१९. हीनताबोधलाई कसरी समाधान गर्ने
म सानैदेखि बोल्नमा अनाडी थिएँ, जबकि मेरी दिदी चाहिँ वाक्पटु र सुस्पष्ट बोल्न सक्ने थिइन्, र छिमेकीहरू सबैले उनलाई मन पराउँथे। त्यसैले म उनीसँग बाहिर जान डराउँथे, र जब जब म मानिसहरूलाई भेट्थेँ, तब तब उनीहरूबाट उम्कने उपाय खोज्थेँ। स्कुलमा सहपाठीहरूले मलाई मञ्चमा गएर बोल्न बोलाउँदा, मलाई भाषा मिलाउने आफ्नो सीप कमजोर छ भन्ने लाग्थ्यो र आफू मूर्ख बन्छु कि भन्ने डरले, म सिधै अस्वीकार गर्थेँ। जब जब म आफूभन्दा राम्रो भाषा अभिव्यक्ति सीप भएका अरूलाई देख्थेँ, अनि उनीहरूले निर्णायक ढङ्गले र साहसका साथ कामहरू सम्हालेको देख्थेँ, तब तब मलाई ईर्ष्या लाग्थ्यो। म आफूमा वाक्पटुताको कमी र कमजोर क्षमता छ भन्ने सोच्थेँ, जसले गर्दा मलाई धेरै हीनताबोध हुन्थ्यो।
सन् २०२० को अगस्टमा, मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेँ। त्यसपछि, म मण्डलीको अगुवा बनेँ। सुरुमा, ब्रदर-सिस्टरहरूसँग भेलामा उपस्थित हुँदा मैले केही वास्तविक समस्या समाधान गर्न सकेकी थिएँ। पछि, ब्रदर चेन यी र मैले मण्डलीको काममा सँगै काम गर्न थाल्यौँ। एउटा भेलाको दौरान, हामीले सुसमाचारको काममा प्रभावकारिता सुधारका लागि कसरी सहकार्य गर्ने भनेर छलफल गर्यौँ। ब्रदर चेन यीले एक-एक कुरालाई एकदमै स्पष्ट र सुसङ्गत रूपमा सङ्गति गरेको सुनेर, मलाई ईर्ष्या लाग्यो, र मैले म चेन यीले जस्तो राम्रो सङ्गति गर्न सक्दिनँ भन्ने सोचेँ। ब्रदर चेन यीको सङ्गतिपछि, माथिल्लो अगुवाले मलाई भने, “तपाईँले पनि आफ्नो सङ्गति बाँड्नुपर्छ।” म एकदम घबराएँ र सोचेँ, “मेरो भाषा मिलाउने सीप कमजोर छ। यदि मेरो सङ्गति राम्रो भएन भने उनीहरूले मलाई के ठान्नेछन्? आ नगर्नुपर्ला। तर सङ्गति नगर्नुको कुनै बहाना छैन।” त्यसैले, मैले छोटो सङ्गति दिएँ। मैले बोलिसकेपछि, अरूबाट कुनै प्रतिक्रिया आएन, र वातावरण असहज भयो। त्यतिबेला, मलाई धर्ती फाटेर त्यहीँ भासूँजस्तो भयो, र म त्यो ठाउँबाट जतिसक्दो चाँडो छोडेर जान चाहन्थेँ। त्यसपछि, मैले चेन यीसँग काम गर्दा, उनी आफ्नो काममा कति सुस्पष्ट बोल्ने र निर्णायक छन् भन्ने देखेँ, त्यसैले, म हाम्रो सहकार्यको दौरान कम बोल्थेँ। केही बोल्दासमेत, मलाई अत्यन्तै नियन्त्रित महसुस हुन्थ्यो। मैले हाम्रो काममा देखेका विचलन वा समस्याहरू औँल्याउने आँटसमेत गरिनँ, र मेरो क्षमता राम्रो सुझाव दिनका लागि एकदमै कमजोर छ भन्ने सोचेँ। चेन यीको तुलनामा, मलाई आफू धेरै पछाडि छु र अगुवाका रूपमा राम्रो काम गर्न असक्षम नै छु भन्ने लाग्यो। पछि, जब म सुसमाचारको काम लागू गर्न एउटा समूहमा गएँ, तब मैले केही ब्रदर-सिस्टर कठिनाइहरूमा फसेका रहेछन् भन्ने थाहा पाएँ। सुरुमा मैले उनीहरूका समस्याहरू समाधान गर्न उनीहरूसँग सङ्गति गर्ने अभिप्राय राखेकी थिएँ, तर त्यसपछि मैले सोचेँ, “चेन यी पहिले यस समूहका लागि जिम्मेवार थिए। ममा चेन यीको जस्तो क्षमता वा सङ्गति गर्ने योग्यता छैन, र मसँग चेन यीको जस्तो काम गर्ने शैली पनि छैन। यदि मेरो सङ्गति राम्रो भएन भने सबैले मलाई के ठान्नेछन्? सङ्गति नगर्नुपर्ला।” यसबारे सोचेपछि, मैले सङ्गति गरिनँ। त्यस दौरान, जब जब म समस्याहरू सामना गर्थेँ, तब तब पछि हट्थेँ र गर्नुपर्ने