१७. के “अरू मानिसहरूबाट सधैँ होसियार रहनुपर्छ” भन्नु सही हो?
सानो छँदा मेरी आमाले मलाई अक्सर भन्नुहुन्थ्यो, “तिमीले अरूसँग व्यवहार गर्दा होसियार रहनुपर्छ; मूर्ख बन्दै मनमा जे आयो त्यही बोल्ने नबन। त्यसो गर्दा अरूबाट सजिलै हानि बेहोर्न र ठगिन पुगिन्छ।” त्यतिबेला, यी कुराहरू सुन्दा मैले कुनै प्रत्यक्ष अनुभव नगरेकी हुनाले म टाउको हल्लाएर सहमति जनाउँथेँ। पछि, समाजमा मानिसहरूसँग घुलमिल हुँदा, मैले आफ्नो स्वार्थको लागि मानिसहरूले एकअर्काविरुद्ध षड्यन्त्र र हानि गरेको देखेँ। कसैले गलत कुरा बोल्यो भने, तिनीहरूलाई अरूले फसाउँथे। मैले मनमनै सोचेँ, “मानिसको हृदय बुझ्न गाह्रो छ; भविष्यमा मानिसहरूसँग अन्तर्क्रिया गर्दा म होसियार हुनुपर्छ। मैले अरूलाई हानि पुऱ्याउने नियत नराखेसम्म, ठीकै होला, तर म तिनीहरूबाट होसियार हुनैपर्छ, नत्र मबाट फाइदा उठाइनेछ।” त्यसैले, चाहे साथीभाइसँग अन्तर्क्रिया गर्दा होस् वा छिमेकीहरूसँग, म सधैँ होसियार हुन्थेँ। म कतै मैले केही गलत कुरा बोलेँ भने, कसैलाई चित्त दुखाएर, आफैँलाई समस्यामा पार्छु कि भन्ने डरले आफ्नो मनको कुरा खोल्ने आँट गर्दैनथेँ। म धेरै वर्ष घरबाट टाढा बसेर काम गरेकी थिएँ, र मेरा लगभग कुनै घनिष्ठ साथीहरू थिएनन्। परमेश्वरमा विश्वास गर्न थालेपछि, म ब्रदर-सिस्टरहरूको सम्पर्कमा आएँ, र मैले के देखेँ भने जब तिनीहरू भेला भएर आफ्नो अनुभवात्मक बुझाइहरूबारे सङ्गति गर्थे, तिनीहरू पूर्ण रूपमा खुलेर आफ्ना भित्री विचारहरू बोल्न सक्थे। तिनीहरू केही पनि लुकाउँदैनथे र अत्यन्तै मुक्त र स्वतन्त्र थिए। बिस्तारै, मैले पनि आफ्नो हृदय खोल्न र तिनीहरूसँग सङ्गति गर्न सिकेँ र कुनै शङ्काविना, मैले परमेश्वरमा विश्वास गर्नु साँच्चै राम्रो रहेछ भन्ने महसुस गरेँ। तर मेरो आफ्नै स्वार्थको कुरा आउँदा, म संसारसँग व्यवहार गर्ने नियम, “अरूलाई हानि गर्ने नियत कहिल्यै राख्नुहुँदैन, तर अरूले गर्न सक्ने हानिबाट सधैँ होसियार हुनुपर्छ” अनुसार जिउन बाध्य हुन्थेँ।
त्यो सन् २०२३ को मार्च महिना थियो। हाम्रो मण्डलीको लेखन-पठनको कामको परिणामहरू राम्रा नभएकाले, अगुवाले यसको कारणबारे जान्न र अब कसरी सुधार गर्ने भनी सोध्न धेरै पटक पत्र पठाउनुभयो। मसँग सहकार्य गर्ने सिस्टर, सिन्जिङ्गले यसप्रति प्रतिरोध महसुस गरिन्, र उनले समूह अगुवा, लिन् सिआओ र मलाई भनिन्, “हरेक दिन, हामी यति व्यस्त हुन्छौँ कि हामीसँग कुनै खाली समय नै हुँदैन, र अगुवाले हाम्रो कामको यति नजिकबाट सुपरिवेक्षण र निगरानी गर्नुहुन्छ। यो कर्तव्य निर्वाह गर्नु धेरै तनावपूर्ण रहेछ!” त्यतिबेला, मैले के सोचेँ भने उनको स्थिति खराब भएकोले त्यसो भनेकी होलिन्, र हामी सबैमा नकारात्मक हुने र भ्रष्टता प्रकट गर्ने समय आउँछ। त्यसमाथि, उनमा भएका त्यस्तै स्थितिहरू ममा पनि थिए, मैले केवल ती कुराहरूबारे बोलेकी थिइनँ। त्यसैले, सिन्जिङ्गले भनेका ती कुराहरूमा मैले धेरै ध्यान दिइनँ। समूह अगुवाले सिन्जिङ्गसँग सङ्गति गर्दै, अगुवाको सुपरिवेक्षणप्रति उनले यति धेरै प्रतिरोध महसुस गर्नुको कारणको चिरफार गरिन्। उनले, यसको मूल कारण आफ्नो कर्तव्यमा दैहिक सुख-सुविधामा लिप्त हुनु र दुःख भोग्न अनि मूल्य चुकाउन नचाहनु हो भन्दै, अगुवाहरूले कामको सुपरिवेक्षण गर्नुको महत्त्वबारे पनि सङ्गति गरिन्। समूह अगुवाको सङ्गति सुनेर, सिन्जिङ्गले आफू निकै अल्छी रहेकी, र यदि अगुवाले जाँच र सुपरिवेक्षण नगर्नुभएको भए, उनले आफ्नो कर्तव्यलाई महत्त्वका साथ नलिने रहिछन् र पक्कै पनि काममा ढिलाइ गर्ने रहिछन् भन्ने कुरा स्वीकारिन्। तर, त्यसपछि पनि, भेला र अध्ययन गर्दा, सिन्जिङ्ग अगुवाले कामको सुपरिवेक्षण गरेकोप्रति आफ्नो प्रतिरोधको भावना व्यक्त गरिरहन्थिन्। त्यतिबेला, मैले मनमनै सोचेँ, “उनले हालसालै आफ्नो कामले उचित परिणाम नदिएकोले यसो भनिरहेकी होलिन्, र यसले उनको स्थितिलाई असर गरेको छ। भेला र सङ्गतिको मद्दत पाएपछि, उनी सच्चिन सक्छिन्।” त्यसैले, मैले यसलाई गम्भीर रूपमा लिइनँ।
मे महिनाको एक दिन, अगुवा हामीसँग भेला हुन आउनुभयो। उहाँले कसैले सिन्जिङ्ग नकारात्मकता पोख्न मन पराउने र अगुवाहरूले कामको सुपरिवेक्षण गर्दा धेरै प्रतिरोध महसुस गर्ने भनेर रिपोर्ट गरेको बताउनुभयो। अगुवाले सिन्जिङ्गका वचन र कार्यहरूको प्रकृति र परिणामहरूबारे सङ्गति गर्न र चिरफार गर्न परमेश्वरका वचनहरू पनि प्रयोग गर्नुभयो। अचानक यो कुरा सुनेर, म स्तब्ध भएँ। मेरो अनुमान थियो यो रिपोर्ट समूह अगुवा, लिन सिआओले गरेकी हुन्, किनभने सिन्जिङले के भनेकी थिइन् भन्ने कुरा हामी दुईलाई मात्र थाहा थियो। मैले भनेकी होइन, त्यसैले पक्कै पनि लिन् सिआओले नै रिपोर्ट गरेकी हुन्। यो सोचेर, मेरो दिमागमा एउटा विचार झल्याँस्स आयो: “अबदेखि, मैले बोल्दा अझ होसियार हुनुपर्छ। एउटा गलत शब्द बोल्दा पनि सजिलै विपत्ति आउन सक्छ।” तर जब मलाई यो विचार आयो, मैले त्यसमा धेरै ध्यान दिइनँ र त्यो कुरालाई त्यतिकै छोडि दिएँ। १० दिनभन्दा बढी समयपछि, अगुवाले सिन्जिङ्गको आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिमा परिवर्तन नभएको देख्नुभयो, र उहाँले उनलाई पदबाट हटाइदिनुभयो। यो खबर सुनेर म छक्क परेँ, र सोचेँ, “उनले भेलाको समयमा आफ्नो स्थितिबारे खुलेर कुरा मात्रै त गरेकी थिइन्, त्यसपछि उनलाई नकारात्मकता पोखेको भनी किटान गरियो र