२६. मलाई क्यान्सर भएको पत्ता लागेपछि

ली युआन, चीन

अप्रिल २०२३ मा, मण्डलीले मलाई अर्कै ठाउँमा गएर आफ्नो कर्तव्य गर्न खटायो। यो कुराले म धेरै उत्साहित भएँ र हतारहतार सामान मिलाएर जाने प्रतीक्षा गर्न थालेँ। तर, मलाई आफूलाई स्त्रीरोगसम्बन्धी समस्या भएको कुरा याद आयो, अपरिचित ठाउँमा उपचार खोज्न गाह्रो हुन सक्छ भनेर, म जानुअघि जाँच गराउन अस्पताल गएँ। डाक्टरले मेरा लक्षणहरूबारे थाहा पाएपछि, ढिलो भएमा रोग बढेर क्यान्सर हुन सक्छ भनी चिन्ता व्यक्त गर्दै बायोप्सीका लागि पाठेघरको क्युरेटेज गर्न सिफारिस गरे। निदानले के देखाउने हो भन्‍ने थाहा नभएकाले, नतिजा पर्खँदा मलाई साह्रै बेचैनी भयो। केही दिनपछि, नतिजा आयो, जसमा “संदिग्ध एन्डोमेट्रिअल क्यान्सर” लेखिएको थियो। यो देखेर म स्तब्ध भएँ। केही बेरपछि आफूलाई सम्हालेर मैले सोधेँ, “यहाँ ‘संदिग्ध क्यान्सर’ लेखिएको छ, यसको मतलब यो क्यान्सर नहुन पनि सक्छ होइन र?” डाक्टरले जवाफ दिए, “डाक्टरहरूले सीधै क्यान्सर हो भनेर विरलै भन्छन्; उनीहरूले अर्थ लगाउने ठाउँ छोड्छन्। यो कुन प्रकारको हो भनेर पत्ता लगाउन थप जाँचहरू गर्नुपर्छ, र त्यसपछि विशेष अवस्थाको आधारमा उपचार गरिनेछ।” यो सुनेपछि मेरो दिमाग शून्य भयो, र डाक्टरले भनेका अरू कुनै पनि कुरा मैले सुन्नै सकिनँ। अचानक र अप्रत्याशित रूपमा क्यान्सरको सामना गर्दा, म मानसिक रूपमा तयार नै थिइनँ। मैले सोचेँ, “कसरी क्यान्सर हुन सक्छ? मलाई कसरी क्यान्सर हुन सक्छ?” मैले मुखले परमेश्‍वरप्रति कुनै गुनासो व्यक्त नगरे पनि, भित्री रूपमा म यो वास्तविकता स्वीकार गर्न तयार थिइनँ। म सोच्न थालेँ, “के यो क्यान्सरको निदान परमेश्‍वरले मलाई प्रकाश पार्ने र हटाउने तरिका हो, कि यो शोधन हो? परमेश्‍वरको अभिप्राय के हो?”

घर फर्किँदा, मेरो मनभित्र खोक्रोपन थियो, र मेरो दिमागमा म अब केही दिन मात्र बाँच्छु भन्‍ने सोच मात्रै आइरह्यो। त्यस दिन दिउँसो एक जना सिस्टरसँग आफ्नो कर्तव्य गर्न बाहिर जाँदा, मेरो मन थिएन, म विचलित र उत्प्रेरणाहीन भएँ। फर्किने क्रममा, मैले निलो आकाशतिर हेरेँ र सोचेँ, “कति सुन्दर छ! म अब कति दिन बाँच्छु र? यो सुन्दर आकाश म अझै कति समय हेर्न पाउँछु होला र? यदि म मरेँ भने, मैले सुसमाचार विस्तारको अभूतपूर्व महिमा कहिल्यै देख्न पाउनेछैनँ।” त्यसपछि, मैले आफ्नो फोनमा पाठेघरको क्यान्सरबारे जानकारी खोजेँ। मैले अनलाइनमा पचासको उमेरपछि एन्डोमेट्रिअल क्यान्सर भएका कोही निको हुन सक्ने र कोही नसक्ने कुरा देखेँ। त्यसमा अन्तिम चरणका बिरामीहरू तीनदेखि पाँच वर्ष मात्र बाँच्छन्, र अझ गम्भीर अवस्थाहरूमा, उनीहरू एक वर्ष मात्र बाँच्न सक्छन् भनेर लेखिएको थियो। जति पढ्दै गएँ, उति डराउँदै गएँ, र मेरो क्यान्सर कुन चरणको हो र म कति समय बाँच्न सक्छु होला भनी सोच्न थालेँ। त्यो रात ओछ्यानमा पल्टँदा, मेरो दिमागमा कुरा खेलिरह्यो, “मैले त परमेश्‍वरमा विश्‍वास गरेपछि मुक्ति पाउनेछु र कहिल्यै मृत्युको सामना गर्नु पर्दैन भन्‍ने आशा गरेकी थिएँ, तर अब मलाई क्यान्सर लागेपछि मर्नुपर्ने भएन र? के यतिका वर्षको विश्‍वास व्यर्थ भयो? बरु परमेश्‍वरमा विश्‍वास नगरेको भए हुन्थ्यो!” जब यी विचारहरू आए, मैले ती सही छैनन् भनेर बुझेँ, र यो परमेश्‍वरलाई विश्‍वासघात गर्नु थियो। मैले सोचेँ, परमेश्‍वरमा विश्‍वास नगर्नेहरू पनि बिरामी पर्छन्, र म पनि विश्‍वासी भएर बिमारीको सामना गर्नुपर्छ। यस संसारमा कोही यस्तो छ जो बिरामी पर्दैन र? त्यसबाहेक, भ्रष्ट व्यक्तिको नाताले, मेरा लागि बिरामी पर्नु सामान्य कुरा थिएन र? बिरामी भइसकेपछि, मैले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। तर मृत्युको सोचले मलाई दुःखी बनायो। “हे