बेलामा सङ्गति गर्दिनथेँ, जसले गर्दा कतिपय समस्या लामो समयसम्म समाधान भएन। सुसमाचारको काममा असर पर्यो र ब्रदर-सिस्टरहरूको स्थिति राम्रो भएन। त्यतिबेला, मैले आफूलाई कमजोर क्षमताको र अगुवाको कर्तव्य गर्न नसक्ने ठहर गरेँ, र परमेश्वरले मलाई किन राम्रो क्षमता दिनुभएको छैन भनेर मनमनै गुनासो गरेँ। पछि, अगुवाहरूले मलाई मदत गर्न सङ्गति गरे, तर मैले त्यो स्वीकार गर्न सकिनँ, र मेरो स्थिति सुध्रिएन। अन्त्यमा, मलाई बर्खास्त गरियो।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र त्यसपछि मात्रै मैले आफ्नो स्थितिबारे केही बुझाइ पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “डरपोकहरूलाई जेसुकै भए पनि, तिनीहरूलाई कुनै कठिनाइ आइपर्दा, तिनीहरू लुरुक्क परेर पछि हट्छन्। किन तिनीहरूले यसो गर्छन्? यसको एउटा कारण के हो भने, यो तिनीहरूको हीनताबोधको भावनाले पैदा भएको हुन्छ। तिनीहरूलाई हीनताबोध हुने हुनाले, तिनीहरू मानिसहरूको अघि जाने आँट गर्दैनन्, र तिनीहरूले न त आफूले लिनुपर्ने दायित्व र जिम्मेवारी लिन सक्छन्, न त आफ्नो क्षमता र सामर्थ्यको क्षेत्रभित्र, र आफ्नो मानवताको अनुभवको क्षेत्रभित्र हासिल गर्न सक्ने कुराहरू पनि जिम्मा लिन नै सक्छन्। यो हीनताबोधको भावनाले तिनीहरूको मानवताको हरेक पक्षलाई प्रभाव पार्छ, यसले तिनीहरूको व्यक्तित्वलाई प्रभाव पार्छ, र अवश्यै यसले तिनीहरूको चरित्रलाई पनि प्रभाव पार्छ। अरू मानिसहरूसँग रहँदा, तिनीहरूले आफ्ना दृष्टिकोणहरू बिरलै व्यक्त गर्छन्, र तिनीहरूले आफ्नो दृष्टिकोण वा विचार प्रस्ट्याएको तैँले बिरलै सुन्छस्। जब तिनीहरूले कुनै समस्या सामना गर्छन्, तिनीहरू बोल्ने आँट गर्दैनन्, बरु निरन्तर लुरुक्क परेर पछि हट्छन्। थोरै मानिसहरू हुँदा, तिनीहरूले ती मानिसहरूमाझ बस्ने साहस बटुल्छन्, तर धेरै मानिसहरू छन् भने, मानिसहरूमाझ आउने आँट नभएर तिनीहरू कुनाको ठाउँ र उज्यालो कम भएको ठाउँतिर जान्छन्। जब तिनीहरूलाई आफू सही छु भन्ने कुरा देखाउन सक्रिय र सकारात्मक रूपमा केही भन्न र आफ्ना दृष्टिकोण र विचारहरू बताउन मन लाग्छ, तिनीहरूलाई त्यसो गर्ने आँटसमेत आउँदैन। जब तिनीहरूमा त्यस्तो विचार आउँछ, तब तिनीहरूमा हीनताबोधको भावना अचानक उर्लेर आउँछ, र तिनीहरूलाई नियन्त्रित गर्छ, दबाउँछ, र यसो भन्छ, ‘केही नभन्, तँ गतिलो छैनस्। आफ्ना दृष्टिकोणहरू व्यक्त नगर्, र आफ्ना विचारहरू आफैसँग राख्। यदि तेरो हृदयमा केही कुरा छ र तँलाई साँच्चै यो कुरा भन्न मन लागेको छ भने, यसलाई कम्प्युटरमा टिपोट गरेर राख् र मनमनै यसबारेमा गम्भीर मनन गर्। तैँले यो कुरा कसैलाई बताउनु हुँदैन। तैँले गलत कुरा भनिस् भने के गर्ने? त्यो साह्रै लाजमर्दो हुनेछ!’ यो आवाजले तँलाई यो नगर्, त्यो नगर्, यो नभन्, त्यो नभन् भन्दै तँलाई आफूले भन्न चाहेको हरेक शब्द लुकाउन बाध्य पार्छ। जब तँ आफूले हृदयमा लामो समयदेखि विचार गरेको कुरा भन्न चाहन्छस्, तँ पछि हट्छस् र भन्ने आँट गर्दैनस्, वा तँलाई यो कुरा भन्न लाज लाग्छ, किनभने तैँले यस्तो कुरा भन्नु हुँदैन भन्ने तँलाई विश्वास भएको हुन्छ, र तँलाई त्यो बेला त्यो कुरा बताइस् भने, तैँले कुनै नियम तोडेको वा कानुन उल्लङ्घन गरेको जस्तो भान