६९. जब मैले मेरी श्रीमतीलाई निकालिन लागेको कुरा थाहा पाएँ
सन् २०२१ को मार्च महिनामा, मैले मण्डलीका अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा मेरी श्रीमतीको अविश्वासी व्यवहारको विवरण दिन भनिएको थियो। मेरी श्रीमती वास्तवमै एउटी अविश्वासी हुन् र परमेश्वरको घरबाट निकालिनुपर्ने मापदण्ड पूरा गर्छिन् भन्ने मलाई थाहा थियो। परमेश्वरमा वर्षौँदेखि विश्वास गरेकी भए तापनि तिनले कहिल्यै सत्यता पछ्याइनन्, बरु सधैँ सांसारिक चलन, धनसम्पत्ति र सुखविलासको पछि लागिन्। तिनी मण्डलीका भेलाहरूमा सहभागी हुन नचाहने मात्र होइन, तिनले कहिल्यै प्रार्थना गर्ने वा परमेश्वरका वचन खाने-पिउने पनि गरिनन्, अनि कर्तव्य निर्वाह गर्न पनि हिचकिचाउँथिन्। जब ब्रदर-सिस्टरहरू र मैले तिनलाई सत्यता पछ्याउनु र कर्तव्य निर्वाह गर्नुको महत्त्वबारे सङ्गति गर्यौँ, तिनले पटक्कै मनमा लिइनन्। तिनले आफैँ सत्यता नपछ्याउने मात्र होइन, मलाई सधैँ यसो भन्थिन्, “तपाईँले त्यति लगनशीलताका साथ सत्यता पछ्याउनु पर्दैन—खालि अरूको पछिपछि लागे पुगिहाल्छ नि।” जब म तिनको कुरा सुन्दिनथेँ, तिनी मसँग रिसाउँथिन्, जसले गर्दा मलाई निकै बन्देजमा परेको महसुस हुन्थ्यो। मैले आफ्नी श्रीमतीको व्यवहारबारे इमानदारीपूर्वक लेख्नुपर्छ भन्ने मलाई थाहा थियो, तर जब साँच्चै लेख्ने बेला आयो, तब म हिचकिचाएँ र सोचेँ, “हाम्रो बिहे भएको लगभग दश वर्ष भइसक्यो। मेरी श्रीमतीले सत्यता नपछ्याए तापनि, तिनले म र मेरा आमाबुबालाई एकदमै राम्रो व्यवहार गरेकी छिन्। तिनी आफ्नो लागि राम्रो लुगा किन्दा पैसा जोगाउँथिन्, तर मेरो र मेरा आमाबुबाको लागि भने उदार भएर खर्च गर्थिन्। अब तिनलाई निकालिँदै छ, मैले तिनको मद्दतका लागि केही पनि गर्न नसक्ने मात्रै होइन, झन मैले नै तिनको खुलासा गर्नुपरेको छ। यो कुराले मन साह्रै दुख्छ। यसबाहेक, यदि मेरी श्रीमतीले तिनको व्यवहारको खुलासा गर्ने व्यक्ति मै हुँ भनेर थाहा पाइन् भने यति निर्दयी भएकोमा तिनले मलाई पक्कै घृणा गर्नेछिन्। भविष्यमा मैले तिनको सामना कसरी गर्ने?” त्यसपछि मैले यो पनि सोचेँ, “मेरी श्रीमतीले सत्यता नपछ्याए तापनि, तिनले कहिल्यै दुष्ट काम गरेकी छैनन्, त्यसैले तिनलाई मण्डलीमा राख्दा कुनै हानि हुँदैन। यदि तिनी मण्डलीमा रहिन् भने, मैले तिनलाई पत्र लेखेर मद्दत गरिरहन सक्छु, अनि तिनले संसारलाई पछ्याउन परमेश्वरलाई पूर्ण रूपमा छोड्ने छैनन्। सायद उनी बँच्न सक्ने झिनो आशा बाँकी नै छ। तर यदि तिनले आफूलाई निकालिँदै छ भनेर थाहा पाइन् भने, तिनी निराश भएर हरेस खान सक्छिन्, अनि परमेश्वरलाई पूर्ण रूपमा त्यागेर सांसारिक चलनहरू पछ्याउन सक्छिन्।” यति सोचेपछि, म दुविधामा फसेँ—एकातिर पारिवारिक स्नेह थियो भने अर्कोतिर मण्डलीको हित। मैले कुनचाहिँ रोज्ने? ती दिनहरूमा, म यो पूरै मामिलाबाट पन्छिन चाहन्थेँ, त्यसैले आफूलाई काममा नै डुबाएँ। तर जहिले काम सकेर शान्त हुन्थेँ, तब म यो कुरा सोच्थेँ, “यदि अगुवाहरूले मैले अझैसम्म मूल्याङ्कन लेखेको छैन भन्ने थाहा पाउनुभयो भने, के उहाँहरूले मलाई अत्याधिक भावुक छु भनी सोच्नुहोला? अझ, मण्डलीको सफाइ गर्ने काममा