परमेश्‍वर, म मर्न चाहन्नँ। मैले यतिका वर्ष आफ्नो परिवार र पेसा त्यागेर आफ्नो कर्तव्य गरेकी छु, र पनि अहिले मलाई क्यान्सर लागेको छ। के यसको मतलब तपाईंले मलाई त्याग्दै र हटाउँदै हुनुहुन्छ?” कष्ट र चिन्तामा जिउँदै, आँसु मेरो गालाबाट बगिरहे। मैले मनमनै परमेश्‍वरलाई भनेँ, “परमेश्‍वर, मैले के गर्ने?” त्यस क्षण, मलाई परमेश्‍वरका वचनहरू याद आयो: “आफू बिरामी हुँदा, त्यसको अनुभव तैँले कसरी गर्नुपर्छ? तँ परमेश्‍वरसामु आउनुपर्छ, र प्रार्थना गर्दै परमेश्‍वरको अभिप्राय के हो भनी खोज्‍ने र बुझ्ने कोसिस गर्नुपर्छ…। सामान्यतया, जब तैँले कुनै गम्भीर वा अनौठो रोग सामना गर्छस् र जब त्यसले तँलाई नराम्रोसँग कष्ट दिन्छ, त्यो संयोगवश हुँदैन। तँ बिरामी वा स्वस्थ जे-जस्तो भए पनि, त्यो परमेश्‍वरको अभिप्राय हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। परमेश्‍वरका वचनहरूले मलाई के सम्झाए भने मानिसहरू संयोगले गम्भीर बिमारी हुँदैनन्; यसमा सधैँ परमेश्‍वरको अभिप्राय हुन्छ। त्यसैले, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मलाई थाहा छ मलाई क्यान्सर लाग्नुमा तपाईंको अभिप्राय छ, र मैले यसबाट सिक्नुपर्ने पाठहरू छन्, तर म तपाईंको अभिप्राय के हो भनेर बुझ्दिनँ। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”

त्यसपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पठाउनुभयो: “जब रोगबिमारीले घेर्छ, तब मानिसहरूले कुन मार्ग अपनाउनुपर्छ? तिनीहरूले कसरी छनौट गर्नुपर्छ? मानिसहरू हैरानी, बेचैनी र चिन्तामा डुब्‍नु हुँदैन, र आफ्‍नै भावी सम्‍भाव्यता र मार्गहरूबारे चिन्तन गर्नु हुँदैन। बरु, जति धेरै यस्तो समय र यस्ता विशेष परिस्थिति र अवस्थाहरूमा परिन्छ, र जति धेरै यस्ता तात्कालिक कठिनाइहरूमा फसिन्छ, मानिसहरूले त्यति नै धेरै सत्यता खोजी गर्नुपर्छ र सत्यता पछ्याउनुपर्छ। यस्तो गरे मात्रै तैँले विगतमा सुनेका प्रवचनहरू र तैँले बुझेका सत्यताहरू व्यर्थमा जानेछैनन् र तिनले काम गर्नेछन्। तैँले यस्ता कठिनाइहरू जति धेरै सामना गर्छस्, तैँले त्यति नै धेरै आफ्‍ना इच्छाहरू त्यागेर परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। परमेश्‍वरले यस्तो परिस्थिति तय गर्नु र यस्ता अवस्थाहरू बन्दोबस्त गर्नुको उद्देश्य तँलाई हैरानी, बेचैनी र चिन्ताका संवेगहरूमा डुबाउनु होइन, र यो तँ बिरामी हुँदा परमेश्‍वरले तँलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर उहाँलाई जाँच्‍न, अनि यसरी मामिलाको वास्तविकता बताउन लगाउनको लागि पनि होइन; परमेश्‍वरले त यी विशेष परिस्थिति र अवस्थाहरू तैँले सत्यतामा अझै गहन प्रवेश पाउन र परमेश्‍वरप्रति अझै धेरै समर्पण हासिल गर्न यस्ता परिस्थिति र अवस्थाहरूमा व्यावहारिक पाठ सिक्‍न सक्, र परमेश्‍वरले मानिसहरू, घटनाहरू, र परिस्थितिहरू कसरी योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा अझै स्पष्ट र सही रूपमा जान्‍न सक् भनेर तय गर्नुहुन्छ। मानिसको नियति परमेश्‍वरको हातमा हुन्छ र, मानिसहरूले महसुस गरे पनि नगरे पनि, तिनीहरूलाई साँच्‍चै थाहा भए पनि नभए पनि, तिनीहरू यो कुराप्रति समर्पित हुनुपर्छ र यसको विरोध र इन्कार गर्नु हुँदैन, र तैँले अवश्यै परमेश्‍वरलाई जाँच्‍नु पनि हुँदैन। जुनसुकै अवस्थामा पनि तँ मर्न सक्छस्, र तैँले परमेश्‍वरलाई विरोध, इन्कार, र जाँच गर्छस् भने, तेरो नतिजा कस्तो हुनेछ त्यो भन्‍नै पर्दैन। बरु यसविपरीत, यदि तैँले त्यस्तै परिस्थिति र अवस्थाहरूमा सृष्टि गरिएको प्राणी कसरी सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ भनेर खोजी गर्न सक्छस् भने, परमेश्‍वरले तेरो जीवनमा ल्याउनुहुने परिस्थितिहरूमा तैँले