२७. म अब सौभाग्यको पछि लाग्दिनँ
सन् २०२३ को अप्रिलको अन्ततिर, मैले माथिल्लो अगुवाबाट एउटा चिठी पाएँ, जसमा एउटा मण्डलीको अगुवालाई वास्तविक काम नगरेकाले बर्खास्त गरिएको लेखिएको थियो। उपयुक्त व्यक्ति नभेट्टाएकाले, उहाँहरूले मलाई अस्थायी रूपमा मण्डलीको काम सम्हाल्न खटाउनुभयो। चिठी पढेपछि, मैले धेरै सोच्ने समय पाइनँ र तुरुन्तै त्यस मण्डलीमा गएँ। त्यहाँ पुगेर मैले के थाहा पाएँ भने केही मलजल गर्नेहरू आफ्नो कर्तव्यमा अल्छी र लापरवाह थिए र उनीहरूलाई बदल्नु आवश्यक थियो, अनि धेरै नयाँ विश्वासीहरू नकारात्मक, कमजोर, र नियमित रूपमा भेलामा उपस्थित नहुने भएकाले, उनीहरूलाई तुरुन्तै मलजल र सहयोगको आवश्यकता थियो। मण्डलीको सुसमाचारको काम पनि प्रभावहीन थियो। मैले सोचेँ, “कामको नतिजा यति खराब भएको मण्डलीमा अगुवाले मलाई किन पठाउनुभयो? यदि म यहाँ लामो समय बसेँ र काम सुधार्न सकिनँ भने, मेरा अगुवाले मेरोबारेमा के सोच्नुहोला? कतै उहाँले मलाई यो कर्तव्यका लागि उपयुक्त छैन भन्नुहुने त होइन? अब म यहाँ आइसकेकीले, म परमेश्वरमा भर पर्नेछु र सहकार्य गर्न सक्दो प्रयास गर्नेछु।” काम राम्रोसँग गर्नका लागि पहिले व्यक्तिहरूलाई फेरबदल गर्नुपर्छ भन्ने सोचेर, म हरेक दिन बिहानदेखि साँझसम्म यी कामहरूमा व्यस्त रहेँ।
केही समयपछि, कर्मचारी समायोजनको काम सकियो, र मलजलको काममा पनि बिस्तारै केही नतिजा देखिन थाल्यो। पछि, सुसमाचारसम्बन्धी कामदार सिस्टर ली मिङ मण्डली अगुवाको रूपमा चुनिनुभयो। म धेरै खुसी भएँ, किनभने ती सिस्टरमा आफ्नो कर्तव्यप्रति बोझको बोध थियो र उहाँ जीवन प्रवेशमा केन्द्रित हुनुहुन्थ्यो, र मसँग मण्डलीको काममा सहकार्य गर्न उहाँलाई पाउनु धेरै राम्रो थियो। तर अप्रत्याशित रूपमा, सिस्टर ली चुनिनुभएको केही समयपछि नै, हामीले अचानक माथिल्लो अगुवाबाट एउटा चिठी पायौँ, जसमा ली मिङलाई चिनियाँ कम्युनिष्ट पार्टीले खोजिरहेको र स्थानीय क्षेत्रमा उहाँलाई आफ्नो कर्तव्य गर्न सुरक्षित नभएकोले अन्यत्र सार्नुपर्ने कुरा लेखिएको थियो। त्यो चिठी पढेर, मैले सोचेँ, “हामीले भर्खरै एउटी मण्डली अगुवा चुनेका थियौँ, र अब उहाँले छोडेर जानुपर्ने भयो। मैले त ली मिङले सुसमाचारको कामको सुपरिवेक्षण गर्ने भएपछि मेरो बोझ अलिकति हल्का होला भन्ने आशा गरेकी थिएँ, तर अहिले मेरो बोझ कम हुनुको सट्टा, एउटी अनुभवी सुसमाचार कार्यकर्तालाई पनि अन्यत्र सारिँदै छ। यदि काम प्रभावहीन नै रह्यो भने, माथिल्लो अगुवाले मेरोबारेमा के सोच्नुहोला?” मन नहुँदानहुँदै पनि, मसँग समर्पित हुनुबाहेक अरू विकल्प थिएन। पछि, मैले सुसमाचारको काममा सहकार्य गर्न दुई जना सुसमाचारसम्बन्धी कामदार भेट्टाएँ, तर त्यसपछि, एउटा ठूलो धरपकडले मेरा योजनाहरू ध्वस्त पारिदियो। आउँदा केही दिनसम्म, मैले ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परेको खबर सुनिरहेँ, जसमा मैले भर्खरै भेट्टाएका सुसमाचारसम्बन्धी कामदारहरू पनि थिए। यो सबैकुराले मलाई लल्याकलुलुकै बनायो, र मैले सोचेँ, “म किन यस्ती अभागी? म यस मण्डलीमा आएको दुई महिनामा यति धेरै बाधा-अड्चनहरूको सामना गरेकी छु, र मैले बल्लतल्ल व्यक्तिहरूलाई समायोजन गरेकी थिएँ, तर अब हेर के भइरहेको छ। कामको नतिजा सुध्रिनु त परै जाओस्, सहकार्य गर्न सक्ने व्यक्तिहरूसमेत पक्राउ परे। यस्तो लाग्छ मेरो भाग्य नै खराब छ! अघिल्लो अगुवाले आफ्नो कर्तव्य गर्दा सबै कुरा सहज र स्थिर थियो। म किन यस्ती अभागी छु र यी सबै खराब कुराहरू मैमाथि आइपर्छन्? मेरा हालैका सबै प्रयासहरू खेर गए! माथिल्लो अगुवाले पक्कै पनि ममा काम गर्ने साम्यर्थ छैन भन्नुहुनेछ।” यसबारे सोच्दा, म रुनबाट आफूलाई रोक्न सकिनँ र एकदमै दिक्दार महसुस गरेँ। कामको कुनै नतिजा नआएपछि, मैले समस्याहरू समाधान गर्ने प्रेरणा गुमाएँ र त्यो ठाउँ छोड्न समेत चाहेँ। म यस स्थितिमा जिउँदै जाँदा, मेरो आत्मा झन्-झन् अन्धकार र निराशामा डुब्दै गयो।