हुन्छ। अनि, कुनै दिन तैँले आफ्नो दृष्टिकोण सक्रिय रूपमा व्यक्त गरिस् भने, तैँले भित्री रूपमा साह्रै व्याकुल र असहज महसुस गर्छस्। यो ठूलो असहज अनुभूति बिस्तारै हटेर जाने भए पनि, तेरो हीनताबोधको भावनाले तेरो बोल्न चाहने, र आफ्ना दृष्टिकोणहरू राख्न, सामान्य व्यक्ति र अरूजस्तै बन्न चाहने तेरा विचार, अभिप्राय र योजनाहरू बिस्तारै दबाइदिन्छ। तँलाई नबुझेका व्यक्तिहरूले तँलाई थोरै बोल्ने, शान्त बस्ने, लजालु चरित्रवाल, र भीडभन्दा माथि उठ्न नचाहने व्यक्ति ठान्छन्। जब तँ अरू धेरै मानिसहरूमाझ बोल्छस्, तँलाई लाज लाग्छ र तेरो अनुहार रातो बन्छ; तँ अलिक अन्तर्मुखी हुन्छस्, र वास्तवमा, तेरो हीनताबोधबारे तँलाई मात्रै थाहा हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने जब मानिसहरू हीनताबोधमा फस्छन्, तब तिनीहरू नकारात्मक र निराश हुन्छन्, र उनीहरूमा सुध्रिने प्रयास गर्ने सङ्कल्पको कमी हुन्छ। तिनीहरू कमजोर बन्छन् र आफूले गर्ने हरेक कुराबाट पछि हट्छन्, आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूसमेत पूरा गर्न असफल हुन्छन्। तिनीहरू समस्या र विचलनहरू देख्छन् र आफ्ना विचार व्यक्त गर्न वा सुझाव दिन चाहन्छन्, तर तिनीहरूमा साहसको कमी हुन्छ, र आफूलाई असक्षम ठान्छन् र निराशामा डुब्छन्। मेरो स्थिति ठ्याक्कै यस्तै थियो। सानैदेखि, मैले मेरी दिदीलाई हरकुरामा सुस्पष्ट बोलेकी र कुशल देखेकी थिएँ, जबकि म चाहिँ बेढङ्गी र प्रस्ट बोल्न नसक्ने थिएँ। मलाई धेरै हीनताबोध हुन्थ्यो र आफ्ना कमीकमजोरी प्रकट होलान् र मेरो बेइज्जत होला भन्ने डरले, अक्सर त्यस्ता परिस्थितिहरू पन्छाउने गर्थेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, आफ्नो काममा सुस्पष्ट बोल्ने र निर्णायक हुनेहरूका साथमा आफ्नो कर्तव्य पूरा गर्दा, म धेरै निष्क्रिय भएकी थिएँ। मैले आफूलाई कमजोर क्षमताकी र काम गर्न असक्षम ठानेकी थिएँ, र हीनताबोधमा जिएकी थिएँ। मैले गर्नुपर्ने बेलामा सङ्गति गर्ने आँट गरेकी थिइनँ, र बताउनै लागेका रायहरू ठिक त्यति नै बेला अक्सर भित्रै दबाउँथेँ। चेन यीसँग काम गरेको समयलाई चिन्तन गर्दा, जब सुसमाचारको काममा कसरी सहकार्य गर्ने भनेर छलफल गर्थ्यौँ, तब ममा सुरुमा केही विचार थिए, तर उनी कति सुस्पष्ट बोल्ने छन् भन्ने देखेर मलाई आफू अयोग्य लागेको थियो र मैले केही बताउन चाहिनँ। मैले काममा केही समस्या पहिचान गर्न सकेकी थिएँ र तिनलाई उठाउन चाहेकी थिएँ, तर मेरो बोल्ने सीप उनको जस्तो राम्रो छैन भन्ने सोचेर, केही बेर विचार गरेपछि, मैले आफ्ना विचारहरू व्यक्त गरेकी थिइनँ। मैले काम लागू गर्न मण्डलीमा जाँदा र समस्याहरू देख्दा, ती समाधान गर्न सङ्गति गरेकी थिइनँ, जसले गर्दा काममा कुनै प्रगति भएन। म निरन्तर हीनताबोधमा जिइरहेकी थिएँ, र मेरो स्थिति झन्-झन् खराब हुँदै गइरहेको थियो। मैले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्न सकिरहेकी थिइनँ र आफूलाई एकदमै बेकामको महसुस गर्थेँ, मेरो आफ्नो जीवनले मात्र कष्ट भोगेको थिएन, मेरो कर्तव्यमा पनि ढिलाइ भएको थियो। समस्याको गम्भीरता बुझेर, म यस स्थितिलाई चाँडै उल्टाउन चाहन्थेँ।
