६६. हीनताबोधबाट बाहिर निस्कँदा
सन् २०२२ मा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गरिरहेकी थिएँ। यो परमेश्वरले मलाई उचाल्नुभएको हो भन्ने मलाई थाहा थियो, त्यसैले मैले यस तालिमको अवसरलाई कदर गर्ने र राज्यको सुसमाचार फैलाउन योगदान दिने सङ्कल्प गरेँ। पछि, मैले झाङ सिन सिस्टरसँग सहकार्य गरेँ। मैले देखेँ, उनी सत्यता सङ्गति एकदमै स्पष्ट रूपमा गर्थिन्, नयाँ विश्वासीहरूलाई हरेकको आवश्यकताअनुसार मलजल गर्थिन्, र उनीहरूका खास समस्याहरू समाधान गरिदिन्थिन्। कहिलेकाहीँ म निश्चित मामिलाहरू छर्लङ्ग बुझ्न सक्दिनथेँ, तर उनी ती सजिलै सङ्गति गर्न र समाधान सक्थिन्। त्यसैले, मलाई उनी सत्यता बुझ्ने र वास्तविकता भएकी व्यक्ति हुन्, र तुलनामा आफू फिक्का रहेछु भन्ने लाग्यो। म उनको प्रशंसा र डाह दुवै गर्थेँ। मैले सोचेँ, “झाङ सिनले धेरै बुझ्छिन! तुलनामा मैले जान्ने कुराहरू त नगण्य छन्। यदि हामीले भेलामा सँगै सङ्गति गर्यौँ भने, के उनले मेरो स्तर निम्न छ भन्ने सोच्नेछिन् र म वास्तवमा जे हुँ त्यो देख्नेछिन्?” त्यसैले हामीले सँगै समस्याहरूबारे छलफल गर्दा, उनलाई मेरो सतही सङ्गतिको खिल्ली उडाउन नदिन म उनको सङ्गति रेडियो सुनेजस्तो चुपचाप सुन्थेँ र एकदमै थोरै बोल्थेँ। पछि, मैले देखेँ उनी भेलाहरूमा अक्सर देखावटी गर्थिन्, कुनै सिस्टरले मलजल गरेका नयाँ विश्वासीहरूको स्थिति कति कमजोर थियो, उनी आएपछि कसरी उनीहरूलाई सही मार्गमा ल्याउन मद्दत गरिन्, कसरी केही ब्रदर-सिस्टर नकारात्मक बनेको देख्दा, उनीहरूलाई नकारात्मकता र गलत बुझाइबाट बाहिर निकाल्न सत्यता सङ्गति गरिन्, र मण्डलीका अगुवाहरूलाई कामको चपेटा हुँदा उनले कसरी मद्दत गरिन् भन्नेजस्ता कुराहरूबारे कुरा गर्थिन्। म झाङ सिनलाई यो कुरा औँल्याइदिन चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, “उनीसँग साँच्चै वास्तविक अनुभवहरू छन् र उनको सङ्गतिले प्रभावकारी रूपमा समस्याहरू समाधान गर्छ। यदि मैले उनका समस्याहरू गलत तरिकाले औँल्याएँ भने उनले मेरो बारेमा के सोच्लिन्?” त्यसैले मैले उनका समस्याहरू औँल्याइनँ।
पछि, एकपटक एक सुपरिवेक्षकले झाङ सिनका भावनाको ख्याल नगरी केही कुरा भन्दा, झाङ सिनले उनीप्रति पूर्वाग्रह राखिन् अनि मानिस र कामकुरालाई अत्यन्तै धेरै अर्थाइन्। म उनीसँग सङ्गति गरेर उनका समस्याहरू औँल्याइदिन चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, “झाङ सिनले मैलेभन्दा राम्रो सत्यता बुझ्छिन्, के उनलाई अझै मेरो मार्गदर्शनको खाँचो छ र? यो त आमालाई मामा चिनाउने धाक लगाउनुजस्तो हुनेछैन र? म आफैले कामकुरा स्पष्ट देख्न सक्दिनँ, र सत्यताबारे मेरो बुझाइ साह्रै सतही छ। यदि मेरो सङ्गति स्पष्ट भएन भने, उनले मेरो वास्तविकता थाहा पाइहाल्छिन् नि?” मैले यस मामिलाबारे पटक-पटक सोचेँ, तर आखिरमा मैले भन्न