२५. महामारी अवधिमा सुसमाचार फैलाउँदा
२०२३ मे महिनाको एक दिन, झाओ फेई सिस्टरले मलाई प्रभुमा विश्वास गर्ने एक विश्वासीलाई परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाउन आफूसँगै बोलाउनुभयो। ती विश्वासीको नाम लि हाओ थियो। पहिले उनले मण्डलीमा युवा भेलाहरूको अगुवाइ गरेकी थिइन्, तर हालैका वर्षहरूमा मण्डलीमा उपस्थिति घट्दो थियो, अनि युवाहरू सांसारिक प्रवृत्तिहरू पछ्याउँदै भौतिक कुराहरू र पैसाको मोहले तानिए। मण्डलीमा विश्वासीका रूपमा वृद्धहरू मात्र बाँकी रहे। लि हाओको विश्वास घट्न थाल्यो; उनी भेलाहरूमा जान छोडिन् र खालि घरमै बाइबल पढ्थिन्। उनलाई विपत्तिहरूको बढ्दो निरन्तरता, प्रभु चाँडै आउनुहुने कुराको स्पष्ट सङ्केत हो भन्ने थाहा थियो र उनी उहाँको पुनरागमनको निरन्तर प्रतीक्षा गर्थिन्। लि हाओ साँचो विश्वासी हुन् र प्रभुको पुनरागमनको तृष्णा गर्छिन् भन्ने थाहा पाएपछि, म उनलाई सुसमाचार सुनाउन झनै उत्सुक भएँ।
भेट भएपछि, हामीले आफ्ना आस्था अनुभवहरू र आफ्नो विश्वासमा रहेका आशाहरूबारे छलफल गर्यौँ। हामीले वर्तमान जगतका विभिन्न दुष्ट र अन्धकार घटनाहरू, मानवजातिको भ्रष्टता र पतन, परमेश्वरको मुक्तिविना मानिसको के हविगत होला, आदिबारे पनि कुरा गर्यौँ। लि हाओले सहमत हुँदै भनिन्, “आजभोलि मानिसहरू साँच्चै धेरै भ्रष्ट छन् र लाभ अनि फाइदाका लागि जे पनि गर्छन्। यदि परमेश्वर मानवजातिलाई मुक्ति दिन आउनुभएन भने, तिनीहरू नष्ट हुनेछन्।” त्यसपछि, मैले उनलाई परमेश्वरको कामका तीन चरणबारे गवाही दिएँ। मैले व्यवस्थाको युगका आखिरी दिनहरूमा मानिसहरूले झन्-झन् धेरै पाप गरेका, उनीहरूसँग चढाउनका लागि पर्याप्त पापबलि नभएको, र सबै जना व्यवस्थाद्वारा दोषी ठहर भई श्रापित हुने खतरामा परेको बारेमा कुरा गरेँ। त्यसपछि परमेश्वर अनुग्रहको युगमा छुटकाराको काम गर्न देहधारी हुनुभयो। प्रभु येशू मानिसलाई शैतानको पन्जाबाट छुटकारा दिनुहुँदै र उनीहरूको अस्तित्व सुनिश्चित गर्नुहुँदै मानवजातिका लागि पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। हामीले के पनि कुरा गर्यौँ भने मानिसहरूले विश्वासीका रूपमा आफ्ना पापहरूको क्षमा पाए पनि, र धेरै आशिष् र अनुग्रहको आनन्द लिए पनि, कोही पनि आफूहरू पापको बन्धनबाट अझै मुक्त नभएका भन्ने कुरालाई इन्कार गर्न सक्दैनन् अनि सबै जना पाप गर्ने र त्यसलाई स्वीकार्ने निरन्तर चक्रमा जिउँछन्, र प्रभुका वचनहरू व्यवहारमा लागू गर्न असमर्थ छन्। उनीहरू अरूप्रति धैर्य र सहनशील हुन नसक्नु, उनीहरूको झूट, छल, स्वार्थीपन, दुष्टता र लोभ—यो भ्रष्टता उनीहरूले त्याग्न सक्दैनन्। ब्रदर-सिस्टरहरू गुट बनाउँदै एक-अर्कासँग ईर्ष्या र प्रतिस्पर्धा गर्छन्, अनि व्यक्तिगत लाभको कुरा आउँदा, तिनीहरू एक-अर्काको पछाडि न्याय गर्छन् र एक-अर्कालाई आक्रमण गर्छन्। परमेश्वर भन्नुहुन्छ: “तिमीहरू पवित्र हुनुपर्छ, किनभने म पवित्र छु” (लेवी ११:४५)। मैले सोधेँ, “भ्रष्टताले भरिएका मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन् त?” लि हाओले भनिन्, “अशुद्ध मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनन्, तर हामी कसरी शुद्ध हुन सक्छौँ त?” मैले जवाफ दिँदै भनेँ, “हामी आफैलाई शुद्ध पार्न सक्दैनौँ, हामी परमेश्वरद्वारा मुक्त हुनुपर्छ। यदि परमेश्वर हामीलाई मुक्ति दिन आउनुभएन भने, हामी आफै पापबाट मुक्त हुनेछैनौँ। प्रभुमा विश्वास गरेर, हाम्रा पापहरू क्षमा हुन्छन्, तर हाम्रो पापी प्रकृतिले अझै पनि हामीभित्र गहिरोसँग जरा गाडेको छ। झारपात काटेपछि फेरि उम्रिए जस्तै, यदि हामीले जडको समस्या समाधान गरेनौँ भने, हामी पाप गरिरहनेछौँ। यसले देखाउँछ हामी अझै पनि शैतानको शक्तिको अधीनमा बाँचिरहेका छौँ र परमेश्वरद्वारा साँचो रूपमा प्राप्त गरिएका छैनौँ। मानवजातिलाई पूर्ण रूपमा पापबाट मुक्ति दिन, उनीहरूलाई शैतानको अँध्यारो प्रभावको पन्जाबाट छुटाउन, र उनीहरूलाई मुक्त हुन र स्वर्गको राज्यमा प्रवेश पाउन सक्ने बनाउनका लागि, आखिरी दिनहरूमा प्रभु येशू छुटकाराको कामको जगमा वचनद्वारा न्याय र शुद्धीकरणको काम गर्न फर्कनुभएको छ। उहाँले मानिसका पापहरूको मूल कारण—मानिसको भ्रष्ट स्वभाव र सारको खुलासा गर्न र न्याय गर्न सत्यता व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूको न्यायद्वारा मात्र हामीले हामी शैतानद्वारा धेरै गहिरो