पदबाट हटाइयो। भविष्यका भेलाहरूमा बोल्दा म अझ होसियार हुनुपर्छ। म केही गलत कुरा बोलेर पदबाट हटाइन चाहन्नँ।” पछि, लिन सिआओले मलाई उनैले सिन्जिङ्गको समस्या रिपोर्ट गरेकी बताइन्। मैले रिसाउँदै सोचेँ, “यो त साँच्चै ‘मान्छे चिन्ने क्रममा उसको अनुहार चिनिएला, तर मन चिनिँदैन’ भनेजस्तै पो भयो। उनी बाहिरबाट हेर्दा त निकै असल देखिन्छिन्, तर उनले कसैको समस्या उसलाई थाहै नदिई पो रिपोर्ट गरिछन्। भविष्यमा म उनीबाट होसियार हुनुपर्छ; म मूर्ख बनेर मनमा जे आयो त्यही बोल्नु हुँदैन।” पछि, लिन सिआओले हालसालै मेरो कामका परिणामहरू खराब आउनुको कारण र मानिसहरूलाई संवर्धन गर्ने मेरो योजनाबारे सोधखोज गरिन्। मलाई आफूले यो काम राम्ररी नगरेको थाहा थियो। तर, म आफूले यो कुरा भनेमा, उनले मेरो जानकारी बेगर मेरो विरुद्धमा रिपोर्ट गर्लिन् र त्यसपछि अगुवाले मलाई पदबाट हटाउनुहोला; म अपमानित हुँला कि भनेर डराएँ। मैले उखानमा भनेझैँ, “हामी अरूले गर्ने हानिबाट सधैँ जोगिनुपर्छ,” र “धेरै बोले हुन्छ गल्ती नानाभाँती।” कामको अवस्थाबारे केही साधारण शब्दहरू मात्र भन्नुपर्छ र बाँकी कुरामा जानु हुँदैन। यो सोचेर, मैले लिन सिआओको सोधपुछप्रति चिसो व्यवहार गरेँ, त्यसैले उनले मबाट नियन्त्रित महसुस गर्दै मेरो कामबारे सोध्ने आँट गरिनन्। मलाई पनि यसले पीडा दियो, र मैले आफ्नो स्थितिबारे उनीसँग खुलेर कुरा गर्न चाहेँ। तर, मैले हालसालै, कसरी सिन्जिङ्गले आफ्नो स्थितिबारे सबै कुरा बताउँदा, लिन सिआओले एक शब्द नबोली उनीबारे अगुवालाई रिपोर्ट गरिन्, र परिणाम स्वरूप, सिन्जिङलाई पदबाट हटाइयो भन्ने कुरा सम्झेँ। “यदि मैले लिन सिआओलाई मेरो स्थिति खराब रहेको र हाम्रो बिचमा भएको बाधाबारे पनि बताएँ, र त्यसपछि उनले गएर अगुवालाई मेराबारे रिपोर्ट गरिन् र मलाई पदबाट हटाइयो भने, म के गर्थेँ होला? होइन, म त्यसो गर्न सक्दिनथेँ! मैले उनलाई मेरो वास्तविक अवस्थाबारे थाहा दिन सक्दिनथेँ। मैले होसियारीसाथ बोल्नुपर्थ्यो; म सबै कुरा खोल्न सक्दिनथेँ।” त्यो समयमा, हाम्रो बिचमा कामकुराहरू निकै अप्ठ्यारा थिए, र हामीहरू अपरिचित जस्तै थियौँ। उनले मदेखि प्रतिबन्धित महसुस गरिन् र मेरो काम जाँच गर्ने आँट गरिनन्।
एक दिन, अगुवा कामको अवस्थाबारे बुझ्न आउनुभयो र मलाई त्यो समयको मेरो स्थितिबारे सोध्नुभयो। मैले मनमनै सोचेँ, “सिन्जिङ्गलाई पदबाट हटाएपछि, सबै लेखन-पठनको काम अचानक ममाथि आइलाग्यो, र अहिले मलाई धेरै तनाव महसुस भइरहेको छ। मैले लिन सिआओ र मेरो बिचको बाधा पनि समाधान गरेकी छैन। यी सबै कुराहरूले मलाई यति धेरै थिचिरहेका छन् कि मलाई सास फेर्न नसके जस्तो लाग्छ।” म साँच्चै अगुवासँग खुलेर यसबारे छलफल गर्न चाहन्थेँ। तर मैले यसबारे अझै गहिरिएर सोचेँ, “उहाँ अगुवा हुनुहुन्छ; यदि मैले उहाँलाई यी सबै कुरा बताएँ र उहाँले मेरो वास्तविक स्थितिबारे थाहा पाउनुभयो भने, के उहाँले म सत्यता नपछ्याउने र कामकुराहरू आइपर्दा पाठ नसिक्ने भन्नुहुनेछैन होला, र त्यसपछि मलाई पदबाट नहटाउनुहोला?” त्यसैले मैले अगुवालाई आफ्नो स्थितिबारे बताइनँ। म अरूबाट होसियार रहने, इमानदारीसाथ बोल्ने आँट नगर्ने, र आफ्नो कर्तव्यमा तनावमा रहने कारणले, म यो वातावरणबाट भाग्न चाहन्थेँ र यो कर्तव्य निर्वाह गर्न चाहन्नथेँ। कामको कठिनाइ अनि आफ्नो र अरूबिचका बाधाहरूको सामना गर्दा, म पीडा र छटपटीमा थिएँ, र म दबिएको भावनामा बाँचिरहेकी थिएँ।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र अन्ततः आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,’ र ‘बाघको चित्र कोर्दा, छाला देखाउन सकिन्छ, हड्डी सकिन्न; र व्यक्तिलाई चिन्दा, उसको मुहार चिन्न सकिन्छ, उसको हृदय सकिन्न’ भन्ने भनाइहरू तेरा आमाबुबाले तँभित्र हालिदिएका दुनियाँसित व्यवहार गर्ने सबैभन्दा आधारभूत सिद्धान्तहरू, साथै मानिसहरूलाई हेर्ने र तिनीहरूप्रति सतर्क रहने सबैभन्दा आधारभूत मापदण्डहरू हुन्। आमाबुबाको प्राथमिक उद्देश्य भनेको तँलाई रक्षा गर्नु र तँलाई आफ्नो रक्षा गर्न मद्दत गर्नु हो। तर, अर्को कोणबाट हेर्दा, यी शब्द, विचार र दृष्टिकोणहरूले तँलाई संसार खतरनाक छ र मानिसहरू भरोसालायक छैनन् भन्ने महसुस गराउन सक्छन्, जसले गर्दा तँमा अरूप्रति सकारात्मक भावनाहरूको पूर्ण कमी हुन सक्छ। तर तैँले वास्तवमा मानिसहरूलाई कसरी चिन्न र अरूलाई हेर्न सक्छस्? तँ कस्ता मानिसहरूसँग मिलेर बस्न सक्छस्, र मानिसहरूबीचको उचित सम्बन्ध कस्तो हुनुपर्छ? सिद्धान्तहरूको आधारमा व्यक्तिले अरूसँग कसरी अन्तरक्रिया गर्नुपर्छ, र उसले कसरी अरूसँग निष्पक्ष र सद्भावपूर्वक अन्तरक्रिया गर्न सक्छ? आमाबुबालाई यी मामिलाहरूबारे केही थाहा हुँदैन। तिनीहरूलाई त मानिसहरूविरुद्ध सतर्कता अपनाउन कसरी दुनियाँसित व्यवहार गर्ने चलाकी, युक्ति र विभिन्न नियम र रणनीतिहरू प्रयोग गर्ने र अरूको हानिबाट आफूलाई जोगाउन कसरी अरूबाट फाइदा लिने र अरूमाथि नियन्त्रण जमाउने भन्ने मात्र थाहा हुन्छ, चाहे तिनीहरूले अरूलाई जति नै हानि पुर्याउन्। आफ्ना छोराछोरीलाई यी विचार र दृष्टिकोणहरू सिकाउँदा, आमाबुबाले तिनीहरूमा हालिदिने कुराहरू दुनियाँसित व्यवहार गर्ने निश्चित रणनीतिहरू मात्र हुन्छन्। ती रणनीतिहरूबाहेक अरू केही हुँदैनन्। अनि, यी रणनीतिहरूमा के-के समावेश हुन्छन्? हरप्रकारका युक्तिहरू, नियमहरू, र अरूलाई