६८. मैले ख्याति र प्रतिष्ठाको लागि कर्तव्य निर्वाह गर्नु हुँदैन
सन् २०२३ को अक्टोबर महिनाको एक दिन, अगुवाले मलाई एउटा पृष्ठभूमिको तस्बिर बनाउने व्यवस्था मिलाउनुभयो। उक्त तस्बिर बनाउन उच्च क्षमताको आवश्यकता पर्ने देखेपछि, म आफूले यो राम्रोसँग गर्न नसकूँला र काममा ढिलाइ होला भनेर चिन्तित भएँ, त्यसैले त्यो बनाउँदा मैले अल्छी गर्ने आँट गरिनँ। मैले सम्बन्धित सिद्धान्तहरूलाई ध्यान दिएर पढेँ र कठिनाइ आइपर्दा परमेश्वरलाई प्रार्थना गर्थेँ। एक हप्तापछि, त्यो पृष्ठभूमिको तस्बिर तयार भयो। त्यसलाई जाँचिसकेपछि, अगुवाले एकदुई वटा सानोतिनो विवरण मात्रै औंल्याउँदै तस्बिर एकदमै राम्रो बनेको बताउनुभयो। म धेरै खुसी भएँ र मनमनै सोचेँ, मैले यस्तो गाह्रो तस्बिर यति छिटो सक्छु होला भनेर सोचेकी थिइनँ, अब त अगुवाले पक्कै पनि म प्राविधिक रूपमा सिपालु छु, आफ्नो कर्तव्यमा जिम्मेवार र बोझ बोक्ने व्यक्ति हुँ, र मलाई सुम्पिएका कामहरू व्यावहारिक भएर पूरा गर्न सक्छु भनी सोच्नुहुनेछ। यसपछि, अगुवाले मलाई अरू दुईवटा पृष्ठभूमि तस्बिर बनाउन लगाउनुभयो, जुन मैले तोकिएकै समयमा पूरा गरेँ। तिनका नतिजाहरू पनि निकै राम्रा थिए। म मख्ख पर्न थालेँ र सोचेँ, “गत महिना, मेरो कर्तव्यका नतिजाहरू त्यति राम्रा थिएनन्, तर अगुवाले मसँग सङ्गति गर्नुभएपछि, मेरा तस्बिरहरूको गुणस्तर तुरुन्तै सुध्रियो, र मेरो दक्षता पनि बढ्यो, त्यसैले अब अगुवामाथि मेरो राम्रो प्रभाव पर्नेछ।” त्यसको लगत्तैपछि, मैले लेखेको अनुभवात्मक गवाही लेख र सुसमाचार प्रवचनको लेख पनि छानिए। म असाध्यै खुसी भएँ र सोचेँ, “मैले तस्बिरमा मात्र राम्रो नतिजा ल्याइरहेकी होइन, ममा केही सत्यता वास्तविकता पनि छ जस्तो देखिन्छ। मलाई चिन्ने ब्रदर-सिस्टरहरूले थाहा पाए भने, उनीहरूले मलाई पक्कै फरक नजरले हेर्नेछन्। अगुवाले मेरो बारेमा गर्नुहुने मूल्याङ्कनमा पनि धेरै सुधार हुनेछ।” बाहिरबाट हेर्दा मैले प्रस्ट रूपमा धाक नलगाइरहेकी देखिए पनि, मभित्र भने श्रेष्ठताको निरन्तर भावना थियो मानौँ मेरो मूल्य नै अचानक बढेको थियो।
एक पटक, मसँग सहकार्य गर्ने एक जना सिस्टरले भनिन्, “तपाईंको कार्य सामर्थ्य हेर्दा, तपाईंको पदोन्नति हुनुपर्ने हो, तर यहाँको कामका लागि तपाईंको बढी आवश्यकता छ, साथै तपाईंले निर्वाह गरिरहनुभएको कर्तव्य भनेको अरू कोही आएर तपाईंको स्थान लिइहाल्न सक्ने कुरा होइन।” यो सुनेर म आफ्नो शिरमा तेजको घेरा नै पो लगाइयो कि भने झैँ गरी असाध्यै खुसी भएँ, र मैले सोचेँ, “म अगुवा नभए पनि, ब्रदर-सिस्टरहरूका हृदयमा मेरो पनि केही महत्त्व रहेछ।” म यही श्रेष्ठताको भावनामै रमाइरहेका बेला अचानक मैले विचार गरेँ, “यदि मेरो अर्को तस्बिर छानिएन भने, के ब्रदर-सिस्टरहरूले मलाई अझै पनि उच्च नजरले हेर्छन् त?” मलाई अत्यन्तै चिन्ता लाग्यो, र मेरो कर्तव्यका नतिजाहरू बढ्नु मात्र पर्छ, घट्नु हुँदैन भन्ने सोचेँ, किनकि यदि ती खस्किए भने, मेरो यो तेजको घेरा पनि हराउने थियो। मैले आफैलाई भनेँ, “मैले कडा परिश्रम गरिरहनुपर्छ, यो महिनाको तस्बिर छानिनै पर्छ, र मैले मूल्यवान अनुभवात्मक गवाहीहरू लेखिरहनुपर्छ। यसरी मात्र म आफ्नो यो तेजको घेरालाई कायम