के-कस्ता पाठहरू सिक्‍नुपर्छ र कुन-कुन भ्रष्ट स्वभावहरू चिन्‍नुपर्छ भनेर खोजी गर्न सक्छस् भने, अनि त्यस्ता परिस्थितिहरूमा परमेश्‍वरका अभिप्राय बुझ्‍न, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न राम्ररी गवाही दिन सक्छस् भने, तैँले गर्नुपर्ने कुरा नै त्यही हो। जब परमेश्‍वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्‍ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारीबाट पाठहरू सिकाउनु, परमेश्‍वरका अभिप्राय कसरी थाहा पाउने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्‍वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्‍नको लागि गर्ने योजना, मूल्याङ्कन, र युक्तिहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वरले तँलाई योजना बनाउन लगाउनुहुन्‍न, उहाँले तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्‍न, र उहाँले तँलाई उहाँप्रति कुनै अनावश्यक इच्छाहरू राख्‍न दिनुहुन्‍न; उहाँले त बस तँलाई उहाँमा समर्पित हुन, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा त्यो रोगप्रति तेरो आफ्‍नो मनोवृत्ति के छ त्यो जान्‍न, र उहाँले तँलाई दिनुहुने यी शारीरिक अवस्थाहरूप्रति तेरो मनोवृत्ति के छ, साथै तेरा व्यक्तिगत कामनाहरू के छन् त्यो जान्‍न मात्र लगाउनुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तँ बिरामी पर्ने परिस्‍थितिहरू मिलाउनु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्। त्यसकारण, जब रोगबिमारी आउँछ, तब तैँले सधैँ यसबाट कसरी उम्कने वा कसरी भाग्‍ने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनद्वारा, मैले के बुझेँ भने ममाथि रोग ल्याउनुमा परमेश्‍वरको अभिप्राय म कष्ट र चिन्तामा जिऊँ भन्‍ने थिएन, न त यस अनुभवद्वारा मेरो बिमारको वास्तविकता बुझूँ भन्‍ने थियो। बरु, यस बिमारमार्फत मैले पाठहरू सिकूँ, मेरो विश्‍वासमा रहेका अशुद्धता र परमेश्‍वरप्रतिको मेरो विलासी इच्छाहरू चिन्न सकूँ भन्‍ने थियो। परमेश्‍वर मलाई शुद्ध पार्न, परिवर्तन गर्न र मुक्ति दिन यो बिमार प्रयोग गर्न चाहनुहुन्थ्यो। तर मैले परमेश्‍वरको अभिप्राय बुझेकी थिइनँ। जब मलाई क्यान्सर भएको थाहा भयो, म हैरानी र चिन्तामा जिएँ, मेरो बिमार निको नहुने हो कि भनेर निरन्तर चिन्ता गर्थेँ, र म मरेँ भने फेरि कहिल्यै परमेश्‍वरका वचनहरू पढ्न वा आफ्नो कर्तव्य गर्न पाउनेछैनँ, र यसरी मुक्ति प्राप्त गर्न असक्षम हुनेछु भन्‍ने डर थियो। मैले परमेश्‍वरसँग तर्कसमेत गरेँ, मैले यतिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेर आफ्नो परिवार र पेसा त्यागी कर्तव्य निर्वाह गरेकीले, र परिवारबाट सतावट भोग्दा पनि परमेश्‍वरलाई धोका नदिएकीले, परमेश्‍वरले मलाई क्यान्सर लाग्न दिनुहुँदैनथ्यो भन्‍ने सोचेँ। म मृत्युको डरमा जिएँ, ममा परमेश्‍वरमाथि विश्‍वास थिएन र आफ्नो कर्तव्यमा कुनै प्रेरणा थिएन। तथ्यहरूको प्रकाशद्वारा, मैले आफूमा विवेक, समझ र मानवताको कमी छ, र मेरो हृदयमा परमेश्‍वर नै हुनुहुन्नथ्यो भन्‍ने देखेँ। यी कुराहरू बुझेपछि, मैले आफ्नो बिमारलाई सही रूपमा सामना गर्न सकेँ।

दुई दिनपछि, डाक्टरले फोन गएर मेरो जाँचको नतिजा आएको, र त्यो प्रारम्भिक चरणको क्यान्सर भएको बताए। उनले यो सुरुवातमै पत्ता लाग्नु भाग्यको कुरा रहेको बताउँदै जतिसक्दो चाँडो शल्यक्रियाका लागि अस्पताल आउन भने। शल्यक्रियाको अघिल्लो रात, म ओछ्यानमा छटपटी गर्दै रहेँ, निदाउनै सकिनँ, र मलाई केही असहज र डर लागिरहेको थियो। मलाई शल्यक्रिया सफल हुन्छ कि हुँदैन, सहज हुन्छ कि हुँदैन, वा म शल्यक्रिया टेबुलमै मर्छु कि भन्‍ने थाहा थिएन। मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, भोलि