कसरी खुसी पार्ने, आफ्नो स्वार्थ कसरी जोगाउने, र व्यक्तिगत लाभ कसरी बढाउने भन्ने कुराहरू। के यी सिद्धान्तहरू सत्यता हुन्? (अहँ, होइनन्।) के यी मानिसहरूले पछ्याउनुपर्ने सही मार्ग हुन्? (होइनन्।) यीमध्ये कुनै पनि सही मार्ग होइन। त्यसोभए, आमाबुबाले तँमा हालिदिने यी विचारहरूको सार के हो त? यी विचारहरू सत्यतासँग मिल्दैनन्, यी सही मार्ग होइनन्, यी सकारात्मक कुराहरू होइनन्। त्यसोभए, यी के हुन् त? (यी सबै हामीलाई भ्रष्ट तुल्याउने शैतानका दर्शनहरू हुन्।) यी परिणामहरू हेर्दा, यी विचारहरूले मानिसहरूलाई भ्रष्ट पार्ने देखिन्छ। त्यसोभए, यी विचारहरूको सार के हो त? जस्तै, ‘अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू’—के यो अरूसँग अन्तरक्रिया गर्ने सही सिद्धान्त हो त? (होइन, यी सबै शैतानबाट आएका नकारात्मक कुराहरू हुन्।) यी शैतानबाट आएका नकारात्मक कुराहरू हुन्—त्यसोभए यी कुराहरूको सार र प्रकृति के हो त? के यी चलाखीहरू होइनन् र? के यी रणनीतिहरू होइनन् त? के यी अरूलाई जित्ने दाउपेच होइनन् त? (हुन्।) यी सत्यतामा प्रवेश गर्ने अभ्यासका सिद्धान्तहरू, वा कसरी व्यवहार गर्नुपर्छ भनेर परमेश्वरले मानिसहरूलाई सिकाउनुहुने सकारात्मक सिद्धान्त र दिशाहरू होइनन्; यी त दुनियाँसित व्यवहार गर्ने रणनीतिहरू हुन्, यी चलाखीहरू हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्वरले खुलासा गर्नुभएको स्थितिबारे मनन गर्दै, मैले अन्ततः के बुझेँ भने म सधैँ “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,” र “बाघको चित्र कोर्दा, छाला देखाउन सकिन्छ, हड्डी सकिन्न; र व्यक्तिलाई चिन्दा, उसको मुहार चिन्न सकिन्छ, उसको हृदय सकिन्न” जस्ता शैतानी नियमहरूद्वारा जिएकी रहेछु। म सोच्थेँ हानि र ठगीबाट आफूलाई जोगाउन, मैले सबैसँग होसियार र सतर्क हुनुपर्छ। यसैले, म जोसँग व्यवहार गर्दा पनि, आफूले बोल्ने र काम गर्ने तरिकामा अत्यन्तै होसियार हुन्थेँ। मैले सामान्यतया मानिसहरूलाई मेरो साँचो विचार बताउँदिनथेँ, र धेरैजसो समय म चुपचाप बस्थेँ। त्यसरी, मैले न त घाटा बेहोर्नुपर्थ्यो, न त मानिसहरूको चित्त नै दुखाउनुपर्थ्यो। खासगरी यस पटक, जब लिन सिआओले सिन्जिङ्गको समस्या रिपोर्ट गरिन् र सिन्जिङ्गले पश्चात्ताप नगरेपछि पदबाट हटाइयो, मैले कतै आफू पनि एक दिन पदबाट हटाइन्छु कि भन्ने डरले, होसियार स्थितिमा जिउँदै, आफ्नो साँचो स्थिति अरूलाई खोल्ने आँट गरिनँ। जब म मण्डली र समूह अगुवाहरूसँग कुरा गर्थेँ, म अत्यन्तै होसियार हुन्थेँ र आफ्नो हृदय खोल्ने आँट गर्दिनथेँ। धेरैजसो समय, म कुरा टुङ्ग्याउनका लागि दुई-चार साधारण वाक्यांशहरू मात्र बोल्थेँ। म शैतानका विषहरूद्वारा बलियोसँग बाँधिएकी थिएँ, र म मानिसहरूसँग सङ्गति खोज्न जाँदा पनि शङ्काले भरिएकी हुन्थेँ, र ममा आफूलाई खोल्ने र नाङ्गो पार्ने साहसको कमी थियो। म पीडा र छटपटीमा बाँचिरहेकी थिएँ। यी शैतानी नियमहरू मानिसहरूको स्वार्थको रक्षा गर्न सक्ने जस्तो देखिन्छन्, तर तिनीहरूले मानिसहरूलाई होसियार हुन र कसैसँग कुराकानी गर्दा मनको कुरा नखोल्न अनि उनीहरूले अरूको सामु सधैँ आफूलाई लुकाउनुपर्छ भन्ने सिकाउँछन्। यसरी, जब दुई जना मानिसहरू कुराकानी गर्छन्, एक जना सधैँ होसियार हुन्छ भने अर्कोले अनुमान लगाउँछ, र दुवैले एकअर्कालाई विश्वास गर्दैनन्। तिनीहरू एकअर्काप्रति कपटी र शत्रुतापूर्ण व्यवहार गर्छन्, र आफ्नो व्यवहारमा पाखण्डी हुन्छन्। यसले मानिसहरूलाई झन्-झन् छली बनाउँछ र तिनीहरूमा मानवता झन्-झन् कम हुँदै जान्छ। तब मात्र मैले स्पष्ट रूपमा देखेँ “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू” भन्ने कुरा मानिसको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्त हुँदै होइन। यो त पूर्णतया शैतानले मानिसहरूलाई हानि पुऱ्याउने र आफ्नो धूर्त षड्यन्त्रहरूद्वारा तिनीहरूलाई धोका दिने तरिका हो, र अझ बढी त यो शैतानले मानिसहरूलाई भ्रष्ट पार्न प्रयोग गर्ने माध्यम हो। यस्तो भनाइअनुसार जिउँदा मानिसहरूले आफ्नो सामान्य मानवता गुमाउन मात्र पुग्छन्।
पछि, मैले परमेश्वरका वचनहरू पढ्ने काम जारी राखेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “पारिवारिक शिक्षणमा आफ्नो आनीबानी देखाउने र दुनियाँसित व्यवहार गर्नेसम्बन्धी अरू धेरै नियमहरू समावेश हुन्छन्। उदाहरणको लागि, आमाबुबाले प्रायजसो यसो भन्छन्, ‘अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू; याद राख्, तँ एकदमै मूर्ख र जे पनि पत्याउने खालको छस्।’ … तिनीहरूले तँमा हालिदिने विचारहरू नै दुनियाँसित व्यवहार गर्ने तेरो तौरतरिकाका सिद्धान्त र आधारहरू बन्छन्। जब तँ आफ्ना सहपाठीहरू, सहकर्मीहरू, कामका साझेदारहरू, आफूभन्दा ठूला मानिसहरू, र समाजका हरप्रकारका व्यक्तिहरू, र जीवनको हरक्षेत्रका मानिसहरूसँग अन्तरक्रिया गर्छस्, तब तैँले पारस्परिक सम्बन्धहरूसँग सम्बन्धित मामिलाहरू सामना गर्दा, तेरा आमाबुबाले तँमा हालिदिएका यी सुरक्षात्मक विचारहरू थाहै नपाई तेरा सबैभन्दा आधारभूत सुरक्षा मन्त्र र सिद्धान्त बन्छन्। अनि, यो सिद्धान्त के हो त? यो कि: म तिमीलाई हानि गर्नेछैनँ, तर तिम्रो छल वा धोकामा पर्नबाट जोगिन, समस्या वा मुद्दा-मामिलामा पर्नबाट जोगिन, मेरो परिवारको सम्पत्तिमा हानि हुन र मेरो परिवारका मानिसहरूलाई दुःखमा पर्नबाट जोगाउन, र