लागेको कुरा मनमै दबाएँ। दिउँसोतिर, मैले संयोगले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जुन उनको स्थितिसँग निकै सान्दर्भिक थियो। म उनीसँग सङ्गति गर्नै लागेकी थिएँ, तर एउटा विचार फुऱ्यो: “परमेश्वरका वचनहरूबारे झाङ सिनको बुझाइ मेरोभन्दा धेरै राम्रो छ, उनलाई सबै कुरा थाहा छ भने मेरो सङ्गति किन चाहियो र? बरु उनलाई नै परमेश्वरका वचनहरू पढ्न दिनु राम्रो हुन्छ, यसले उनलाई मदत गर्नेछ र मेरा कमजोरीहरू खुलासा गर्नेछैन।” यस्तो सोचेर, मैले उनलाई भनेँ, “परमेश्वरका वचनहरूको यो खण्ड साँच्चै राम्रो छ, पढ्नुस् त।” म उनले यो खण्ड पढेपछि आफ्नो गलत स्थिति चिन्नेछिन् भन्ने आशामा पर्खाइमा रहेँ, तर छक्कलाग्दो, उनले पढेपछि केही पनि भनिनन्। म अलि निराश भएँ, र मैले उनीसँग सङ्गति गर्न चाहेँ, तर त्यसपछि मैले सोचेँ, “परमेश्वरका वचनहरूबारेको मेरो बुझाइ निकै सतही छ, र मैले कुनै पनि व्यावहारिक कुरा सङ्गति गर्न सक्नेछैनँ। ममा केही आत्म-सचेतना हुनैपर्छ।” यो सोचेर, मैले तुरुन्तै झाङ सिनसँग सङ्गति गर्ने विचार त्यागेँ, र उनी भ्रष्ट स्वभावमा जिइरहेकी भए पनि, उनले यति धेरै बुझेकीले बिस्तारै आफै आफ्ना समस्या चिनेर समाधान गर्नेछिन् भन्ने सोचेँ। तर परिस्थिति मैले कल्पना गरेजस्तो भएन। पछि पनि झाङ सिन त्यो मामिला अक्सर उल्लेख गर्थिन्, तर उनले आफूलाई चिनिरहेकी थिइनन्, बरु उनको सङ्गतिले मानिसहरूलाई समस्या सुपरिवेक्षकमै रहेछ र उनको भ्रष्टताको प्रकटीकरण केही कारणले रहेछ भनेर सोच्न लगायो। कहिलेकाहीँ भेलाहरूमा पनि उनी यो मामिला उल्लेख गर्थिन्, जसले गर्दा बाधाहरू पुग्थ्यो। म साँच्चै यी विषयहरूमा उनीसँग सङ्गति गर्न चाहन्थेँ, तर हरेकपटक बोल्न खोज्दा, मेरो घाँटीमा केही अड्किएजस्तो लाग्थ्यो, र मलाई सधैँ झाङ सिनले मैलेभन्दा धेरै बुझेकी छन्, र उनीसँग सङ्गति गर्नु भनेको आमालाई मामा चिनाउन खोज्नुजस्तै भन्ने लाग्थ्यो। मैले आखिरमा सङ्गति गर्दै नगर्ने निर्णय गरेँ र त्यो मामिला यसरी बित्यो। पछि, जब एक अगुवा हाम्रो भेलामा आए, तब उनले सङ्गति गरेर झाङ सिनका समस्याहरू खुलासा गरे, र झाङ सिनले यो स्वीकारिन्। त्यसपछि मात्र मैले आत्मचिन्तन गर्न थालेँ।
केही दिनपछि, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “डरपोकहरूलाई जेसुकै भए पनि, तिनीहरूलाई कुनै कठिनाइ आइपर्दा, तिनीहरू लुरुक्क परेर पछि हट्छन्। किन तिनीहरूले यसो गर्छन्? यसको एउटा कारण के हो भने, यो तिनीहरूको हीनताबोधको भावनाले पैदा भएको हुन्छ। तिनीहरूलाई हीनताबोध हुने हुनाले, तिनीहरू मानिसहरूको अघि जाने आँट गर्दैनन्, र तिनीहरूले न त आफूले लिनुपर्ने दायित्व र जिम्मेवारी लिन सक्छन्, न त आफ्नो क्षमता र सामर्थ्यको क्षेत्रभित्र, र आफ्नो मानवताको अनुभवको क्षेत्रभित्र हासिल गर्न सक्ने कुराहरू पनि जिम्मा लिन नै सक्छन्। यो