आत्मिक भक्तिको दौरान, मैले आफूलाई आफ्नो क्षमता कमजोर लाग्नुको कारण त मेरो बोल्ने सीपको कमीबारे अरूका रायहरूले मलाई पारेको प्रभाव पारेकाले रहेछ भनेर बुझेँ, र यो परमेश्वरका वचनहरूका आधारमा कामकुरालाई हेर्न असफल भएकाले गर्दा भएको थियो। त्यसोभए, कुनै व्यक्तिले आफ्नो क्षमता राम्रो छ वा खराब छ भनेर कसरी मापन गर्नुपर्छ त? मैले यस पक्षमा परमेश्वरका वचनहरू खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “त्यसोभए, तैँले आफूलाई सही रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्न सक्छस्, र तँ कसरी हीनताबोधको भावनाबाट मुक्त हुन सक्छस्? तैँले आफ्नो बारे ज्ञान पाउने, आफ्नो मानवता, क्षमता, र प्रतिभाबारे जान्ने, साथै आफूमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारको रूपमा परमेश्वरका वचनहरूलाई लिनुपर्छ। उदाहरणको लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण अहिले तँलाई राम्ररी गाउन आउँदैन भन्ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक जन, ती भ्रमित र औसत मानिसहरूले तेरो बारे गलत मूल्याङ्कन र आलोचना गरेका हुनाले, तेरो मानवताले पाउनुपर्ने अधिकारहरूबाट तँ वञ्चित भइस्, र तेरो प्रतिभा दबियो। परिणामस्वरूप, तँलाई गीत गाउनेसमेत आँट आउँदैन, र कोही नभएको बेला एकलै हुँदा मात्रै तँलाई खुलेर गाउने आँट आउँछ। तँलाई आफूमाथि भयानक दमन गरिएको छ भन्ने सामान्य रूपमै महसुस हुने हुनाले, तँ एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ र तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदै रमाइलो गर्छस्, अनि त्यो कति सुन्दर र स्वतन्त्र समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्वरका वचनहरूअनुसार आफ्नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू के-केमा छन् त्यो पत्ता लगाएर आफूले गर्न सक्ने कुरा गर्नुपर्छ; तैँले गर्न नसक्ने कुराहरू, तेरा कमीकमजोरी र त्रुटिहरूको हकमा, तैँले मनन गरेर तिनलाई चिन्नुपर्छ, र तैँले तेरो क्षमता कस्तो छ, र त्यो असल छ कि खराब छ भनेर सही रूपमा मूल्याङ्कन गर्नु र जान्नुपर्छ। यदि तैँले आफ्ना समस्याहरू बुझ्न वा तीबारे स्पष्ट ज्ञान प्राप्त गर्न सक्दैनस् भने, समझशक्ति भएका र आफूले चिनेजानेका मानिसहरूलाई तेरो बारे मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भनेको कुरा सही भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई एउटा सन्दर्भको रूपमा प्रयोग र विचार गर्न सकिने आधार दिन्छ र तँलाई आफ्नो बारेमा आधारभूत मूल्याङ्कन वा चरित्र चित्रण गर्न सक्षम तुल्याउँछ। अनि, तँ हीनताबोधजस्तो नकारात्मक संवेगको अपरिहार्य समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा मुक्त हुन सक्छस्। यदि व्यक्तिले हीनताबोध चिन्न र त्यसप्रति सतर्क हुन, अनि सत्यता खोजी गर्न सक्छ भने, त्यस्तो हीनताबोधका भावनाहरू समाधान गर्न सजिलै हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। “हामी मानिसहरूको क्षमता कसरी मापन गर्छौँ? सत्यताप्रति उनीहरूको मनोवृत्ति कस्तो छ र उनीहरूले सत्यता बुझ्न सक्छन् कि सक्दैनन् भनी हेर्नु नै यसो गर्ने उचित तरिका हो। कतिपय मानिसहरु अति चाँडो केही विशेषज्ञता हासिल गर्छन्, तर जब तिनीहरू सत्यता सुन्छन्, अन्योलमा पर्छन् र