राख्न सक्छु।” त्यसपछि, मैले जे काम गरे पनि, अगुवालाई कसरी सन्तुष्ट पार्ने र ब्रदर-सिस्टरहरूको उच्च सम्मान कसरी प्राप्त गर्ने भन्ने मात्रै सोच्न थालेँ। एक पटक, अगुवाले कामको प्रगति र ब्रदर-सिस्टरहरूको कर्तव्य निर्वाहको अवस्थाबारे सोधपुछ गर्न पत्र पठाउनुभयो, र जब मैले उहाँहरूको कामबारे आफू परिचित नभएको महसुस गरेँ, तब मैले हतार-हतार आफ्नो कर्तव्य छोडेर त्यसबारे बुझ्न थालेँ, ताकि अगुवाले ममा बोझको भावना छ र म एक जिम्मेवार व्यक्ति हुँ भनी देख्नुहोस्। अगुवाले मलाई हालसालै किन कुनै उपदेश नलेखेको भनेर सोध्नुभयो र मैले सोचेँ, “मैले केही लेख्नका लागि छिट्टै नै समय निकाल्नुपर्छ। यदि मैले लेखिनँ भने, के अगुवाले ममा पहिलेको जस्तो बोझको भावना छैन भनी सोच्नुहोला? के त्यसले उहाँको नजरमा भएको मेरो राम्रो छवि बिग्रँँदैन होला र?” त्यस समयमा, मलाई सधैँ समयको अभाव भएको महसुस हुन्थ्यो, र म यदि मैले अगुवाको अनुरोध समयमा पूरा गरिनँ भने, उहाँले मेरो बारेमा नराम्रो सोच्नुहोला भनी सधैँ चिन्तित हुन्थेँ। म हरेक दिन व्यस्त हुन्थेँ, र मेरो आत्मिक भक्ति अनियमित हुन्थ्यो, र कहिलेकाहीँ, व्यस्त दिनपछि, मआफ्नै भ्रष्टताको प्रकटीकरणलाई समेत देख्दिनथेँ वा मैले कुन पाठ सिक्नुपर्छ भन्ने पनि थाहा हुँदैनथ्यो। तस्बिर बनाउँदा, अहिलेको तस्बिर पहिलेको जस्तो राम्रो भएन भने के गर्ने होला भनी म चिन्तित हुन्थेँ। कहिलेकाहीँ, अझ राम्रा नतिजाहरू हासिल गर्न, म आफैँलाई अल्झिएकी पाउँथेँ, लामो समयसम्म सोच्दा पनि निर्णय लिन सक्दिनथेँ। समय बित्दै जाँदा, तस्बिर बनाउँदा मेरो सोचाइ कम स्पष्ट हुँदै गयो, र म अलमल्लमा पर्थेँ, मेरो कर्तव्य पूरा गर्न किन यति गाह्रो भएको होला? भनेर छक्क पर्थेँ। मेरो दिमाग पहिलेको जस्तो तेजिलो किन थिएन?
एउटा भेलापछि, मैले एक जना सिस्टरसँग आफ्नो स्थितिबारे कुरा गरेँ। सिस्टरले सम्झाइदिनुभएकोले, मैले चिन्तन गरेर के महसुस गरेँ भने यस दौरान, म आफ्नो कर्तव्यको प्रभावकारिता खस्किन्छ कि भनेर निरन्तर डराइरहेकी थिएँ, ब्रदर-सिस्टरहरूको हृदयमा मेरो राम्रो छवि गुम्छ कि भन्ने चिन्ता थियो, त्यसैले मैले आफ्नो तेजको घेरालाई कायम राख्ने प्रयास गरिरहेँ। मैले परमेश्वरले यस्ता स्थितिहरूलाई खुलासा गर्नुभएको थियो भनी सम्झेँ, त्यसैले मैले पढ्नको लागि परमेश्वरका वचनहरू खोजेँ। परमेश्वर भन्नुहुन्छ: “बाहिरी संसारमा कुनै निश्चित क्षेत्रमा केही सफलता हासिल गर्ने र प्रसिद्ध हुने धेरै मानिसहरूले ख्याति र प्राप्तिका कारण आफ्नो दिमाग गुमाउँछन्, र तिनीहरू आफूलाई उच्च ठान्न थाल्छन्। वास्तवमा, अरू मानिसबाट तैँले पाउने श्रद्धा, प्रशंसा, अनुमोदन, र मान्यता अस्थायी सम्मान मात्र हुन्। तिनले जीवनको प्रतिनिधित्व गर्दैनन् न त तिनको अर्थ व्यक्ति सही मार्गमा हिँडिरहेको छ भन्ने नै हो। ती अस्थायी सम्मान र महिमाबाहेक अरू केही होइनन्। यी महिमाहरू के हुन्? ती वास्तविक हुन् कि खोक्रा? (खोक्रा हुन्।) ती उल्का पिण्डजस्तै हुन्, ती एकछिन झल्ल हुन्छन् र हराउँछन्। मानिसहरू त्यस्ता महिमा, सम्मान, तारिफ, यश र प्रशंसा प्राप्त गरेपछि पनि वास्तविक जीवनमा फर्किनु नै पर्छ र पहिलेको जस्तो जिउनु नै पर्छ। केही