हीनताबोधको भावनाले तिनीहरूको मानवताको हरेक पक्षलाई प्रभाव पार्छ, यसले तिनीहरूको व्यक्तित्वलाई प्रभाव पार्छ, र अवश्यै यसले तिनीहरूको चरित्रलाई पनि प्रभाव पार्छ। अरू मानिसहरूसँग रहँदा, तिनीहरूले आफ्ना दृष्टिकोणहरू बिरलै व्यक्त गर्छन्, र तिनीहरूले आफ्नो दृष्टिकोण वा विचार प्रस्ट्याएको तैँले बिरलै सुन्छस्। जब तिनीहरूले कुनै समस्या सामना गर्छन्, तिनीहरू बोल्ने आँट गर्दैनन्, बरु निरन्तर लुरुक्क परेर पछि हट्छन्। थोरै मानिसहरू हुँदा, तिनीहरूले ती मानिसहरूमाझ बस्ने साहस बटुल्छन्, तर धेरै मानिसहरू छन् भने, मानिसहरूमाझ आउने आँट नभएर तिनीहरू कुनाको ठाउँ र उज्यालो कम भएको ठाउँतिर जान्छन्। जब तिनीहरूलाई आफू सही छु भन्ने कुरा देखाउन सक्रिय र सकारात्मक रूपमा केही भन्न र आफ्ना दृष्टिकोण र विचारहरू बताउन मन लाग्छ, तिनीहरूलाई त्यसो गर्ने आँटसमेत आउँदैन। जब तिनीहरूमा त्यस्तो विचार आउँछ, तब तिनीहरूमा हीनताबोधको भावना अचानक उर्लेर आउँछ, र तिनीहरूलाई नियन्त्रित गर्छ, दबाउँछ, र यसो भन्छ, ‘केही नभन्, तँ गतिलो छैनस्। आफ्ना दृष्टिकोणहरू व्यक्त नगर्, र आफ्ना विचारहरू आफैसँग राख्। यदि तेरो हृदयमा केही कुरा छ र तँलाई साँच्चै यो कुरा भन्न मन लागेको छ भने, यसलाई कम्प्युटरमा टिपोट गरेर राख् र मनमनै यसबारेमा गम्भीर मनन गर्। तैँले यो कुरा कसैलाई बताउनु हुँदैन। तैँले गलत कुरा भनिस् भने के गर्ने? त्यो साह्रै लाजमर्दो हुनेछ!’ यो आवाजले तँलाई यो नगर्, त्यो नगर्, यो नभन्, त्यो नभन् भन्दै तँलाई आफूले भन्न चाहेको हरेक शब्द लुकाउन बाध्य पार्छ। जब तँ आफूले हृदयमा लामो समयदेखि विचार गरेको कुरा भन्न चाहन्छस्, तँ पछि हट्छस् र भन्ने आँट गर्दैनस्, वा तँलाई यो कुरा भन्न लाज लाग्छ, किनभने तैँले यस्तो कुरा भन्नु हुँदैन भन्ने तँलाई विश्वास भएको हुन्छ, र तँलाई त्यो बेला त्यो कुरा बताइस् भने, तैँले कुनै नियम तोडेको वा कानुन उल्लङ्घन गरेको जस्तो भान हुन्छ। अनि, कुनै दिन तैँले आफ्नो दृष्टिकोण सक्रिय रूपमा व्यक्त गरिस् भने, तैँले भित्री रूपमा साह्रै व्याकुल र असहज महसुस गर्छस्। यो ठूलो असहज अनुभूति बिस्तारै हटेर जाने भए पनि, तेरो हीनताबोधको भावनाले तेरो बोल्न चाहने, र आफ्ना दृष्टिकोणहरू राख्न, सामान्य व्यक्ति र अरूजस्तै बन्न चाहने तेरा विचार, अभिप्राय र योजनाहरू बिस्तारै दबाइदिन्छ। तँलाई नबुझेका व्यक्तिहरूले तँलाई थोरै बोल्ने, शान्त बस्ने, लजालु चरित्रवाल, र भीडभन्दा माथि उठ्न नचाहने व्यक्ति ठान्छन्। जब तँ अरू धेरै मानिसहरूमाझ बोल्छस्, तँलाई लाज लाग्छ र तेरो अनुहार रातो बन्छ; तँ अलिक अन्तर्मुखी हुन्छस्, र वास्तवमा, तेरो हीनताबोधबारे तँलाई मात्रै थाहा हुन्छ। … कतिपय मानिसहरू यसो भन्छन्, ‘मलाई म हीन छु जस्तो लाग्दैन र म कुनै पनि प्रकारको रोकावटमा परेको छैनँ। कसैले पनि मलाई रिस उठाएको वा हेपेको छैन, न त कसैले मलाई दबाएको नै छ। म निकै स्वतन्त्र रूपमा जिउँछु, त्यसकारण के त्यसको अर्थ ममा यो हीनताबोध छैन भन्ने हुँदैन र?’ के त्यो सही कुरा हो? (होइन, हामीमा अझै पनि कहिलेकहीँ हीनताबोध हुन्छ।) तँमा अझै पनि धेरथोर रूपमा यो हुन सक्छ। यसले तेरो हृदयको अन्तस्करणलाई वशमा पारेको नहुन सक्छ, तर कतिपय अवस्थामा यो अचानक देखा पर्न सक्छ। उदाहरणको लागि, तैँले आदर्श ठानेको, तँभन्दा सिपालु, तँमा भन्दा अझै बढी विशेष सीप र वरदान भएको, तँभन्दा बढी हैकम जमाउने खालको, तँभन्दा बढी रोबरवाफिलो, तँभन्दा बढी दुष्ट, तँभन्दा बढी अल्गो र आकर्षक, समाजमा हैसियत भएको, धनी, तँभन्दा बढी शिक्षित र उच्च हैसियत भएको, तँभन्दा जेठो र परमेश्वरमा लामो समय विश्वास गरेको, परमेश्वरमाथिको विश्वासमा अझै बढी अनुभव र वास्तविकता बटुलेको कुनै व्यक्तिलाई अचानक भेटिस् भने, तैँले आफूमा हीनताबोधको भावना आउनबाट रोक्न सक्दैनस्। जब तँभित्र यस्तो भावना आउँछ, तब ‘स्वतन्त्र रूपको जियाइ’ हराएर जान्छ, तँ डरपोक बन्छस् र आँट गुमाउँछस्, आफ्ना शब्दहरू कसरी मिलाएर भन्ने भनेर सोच्छस्, तेरो अनुहारको हाउभाउ अनौठो बन्छ, तँलाई बोल्न र हलचल गर्न बाधित भएको महसुस हुन्छ, अनि तँ आफूलाई आवरणमा ढाक्न थाल्छस्। तँमा हीनताबोधको भावना पैदा भएकोले यी र अन्य प्रकटीकरणहरू देखा पर्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले देखेँ, हीनताबोधको भावना भएका मानिसहरूलाई सधैँ आफू अरूभन्दा कमजोर छु भन्ने महसुस हुन्छ, र त्यसैले आफ्ना राय व्यक्त गर्ने आँट गर्दैनन्। विशेष गरी उनीहरूले आफूभन्दा बढी सक्षम र प्रतिभाशाली मानिसहरू भेट्दा, उनीहरू झन् धेरै डरपोक बन्छन् र हिम्मत गुमाउँछन्, र अर्को व्यक्तिमा समस्याहरू देखे पनि, उनीहरू बोल्ने आँट गर्दैनन्। उनीहरू अत्यधिक सावधान र सशङ्कित हुन्छन्, र त्यसैले मण्डलीको हितको सुरक्षा गर्न असक्षम हुन्छन्। झाङ सिनसँगको मेरो सहकार्यबारे चिन्तन गर्दा, जब मैले उनले धेरै बुझेकी र राम्रोसँग सङ्गति गरेकी, र विशेष गरी, उनले नयाँ विश्वासीहरूले उठाएका सबै समस्या समाधान गर्न सकेकी र उनको सङ्गतिमा स्पष्ट मार्ग भएको देखेँ, तब मलाई उनीसँग सत्यता वास्तविकता छ, र तुलना गर्दा म धेरै पछाडि छु भन्ने लाग्यो। उनले बुझेका कुराको तुलनामा मैले जानेका कुराहरू पूर्ण रूपमा नगण्य देखिए, र मलाई सङ्गतिमा कुरा उठाउनसमेत लाज लाग्यो। उनको अगाडि आफूलाई प्राथमिक तहको विद्यार्थीजस्तो, र मैले चुपचाप ध्यानपूर्वक सुन्नुपर्छ जस्तो लाग्थ्यो, जसले गर्दा म हीनताबोधको स्थितिमा जिएँ। मेरो हीनताबोधको कारण, हामीले समस्याहरूबारे छलफल गर्दा म रेडियोजस्तै व्यवहार गर्थेँ, प्रायः उनको कुरा मात्र सुन्थेँ र आफ्ना विचारहरू व्यक्त गर्दिनथेँ। म झाङ सिनले अक्सर देखावटी गरेकी देख्थेँ, तर मैले उनलाई औँल्याउन वा मदत