उँघ्न थाल्छन्। तिनीहरूका हृदयमा अन्योल छाउँछ, तिनीहरू आफूले सुनेको कुनै पनि कुरा सम्झँदैनन्, न त आफूले सुनेका कुरा नै बुझ्छन्—कमजोर क्षमता भनेको यही हो। कतिपय मानिसलाई यदि तैँले तिनीहरू कमजोर क्षमताका छन् भनेर भनिस् भने तिनीहरू असहमत हुन्छन्। तिनीहरूले आफू उच्च शिक्षित हुनु र जानकार हुनुको अर्थ असल क्षमताका हुनु हो भन्ने सोच्छन्। के असल शिक्षाले उच्च क्षमताको प्रदर्शन गर्छ त? गर्दैन। मानिसहरूको क्षमता कसरी मापन गर्नुपर्छ? यसलाई तिनीहरूले कुन हदसम्म परमेश्वरका वचन र सत्यता बुझ्छन् त्यसको आधारमा मापन गर्नुपर्छ। यो नै क्षमता मापन गर्ने सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तिक्ष्ण बुद्धिका, र अरू मानिसलाई सम्हाल्न अत्यन्तै सिपालु हुन्छन्—तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब कहिल्यै केही पनि बुझ्न सक्दैनन्, र तिनीहरू परमेश्वरका वचनहरू पढ्दा ती बुझ्दैनन्। तिनीहरू आफ्ना अनुभवात्मक गवाहीबारे कुरा गर्दा, सधैँ वचन र धर्मसिद्धान्तहरू बोल्छन्, जसले गर्दा तिनीहरू जाबो अनुभवहीन देखिन्छन्, र अरूलाई तिनीहरूमा आत्मिक बुझाइ रहेनछ भन्ने भान हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचनहरूबाट मैले देखेँ भने कुनै व्यक्तिको क्षमता मापन मुख्यतया उसले सत्यता बुझ्न सक्छ कि सक्दैन, उसले परमेश्वरका वचनहरूद्वारा आफूलाई चिन्न र परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छ कि सक्दैन, र उसले वास्तविक जीवनका परिस्थितिहरू सामना गर्दा, परमेश्वरका वचनका आधारमा अभ्यासका मार्गहरू भेट्टाउन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्दछ। राम्रो क्षमता भएका मानिसहरूले केही शब्द वा प्रावधान मात्र बुझ्नुको सट्टा परमेश्वरका वचनहरू सुनेपछि, सिद्धान्त र मुख्य बुँदाहरू बुझ्न सक्छन्। उनीहरूसँग आफूले सामना गर्ने परिस्थितिहरूका लागि आफ्नै विचार, राय र समाधानहरू हुन्छन्, र उनीहरू विचलनविना परमेश्वरका वचनअनुसार सही रूपमा अभ्यास गर्न सक्छन्। तर मैले आफ्नो काममा सुस्पष्ट बोल्ने र निर्णायक हुनेहरू नै राम्रो क्षमता भएका मानिस हुन् भन्ने सोचेकी थिएँ। मलाई आफ्नो अभिव्यक्ति क्षमता कमजोर छ र मेरो काममा निर्णायक क्षमताको कमी छ भन्ने लागेकाले, मैले आफूलाई कम क्षमताको ठानेकी थिएँ अनि म हीनताबोध र नकारात्मक महसुस हुने स्थितिमा फसेकी थिएँ, र आफूलाई असक्षम ठानेकी थिएँ। अहिले मात्र मैले यी मामिलाहरूबारे मेरो दृष्टिकोण गलत रहेछ भन्ने बुझेँ। मैले पावलबारे सोचेँ, जोसँग प्रतिभा र वाक्पटुता थियो, र जसले युरोपको अधिकांश भागमा सुसमाचार प्रचार गरे, र धेरै पत्रहरू लेखे, तर उनमा सत्यता बुझ्ने क्षमताको कमी थियो। उनमा प्रभु येशूबारे कुनै समझ थिएन र आफ्नो भ्रष्ट स्वभावको साँचो ज्ञानको कमी थियो। उनले केवल धेरै आत्मिक धर्मसिद्धान्तहरू बोल्न मात्र जानेका थिए, र आफ्ना लागि त जिउनु नै ख्रीष्ट हुनु हो भनेर निर्लज्जतापूर्वक गवाहीसमेत दिए, र अन्ततः उनी परमेश्वरद्वारा हटाइए। यसले उनी राम्रो क्षमताका व्यक्ति थिएनन् भन्ने देखाउँछ। मेरो आफ्नै क्षमताको मूल्याङ्कन सत्यताका सिद्धान्तहरूमा आधारित नभई, मेरा आफ्नै धारणा र कल्पनाहरूमा आधारित थियो, त्यसैले