मानिसहरू यो कुरा देख्न सक्दैनन् र यी कुराहरू सधैँभरि आफूसँग नै रहून् भन्ने चाहन्छन्, जुन अवास्तविक हो। मानिसहरू यस प्रकारको वातावरण र माहौलमा जिउन चाहनुको कारण यसले तिनीहरूलाई दिलाउने अनुभूति हो; तिनीहरू यो अनुभूति सधैँभरि पाउन चाहन्छन्। यदि तिनीहरूले यो पाउन सकेनन् भने गलत मार्ग लिन थाल्छन्। कतिपयले आफूलाई मदहोस पार्न रक्सी पिउने र लागूपदार्थको दुरुपयोगजस्ता विभिन्न तरिका अपनाउँछन्: शैतानका संसारमा जिउने मानिसहरू ख्याति र प्राप्तिलाई यसरी लिन्छन्। कुनै व्यक्ति प्रसिद्ध भएपछि र केही महिमा प्राप्त गरेपछि, दिशा गुमाउने जोखिममा पुग्छ, र कसरी व्यवहार गर्नुपर्छ भनेर जान्दैन, न त के गर्नुपर्छ भन्ने नै जान्दछ। ऊ सपनामा महल सजाउँछ र विपनामा फर्कन सक्दैन—यो खतरनाक कुरा हो। के तिमीहरू कहिल्यै यस्तो स्थितिमा पुगेका छौ वा त्यस्तो व्यवहार देखाएका छौ? (छौँ।) यसको कारण के हो? मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले: तिनीहरू अति देखावटी, अति अहङ्कारी छन्, तिनीहरूले परीक्षा वा प्रशंसा सहन सक्दैनन्, सत्यताको पछि लाग्दैनन् वा यसलाई बुझ्दैनन्। तिनीहरू आफूले सानो उपलब्धि वा महिमा पाएकैमा आफूलाई बेजोड ठान्छन्। तिनीहरू आफू महान् व्यक्ति वा महामानव बनिसकेको सोच्छन्। तिनीहरू यी सबै ख्याति, प्राप्ति, र महिमा हुँदा पनि आफूलाई उच्च नठान्नु अपराध हो भन्ने सोच्छन्। सत्यता नबुझ्ने मानिसहरूले कुनै पनि समय वा ठाउँमा आफूलाई उच्च ठान्ने सम्भावना हुन्छ—र जब तिनीहरू आफूलाई अत्यन्तै उच्च ठान्न थाल्छन्, तब के तिनीहरूलाई पहिलेकै अवस्थामा फर्कन सजिलो हुन्छ? (हुँदैन।) थोरै समझ भएका मानिसहरू विनाकारण आफूलाई उच्च ठान्ने गर्दैनन्। जब तिनीहरूले कुनै कुरा हासिल गर्नुपर्ने बाँकी नै हुन्छ, प्रदान गर्नका लागि आफूसँग केही हुँदैन, र समूहको कसैले तिनीहरूलाई ध्यान दिँदैन, तब तिनीहरूले चाहे पनि आफूलाई उच्च ठान्दैनन्। तिनीहरू थोरै अहङ्कारी र आत्ममुग्ध हुन सक्छन्, वा आफूलाई अलि प्रतिभाशाली, र अरूभन्दा उत्तम ठान्लान्, तर तिनीहरूले आफूलाई उच्च ठान्ने सम्भावना हुँदैन। कस्ता परिस्थितिमा मानिसहरू आफूलाई उच्च ठान्छन्? जब अरू मानिसहरूले तिनीहरूलाई कतिपय उपलब्धिका लागि प्रशंसा गर्छन्। तिनीहरूले आफूलाई अरूभन्दा उत्तम भएको, अरू मानिसहरू साधारण र उल्लेख गर्न लायक नभएको, आफू मात्र हैसियतसहितको मानिस भएको, अरू मानिसजस्तो एउटै वर्ग वा स्तरमा आफू नभएको, अरूभन्दा आफू धेरै उच्च भएको ठान्छन्। यसरी तिनीहरू आफूलाई माथि उठाउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि, मलाई त्यसले मेरै स्थितिको वर्णन गरिरहेको छ भन्ने गहिरो अनुभूति भयो। परमेश्वर भन्नुहुन्छ, जब मानिसहरूले केही सफलता हासिल गर्छन् वा केही ख्याति कमाउँछन्, तब तिनीहरू सम्मान र तेजको घेराको आनन्द लिन थाल्छन्, र तिनीहरू त्यसलाई कायमै राख्न र सधैँभरि अरूले सम्मान गरेको अनुभूतिमा रमाउन चाहन्छन्। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानिसहरूले ख्याति र हैसियतलाई हेर्ने यसरी नै हो। यसले मलाई गैरविश्वासी संसारका धेरै प्रख्यात व्यक्तिहरूबारे सोच्ने बनायो जो प्रसिद्ध भएपछि, आफ्नो छवि कुँद्न र आफूलाई आकर्षक देखाउन हरसम्भव प्रयास गर्छन्, ताकि अरूबाट अझ बढी प्रशंसा र तारिफ पाउन सकियोस्। के म ठ्याक्कै यस्तै बनेकी थिइनँ र? जबदेखि मैले बनाएका तस्बिर र लेखेका लेखहरू छानिए, र मेरो वरपरका अगुवा र ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा गरे, तबदेखि म फुल्न थालेँ, र मेरो मूल्य अचानक बढेको महसुस गर्न थालेँ, मानौँ म भिडबाट विशिष्ट देखिने कुनै प्रख्यात व्यक्ति बनेकी थिएँ, र मैले ब्रदर-सिस्टरहरूबाट प्राप्त यो प्रशंसा र तारिफको आनन्द लिन थालेँ। म यदि मैले राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गरिरहिनँ भने, ब्रदर-सिस्टरहरूको नजरमा मेरो राम्रो छवि हराएर जाला कि भनेर समेत चिन्तित भएँ। यो सम्मान र तेजको घेरालाई जोगाउन, म आफ्नो कर्तव्यमा अगुवाको प्रशंसा कसरी प्राप्त गर्ने भन्नेबारे निरन्तर सोचिरहेकी थिएँ। म पूर्ण रूपमा ख्याति र हैसियत पछ्याइरहेकी थिएँ र परमेश्वरको विरोध गर्ने बाटोमा हिँड्दै थिएँ। मैले परमेश्वरको मार्गदर्शन प्राप्त गर्न नसक्नु, र मेरो मनस्थिति स्पष्ट नहुनु कुनै अचम्मको कुरा थिएन, किनकि म त गलत बाटोमा पो रहेछु। मेरो हृदय परमेश्वरबाट धेरै अघि नै टाढिइसकेको थियो, जसले गर्दा परमेश्वरले मलाई घृणा गर्नुभयो र मबाट आफ्नो मुहार लुकाउनुभयो।
त्यसपछि, मैले आफ्ना समस्याहरूबारे चिन्तन गरिरहेँ। मैले परमेश्वरका केही वचनहरू पढेँ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरूले ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूमाथि अदृश्य साङ्लाहरू राखिदिन्छ, र यी साङ्लो लगाएपछि, त्यसबाट उम्किन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढा पुग्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसहरूलाई अनजानमै त्यसका उपाय र बाँच्ने नियमहरू स्विकार्ने, जीवनका लक्ष्य र जीवनका दिशा विकास गर्ने, र जीवनप्रतिका आकाङ्क्षाहरू विकास गर्ने तुल्याउनका लागि अत्यन्तै सौम्य विधि प्रयोग गर्छ, त्यस्तो विधि जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्छ, जुन त्यति उग्र हुँदैन। मानिसहरूका जीवनका आकाङ्क्षाहरूका बयानहरू जति उच्च सुनिने भए पनि, यी आकाङ्क्षाहरू ‘ख्याति’ र ‘प्राप्ति’ सँग छुट्याउनै नमिल्नेगरी जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले—वा वास्तवमा कुनै पनि व्यक्तिले—जीवनभर पछि लाग्ने कुराहरू यी दुई शब्दहरू ‘ख्याति’ र ‘प्राप्ति’ सँग मात्रै सम्बन्धित हुन्छन्। मानिसहरू सोच्छन् कि ख्याति र प्राप्ति पाइसकेपछि तिनीहरूले पूँजी प्राप्त गर्छन् जसलाई तिनीहरूले उच्च हैसियत र धेरै धनको आनन्द लिन र जीवनको आनन्द लिनमा प्रयोग गर्न सक्छन्। तिनीहरू सोच्छन् कि ख्याति र प्राप्ति पाइसकेपछि तिनीहरूसँग पूँजी हुन्छ जसलाई आनन्द खोज्न र बेकाबु देहसुखमा लाग्नका लागि प्रयोग गर्न सकिन्छ। मानिसहरूले चाहना गर्ने यो ख्याति र प्राप्तिका खातिर, तिनीहरू स्वेच्छाले तर अनजानमा आफ्नो तन, मन, साथै आफ्ना भविष्य र भाग्यलगायतका आफूसँग भएका सबै कुरासमेत शैतानलाई सुम्पन्छन्। तिनीहरू सङ्कोच नमानी, एकछिन पनि शङ्का नगरी, र कुनैबेला आफूसँग भएका सबै कुरा फिर्ता ल्याउनुपर्छ भन्ने