आफू जेल पर्नबाट जोगिनको लागि म सधैँ तिमीबाट सावधान हुनुपर्छ। अनि, त्यस्ता विचार र दृष्टिकोणहरूको नियन्त्रणमा रहँदै, दुनियाँसित व्यवहार गर्ने यस्तो मनोवृत्ति लिएर यो सामाजिक समूहमा जिउँदा, तँ मन र शरीर दुवैमा झन् उदास, झन् थकित र झन् लखतरान मात्रै हुन सक्छस्। अनि त्यसपछि, तँ यो संसार र मानवजातिप्रति झन् प्रतिरोधी र झन् विमुख बन्छस्, र तैँले तिनीहरूलाई झन् बढी घृणा गर्छस्। अनि, अरूलाई घृणा गर्ने क्रममा, तैँले आफूलाई तुच्छ ठान्न थाल्छस्, र तँलाई आफूले कुनै व्यक्तिजस्तो भएर जिइरहेको छैन, बरु थकित र उदास जीवन जिइरहेको छु भन्ने महसुस हुन्छ। अरूको हानिबाट जोगिनको लागि, तँ आफ्नो इच्छाविपरीत कुराहरू गर्दै र बोल्दै आफ्नो सुरक्षाको लागि सधैँ सतर्क हुनुपर्छ। आफ्नो हित र व्यक्तिगत सुरक्षा रक्षा गर्न खोज्ने क्रममा, तैँले आफ्नो जीवनको हरेक पक्षमा मकुन्डो लगाउँछस् र आफ्नो वास्तविक रूप लुकाउँछस्, र कहिल्यै सत्य वचन बोल्ने साहस गर्दैनस्। यस्तो अवस्थामा, जीवन अस्तित्वका यी अवस्थाहरूमा, तेरो अन्तरात्माले रिहाइ वा स्वतन्त्रता पाउन सक्दैन। तँलाई प्राय त्यस्तो व्यक्ति जरुरी हुन्छ जसले तँलाई कुनै हानि गर्दैन र तेरा चासोहरूमा कहिल्यै कुनै चुनौती दिँदैन, र जोसँग तैँले आफ्ना शब्दहरूको कुनै जिम्मेवारी नलिई, कुनै अपमान, आलोचना, गिल्ला नसही, वा कुनै परिणामहरू नसही आफ्ना भित्री विचारहरू बाँड्न र आक्रोशहरू पोख्न सक्छस्। ‘अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू’ भन्ने विचार र दृष्टिकोण नै दुनियाँसित व्यवहार गर्ने तेरो सिद्धान्त बनेको अवस्थामा, तेरो अन्तरात्मा डर र असुरक्षाले भरिएको हुन्छ। अनि स्वतः तँ उदास रहनेछस्, र छुटकारा पाउन असमर्थ हुनेछस्, र तँलाई सान्त्वना दिने र तेरो कुरा सुनिदिने व्यक्तिको खाँचो हुन्छ। त्यसकारण, यी पक्षहरूलाई हेर्दा, ‘अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,’ भनी तेरा आमाबुबाले सिकाएको दुनियाँसित व्यवहार गर्ने सिद्धान्तले तँलाई रक्षा गर्न त सक्छ, तर यो दुईधारे तरबार पनि हो। यसले केही हदसम्म तेरा भौतिक चासोहरू र तँलाई रक्षा गर्ने भए पनि, यसले तँलाई उदास र हैरान महसुस गराउँछ, र तँ छुटकारा पाउन असमर्थ हुन्छस्, र तँलाई यो संसार र मानवजातिप्रति अझै बढी उदासीन बनाउँछ। यसको साथै, तँलाई भित्री मनमा आफू यस्तो दुष्ट युग र यस्तो दुष्ट मानिसहरूको समूहमा जन्मिएँ भनेर दिक्क पनि लाग्न थाल्छ। आखिर मानिसहरू किन बाँच्नुपर्ने हो, जीवन किन यति थकाइलाग्दो छ, किन तिनीहरूले जहाँ गए पनि मकुन्डो लगाएर आफ्नो वास्तविक रूप लुकाउनुपर्छ, वा किन आफ्ना हितहरू रक्षा गर्न तँ अरूप्रति सधैँ सतर्क हुनुपर्छ भन्ने जस्ता कुरा तैँले बुझ्न सक्दैनस्। तँलाई सत्य कुरा बोल्न सके पनि हुन्थ्यो भन्ने चाहना त हुन्छ, तर त्यसका परिणामहरूको कारण तैँले त्यसो गर्न सक्दैनस्। तँ वास्तविक व्यक्ति बन्न चाहन्छस्, खुलस्त रूपमा बोल्न र व्यवहार गर्न चाहन्छस्, र पूर्ण रूपमा अन्धकारमा जिउने नीच व्यक्ति हुन वा गोप्य रूपमा घृणित र लाजमर्दो काम गर्नबाट जोगिन चाहन्छस्, तर तँ यीमध्ये कुनै कुरा पनि गर्न सक्दैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्वरका वचनहरूले मेरो हृदयको गहिराइलाई छोए। विगतका झण्डै बीस वर्षलाई स्मरण गर्दा, म सधैँ यी शैतानी विषहरूद्वारा जिइरहेकी रहेछु, जस्तै “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,” र “मौनता एक गहना हो, धेरै बोले हुन्छ गल्ती नानाभाँती।” म धूर्त र छली बनेकी थिएँ, सबैसँग होसियार र सतर्क रहन्थेँ, मानिसहरूसँग कहिल्यै इमानदारीसाथ बोल्दिनथेँ। यसले गर्दा म धेरै वर्ष घरबाट टाढा रहेर काम गर्दा मेरा कुनै घनिष्ठ मित्रहरू भएनन्, र म नितान्त एक्लेी थिएँ। परमेश्वरमा विश्वास गरेपछि पनि, म यी शैतानी विषहरूद्वारा नै जिएँ। लिन सिआओले सिन्जिङ्गको समस्या रिपोर्ट गर्दा, उनले वास्तवमा एउटा तथ्य रिपोर्ट गरिरहेकी थिइन्, र यो मण्डलीको कामको रक्षाका लागि थियो; यो परमेश्वरको अभिप्रायअनुरूप थियो। तर, मैले यसलाई कसैको पछाडि उजुरी गरेको रूपमा हेरेँ, र भविष्यमा उनले अगुवालाई मेरा बारेमा उजुरी गरेर मलाई बर्खास्त गराउँछिन् कि भनेर डराएँ। यसकारण, म उनीबाट होसियार भएँ। यसपछि, मेरो अन्तरात्मा असहज भए तापनि, मैले खुल्ने आँट गरिनँ, कतै मैले गलत शब्द बोलेँ वा मेरो साँचो स्थितिबारे कुरा गरेँ भने त्यसले मलाई समस्यामा पार्छ कि भन्ने गहिरो डर थियो, त्यसैले म पीडा र छटपटीमा जिएँ। मैले के मनन गरेँ भने सानैदेखि ममा मेरा आमाबुबाको शिक्षा र समाजको प्रभाव परेका कारणले मैले यस्तो पीडायुक्त र थकाइपूर्ण जीवन जिएँ। यी शैतानी विषहरूले मलाई धूर्त र छली बनाए, त्यसैले म मानिसहरूसँग सामान्य रूपमा व्यवहार गर्न सक्दिनथेँ। यदि मैले यो समस्या पहिले नै समाधान गरेकी भए, मैले मण्डलीको कामलाई हानि पुऱ्याउने वा लिन सिआओलाई बन्धनमा पार्ने थिइनँ। यो कुरा बुझेपछि, मलाई धेरै पछुतो लाग्यो। मैले भविष्यमा आफ्नो कर्तव्यमा ब्रदर-सिस्टरहरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्ने र एक शुद्ध र खुला व्यक्ति बन्ने सङ्कल्प गरेँ।