पछि, मैले आफ्नो स्थितिसित सान्दर्भिक परमेश्वरका वचनहरूको एक खण्ड खाएँ र पिएँ। मैले परमेश्वरका वचनहरू पढेँ: “आफूलाई सधैँ अभागी ठान्ने मानिसहरूको समस्या के हो? तिनीहरूले आफ्नो व्यवहार सही छ कि गलत छ भनेर मापन गर्न, र तिनीहरूले लिनुपर्ने मार्ग, तिनीहरूले अनुभव गर्नुपर्ने कुराहरू, र तिनीहरूले सामना गर्ने कुनै पनि समस्याहरू तौलनको लागि भाग्यको मापदण्ड प्रयोग गर्छन्। यो सही हो कि गलत हो? (गलत हो।) तिनीहरूले खराब कुराहरूलाई अभागी भन्ने शब्दले र असल कुराहरूलाई भाग्यमानी वा फाइदाजनक भन्ने शब्दले व्याख्या गर्छन्। यो दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) यस्तो दृष्टिकोणले मापन गर्नु गलत हुन्छ। विभिन्न कुराहरू मापन गर्ने यो विधि र मापदण्ड चरम र गलत छ। यस्तो तरिकाले मानिसहरूलाई प्राय निराशामा डुबाउँछ, र प्राय असहज महसुस गराउँछ, र यसले तिनीहरूलाई तिनीहरूले भनेजस्तो कहिल्यै हुँदैन, र तिनीहरूले चाहेको कहिल्यै मिल्दैन भन्ने महसुस गराउँछ, जसले गर्दा तिनीहरूलाई निरन्तर चिन्ता, झन्झट, र असहज महसुस हुन्छ। जब यी नकारात्मक संवेगहरूलाई समाधान नगरी त्यतिकै छोडिन्छ, तब यी मानिसहरू निरन्तर निराशामा डुब्छन् र आफूलाई परमेश्वरले निगाह गर्नुहुन्न भन्ने महसुस गर्छन्। तिनीहरू परमेश्वरले अरूलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्न, र परमेश्वरले अरूको हेरचाह गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्न भन्ने सोच्छन्। ‘मलाई किन सधैँ असहजता र चिन्ता हुन्छ? किन मेरो जीवनमा सधैँ खराब कुराहरू आइपर्छन्? किन असल कुराहरू मेरो बाटोमा कहिल्यै आउँदैनन्? एकपटक मात्रै भए पनि त आए हुन्थ्यो!’ जब तैँले यस्तो गलत सोच र दृष्टिकोणले विभिन्न कुराहरू हेर्छस्, तब तँ असल र खराब भाग्यको फन्दामा पर्नेछस्। जब तँ निरन्तर यो पासोमा परिरहन्छस्, तँलाई निरन्तर निराशा महसुस हुन्छ। यो निराशामाझ, तँ तेरो जीवनमा आइपर्ने कुराहरू भाग्यशाली हुन् कि दुर्भाग्यशाली हुन् भन्ने कुराप्रति अत्यन्तै संवेदनशील हुन्छस्। जब यस्तो हुन्छ, यसले तँ असल भाग्य र खराब भाग्यसम्बन्धी यो दृष्टिकोण र विचारद्वारा नियन्त्रित भएको छस् भन्ने प्रमाणित गर्छ। जब तँ यस्तो दृष्टिकोणद्वारा नियन्त्रित भएको हुन्छस्, तब मानिसहरू, घटना, र परिस्थितिहरू हेर्ने तेरो दृष्टिकोण र मनोवृत्ति सामान्य मानवताको विवेक र समझको दायराभित्र रहेको हुँदैन, बरु चरम अवस्थामा पुगेको हुन्छ। जब तँ यो चरम अवस्थामा पुग्छस्, तँ आफ्नो निराशाबाट मुक्त हुन सक्दैनस्। तँ बारम्बार निराशामा परिरहन्छस्, र तैँले सामान्यतया निराशा महसुस नगरे पनि, कुनै गलत कुरा आइपर्ने बित्तिकै, र तँलाई कुनै अभागी घटना घटेको छ भन्ने महसुस हुनेबित्तिकै, तँ तुरुन्तै निराशामा डुब्छस्। यो निराशाले तेरो सामान्य मूल्याङ्कन र निर्णय प्रक्रियामा असर पार्छ, र तेरो खुसी, रिस, शोक, र आनन्दमा पनि असर पार्छ। जब यसले तेरो खुसी, रिस, शोक, र आनन्दमा असर पार्छ, तब यसले तेरो कर्तव्यपालन, र परमेश्वरलाई पछ्याउने तेरो इच्छा र चाहना बिथोल्छ र नष्ट पार्छ। जब यी सकारात्मक कुराहरू नष्ट हुन्छन्, तब तैँले बुझेका