गर्नबाट आफूलाई रोकेँ, किनकि मैले उनीसँग सत्यता वास्तविकता छ र उनले आफ्नो कर्तव्यमा परिणाम ल्याइरहेकी छिन्, र उनले थोरै भ्रष्ट स्वभाव प्रकट गर्नु सामान्य हो भन्ने सोचेँ। झाङ सिनले मानिस र कामकुरालाई अत्यधिक अर्थ्याए, सुपरिवेक्षकप्रति पूर्वाग्रह राखिन्, र मलाई मैले उनीसँग सङ्गति गरेर उनलाई आत्मचिन्तन गर्न र यसबाट पाठ सिक्न मदत गर्नुपर्छ भन्ने थाहा थियो, तर मलाई उनले मैलेभन्दा राम्रोसँग कुराहरू छर्लङ्ग बुझ्न सक्छिन्, अनि मेरो ज्ञान र बुझाइ सामान्य मात्र छ, र म उनको बराबर स्तरमा छैनँ भन्ने लाग्यो, त्यसैले मलाई उनीसँग सङ्गति गर्न आफूलाई अयोग्य लाग्यो। मैले आफ्नो हीनताबोधको कारण, उनका समस्याहरू देख्दासमेत बोल्ने आँट गरिनँ, म उनको अगाडि डरपोक बनेँ र आफ्नो हिम्मत गुमाएँ, र मैले आफूमा भएका केही विचारबारे सङ्गति गर्ने सोचसमेत त्यागेँ। वास्तवमा, सामान्य चेतना भएको व्यक्तिका रूपमा, हाम्रो जति नै राम्ररी सङ्गति गरे पनि, यदि हामीले कुनै समस्या भेट्टायौँ भने, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र सकेसम्म त्यसबारे सङ्गति गर्नुपर्छ। यो पनि सत्यताको एउटा पक्ष अभ्यास गर्नु हो। तर, आफ्नो हीनताबोधका कारण, मैले झाङ सिनका समस्याहरूबारे केही भन्ने वा औँल्याउने आँट गरिनँ, र म आफूले जे गर्न सक्थेँ त्यो गर्न असफल भएँ। यो कुरा बुझेर, मलाई निकै पछुतो लाग्यो, र मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, र अरूमा देखेका कुनै पनि समस्याबारे, चाहे त्यो अर्को व्यक्ति जोसुकै किन नहोस्, सङ्गति र मदत गर्ने, र हीनताबोधले नबाँधिने सङ्कल्प गरेँ।
पछि, मैले प्रार्थना पनि गरेँ र किन म आफूभन्दा राम्रा मानिसहरूको अगाडि यति धेरै हीन महसुस गर्छु भन्नेबारे हृदयमा खोजी गरेँ। एउटा भेलाको दौरान, मैले आफ्नो स्थितिबारे सङ्गति गरेँ। एउटी सिस्टरले मेरा समस्याहरू औँल्याउँदै, मैले आफ्नो अहम् र हैसियतलाई धेरै महत्त्व दिएकी, र बोलेको कारण होच्याइनेछ अनि आफ्नो प्रतिष्ठा र हैसियत गुम्नेछ भनी डराएकी छु भनेर भनिन्। ती सिस्टरको मार्गदर्शन सुनेपछि, मैले यस सम्बन्धमा परमेश्वरका वचनहरू खान र पिउनमा सचेत भई ध्यान केन्द्रित गरेँ। एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै स्वार्थ, इज्जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई उच्च मानेर हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, लगभग सबै मानिसहरूले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्च प्रतिभाका हुन्छन्, निश्चय नै तिनीहरू आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्च नजरले हेरून् भन्ने चाहन्छन्, अरूले आफूलाई नीच नमानुन् भन्ने चाहन्छन्। यी मानिसहरूले इज्जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समाति बस्नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ पछ्याएको इज्जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो। तर मानिसहरू यसबारे सचेत नै छैनन्। उनीहरू इज्जतको टुक्रालाई आखिरीसम्म समातेर राख्नुपर्छ भनी विश्वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू वास्तविक व्यक्ति बन्छन् भन्ने कुरा उनीहरूलाई थाहा छैन। यदि व्यक्तिले यी त्याग्नुपर्ने कुराहरूलाई जीवन मानेर रक्षा गर्छ भने, उसले जीवन गुमाउँछ। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैँ केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैँ आफ्नो इज्जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै मिथ्या प्रतिरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने भ्रष्ट मानवजातिलाई आफ्नो अहम् र हैसियत अत्यन्तै मन पर्छ, र मानिसहरूको हृदयमा राम्रो छवि बनाउन चाहन्छ, अनि सीप र बलियो कार्य क्षमता भएकाहरू अरूमाझ उच्च हैसियत र अरूबाट उच्च सम्मान पाउन चाहन्छन्। औसत कार्य क्षमता भएकाहरूसमेत अरूको अधीनमा बस्न वा अरूबाट तुच्छ ठानिन चाहँदैनन्, र मण्डलीका हितलाई बलिदान दिनु परे पनि, उनीहरू आफ्नै अहमता र हैसियत कायम राख्न चाहन्छन्। म यस्तै स्थितिमा थिएँ। मलाई आफूसँग न्यून कार्य क्षमता छ भन्ने थाहा भए पनि, परिस्थितिहरू सामना गर्दा, म पहिले आफ्नो अहमता र हैसियतबारे सोच्थेँ, र मैले अरूको प्रशंसा पाउन नसके पनि, कम्तिमा म तुच्छ ठानिन चाहँदिनथेँ। मलाई यही नै मर्यादा र निष्ठासाथ जिउनु हो भन्ने लाग्यो। म शैतानका बाँच्ने नियमहरू, जस्तै “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” अनुसार जिएँ, आफ्नो अहमता र हैसियतलाई उच्च महत्त्व दिएँ, हरसमय आफ्नो अहम् र हैसियत कायम राख्न चाहेँ। म अरूजस्तो राम्रो नभए पनि, मानिसहरूमा आफ्नो राम्रो छाप छोड्न चाहन्थेँ। म सधैँ आफूप्रति अरूका रायहरूबारे एकदमै चिन्तित हुन्थेँ। म जत्तिको राम्रो नभएका मानिसहरू भेट्दा, मलाई आशङ्का हुँदैनथ्यो, र म स्वतन्त्र रूपमा आफ्ना रायहरू व्यक्त गर्न सक्थेँ, तर जब जब म विभिन्न तरिकामा मभन्दा राम्रा मानिसहरूलाई देख्थेँ, तब तब म पन्छिन कुनै रणनीति अपनाउँथेँ, सकेसम्म नबोल्ने प्रयास गर्थेँ, आफ्ना कमी र कमजोरीहरू लुकाउँथेँ, र अरूलाई आफ्ना नकारात्मक पक्षहरू देख्न दिँदिनथेँ ताकि मेरा बारेमा कुरा हुँदा कम्तिमा मलाई राम्रो मूल्याङ्कन मिलोस्, नत्र त मेरो साँच्चै इज्जत गुम्छ! मैले अतिथि सत्कार गर्ने एउटी सिस्टर नकारात्मक स्थितिमा जिइरहेको एकपटकको कुरा सम्झेँ, र मैले उनीसँग परमेश्वरका वचनहरू सङ्गति गर्न सकेँ। मैले कुनै आशाङ्काविना जानेकी जति सङ्गति गरेँ, र मेरो सङ्गतिपछि ती सिस्टरको स्थितिमा सुधार आयो। तर जब झाङ सिनको कुरा आयो, मैले उनलाई हरेक तरिकाले आफूभन्दा राम्रो देखेँ, र त्यसैले मलाई उनले तुच्छ ठान्नेछिन भनेर डराएँ। उनका