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ: “कतिपय मानिस परमेश्वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्ने विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू के विश्वास गर्छन् भने, व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइ हासिल गर्न सक्षम छ र पश्चात्ताप गर्न इच्छुक छ भने, के परमेश्वरको घरले उसलाई मौका दिँदैन र? परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर तँमा यदि कुनै विवेक वा समझ छैन, र आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निभाउने मौका पाएको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता खोजी गर्दैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्नो कर्तव्य निभाउने क्रममा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँट गराइ सामना गर्दा तँ पटक्कै समर्पित हुँदैनस् भने, के परमेश्वरको घरले तँलाई अझै पनि कर्तव्य निर्वाह गर्न प्रयोग गर्नेछ त? परमेश्वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ। सबै कुरामा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्लेषण गर्न आवश्यक छैन; तैँले सुन्ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्विकारेर आफ्ना गल्तीहरू सुधार्न सक्नुपर्छ। यस्तो गर्न सकिस् भने, परमेश्वरको घरले कर्तव्य निभाउने तेरो अधिकार खोस्ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता स्विकार्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई सम्हाल्नबाध्य हुनेछ। यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ म पदबाट बर्खास्त हुनेछु भनेर डराएँ किनकि मैले परमेश्वरको धर्मी स्वभाव नै चिनिनछु वा मानिसहरूलाई बर्खास्त गर्नेबारे परमेश्वरको घरका सिद्धान्तहरू नै बुझिनछु। वास्तवमा, परमेश्वरका घरले कुनै व्यक्तिलाई बर्खास्त र निष्कासन गर्ने काम, केवल त्यो व्यक्तिको अस्थायी व्यवहार वा उसले गरेको गल्तीका आधारमा लापरवाहीपूर्वक गरिँदैन। बरु, त्यो व्यक्तिलाई पश्चात्ताप गर्न सम्भव भएसम्मको मौका दिइन्छ, र यदि त्यो व्यक्तिले आफ्नो मार्ग कहिल्यै परिवर्तन गरेन र काममा हानि पुऱ्यायो भने मात्र उसलाई बर्खास्त गरिन्छ। यसैबीच, केही हदसम्म भ्रष्टताहरू प्रकट गर्ने अरू हुन्छन्, तर ब्रदर-सिस्टररूको सङ्गति र मद्दतले, तिनीहरू परमेश्वरसामु पश्चात्ताप गर्न र आफ्ना विचलनहरू परिवर्तन गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरूलाई बर्खास्त गर्ने र हटाउने गरिँदैन। सिन्जिङ्गले दैहिक सुख-सुविधामा लिप्त भई आफ्नो कर्तव्यमा कुनै बोझको महसुस गरिनन्। उनले अगुवाले कामको सुपरिवेक्षण र जाँच गर्दा प्रतिरोध महसुस गरिन् र भेलाहरूमा समेत नकारात्मकता फैलाइन्। लिन सिआओले उनको समस्या औँल्याइन् र उनलाई धेरै पटक मद्दत गरिन्, तर सिन्जिङ्गले कुनै पश्चात्तापयुक्त व्यवहार देखाइनन्। तब मात्र लिन सिआओले सिन्जिङ्गको समस्या रिपोर्ट गरिन्। सिन्जिङ्गलाई बर्खास्त गर्नु सिद्धान्तअनुरूप थियो र यो परमेश्वरको धार्मिकता थियो। तर, मैले उनलाई खुट्याउन सकिनँ, न त मैले परमेश्वरको धर्मी स्वभावलाई नै चिनेँ, र म होसियारी र गलतफहमीको स्थितिमा जिएँ। मैले ममा पनि अगुवाको सुपरिवेक्षणप्रति प्रतिरोधको भावना छ, त्यसैले यदि मैले आफ्नो साँचो स्थितिबारे कुरा गरेँ भने मलाई पदबाट हटाइनेछ भन्ने चिन्ता छ भन्ने सोचेँ। यसकारण, म लिन सिआओ र अगुवाले मेरो स्थितिबारे थाहा पाउँछन् कि भनेर डराएँ। वास्तवमा, परमेश्वरका वचनहरूले परमेश्वरले भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्ने कुरा असङ्ख्य पटक स्पष्ट पार्छन्। मानिसहरूले भ्रष्टता प्रकट गर्नु र काममा विचलन हुनु सामान्य हो। महत्त्वपूर्ण कुरा त तिनीहरूले मनन गर्न र परमेश्वरसामु पश्चात्ताप गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। यो परमेश्वरले भन्नुभएजस्तै हो: “परमेश्वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। यसबाहेक, लिन सिआओले सिन्जिङ्गको समस्या पत्ता लगाएपछि उनीसँग बारम्बार सङ्गति गरेर मद्दत गरिन्। सिन्जिङ्ग अझै पनि सुध्रिइनन्, त्यसैले सिद्धान्तअनुसार उनीबारे तुरुन्तै रिपोर्ट गर्नुपर्थ्यो। यो हरेक परमेश्वरका चुनिएका मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी थियो, र यो मण्डलीको कामको रक्षा गर्नका लागि गरिएको थियो। तर, मैले लिन सिआओले सिन्जिङ्गको समस्याबारे एक शब्द नबोली अगुवालाई रिपोर्ट गरेकी थिइन् भनेर गुनासो समेत गरेँ, र उनीप्रति होसियार बन्दै गलतफहमी पालेँ। यस समयमा मात्र मैले देखेँ मेरो स्वभाव छली मात्र होइन, मेरो बुझाइ पनि निकै विकृत रहेछ।
सिन्जिङ्गलाई बर्खास्त गर्दा ममा अर्को भ्रामक दृष्टिकोण थियो। मैले विश्वास के गरेकी थिएँ भने यदि मैले भेलाको समयमा आफ्नो साँचो स्थिति खोलेँ भने, यसलाई नकारात्मकता पोखेको भनी किटान गरिनेछ, त्यसैले मैले आफ्नो मनमा भएको कुरा बताउने आँट गरिनँ। त्यसपछि, मैले एउटा अनुभवात्मक गवाही लेखमा उद्धृत गरिएको परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र अन्ततः यो दृष्टिकोण सत्यताअनुरूप रहेनछ भनेर बुझ्न सकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आधारभूत रूपमा, नकारात्मकता पोखाउने मानिसहरूका विभिविभिन्न स्थिति र प्रकटीकरणहरू यिनै हुन्। जब प्रतिष्ठा, ख्याति, र लाभ पछ्याउने तिनीहरूको चाहना पूरा भएको हुँदैन, जब परमेश्वरले तिनीहरूका धारणा, र कल्पनाका विपरीत हुने, र तिनीहरूका हितहरूसँग सम्बन्धित कामकुरा