थाहै नपाई त्यसो गर्छन्। मानिसहरूले आफूलाई यसरी शैतानसामु सुम्पिएर तिनीहरू त्यसप्रति बफादार बनिसकेपछि के तिनीहरूले आफैमाथि कुनै नियन्त्रण राख्न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र न्यायवान् छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने मानिसहरूका लागि ख्याति र प्राप्तिको लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; यी त्यस्ता कुरा हुन् जसलाई मानिसहरूले आफ्नो जीवनभरि र अनन्तसम्म पनि नपछ्याइ रहन सक्दैनन्। खास अवस्था यही होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूमा चिन्तन गरेपछि मैले अन्ततः शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ख्याति र प्राप्तिलाई प्रयोग गर्ने तरिकाहरू खुट्याउन थालेँ। शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न र उनीहरूलाई भ्रष्ट तुल्याउन मानवीय धारणाहरूसँग मेल खाने तरिकाहरू प्रयोग गर्छ जसले गर्दा मानिसहरूले जीवनको बारेमा गलत दृष्टिकोणहरू स्थापित गर्छन् र बिस्तारै दुष्टताको बाटोमा हिँड्छन्। शैतानले “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता विचारहरू मानिसमा भर्छ, जसले गर्दा मानिसहरू श्रेष्ठ, र अरूले सम्मान र प्रशंसा गर्ने व्यक्ति बन्न खोज्छन्। मानिसलाई यो कुरा आफ्ना धारणाहरूसँग मेल खाएजस्तो लाग्छ, किनकि प्रतिष्ठा र हैसियत पाएपछि, व्यक्तिले अरूको प्रशंसा र सम्मान पाउन सक्छ, र जहाँ गए पनि स्वीकृति र समर्थन पाउँछ, जुन व्यक्तिको अहमलाई एकदमै सन्तुष्ट पार्ने कुराहरू हुन्। यो लक्ष्य हासिल गर्न, मानिसहरू कडा परिश्रम र सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्छन्, धोका दिन्छन् र षड्यन्त्र रच्छन्, र एक-अर्कासँग मरिमेटेर लड्छन्। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ख्याति र प्राप्तिलाई प्रयोग गर्छ, र तिनीहरूलाई एक-एक कदम गर्दै लोभ्याएर पापको अतल कुण्डमा फसाउँछ। मैले आफ्नै व्यवहारबारे चिन्तन गरेँ। जबदेखि हालसालै मेरो कामले केही नतिजाहरू देखाएको र अगुवा अनि ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाएको थियो, तबदेखि मैले आफूमा बोझको भावना र सत्यता वास्तविकता छ भनी सोचेकी थिएँ, अनि यो सम्मान र तेजको घेरा सधैँभरि रहिरहन्छ भन्ने आशा गर्दै, मैले अरूबाट सम्मानित र प्रशंसित हुँदा आनन्द लिन थालेकी थिएँ। त्यति नै बेला, कुनै दिन मेरो कर्तव्यको प्रभावकारिता खस्कियो भने, यो सम्मान र तेजको घेरा हराएर जानेछ भनी म डराउँथेँ, त्यसैले म अरूलाई देखाउन आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। मेरो हृदयमा धेरै पहिलेदेखि नै परमेश्वरका लागि कुनै ठाउँ थिएन, र म अरूले आफूलाई सम्मान गर्ने कसरी बनाउने भन्नेबारे मात्र सोच्थेँ। चाहे त्यो सीप सिक्ने कुरा होस् वा तस्बिर बनाउने, मैले गरेको हरेक काम ब्रदर-सिस्टरहरूलाई म जिम्मेवार छु र ममा आफ्नो कर्तव्यप्रति बोझको भावना छ भनी देखाउन, र त्यसमार्फत उनीहरूको हृदयमा आफ्नो हैसियत कायम राख्नका लागि थियो। मैले परमेश्वरका केही वचनहरू पढेँ: “यदि तँ आफ्नो हृदयमा अझै प्रतिष्ठा र हैसियतमै केन्द्रित छस् भने, र अझै देखावा गर्न र मानिसहरूलाई आफ्नो मान