२३. अत्यधिक प्रतिस्पर्धी हुँदा संलग्न सबैलाई हानि पुग्छ
सन् २०१६ मा, म मण्डली अगुवा चुनिएँ। म साँच्चै नै उत्प्रेरित भएँ, र मैले यो कर्तव्य राम्ररी निर्वाह गर्ने र मण्डलीका सबै कामहरू राम्रोसँग सम्हाल्न सक्दो प्रयास गर्ने सङ्कल्प गरेँ, ताकि ब्रदर-सिस्टरहरूले उनीहरूले सही व्यक्ति छानेका रहेछन् भन्ने देखून्। तर मैले चाँडै के थाहा पाएँ भने, मसँग सहकार्य गरिरहेकी सिस्टर लि सिनले, मभन्दा लामो समयदेखि आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइन्, उनको क्षमता पनि राम्रो थियो, र उनी सत्यतामा अझ स्पष्ट रूपमा सङ्गति गर्न सक्थिन्। हामी सँगै भेलामा उपस्थित हुँदा, उनी ब्रदर-सिस्टरहरूले उठाएका धेरैजसो प्रश्नहरूको समाधान गर्न सक्थिन्, र ब्रदर-सिस्टरहरू पनि उनको सङ्गति सुन्न रमाउँथे। यो सब देखेर, मेरो मनमा अलिकति असहज महसुस भयो, “लि सिनको सत्यतामाथिको सङ्गति साँच्चै नै निकै स्पष्ट छ, तर यस्तै भइरह्यो भने, अरूले उनलाई आदर गर्नेछन्। अनि मलाई कसले ध्यान देला र? त्यो त हुँदैन, मैले आफूलाई प्रमाणित गर्ने कुनै उपाय त खोज्नैपर्छ।” त्यसपछि, म प्रायः राति अबेरसम्म बसेर परमेश्वरका वचनहरू धेरै खाने-पिउने र आफूलाई सत्यताले सुसज्जित पार्ने गर्थेंँ। भेलाको दौडान, कसैको परमेश्वरका वचनमाथिको सङ्गति अन्तर्दृष्टियुक्त भएमा, म हतार-हतार टिपोट गर्थेंँ ताकि म त्यो अन्य समूहहरूसँगको भेलामा सङ्गति गर्न सकूँ, र ब्रदर-सिस्टरहरूलाई मैले पनि धेरै कुरा बुझेकी छु भनी देखाउन सकूँ। पछि, लि सिन अलि दुर्गम क्षेत्रमा बस्ने भएकोले, ब्रदर-सिस्टरहरूलाई आफ्ना प्रश्नहरू लिएर उनीकहाँ जान असुविधा हुन्थ्यो, त्यसैले मैले यसलाई मण्डलीको सबै काम आफ्नै हातमा लिने अवसरका रूपमा लिएँ, र कहिलेकाहीँ, म लि सिनसँग छलफलै नगरी व्यवस्थाहरू मिलाउँथेँ। समय बित्दै जाँदा, लि सिन आफूले कुनै महत्त्वपूर्ण भूमिकै ननिभाइरहेको महसुस गर्न थालिन्, र उनको कर्तव्यप्रतिको उत्साह घट्न थाल्यो। यसका साथै, उनको गह्रौँ पारिवारिक बोझले उनको स्थिति झन्-झन् नकारात्मक बनायो, साथै कैयौँ पटक, उनी मलाई देख्दा लामो सुस्केरा हाल्थिन्, र आफू यो कर्तव्य निर्वाह गर्न सक्षम नभएको बताउँथिन्। त्यतिबेला, बाहिरी रूपमा मैले उनीसँग सङ्गति गरेजस्तो देखिए पनि, भित्रभित्रै, म उनी नकारात्मक नै रहुन् भन्ने आशा गर्थेंँ, र यसो गर्दा म अझ बढी विशिष्ट देखिनेछु भन्ने सोच्थेँ। पछि, उनको निरन्तर खराब स्थितिका कारण, लि सिनलाई हटाइयो, र मण्डलीले एक नयाँ अगुवा, सिस्टर वाङ्ग लिङ्गलाई चुन्यो। वाङ्ग लिङ्गको क्षमता राम्रो भएको देखेर, मलाई सङ्गट महसुस भयो, र मलाई केही तालिमपछि, उनले मलाई उछिन्न सक्छिन् भन्ने लाग्यो, त्यसैले म उनलाई विशेष देखिन दिन चाहन्नथेँ। संयोगवश, वाङ्ग लिङ्ग भर्खरै चुनिएकीले, कामसँग अपरिचित थिइन्, त्यसैले मैले मण्डलीको काम पूर्ण नियन्त्रणमा लिन यसैलाई बहाना बनाएँ, र उनलाई आफ्नो प्रतिभा प्रयोग गर्ने मौका दिइनँ। एक पटक, मण्डलीको एउटा काममा तुरुन्तै सङ्गति र कार्यान्वयन आवश्यक पऱ्याे, तर वाङ्ग लिङ्ग स्थानीय नभएकोले, उनी कतिपय भेला हुने ठाउँहरूबारे अपरिचित थिइन्। मैले उनलाई त्यस क्षेत्रसँग परिचित गराउन वा सँगै काम कार्यान्वयन गर्न आफूसँग लगिनँ, बरु उनलाई पन्छाएर, उनको जिम्मेवारीको दायराभित्र पर्ने क्षेत्रहरूमा पनि आफैले काम कार्यान्वयन गरेँ। पछि, मैले ब्रदर-सिस्टरहरूलाई वाङ्ग लिङ्गमा कामप्रति कुनै बोझको भावना छैन समेत भनेँ, र कसरी आफू एक्लै काम कार्यान्वयन गर्न दौडधूप गरिरहेकी थिएँ भनी बताएँ। यसले गर्दा केही