रूपमा भ्रष्ट भएका र हामीमा मानव स्वरूपको कमी रहेको महसुस गर्छौँ, र तब मात्र हामी आफैलाई घृणा गर्न र आफ्नो विरुद्धमा विद्रोह गर्न थाल्छौँ, र सत्यता पछ्याउन, साँचो मानव स्वरूपमा जिउनका लागि खोजी गर्न अनि मुक्ति पाउन तत्पर हुन्छौँ। यसले प्रभुका यी वचनहरू पूरा गर्छ: ‘अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)।” त्यसपछि लि हाओले भनिन्, “मैले बुझेँ, हामीले केवल प्रभुमा विश्वास गर्दैमा पापबाट छुटकारा पाएका हुँदैनौँ, र स्वर्गको राज्यमा प्रवेश पाउन अझैपनि योग्य छैनौँ। हामीले शुद्ध हुनका लागि अझै पनि परमेश्वरको न्याय र मुक्ति स्वीकार गर्नु आवश्यक छ।” मैले उनलाई भनेँ, “हो, मानवजातिलाई मुक्ति दिन, परमेश्वरले व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगमा कामका तीन चरणहरू सम्पन्न गर्नुभयो। जसरी खेतीमा खनजोत गर्ने, बीउ छर्ने र फसल काट्ने गर्नुपर्छ, त्यसरी नै काम तीन चरणपछि मात्र पूरा हुन्छ र एउटा पनि छोड्न मिल्दैन। प्रभु येशूद्वारा छुटकारा पाउनु मात्र पर्याप्त छैन। आखिरी दिनहरूको न्यायको काम स्वीकार गरेर मात्र हाम्रो भ्रष्ट स्वभाव सफा हुन सक्छ, जसले हामीलाई बाँच्न र परमेश्वरको राज्यमा प्रवेश गर्न दिन्छ।” हामीले उनलाई के पनि गवाही दियौँ भने कामको तीनै चरण एउटै परमेश्वरद्वारा सम्पन्न गरिएका थिए, र हरेक चरणले अघिल्लो चरणको काममाथि थप गर्दै त्यसलाई अझ गहन बनाएको छ। र सबै चरणको लक्ष्य मानिसलाई मुक्ति दिनु र उसलाई परमेश्वरको राज्यमा डोऱ्याउनु हो। लि हाओले यो सबै बुझिन् र उत्साहित हुँदै भनिन्, “प्रभु येशू हामीलाई मुक्ति दिन फर्कनुभएको छ? कस्तो महान सुसमाचार!”
केही दिनपछि एक रात, हामी फेरि लि हाओको घरमा गयौँ। तर हामी भित्र पस्नेबित्तिकै, उनी आत्तिएकी जस्ती देखिइन् र हामीलाई भनिन्, “तपाईंहरू तुरुन्तै जानुहोस्। म तपाईंहरूलाई यहाँ राख्न सक्दिनँ!” म अलमल्ल परेँ र उनलाई के भयो भनेर सोधेँ। उनले चिन्तित हुँदै जवाफ दिइन्, “मलाई कोभिड लागेको छ, मैले केही खान सकेकी छैन, पखाला लागेको छ र कमजोर महसुस गरेकी छु। म अब धेरै दिन बाँच्दिनँ जस्तो छ। तपाईंहरू तुरुन्तै जानुहोस्, म तपाईंहरूलाई सङ्क्रमित पार्न चाहन्नँ।” उनी कत्ति दुब्लाएको र कमजोर भएको देख्दा, म उनीसँगै बसेर यस्तो अवस्थामा कसरी अनुभव गर्ने भनेर सङ्गति गर्न चाहन्थेँ, तर मलाई यो पनि चिन्ता थियो यदि म बसेँ भने मलाई पनि सङ्क्रमण हुन सक्छ। हालैका दिनहरूमा कोभिडले धेरैको मृत्यु भएको थियो र उनीसँग नजिकको सम्पर्कमा आएँ भने मलाई पनि सङ्क्रमण हुन सक्छ भन्ने डर थियो। म बसूँ कि जाऊँ? मैले निर्णय गर्न सकिनँ। त्यतिबेला मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ र उहाँका वचनहरूको एउटा खण्ड याद गरेँ: “परमेश्वरले सबै कुराको सृष्टि गर्नुभयो, र उहाँले नै यसलाई सृष्टि गर्नुभएको हुनाले, यावत् थोकमाथि उहाँकै प्रभुत्व छ। यावत् थोकमाथि उहाँको प्रभुत्व हुने बाहेक, उहाँले सबै थोक नियन्त्रण गर्नुहुन्छ। ‘परमेश्वरमा सबै थोकको नियन्त्रण छ’ भन्ने यो अवधारणाको अर्थ के हो? यसलाई कसरी व्याख्या गर्न सकिन्छ? वास्तविक जीवनमा यो कसरी लागू हुन्छ? परमेश्वरमा सबै थोकको नियन्त्रण छ भन्ने तथ्यलाई बुझेमा यसले कसरी उहाँको अख्तियारको बुझाइमा डोर्याउन सक्छ? ‘परमेश्वरमा सबै थोक नियन्त्रण छ’ भन्ने यही वाक्यांशबाट नै हामीले के देख्नुपर्छ भने परमेश्वरले न त ग्रहहरूको एउटा भाग, न त सृष्टिको एउटा भाग, न त मानवजातिको एउटा भागलाई मात्रै नियन्त्रण गर्नुहुन्छ तर उहाँले त सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ: विशालदेखि सूक्ष्मसम्म, देख्न सकिनेदेखि अदृश्यसम्म, आकाशमण्डलका ताराहरूदेखि पृथ्वीका जीवित प्राणीहरूसम्म, साथै नाङ्गो आँखाले देख्न नसकिने र अन्य स्वरूपमा अस्तित्वमा रहने सूक्ष्म जीवहरूसम्म। परमेश्वरको ‘नियन्त्रणमा रहेका’ ‘सबै कुराहरू’ को सटीक परिभाषा यही नै हो; उहाँको अख्तियारको कार्यक्षेत्र, उहाँको सार्वभौमिकता र शासनको प्रसार यही नै हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। महामारी र भाइरसहरू लगाएत सबै कुरामाथि परमेश्वरकै प्रभुत्व हुन्छ। लि हाउ साँचो विश्वासी भएको र उनको बुझाइ शुद्ध भएकोले, उनी कोभिडसँग जुधिरहेका बेला मैले उनलाई परमेश्वरका वचनहरूको गवाही दिनुपर्थ्यो। परमेश्वरका वचनहरू सत्य, मार्ग र जीवन हुन्। परमेश्वरका