गर्न लगाउनमै तल्लिन छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, अनि तँ गलत मार्ग हिँडिरहेको छस्। तैँले पछ्याउने कुरा सत्यता होइन, न त त्यो जीवन नै हो, बरु त्यो तँलाई मनपर्ने कुरा हो, त्यो ख्याति, प्राप्ति, र हैसियत हो—र त्यो अवस्थामा, तैँले गर्ने कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैन, त्यो सबै दुष्कर्म र श्रम हो। यदि तँ आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्छस्, अनि सधैँ सत्यताको लागि लागिपर्छस् भने, यदि तँ स्वभाव परिवर्तन पछ्याउँछस्, र परमेश्वरप्रतिको साँचो समर्पण हासिल गर्न, र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छस् भने, अनि यदि तँ आफूले गर्ने हरेक कुरामा संयमित छस्, र परमेश्वरको छानबीन स्विकार्न सक्छस् भने, तेरो स्थितिमा सुधार आइरहनेछ, अनि तँ परमेश्वरसामु जिउने व्यक्ति बन्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन)। अरूले प्रशंसा गरून् भनेर ख्याति र प्रतिष्ठा पछ्याउनु शैतानको बाटो हो। सत्यताको पछ्याउनु, परमेश्वरसामु जिउनु, र सृजित प्राणीको कर्तव्य पूरा गर्नु नै मूल्यवान र अर्थपूर्ण जीवन जिउने तरिका हो। मैले सुरुमा ती चुनौतीपूर्ण पृष्ठभूमि तस्बिरहरू बनाएको बेलामाथि चिन्तन गरेँ। म आफ्नो कर्तव्य राम्ररी पूरा गर्नमा ध्यान केन्द्रित गर्थेँ र कठिनाइ आइपर्दा परमेश्वरलाई प्रार्थना गर्थेँ, र मेरो हृदय परमेश्वरको धेरै नजिक भएको महसुस गर्थेँ। तर जबदेखि मैले ख्याति र प्रतिष्ठाको लागि काम गर्न थालेँ, मेरो हृदय परमेश्वरबाट झन्-झन् टाढा हुँदै गयो, र दिनभरि, मेरा सोचहरू परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भन्नेमा होइन, बरु अरूलाई मेरो प्रशंसा गर्ने कसरी बनाउने र मेरो हैसियतलाई खस्किनबाट कसरी जोगाउने भन्नेबारे हुन्थे। परिणाम स्वरूप, मेरा विचारहरू झन्-झन् अलमलमा पर्दै गए, र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न नसकेकी मात्रै होइन, मेरो जीवनलाई समेत हानि पुग्यो। ख्याति र प्राप्ति मानिसहरूलाई हानि पुऱ्याउन र परमेश्वरबाट टाढा लैजान शैतानले प्रयोग गर्ने औजारहरू हुन्, र तिनीहरूले मलाई परमेश्वरको विरोध गर्ने बाटोमा मात्र लैजान्थे।
पछि, मैले खोजी गरिरहेँ र परमेश्वरका यी वचनहरू पढेँ: “तँ किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तँ अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसको डाहा, सम्मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र श्रद्धा। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्मानको अनुभव गराउँछ। यसका साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तँ सोच्नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्नु मूर्खता होइन र? यदि तँ देहका हित र आनन्दजस्ता कुराहरू त्याग्न सक्छस् भने ख्याति, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन। त्यसकारण, हैसियतलाई बहुमूल्य ठान्ने र पछ्याउने समस्या समाधान गर्नुभन्दा पहिले कुन कुरा समाधान गर्नुपर्छ? सबभन्दा पहिले, हैसियतका लाभहरूमा रमाउनका लागि दुष्कर्म र चलाकी गर्ने, कुरा लुकाउने, र ढाकछोप गर्ने, साथै परमेश्वरको