थोरै सत्यताहरू पनि हावामा बिलाएर जानेछन् र ती कुरा तेरो लागि कुनै फाइदाका हुँदैनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरले कुनै पनि खराब कुरालाई “अभागी” र कुनै पनि राम्रो कुरालाई “भाग्यमानी” वा “फाइदाजनक” भनी वर्णन गर्नु भनेको चरमपन्थी व्यक्तिको, गलत दृष्टिकोण भएको व्यक्तिको धारणा हो भन्नुहुन्छ। म ठ्याक्कै यस्तै थिएँ। जब म आफ्नो कर्तव्य पूरा गर्न यस मण्डलीमा आएँ र मण्डलीको कामको विभिन्न पक्षका नतिजाहरू खराब रहेको, मलजल गर्नेहरूमा आफ्नो कर्तव्यप्रति बोझको कमी भएको, धेरै नयाँ विश्वासीहरू नकारात्मक र कमजोर भएको, र सुसमाचारको कामले राम्रो नतिजा नपाइरहेको थाहा पाएँ, तब मैले आफूलाई अभागी महसुस गरेँ। काम राम्रोसँग गर्नका लागि, मैले बिहानदेखि साँझसम्म आफूलाई व्यस्त राखेकी थिएँ, भेला र सङ्गति गरेकी थिएँ, र व्यक्तिहरूलाई फेरबदल गरेकी थिएँ। केही समयपछि, जब मैले मलजलको काम बिस्तारै सकारात्मक दिशामा अघि बढेको देखेँ, तब म खुसी र आफ्नो कर्तव्य पूरा गर्न उत्प्रेरित भएँ। तर पछि जब एउटी अनुभवी सुसमाचारसम्बन्धी कामदारलाई सरुवा गरियो र त्यसको केही समयपछि नै, व्यापक धरपकड भयो र सुसमाचारसम्बन्धी कामदारहरू पक्राउ पर्न थाले, अनि सुसमाचारको काममा कोही पनि सहकार्य गर्न नसक्ने भए, तब म दिक्दारीको भावनामा डुबेकी थिएँ र केही पनि गर्ने ऊर्जा जुटाउन सकेकी थिइनँ। मेरा यी व्यवहारहरू मेरो गलत दृष्टिकोणबाट उत्पन्न भएका थिए। जब कामले राम्रो नतिजा दिइरहेको थियो र सबै कुरा सहज रूपमा अघि बढिरहेको थियो, मैले माथिल्लो अगुवाको प्रशंसा पाएको जस्तो महसुस गर्थेँ र यसले मलाई खुसी बनाउँथ्यो। तर जब कामले राम्रो नतिजा दिइरहेको थिएन र मैले चाहेजस्तो भइरहेको थिएन, म नकारात्मक र कमजोर महसुस गर्थेँ, आफ्नो खराब भाग्यलाई दोष दिन्थेँ, र आफ्नो कर्तव्यसमेत छोड्न चाहन्थेँ। मैले अविश्वासीहरूले कसरी आफूमाथि आइपरेको कुनै पनि कुरालाई परमेश्वरबाट कहिल्यै स्वीकार गर्दैनन्, र जब प्रतिकूल परिस्थितिहरू आउँछन्, उनीहरू परमेश्वरबारे गुनासो गर्छन्, उहाँलाई गलत बुझ्छन्, र उहाँलाई विश्वासघातसमेत गर्छन् भन्ने कुरा सोचेँ। यदि मेरो स्थिति नफेरिने हो भने, म पनि साँच्चै खतरामा थिएँ भन्ने कुरा मैले बुझेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँले मेरो स्थिति फेर्न मलाई मार्गदर्शन गर्नुहुनेछ भन्ने आशा गरेँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “आफ्नो भाग्य असल छ कि खराब छ भनेर सधैँ चिन्ता गर्ने यी मानिसहरूको—के तिनीहरूको दृष्टिकोण सही हुन्छ? के असल भाग्य वा खराब भाग्य भन्ने कुरा हुन्छ? (हुँदैन।) यस्तो कुरा हुँदैन भन्नुको आधार के हो? (हामीले हरेक दिन भेट्ने मानिसहरूलाई र हाम्रो जीवनमा आइपर्ने घटनाहरूलाई परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले तय गरेका हुन्छन्। असल भाग्य वा खराब भाग्य भन्ने कुरो हुँदैन; सबै कुरा आवश्यकताको आधारमा घटित हुन्छन् र त्यो सबै कुरापछाडि अर्थ लुकेको हुन्छ।) के त्यो सही हो? (हो।) यो दृष्टिकोण सही छ, र भाग्य भन्ने कुराको कुनै अस्तित्व छैन भनेर भन्नुको सैद्धान्तिक आधार यही हो। तँमाथि जुनसुकै घटना घटे पनि, चाहे त्यो असल होस् वा खराब, त्यो सबै चार वटा ऋतुको मौसमजस्तै सामान्य कुरा हो—हरेक दिन घाम लाग्छ नै भन्ने छैन। तैँले घमाइला दिनहरू परमेश्वरले बन्दोबस्त गर्नुभएको हो, जबकि बादल लागेका दिनहरू, अनि वर्षा, बतास, र आँधीका दिनहरू परमेश्वरले बन्दोबस्त गर्नुभएको होइन भनेर भन्न सक्दैनस्। सबै