वचनहरूबाट मात्र हामीले उचित सहारा पाउँछौँ। तीविना, उनलाई कसरी अनुभव गर्ने भनेर थाहा हुने थिएन र विपत्तिहरूमा हराएको महसुस गर्ने थिइन्। मलाई सङ्क्रमण हुन्छ कि हुँदैन भन्ने कुरा परमेश्वरको हातमा थियो। यदि भइहाले पनि, म परमेश्वरको अनुमतिविना मर्ने थिइनँ। मेरो जीवन परमेश्वरकै हातमा थियो, र यदि ती सिस्टरले साँचो मार्ग स्वीकार गर्न सकुन् भन्नका लागि मैले कोभिड नै बेहोर्नु परे पनि, म समर्पित हुनेथिएँ। मैले लि हाओलाई भनेँ, “चिन्ता नगर्नुहोस्, परमेश्वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ। अहिले हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरमा भरोसा गर्नु र उहाँका वचनहरू पढ्नु हो। परमेश्वरबाहेक हामीलाई कसैले मुक्ति दिन सक्दैन।” मैले उनीसँग परमेश्वरको अख्तियार र कसरी महामारी र सूक्ष्मजीवहरू पनि परमेश्वरको प्रभुत्वमा छन्, र परमेश्वरको अनुमतिविना शैतानले हाम्रो जीवनलाई हानि गर्न सक्दैन भन्नेबारे सङ्गति गरेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्लाउने स्वतन्त्रता समेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। मेरो सङ्गति सुनेपछि, उनले हामीलाई भित्र बोलाइन्।
हामीले उनीसँग सङ्गति जारी राख्दै भन्यौँ, “प्रभु येशूले बाइबलमा उहाँको आगमनमा महाविपत्तिहरू हुनेछन् भन्ने अगमवाणी गर्नुभयो। प्रकाशको पुस्तकले पनि संसारको अन्त्यमा महाविपत्तिहरू हुनेछन् भनी अगमवाणी गर्छ। अहिले विपत्तिहरू झन्-झन् ठूला हुँदै गएकाले, परमेश्वरको अभिप्राय के हो त?” लि हाओले जवाफ दिइन्, “महाप्रलय आउँदैछ र परमेश्वरले मानवजातिलाई नष्ट गर्न लाग्नुभएको छ।” मैले भनेँ, “के विपत्तिहरूको एकमात्र उद्देश्य मानवजातिलाई नष्ट गर्नु हो? यसबारे परमेश्वरका वचनहरूले के भन्छन्, हेरौँ। परमेश्वर भन्नुहुन्छ: ‘परमेश्वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ तिनीहरूलाई परमेश्वरलाई खोज्न प्रेरित गर्ने मौकाको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू उहाँसामु वापस आउन सकून्। त्यसैले परमेश्वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो”’ (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०)। यसबाट हामी के बुझ्न सक्छौँ भने परमेश्वरले मानिसहरूलाई साँचो मार्ग खोज्न लगाउन र उहाँ आइसक्नुभएको छ भन्ने देखाउन विपत्तिहरू प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू जागेर हतार-हतार प्रभुलाई स्वागत गर्न सकून्। दुष्कर्मीहरूका लागि, विपत्तिहरू दण्ड र विनाश हुन्, तर खोजी गर्न तत्पर साँचो विश्वासीहरूका लागि, ती चेतावनी र मुक्ति हुन्।” लि हाओले जवाफ दिइन्, “मैले बुझेँ। मानिसहरूले कठिनाइको सामना गर्दा मात्र परमेश्वरलाई खोज्नेछन्। परमेश्वरको असल अभिप्राय यी सबै कुरामा झल्किन्छ!” मैले भनेँ, “हो, तर जब धार्मिक जगतका धेरैले प्रभुको पुनरागमनको खबर सुने, तिनीहरूले खोजीमा ध्यान दिएनन्, र ठूला विपत्तिहरू आए तापनि प्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ र तिनीहरूलाई बचाइनेछ भनी सोचे। तिनीहरू सोच्छन् प्रभु आउने बित्तिकै, तिनीहरू सीधै स्वर्गको राज्यमा माथि उचालिनेछन्। यी सब तिनीहरूका धारणा र कल्पनाहरू हुन्। परमेश्वरले परमेश्वरकै घरबाट थालनी गर्दै न्यायको काम गर्नुभएको छ। यदि कोही मण्डलीमा मात्रै पर्खेर बस्यो भने के उसले साँच्चै प्रभुलाई स्वागत गर्न पाउला? यो त प्रभु येशू आउनुभएको बेला कै जस्तो हो, धेरै जना मन्दिरमा मात्र बसे, यहोवाको आराधना गरे र प्रभु येशूको प्रवचन सुन्न गएनन्। तब, तिनीहरूले कसरी पश्चात्तापको मार्ग र प्रभुको अनुग्रह प्राप्त गर्न सक्थे र? त्यतिबेला, प्रभु येशूले मन्दिरमा काम गर्नुभएन। उहाँले आफ्ना अनुयायीहरूलाई पहाडका टाकुराहरूमा र उजाड स्थानमा प्रवचन दिनुभयो। त्यस समय प्रभुलाई पछ्याउने पत्रुस, यूहन्ना र केही अरूबाहेक, मन्दिरका अधिकांश मानिसहरूले मुख्य पुजारीहरू र फारसीहरूलाई पछ्याएर प्रभु येशूको प्रतिरोध र निन्दा गरे। तिनीहरू सबैलाई परमेश्वरले त्याग्नु अनि हटाउनुभयो र अन्ततः तिनीहरूले उहाँको दण्ड तथा श्रापको सामना गरे। अहिले पनि त्यस्तै भइरहेको छ। सर्वशक्तिमान् परमेश्वरले आखिरी दिनहरूमा आफ्नो न्यायको काम गर्नुहुँदा, धार्मिक जगतमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्ने तर प्रभुको खोजी नगर्ने वा स्वागत