घरको सुपरिवेक्षण, सोधपुछ, र अनुसन्धान इन्कार गर्ने समस्याको प्रकृतिलाई छर्लङ्ग देख्न सक्नुपर्छ। के यो परमेश्वरविरुद्धको ठाडो प्रतिरोध र विरोध होइन र? यदि तँ हैसियतका लाभहरू लोभ गर्नुका प्रकृति र परिणामहरू छर्लङ्ग देख्न सक्छस् भने, हैसियतको पछि लाग्ने समस्या समाधान हुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले आफू किन ख्याति र प्रतिष्ठाको पछि लागेँ भन्ने बुझेँ। मैले यसो गर्नुको वास्तविक कारण हैसियतका फाइदाहरूको आनन्द लिन, र मैले ख्याति र प्रतिष्ठा भएपछि, मैले अरूबाट सम्मान र आदर पाउनेछु, र म जहाँ गए पनि ब्रदर-सिस्टरहरूले मलाई गम्भीरतापूर्वक लिनेछन् भन्ने सोचेकीले थियो। जबदेखि मेरा तस्बिरहरू र लेखहरू एकपछि अर्को गर्दै छानिन थाले, र मैले ब्रदर-सिस्टरहरूको आँखामा प्रशंसा र ईर्ष्या देखेँ, म यस्तो भावनाका कारण एकदमै खुसी हुन्थेँ, र यदि मेरो प्रभावकारिता खस्कियो भने, मैले यी कुराहरूको आनन्द लिन पाउनेछैन भनी म डराउँथेँ। एक सृजित प्राणीको रूपमा, परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न पाउनु परमेश्वरको अनुग्रह हो, तर मैले यसलाई हैसियतका फाइदाहरूको आनन्द लिनका लागि प्रयोग गर्न चाहेँ। यो मेरो साँच्चैको निर्लज्जता थियो! मैले के महसुस गरेँ भने तस्बिर बनाउने मेरो काममा आएको प्रभावकारिता परमेश्वरको अन्तर्दृष्टिका कारणले थियो, यो सीप परमेश्वरबाट पाएको वरदान थियो, र यी परिणामहरू परमेश्वरको घरका सिद्धान्तहरूको मार्गदर्शन र ब्रदर-सिस्टरहरूको मद्दतका कारणले आएका थिए, र मैले यी सबै कुराहरू परमेश्वरको मार्गदर्शनबाट अलग गर्न नसकिने रहेछन् भन्ने बुझेँ। मसँग घमन्ड गर्न वा प्रशंसा गरिन योग्य केही पनि थिएन। मेरो कर्तव्यमा केही प्रभावकारिता हुनुको मतलब मेरो मूल्य बढेको थिएन, न त यसको मतलब म भ्रष्टता वा कमी-कमजोरी नभएकी थिएँ भन्ने नै हुन्थ्यो। म त्यही, धेरै कमी-कमजोरीहरू भएको केवल एउटा साधारण व्यक्ति नै त थिएँ, र मैले यसलाई सही रूपमा हेर्नुपर्थ्यो। यदि आफ्नो कर्तव्यमा समस्याहरू छन् भने, मैले आत्मचिन्तन गर्ने, विचलनहरूको सारांश निकाल्ने, र तिनीहरूबाट सिक्ने गर्नुपर्छ। मैले आफ्ना कमी-कमजोरीहरूको खुलासा गर्न डराउनु वा तिनीहरूबाट भाग्नु आवश्यक छैन, र मैले तिनीहरूलाई ढाकछोप गर्न मानव तरिकाहरू प्रयोग गर्नु त झनै आवश्यक छैन। मैले गर्न आवश्यक कुरा भनेको आफ्नो स्थानअनुसार आचरण गर्नु, र आफ्नो कर्तव्यमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउनु। यी कुराहरू बुझेपछि, मलाई आफूभित्र सहजता र स्वतन्त्रता व्याप्त भए झैँ लाग्यो, र मैले ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्छन् भन्नेबारे चिन्ता गर्न छोडेँ। त्यसपछि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यो परिस्थितिमार्फत मलाई प्रकट गर्नुभएकोमा तपाईंलाई धन्यवाद, नत्र त मैले आफ्ना समस्याहरू चिन्ने थिइनँ। म अब अरूले मलाई कसरी हेर्छन् भन्नेमा ध्यान केन्द्रित गर्न छोडेर, पश्चात्ताप गर्न, तपाईंको सामु जिउन, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न तयार छु। यदि मैले फेरि ख्याति र प्रतिष्ठा पछ्याएँ भने, मलाई ताडना दिनुहोस्, ताकि म समयमै होशमा आउन सकूँ।”