कुरा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले निर्धारित गरेको, र प्राकृतिक वातावरणले सिर्जना गरेको हुन्छ। प्राकृतिक वातावरण परमेश्वरले बन्दोबस्त र स्थापना गर्नुभएका व्यवस्था र नियमहरूअनुसार पैदा हुन्छ। यो सबै कुरा अत्यावश्यक र अपरिहार्य हुन्छ, त्यसकारण मौसम जे-जस्तो भए पनि, यसलाई प्राकृतिक नियमले नै सिर्जना गरेको र ल्याएको हुन्छ। यसमा असल वा खराब भन्ने कुनै कुरा हुँदैन—यसप्रतिको मान्छेको अनुभूति मात्रै असल वा खराब हुन्छ। मानिसहरूलाई वर्षा हुँदा, बतास वा बादल लाग्दा, वा असिना पर्दा राम्रो महसुस हुँदैन। खास गरी, पानी परिरहेको र भिजेर चिसो भएको अवस्था मानिसहरूलाई मन पर्दैन; तिनीहरूको जोर्नी दुख्छ र तिनीहरूलाई कमजोर महसुस हुन्छ। तर तँलाई झरी परेको दिन नरमाइलो लागे पनि, के तैँले झरी परेको दिन दुर्भाग्यपूर्ण दिन हुन् भनेर भन्न सक्छस्? यो त मौसमले मानिसहरूमा पैदा गर्ने अनुभूति मात्रै हो—वर्षा भइरहेको कुरामा भाग्यको कुनै सम्बन्ध हुँदैन। तैँले घमाइला दिनहरू राम्रा हुन्छन् भनी भन्न सक्छस्। यदि एक थोपा पनि पानी नपरी तीन महिना घाम मात्रै लाग्यो भने, मानिसहरूलाई रमाइलो लाग्छ। तिनीहरूले हरेक दिन घाम देख्न सक्छन्, र कहिलेकाहीँ मन्द हावा चल्ने र सुक्खा र न्यानो हुन्छ, र तिनीहरू जहिले मन लाग्यो त्यही बेला बाहिर जान सक्छन्। तर वनस्पतिहरूले यसलाई सहन सक्दैनन्, र खडेरीले बाली मर्छ, त्यसकारण त्यो वर्ष कुनै उब्जनी हुँदैन। त्यसकारण, के तैँले राम्रो महसुस गर्दैमा त्यसको अर्थ त्यो कुरा असल नै हो भन्ने हुन्छ र? अनि, शरद ऋतु आओस् न, तँसँग खाने कुरा केही नभएर तैँले यसो भन्नेछस्, ‘अहो, धेरै दिन घाम लाग्नु पनि राम्रो होइन रैछ। पानी परेन भने, बालीमा हानि हुँदो रैछ, भित्र्याउने बाली केही नहुँदो रैछ, अनि मानिसहरू भोकभोकै हुने रैछन्।’ यस बिन्दुमा, तँलाई निरन्तर घाम लाग्नु पनि राम्रो होइन भन्ने महसुस हुन्छ। साँचो कुरा के हो भने व्यक्तिले राम्रो महसुस गर्छ कि गर्दैन भन्ने कुरा उसको आफ्नै स्वार्थी मनसाय, इच्छा, र आत्मचासोमा आधारित हुन्छ, त्यो कुराको सारमा आधारित हुँदैन। त्यसकारण, मानिसहरूले कुनै कुरालाई असल वा खराब भनी मूल्याङ्कन गर्ने आधार नै गलत हुन्छ। अनि, आधार नै गलत भएको हुनाले, तिनीहरूले निकाल्ने अन्तिम निष्कर्ष पनि गलत नै हुन्छ। अब, असल भाग्य र खराब भाग्यको विषयमा फर्केर हेर्दा, सबैलाई भाग्यसम्बन्धी यो भनाइ निराधार छ, र यो असल पनि हुँदैन र खराब पनि हुँदैन भन्ने कुरा थाहा भएको छ। तैँले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू असल भए पनि खराब भए पनि, ती सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले नै तय गरेका हुन्छन्, र त्यसकारण तैँले तिनलाई उचित रूपमा सामना गर्नुपर्छ। तैँले असल कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ, र खराब कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ। असल कुराहरू हुँदा आफू भाग्यमानी छु, र खराब कुराहरू हुँदा आफू अभागी छु भनेर नभन्। यो मात्र भन्न सकिन्छ कि यी सबै कुराहरूमा मानिसहरूले सिक्नुपर्ने पाठहरू हुन्छन्, र तिनीहरूले ती कुराहरू इन्कार गर्ने वा ती कुराहरूबाट तर्किने गर्नु हुँदैन। तिमीहरू असल कुराहरूको लागि पनि परमेश्वरलाई धन्यवाद देओ, र खराब कुराहरूको लागि पनि परमेश्वरलाई नै धन्यवाद देओ, किनभने ती सबै कुराको बन्दोबस्त उहाँले नै मिलाउनुभएको हुन्छ। असल मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूले मानिसहरूलाई तिनीहरूले