मेरो शल्यक्रिया हुँदैछ। यो सफल होस् वा नहोस्, वा म शल्यक्रिया टेबुलमै मरुँ, म यो सबै तपाईंको हातमा सुम्पन्छु र तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन्छु।” त्यसपछि मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “तैँले ठूलो रोग सामना गरे पनि वा सानो रोग सामना गरे पनि, तेरो रोग गम्‍भीर हुनेबित्तिकै वा तैँले मृत्यु सामना गरिरहेको बेला, बस एउटा कुरा याद गर्: तैँले मृत्युको डर नमान्। तँ क्यान्सरको अन्तिम चरणमै भए पनि, तँलाई लागेको रोगको मृत्यु दर धेरै भए पनि, तैँले मृत्युको डर नमान्। तेरो कष्टभोग जति ठूलो भए पनि, तैँले मृत्युको डर मानिस् भने, तँ समर्पित हुँदैनस्। कतिपय मानिसहरू भन्छन्, ‘तपाईँले यसो भन्‍नुभएको सुन्दा, मलाई उत्प्रेरणा प्राप्त भयो र मैले अझै राम्रो विचार पाएको छु। म मृत्युको डर नमान्‍ने मात्रै होइन, बरु म यसैको लागि बिन्ती गर्नेछु। के यसो गर्दा अघि बढ्न सजिलो हुँदैन र?’ किन मृत्युको लागि बिन्ती गर्ने? मृत्युको लागि बिन्ती गर्नु चरम विचार हो, तर मृत्युको डर नमान्‍नुचाहिँ अपनाउनुपर्ने उपयुक्त मनोवृत्ति हो। के त्यो साँचो होइन र? (हो।) मृत्युको डर नमान्‍नको लागि तैँले अपनाउनुपर्ने सही मनोवृत्ति के हो? यदि तेरो रोग अत्यन्तै गम्‍भीर अवस्थामा पुगेर तँ मर्ने सम्भावना भयो भने, र रोग लागेको व्यक्ति जति उमेरको भए पनि यो रोगको मृत्यु दर धेरै छ, र यो रोग लागेपछि मृत्यु हुने अवधि निकै थोरै छ भने, तैँले हृदयमा के विचार गर्नुपर्छ? ‘मैले मृत्युको डर मान्‍नु हुँदैन किनभने अन्त्यमा सबैजना मर्छन्। तर परमेश्‍वरमा समर्पित हुने कार्य धेरैजसो मानिसहरूले गर्न नसक्‍ने कुरा हो, र मैले यो रोगलाई प्रयोग गरेर परमेश्‍वरमा समर्पित हुने अभ्यास गर्न सक्छु। ममा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने सोच र मनोवृत्ति हुनुपर्छ, र मैले मृत्युको डर मान्‍नु हुँदैन।’ मर्नु सजिलो छ, जिउनुभन्दा निकै सजिलो। तँ चरम पीडामा हुन सक्छस् र पनि तँलाई यो पीडा थाहा हुँदैन, र तेरो आँखा बन्द भएर तेरो सासले छोड्नेबित्तिकै, तेरो प्राणले शरीर त्याग्छ, र तेरो जीवनको अन्त्य हुन्छ। मृत्यु यसरी नै हुन्छ; यो यति सरल छ। मृत्युको डर नमान्‍नु भनेको अपनाउनुपर्ने एउटा मनोवृत्ति हो। यसबाहेक, तैँले तेरो रोग अझै खराब भएर जान्छ कि जाँदैन, वा तेरो उपचार भएन भने तँ मर्छस् कि मर्दैनस्, वा तँ कति समयपछि मर्छस्, वा मर्ने बेलामा तँलाई कस्तो पीडा हुन्छ भन्‍नेबारेमा पटक्‍कै चिन्ता गर्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता गर्नु हुँदै हुँदैन; तैँले चिन्ता गर्नुपर्ने कुराहरू यी हुँदै होइनन्। किनभने त्यो दिन आउने नै छ, र त्यो कुनै साल, महिना, र कुनै निश्‍चित दिनमा पक्‍कै आउनेछ। तँ यसबाट लुक्‍न सक्दैनस् र यसबाट उम्कन सक्दैनस्—यो तेरो नियति हो। तेरो तथाकथित नियति परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ र उहाँले पहिले नै यसको बन्दोबस्त मिलाइसक्‍नुभएको छ। तेरो आयु र उमेर अनि तँ मर्ने समय परमेश्‍वरले पहिले नै तय गरिसक्‍नुभएको छ, त्यसकारण तँ केको चिन्ता गर्छस्? तैँले यसबारे चिन्ता गर्न सक्छस् तर यसले केही परिवर्तन गर्दैन; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर तैँले यो घटनालाई रोक्‍न सक्दैनस्; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर त्यो दिन आउनबाट रोक्‍न सक्दैनस्। त्यसकारण, तेरो चिन्ता अनावश्यक छ, र यसले तेरो रोगको बोझ झन् गह्रौँ बनाइदिने मात्रै गर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “मृत्युको मामलाको प्रकृति पनि अरू कुराहरूको जस्तै छ। यो मानिसहरूले छनौट गर्ने कुरा होइन, न त