ब्रदर-सिस्टरहरू उनीप्रति पूर्वाग्रही भए र उनको सङ्गति सुन्न मानेनन्, फलस्वरूप, वाङ्ग लिङ्ग नकारात्मक बनिन्। मलाई अलिकति दोषी महसुस त भयो, तर मैले आफैँमा चिन्तन गरिनँ। बरु, मैले ब्रदर-सिस्टरहरू सामु मैले आफ्नो कर्तव्यमा कति त्याग र सहन गरेकी छु भन्ने देखाइरहेँ। ब्रदर-सिस्टरहरूले प्रायः कामप्रतिको मेरो बोझ र जिम्मेवारीको भावनाको लागि मेरो प्रशंसा गर्थे, र मण्डली म बिना चल्न सक्दैन भन्थे। यो सुनेर म मनमनै मख्ख पर्थेँ। पछि, मैले परमेश्वरका वचनहरूबाट आफूले अन्तर्दृष्टि वा ज्योति पाउन छोडेकी र प्रार्थनाको समयमा भन्नलाई आफूसँग केही नभएको पाएँ। मेरो दिन अलमल र लक्ष्यहीन स्थितिमा बित्न थाल्यो, र मण्डलीको कामका नतिजाहरू पनि खस्किन थाले। त्यसपछि मात्र मैले मेरो स्थिति ठीक छैन भन्ने महसुस गरेँ, त्यसैले प्रार्थना र खोजी गर्न म परमेश्वरसामु आएँ, र म आफैँलाई चिन्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनी उहाँसँग अनुरोध गरेँ।
मैले परमेश्वरको वचन पढेँ: “ख्रीष्टविरोधीहरूले जे-जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू आफूलाई उच्च पदमा, वरिष्ठताको पदमा राख्ने प्रयास गर्छन्। तिनीहरू साधारण अनुयायीका रूपमा रहेको आफ्नो स्थानप्रति सन्तुष्ट बन्न सक्दैनन्। … कर्तव्यपालनको दौरान तिनीहरूले सधैँ व्यक्तिगत अभिप्रायहरू बोकेका हुन्छन्, र अरूलाई जित्ने आफ्नो जरुरत पूरा गर्न तिनीहरू सधैँ आफूलाई पृथक देखाउन, र आफ्नो इच्छा र महत्त्वाकाङ्क्षा पूरा गर्न चाहन्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, हरेक हिसाबमा प्रतिस्पर्धा गर्ने, अरूभन्दा अलग हुने, उत्कृष्ट बन्ने, र अरूभन्दा माथि उठ्ने प्रयास गर्दै अत्यन्तै प्रतिस्पर्धी हुनेबाहेक, आफ्नो वर्तमान हैसियत, इज्जत र प्रतिष्ठा कसरी कायम राखिराख्ने भनेर पनि विचार गरिरहेका हुन्छन्। यदि तिनीहरूको हैसियत वा प्रतिष्ठा खतरामा पार्ने कोही छ भने, तिनीहरूलाई ढाल्न र हटाउन तिनीहरू कुनै कसर बाँकी छोड्दैनन्, र कुनै कुरा बाँकी राख्दैनन्। तिनीहरू सत्यता पछ्याउन सक्ने, बफादारी र जिम्मेवारी बोधसाथ आफ्नो कर्तव्य निर्वाह गर्नेहरूलाई दमन गर्न घृणित माध्यमहरूसमेत प्रयोग गर्छन्। तिनीहरू उत्कृष्ट रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति डाहा र घृणाले भरिएका पनि हुन्छन्। तिनीहरू विशेषगरी अरू दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र अनुमोदन गर्ने मानिसहरूलाई घृणा गर्छन्; तिनीहरू आफू लागिपरेको कुरा, र आफ्नो प्रतिष्ठा र हैसियतका लागि त्यस्ता मानिसहरू गम्भीर खतरा हुन्छन् भन्ने ठान्छन्, र तिनीहरू हृदयमा यस्तो कसम खान्छन्, ‘कि तँ रन्छस् कि म रहन्छु, हामी दुवै अट्ने कुनै ठाउँ छैन, र यदि मैले तँलाई ढलाएर खतम पारिनँ भने, म आफूलाई माफी दिन सक्दिनँ।’ तिनीहरू फरक विचार व्यक्त गर्ने, तिनीहरूलाई खुलासा गर्ने, वा तिनीहरूको हैसियत खतरामा पार्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति निर्दयी हुन्छन्: तिनीहरू उनीहरूको कमजोरी पत्ता लगाउन उनीहरूलाई आलोचना गर्न र दोष दिन, उनीहरूलाई बदनाम गर्न र ढाल्नका लागि आफूले गर्न सक्ने जुनसुकै उपाय सोच्छन्, र त्यसो नगरेसम्म तिनीहरू विश्राम गर्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरको वचनले खुलासा गरेको कुरा ठ्याक्कै मेरी स्थिति थियो। अगुवा बनेदेखि नै, मैले सधैँ अरूले मलाई कसरी हेर्छन् भन्ने कुरामा ध्यान दिएकी थिएँ। जब मैले मसँग सहकार्य गरिरहेकी सिस्टर मभन्दा असल छिन् भन्ने थाहा पाएँ, मैले त्यो स्वीकार्न सकिनँ, र उनीसँग