सिक्नुपर्ने पाठहरू प्रदान गर्छन्, तर खराब मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूबाट सिक्नुपर्ने कुराहरू अझै धेरै हुन्छन्। यी सबै कुरा अनुभव र घटनाक्रमहरू हुन्, जुन व्यक्तिको जीवनको भाग बन्नुपर्छ। मानिसहरूले यी कुराहरू मापन गर्न भाग्यसम्बन्धी विचारहरू प्रयोग गर्नु हुँदैन। त्यसोभए, कुनै कुरा असल हो कि खराब हो भनेर मापन गर्न भाग्य प्रयोग गर्ने मानिसहरूको विचार र दृष्टिकोणहरू के-के हुन्? त्यस्ता मानिसहरूको सार के हो? किन तिनीहरूले असल भाग्य र खराब भाग्यप्रति यति धेरै ध्यान दिन्छन्? भाग्यमा धेरै ध्यान दिने मानिसहरूले आफ्नो भाग्य असल होस् भन्ने चाहन्छन् कि खराब होस् भन्ने चाहन्छन्? (तिनीहरू आफ्नो भाग्य राम्रो होस् नै भन्ने चाहन्छन्।) ठीक भन्यौ। वास्तवमा, तिनीहरूले आफ्नो असल भाग्य होस् र आफ्नो जीवनमा राम्रा घटनाहरू घटून् भन्ने चाहन्छन्, र तिनीहरूले यी कुराहरूबाट फाइदा र नाफा कमाउँछन्। अरूले कति धेरै कष्ट, वा कति धेरै कठिनाइ वा अप्ठ्याराहरू भोग्छन् भन्ने कुरा तिनीहरू वास्ता गर्दैनन्। तिनीहरूले दुर्भाग्य ठान्ने कुनै पनि कुरा आफ्नो जीवनमा आओस् भन्ने चाहँदैनन्। अर्को शब्दमा भन्दा, तिनीहरू आफ्नो जीवनमा कुनै खराब घटना घटेको चाहँदैनन्: कुनै बाधा, कुनै असफलता वा बेइज्जती, कुनै काटछाँट, वा कुनै कुरा हराउने, छुटाउने, र कुनै छलमा पर्ने अवस्था आएको चाहँदैनन्। यदि यस्ता कुनै कुरा भयो भने, तिनीहरूले यसलाई खराब भाग्य ठान्छन्। यदि खराब कुराहरू आइपर्यो भने, ती कुराहरू जोसुकैद्वारा तय गरिएको भए पनि, ती अभागीकै कुरा हुन्छन्। तिनीहरू आफ्नो जीवनमा—बढुवा हुने, भीडबाट माथि उठ्ने, अरूको अप्ठ्यारोको फाइदा उठाउने, कुनै कुराबाट फाइदा लुट्ने, धेरै पैसा कमाउने, वा उच्च ओहोदाको अधिकारी बन्ने—सबै कुरा होऊन् भन्ने आशा गर्छन् र तिनीहरू यसलाई राम्रो भाग्य ठान्छन्। तिनीहरू आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई सधैँ भाग्यको आधारमा मापन गर्छन्। तिनीहरू खराब भाग्य होइन, असल भाग्य पछ्याइरहेका हुन्छन्। कुनै कुरा अलिकति गलत हुनेबित्तिकै, तिनीहरू रिसाउँछन्, झर्किन्छन्, र असन्तुष्ट हुन्छन्। सीधै भन्दा, यस्ता मानिसहरू स्वार्थी हुन्छन्। तिनीहरू अरूको बेफाइदाबाट फाइदा लिने, आफ्नै लागि नाफा कमाउने, सर्वश्रेष्ठ हुने, र भीडभन्दा माथि उठ्ने प्रयास गर्छन्। तिनीहरू हरेक असल कुरा आफ्नो जीवनमा मात्रै भयो भने मात्रै सन्तुष्ट हुन्छन्। यो तिनीहरूको प्रकृति र सार हो; यो तिनीहरूको साँचो रूप हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने मानिसहरूले प्रायः आफूलाई व्यक्तिगत रूपमा फाइदा हुन्छ कि हुँदैन भन्ने आधारमा आफ्नो भाग्यको मूल्याङ्कन गर्छन्। यदि परिस्थिति उनीहरूका लागि फाइदाजनक छ भने, उनीहरू त्यसलाई “सौभाग्य” भन्छन्, र यदि छैन भने, उनीहरू त्यसलाई “दुर्भाग्य” भन्छन्। यस्तो मानसिकता भएका मानिसहरू आफ्नै लागि मात्र फाइदा चाहन्छन्, र उनीहरू अत्यन्तै स्वार्थी हुन्छन्। वास्तवमा, परमेश्वरले बन्दोबस्त गर्नुभएको हरेक परिस्थिति राम्रो हुन्छ, र “सौभाग्य” वा “दुर्भाग्य” भन्ने कुनै कुरा हुँदैन। मानिसहरूलाई अनुकूल वा प्रतिकूल लाग्ने परिस्थितिहरू सबै उनीहरूले पाठ सिकून् भन्नका लागि हुन् र उनीहरूको जीवन प्रवेशका लागि लाभदायक हुन्छन्। मौसमजस्तै, घमाइलो र वर्षा दुवै दिन मानवजातिको लागि आवश्यक छन्। निरन्तर घामले बालीनाली सुकाउँछ, र लामो समयसम्मको वर्षाले तिनीहरूलाई डुबाउँछ। त्यसैले, चाहे घमाइलो होस् वा वर्षा, यो सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूको भाग हो, र मानवजातिका लागि लाभदायक छ। जब मैले आफ्नो इच्छाविपरीतका कुराहरू सामना गर्थेँ, म सधैँ आफूलाई अभागी ठान्थेँ, तर यो किनभने मभित्र महत्त्वाकाङ्क्षा र इच्छाहरू थिए र म सधैँ अरूको प्रशंसा खोज्थेँ, र जब मैले चाहेको कुरा पाउँदिनथेँ, म आफूलाई असहाय र अभागी महसुस गर्थेँ, परमेश्वरबारे गुनासो गर्थेँ, र दिग्दारीको अवस्थामा जिउँथेँ। आत्मचिन्तन गर्दा, म यस मण्डलीमा आएपछि, सुरुमा मैले मानिसहरूको प्रशंसा पाउनका लागि आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहेकी थिएँ, त्यसैले मैले गुनासोविना बिहानदेखि साँझसम्म काम गरेकी थिएँ। तर जब मैले चाहेजस्तो भएन र सुसमाचारसम्बन्धी कामदारहरू पक्राउ परे, तब काममा सहकार्य गर्ने मानिसहरूविना राम्रो नतिजा हासिल गर्न सम्भव नहोला भन्ने चिन्ता लाग्यो, र जब मेरो प्रतिष्ठा र हैसियतको इच्छा पूरा भएन, मैले आफूलाई अभागी महसुस गरेँ, र मेरो पहिलेको उत्साह तुरुन्तै हरायो। यस मण्डलीको विभिन्न कामहरू पहिले नै झुटो अगुवाले वास्तविक काम नगरेकाले ढिलाइ भइसकेका थिए, र ब्रदर-सिस्टरहरूको गिरफ्तारीले धेरै कामको सामान्य प्रगतिमा थप बाधा पुऱ्याएको थियो। माथिल्लो अगुवाले मलाई यहाँ यस आशामा खटाउनुभएको थियो कि मैले परमेश्वरको अभिप्रायप्रति ख्याल राख्न, विभिन्न कामहरूलाई अगाडि बढाउन, र मण्डलीको हितको रक्षा गर्न सक्नेछु। तर मैले सामना गरेका ठूला कठिनाइहरू देखेर, म दिग्दार भएँ, आफ्नो कर्तव्यप्रतिको प्रेरणा गुमाएँ, र आफ्नो “खराब भाग्य” बारे गुनासो गरेँ। मेरो यो व्यवहारले परमेश्वरलाई साँच्चै घृणा उत्पन्न गराएको थियो। परमेश्वरप्रति साँच्चै बफादार व्यक्तिले, मण्डलीले यति धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेको कडा धरपकडको सामना गरिरहेको देख्दा, आफूले सकेजति सबै प्रयास गर्नेथियो, व्यक्तिहरूलाई पुनः फेरबदल गर्नेथियो, र हानि न्यूनीकरण गर्नेथियो। तर यस्तो महत्वपूर्ण समयमा, मैले केवल आफ्नै प्रतिष्ठा र हैसियतबारे मात्र चिन्ता गरेकी थिएँ। म साँच्चै स्वार्थी र विवेक तथा मानवताविहीन थिएँ! मैले अब के बुझेँ भने परमेश्वरले मलाई यो अवस्था आइपर्न दिनुको उद्देश्य मेरो भ्रष्ट स्वभाव परिवर्तन गर्नु थियो, किनभने मैले प्रतिष्ठा र हैसियतलाई दिएको महत्त्व धेरै ठूलो थियो, र मेरो प्रकटन र परिवर्तनमा मद्दत गर्न मलाई यो परिस्थिति आवश्यक थियो।
एक बिहान आफ्नो भक्तिको समयमा, मैले परमेश्वरका थप वचनहरू पढेँ: “जब तँ आफ्ना महत्त्वाकाङ्क्षा र इच्छाहरू त्याग्छस्, जब तँ आफ्नो जीवनमा आइपर्ने दुर्भाग्य इन्कार्न वा त्यसबाट तर्किन छोड्छस्, र त्यस्ता कुराहरूलाई तँ कति भाग्यमानी वा अभागी छस् भन्ने हिसाबबाट मापन गर्न छोड्छस्, तब तैँले दुर्भाग्य र खराब भनी ठान्ने गरेका धेरै कुराहरू तँलाई असल लाग्न थाल्नेछन्—ती खराब कुराहरू असल कुरामा परिणत हुनेछन्। तेरो मानसिकता र तेरो दृष्टिकोण परिवर्तन हुनेछ, जसले गर्दा तैँले आफ्नो जीवन अनुभवलाई फरक तरिकाले महसुस गर्नेछस्, र यस क्रममा फरक फलहरू प्राप्त गर्नेछस्। यो एउटा असाधारण अनुभव हो, जसले तँलाई तैँले कल्पनै नगरेका फलहरू दिलाउनेछ। यो राम्रो कुरा हो, खराब कुरा होइन। … तथाकथित ‘असल भाग्य’ को पछि नलाग् र तथाकथित ‘खराब भाग्य’ लाई इन्कार नगर्। आफ्नो हृदय र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्वरलाई दे, उहाँलाई काम र योजना गर्न दे, र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित बन्। परमेश्वरले तँलाई जहिले