गर्नुहुन्छ, तब तिनीहरू अनाज्ञाकारिता र असन्तुष्टिका भावनाहरूको पासोमा पर्छन्। अनि जब तिनीहरूमा यस्ता भावनाहरू हुन्छन्, तब तिनीहरूको मस्तिष्कले बहाना, निहुँ, स्पष्टीकरण, प्रतिरक्षा, र अन्य गुनासोका विचारहरू पैदा गर्न थाल्छ। यस्तो बेला, तिनीहरूले परमेश्वरको प्रशंसा गर्दैनन्, वा तिनीहरू उहाँमा समर्पित हुँदैनन्, तिनीहरूले आफूलाई चिन्न सत्यताको खोजी गर्नु त परै जाओस्; बरु, तिनीहरू आफ्ना धारणा, कल्पना, विचार र दृष्टिकोण, वा दुस्साहस प्रयोग गरेर परमेश्वरविरुद्ध लडाइँ गर्छन्। अनि तिनीहरूले परमेश्वरविरुद्ध कसरी लडाइँ गर्छन्? तिनीहरूले अनाज्ञाकारिता र असन्तुष्टिका आफ्ना भावना फैलाउँछन्, आफ्ना विचार र दृष्टिकोणहरू परमेश्वरलाई स्पष्ट पार्न त्यसको प्रयोग गर्छन्, र आफ्ना चाहनाहरू पूरा गर्नका लागि परमेश्वरलाई आफ्ना इच्छा र मागहरूअनुसार व्यवहार गर्न लगाउने प्रयास गर्छन्; त्यसपछि मात्रै तिनीहरूका भावनाहरू शान्त हुन्छन्। खास गरी, परमेश्वरले मानिसहरूलाई न्याय गर्न र सजाय दिन, तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न, र मानिसहरूलाई शैतानको प्रभावबाट मुक्त गर्न धेरै सत्यता व्यक्त गर्नुहुन्छ, र यी सत्यताहरूले कति जनाको आशिष् पाउने सपनालाई समाप्त गरेका छन् अनि स्वर्गको राज्यमा उठाइलगिने दिनरातको कल्पना कसरी चकनाचुर पारेका छन्, कसलाई थाहा छ र! तिनीहरू परिस्थितिहरू बदल्न सबथोक गर्न चाहन्छन्—तर तिनीहरू शक्तिहीन छन्, नकारात्मकता र द्वेषसाथ विपत्तिमा पर्न मात्र सक्छन्। तिनीहरू परमेश्वरले तय गर्नुभएका यो सबै कुराप्रति अनाज्ञाकारी हुन्छन्, किनभने परमेश्वरले गर्नुहुने काम तिनीहरूका धारणा, इच्छा र सोचसँग बाझिन्छ। विशेष गरी, जब मण्डलीले पखाल्ने काम गर्छ र धेरै मानिसहरूलाई निष्कासन गर्छ, तब यी मानिसहरूले परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न, उहाँले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ, तिनीहरूसँग अनुचित व्यवहार गरिएको छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरू परमेश्वरको अवज्ञा गर्न एक हुनेछन्; तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेछन्, परमेश्वरको पहिचान र सार इन्कार गर्नेछन्, र परमेश्वरको धर्मी स्वभाव इन्कार गर्नेछन्। अवश्य नै, तिनीहरूले यावत् थोकमाथिको परमेश्वरको सार्वभौमिकताको तथ्य पनि इन्कार गर्नेछन्। अनि, कुन माध्यमद्वारा तिनीहरूले यी सबै कुरा इन्कार गर्छन्? अवज्ञा र प्रतिरोधरोधद्वारा। यसको निष्कर्ष के हुन्छ भने, ‘परमेश्वरले गर्नुहुने काम मेरा धारणाहरूविपरीत हुन्छन्, त्यसकारण म समर्पित हुँदिनँ, र तपाईँ सत्यता हुनुहुन्छ भन्ने विश्वास गर्दिनँ। म तपाईँविरुद्ध कोलाहल मच्चाउनेछु, र म मण्डलीमा र मानिसहरूमाझ यी कुराहरू फैलाउनेछु! म जे चाहन्छु त्यही भन्नेछु, र परिणाम जेसुकै होस्, मलाई त्यसको मतलब छैन। मसँग वाक् स्वतन्त्रता छ; तपाईँले मेरो मुख बन्द गर्न सक्नुहुन्न—म जे चाहन्छु त्यही भन्नेछु। तपाईँले के गर्न सक्नुहुन्छ?’ जब यी मानिसहरूले आफ्ना गलत विचार र दृष्टिकोणहरू फैलाउन जिद्दी गर्छन्, तब के तिनीहरूले आफ्नै बुझाइबारे कुरा गरिरहेका हुन्छन् त? के तिनीहरूले सत्यताबारे सङ्गति गरिरहेका हुन्छन् त? बिलकुलै हुँदैनन्। तिनीहरूले नकारात्मकता फैलाइरहेका हुन्छन्; तिनीहरूले विधर्म र भ्रमहरूको आवाज उठाइरहेका हुन्छन्। तिनीहरूले आफ्नो भ्रष्टता चिन्ने वा यसलाई खुलासा गर्ने प्रयास गरिरहेका हुँदैनन्; तिनीहरूले आफूले सत्यताविपरीत गरेका कुराहरू खुलासा गरिरहेका हुँदैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू नै खुलासा गरिरहेका हुन्छन्। बरु, तिनीहरूले आफूलाई सही प्रमाणित गर्न आफ्ना गल्तीहरूको औचित्य पुष्टि गर्न र प्रतिरक्षा गर्न सक्दो प्रयास गरिरहेका हुन्छन्, र यसका साथै तिनीहरूले वाहियात निष्कर्षहरू निकालिरहेका, अनि प्रतिकूल र विकृत दृष्टिकोणहरू, साथै बङ्ग्याइएका तर्क र विधर्महरू उठाइरहेका हुन्छन्। मण्डलीमा रहेका परमेश्वरका चुनिएका मानिसहरूमा यसले पार्ने प्रभाव भनेको तिनीहरूलाई बहकाउनु र बाधा दिनु हो; यसले कतिपय मानिसहरूलाई नकारात्मकता र अन्योलमा समेत डुबाउन सक्छ। यी सबै नै मानिसहरूले नकारात्मकता पोखाएर पैदा गर्ने प्रतिकूल प्रभाव र बाधाहरू हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१७))। परमेश्वरका वचनहरूबाट मैले बुझेँ नकारात्मकता पोख्ने मानिसहरूका सबालमा, आफ्नो इच्छाविपरीत हुने वा आफ्नो प्रतिष्ठा, हैसियत, वा दैहिक स्वार्थमा असर गर्ने कुनै कुरा भएमा, उनीहरू सत्यता खोज्दैनन् वा परमेश्वरको अभिप्राय मनन गर्ने प्रयास गर्दैनन्, बरु अवज्ञा, असन्तुष्टि, र प्रतिरोधको भावना अपनाउँछन्, र आफ्नो धारणा र कल्पना वा भ्रामक दृष्टिकोणहरू फैलाउँछन्। नकारात्मकता पोख्नुको अर्थ यही हो। परमेश्वरमा साँचो विश्वास गर्ने कुनै व्यक्तिले आफ्नो इच्छाविपरीतको कुनै कुराको सामना गर्दा, उसले भ्रष्टता प्रकट गरे तापनि र उसमा धारणा र गलतफहमीहरू भए तापनि, उसमा परमेश्वरको डर मान्ने हृदय हुन्छ र उसले सत्यता खोज्न सक्छ अनि आफूले नबुझेका कुराहरूमा लापरवाहीपूर्वक बोल्दैन। यदि उसले ब्रदर-सिस्टरहरू समक्ष आफ्नो स्थिति खोल्छ भने, उसको उद्देश्य सत्यता खोज्नु, आफ्नो भ्रष्टता समाधान गर्नु, र साँचो पश्चात्ताप र परिवर्तन हासिल गर्नु