नगर्नेहरू धेरै छन्। कतिले त सर्वशक्तिमान् परमेश्वरको प्रतिरोध र निन्दा गर्न कडा मेहनत पनि गर्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्छन् तर परमेश्वरको आवाज सुन्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, तैपनि तिनीहरू स्वर्ग जान चाहन्छन्। तिनीहरू सपना देखिरहेका हुनुपर्छ। विपत्तिहरू झन्-झन् विनाशकारी हुँदै गइरहेका छन्, र यदि हामीले समयमै पश्चात्ताप गरेनौँ भने, हामी पनि गैरविश्वासीहरूजस्तै महाविपत्तिहरूमा नष्ट हुनेछौँ। अनुग्रहको ढोका चाँडै बन्द हुन लागेको छ, तर परमेश्वरले हामीलाई अझै पनि पश्चात्ताप गर्ने मौका दिनुभएको छ। प्रभुलाई स्वागत गर्ने र आखिरी दिनहरूमा परमेश्वरको काम स्वीकार गर्ने अनि आफ्नो भ्रष्ट स्वभावबाट शुद्ध हुने सबैलाई विपत्तिहरूको दौरानमा परमेश्वरले रक्षा गर्नुहुनेछ।” त्यसपछि हामीले केही सुसमाचार गवाहीका भिडियोहरू हेर्यौं, जसमा ब्रदर-सिस्टरहरूले कसरी परमेश्वरको आवाज खोजी गर्छन्, सुन्छन् र प्रभुलाई स्वागत गर्छन् भनेर देखाइएको थियो। निकै कमजोर र बिरामी भए तापनि, लि हाओले निकै ध्यान दिएर हेरिरहिन् र अनुसन्धान जारी राख्न तत्पर थिइन्। त्यस दिन उनीसँग सङ्गति गरेपछि, मैले उनलाई सुसमाचार सुनाउन जस्तोसुकै मूल्य चुकाउनु परेको भए पनि त्यो सार्थक थियो भन्ने मलाई महसुस भयो।
केही दिनपछि, जब फेरि लि हाओकहाँ सङ्गति गर्न जाने समय भयो, झाओ फेईले मलाई लि हाओ र उनका श्रीमान् दुवै धेरै बिरामी भएका र सलाइन पानी चढाइरहेका, साथै लि हाओका श्रीमानलाई हामीले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम फैलाइरहेका भन्ने थाहा भएकोले उनलाई त्यो स्वीकार गर्नबाट रोकेको बताइन्। उनले बाहिर सार्वजनिक रूपमा गएर धेरै छिमेकीहरूलाई यो महामारी हामीले फैलाएको आरोप लगाएछन्। त्यो सुन्नेबित्तिकै, मैले सोचेँ, “उनले यस्तो कसरी भन्न सके? मलाई कोभिड छैन, अनि मैले उनीहरूलाई कसरी सार्न सक्छु र? लि हाओ यत्ति बिरामी थिइन् तर उनले मलाई सङ्क्रमित गरिनन्, तर अहिले उनका श्रीमान् यस्तो भन्छन्। कस्तो नाङ्गो झूट हो, आधारहीन आरोप!” मैले यो पनि सोचेँ, “अहिले लि हाओका श्रीमानले मैले उनीहरूलाई कोभिड सारेको भनेपछि, के अरू गाउँलेहरूले मलाई देखेभने पुलिस बोलाएर मलाई पक्राउलान्? म सुसमाचार फैलाएका कारण पहिले नै एक पटक पक्राउ परिसकेकी छु, त्यसैले यदि म फेरि पक्राउ परेँ भने के सीसीपीले मलाई साँच्चै सजिलै छोड्ला र?” यी सबै कुरा विचार गरेपछि, मलाई लि हाओलाई सुसमाचार सुनाउने आत्मविश्वास भएन र मैले झाओ फेईलाई आफू अवस्था हेरेर सकेको बेला जाने बताएँ। तर, त्यसपछि, मलाई दोषी महसुस भयो, “लि हाओले परमेश्वरका धेरै वचनहरू पढेकी छैनन्। यदि उनीलाई छलपूर्वक हल्लाहरूमा विश्वास गर्ने बनाइयो भने के होला? उनी अझै निको नभएकी हुनाले, अहिले त झन् उनलाई सङ्गति, साथ र परमेश्वरका वचनहरू खाने-पिउने कुराको सबैभन्दा धेरै खाँचो छ। म नजानु ठीक होइन। तर म यो काम कसरी गरूँ?” पछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “सुसमाचार सुनाउने क्रममा, व्यक्तिले प्रायजसो गिल्ला, खिसी, खिसीटिउरी, र अपमान सामना गर्नुपर्छ, वा आफूलाई खतरनाक परिस्थितिहरूमा समेत पाउन सक्छन्। उदाहरणका लागि, सुसमाचार सुनाउँदा कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई दुष्ट मानिसहरूद्वारा सार्वजनिक रूपमै दोष लगाइन्छ वा अपहरण गरिन्छ, र कतिलाई भने प्रहरी बोलाएर सरकारको जिम्मा लगाइन्छ। कतिलाई पक्राउ गरेर जेल हालिन्छ भने, र कतिलाई कुटेर मारिन्छ। यी सबै भइरहेकै कुराहरू हुन्। तर अब हामीलाई यी कुरा थाहा छ, त्यसैले के हामीले सुसमाचार सुनाउने कामप्रतिको हाम्रो मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ? (पर्दैन।) सुसमाचार फैलाउनु सबैको कर्तव्य र दायित्व हो। हामीले जे सुने पनि, वा जे देखे पनि, वा हामीले जस्तोसुकै व्यवहारको सामना गर्न परे तापनि कुनै पनि समय हामीले सधैँ सुसमाचार फैलाउने यो जिम्मेवारी परिपालन गरिरहनुपर्छ। कुनै पनि परिस्थितिमा हामीले नकारात्मकता वा कमजोरीको कारण यो कर्तव्य छोड्न सक्दैनौँ। सुसमाचार फैलाउने कर्तव्य धेरै सजिलो हुँदैन, तर जोखिमले भरिएको हुन्छ। जब तिमीहरू सुसमाचार फैलाउँछौ, तिमीहरूले स्वर्गदूतहरू, वा एलियन्स, वा रोबोटहरूको सामना गर्दैनौ। तिमीहरूले दुष्ट र भ्रष्ट मानवजाति, जीवित भूतात्माहरू, पशुहरूको