चाहिन्छ तहिले चाहिने जति सबै कुरा दिनुहुनेछ। उहाँले तेरा आवश्यकता र कमीकमजोरीअनुसार तँलाई चाहिने वातावरण, मानिस, घटना, र परिस्थितिहरू योजनाबद्ध गर्नुहुनेछ, ताकि तैँले आफूले सामना गर्ने मानिस, घटना, र परिस्थितिहरूबाट सिक्नुपर्ने पाठहरू सिक्न सक्। अवश्य नै, यो सबैको पूर्वसर्त के हो भने, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति तँमा समर्पणताको मानसिकता हुनुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरले जब हामी घटनाहरूलाई “सौभाग्य” वा “दुर्भाग्य” को रूपमा हेर्न छोड्छौँ, तब हामीले परमेश्वरले हाम्रा लागि बन्दोबस्त गर्नुभएका परिस्थितिहरूमा अप्रत्याशित परिज्ञानहरू प्राप्त गर्न सक्छौँ र हाम्रा अनुभवहरूद्वारा परमेश्वरका कार्यहरू र सार्वभौमिकता देख्न सक्छौँ भन्नुहुन्छ। त्यसैले, प्रतिकूल परिस्थितिहरूको सामना गर्दा, हामीले तिनीहरूबाट भाग्ने वा जोगिने प्रयास गर्नुको सट्टा परमेश्वरबाट स्वीकार गर्नुपर्छ। मानिसहरूले “खराब” घटना ठान्ने कुराहरूको पछाडि, सधैँ परमेश्वरको अभिप्राय र हामीले गुज्रनुपर्ने अनुभवहरू हुन्छन्। परमेश्वरले हामीलाई तालिम दिन, हाम्रो जीवनलाई बढ्न दिन यस्ता परिस्थितिहरू प्रयोग गर्नुहुन्छ—यो उहाँको असल अभिप्राय हो। मैले आफ्नो गलत दृष्टिकोण सच्याउनु र परमेश्वरमा भर परेर सक्दो प्रयास गर्नुपर्छ भन्ने महसुस गरेँ। मण्डलीको काममा सहकार्य गर्न परमेश्वरले सही मानिसहरू तयार पार्नुहुनेछ भन्ने मलाई विश्वास थियो। जब मैले यसरी सोचेँ, तब मेरो स्थितिमा धेरै सुधार आयो। त्यसैले, मैले सुसमाचारको काममा मद्दत गर्न मानिसहरू खोज्न थालेँ। त्यतिबेला, एउटी सिस्टर पारिवारिक बोझका कारण कमजोर र निरुत्साहित महसुस गरिरहेकी थिइन्। हामीले उहाँलाई सम्पर्क गरेर सङ्गति र सहयोग प्रदान गर्यौँ। केही समयको सङ्गतिपछि, उहाँको स्थिति सुधारियो, र उहाँ आफ्नो कर्तव्य लिन इच्छुक हुनुभयो। अर्की सिस्टर पनि हाम्रो सङ्गतिपछि आफ्नो कर्तव्य लिन इच्छुक हुनुभयो। मैले के महसुस गरेँ भने परमेश्वरले मलाई वास्तविक काम गर्न सिकाउन यो वातावरण बन्दोबस्त गर्नुभएको रहेछ, जस्तै ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सङ्गति गर्नु। जब उनीहरूले परमेश्वरको अभिप्राय बुझ्छन्, तब उनीहरू सक्रिय रूपमा सहकार्य गर्नेछन्। साथै, यो वातावरणले हामीलाई आफ्नो कर्तव्य गर्न थप मानिसहरूलाई संवर्धन गर्न मद्दत गर्यो। म परमेश्वरप्रति कृतज्ञ थिएँ!
सेप्टेम्बरमा, मैले अचानक एउटा चिठी पाएँ जसमा सुसमाचार डिकन पक्राउ परेको कुरा लेखिएको थियो। त्यसपछिका केही दिनसम्म, ब्रदर-सिस्टरहरू पक्राउ परेको थप खबर आयो। मैले मनमनै सोचेँ, “हामीले बल्ल टोली समायोजन गरेर केही नतिजा देखेका थियौँ, अब फेरि सुसमाचारसम्बन्धी कामदारहरू पक्राउ परे। म किन यस्ती अभागी? यी दुर्भाग्यपूर्ण घटनाहरूले मलाई पछ्याइरहन्छन्!” तर त्यसपछि मैले आफ्नो स्थिति ठीक छैन भन्ने महसुस गरेँ, त्यसैले म तुरुन्तै चुपचाप परमेश्वरलाई प्रार्थना गर्न लागेँ, र उहाँलाई यस परिस्थितिबाट गुज्रन मलाई मार्गदर्शन गर्न अनुरोध गरेँ। मलाई परमेश्वरका वचनहरू याद आयो: “साँचो कुरा के हो भने व्यक्तिले राम्रो महसुस गर्छ कि गर्दैन भन्ने कुरा उसको आफ्नै स्वार्थी मनसाय, इच्छा, र आत्मचासोमा आधारित हुन्छ, त्यो कुराको सारमा आधारित हुँदैन। त्यसकारण, मानिसहरूले कुनै कुरालाई असल वा खराब भनी मूल्याङ्कन गर्ने आधार नै गलत हुन्छ। अनि, आधार नै गलत भएको हुनाले, तिनीहरूले निकाल्ने अन्तिम निष्कर्ष पनि गलत नै हुन्छ। अब, असल