हो। यसैबीच, नकारात्मकता पोख्ने र धारणा फैलाउने मानिसहरू बाहिरबाट हेर्दा आफ्नो स्थिति खोल्दै गरेका देखिन्छन्, तर तिनीहरू सत्यता खोज्न र आफ्नो समस्या समाधान गर्न त्यसो गरिरहेका हुँदैनन्, बरु आफ्नो स्थिति खोल्ने कुरा आफ्नो अवज्ञा र असन्तुष्टि पोख्ने माध्यमको रूपमा प्रयोग गरिरहेका हुन्छन्। जो मानिसहरू वास्तविकता वा सत्यता नबुझ्ने हुन्छन्, त्यस्ता मानिसहरूद्वारा सजिलै भ्रमित हुँदै, उनीहरूको पक्ष लिइने र परमेश्वर वा परमेश्वरको घरको कामप्रति धारणा र गलतफहमीहरू विकास गरिने हुन्छ। सिन्जिङ्गले अगुवाले कामलाई नजिकबाट निगरानी गर्छिन् र यसको मतलब उनको देहले दुःख भोग्नुपर्ने र मूल्य चुकाउनुपर्ने हुन्छ भन्ने देखिन्, र त्यसैले उनी अनिच्छुक भइन्, र भेलाको समयमा बारम्बार धारणा फैलाउने र आफ्नो असन्तुष्ट मनस्थिति व्यक्त गर्ने काम गरिन्। लिन सिआओले उनीसँग धेरै पटक सङ्गति गरेर मद्दत गरिन्, तर उनले कहिल्यै आफ्नो मार्ग परिवर्तन गरिनन्। जब उनले आफ्नो स्थिति खोलिन्, यो सत्यता खोज्न वा आफ्नो समस्या समाधान गर्नका लागि थिएन; उनी केवल अगुवाप्रति आफ्नो असन्तुष्टि पोखिरहेकी थिइन्। यी व्यवहारहरूबाट मूल्याङ्कन गर्दा, सिन्जिङ्ग नकारात्मकता पोखिरहेकी थिइन्। यसैबीच, मैले भेलाको समयमा आफ्नो भ्रष्ट स्थितिबारे कुरा गर्नुको मतलब म नकारात्मकता पोखिरहेकी हुन्छु भन्ने गलत विश्वास गरेँ, र त्यसैले मैले आफ्नो मनमा भएको कुरा बोल्ने आँट गरिनँ। मेरो बुझाइ साँच्चै निकै विकृत रहेछ। यो कुरा बुझेर, मैले पश्चात्तापमा परमेश्वरसामु प्रार्थना गरेँ, “हे परमेश्वर, मैले तपाईंमा धेरै वर्षदेखि विश्वास गरेकी छु, तर जब ममाथि घटनाहरू आइपरेका हुन्छन्, मैले सत्यता खोजेकी हुन्न। बरु, म छलीपन, शङ्का, र अरूबाट होसियार हुने अवस्थामा बाँचेकी हुन्छु। हे परमेश्वर, कृपया मलाई अभ्यासका लागि सही मार्ग खोज्न र यी गलत दृष्टिकोणहरूबाट निस्कन मार्गदर्शन गर्नुहोस्।”
पछि, जब म आफ्नो समस्या कसरी समाधान गर्ने भनेर खोजी गरिरहेकी थिएँ, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “तेरो परिवारले तँलाई प्राय यसो भनिरहन्छ, ‘अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू।’ वास्तवमा, यो विचार त्याग्ने अभ्यास सरल छ: बस तँ परमेश्वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्तहरूअनुसार काम गर्। ‘परमेश्वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्तहरू’—यो वाक्यांश निकै फराकिलो छ। यसलाई विशिष्ट रूपमा कसरी अभ्यास गरिन्छ? तैँले तँसँग अरूलाई हानि गर्ने अभिप्राय छ छैन भनेर चिरफार गर्नु जरुरी छैन, न त तैँले आफूलाई अरूबाट जोगाउनुपर्ने नै जरुरी छ। त्यसोभए, तैँले के गर्नुपर्छ त? एक हिसाबले, तैँले अरूसँग सद्भावपूर्ण सम्बन्ध कायम राख्ने प्रयास गर्नुपर्छ; अर्को हिसाबले, विभिन्न प्रकारका मानिसहरूसँग व्यवहार गर्दा, तैँले तिनीहरू कस्ता मानिसहरू हुन् भनेर छुट्याउन परमेश्वरका वचनहरूलाई आधारको रूपमा र सत्यतालाई मापदण्डको रूपमा प्रयोग गर्नुपर्छ, र त्यसपछि सम्बन्धित सिद्धान्तहरूको आधारमा तिनीहरूसँग व्यवहार गर्नुपर्छ। यो त्यति सरल छ। यदि तिनीहरू विश्वासी दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तिनीहरूसँग त्यस्तै व्यवहार गर्; यदि तिनीहरू आफ्नो पछ्याइमा गम्भीर छन् र त्याग गर्छन् र समर्पित हुन्छन् भने, तिनीहरूलाई इमानदारीपूर्वक कर्तव्य पूरा गर्ने विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई जस्तो व्यवहार गर्। यदि तिनीहरू अविश्वासी हुन्, कर्तव्य पूरा गर्न इच्छुक छैनन्, र जीवन जिउन मात्र चाहन्छन् भने, तैँले तिनीहरूलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा नभई, गैरविश्वासीहरूको रूपमा व्यवहार गर्नुपर्छ। जब तँ मानिसहरूलाई हेर्छस्, तब तैँले तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्, तिनीहरूको स्वभाव, मानवता, र परमेश्वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो छ भनेर हेर्नुपर्छ। यदि तिनीहरू सत्यता स्विकार्न सक्छन् र सत्यता अभ्यास गर्न इच्छुक छन् भने, तिनीहरूलाई साँचो विश्वासी दाजुभाइ-दिदीबहिनीलाई जस्तो, र परिवारलाई जस्तो व्यवहार गर्। यदि तिनीहरूको मानवता खराब छ, र तिनीहरूले स्वेच्छाले सत्यता अभ्यास गर्छु भनी मुखले मात्र भन्छन्, र तिनीहरू धर्मसिद्धान्तबारे छलफल गर्न सक्षम छन् तर सत्यता अभ्यास कहिल्यै गर्दैनन् भने, तिनीहरूसँग परिवारको रूपमा होइन, श्रमिकको रूपमा मात्र व्यवहार गर्। यी सिद्धान्तहरूले तँलाई के बताउँछन्? तिनीहरूले तँलाई विभिन्न प्रकारका मानिसहरूलाई के-कसरी व्यवहार गर्ने भन्ने सिद्धान्तहरू बताउँछन्—यो सिद्धान्तबारे, अर्थात् मानिसहरूसँग बुद्धि प्रयोग गरेर व्यवहार गर्नुपर्छ भन्ने सिद्धान्तबारे हामीले बारम्बार छलफल गरेका छौँ। बुद्धि एउटा सामान्य शब्द हो, तर विशिष्ट रूपमा हेर्दा, यसको अर्थ विभिन्न प्रकारका मानिसहरूसँग व्यवहार गर्दा फरक-फरक तौरतरिका र सिद्धान्तहरू अपनाउनुपर्छ भन्ने हो—र यो सबै सत्यतामा आधारित हुनुपर्छ, व्यक्तिगत भावनाहरू, व्यक्तिगत रुचिहरू, व्यक्तिगत दृष्टिकोणहरू, तिनीहरूबाट हुने फाइदा र बेफाइदाहरू, वा तिनीहरूको उमेरमा होइन, केवल परमेश्वरका वचनहरूमा आधारित हुनुपर्छ। त्यसकारण, मानिसहरूसँग व्यवहार गर्दा, तैँले तँसँग अरूलाई हानि गर्ने अभिप्राय छ छैन भनेर