केही समस्याहरू देख्दासमेत, मैले औँल्याउने आँट गरिनँ। मेरो मुखमा पट्टी बाँधिदिए जस्तो भयो। यसले झाङ सिनको जीवन प्रवेशमा कुनै फाइदा नगर्ने मात्र होइन, मण्डलीको कामलाई पनि असर गर्यो। मैले आफ्नो अहम् र हैसियतलाई अत्यन्तै धेरै महत्त्व दिएकी थिएँ! यो बुझेर, मलाई साँच्चै पछुतो भयो, र म प्रार्थना गर्न परमेश्वरसामु आएँ, “हे परमेश्वर, म अब यसरी अघि बढ्न चाहन्नँ, म पश्चात्ताप गर्न इच्छुक छु र तपाईँलाई मेरा समस्याहरू समाधान गर्न मार्गदर्शन दिनहुन बिन्ती गर्छु।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सत्यतासामु सबै समान हुन्छन्, र परमेश्वरको घरमा कर्तव्य पूरा गर्नेहरूको हकमा उमेर वा नीचता र महान्ताको कुनै भिन्नता हुँदैन। कर्तव्यसामु सबै समान हुन्छन्, यति हो तिनीहरूले फरक-फरक काम गर्छन्। कोसँग वरिष्ठता छ भन्ने आधारमा तिनीहरूबीच कुनै भिन्नता हुँदैन। सत्यतासामु सबैले नम्र, समर्पित, र स्वीकार गर्ने हृदय राख्नुपर्छ। मानिसहरूमा यो समझ र यो मनोवृत्ति हुनुपर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरका वचनहरूले हामीलाई के बताउँछन् भने, सत्यताको अगाडि सबै बराबर छन्, उँचो वा निचो हैसियतजस्तो केही चीज हुँदैन, न त योग्यतामा कुनै भिन्नता हुन्छ। जब ब्रदर-सिस्टरहरूले कर्तव्यहरूमा सहकार्य गर्छन्, तब परिस्थितिहरू सामना गर्दा सबैले सक्रिय रूपमा सहभागिता जनाउनुपर्छ र आफ्ना विचारहरू व्यक्त गर्नुपर्छ। उनीहरूको सङ्गति सतही भए पनि, उनीहरूले जे सक्छन् त्यो योगदान गर्नुपर्छ; समस्याहरू पत्ता लगाउँदा, उनीहरूले दर्शक बनेर बस्नुको सट्टा मण्डलीको कामको सुरक्षा गर्न समयमै ती कुरा उठाउनुपर्छ। परमेश्वरको प्रत्येक विश्वासीले राख्नुपर्ने मनोवृत्ति यही हो। ठिक झाङ सिनसँगको मेरो सहकार्यमा जस्तै, उनले मैलेभन्दा स्पष्ट रूपमा सत्यता सङ्गति गरे पनि, उनमा पनि कमजोरीहरू थिए र उनले भ्रष्टता प्रकट गरिन्। मैले उनले भ्रष्टता प्रकट गरेकी वा मण्डलीको कामलाई हानि गर्ने तरिकामा बोलेकी र काम गरेकी देख्दा, मैले चुपचाप हेरेर बस्नुहुँदैनथ्यो; बरु, मैले देखेको र बुझेको कुरा सङ्गति गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो। तर मैले मानिस र कामकुराहरूलाई सांसारिक दृष्टिकोणबाट हेरेँ, मानिसहरूमाझ उँचो र निचो हैसियत, योग्यता, अनि सबलता र कमजोरीहरूको भिन्नतामा विश्वास गरेँ, जहाँ कमजोरलाई सधैँ बलियोविरुद्ध आपत्ति जनाउन अयोग्य मानिन्छ, र जब उनीहरू त्यसो गर्छन्, तब यसलाई आफ्नो स्थान नचिनेको रूपमा हेरिन्छ र उनीहरू बहिष्कारसमेत हुन सक्छन्। मेरो दृष्टिकोण साँच्चै हास्यास्पद थियो! वास्तवमा, कसैले आफ्नो सङ्गतिमा ज्योति पाउँछ र उसमा सत्यताको केही बुझाइ छ भने पनि, त्यसको अर्थ ऊ सिद्ध छ भन्ने होइन। हरेकमा भ्रष्ट स्वभावहरू हुन्छन् र उसले अक्सर अहङ्कारी र अभिमानी बन्दै, अनि स्वेच्छाचारी रूपमा काम गर्दै भ्रष्टता प्रकट गर्छ, त्यसैले, आपसी सुधार र मदत आवश्यक हुन्छ। यो न्यायको कार्य हो जसले परमेश्वरको घरका हितलाई कायम राख्छ र मानिसहरूको जीवनलाई फाइदा पुर्याउँछ।