यो गलत थियो। अब, पछाडि फर्केर हेर्दा, म परमेश्वरका वचनहरू बुझ्न र तिनका आधारमा आत्मचिन्तन गर्न र बुझ्न सक्षम थिएँ। मैले काममा भएका केही समस्या र ब्रदर-सिस्टरहरूका स्थितिहरू पनि पहिचान गर्न, यी समस्याहरू समाधान गर्न कसरी सङ्गति गर्ने भनेर जान्न सकेँ, र मैले परमेश्वरका वचनहरूमा अभ्यासका केही मार्ग पनि भेट्टाउन सकेँ। मेरो काम गर्ने क्षमता अलि कमजोर भए पनि र मेरो बोल्ने सीप त्यति राम्रो नभए पनि, जब मैले ध्यान दिएर सहकार्य गरेँ र आफ्नो भूमिका पूर्ण रूपमा निभाएँ, तब आफ्नो कर्तव्य निर्वाहमा केही परिणाम हासिल गर्न सकेँ। ब्रदर-सिस्टरहरूले पनि मेरो क्षमता औसत छ, तर म परमेश्वरका वचनहरू बुझ्न सक्छु भनेर मूल्याङ्कन गरे। उनीहरूले म परिस्थितिहरू सामना गर्दा, आत्मचिन्तन गर्न र पाठ सिक्नमा ध्यान दिन्छु, र ममा केही समझशक्ति छ भन्ने देखे। त्यसबाहेक, कुनै काम खटाइँदा, म लगनशील र सहयोगी हुन्थेँ, र केही परिणाम हासिल गर्न सक्थेँ। यस कुरामा चिन्तन गर्दा, म आफूलाई सही रूपमा हेर्न सक्षम भएँ। म हीनताबोधले बाँधिएकी र नियन्त्रित भएकी थिएँ, र आफ्ना कमीकमजोरीहरूलाई सही रूपमा हेर्न असमर्थ थिएँ। मैले अन्धाधुन्ध आफूलाई कमजोर क्षमताको र काम गर्न असक्षम ठानेकी थिएँ, र त्यस स्थितिमा जिउँदा, म आफूले खेल्नुपर्ने भूमिका खेल्न असफल भएँ, र म आफ्नो कर्तव्य निर्वाहमा निकम्माजस्तो कुनै फरक पार्न असक्षम भएकी थिएँ। मैले आफ्नो कर्तव्यमा आफूले पुर्याएका हानिप्रति नपछुताएकी मात्र होइन्, बरु परमेश्वरले मलाई राम्रो क्षमता दिनुभएन भनेर गुनासो गरेकी थिएँ। मैले आफ्नो कर्तव्यलाई नकारात्मकता र सुस्तताका साथ लिएकी थिएँ। म साँच्चै विद्रोही भएकी थिएँ! वास्तवमा, परमेश्वरले मलाई दिएको क्षमता पर्याप्त थियो। म अब हीनताको स्थितिमा जिउन सक्दिनथेँ। मैले परमेश्वरसामु पश्चात्ताप गर्नुपर्थ्यो, आफ्नो कर्तव्यमा सिद्धान्तहरू खोज्न ध्यान केन्द्रित गर्नुपर्थ्यो, र आफ्ना ब्रदर-सिस्टरहरूसँग सद्भावपूर्ण ढङ्गमा काम गर्नुपर्थ्यो। आफ्ना विचारहरू बाँड्न आवश्यक पर्दा, मैले आफूले बुझेको जति बाँड्नुपर्थ्यो। मैले परमेश्वरले मलाई दिएको कुरा अगाडि ल्याउनु आवश्यक थियो। मेरो बँडाइमा कमीकमजोरी भए पनि, म पछि समस्याहरूलाई सारांशीकरण गर्न सक्थेँ। म अब नकारात्मक वा सुस्त हुनु पटक्कै हुँदैनथ्यो, जसले परमेश्वरलाई निराश तुल्याउँथ्य़ो। त्यसपछि, मण्डलीले मलाई मण्डलीको सफाइ कार्यमा अगुवाहरूलाई सहयोग गर्न खटायो। ममा धेरै कमीकमजोरी भए पनि, म आफ्नो कमजोर क्षमताद्वारा नियन्त्रित हुन छोडेँ।
पछि, मैले आफूभन्दा राम्रो वाक्पटुता र कार्य क्षमता भएका अरूलाई देख्दा मलाई किन हीनताबोध हुन्छ भनेर चिन्तन गरेँ। यसमा कुन भ्रष्ट स्वभावहरू संलग्न थिए? एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूको लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र जीवनभरको लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; त्यसकारण तिनीहरू कामकुरालाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूबाट मैले ख्रीष्टविरोधीहरू आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै माया गर्छन् भन्ने बुझेँ। उनीहरूको जियाइका दैनिक स्थिति र पछ्याइहरू