जाँच्नु वा अरूबाट सतर्क हुनु जरुरी छैन। यदि तँ परमेश्वरले दिनुभएका सिद्धान्त र तौरतरिकाअनुसार मानिसहरूलाई व्यवहार गर्छस् भने, सबै परीक्षाहरूबाट जोगिन सक्छस्, र तँ कुनै पनि परीक्षा वा द्वन्द्वमा पर्नेछैनस्। यो त्यति सरल छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्वरका वचनहरूबाट, मैले अभ्यास गर्ने मार्ग भेट्टाएँ। हामीले पहिले सत्यता सिद्धान्तहरूका आधारमा विभिन्न किसिमका मानिसहरूलाई खुट्याउनुपर्छ। यदि कुनै व्यक्तिले इमानदारीसाथ परमेश्वरमा विश्वास गर्छ र सत्यतालाई प्रेम गर्छ भने, उसलाई ब्रदर वा सिस्टरका रूपमा व्यवहार गर्नुपर्छ, र उसँग पूर्ण रूपले खुलेर कुरा गर्न सकिन्छ। अगुवा र लिन सिआओ दुवै परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्ने र सत्यता खोजी गर्ने सिस्टरहरू थिए। तिनीहरू हाम्रो कामको इन्चार्ज थिए, र कुनै समस्या भएमा वा मैले काममा कठिनाइहरूको सामना गरेमा, वा हामीबिच कुनै बाधा उत्पन्न भएमा, मैले सङ्गति खोज्दै उनीहरूसँग पूर्ण रूपले खुलेर कुरा गर्नुपर्थ्यो। यसरी, तिनीहरूले मेरो स्थिति बुझेर मलाई तुरुन्तै यसको समाधानमा मद्दत गर्न सक्थे, जुन मेरो जीवन प्रवेशका लागि साथै मण्डलीको कामका लागि लाभदायक थियो। यसको विपरीत, यदि म कहिल्यै खुलिनँ, र सधैँ गलत स्थितिमा बाँचिरहेँ भने, मेरो जीवनले घाटा बेहोर्ने मात्र होइन, मैले काममा पनि ढिलाइ गर्ने थिएँ। अब जब मैले परमेश्वरको अभिप्राय र उहाँका मागहरू बुझेकीले, भविष्यमा ब्रदर-सिस्टरहरूसँग व्यवहार गर्दा, मैले इमानदार, शुद्ध, र खुला हुनुपर्थ्यो।
पछि, सु रुई नाम गरेकी एउटी सिस्टर हाम्रो कामको इन्चार्ज भइन्। त्यतिबेला, मेरो कामका परिणामहरू खराब थिए र मेरो स्थिति केही नकारात्मक थियो। जब सु रुई हामीसँग भेला हुन आइन्, उनले मलाई मेरो स्थिति कस्तो छ र हाल मेरो काम कस्तो भइरहेको छ भनेर सोधिन्। मैले मनमनै सोचेँ, “मेरो स्थिति अझै पूर्ण रूपमा सुध्रिएको छैन, र मेरो काममा अझै केही विचलनहरू छन्। यदि मैले आफ्नो साँचो स्थितिबारे कुरा गरेँ भने, के सु रुईले अगुवालाई मेरो समस्या रिपोर्ट गरेर मलाई पदबाट हटाउन लगाउलिन्?” म आफ्नो साँचो स्थितिबारे बोल्न चाहन्नथेँ। तर, मैले सोचेँ यदि मैले यो समस्याबारे बोलिनँ भने, यसको समाधान कहिल्यै हुनेछैन, र म निकै दुविधामा परेँ। त्यसपछि, सु रुईले मसँग सहकार्य गर्ने सिस्टरलाई उनको पछिल्लो स्थितिबारे सोधिन्, र मैले उनले यसबारे पूर्ण रूपमा सबै कुरा बताउन सकेकी देखेँ। मलाई उनको निकै ईर्ष्या लाग्यो, र सोचेँ, “किन मैले खुल्ने आँट गरिनँ?” पछि, मैले निम्न कुरा बताउने परमेश्वरका वचनहरू पढेँ: “चाहे कुनै विचार जे-जस्तो नै होस्, यदि यो गलत छ र सत्यताविरुद्ध जान्छ भने, तैँले छनौट गर्नुपर्ने एकमात्र सही मार्ग भनेको त्यसलाई त्याग्नु हो। त्याग्ने सही अभ्यास त्यही हो: यो कुरा हेर्ने, गर्ने वा सम्हाल्ने मापदण्ड वा आधार अबउप्रान्त तेरो परिवारले तँभित्र हालिदिएका गलत विचारहरू हुनु हुँदैन, बरु यो सब परमेश्वरका वचनहरूमा आधारित हुनुपर्छ। यो प्रक्रियाको लागि तैँले केही मूल्य चुकाउनुपर्ने भए पनि, तँलाई आफ्नो इच्छाविपरीत काम गरिरहेको, इज्जत गुमिरहेको र तेरा दैहिक हितहरूमा घाटा भइरहेको महसुस भए पनि, र तैँले जे कुरा सामना गरे पनि, तैँले तेरो अभ्यासलाई निरन्तर परमेश्वरका वचनहरू र उहाँले तँलाई बताउनुभएका सिद्धान्तहरूअनुरूप बनाउनुपर्छ, र तैँले लत्तो छोड्नु हुँदैन। यो रूपान्तरण प्रक्रिया निश्चय नै चुनौतीपूर्ण हुनेछ, सहज हुनेछैन। तर यो किन सहज हुनेछैन? यो नकारात्मक र सकारात्मक कुराहरूबीचको प्रतिस्पर्धा हो, यो शैतानका दुष्ट विचारहरू र सत्यताबीचको प्रतिस्पर्धा हो, र यो हृदयमा सत्यता र सकारात्मक कुराहरू छनौट गर्ने कि गलत विचार र दृष्टिकोणहरू छनौट गर्ने भन्ने तेरो इच्छा र चाहनाबीचको प्रतिस्पर्धा पनि हो। यस्तो प्रतिस्पर्धा हुने भएकोले, व्यक्तिले कष्ट भोग्नुपर्ने र मूल्य चुकाउनुपर्ने हुन सक्छ—र तैँले गर्नुपर्ने कुरा पनि यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्वरका वचनहरूले मलाई सत्यता अभ्यास गर्ने साहस दिए। यदि म यी भ्रामक सोच र दृष्टिकोणहरूलाई त्याग्न चाहन्थेँ भने, मैले आफ्नो देहविरुद्ध विद्रोह गर्नुपर्थ्यो, आफ्नो स्वार्थ त्याग्नुपर्थ्यो, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्थ्यो। सु रुई मेरो कामको इन्चार्ज थिइन्; मैले उनीसँग आफ्नो साँचो स्थिति र आफ्नो कामका विचलनहरूबारे खुलेर कुरा गर्नुपर्थ्यो। यदि म अझै पनि छली भएँ, छल गरेँ, र उनीप्रति होसियार भएँ भने, मेरा समस्याहरू चाँडोभन्दा चाँडो समाधान हुने थिएनन्, र म आफ्नो काममा भएका विचलनहरूलाई तुरुन्तै सुधार्न सक्ने थिइनँ। त्यसैले, मैले उनीसँग आफ्नो स्थिति र यी विचलनहरूबारे कुरा गरेँ, र उनले मसँग सङ्गति गर्न परमेश्वरका वचनहरू प्रयोग गरिन्, र मेरो स्थितिलाई केही सुधार्न मद्दत गरिन्। यो अनुभव गरेर, मैले प्रत्यक्ष रूपमा के बुझेँ भने जब कोही व्यक्ति शैतानको भ्रामक सोच र दृष्टिकोणहरूद्वारा जिउँछ, त्यसले उसलाई लाभ मात्र नल्याउने होइन, उसलाई सामान्य मानवताविना जिउन बाध्य समेत तुल्याउँछ। यदि कुनै व्यक्तिले परमेश्वरका वचनहरूका आधारमा मानिस र कामकुराहरूलाई हेर्छ, आचरण गर्छ, र काम गर्छ भने मात्र उसले आफ्नो मनमा शान्ति र हृदयमा मुक्ति पाउन सक्छ।