यसलाई मानिसको इच्छाद्वारा परिवर्तन नै गर्न सकिन्छ। मृत्यु पनि जीवनको अरू महत्त्वपूर्ण घटनाजस्तै हो: यो पूर्ण रूपमा सृष्टिकर्ताको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत पर्छ। यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्‍यो भने, ऊ मर्छ नै भन्‍ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्‍यो भने, ऊ जिउँछ नै भन्‍ने छैन। यो सबै परमेश्‍वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्‍वरको अख्‍तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ। त्यसकारण, मानौँ तँलाई गम्‍भीर रोग लाग्यो, ज्यान नै लैजान सक्ने गम्‍भीर रोग लाग्यो भने पनि तँ मर्छस् नै भन्‍ने हुँदैन—तँ मर्छस् कि मर्दैनस् भनेर कसले निर्णय गर्छ? (परमेश्‍वरले गर्नुहुन्छ।) परमेश्‍वरले निर्णय गर्नुहुन्छ। अनि परमेश्‍वरले यसको निर्णय गर्नुहुने र मानिसहरूले यस्तो कुराको निर्णय गर्न नसक्‍ने हुनाले, मानिसहरूले के कुराका बारेमा तनाव र हैरानीको महसुस गर्छन् त? यो त तेरा आमाबुबा को हुन्, र तँ कहिले र कहाँ जन्‍मन्छस् भन्‍ने जस्तै हो—यी कुराहरूलाई पनि तैँले छनौट गर्न सक्दैनस्। यी मामिलाहरूमा गर्न सकिने सबैभन्दा बुद्धिमानी निर्णय भनेको यी कुराहरूलाई स्वाभाविक रूपमा चल्न दिनु, समर्पित हुनु, र छनौट नगर्नु, यस विषयमा कुनै विचार वा ऊर्जा नलगाउनु, र यसका बारेमा हैरानी, तनाव, वा चिन्ता महसुस नगर्नु हो। मानिसहरूले आफै छनौट गर्न नसक्‍ने हुनाले, यस विषयमा धेरै ऊर्जा र विचार लगाउनु मूर्खतापूर्ण र निर्बुद्धि कार्य हुन्छ। मृत्यु जस्तो अत्यन्तै महत्त्वपूर्ण कुराको सामना गर्दा मानिसहरूले यसबारे हैरान हुनु हुँदैन वा चिन्ता गर्नु हुँदैन वा यसको डर मान्‍नु हुँदैन, तर के गर्ने त? मानिसहरूले प्रतीक्षा गर्नुपर्छ, होइन त? (हो।) होइन त? के प्रतीक्षा गर्नु भनेको मृत्युको प्रतीक्षा गर्नु हो? मृत्युको सामना गर्दा मर्न पर्खिनु हो? के त्यो सही हो? (होइन, मानिसहरूले यसलाई सकारात्मक रूपमा सामना गर्नुपर्छ र तिनीहरू समर्पित हुनुपर्छ।) ठीक भन्यौ, यसको अर्थ मृत्युलाई पर्खिनु भन्‍ने हुँदैन। मृत्युदेखि नआत्तिओ, र आफ्‍नो सारा ऊर्जा मृत्युबारे सोच्नामा नलगाऊ। दिनभरि यस्तो सोचेर नबस, ‘के म मर्छु? म कहिले मर्छु? मरेपछि मैले के गर्नेछु?’ यसका बारेमा सोच्दा पनि नसोच। कतिपय मानिसहरूले भन्छन्, ‘यसका बारेमा किन नसोच्‍नु? मर्न लागेको बेला यसका बारेमा किन नसोच्‍नु?’ किनभने तँ मर्छस् कि मर्दैनस् भन्‍ने कुरा थाहा हुँदैन, र परमेश्‍वरले तँलाई मर्न दिनुहुन्छ कि दिनुहुन्‍न भन्‍ने थाहा हुँदैन—यी कुराहरू अज्ञात छन्। विशेष गरी, तँ कहिले मर्छस्, कहाँ मर्छस्, कुन बेला मर्छस्, वा तँ मर्दा तेरो शरीरलाई कस्तो महसुस हुन्छ भन्‍ने कुरा थाहा हुँदैन। आफूलाई थाहा नभएको कुराबारे सोच्दै र मनन गर्दै आफ्‍नो दिमाग खियाएर अनि त्यसका बारेमा तनाव र चिन्ता लिएर, के तँ मूर्ख भइरहेको हुँदैनस् र? यसले तँलाई मूर्ख तुल्याउने हुनाले, तैँले यी कुराहरूका बारेमा दिमाग खियाउनु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्‍वरका वचनहरूबाट, मैले कुनै व्यक्तिको जीवन र मृत्यु सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ भनेर बुझेँ। कसैलाई क्यान्सर लागे पनि, यदि उसको मर्नु लेखिएको छैन भने ऊ मर्दैन। र जब कुनै व्यक्तिको समय पुग्छ, ऊ बिरामी नभए पनि मर्नेछ। कोही पनि चाहेर मर्न वा लामो समय बाँच्न सक्दैन; सबै कुरा परमेश्‍वरले नै निर्णय गर्नुहुन्छ, परमेश्‍वरले नै सबै कुरामा सार्वभौमिकता राख्नुहुन्छ र बन्दोबस्त गर्नुहुन्छ। जबदेखि मलाई क्यान्सर भएको थाहा भयो, त्यस समयलाई फर्केर हेर्दा, म मेरो बिमार निको हुन सक्छ कि सक्दैन, म