सबै प्रतिष्ठा र हैसियतसँग सम्बन्धित हुन्छन्। जहिले वा जहाँ भए पनि, तिनीहरू प्रतिष्ठा र हैसियत पछ्याउन कहिल्यै छोड्दैनन्। मैले आफू त्यस्तै भएकी छु भनेर चिन्तन गरेँ। मैले आफ्नो कर्तव्य लिएदेखि, जब जब म अरूलाई निर्णायक रूपमा काम गरेको र कुशलतापूर्वक सङ्गति गरेको देख्थेँ, तब तब मलाई उनीहरूप्रति हीनताबोध हुन्थ्यो। त्यसैले म हीनताबोधका साथ जिएकी थिएँ, र मैसे आफूलाई नकारात्मकमा सीमित पारेँ। म आफ्ना कमजोरी खुलासा हुन्छ र इज्जत गुमाउँछु भनेर डराएकी थिएँ, र ममा आफ्नो कर्तव्यहरूको सहकार्यमा कुनै सक्रिय मनोवृत्ति थिएन। म “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” भन्ने शैतानी विषहरूद्वारा जिइरहेकी थिएँ, अरूका रायहरूप्रति विशेषगरी चिन्तित भएकी थिएँ। चेन यीसँग काम गर्दा, उनी हरेक तरिकाले मभन्दा राम्रा छन् भन्ने देखेर, मलाई तुच्छ ठानिनेछु भन्ने डर लागेको थियो। भेलाको समयमा, मैले सकेसम्म कम सङ्गति गर्ने वा गर्दै नगर्ने प्रयास गरेकी थिएँ। मैले काममा समयमै समाधान गर्नुपर्ने विचलन वा समस्याहरू देखेकी भए पनि, तीबारे सङ्गति गर्नबाट पन्छिएकी थिएँ, किनभने म आफ्नो सङ्गति चेन यीको जति राम्रो हुनेछैन र त्यसले मलाई नराम्रो देखाउनेछ भनेर डराएकी थिएँ। मण्डली अगुवाका रूपमा, म मण्डलीकै काममा ध्यान केन्द्रित गर्नेभन्दा, आफ्नै आत्मगौरवमा हानि पुग्छ कि भनेर मात्र चिन्तित भएकी थिएँ। समस्याहरू पत्ता लगाएपछि, मैले तिनलाई पन्छाएकी थिएँ र तुरुन्तै सम्बोधन गरेकी थिइनँ, जसले गर्दा काममा ढिलाइ भएको थियो। म साँच्चै स्वार्थी भएकी थिएँ! परमेश्वरले मलाई उचाल्नुभएको थियो, ताकि मैले सत्यता पछ्याउन, आफ्नो भूमिका पूर्ण रूपमा निभाउन र मण्डलीको कामलाई कायम राख्न सकूँ। तर, अगुवाका रूपमा आफ्ना जिम्मेवारीहरू कसरी पूरा गर्ने भनेर सोच्नुको सट्टा, म हरेक परिस्थितिमा कसरी लज्जित हुनबाट बच्ने भनेर चिन्तित भएकी थिएँ। जब पनि मेरो आत्मगौरव खतरामा पर्थ्यो, तब तब म नकारात्मक बन्थेँ र आफैबारे निष्कर्ष निकाल्थेँ, र परमेश्वरले मलाई राम्रो क्षमता दिनुभएन भनेर गुनासो गर्थेँ। मैले आफ्ना कर्तव्यहरू गर्ने प्रेरणासमेत गुमाएकी थिएँ। मैले ममा विवेक र समझको कत्ति कमी रहेछ भन्ने देखेँ। वास्तवमा, मैले पहिले आफ्ना कर्तव्य निर्वाहमा खराब परिणामहरू पाउनुको कारण पूर्ण तया क्षमताको समस्याले गर्दा थिएन। मुख्य समस्या के थियो भने म भ्रष्ट स्वभावमा जिइरहेकी थिएँ, निरन्तर आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गरिरहेकी थिएँ। मण्डलीको काममा ढिलाइ भए पनि म आफ्नो आत्मगौरवको रक्षा गर्नेथिएँ। ममा परमेश्वरको डर मान्ने हृदय पटक्कै थिएन, मैले आफ्नो प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवनझैँ ठानेकी थिएँ। म ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ। यदि म पश्चात्ताप गरेर परिवर्तन नभएकी भए, निश्चय नै परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ र हटाइनेथिएँ।