अगाडि बढ्ने क्रममा, आफ्नो कर्तव्य पूरा गर्दा, म अक्सर परमेश्वरलाई प्रार्थना गर्थेँ, र आफ्नो अहम् वा हैसियतमा हुने नाफा वा नोक्सानबारे चिन्तित हुन छोडेँ। ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा, अर्को व्यक्ति मभन्दा श्रेष्ठ भए पनि, म उसलाई उचित रूपले व्यवहार गर्थेँ, र कामकुरा सत्यता सिद्धान्तहरूअनुरूप नगरिएको देख्दा, म ती कुराहरू औँल्याउँथेँ र सबैसँग खोजी र सङ्गति गर्थेँ। यसरी अभ्यास गर्दा, मलाई विशेष गरी राहत र मुक्त महसुस भयो। पछि, मैले केही वर्षअघि मलाई मलजल गर्ने सिस्टर लिउ हुईलाई भेटेँ। उनले लामो समयदेखि आफ्नो कर्तव्य पूरा गर्दै आएकी थिइन् र राम्रोसँग सङ्गति गर्न सक्थिन्, र त्यतिबेला, मैले उनको डाह गरेकी थिएँ। यसपटक, मैले लिउ हुईसँग फेरि अन्तरक्रिया गर्दा, उनको सङ्गति स्पष्ट र व्यवस्थित थियो, र उनको तुलनामा, मलाई आफूमा अझै पनि कमी महसुस भयो। एकपटक, काटछाँटमा पर्दैपिच्छे सधैँ तर्कवितर्क गर्ने एउटी सिस्टर थिइन्, र लिउ हुईले यसरी अघि बढिरहँदाका परिणामहरूबारे सङ्गति गरिन्, र यो सुनेपछि ती सिस्टर निकै डराइन्। तर, मलाई लिउ हुईको समस्या समाधान गर्ने तरिकाले कुनै मार्ग प्रदान गरेन, र उनले परमेश्वरका वचनहरू लागू गर्ने वा परमेश्वरका वचनहरूको गवाही दिने कुरामा ध्यान दिएकी छैनन् त्यसैले यसले परमेश्वरको गवाही दिने प्रभाव हासिल गरेन भन्ने लाग्यो। म उनलाई यो कुरा औँल्याउन चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, “मैले अगुवाइको कर्तव्य पूरा गर्ने भए पनि, हामीबीच अझै निकै अन्तर छ, र मैले भन्न चाहेको कुरा लिउ हुईले सायद पहिल्यै सोचिसकेकी होलिन्। केही नभन्नु नै राम्रो होला।” त्यस क्षणमा, मैले आफू फेरि हीनताबोधको बन्धनमा पर्दै छु भन्ने महसुस गरेँ। हीनताबोधका कारण आफ्ना कर्तव्यहरू पूरा गर्न असफल भएका दृश्यहरू मेरा आँखाअगाडि झलझली आए, र मैले सोचेँ, “म अबदेखि यो हीनताबोधमा जिउनु हुँदैन, र मैले आफ्नो अहम र हैसियतलाई त्याग्नै पर्छ। लिउ हुईले मलाई जसरी हेरे पनि, मैले आफूले बुझेको कुरा सङ्गति गर्नुपर्छ, मेरी सिस्टरसँग प्रवेश गर्नुपर्छ, र कुनै पछुतो छोड्नु हुँदैन।” त्यसैले मैले आफूले देखेका समस्याहरू औँल्याएँ। सुनिसकेपछि, लिउ हुईले मैले भनेको कुरा सही हो, र एकअर्काका सबलताहरूलाई परिपूर्ति गर्नु र यसरी सद्भावपूर्ण सहकार्य गर्नु धेरै राम्रो हो, र यो उनको जीवन प्रवेशका लागि लाभदायक छ भनेर भनिन्। म हीनताबोधको यस स्थितिबाट बाहिर निस्कन अनि आफ्नो अहम् र हैसियत त्याग्न सक्षम भएँ—यो परिवर्तन परमेश्वरका कामको परिणाम थियो। धन्यवाद परमेश्वर!