मर्छु कि मर्दिनँ, र म शल्यक्रिया टेबुलमै मर्छु कि भनेर चिन्तित थिएँ। म हरेक दिन निरन्तर कष्ट र चिन्ताको अवस्थामा जिएँ। सामान्यतया, म सधैँ परमेश्‍वरले सबै कुरामा सार्वभौमिकता राख्नुहुन्छ र मानिसको जीवन र मृत्यु उहाँको हातमा छ भन्थेँ, तर जब म साँच्चै बिरामी परेँ, तब यसले के प्रकट गर्‍यो भने ममा परमेश्‍वरको सर्वशक्तिमानता र सार्वभौमिकताबारे कुनै बुझाइ थिएन, परमेश्‍वरमाथि साँचो विश्‍वास छैन, र समर्पण त झन् छैन। यो बुझेपछि, मलाई धेरै लाज लाग्यो। मैले शल्यक्रियालाई सकारात्मक रूपमा सामना गर्नुपर्छ भन्‍ने महसुस गरेँ। यो सफल होस् वा असफल, त्यो परमेश्‍वरको हातमा थियो, र यदि त्यस दिन मर्नुपरे पनि, म उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेथिएँ। परमेश्‍वरका वचनहरूले मलाई अपार विश्‍वास र साहस दियो। जब उनीहरूले मलाई शल्यक्रिया कक्षमा लगे, मलाई पहिले जस्तो डर लागेन। शल्यक्रिया छ घण्टासम्म चल्यो। जब मेरो होस खुल्यो र आफूलाई जीवित नै पाएँ, म धेरै खुसी भएँ। भोलिपल्ट, जब डाक्टर मलाई जाँच्न आए, तब उनले भने, “शल्यक्रिया ठूलो सफलता थियो। पछि कुनै विशेष परिस्थिति उत्पन्न भएन भने, थप उपचार आवश्यक पर्दैन। हामी केही दिनमा फलो-अप जाँच गर्नेछौँ, र परीक्षणको नतिजाले के भन्छ हेर्नेछौँ। यदि रेडियोथेरापी आवश्यक परेमा, हामी त्यो गर्नेछौँ, तर तपाईंको अवस्था गम्भीर छैन।” यो सुनेर, मैले हृदयमा यो डाक्टरको सीपले होइन, बरु परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूले गर्दा हो भन्‍ने थाहा पाएँ।

पछि, मैले गोप्य रूपमा आफ्नो अस्पतालको कोठामा परमेश्‍वरका वचनहरू पढेँ र दुईवटा खण्ड भेट्टाएँ: “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्‌हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्‍न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्नो मनसायहरू र चाहनाहरू त्याग्न, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनका लागि मर्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्‍ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्‍वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मैले तिनीहरूलाई निको पारूँला कि भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाका निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै हर्ष र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष्‌ फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरूले मलाई निको पार्न बिन्ती गर्छन् तर म कुनै ध्यान दिन्‍नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्‍वास गर्ने गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरका वचनहरूले यतिका वर्षदेखिको मेरो विश्‍वासको मनसाय र लक्ष्यलाई एकदमै स्पष्ट रूपमा औँल्याइदियो। मैले आशिष्‌ पाउन र र मृत्युबाट मुक्त रहने परिणाम सुरक्षित गर्नका लागि कष्ट भोगेकी थिएँ, मूल्य चुकाएकी थिएँ, कुराहरू त्यागेकी थिएँ, र आफ्नो कर्तव्यमा आफूलाई समर्पित गरेकी थिएँ। मैले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थालेको बेलालाई फर्केर हेरेँ। विश्‍वासीहरूले मुक्ति र अनन्त जीवन प्राप्त गर्न सक्छन् भन्‍ने थाहा पाएपछि, मैले सक्रिय रूपमा परमेश्‍वरका वचनहरू पढेँ र आफ्नो कर्तव्य पूरा गरेँ। मेरो परिवारले मलाई सतावट र बाधा दिन खोज्दा र मेरो श्रीमानले मसँग सम्बन्धविच्छेद गर्दा पनि, मैले परमेश्‍वरलाई धोका दिइनँ। मण्डलीले मेरा लागि जेसुकै कर्तव्यको बन्दोबस्त गरे पनि, मैले सक्रिय रूपमा सहयोग गरेँ, र कहिल्यै त्यसबाट पन्छिने प्रयास गरिनँ। तर जब मलाई क्यान्सर भएको पत्ता लाग्यो, र मैले परमेश्‍वरमा विश्‍वास