भाग्य र खराब भाग्यको विषयमा फर्केर हेर्दा, सबैलाई भाग्यसम्बन्धी यो भनाइ निराधार छ, र यो असल पनि हुँदैन र खराब पनि हुँदैन भन्ने कुरा थाहा भएको छ। तैँले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू असल भए पनि खराब भए पनि, ती सबै परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तले नै तय गरेका हुन्छन्, र त्यसकारण तैँले तिनलाई उचित रूपमा सामना गर्नुपर्छ। तैँले असल कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ, र खराब कुरा पनि परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ। असल कुराहरू हुँदा आफू भाग्यमानी छु, र खराब कुराहरू हुँदा आफू अभागी छु भनेर नभन्। यो मात्र भन्न सकिन्छ कि यी सबै कुराहरूमा मानिसहरूले सिक्नुपर्ने पाठहरू हुन्छन्, र तिनीहरूले ती कुराहरू इन्कार गर्ने वा ती कुराहरूबाट तर्किने गर्नु हुँदैन। तिमीहरू असल कुराहरूको लागि पनि परमेश्वरलाई धन्यवाद देओ, र खराब कुराहरूको लागि पनि परमेश्वरलाई नै धन्यवाद देओ, किनभने ती सबै कुराको बन्दोबस्त उहाँले नै मिलाउनुभएको हुन्छ। असल मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूले मानिसहरूलाई तिनीहरूले सिक्नुपर्ने पाठहरू प्रदान गर्छन्, तर खराब मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूबाट सिक्नुपर्ने कुराहरू अझै धेरै हुन्छन्। यी सबै कुरा अनुभव र घटनाक्रमहरू हुन्, जुन व्यक्तिको जीवनको भाग बन्नुपर्छ। मानिसहरूले यी कुराहरू मापन गर्न भाग्यसम्बन्धी विचारहरू प्रयोग गर्नु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मानिसहरूले प्रायः परिस्थितिहरू राम्रो वा खराब छन् भनी आफ्नो व्यक्तिगत इच्छा र हितका आधारमा मूल्याङ्कन गर्छन्, सत्यताको आधारमा होइन। सुसमाचार डिकनको गिरफ्तारी परमेश्वरको अनुमतिले भएको थियो; परमेश्वरले कसलाई पक्राउ पर्न दिनुहुन्छ सो उहाँको सार्वभौमिकता र योजनाबद्ध कार्यअनुसार बन्दोबस्त गर्नुहुन्छ, र यी मानिसहरूले गुज्रनुपर्ने अनुभवहरू हुन्। मैले समर्पित हुनुपर्छ, घटनापछिको परिणाम सम्हाल्नुपर्छ, र सहकार्य गर्न सक्दो गर्नुपर्छ। त्यसपछि, मैले घटनापछिको परिणाम सम्हाल्न थालेँ। पछि, मैले के थाहा पाएँ भने सुसमाचार टोली अगुवाले तीन नयाँ विश्वासीहरूसँग भेला र सुसमाचार प्रचार जारी राखेका रहेछन्। उनीहरू ठूलो रातो अजिङ्गरबाट डराएका थिएनन्, र उनीहरूको सुसमाचारको काम पहिलेभन्दा अझ प्रभावकारी थियो। साथै, केही सिस्टरहरू, मण्डलीको काममा पर्ने असरबारे चिन्तित भएर, आफ्नो कर्तव्य पूरा गर्न अग्रसर भए। यो सबै देखेर, म गहिरोसँग प्रभावित भएँ। मैले परमेश्वरले बन्दोबस्त गर्ने हरेक परिस्थितिको उद्देश्य हुन्छ भन्ने थाहा पाएँ। जो पक्राउ परे, उनीहरूले गुज्रनुपर्ने अनुभवहरू थिए, र जो परेनन्, उनीहरूले बोक्नुपर्ने गवाहीहरू थिए। परमेश्वरले मानिसहरूलाई सिद्ध पार्नका लागि ठूलो रातो अजिङ्गरको सतावटलाई सेवाको रूपमा प्रयोग गर्नुहुन्छ।
यस अनुभवबाट, मैले के बुझेँ भने यी परिस्थितिहरू “खराब भाग्य” को कारणले भएका होइनन्, न त परमेश्वरले मसँग उच्च माग राख्नुभएकोले नै हो। बरु, परमेश्वरले मलाई शुद्ध पार्न र परिवर्तन गर्न तिनलाई प्रयोग गरिरहनुभएको थियो। जब मैले आफ्नो मानसिकता समायोजन गरेँ र वास्तवमा सहकार्य गरेँ, मैले परमेश्वरको काम प्रकट भएको देखेँ। जबसम्म मैले इमानदारीपूर्वक प्रार्थना गरेँ र पूर्ण हृदयले आफ्नो कर्तव्य पूरा गरेँ, परमेश्वरले मेरो लागि बाटो खोलिदिनुभयो। अबदेखि, म आफ्नो कर्तव्य पूरा गर्न परमेश्वरमा भर परिरहन इच्छुक छु।