सन् २०२४ को जनवरीको सुरुमा, अगुवाले मलाई एउटा तस्बिरलाई सुधार्न लगाउनुभयो। यो अरू ब्रदर-सिस्टरहरूले बनाएको अधुरो काम थियो जसलाई मैले परिमार्जन गर्नुपर्ने थियो, र म अलिकति तनावमा परेँ, अनि सोचेँ, “अगुवाले मलाई विश्वास गरेर यो प्रबन्ध मिलाइरहनुभएको छ, त्यसैले मैले सक्दो राम्रो गर्नुपर्छ र उहाँलाई निराश पार्नु हुँदैन।” मलाई यो काम एकै पटकमा राम्रोसँग गर्न सकेर, अगुवालाई ममा अझै केही क्षमता छ भनी देखाउन सकूँला भन्ने आशा थियो। त्यति नै बेला, मैले आफ्नो स्थिति गलत रहेको, र आफू अझै पनि ख्याति र प्रतिष्ठा पछ्याइरहेकी महसुस गरेँ, त्यसैले मैले आफ्नो गलत अभिप्रायको विरुद्ध विद्रोह गर्न परमेश्वरलाई प्रार्थना गर्दै, परमेश्वरसँग मेरो हृदयको रक्षा गर्न र मेरा जिम्मेवारीहरू पूरा गर्न मद्दत मागेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैँले आफ्नो स्थान अनुरूप आफूलाई आचरणमा ढाल्छस् कि ढाल्दैनस्, र तँ सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्ने व्यक्ति होस् कि होइनस् भन्ने कुरालाई मात्रै परमेश्वरले अवलोकन गर्नुहुन्छ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, परमेश्वरले तँलाई दिनुभएका अन्तर्निहित अवस्थाहरूअनुसार यसमा आफ्नो सारा हृदय र सामर्थ्य लगाउँछस् कि लगाउँदैनस्, र तैँले सिद्धान्तहरूअनुसार काम गर्छस् कि गर्दैनस् र परमेश्वरले चाहनुहुने नतिजाहरू हासिल गर्छस् कि गर्दैनस् भन्ने कुरा उहाँले अवलोकन गर्नुहुन्छ। यदि तँ यी सबै कुरा हासिल गर्न सक्छस् भने, परमेश्वरले तँलाई पूर्णाङ्क दिनुहुन्छ। मानौँ तैँले परमेश्वरका मागहरूअनुसार कामकुरा गर्दैनस्, र तैँले धेरै परिश्रम गरे पनि र मेहनत गरे पनि, तैँले आफ्नो धाक लगाउने र प्रदर्शन गर्ने काम मात्रै गर्छस्, र तँ सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्दैनस् वा आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो सारा हृदय र सामर्थ्य लगाउँदैनस्। त्यो अवस्थामा, तेरा प्रकटीकरण र व्यवहार परमेश्वरका लागि तिरस्कृत हुन्छन्। परमेश्वरले किन तिनलाई तिरस्कार गर्नुहुन्छ? तैँले उचित कार्यहरूमा ध्यान दिइरहेको छैनस्, तैँले आफ्नो कर्तव्य निर्वाह गर्नमा आफ्नो सारा हृदय, सामर्थ्य, वा मन लगाएको छैनस्, र तँ सही मार्गमा हिँडिरहेको छैनस् भनेर परमेश्वरले भन्नुहुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मैले आफूले बुझेका सिद्धान्तहरूअनुसार सक्दो राम्रो गर्नुपर्छ। यदि मैले सक्दो राम्रो गर्दा पनि अझै विचलनहरू भए भने, अगुवाले मेरा कमी-कमजोरीहरू औँल्याउनु भनेको मेरो कमीलाई पूरा गरिदिनु हो, र मैले तिनीहरूलाई सुधार्नुपर्छ। यी कुराहरू मनमा राखेपछि, मलाई अब तनाव भएन, र मैले तस्बिरमा सबैभन्दा राम्रो प्रभाव कसरी सिर्जना गर्ने भन्नेबारे ध्यान दिएर सोचेँ, नबुझेको कुरामा परमेश्वरलाई प्रार्थना गरेँ र जानकारीहरू खोजेँ, र केही समयमै तस्बिर पूरा भयो। केही दिनपछि, मैले त्यो तस्बिर छानिएको थाहा पाएँ, र मैले आफ्नो हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिएँ। ममा आएको यो परिवर्तन परमेश्वरका वचनहरूको मार्गदर्शनकै प्रतिफल थियो।