प्रतिस्पर्धा गर्न अनि आफूलाई उनीसँग तुलना गर्न चाहेँ। मैले अरूलाई उछिन्नै पर्ने, र सबैले मलाई सम्मान गर्नै पर्ने हुन्थ्यो। मैले लि सिनसँग सहकार्य गरिरहेका बेला, मैले उनको क्षमता कुसल रहेको, उनमा राम्रो कार्य सामर्थ्य भएको, उनको सत्यताको सङ्गति प्रस्ट रहेको, र उनले ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सकेकी देखेँ। मलाई ईर्ष्या लाग्यो र यो स्वीकार्न सकिनँ, र मलाई ब्रदर-सिस्टरहरू सबैले उनलाई सम्मान गर्लान् र मलाई हेलाँ गर्लान् भन्ने डर थियो। त्यसैले म अरूको सङ्गतिमा भएको ज्योति अध्ययन गरेर आफूलाई सिँगार्थेंँ, र यसो गरेर अरूले मलाई ठूलो ठानून् भन्ने आशा गर्थेंँ। यतिसम्म भयो कि, म लि सिनभन्दा असल छु भन्ने देखाउनका लागि, मैले मण्डलीका सबै काम आफैले लिएँ र लि सिनलाई हस्तक्षेप गर्न दिइनँ, अनि गुपचुप रूपमा उनलाई पन्छाएँ। लि सिनको स्थिति राम्रो नभएको देख्दा पनि, मैले मतलब गरिनँ, किनभने मलाई डर थियो यदि उनको स्थिति सुधारियो भने, उनको कामका नतिजाहरू मेरोभन्दा राम्रा हुनेछन्। वाङ्ग लिङ्गसँग सहकार्य गरिरहेका बेला, म एकदमै प्रतिस्पर्धी पनि थिएँ। मलाई वाङ्ग लिङ्गले भर्खरै अगुवाको रूपमा तालिम लिन थालेकी हुन् र मैले उनलाई मद्दत र समर्थन गर्नुपर्छ भन्ने राम्ररी थाहा थियो, तर जब मैले उनको क्षमता राम्रो भएको देखेँ, मलाई के डर लाग्यो भने एकपटक उनले काम राम्ररी बुझेपछि, उनले मलाई उछिन्न सक्छिन् र मेरो हैसियतमा असर पार्न सक्छिन्। त्यसैले मैले आफ्नो काम गर्ने क्षमता देखाउन एक्लै काम गरेँ र उनलाई आफ्नो प्रतिभाको पूर्ण उपयोग गर्ने कुनै मौका दिइनँ। मैले आफूलाई उचाल्दै उनको पिठ्यूँ पछाडि उनको निन्दासमेत गरेँ, जसको परिणामस्वरूप ब्रदर-सिस्टरहरू उनीविरुद्ध पूर्वाग्रही भए र उनलाई पन्छाए, र अन्ततः उनी नकारात्मकतामा डुबिन्। जब मैले आफूले यी कामहरू गरेको बारे सोचेँ, मलाई साँच्चै नै आफूमा मानवता नभएको र निकै घृणित भएको महसुस भयो। ब्रदर-सिस्टरहरूले मलाई अगुवा बन्नका लागि चुनेका थिए, र मैले यो मौकाको कदर गर्नुपर्थ्यो। मैले मण्डलीको काम राम्रोसँग गर्न ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्नुपर्थ्यो। तर मैले आफ्नो कर्तव्यमा अरूसँग कसरी सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्ने र बफादार हुने भन्नेबारे सोचिनँ। बरु, मानिसहरूले मलाई सम्मान गरून् भनेर मैले निरन्तर ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गरेँ। मेरो व्यवहारले ती दुई सिस्टरहरलाई बन्धनमा मात्रै पारेन, मण्डलीको कामलाई समेत असर गर्यो। अब म अन्धकारमा खसेकी थिएँ, र यो मलाई परमेश्वरले दिनुभएको ताडना र अनुशासन थियो, र मैले के महसुस गरेँ भने मैले चिन्तन र पश्चात्ताप नगरे म परमेश्वरद्वारा तिरस्कृत हुनेछु। यो सोचले मलाई साँच्चै नै डरायो, त्यसैले मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु। म फेरि कहिल्यै मेरा ब्रदर-सिस्टरहरूसँग प्रतिस्पर्धा गर्नेछैन।” त्यसपछि जब मैले आफ्नो कर्तव्य पूरा गरेँ, मैले जानीबुझीकनै आफूलाई पन्छाउन थालेँ र वाङ्ग लिङ्गसँग प्रतिस्पर्धा गर्न छोडेँ। बरु, मैले मण्डलीको काम गर्न उनीसँग कसरी सहकार्य गर्ने भनेर सिकेँ र उनलाई आफ्नो कर्तव्यसित छिटोभन्दा छिटो परिचित हुन मद्दत गर्न थालेँ। वाङ्ग लिङ्गको स्थितिमा सुधार भयो, उनले सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न थालिन्, र उनले केही वास्तविक समस्याहरू समाधान गर्न सकिन्। यो देखेर मलाई लाज लाग्यो। मलाई थाहा थियो मैले सधैँ वाङ्ग लिङ्गसँग प्रतिस्पर्धा गरिरहेकी