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, हामीले आफ्नो कर्तव्य निर्वाहमा सबै कुरा परमेश्वरसामु गर्नैपर्छ र उहाँको छानबिन स्विकार्नैपर्छ। परिस्थितिहरू उत्पन्न हुँदा, हामीले मण्डलीको कामको रक्षालाई प्राथमिकता दिनुपर्छ, आफ्नो आत्मगौरवलाई पन्छाउनुपर्छ, र हामीले गर्नुपर्ने काम पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ। तब मात्र हामी परमेश्वरका अभिप्रायहरूअनुरूप हुनेछौँ। जब म काममा वाक्पटु र निर्णायक हुने ब्रदर-सिस्टरहरूसँग काम गर्थेँ, मैले उनीहरूसँग सद्भावपूर्ण ढङ्गमा सहकार्य गर्नुपर्थ्यो, आफ्ना कमजोरीहरू पूर्ति गर्न उनीहरूका सबलताबाट सिक्नुपर्थ्यो, र आफ्ना कर्तव्यहरू राम्ररी गर्न सँगै काम गर्नुपर्थ्यो। यो कुरा बुझेपछि, मेरो हृदय उज्यालो भयो। त्यसपछि, मैले आफ्नो कर्तव्य निर्वाहमा आफ्ना अभिप्रायहरू सही गर्नमा ध्यान केन्द्रित गरेँ। मैले जति बुझेकी थिएँ त्यति नै सङ्गति गरेँ, अब म आफ्नो आत्मगौरव वा सीमित क्षमताको चिन्ताले म नियन्त्रित हुन छोडेँ, र मण्डलीको सफाइ कार्यमा बिस्तारै सुधार हुन थाल्यो। त्यसको चाँडै पछि, म फेरि मण्डलीको अगुवाका रूपमा चुनिएँ।
केही समयपछि, माथिल्लो अगुवा र म टोली अगुवाहरूसँग बैठक गर्न गयौँ, र उनले मलाई त्यसको अध्यक्षता गर्न लगाइन्। मैले अगुवा कति वाक्पटु, निर्णायक, र ब्रदर-सिस्टरहरूका स्थितिहरू समाधान गर्न तुरुन्तै परमेश्वरका उपयुक्त वचनहरू भेट्टाउन सक्षम छिन्, जबकि म यसमा सङ्घर्षरत छु भनेर सोचेँ। मेरो भाषा सीप कमजोर थियो, र म राम्रो वक्ता थिइनँ, त्यसैले म आफूले बैठक राम्ररी सम्हाल्न सकिनँ भने अरूले मलाई के ठान्ने हुन् भनेर चिन्तित भएँ। मैले म फेरि एकपटक हीनताबोधमा फसेकी छु, र आफ्नो आत्मगौरवबारे चिन्तित भएकी छु भनेर बुझेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, अरू मभन्दा वाक्पटु भएकाले म फेरि हीनताबोधमा फसेकी छु। मलाई मार्गदर्शन गर्नुहोस्। म अहमता र घमण्डद्वारा बाँधिन चाहन्नँ। म मेरो हृदय आफ्नो कर्तव्यमा केन्द्रित गर्न र सक्दो सहकार्य गर्न इच्छुक छु।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरू सम्झेँ: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँछ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २१)। परमेश्वरले प्रत्येक व्यक्तिलाई फरक-फरक प्रतिभा र सबलताहरू दिनुभएको छ। ममा राम्रो क्षमता नभए पनि, जब म इमानदारीपूर्वक परमेश्वरसँग सहकार्य गर्छु, तब उहाँको मार्गदर्शन प्राप्त गर्न सक्छु। आज, मैले अगुवासँगै काम गर्दा, उनका सबलताहरूबाट सिक्नुपर्छ, आफ्नो आत्मगौरव वा हैसियतद्वारा नियन्त्रित हुनु हुँदैन। मैले आफूले बुझेको कुराअनुसार आफ्नो भूमिका निभाउन सक्दो परिश्रम गर्नुपर्छ, र यसरी, म आफ्नो कर्तव्य राम्ररी गर्न सक्छु। यो बुझेपछि, म आफ्नो नियन्त्रित हुन छोडेँ, र मलाई अझ धेरै स्वतन्त्र महसुस भयो। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जुन टोली अगुवाहरूको स्थितिका लागि विशेषगरी उपयुक्त थियो, र मैले मेरो आफ्नै अनुभवात्मक बुझाइ बाँडेँ। टोली अगुवाहरूको नकारात्मक स्थिति परिवर्तन भयो। त्यसपछि, भेलाहरूको समयमा, मैले जति बुझेकी थिएँ त्यति नै बाँडेँ, अरूले मलाई के ठान्लान् भनेर चिन्ता नगरी सक्रिय रूपमा सहभागी भएँ। मैले आफ्ना कमीहरूलाई सही रूपमा सम्हाल्न र आफूलाई सीमित नबनाउन सकेँ। अब, म हीनताबोधको बन्धनबाट मुक्त हुनु परमेश्वरका वचनहरूको मार्गदर्शनको परिणाम हो।