गरेका यतिका वर्षसम्म कुराहरू त्यागेर र आफूलाई समर्पित गरेर पनि आखिरमा मर्नुपर्नेछ भन्‍ने सोचेँ, मैले परमेश्‍वरसँग तर्क गर्न थालेँ। मलाई क्यान्सर लाग्नुपर्ने कुरा होइन भन्‍ने लाग्यो, र मैले आफ्नो विश्‍वासप्रति पछुतोसमेत गरेँ, र मैले विद्रोहीपन र विश्‍वासघातबाहेक केही पनि प्रकट गरिनँ! मैले आफ्नो परिवार र पेसा त्यागेर कर्तव्य गर्नु परमेश्‍वरका लागि साँचो रूपमा आफूलाई समर्पित गर्नु थिएन, बरु आशिष्‌ पाउने मेरो नीच लक्ष्यबाट प्रेरित थियो भन्‍ने देखेँ। म आफ्नो परिश्रम र समर्पणलाई राज्यमा प्रवेश गर्ने आशिष्‌सँग साट्न चाहन्थेँ, म परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्दै थिएँ। सृजित प्राणीले कर्तव्य गर्नु स्वभाविक र न्यायसङ्गत कुरा हो; यो मानिसको जिम्मेवारी हो, र मानिसले परमेश्‍वरसँग कुनै पनि माग गर्नु हुँदैन। तैपनि, जब म बिरामी परेँ, मैले परमेश्‍वरसँग तर्क र उहाँबारे गुनासो मात्र गरिनँ, मैले परमेश्‍वरसँग मेरो रोग हटाइदिनुहोस् भनी माग पनि गरेँ। मैले आफूमा परमेश्‍वरको डर मान्‍ने हृदय अलिकति पनि थिएन भन्‍ने देखेँ। मैले अय्यूबले आफ्ना सबै पशुधन र छोराछोरी गुमाएको, र उनको शरीर खटिराले ढाकिएको कुरा सम्झेँ। उनले धेरै कष्ट भोगे, तर उनले परमेश्‍वरबारे गुनासो नगरेका मात्र होइनन्, उनले परमेश्‍वरले आफ्नो पीडा देख्नुहोस् भन्‍ने पनि चाहेनन्, र परमेश्‍वरलाई वेदना दिन चाहेनन्। अय्यूबले परमेश्‍वरलाई त्याग्नुभन्दा आफूलाई सराप्न रुचाए, उनी अझै पनि परमेश्‍वरको नामको प्रशंसा गर्न समर्थ थिए, र उनले अन्ततः परमेश्‍वरका लागि एउटा सुन्दर गवाही दिए। मैले अय्यूबमा इमानदार र दयालु मानवता थियो, र उनले परमेश्‍वरप्रति समर्पण र डर राख्थे भन्‍ने देखेँ। पत्रुस पनि थिए। उनलाई परमेश्‍वरको साँचो ज्ञान थियो, उनले शोधन र सङ्कष्ट दुवै स्वीकार गरे, परमेश्‍वरबारे कुनै गलतफहमी वा गुनासो गरेनन् वा उहाँसँग केही माग गरेनन्, र परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित भए, र उनी अन्ततः परमेश्‍वरका लागि क्रूसमा उँधोमुन्टो टाँगिए। यसको विपरीत, मेरो आफ्नै व्यवहार साँच्चै लाजमर्दो थियो। मैले परमेश्‍वरमा विश्‍वास गरेर आफ्नो कर्तव्य परमेश्‍वरलाई चिन्नका लागि, वा आफ्नो जीवन स्वभाव परिवर्तन गर्न सत्यता पछ्याउनका लागि निर्वाह गरिनँ, बरु आशिष्‌ र मृत्युविनाको परिणाम पाउनका लागि गरेँ। म पावलजस्तै थिएँ, जो आफूले दौडनुपर्ने दौड पूरा गरेको, असल लडाइँ लडेको, र आफ्नो लागि धार्मिकताको मुकुट राखिएको छ भन्‍ने विश्‍वास गर्थे। उनले परमेश्‍वरसँग मोलतोल गर्न, इनाम र मुकुटका लागि साट्न परिश्रम र समर्पण गरे, र उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए, र परमेश्‍वरको दण्ड भोगे। परमेश्‍वरमाथिको विश्‍वासमा मेरो दृष्टिकोण पावलको जस्तै थियो। यदि परमेश्‍वरले मलाई यस बिमारमार्फत प्रकाश नपार्नुभएको भए, मैले यो कहिल्यै महसुस गर्न सक्ने थिइनँ। बरु म यो गलत बाटोमा हिँडिरहने थिएँ, र अन्ततः परमेश्‍वरद्वारा हटाइने थिएँ। त्यसबेला मैले यो बिमार वास्तवमा परमेश्‍वरले मलाई दिइरहनुभएको मुक्ति हो भन्‍ने बुझेँ।

पछि, मैले परमेश्‍वरका अरू धेरै वचनहरू पढेँ: “मलाई भन्, संसारभरिका करोडौँ मानिसहरूका बीचमा परमेश्‍वरका यति धेरै वचनहरू सुन्‍ने, जीवनका धेरै सत्यताहरू बुझ्‍ने, र धेरै रहस्यहरू बुझ्‍ने गरी को-को आशिषित भएका छन्? तिनीहरूमध्ये क-कसले व्यक्तिगत रूपमा परमेश्‍वरको अगुवाइ, परमेश्‍वरको प्रबन्ध, र उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्न सक्छन्? यति आशिषित को-को छन्? निकै थोरै छन्। त्यसकारण, तिमीहरू थोरैले मात्रै आज परमेश्‍वरको घरमा बस्न, उहाँको मुक्ति पाउन, र उहाँको