र उनलाई तालिमको मौका कहिल्यै नदिएकी हुनाले नै उनी हताश भएकी थिइन्। अहिले हामीले सहकार्य गरिरहेका हुनाले, वाङ्ग लिङ्गले आफ्नो प्रतिभाको पूर्ण उपयोग गर्न सकिन्, र मण्डली जीवनमा प्राप्त नतिजाहरूमा पनि सुधार भयो। म यसमा धेरै खुसी थिएँ, र मैले यस क्षेत्रमा केही प्रवेश हासिल गरेकी छु भन्ने महसुस गरेँ, तर मेरो भ्रष्ट स्वभावले ममा गहिरो जरा गाडेको हुनाले, केही समयपछि नै म फेरि ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्ने स्थितिमा फर्किएँ।
सन् २०१८ को सेप्टेम्बरमा, हाम्रो मण्डली नजिकैको अर्को मण्डलीसँग गाभियो, र म फेरि अगुवाको रूपमा चुनिएँ। म धेरै खुसी थिएँ, किनभने मण्डली गाभिएपछि पनि अगुवाको रूपमा निरन्तरता पाउनुले म सक्षम छु भनी प्रमाणित गर्यो जस्तो मलाई लाग्यो। तर त्यसपछि मैले आफूले सहकार्य गर्नुपर्ने दुई सिस्टरहरूका बारेमा सोचेँ। एउटी थिइन् सिस्टर पाङ्ग जिङ्ग, जसले धेरै वर्षदेखि अगुवाको रूपमा सेवा गरेकी थिइन्। उनी धेरै सिद्धान्तहरू बुझ्थिन्, उनको अनुभव पनि धेरै थियो र उनी प्रायः सत्यता सङ्गति गरेर ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सक्थिन्। अर्की थिइन् सिस्टर चेन मिन, जसको क्षमता र काम गर्ने क्षमता दुवै निकै राम्रो थियो। त्यसैले मलाई ठूलो दबाब महसुस भयो, र म उनीहरू दुवै मभन्दा कुसल भएकोले ब्रदर-सिस्टरहरूले मलाई हेला गर्लान् र म हामीहरू मध्ये सबैभन्दा कमजोर देखिइउँला कि भनेर चिन्तित भएँ। यसकारण, मैले गोप्य रूपमा आफ्नो प्रयासलाई दोब्बर बनाउन थालेँ, र समूह भेलाहरूमा जानका लागि हरेक दिन थप समय निकालेँ, किनभने मैले सोचेकी थिएँ धेरै काम गरेर, धेरै दुःख सहेर, र उनीहरूभन्दा ठूलो मूल्य चुकाएर मैले उनीहरूलाई उछिन्न सक्छु। मैले विशेष गरी पाङ्ग जिङ्गको जिम्मेवारीअन्तर्गत पर्ने ब्रदर-सिस्टरहरूसँग समय बिताउन थप प्रयास गरेँ। उनीहरूको जिम्मेवारीमा रहेका ब्रदर-सिस्टरहरूको अनुमोदन प्राप्त गर्ने आशामा, म हरेक समूह भेलामा उपस्थित हुन्थेँ। एक पटक, मैले पाङ्ग जिङ्गले उनको क्षेत्रको एउटा समूहमा ब्रदर-सिस्टरहरूले कहिल्यै सामञ्जस्यपूर्ण रूपमा काम गर्न नसकेका, र उनले उनीहरूसँग धेरै पटक सङ्गति गर्दा पनि समस्या समाधान गर्न नसकेकी भनेर बताएको सुनेँ। मैले सोचेँ, “मैले सङ्गति गर्दै यस समस्याको समाधान गर्ने यो मौका छोप्नै पर्छ। त्यसले म उनीभन्दा उत्कृष्ट छु भन्ने देखाउनेछ।” त्यसैले मैले यो समूहलाई भेट्न तुरुन्तै समय मिलाएँ। मेरो धैर्यपूर्ण सङ्गतिपछि, मैले अन्ततः ब्रदर-सिस्टरहरूको स्थिति समाधान गरेँ। अतिथिसत्कारक घरकी सिस्टरले त पाङ्ग जिङ्गकै अगाडि समस्या समाधान गर्ने मेरो क्षमताको प्रशंसासमेत गरिन्। यो सुनेर म मनमनै मख्ख परेँ र आफूलाई निकै सक्षम ठानेँ। पछि, आफ्नो राम्रो छवि स्थापित गर्न, म प्रायः दिनभरि विभिन्न समूहहरूको भेलामा उपस्थित हुन्थेँ, र राति १ बजेसम्म बसेर परमेश्वरका वचनहरू पढ्थेँ र सामग्रीहरू अनुसन्धान गर्थेंँ, ताकि म समस्याहरूलाई तुरुन्तै सम्बोधन गर्न सकूँ। ब्रदर-सिस्टरहरूले म सत्यता सङ्गति गर्न सिपालु छु भन्ने देखून् भन्ने आशामा म हरेक भेलाअघि एक शिक्षकले पाठ योजना बनाएजस्तै तयारी गर्थेंँ। एक पटक, म अर्को क्षेत्रको भेलामा उपस्थित भएकीले, मैले एउटा समूह भेला छुटाएँ। ब्रदर-सिस्टरहरूले म जिम्मेवार छु भनी सोचून् भनेर, भोलिपल्ट फर्केपछि, मैले छुटेको भेला पूर्ति गर्न हतार-हतार समय मिलाएँ। तर अप्रत्याशित रूपमा, भेलामा जाँदै गर्दा, मेरो इलेक्ट्रिक बाइकको पछाडिको टायर अचानक पन्चर भयो। मैले आफूलाई पानी र हिउँ परिरहेको