मात्रै सामना गर्नेछौ—तिनीहरू सबै यस दुष्ट ठाउँ, यस दुष्ट संसारमा जिइरहेका मानव हुन् जो शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका छन् र परमेश्वरको प्रतिरोध गर्छन्। त्यसैले सुसमाचार फैलाउने प्रक्रियामा निश्चय नै हरप्रकारका जोखिमहरू हुन्छन्, सानातिना निन्दा, खिसीटिउरी र गलत बुझाइहरूको कुरै छोडौँ, ती त सामान्य घटनाहरू हुन्। यदि तैँले सुसमाचार फैलाउने कार्यलाई साँच्चै नै एउटा जिम्मेवारी, आफ्नो एउटा दायित्व, तेरो कर्तव्य मान्छस् भने, तैँले यी कुराहरूलाई सही ढङ्गबाट सम्मान गर्न र तिनलाई सही ढङ्गले सम्हाल्न सक्नेछस्। तैँले कुनै पनि समय आफ्नो जिम्मेवारी र दायित्व छोड्नेछैनस्, न त यी कुराहरूको कारण तँ सुसमाचार फैलाउने र परमेश्वरलाई साक्षी दिने आफ्नो मूल उद्देश्यबाट तर्केर जान्छस्, र तैँले कहिल्यै पनि यस जिम्मेवारीलाई त्याग्नेछैनस्, किनकि यो तेरो कर्तव्य हो। यो कर्तव्यलाई कसरी बुझ्नुपर्छ? यो मानव जीवनको मूल्य-मान्यता र मूल दायित्व हो। आखिरी दिनहरूमा परमेश्वरको कामको शुभ समाचार र परमेश्वरको कामको सुसमाचार फैलाउनु मानव जीवनको मूल्य-मान्यता हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरूले मलाई के महसुस गराए भने साँचो मार्ग सधैँ सतावटमा परेको छ। सुसमाचार फैलाउँदा सधैँ खतरा र कठिनाइहरू हुनेछन्। जब प्रभु येशूका चेलाहरूले उहाँको सुसमाचार फैलाए, कोही ढुङ्गाले हानेर मारिए, कोही आराले चिरिए, कोहीलाई घोडाहरूले च्यातेर टुक्रा-टुक्रा पारे भने कतिलाई क्रूसमा टाँगियो। तिनीहरूले सबै प्रकारका विभत्स मृत्युको अनुभव गरे, तर तिनीहरूले परमेश्वरको गवाही दिए र शैतानलाई लज्जित पारे। आखिरी दिनहरूमा, परमेश्वर फेरि देहधारी भएर मानवजातिलाई मुक्ति दिन, सत्यता व्यक्त गर्दै मानिसहरूलाई न्याय गर्न र शुद्ध पार्न मानिसहरूका बीचमा आउनुभएको छ। सबैले परमेश्वरलाई पछ्याएको र मुक्ति पाएको देखेर शैतान सन्तुष्ट छैन, त्यसैले यसले परमेश्वरको कामलाई बाधा र अवरोध गर्न कडा मेहनत गर्छ। सरकार मात्र होइन, सम्पूर्ण धार्मिक जगतले नै परमेश्वरको कामको प्रतिरोध गर्ने प्रयास गर्छ, र परमेश्वरलाई निन्दा र बदनाम गर्न सबै प्रकारका हल्लाहरू बनाउँछ। अझ, हाम्रा परिवार र छिमेकीहरू, शैतानको शासनका दुष्ट शब्दहरूबाट प्रभावित भएर, परमेश्वरलाई इन्कार र प्रतिरोध गर्छन्, हामीलाई खिसी र बदनाम गर्छन्, र कतिले त हाम्रो रिपोर्ट गरेर पक्राउ पनि गराउँछन्। यो सबै सुसमाचार फैलाउने काममा हुने मुख्य बाधा हो। लि हाओका श्रीमान्लाई नै हेरौँ, उनले सीसीपीले फैलाएको हल्ला सुने र हामीलाई लि हाओलाई सुसमाचार सुनाउन दिएनन्। आफूलाई रिपोर्ट गरिने र पक्राउ पर्ने डरले, मैले उनलाई सुसमाचार सुनाउने आँट गरिनँ। मैले म कठिनाइको सामना गर्दा डराएँ र परमेश्वरको अभिप्रायप्रति विचारशील थिइनँ भन्ने थाहा पाएँ। मैले केवल आफूलाई जोगाउने कुराको चिन्ता गरेँ, लि हाओको जीवनप्रति कुनै जिम्मेवारी देखाइनँ र आफ्नो कर्तव्यलाई गम्भीर रूपमा लिइनँ। के मैले सृजित प्राणीको रूपमा आफूले गर्नुपर्ने कर्म गुमाइनँ र? सुसमाचार फैलाउनु मेरो दायित्व र मेरो मिसन हो। सृष्टिकर्ताको गवाही दिनका लागि जिउनु सबैभन्दा अर्थपूर्ण पछ्याइ हो। जतिसुकै गाह्रो भए पनि, मैले आफ्नो कर्तव्य त्याग्नु हुँदैनथ्यो। लि हाओले परमेश्वरका वचनहरू पढ्न पाऊन् भन्नका लागि मैले परमेश्वरमा भरोसा गरेर एउटा उपाय खोज्नुपर्थ्यो। मैले परमेश्वरलाई प्रार्थना गर्दै उहाँसँग मलाई मार्गदर्शन गर्नुहोस् र बुद्धि अनि विवेक दिनुहोस्, ताकि म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकूँ भन्ने अनुरोध गरेँ। प्रार्थनापछि, मैले महसुस गरेँ म लि हाओको घर जान नसके पनि, मैले परमेश्वरका वचनहरू कागजमा लेखेर अरू कसैमार्फत उनलाई पठाउन सक्छु।
केही समयपछि, मैले लि हाओलाई भेट्न जान चाहेको बताएँ, तर झाओ फेईले आत्तिँदै मलाई भनिन्, “अहिले कोभिड साँच्चै नराम्रोसँग फैलिएको छ, लि हाओको परिवारमा एकपछि अर्को गर्दै चार जनाको मृत्यु भएको छ र उनकी आमा पनि बितेकी छन्। उनी अहिले कसैलाई पनि भेट्न चाहन्नन्।” त्यतिबेला के गर्ने मलाई थाहै भएन। लि हाओको श्रीमान्ले मात्र म उनीहरूको घर नआओस् भन्ने चाहेको होइन, लि हाओ स्वयंले पनि मलाई भेट्न चाहिनन्। मैले के गर्ने होला? त्यसमाथि, कोभिड यति नराम्रोसँग फैलिएकोले, मलाई गाउँलेहरूले मेरो रिपोर्ट गरिदेलान् भन्ने डर थियो, त्यसैले मैले जाने विचार त्यागिदिएँ। केही दिनपछि, मैले “यद्धक्षेत्रको अग्रपङ्क्तिमा रहेर सुसमाचार सुनाउँदाका मेरा दिनहरू” शीर्षकको एउटा अनुभवात्मक गवाही लेख फेला पारेँ जसले मेरो मनमा गहिरो प्रभाव पार्यो। त्यस लेखका लेखक ब्रदरले, परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेको धेरै समय नहुँदै, उनले युद्धको अग्रपङ्क्तिमा रहेको एउटा गाउँमा सुसमाचार फैलाउन आफ्नो ज्यान जोखिममा राखे। खतराको सामना गर्दा केही कमजोरी देखाएपनि, ती ब्रदरले सुसमाचार फैलाउने काम जारी राख्न परमेश्वरमा भरोसा गरे। त्यस अनुभवमार्फत, उनले परमेश्वरको सुरक्षा र यति धेरै मानिसहरूलाई परमेश्वरको सामु फिर्ता ल्याउनमा उहाँका कार्यहरू देखे। त्यो ब्रदरको अनुभवसँग आफ्नो तुलना गर्दा म लज्जित भएँ। वर्षौंदेखि परमेश्वरमा विश्वास गरेर र उहाँका यति धेरै वचनहरू खाएर-पिएर पनि, म सुसमाचार फैलाउने आफ्नो कर्तव्य पूरा गर्न असमर्थ थिएँ। लि हाओका श्रीमान्ले केही नराम्रो वचन बोले र मलाई उनीहरूको घर जान निषेध गरे, साथै लि हाओ स्वयं नै मलाई भेट्न चाहन्नन् भन्ने थाहा पाएकै भरमा, म उनलाई सुसमाचार सुनाउन अनिच्छुक भएँ। मैले आफ्नो आस्था अत्यन्तै कमजोर रहेको थाहा पाएँ।
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड फेला पारेँ: “त्यसोभए, साँचो मार्गको अनुसन्धान गरिरहेको व्यक्तिसँग कस्तो व्यवहार गरिनुपर्छ? यदि उसले सुसमाचार प्रचार गर्नका लागि परमेश्वरको घरले तय गरेका सिद्धान्तहरू पालना गर्छ भने, उसलाई सुसमाचार प्रचार गर्नु हाम्रो दायित्व हुन्छ; र उसको वर्तमान मनोवृत्ति कमजोर छ र उसले सुसमाचार स्विकार्दैन भने पनि, हामीले धैर्य गर्नुपर्छ। हामीले कति लामो समय र कति हदसम्म धैर्य गर्नुपर्छ? जबसम्म तिनीहरूले तँलाई इन्कार गरेर तँलाई आफ्नो घरमा पस्न दिँदैनन्, र तिनीहरूसँग जति छलफल गर्ने कोसिस गरे पनि, तिनीहरूलाई कल गरे पनि, वा तिनीहरूलाई निम्तो दिन अरू कसैलाई पठाउँदा पनि पार लाग्दैन, अनि तिनीहरूले तँलाई बेवास्ता गर्छन्, तबसम्म। यस्तो अवस्थामा, तिनीहरूलाई सुसमाचार प्रचार गर्न सम्भव नै हुँदैन। त्यतिखेर तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। आफ्नो कर्तव्य पूरा गर्नु भनेको त्यही हो। जबसम्म थोरै भए पनि आशा बाँकी हुन्छ, तबसम्म तैँले तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउन र उहाँको कामको गवाही दिन सक्नेजति सबै उपाय सोच्नुपर्छ र सक्दो गर्नुपर्छ। उदाहरणका लागि, मानौँ तँ कसैका सम्पर्कमा रहेको दुई-तीन वर्ष भयो। तैँले उसलाई सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने धेरै प्रयास गरिस्, तर ऊसँग यसलाई स्वीकार गर्ने कुनै अभिप्राय छैन। तर उसको बुझाइ निकै राम्रो छ र ऊ साँच्चै त्यस्तो व्यक्ति हो जसलाई सुसमाचार प्रचार गर्न सकिन्छ। तब, तैँले के गर्नुपर्छ? सर्वप्रथम त, तैँले उसलाई त्याग्नै हुँदैन, बरु ऊसँग सामान्य अन्तरक्रियाहरू गरिरहनुपर्छ, र तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाइरहनुपर्छ र उहाँको कामको गवाही दिइरहनुपर्छ। तिनीहरूप्रति हरेस नखा; अन्त्यसम्मै धैर्य गर्। कुनै बिन्दुमा, तिनीहरूको होश खुल्नेछ र तिनीहरूले साँचो मार्गको अनुसन्धान गर्ने समय आएको हुनेछ। त्यसैले, धैर्य गर्नु र अन्त्यसम्म डटिरहनु सुसमाचार प्रचारमा निकै महत्त्वपूर्ण कुरा हो। अनि किन यसो गर्ने? किनभने यो सृजित प्राणीको कर्तव्य हो। तँ तिनीहरूका सम्पर्कमा छस्, त्यसकारण तिनीहरूलाई परमेश्वरको सुसमाचार सुनाउने दायित्व र जिम्मेवारी तेरै हुन्छ। तिनीहरूले पहिलो पटक परमेश्वरका वचनहरू र सुसमाचार सुनेको दिनदेखि तिनीहरू सही दिशामा फर्केको दिनसम्ममा थुप्रै चरणहरू हुन्छन्, र यसका लागि समय लाग्छ। तिनीहरूले आफूलाई सही दिशामा नफर्काउन्जेल तैँले धैर्य गरेर प्रतीक्षा गर्नुपर्छ, र त्यसपछि तैँले तिनीहरूलाई परमेश्वरका घरमा उहाँसामु फर्काउनुपर्छ। यो तेरो दायित्व हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरूबाट मैले सिकेँ जबसम्म कोही व्यक्ति सुसमाचार ग्रहण गर्ने सिद्धान्तहरू अनुरूप हुन्छ र सत्यता बुझ्न सक्छ, तब उसले जस्तोसुकै कठिनाइहरूको सामना गरे पनि, वा हामीप्रति उसको मनोवृत्ति जस्तोसुकै भए पनि, हामीले उसलाई सजिलै त्याग्नु हुँदैन। हामीले उसलाई प्रेमपूर्वक सुसमाचार फैलाउन आफूले सकेको गर्नुपर्छ। यो परमेश्वरको अभिप्राय तथा यो हाम्रो जिम्मेवारी हो। लि हाओ साँच्चै परमेश्वरमा विश्वास गर्थिन्, सत्यता बुझ्न सक्थिन् र उनको मानवता राम्रो थियो, यी सबैले उनलाई सुसमाचार ग्रहण गर्न सक्ने सम्भावित व्यक्तिको रूपमा योग्य बनायो। केवल उनका श्रीमान्को बाधा, उनको परिवारमा भएको मृत्यु र सीसीपीले फैलाएको हल्लाका कारण उनी हृदयमा कमजोर बनेकी थिइन्। मैले उनलाई सङ्गति र साथ दिन आफूले सक्नेजति गर्नुपर्थ्यो। तर म उनको श्रीमान्ले रिपोर्ट गर्लान् भन्ने डरले उनलाई सुसमाचार सुनाउन चाहन्नथेँ। मेरो जिम्मेवारी बोध कतातिर थियो? मैले परमेश्वरका वचनहरूबारे विचार गरेँ: “अब यो अत्यन्तै सरल छ: आफ्नो हृदयले मलाई हेर्, अनि तेरो आत्मा तुरुन्तै बलियो हुनेछ। तँसँग अभ्यास गर्ने मार्ग हुनेछ, र म तेरा हरेक पाइलामा अगुवाइ गर्नेछु। हरेक समयमा र हरेक स्थानमा तँलाई मेरो वचन प्रकट गरिनेछ। जहाँ होस् वा जहिले होस्, वा वातावरण जतिसुकै प्रतिकूल होस्, म तँलाई स्पष्ट रूपमा देख्ने बनाउनेछु, र यदि तैँले आफ्नो हृदयले मलाई हेरिस् भने तेरो निम्ति मेरो हृदयलाई प्रकट गरिनेछ; यसरी, तँ अगाडिको बाटोमा दौडनेछस् अनि आफ्नो बाटोलाई कहिल्यै गुमाउनेछैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मैले आफ्नो कर्तव्यमा परमेश्वरलाई प्रार्थना गर्नु र उहाँमाथि भरोसा गर्नु पर्थ्यो। लि हाओ धेरै बिरामी थिइन्, तर पनि मलाई उनीबाट कोभिड सरेन। र उनका श्रीमान्को कुरा गर्दा, के उनको सोचविचार पनि परमेश्वरकै हातमा थिएन र? परमेश्वरको अनुमतिविना, उनले मलाई केही गर्न सक्दैनथे। मैले लि हाओलाई सुसमाचार सुनाउन र आफ्नो जिम्मेवारी पूरा गर्न परमेश्वरमा भरोसा गर्नुपर्थ्यो। यो महसुस गरेपछि, मैले आफ्नो कर्तव्य पूरा गर्ने विश्वास र शक्ति पुन: प्राप्त गरेँ।
मलाई अचम्म लाग्यो, लि हाओका श्रीमान्ले हामीलाई देख्दा केही भनेनन्, र लि हाओले खुसीसाथ हामीलाई स्वागत गरिन्। यसले मलाई परमेश्वरका वचनहरू सोच्ने बनायो: “मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। बाइबलले पनि भन्छ: “राजाको हृदय यहोवाको हातमा छ, पानीका नदीहरूजस्तै: उहाँले जता चाहनुहुन्छ यसलाई उतै फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। यो एकदमै सही कुरा हो! परमेश्वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, र जीवित वा मृत, सबै कुरा उहाँकै हातमा छन्। जब म सहकार्य गर्न तत्पर भएँ, पूरै परिस्थिति नै बदलियो। म धेरै खुसी भएँ र मैले उनलाई सोधेँ, “मैले तपाईंका लागि भनेर सारिदिएका परमेश्वरका वचनहरू पढ्नुभयो?” उनले जवाफ दिइन्, “अँ, पढेँ। मैले त साँच्चै म अब बाँच्दिनँ भन्ने सोचेकी थिएँ। तर त्यसपछि मैले परमेश्वरका वचनहरू पढेँ: ‘परमेश्वरको वचन शक्तिशाली औषधी हो!’ ‘सर्वशक्तिमान् परमेश्वर महाशक्तिशाली वैद्य हुनुहुन्छ!’ (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। यसले मलाई आस्था र शक्ति दियो। परमेश्वरका वचनहरूले मलाई बचाए।” त्यस भेटमा, मैले ठूलो रातो अजिङ्गर र धार्मिक जगतले फैलाएका हल्लाकाे सन्दर्भमा आत्मिक युद्धबारे कुरा गरेँ। परमेश्वरको काम जहाँ जान्छ, शैतानको बाधा र सतावट पनि त्यहीँ पुग्छ। जब प्रभु येशूले आफ्नो काम गर्नुभयो, मानिसहरूले उहाँको बारेमा पनि हल्ला फैलाए, उहाँको निन्दा गरे र उहाँलाई क्रूसमा समेत टाँगे। परमेश्वरले आखिरी दिनहरूमा काम गर्नुहुँदा उहाँमाथिको सतावट अझ बढेको छ। यसले प्रभु येशूको यो अगमवाणी पूरा गर्छ: “तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२५)। प्रभु आखिरी दिनहरूमा आफ्नो वचन व्यक्त गर्न र न्यायको काम गर्न फर्किनेक्रममा, उहाँ निरन्तर रूपमा धार्मिक जगत र शैतानी सीसीपी सरकारको सतावटको दबावमा पर्नुभएको छ, तर परमेश्वरको बुद्धि शैतानको षड्यन्त्रहरूका आधारमा प्रयोग हुन्छ, र उहाँले शैतानको सतावटलाई आफ्नो कामको सेवाका निम्ति प्रयोग गर्नुहुन्छ। उहाँले झूटा विश्वासीहरूलाई साँचा विश्वासीहरूबाट प्रकाश गरिदिनुभयो, अनि कायरहरू र धित मरुञ्जेल रोटी खानेहरूलाई पनि प्रकट गरिदिनुभयो। साँचो आस्था भएका र सत्यतालाई साँच्चै प्रेम गर्नेहरू सबैले सर्वशक्तिमान् परमेश्वरलाई नजिकबाट पछ्याउँछन्, उहाँका वचनहरू खान्छन् र पिउँछन् अनि सत्यता खोज्छन्, जस्तोसुकै कठिनाइ र सतावटको सामना गरे पनि तिनीहरू साँचो मार्ग कहिल्यै त्याग्दैनन्, र परमेश्वरका वचनहरूको न्याय, सजाय, परीक्षा र शोधनको अनुभव गरेर, तिनीहरू अन्ततः आफ्नो भ्रष्ट स्वभावलाई त्याग्छन् र परमेश्वरद्वारा सिद्ध पारिन्छन् र प्राप्त गरिन्छन्। प्रकाशको पुस्तकले तिनीहरूलाई यसरी चित्रण गर्दछ: “यिनीहरू महा-सङ्कष्टबाट बाहिर आएका, र आफ्ना वस्त्र धोएर, तिनलाई थुमाको रगतमा सेतो बनाउनेहरू हुन्” (प्रकाश ७:१४)। कायर, डरपोक, झूटो विश्वासीहरू प्रकट गरिन्छन् र हटाइन्छन्। सतावट र कठिनाइविना, साँचा विश्वासीहरूलाई झूटाबाट छुट्याउन असम्भव हुने थियो। लि हाओले भनिन्, “परमेश्वर साँच्चै बुद्धिमान् हुनुहुन्छ! मैले प्रभु फर्कनुभएर आफ्नो काम गर्नुहुँदा, उहाँले यसरी प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ भन्ने त सोचेकी थिइनँ।”
त्यसपछि हामीले परमेश्वरका आखिरी दिनहरूको न्यायका कामबारे केही खण्डहरू सँगै पढ्यौँ। तीमध्ये एउटा खण्ड यो थियो: “उहाँको न्यायको काम गर्दा, परमेश्वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधीहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्राय, र परमेश्वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउन दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा विश्वास राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। परमेश्वरका वचनहरू पढेपछि मैले थप सङ्गति दिएँ, “आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वरले न्यायको काम गर्न धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले परमेश्वरको व्यवस्थापन योजनाको रहस्य, कामका तीन चरणहरूको भित्री कथा, देहधारणको रहस्य, परमेश्वरका नामको अर्थ, आदि स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ। उहाँले शैतानले मानिसहरूलाई कसरी भ्रष्ट बनाउँछ, परमेश्वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ, र मानिसले पापको बन्धनबाट स्वतन्त्र हुन, मुक्ति पाउन अनि स्वर्गको राज्यमा प्रवेश गर्न, कसरी पछ्याउनुपर्छ भन्ने कुरा पनि स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरले मानिसको पापीपनको जड, मानिसको प्रकृतिको परमेश्वर-प्रतिरोधी पक्षहरू, मानिसको भ्रष्ट स्वभाव र सबै शैतानी विषहरूलाई पनि खुलासा गर्नुभएको छ। यदि परमेश्वर सत्यता व्यक्त गर्न नआउनुभएको भए, हामीले हाम्रो भ्रष्टताको जडबारे कहिल्यै थाहा पाउने थिएनौँ। हामीले जीवनभर धार्मिक जगतमा विश्वासको अभ्यास गरेपनि हामी कहिल्यै शुद्ध हुने थिएनौँ। न्यायको काम परमेश्वरको व्यवस्थापन योजनाको अन्तिम चरणको काम हो, मानवजातिका लागि परमेश्वरको मुक्तिको अन्तिम काम हो, त्यसैले आखिरी दिनहरूमा परमेश्वरकाे न्याय स्वीकार गर्नु नै मानवजातिले शुद्धीकरण र मुक्ति प्राप्त गर्न र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्ने एकमात्र मार्ग हो। वर्षौंदेखि प्रभुमा विश्वास गरेर पनि अझै पापमा जिउनेहरू सहित, आखिरी दिनहरूमा परमेश्वरले व्यक्त गर्नुभएको सत्यतालाई स्वीकार नगर्ने र परमेश्वरको कामको प्रतिरोध र निन्दा गर्नेहरू, र भ्रष्ट स्वभाव नधोइएका अनि रूपान्तरित नभएकाहरू, ले मुक्ति पाउनेछैनन् आखिरी दिनहरूका महाविपत्तिहरूमा सबै नष्ट हुनेछन्। परमेश्वरको छ हजार वर्षको व्यवस्थापनको काम समाप्त हुन लागेको छ र सबै प्रकारका विपत्तिहरू खुल्दै आइरहेका छन्। प्रभुलाई स्वागत नगर्ने र आखिरी दिनहरूमा उहाँको न्याय र शुद्धीकरण स्वीकार नगर्नेहरूले परमेश्वरको राज्यमा प्रवेश गर्ने कुनै मौका पाउनेछैनन्। अनुग्रहको ढोका बन्द हुन लागेको छ। हामी परमेश्वरको आखिरी दिनहरूको काममा सामेल हुन पाएर कत्ति भाग्यमानी छौँ। यो परमेश्वरको अनुग्रह हो।” लि हाओले उत्साहित हुँदै जवाफ दिइन्, “मलाई नत्याग्नुभएकोमा साथै मैले प्रभुलाई स्वागत गर्न सकूँ भनेर तपाईंमार्फत मलाई आखिरी दिनहरूको सुसमाचार सुनाउनुभएकोमा परमेश्वरलाई धन्यवाद। म परमेश्वरको काममा सामेल हुन पाएर कत्ति आशिषित भएकी छु। मैले साँच्चै लगनशीलताका साथ परमेश्वरका वचनहरू पढ्नै पर्छ!”
लि हाओलाई सुसमाचार सुनाउँदा, मैले परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकता, साथै उहाँको अद्भुत सुरक्षा देखेँ। लि हाओसँग दुई घण्टा आमने-सामने कुरा गरेपछि पनि मलाई कोभिड सरेन। यसले मलाई सबै कुरा परमेश्वरकै हातमा छन् भन्ने कुरा अझ बढी देखायो र मेरो सुसमाचार फैलाउने काममा मेरो विश्वास झनै बढायो!