बन्दोबस्‍त प्राप्त गर्न पाउनुले अहिले नै मर्यौ भने पनि यो सबलाई सार्थक बनाउँछ। तिमीहरू अत्यन्तै आशिषित छौ, होइन र? (हो।) यो दृष्टिकोणबाट हेर्दा, मृत्युको मामिलादेखि मानिसहरू तर्सिनु हुँदैन, र यसको बन्धनमा पनि पर्नु हुँदैन। तिमीहरूले संसारको वैभव र सम्पत्ति प्राप्त नगरेका भए पनि, सृष्टिकर्ताको दया पाएका र परमेश्‍वरका धेरै वचनहरू सुनेका छौ—के यो आनन्दको कुरा होइन र? (हो।) यो जीवनमा तँ जति वर्ष बाँचे पनि, यो सबै सार्थक हुन्छ र तँसँग कुनै पछुतो हुँदैन, किनभने तैँले परमेश्‍वरको काम गर्दै निरन्तर आफ्‍नो कर्तव्य पूरा गरिरहेको छस्, तैँले सत्यता बुझेको छस्, जीवनका रहस्यहरू बुझेको छस्, र जीवनमा तैँले पछ्याउनुपर्ने मार्ग र उद्देश्यहरू बुझेको छस्—तैँले धेरै कुरा प्राप्त गरेको छस्! तैँले सार्थक जीवन जिएको छस्! तैँले यो कुरा स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि, तैँले केही सत्यता अभ्यास गर्न सक्छस् र तँमा केही वास्तविकता छ, र यसले तैँले परमेश्‍वरको कामबाट केही जीवन प्रबन्ध प्राप्त गरेको छस् र केही सत्यता बुझेको छस् भन्‍ने कुरा प्रमाणित गर्छ। तैँले धेरै प्राप्त गरेको छस्—साँचो प्रशस्‍तता प्राप्त गरेको छस्—र त्यो ठूलो आशिष् हो! मानव इतिहासको सुरुवातदेखि नै, सारा युगभरि कसैले पनि यो आशिष् प्राप्त गरेको छैन, तैपनि तिमीहरूले यो प्राप्त गरिरहेका छौ। के तिमीहरू अहिले मर्न तयार छौ? त्यस्तो इच्छा भएको भए, मृत्युप्रति तिमीहरूको मनोवृत्ति साँच्‍चै नै समर्पित हुनेथियो, होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्‍वरका वचनहरू पढेपछि, म भावुक भएर रोएँ। यस दुष्ट युगमा, अरबौँ मानिसहरूमध्ये, म परमेश्‍वरको घरमा प्रवेश गर्न भाग्यमानी भएकी थिएँ, जहाँ मैले उहाँको मलजल र भरणपोषण पाएँ, जसले मलाई धेरै सत्यता र रहस्यहरू बुझ्न सक्षम बनायो। मैले मानिस परमेश्‍वरबाट आउँछ, हरेक व्यक्तिको जीवन परमेश्‍वरले दिनुभएको हो भन्‍ने सिकेँ। मैले परमेश्‍वरको आराधना कसरी गर्ने र कसरी जिउने, कसरी इमानदार व्यक्ति बन्ने, असल के हो र खराब के हो, र अरू धेरै कुराहरू सिकेँ। यसले मलाई मेरो पछ्याइका लागि एउटा लक्ष्य दियो र मलाई सही जीवन मार्गमा डोऱ्यायो। यतिका वर्षसम्म परमेश्‍वरलाई पछ्याएर मैले धेरै कुरा पाएकी थिएँ; म साँच्चै धेरै आशिषित थिएँ, त्यसैले यदि म त्यतिबेला मरेकी भए पनि, यो सबै सार्थक हुनेथियो। परमेश्‍वरका वचनहरू मनन गर्दा, म यति खुसी भएँ कि म रोएँ। पछि, मैले अर्को जाँच गराएँ, र डाक्टरले क्यान्सर फैलिएको कुनै सङ्केत नभएको, त्यसैले रेडियोथेरापी आवश्यक नभएको बताए। मैले केवल हरेक तीन महिनामा फलो-अप जाँच गराउनुपर्थ्यो, र मलाई डिस्चार्ज गरेर घर जान सकिन्छ भनियो। यो खबर सुनेर, म यति खुसी भएँ कि मैले परमेश्‍वरलाई धन्यवाद दिइरहेँ। पछि, मैले फलो-अप जाँच गरेँ, र परीक्षणको नतिजाले सबै कुरा सामान्य भएको देखायो।

यस बिमारको अनुभवद्वारा, मैले आफ्नो विश्‍वासमा के पछ्याउने भन्‍नेबारे मेरो गलत दृष्टिकोणबारे केही ज्ञान पाएँ र मैले परमेश्‍वरको सर्वशक्तिमानता र सार्वभौमिकताबारे पनि केही बुझाइ प्राप्त गरेँ। कुनै व्यक्तिले आफ्नो जीवनमा के अनुभव गर्छ, उसको जन्म, बुढ्यौली, रोग र मृत्यु, उसले आफै छनौट गर्ने कुरा होइन, र यो सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। भविष्यमा म बाँचू वा मरूँ, म केवल परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, सत्यता पछ्याउन, र आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु।

अघिल्लो:  २४. मैले साँचो खुसी पाएँ

अर्को:  २७. म अब सौभाग्यको पछि लाग्दिनँ

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger