसको स्वभाव रूपान्तरित हुनैपर्छ। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्वरका अभिप्रायहरूअनुरूप होऊन्, ताकि उसले आफ्नो शैतानी भ्रष्ट स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्तिको अनुग्रह पाएको हुनेछ। जुन बेला येशू आफ्नो काम गर्दै हुनुहुन्थ्यो, उहाँबारे मानिसको ज्ञान अझै धमिलो र अस्पष्ट नै थियो। मानिस सधैँ उहाँ दाऊदको पुत्र भएको विश्वास गर्थ्यो, र उहाँ एक महान् अगमवक्ता, मानिसलाई उसका पापहरूबाट छुटकारा दिने परोपकारी प्रभु हुनुहुन्छ भनेर भन्थ्यो। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तर, मानिस आफैभित्र गहिरो जरा गाडेर बसेका शैतानी भ्रष्ट स्वभावहरू पत्ता लाउन असमर्थ थियो, न त उसलाई ती स्वभावहरू कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्थ्यो भने, उसलाई मानकअनुरूपको विश्वासी मानिन्थ्यो। यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले छुटकारा पाउँथे। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध पार्नका लागि हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनका लागि हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति फाल्न असफल हुनेथ्यो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसका भ्रष्ट स्वभावहरू अझै ऊभित्रै रहन्छन्, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वर वचन प्रयोग गरेर मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्न लगाउनुहुन्छ। यस चरणको काम अघिल्लोभन्दा बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई भरणपोषण गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपमा नवीकरण हुन सक्षम बनाउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
अनुग्रहको युगमा पश्चात्तापको सुसमाचार प्रचार गरिएको थियो, र यदि मानिसले विश्वास गरेको भए, छुटकारा पाउनेथियो। आज, छुटकाराको ठाउँमा, विजय र सिद्धताको कुरा मात्र हुन्छ। यदि एक व्यक्तिले विश्वास गरेमा, उसको सम्पूर्ण परिवार आशिषित हुनेछ, वा एक पटक मुक्ति पाएपछि सधैँका लागि मुक्ति पाइन्छ भनेर कहिल्यै भनिँदैन। आज, कसैले पनि यी शब्दहरू बोल्दैनन् र यस्ता कुराहरू पुराना भएका छन्। त्यसबेला, येशूको काम सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्वास गर्ने सबैका पापहरू क्षमा गरिए; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, उहाँले तँलाई छुटकारा दिनुहुनेथियो; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, तँ उप्रान्त पापमा रहनेथिइनस्, तँ आफ्ना पापहरूबाट मुक्त हुन्थिस्। छुटकारा पाउनु, र आस्थाद्वारा न्यायोचित ठहरिनुको अर्थ यही हो। तैपनि विश्वास गर्नेहरूमा, विद्रोही र परमेश्वरको विरोध कुरा रह्यो, जसलाई अझै पनि बिस्तारै हटाउनुपर्थ्यो। छुटकाराको अर्थ मानिसलाई येशूले पूर्ण रूपमा प्राप्त गर्नुभएको थियो भन्ने थिएन, बरु मानिस उप्रान्त पापमा थिएन र उसका पापहरू क्षमा गरिएका थिए भन्ने थियो। यदि तैँले उहाँमा विश्वास गरेको भए, तँ उप्रान्त पापमा हुनेथिइनस्। त्यसबेला, येशूले आफ्ना चेलाहरूले बुझ्न नसक्ने धेरै काम गर्नुभयो र मानिसहरूले नबुझ्ने धेरै कुरा भन्नुभयो। किनभने, त्यसबेला, उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसरी, उहाँ जानुभएको केही वर्षपछि, मत्तीले येशूका लागि एउटा वंशावली बनाए र अरूहरूले पनि मानिसको इच्छाका धेरै काम गरे। येशू मानिसलाई सिद्ध पार्न र प्राप्त गर्न नभई कामको एउटा चरण गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि त्यसैले, येशू क्रूसमा टाँगिनुभएपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचन बोलिनैपर्छ, अझ धेरै काम गरिनैपर्छ, र धेरै प्रक्रिया हुनैपर्छ। त्यसै गरी येशू र यहोवाको कामका रहस्यहरू पनि उजागर गरिनैपर्छ, ताकि सबै मानिसको विश्वासमा बुझाइ र स्पष्टता होस्, किनभने यो आखिरी दिनहरूको काम हो र आखिरी दिनहरू परमेश्वरको कामको समापन, कामको अन्त्यको समय हो। कामको यस चरणले तँलाई यहोवाको व्यवस्था र येशूको छुटकारा छर्लङ्ग पार्नेछ अनि यो मुख्यतया तैँले परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण काम बुझ्न सकेस् र यस छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण महत्त्व र सार बोध गर्न सकेस् र येशूले गरेका सम्पूर्ण काम र उहाँले बोलेका वचनहरूको उद्देश्य अनि बाइबलप्रतिको तेरो अन्धविश्वास र आराधना समेत बुझ्न सकेस् भनेर हो। यी सब कुराले तँलाई पूर्ण रूपमा बुझ्न सक्षम तुल्याउनेछन्। तैँले येशूले गरेको काम र परमेश्वरको आजको काम दुवै बुझ्नेछस्; तैँले सम्पूर्ण सत्यता, जीवन र मार्ग बुझ्नेछस् र देख्नेछस्। येशूले गरेको कामको चरणमा, येशू किन समापनको काम नगरी प्रस्थान गर्नुभयो? किनभने येशूको कामको चरण समापनको काम थिएन। जब उहाँलाई क्रूसमा टाँगियो, तब उहाँका वचनहरू पनि समाप्त भए; उहाँको क्रूसीकरणपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। त्यो अहिलेको चरणजस्तो थिएन, जसमा वचनहरू अन्त्यसम्म बोलिएपछि र उहाँको सम्पूर्ण काम समापन भएपछि मात्र परमेश्वरको काम समाप्त भएको हुनेछ। येशूको कामको चरणको दौरान, नभनिएका वा पूर्ण रूपमा व्यक्त नगरिएका धेरै वचन रहेका थिए। तैपनि येशूले आफ्ना वचनहरू पूर्ण रूपमा व्यक्त गरिएका छन् कि छैनन् भनेर वास्ता गर्नुभएन, किनभने उहाँको सेवकाइ वचनहरूको सेवकाइ थिएन, र त्यसैले उहाँ क्रूसमा टाँगिनुभएपछि प्रस्थान गर्नुभयो। कामको त्यो चरण मुख्यतया क्रूसीकरणका खातिर थियो, र यो अहिलेको चरणजस्तो होइन। कामको यो अहिलेको चरण मुख्यतया समापन गर्न, स्पष्ट पार्न र सबै काम अन्त्य गर्नका खातिर हो। यदि वचनहरू अन्त्यसम्म बोलिएनन् भने, यो काम समाप्त गर्ने कुनै उपाय हुनेछैन, किनभने कामको यस चरणमा सबै काम वचनहरू प्रयोग गरेर अन्त्य र सम्पन्न गरिन्छ। त्यसबेला, येशूले मानिसले बुझ्न नसक्ने धेरै काम गर्नुभयो। उहाँ चुपचाप प्रस्थान गर्नुभयो र आज पनि उहाँका वचनहरू नबुझ्ने अझै धेरै मानिस छन्। तिनीहरूको बुझाइ त्रुटिपूर्ण छ तैपनि तिनीहरू त्यो सही हो भन्ने विश्वास गर्छन् र आफू गलत छु भन्ने जान्दैनन्। अन्तिम चरणले परमेश्वरको काम पूर्णतया समाप्त गर्नेछ र यसको समापन गर्नेछ। सबैले परमेश्वरको व्यवस्थापनको योजना बुझ्नेछन् र जान्नेछन्। मानिसभित्रका धारणाहरू, उसका अभिप्रायहरू, उसको भ्रामक बुझाइ, यहोवा र येशूको कामबारे उसका धारणाहरू, गैरविश्वासीहरूबारे उसका दृष्टिकोणहरू, र उसका अन्य सबै विकृतिलाई सच्याइनेछ। अनि मानिसले जीवनका सबै सही मार्ग र परमेश्वरले गरेका सबै काम, र सम्पूर्ण सत्यता बुझ्नेछ। जब त्यो हुन्छ, तब कामको यो चरण समाप्त हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
राज्यको युगमा, परमेश्वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको अस्तित्व, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्वरको हृदयमा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूका श्राप र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
परमेश्वर स्वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्नेहरूले निश्चय नै जीवन प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन एकसाथ सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण अस्तित्वमा तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। के कुरा जान् भने, फगत पुस्तकका शब्दहरूलाई जीवन मान्न सकिँदैन, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्, अनि पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्वरले व्यक्त गर्ने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्। यदि तैँले विगतका युगहरूमा परमेश्वरले बोल्नुभएका वचनहरूको अभिलेखलाई लिएर आजको दिनमा पालन गर्छस् भने, त्यसले तँलाई पुरातत्त्वविद् बनाउँछ, जुन अवस्थामा, तँलाई व्याख्या गर्ने सबैभन्दा उपयुक्त तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी अनुसन्धान गर्ने विज्ञ होस् भनेर भन्नु हो। तँ सधैँ परमेश्वरले विगतका समयमा गर्नुभएका कामका निसानहरूमा विश्वास गर्छस्, तँ यसभन्दा पहिले परमेश्वरले मानिसमाझ काम गर्नुभएको बेलाको उहाँको छायामा मात्रै विश्वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्वरले उहाँका अनुयायीहरूलाई भन्नुभएको मार्गमा मात्रै विश्वास गर्छस्, तर तँ परमेश्वरको आजको कामको रुझानमा विश्वास गर्दैनस्, परमेश्वरको आजको महिमामयी मुहारमा विश्वास गर्दैनस्, र परमेश्वरले हालै व्यक्त गर्नुभएको सत्यताको मार्गमा विश्वास गर्दैनस्। त्यसकारण, तँ निर्विवाद रूपमा दिवास्वप्न देख्ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा टाढा छ। यदि तँ अहिले अझै पनि मानिसलाई जिउन सक्षम बनाउन नसक्ने शब्दहरूमा टाँसिन्छस् भने, तँ आशाहीन काठको ठुटा होस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरू सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै प्राप्त गर्छन्, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्ने परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरू खोज्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्न तँलाई सहयोग गर्न सक्ने बुद्धिमत्ताका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई चिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