बेला एक अज्ञात ठाउँ बिच अलपत्र परेकी पाएँ, र केही बेर त के गर्ने केही थाहा पाइनँ। म के गर्ने के नगर्ने भइरहेको बेला, मलाई अचानक के याद आयो भने हरेक दिन हामीमाथि आइपर्ने सबै मानिस, घटना र कामकुराहरू परमेश्वरकै अनुमतिले हुन्छन्, र सायद यो स्थितिमा मैले सिक्नुपर्ने कुनै पाठ थियो। चिन्तन गरेपछि, मैले भेलामा उपस्थित हुने मेरो अभिप्राय सही थिएन भन्ने महसुस गरेँ। म ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनहरूमा सङ्गति गर्न र सत्यता बुझ्न उपस्थित भइरहेकी थिइनँ, बरु उनीहरूले ममा बोझ र जिम्मेवारीको भावना छ भनी देखून् र मलाई आदर गरून भनेर यो भेलालाई एक मौकाको रूपमा प्रयोग गर्न खोजिरहेकी थिएँ। म अझै पनि ख्याति, प्राप्ति र हैसियतको लागि काम गरिरहेकी थिएँ।
पछि, मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले शक्ति र हैसियत प्राप्त गर्नका लागि मण्डलीमा गर्ने पहिलो कुरा भनेको अरूको भरोसा र उच्च सम्मान जित्ने प्रयास गर्नु हो, ताकि तिनीहरूले अझै धेरै मानिसलाई विश्वस्त गराउन अनि आदर र आराधना गर्ने बनाउन सकून्, यसरी मण्डलीमा हैकम चलाउने र शक्ति हातमा लिने आफ्नो उद्देश्य हासिल गर्न सकून्। जब शक्ति प्राप्त गर्ने कुरा आउँछ, तब तिनीहरू अरूसँग प्रतिस्पर्धा र लडाइँ गर्न सबैभन्दा बढी सिपालु हुन्छन्। सत्यता पछ्याउने, मण्डलीमा प्रतिष्ठा भएका र दाजुभाइ-दिदीबहिनीहरूले प्रेम गर्ने मानिसहरू नै तिनीहरूको प्राथमिक प्रतिस्पर्धी हुन्छन्। तिनीहरूको हैसियत खतरामा पार्ने जोकोही तिनीहरूको प्रतिस्पर्धी हुन्छ। तिनीहरू नडराई आफूभन्दा बलिया मानिसहरूसँग प्रतिस्पर्धा गर्छन्; र तिनीहरू कुनै दया नदेखाई आफूभन्दा कमजोर मानिसहरूसँग प्रतिस्पर्धा गर्छन्। तिनीहरूको हृदय युद्धको दर्शनले भरिएको हुन्छ। तिनीहरू यदि मानिसहरूले प्रतिस्पर्धा र लडाइँ गरेनन् भने कुनै फाइदा प्राप्त गर्न सकिनेछैन, प्रतिस्पर्धा र लडाइँ गरेर मात्रै आफूले चाहेका कुरा प्राप्त गर्न सक्नेछु भन्ने विश्वास गर्छन्। तिनीहरू हैसियत प्राप्त गर्न र मानिसहरूको समूहमा प्रमुख स्थान लिनका लागि अरूसँग प्रतिस्पर्धा गर्न जेसुकै गर्नुपरे पनि गर्छन् र तिनीहरूको हैसियत खतरामा पार्ने एउटै व्यक्तिलाई पनि छोड्दैनन्। तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि तिनीहरू युद्ध गर्ने चाहनाले भरिएका हुन्छन् र तिनीहरू वृद्ध हुँदा पनि लडाइँ गर्छन्। तिनीहरू प्रायजसो ‘के मैले त्यस व्यक्तिसँग प्रतिस्पर्धा गरेँ भने त्यसलाई जित्न सक्छु?’ भनेर प्रायः सोध्छन्। बोल्न सिपालु, तर्कसङ्गत, संरचनात्मक र विधिवत् तरिकाले बोल्न सक्ने व्यक्ति तिनीहरूको डाहा र नक्कलको निसाना बन्छ। त्योभन्दा पनि, ऊ तिनीहरूको प्रतिस्पर्धी बन्छ। सत्यता पछ्याउने र विश्वास भएका, दाजुभाइ-दिदीबहिनीहरूलाई बारम्बार सहयोग र साथ दिन सक्ने, र तिनीहरूलाई नकारात्मकता र कमजोरीबाट निस्कन सक्षम बनाउने व्यक्ति पनि तिनीहरूको प्रतिस्पर्धी बन्छ, त्यसैगरी कुनै निश्चित पेसामा विज्ञ र दाजुभाइ-दिदीबहिनीहरूले केही हदसम्म आदर गर्ने व्यक्ति पनि तिनीहरूको प्रतिस्पर्धी बन्छ। आफ्नो काममा परिणामहरू प्राप्त गर्ने र माथिबाट मान्यता प्राप्त गर्ने व्यक्ति स्वाभाविक रूपमै तिनीहरूको प्रतिस्पर्धाको झनै ठूलो स्रोत बन्छ। ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए पनि, तिनीहरूको आदर्शवाक्य के हुन्छ? आफ्ना विचारहरू बताऊ त। (अरू मानिस र स्वर्गसँग लडाइँ गर्नु अनन्त रमाइलोको स्रोत हो।) के यो पागलपन होइन र? यो पागलपन हो। अरू केही छ? (परमेश्वर, के तिनीहरूले यस्तो सोच्दैनन् र: ‘समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ?’ अर्थात्, तिनीहरू सबैभन्दा उच्च हुन चाहन्छन् र तिनीहरू जोसँग भए पनि सधैँ अरूलाई उछिन्न चाहन्छन्।) यो तिनीहरूका विचारमध्ये एउटा हो। अरू केही छ? (परमेश्वर, मलाई चार शब्द याद आयो: ‘विजेता नै राजा हो।’ मलाई लाग्छ तिनीहरू जहाँ भए नि सधैँ अरूभन्दा श्रेष्ठ र उत्कृष्ट हुन चाहन्छन् र तिनीहरू सबैभन्दा उच्च हुने प्रयास गर्छन्।) तिमीहरूले बोलेका धेरैजसो कुरा विचारका प्रकार हुन्; तिनलाई व्याख्या गर्न एक प्रकारको व्यवहार प्रयोग गर्ने प्रयास गर। ख्रीष्टविरोधीहरू जहाँ भए नि सबैभन्दा उच्च पद ओगट्न चाहन्छन् नै भन्ने हुँदैन। कुनै ठाउँमा जाँदा तिनीहरूसँग एउटा स्वभाव र मानसिकता हुन्छ जसले तिनीहरूलाई कुनै काम गर्न बाध्य पार्छ। त्यो मानसिकता के हो? त्यो हो: ‘मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ!’ किन एउटा ‘प्रतिस्पर्धा’ नभई, तीनवटा ‘प्रतिस्पर्धा’? (प्रतिस्पर्धा तिनीहरूको जीवन बनेको हुन्छ र तिनीहरू यसैअनुसार जिउँछन्।) यो तिनीहरूको स्वभाव हो। तिनीहरू अत्यन्तै अहङ्कारी र काबुमा राख्न कठिन स्वभावका साथ जन्मेका हुन्छन्, अर्थात् तिनीहरू आफूलाई कोहीभन्दा कम ठान्दैनन् र तिनीहरू अत्यन्तै घमण्डी हुन्छन्। तिनीहरूको यस्तो अहङ्कारी स्वभावलाई कसैले कम गर्न सक्दैन; तिनीहरू आफैले पनि यसलाई नियन्त्रण गर्न सक्दैनन्। त्यसकारण तिनीहरूको जीवन नै लडाइँ र प्रतिस्पर्धा हुन्छ। तिनीहरू केका लागि लडाइँ र प्रतिस्पर्धा गर्छन्? स्वाभाविक रूपमै तिनीहरू ख्याति, प्राप्ति, हैसियत, इज्जत र आफ्नै हितहरूका लागि प्रतिस्पर्धा गर्छन्। तिनीहरूले जस्तोसुकै विधिहरू प्रयोग गर्नु परे पनि, सबै जना तिनीहरूप्रति समर्पित हुन्छन् भने, तिनीहरूले आफ्ना लागि फाइदा र हैसियत प्राप्त गर्न सक्छन् भने, तिनीहरूले आफ्नो लक्ष्य हासिल गरिसकेका हुन्छन्। प्रतिस्पर्धा गर्ने तिनीहरूको इच्छा क्षणिक रमाइलो होइन; यो शैतानी प्रकृतिबाट आउने स्वभाव हो। यो त स्वर्ग, पृथ्वी र मानिसहरूसँग लडाइँ गर्ने ठूलो रातो अजिङ्गरको जस्तो स्वभाव हो। अहिले, मण्डलीमा ख्रीष्टविरोधीहरूले अरूसँग लडाइँ र प्रतिस्पर्धा गर्दा तिनीहरू के चाहन्छन्? निस्सन्देह, तिनीहरूले प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्। तर हैसियत प्राप्त गरे पनि तिनीहरूका लागि यसको के काम? यदि अरूले तिनीहरूको कुरा सुन्छन्, तिनीहरूलाई उच्च सम्मान गर्छन् र उपासना गर्छन् भने यसको फाइदा के हुन्छ? ख्रीष्टविरोधीहरू आफै यो कुरा व्याख्या गर्न सक्दैनन्। वास्तवमा तिनीहरूलाई प्रतिष्ठा र हैसियतमा रमाउन, अनि सबै जना तिनीहरूसँग मुस्कुराएको र सबैले तिनीहरूलाई चापलुसी र जीहजुरी गर्दै अभिवादन गरेको मन पर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनले के खुलासा गर्छन् भने ख्रीष्टविरोधीहरू साँच्चै ख्याति, प्राप्ति र हैसियतलाई प्रेम गर्छन्, र उनीहरू जोसुकैसँग भए तापनि, उनीहरू आफूलाई अरूसँग प्रतिस्पर्धा गर्न र तुलना गर्न मन पराउँछन्। उनीहरू सधैँ अरूलाई उछिन्न चाहन्छन् ताकि मानिसहरूले उनीहरूलाई आदर र आराधना गरून्, र उनीहरू ख्याति, प्राप्ति र हैसियतको लागि अरूसँग प्रतिस्पर्धा गर्न र लड्न बेइमान तरिकाहरू अपनाउनसमेत तयार हुन्छन्। उनीहरूले नगर्ने कुनै घृणित काम छैन। परमेश्वरका वचनहरूको ज्योतिमा आफूमाथि चिन्तन गर्दै, मैले आफूले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको जस्तै रहेछ भन्ने देखेँ। बाल्यकालदेखि वयस्क हुँदासम्म, म “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “महापुरुष एक जना मात्रै हुन सक्छ” जस्ता शैतानी विषहरूद्वारा जिएकी थिएँ। म आफूले जे गरे पनि, सधैँ अरूभन्दा राम्रो गर्न चाहन्थेँ, र जहाँ गए पनि, म अरूको प्रशंसा र सराहना जित्न चाहन्थेँ। परमेश्वरमा विश्वास गरेपछि पनि, म सधैँ आफूले गरेका हरेक कुरामा आफूलाई प्रदर्शन गर्न र अरूभन्दा राम्रो हुन चाहन्थेँ, अनि म प्रतिष्ठा र हैसियतका लागि निरन्तर प्रयास र प्रतिस्पर्धा गरिरहन्थेँ। म अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सक्दिनथेँ, र मैले आफूलाई माथि उठाउन आफ्ना सहकर्मी सिस्टरहरूलाई पन्छाउने र हेला गर्ने कामसमेत गरेँ। आफूले समस्याहरू समाधान गर्न सङ्गति गर्ने भेलाहरूमा समेत, मेरो लक्ष्य सधैँ आफ्ना सहकर्मी सिस्टरहरूलाई उछिन्नु मात्र हुन्थ्यो। मैले यी शैतानी विषहरूको जियाइले मलाई झन्-झन् अहङ्कारी र दुर्भावपूर्ण बनाएको महसुस गरेँ। मैले केवल आफ्नो प्रतिष्ठा र हैसियतको ख्याल गरेँ, र मैले परमेश्वरको अभिप्राय वा मण्डलीको हितका बारेमा सोचिनँ। परिणामस्वरूप, मैले मेरा ब्रदर-सिस्टरहरूलाई चोट पुऱ्याएँ र मण्डलीको काममा बाधा-अवरोध पुऱ्याएँ। मैले आफ्नो पदलाई सुदृढ पार्न असहमति राख्नेहरूलाई पन्छाउने र दमनसम्म गर्ने ती निष्कासित ख्रीष्टविरोधीहरूका बारेमा सोचेँ। उनीहरूले मण्डलीको काममा वाधा-अवरोध पुऱ्याए, र अन्ततः, उनीहरू आफ्ना धेरै दुष्ट कार्यहरूद्वारा परमेश्वरको स्वभावलाई चिढ्याएका कारण हटाइए। मैले आफू तिनै ख्रीष्टविरोधीहरूको जस्तो मार्गमा हिँडिरहेकी महसुस गरेँ। मैले निरन्तर प्रतिष्ठा र हैसियत पछ्याएँ, र मैले पश्चात्ताप नगरेमा, मैले परमेश्वरको स्वभावलाई निश्चय नै चिढ्याउनेथिएँ र उहाँद्वारा दण्डित हुनेथिएँ। मलाई निक्कै डर लाग्यो, र म पछुतो अनि आत्मग्लानिले भरिएँ। मैले आफैसँग सङ्कल्प गरेँ, “मैले देहको विरुद्ध विद्रोह गर्नैपर्छ, सत्यता अभ्यास गर्नैपर्छ, अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न आफ्ना सिस्टरहरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्नैपर्छ।”
पछि, मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “तैँले यी कुराहरूलाई छोड्न र पन्छाउन, अरूहरूलाई सिफारिस गर्न, र तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा चम्कने अवसर भेट्नेबित्तिकै फाइदा लिन संघर्ष वा हतार नगर्। तैँले यी कुराहरू पन्छ्याउन सक्नुपर्छ, र कर्तव्य निर्वाह गर्न ढिलाइ पनि गर्नु हुँदैन। तँ यस्तो व्यक्ति बन् जो चुपचाप गुमनामीमा काम गर्छ, र निष्ठापूर्वक कर्तव्य निभाउँदा अरूलाई धाक देखाइहिँड्दैन। तैँले आफ्नो घमण्ड र हैसियत जति धेरै छोड्छस्, र तैँले आफ्ना हितहरू जति धेरै त्याग्छस्, तँ त्यति नै धेरै शान्ति महसुस गर्नेछस्, तेरो हृदयभित्र त्यति नै धेरै ज्योति हुनेछ, र तेरो स्थिति त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ मलाई विश्वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यसप्रकारको भ्रष्ट अवस्था सुल्ट्याउन चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सत्यता खोजी गर्नुपर्छ, र यी कुराहरूको सार स्पष्टसित बुझ्नुपर्छ, र त्यसपछि तिनलाई पन्छाउनु र परित्याग गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनले मलाई अभ्यासको मार्ग दिए। मामिलाहरू सम्हाल्दा, मैले आफ्ना व्यक्तिगत रुचि, प्रतिष्ठा र हैसियतलाई पन्छाउन सिक्नुपर्छ, र मण्डलीको हितलाई प्राथमिकता दिनुपर्छ। तब मात्र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छु। मेरा सहकर्मी सिस्टरहरूको क्षमता मभन्दा कसरी राम्रो थियो र उनीहरूले कसरी वास्तविक समस्याहरू समाधान गर्न सक्थे भन्नेबारे चिन्तन गर्दा, मैले यो मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशका लागि लाभदायक हुन्छ, र मैले उनीहरूसँग धेरै सहकार्य गर्नुपर्छ, हामीले एकअर्काका परिपूरक बनिरहँदा उनीहरूका सबलताहरूबाट सिक्नुपर्छ भन्ने बुझेँ। यसरी नै मण्डलीको कामले अझ राम्रा नतिजाहरू हासिल गर्न सक्छ र मेरा आफ्नै कमीकमजोरीहरू पनि पूर्ति हुन सक्छन्, र यसरी नै मैले परमेश्वरको अभिप्रायअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु। यसपछि, मैले परमेश्वरका वचनअनुसार अभ्यास गरेँ, मेरा सहकर्मी ब्रदर-सिस्टरहरू मभन्दा असल छन् कि छैनन् भनेर विचार गर्न छोडिदिएँ, र केवल आफ्नो कर्तव्यमा आफ्नो भूमिका निर्वाह गर्नमा केन्द्रित भएँ। मैले यो अवधिमा प्रकट गरेको भ्रष्टता र मेरा चिन्तन र आफूले प्राप्त गरेका बुझाइहरूबारे मेरा सहकर्मी सिस्टरहरूसँग सङ्गतिमा खुलेर कुरा पनि गरेँ। मेरो कुरा सुनेपछि, दिदीबहिनीहरूले मलाई हेला गरेनन्, बरु, उनीहरूले सङ्गति गरेर मलाई मद्दत गरे। अगाडि बढ्दै, हामीले सँगै कामका बारेमा छलफल गर्यौँ र सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्यौँ। केही समयपछि, मण्डलीको काममा प्रगति भयो।
एक दिन, माथिल्ला अगुवाहरूले मण्डली अगुवाहरूमध्येबाट एक जना प्रचारक चुन्न लागेको भन्दै एउटा पत्र पठाउनुभयो। मेरो मन चञ्चल भयो, किनभने म चुनिन चाहन्थेँ, तर मैले सोचेँ, “चेन मिन मभन्दा राम्रोसँग सत्यता बुझ्छिन्, र उनको क्षमता र कार्यसामर्थ्य राम्रो छ, त्यसैले सिद्धान्तहरूका आधारमा, उनी अझ उपयुक्त हुनेछिन्।” तर मलाई अझै पनि अलिकति असहज महसुस भयो, सोचेँ “यदि चेन मिन साँच्चै प्रचारक भइन् भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? के उनीहरूले म उनीजत्तिको असल छैन भन्लान्?” म गहन आन्तरिक द्वन्द्वमा थिएँ। त्यति बेलै, परमेश्वरका वचनको एउटा खण्ड मेरो दिमागमा प्रस्ट रूपमा आयो: “तैँले यी कुराहरूलाई छोड्न र पन्छाउन, अरूहरूलाई सिफारिस गर्न, र तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा चम्कने अवसर भेट्नेबित्तिकै फाइदा लिन संघर्ष वा हतार नगर्। तैँले यी कुराहरू पन्छ्याउन सक्नुपर्छ, र कर्तव्य निर्वाह गर्न ढिलाइ पनि गर्नु हुँदैन। तँ यस्तो व्यक्ति बन् जो चुपचाप गुमनामीमा काम गर्छ, र निष्ठापूर्वक कर्तव्य निभाउँदा अरूलाई धाक देखाइहिँड्दैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनको अन्तर्दृष्टि र मार्गदर्शनले मेरो हृदय उज्यालो बनाए। मैले विगतमा म कसरी निकै प्रतिस्पर्धी भएर अरूलाई उछिन्न खोज्दै प्रायः भ्रष्ट स्वभावमा डुब्ने गर्थेंँ, र जबजब आफ्नो नाम कमाउन सहयोग गर्ने कुनै कुरा आउँथ्यो, म आफूलाई अरूलाई उछिन्न प्रतिस्पर्धा गरिरहेकी पाउँथेँ भन्ने बारेमा सोचेँ। यसले मानिसहरूलाई बन्धनमा मात्र पारेन, मण्डलीको कामलाई समेत असर पाऱ्याे। जब मैले यी कुराहरू सोचेँ, मैले आफूलाई पछुतोले भरिएकी पाएँ। अब मैले आफ्नो शैतानी स्वभावको विरुद्ध विद्रोह गर्नुपर्थ्यो, प्रतिष्ठा र हैसियतलाई पन्छाउनुपर्थ्यो, र मण्डलीको कामलाई पहिलो स्थानमा राख्नुपर्थ्यो। चेन मिनले मभन्दा लामो समयदेखि कर्तव्य निर्वाह गरिरहेकी थिइन्, र उनी अझ व्यावहारिक रूपमा सत्यता सङ्गति गर्थिन्, त्यसैले उनी प्रचारक हुनु मण्डलीको कामका लागि अझ लाभदायक हुनेथियो। यो सोचेर, मैले चेन मिनलाई भोट दिएँ। यसरी अभ्यास गरेपछि, मैले आफ्नो हृदयमा शान्ति र सहजताको महसुस गरेँ। परमेश्वरका वचनले नै ममा यो परिवर्तन ल्याए। परमेश्वरलाई धन्यवाद!