व्यक्तिगत मनोवृत्ति र अडान महत्त्वपूर्ण हुन्छ। सिद्धान्तहरूमा अडिग रहन नसक्नु र मण्डलीको कामको रक्षा नगर्नु भनेको त शैतानको पक्ष लिनु हो।” यी विचारहरू मनमा राखेर, मैले मेरी श्रीमतीको मूल्याङ्कन लेख्न सुरु गरेँ। तर लेख्दै गर्दा, मेरो स्नेह फेरि देखा पर्यो, र मैले सोचेँ, “यदि मैले मेरी श्रीमतीको अविश्वासी व्यवहारका सबै विवरण लेखेँ भने, तिनी पक्कै पनि निकालिनेछिन्। सायद मैले संक्षिप्तमा लेख्नुपर्छ।” मूल्याङ्कन लेखिसकेपछि, मलाई केही असहज महसुस भयो। “यसो गरेर, के मैले जानाजानी कुराहरू लुकाइरहेको छैन र?” तर त्यसपछि मैले सोचेँ, “जे होस्, मैले लेखिसकेँ। अगुवाहरूलाई तिनको केही व्यवहारबारे पहिल्यै थाहा भइसकेकोले, धेरै विवरण नदिँदा पनि ठीकै होला।” त्यसैले, मैले आफ्नो मूल्याङ्कन अगुवाहरूलाई बुझाएँ। केही समयपछि, अगुवाहरूले फेरि पत्र पठाउँदै मैले मेरो मूल्याङ्कनमा श्रीमतीको व्यवहारबारे धेरै अस्पष्ट रूपमा लेखेको बताउनुभयो, र उहाँहरूले मलाई फेरि लेख्न भन्नुभयो। मलाई अलिकति दोषी महसुस भयो। म धेरै विवरण लेख्दा मेरी श्रीमती निकालिनेछिन् भनेर डराएँ, त्यसैले मैले काम चलाउनका लागि मात्र आफ्नो मूल्याङ्कन संक्षिप्त र अस्पष्ट राख्न चाहेको थिएँ। तर परमेश्वरले सबै कुराको छानबिन गर्नुहुन्छ। के मैले यसो गरेर आफूलाई र अरूलाई धोका दिने प्रयास गरिरहेको थिइनँ र? त्यसैले म प्रार्थना गर्न र आफैँमा मनन गर्न परमेश्वरसामु आएँ।
आफ्नो चिन्तनका क्रममा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “तिमीहरू परमेश्वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्ने जत्तिको साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरका हरेक प्रश्नले मलाई गहिरो लाज महसुस गरायो। मैले परमेश्वरका वचनहरूको यति धेरै मलजल र आपूर्ति पाएको छु, र मैले सत्यता अभ्यास गरेर अविश्वासीहरूको खुलासा गर्नुपर्थ्यो। तर जब मेरी श्रीमतीको खुलासा गर्ने कुरा आयो, मैले त्यसो गर्ने आँट गर्न सकिनँ, र अगुवाहरूलाई छक्याउनका लागि छलको सहारासमेत लिएँ। मैले सत्यता अभ्यास गर्नुभन्दा एक जना अविश्वासीलाई मण्डलीमा राख्न नै उचित ठानेँ। म कति स्वार्थी थिएँ, परमेश्वरप्रति कुनै बफादारी थिएन। म सत्यता अभ्यास गर्ने व्यक्ति नै थिइनँ। यति सोचेपछि, मलाई निकै पछुतो लाग्यो। त्यसैले, म परमेश्वरसामु आएर आफ्नो पाप स्वीकार गरेँ र पश्चात्ताप गरेँ, अनि आफ्नो स्नेहलाई पन्छाएर सत्यता अभ्यास गर्ने इच्छा व्यक्त गरेँ। त्यसपछि मैले मण्डलीलाई मेरी श्रीमतीको व्यवहारबारे विस्तृत जानकारी दिएँ। सन् २०२३ मा, मैले मेरी श्रीमतीलाई मण्डलीबाट निकालिएको कुरा थाहा पाएँ।
पछि, मैले अविश्वासीहरूलाई पहिचान गर्ने विषयमा परमेश्वरका केही वचनहरू पढेँ, र यसले मलाई मेरी श्रीमतीको अविश्वासी सारबारे केही पहिचान हासिल गर्न मद्दत गर्यो। तिनले कहिल्यै साँचो रूपमा परमेश्वरमा विश्वास गरेकी थिइनन् भन्ने मैले महसुस गरेँ। तिनले प्रभु येशूमा विश्वास गर्दा पनि पछ्याइनन्। तिनकी आमाले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, तिनकी आमाले तिनलाई धेरै पटक सुसमाचार प्रचार गर्ने प्रयास गरिन्, तर तिनी स्वीकार गर्न अनिच्छुक भइन्। हाम्रो विवाह र परमेश्वरमाथिको मेरो विश्वासको कारणले मात्र तिनी मसँगै मण्डलीमा सामेल भएकी थिइन्। यद्यपि, तिनले मलाई अक्सर भन्थिन् परमेश्वरमा विश्वास गर्दा सँगसँगै लागे पुग्छ, धेरै पछ्याउनु पर्दैन, र पैसा कमाउनु नै प्राथमिकता हुनुपर्छ। यसैकारणले गर्दा तिनले परमेश्वरलाई पाएपछि आफ्नो कर्तव्यमा धेरै केही गरिनन्। मैले तिनलाई बारम्बार कर्तव्य निर्वाह गर्नुको महत्त्वबारे सङ्गति गरेपछि, तिनले हिचकिचाउँदै भेलाहरूका लागि ब्रदर-सिस्टरहरूलाई घरमा स्वागत गर्न त स्वीकार गरिन्, तर तिनीहरूलाई सुरक्षित राख्न घरमा बस्नचाहिँ तयार भइनन्। अझ, मैले तिनलाई राम्रो भौतिक जीवन दिन नसकेकोमा तिनी अक्सर गुनासो गर्थिन्। हाम्रो पारिवारिक जीवनस्तर राम्रै थियो, खानेकुरा वा आवश्यक चीजहरूको कुनै कमी थिएन, तैपनि तिनी असन्तुष्ट थिइन् र अझ राम्रो घरमा बस्न चाहन्थिन्। मैले परमेश्वरमा विश्वास गरेको र तिनका मागहरू पूरा गर्न नसकेको देखेर, तिनले धेरै पटक अब आस्थालाई निरन्तरता दिन नचाहेको बताइन्। तर जब कुनै दुर्भाग्यपूर्ण घटना आइपर्थ्यो, तिनी तुरुन्तै जोसिलो बन्थिन्, प्रार्थना गर्थिन् र भेटीहरू चढाउँथिन्। जब ती समस्याहरू हटिसक्थे, तिनी आफ्नो पुरानै बानीमा फर्कन्थिन्। तिनको आस्था पूर्ण रूपमा आशिष् पाउनका लागि मात्र थियो भन्ने स्पष्ट थियो। तिनमा परमेश्वरबारे धेरै धारणाहरू पनि थिए र तिनलाई अक्सर मेरो अगाडि फैलाउँथिन्, मलाई मेरो आस्था धेरै लगनशीलताका साथ नपछ्याउन र आफ्नो कर्तव्य निर्वाह गर्न घर नछोड्न भन्थिन्। जब मैले तिनलाई कुनै कुराको सामना गर्दा सत्यता खोज्न सल्लाह दिन्थेँ, तिनले आफूले सबै कुरा बुझेको तर व्यवहारमा उतार्न नसकेको दाबी गर्दै त्यसलाई बेवास्ता गर्थिन्। यो देखेर, तिनी साँच्चै नै सत्यताप्रति वितृष्ण अविश्वासी हुन् भन्ने मैले महसुस गरेँ। तिनलाई केही हदसम्म खुट्यायपछि मात्र मैले यी वर्षहरूमा म स्नेहमा बाँचिरहेको थिएँ भनेर बुझेँ। त्यसैकारणले मैले तिनलाई मण्डलीमा नै राख्ने आशामा मद्दत र समर्थन गरिरहेको थिएँ। यो सबै मेरो अत्यधिक स्नेहको कारणले भएको थियो।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरूले भावनाहरूलाई धेरै महत्त्व दिन्छन्, तिनीहरू आफूमाथि जेसुकै आइपरे पनि त्यसप्रति आफ्नो भावनाको आधारमा प्रतिक्रिया जनाउँछन्; तिनीहरूलाई हृदयमा यो गलत हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू वस्तुनिष्ठ हुन सक्दैनन्, सिद्धान्तअनुसार काम गर्नु त परको कुरा हो। जब मानिसहरू सधैँ भावनाद्वारा बाधित हुन्छन्, के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त अत्यन्तै कठिन छ! धेरै मानिसहरूले सत्यता अभ्यास गर्न नसक्नुको कारण भावनाहरू नै हुन्छ; तिनीहरू भावनाहरूलाई विशेष महत्त्व दिन्छन्, र तिनलाई पहिलो स्थानमा राख्छन्। के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् त? अवश्यै होइनन्। सारमा, भावनाहरू के हुन्? ती एकप्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई कैयौँ शब्दहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, दैहिक सम्बन्धहरूको परिपालन, र पक्षपात; भावनाहरू भनेका यिनै हुन्। मानिसहरूले भावनाहरू बोक्नु र तिनमा जिउनुका सम्भावित परिणामहरू के-के हुन्? परमेश्वरले किन मानिसहरूका भावनाहरूलाई सबभन्दा बढी घृणा गर्नुहुन्छ? कतिपय मानिसहरू सधैँ आफ्ना भावनाहरूद्वारा बाधित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र चाहेर पनि तिनीहरू परमेश्वरप्रति समर्पित हुन सक्दैनन् त्यसैले तिनीहरू भावनाद्वारा प्रताडित हुन्छन्। धेरै मानिसहरूले सत्यता बुझेर पनि यसलाई अभ्यास गर्न सक्दैनन्; यो पनि तिनीहरू भावनाहरूद्वारा बाधित भएकोले गर्दा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्वरका वचनहरूले मेरो वास्तविक स्थितिको खुलासा गरिदिए। मेरी श्रीमतीको अविश्वासी व्यवहारबारे जानकारी दिँदा, तिनले निरन्तर सत्यता नपछ्याएको, भेलाहरूमा उपस्थित हुन इन्कार गरेको, कहिल्यै प्रार्थना नगरेको वा परमेश्वरका वचनहरू खाने र पिउने नगरेको, मलाई स्पष्ट रूपमा थाहा थियो। बरु, तिनी पैसा र सांसारिक सुख मात्र खोज्थिन्। अझ, तिनको मानवता राम्रो थिएन, र यदि कसैले तिनलाई चिढ्यायो भने, तिनी गैरविश्वासीको जस्तै व्यवहार गर्दै, नराम्रोभन्दा नराम्रो भाषाले सराप्थिन्। मैले मेरी श्रीमतीको व्यवहारको खुलासा गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर म पूर्ण रूपमा आफ्नो स्नेहमा डुबेको थिएँ। मैले सोचेँ, यदि तिनलाई निकालिँदैन भने, तिनी एक सेवाकर्ताको रूपमा मण्डलीमा रहन सक्छिन्। नत्रभने, तिनले मुक्ति पाउने मौका पूर्ण रूपमा गुमाउने छिन्। त्यसैले मूल्याङ्कन लेख्दा मैले अगुवाहरूलाई झुक्याउने प्रयासमा जानाजानी तिनको व्यवहारबारे संक्षिप्त र अस्पष्ट रूपमा लेखेँ। आफ्ना कार्यहरूमाथि मनन गर्दा, म कति स्वार्थी र नीच बनेको रहेछु भन्ने मैले महसुस गरेँ। यदि अगुवाहरूले मेरो समस्या पत्ता लगाएर समयमै औँल्याइदिनुभएको थिएन भने, म आफ्नो स्नेहमा डुबिरहने थिएँ र आफ्नी श्रीमतीलाई बचाइरहेको हुन्थेँ। यदि तिनी मण्डलीमा रहिरहेकी भए, तिनले परमेश्वरबारे आफ्ना धारणाहरू फैलाइरहने थिइन्, अरूलाई बाधा दिने थिइन्, र यदि ब्रदर-सिस्टरहरूले तिनलाई खुट्याउन नसकेका भए, तिनीहरू तिनका भ्रमहरूले गर्दा बहकिन सक्थे। यसबाहेक, तिनले भेलाहरूका लागि ब्रदर-सिस्टरहरूलाई घरमा स्वागत गरे तापनि, तिनले उनीहरूलाई हाम्रो घरमा आश्रय दिइनन्, जसले गर्दा उनीहरूलाई भेलामा मन शान्त पार्न गाह्रो हुन्थ्यो। अब मैले अन्ततः के बुझेँ भने, भावुकतापूर्वक आफ्नी श्रीमतीलाई ढाकछोप गर्दै सुरक्षा दिएर, मैले एउटी अविश्वासीलाई मण्डलीमा अवरोध र बाधा पुऱ्याउन दिइरहेको थिएँ। यसले म शैतानका नोकरहरूमध्ये एकको रूपमा काम गरिरहेको र दुष्ट कार्यहरू गरिरहेको थिएँ भन्ने देखायो!
पछि, मैले आफैँमा मनन गरेँ, र आफैलाई सोधेँ, “यदि मैले असल अभिप्रायले मेरी श्रीमतीलाई मण्डलीमा राखेँ भने, के मैले साँच्चै तिनलाई मुक्ति पाउन र बाँच्न मद्दत गर्न सक्थेँ होला र? के यसरी काम गर्नु परमेश्वरको अभिप्रायअनुरूप हुन्थ्यो र?” त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “उनीहरूका पूर्ण रूपमा गैरविश्वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्वास गरे पनि नगरे पनि, यो परमेश्वरको अभिप्राय होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। केहीले आफ्ना पत्नीहरूलाई परमेश्वरको सामु ल्याउँछन्, वा आफ्ना आमाबुबाहरूलाई परमेश्वरको सामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको छ वा छैन, वा उनीहरूमा काम गरिरहनुभएको छ वा छैन, उनीहरूले ‘प्रतिभाशाली मानिसहरूलाई’ परमेश्वरको निम्ति अन्धाधुन्ध रूपमा अपनाई रहन्छन्। यी अविश्वासीहरूप्रति दया अघि सारेर के फाइदा लिन सकिन्छ? ती पवित्र आत्माको उपस्थितिविनाको यी अविश्वासीहरूले मन नलागी-नलागी परमेश्वरलाई पछ्याउने भए तापनि, कसैले विश्वास गरेजस्तो अझै मुक्ति पाउन सक्दैनन्। उनीहरू जसले मुक्ति पाउन सक्छन्, वास्तवमा उनीहरूलाई पाउन त्यत्ति सजिलो छैन। ती मानिसहरू जो पवित्र आत्माको काम र जाँचहरू भएर गुज्रेका छैनन् र देहधारी परमेश्वरद्वारा सिद्ध तुल्याइएको छैनन्, उनीहरूलाई पूर्ण बनाइन सर्वथा अयोग्य हुन्छन्। यसकारण, उनीहरूले नामधारी रूपमा मात्र परमेश्वरलाई पछ्याउन सुरु गरेदेखि नै, ती मानिसहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्थाहरू र वास्तविक स्थितिहरूको प्रकाशमा, उनीहरूलाई केवल पूर्ण बनाउन सकिँदैन। त्यस्तै, पवित्र आत्माले उनीहरूमाथि धेरै सामर्थ्य नखर्चने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै किसिमको अन्तर्ज्ञान वा मार्गदर्शन प्रदान गर्नुहुन्छ; उहाँले उनीहरूलाई केवल पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्त छ। मानवजातिको जोश र इरादाहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनु नै पर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पतिले उसको पत्नीलाई किन प्रेम गर्छ? पत्नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृजित प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? उनीहरूले परमेश्वरमा विश्वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न असक्षम हुनेहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरू अवश्य नै नष्ट पारिने पात्रहरू हुन्। कसैले उनीहरूलाई जति धेरै प्रेम गरे तापनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव मनसायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरू परमेश्वरको कामको प्रतिस्थापन हुन नै सक्छन्। नामधारी रूपमा परमेश्वरमा विश्वास गर्नेहरू र परमेश्वरमा विश्वास गर्नुको वास्तविक अर्थ के हो सो नजानिकन नै उहाँलाई पछ्याएको बहाना गर्नेहरूप्रति कसैले सम्भावित महान् प्रेम वा कृपा अघि सारे, तापनि उनीहरूले अझै परमेश्वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्त गर्नेछन्। ईमानदार रूपमा परमेश्वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए तापनि उनीहरू कहिलेकाहीँ पवित्र आत्माको काम अझ पनि हासिल गर्न सक्छन्; यद्यपि, एकदमै असल क्षमता भएका तर ईमानदार रूपमा विश्वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति पाउन सक्दैनन्। यस्ता मानिसहरूलाई निश्चय नै मुक्तिको निम्ति कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्वरको वचनहरू पढे तापनि वा कहिलेकाहीँ वचनहरू प्रचार गरेको सुने तापनि वा परमेश्वरको प्रशंसा गाए तापनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्षम हुँदैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरूद्वारा मैले के बुझेँ भने, कुनै व्यक्ति सत्यता पछ्याउने मार्गमा लाग्न सक्छ कि सक्दैन र अन्ततः मुक्ति पाएर बाँच्न सक्छ कि सक्दैन भन्ने कुरा अरूको मद्दत वा समर्थनमा निर्भर हुँदैन। केवल मण्डली नछोडी बस्दैमा मात्र बाँच्ने आशा पाइने होइन। बरु, यो परमेश्वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्तिमा, साथै तिनीहरूले आफ्नो व्यक्तिगत खोजीमा पवित्र आत्माको काम र सिद्धता प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। सुरुदेखि नै, मेरी श्रीमतीले कहिल्यै इमानदारीपूर्वक परमेश्वरमा विश्वास गरिनन्। तिनले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्ने अभिप्राय कहिल्यै राखिनन्, र तिनी कहिल्यै मण्डलीका प्रबन्धहरूप्रति समर्पित भइनन्। तिनले भेलाहरूका लागि ब्रदर-सिस्टरहरूलाई हिचकिचाउँदै घरमा स्वागत गर्दा पनि, तिनले कुनै जिम्मेवारी लिइनन्। मण्डलीका अगुवाहरूले तिनलाई जति नै सङ्गति गरे पनि, तिनले आफ्नो बानी कहिल्यै परिवर्तन गरिनन्। तिनले त धेरै पटक अब परमेश्वरमा विश्वास गर्न नचाहेको पनि उल्लेख गरिन्। सत्यताप्रतिको यस्तो गहिरो वितृष्णा हुँदा, मैले तिनलाई जबरजस्ती मण्डलीमा राखेँ भने पनि, पवित्र आत्माले तिनमा काम गर्नुहुनेछैन। यदि त्यसो भएको भए, के मेरा सबै प्रयासहरू व्यर्थ हुने थिएनन् र? मेरी श्रीमतीलाई मण्डलीमा राख्ने मेरो इच्छा मेरो व्यक्तिगत स्नेह र स्वार्थबाट प्रेरित थियो। यस्ता कार्यहरू प्रभावहीन मात्र हुने थिएनन्, मेरो स्नेहका कारणले गर्दा ती व्यवहारले परमेश्वरको स्वभावलाई चिढ्याउन समेत सक्थे। मलाई याद आयो राज्यको युगका दश प्रशासनिक आदेशहरूमध्ये एउटाले यसो भन्छ: “ती आफन्तहरू (तेरा छोराछोरी, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्वासी होइनन्, उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर त्यसको सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्वास गर्दैनन्, उनीहरूलाई मण्डलीमा ल्याउनै हुँदैन। यो आदेश सबै मानिसहरूप्रति निर्देशित छ। तिमीहरूले यो विषयमा जाँच्नुपर्छ, सुपरिवेक्षण गर्नुपर्छ, र एकअर्कालाई स्मरण गराउनुपर्छ; कसैले यसलाई उल्लङ्घन गर्न सक्दैन। विश्वासदेखि बाहिरका आफन्तहरू मन नलागी-नलागी मण्डलीभित्र पस्छन् भने पनि उनीहरूलाई पुस्तकहरू दिनै हुँदैन वा नयाँ नाउँ दिनै हुँदैन; त्यस्ता मानिसहरू परमेश्वरको घरका होइनन्, र आवश्यक कुनै पनि तरिकाले उनीहरूलाई मण्डलीभित्र प्रवेश गर्नबाट रोक्नैपर्छ। यदि भूतात्माहरूको आक्रमणको कारण मण्डलीमा समस्या ल्याइएको छ भने, तँ आफैलाई बाहिर निकालिनेछ वा तँमाथि प्रतिबन्धहरू लगाइनेछ। सङ्क्षेपमा, यस मामिलामा सबैको जिम्मेवारी छ, यद्यपि तँ लापरवाह हुनु हुँदैन, न त व्यक्तिगत बदलाको निम्ति यसको प्रयोग गर्नु हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। प्रशासनिक आदेशले स्पष्ट रूपमा बताउँछ अविश्वासी परिवारका सदस्यहरूलाई हामीले जबरजस्ती मण्डलीमा ल्याउनु हुँदैन। यस्ता मानिसहरू मण्डलीमा प्रवेश गरे पनि, परमेश्वरले तिनीहरूलाई स्वीकार्नुहुन्न। यो हरेक विश्वासीले पालन गर्नुपर्ने आदेश हो। यद्यपि, मैले परमेश्वरको प्रशासनिक आदेशलाई बेवास्ता गरेँ र स्नेहको कारणले मेरी श्रीमतीलाई मण्डलीमा राख्ने प्रयास गरेँ। मण्डली भनेको ब्रदर-सिस्टरहरूले परमेश्वरको आराधना गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने ठाउँ हो; यसले अविश्वासीहरू, ख्रीष्टविरोधीहरू, वा दुष्ट मानिसहरूको बाधालाई अनुमति दिँदैन। मेरी श्रीमती सत्यताप्रति वितृष्ण भएकी र सारमा एउटी अविश्वासी भएकीले, तिनी मण्डलीमा रहनुले निस्सन्देह रूपमा मण्डलीको काम र मण्डलीको जीवन दुवैमा अवरोध र बाधा पुऱ्याउने थियो। व्यक्तिगत स्नेहको आधारमा एक जना अविश्वासीलाई मण्डलीमा राख्ने मेरो प्रयास—त्यो कसरी परमेश्वरको अभिप्रायसँग मिल्न सक्थ्यो र?
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र मामिलाहरूप्रतिको मेरो भावुक दृष्टिकोणको जडबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि कुनै व्यक्ति परमेश्वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तँलाई ऊ दुष्ट व्यक्ति होइन भन्ने लाग्छ, र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, र तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध नबदलिन सक्छ। परमेश्वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भन्ने सुनेर तँ विचलित हुनेछस्, र तँ परमेश्वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्ण रूपमा त्याग्न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ भएको हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तेरो निन्दा गर्नेछ र आमाबुबाप्रति भक्तिभाव नराख्ने, विवेक नभएको, र मानवसमेत बन्न नसकेको भनी दोष लाउनेछ भन्ने सोच्छस्। तँलाई आफू दैवद्वारा दोषी ठहरिएर दण्डित हुनेछु भन्ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको सिकाइद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जरा गाडेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्णतया प्राकृतिक र उचित कुरा हो, र आफ्ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्ने गलत विश्वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हाबी रहन्छ, जसले तेरो विश्वासमा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो बाधा र रोकावट पैदा गर्छ, र तँ परमेश्वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्वरका वचनहरू स्वीकार गर्न नसक्ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्वरका वचनहरू स्विकार्न नसक्ने तुल्याइएको छ। तैँले परमेश्वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्ने बनाउँछन्। केही समयसम्म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी कुराहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्ने सोचिरहेको हुन्छस्। समाजले गरेको निन्दा सहन नसकेर, तँ सत्यता र परमेश्वरका वचनहरू त्याग्न रुचाउँछस्, र यसरी परमेश्वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। मलाई भन् त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्वरको मुक्ति चाहिएको छैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू चिनेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूले मैले आचरण गर्ने भावुक तरिकाको जडलाई खुलासा गरिदिए। मेरी श्रीमतीको अविश्वासी व्यवहारबारे विवरण दिने कुरा आउँदा, मैले तिनको सार वा परमेश्वर र सत्यताप्रतिको तिनको मनोवृत्तिको आधारमा तिनलाई खुट्याइनँ वा खुलासा गरिनँ। बरु, मैले केवल तिनी सामान्यतया मप्रति असल थिइन् र मेरा आमाबुबाको हेरचाह गर्थिन् भन्ने तथ्यमा मात्र ध्यान केन्द्रित गरेँ। परिणामस्वरूप, म स्नेहमा डुबेँ, र तिनलाई ढाक्ने र सुरक्षा दिने प्रयास गरेँ। मलाई तिनी अविश्वासी हुन् र तिनको मामिला मण्डलीबाट निकालिने कुरालाई जायज ठहराउने सिद्धान्तहरूसँग मेल खान्छ भन्ने थाहा भए तापनि, सिद्धान्तमा अडिक रहेर उनलाई खुलासा गर्नु र उनी चर्चबाट निकलिँदा हेरेर बस्नु मलाई असहज हुन्थ्यो, भनौँ मेरो विवेकले त्यसलाई अनुमति दिँदैनथ्यो। मैले त यतिसम्म महसुस गरेँ कि यदि मैले मेरी श्रीमतीको खुलासा गरेँ भने, मैले तिनलाई निराश तुल्याइरहेको हुनेछु, र मलाई डर थियो यदि तिनले मैले नै तिनको खुलासा गरेको थाहा पाइन् भने, तिनी निष्ठुर र निर्दयी भएकोमा मलाई घृणा गर्ने छिन्। मैले “रगत पानीभन्दा गाढा हुन्छ” र “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” जस्ता शैतानी दर्शनहरूलाई आचरणका सिद्धान्तहरूको रूपमा अपनाएको थिएँ। यी विचारहरूद्वारा बाँधिएर, मैले एक अदृश्य दबाब महसुस गरेँ। यो व्यक्ति अविश्वासी हो कि होइन, वा यो व्यक्ति मण्डलीमा रहँदा मण्डलीको काम र ब्रदर-सिस्टरहरूलाई कति हानि पुऱ्याउँछ भन्ने कुराको मैले वास्ता गरिनँ। मैले खालि यदि यो व्यक्ति मेरो नातेदार हो भने, मैले तिनीहरूको खुलासा गर्न मिल्दैन भन्ने सोचेँ। मैले त आफ्नो विवेकको विरुद्धमा गएर, तिनीहरूलाई ढाकछोप गर्नुपर्छ भन्ने बाध्यतासमेत महसुस गरेँ, र यदि मैले यसो गरिनँ भने, मानिसहरूले मलाई निर्दयी भन्नेछन् भनेर चिन्तित भएँ। मैले अन्ततः के बुझेँ भने, “रगत पानीभन्दा गाढा हुन्छ” र “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” भन्ने भनाइहरू आचरणका सिद्धान्तहरू नै होइनन्, र यी शैतानी विषहरूमा आधारित भएर चल्दा म स्नेहमा डुब्न अनि सही र गलत खुट्याउन असमर्थ हुन मात्र पुग्छु।
सन् २०२३ को जुलाईमा, मैले मेरी सासूबाट एउटा पत्र पाएँ, जसमा मेरी श्रीमतीले अदालतमा सम्बन्धविच्छेदको लागि मुद्दा हाल्न चाहेको कुरा लेखिएको थियो। म वास्तवमै हाम्रो वैवाहिक सम्बन्धलाई जोगाउन घर जान चाहन्थेँ, तर आफ्नो स्थितिसँग विशेष रूपमा सम्बन्धित परमेश्वरका केही वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने मेरी श्रीमती र म फरक किसिमका हौँ र एउटै बाटोमा छैनौँ। यदि हामी सँगै बस्यौँ भने, त्यसको एउटै परिणाम अनन्त दुःख हुनेछ। अझ, मैले विगत केही वर्षदेखि घरबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरको मार्गदर्शन र आशिष् अनुभव गरेको छु। मैले के थाहा पाएँ भने सत्यता पछ्याउनु नै जीवनको सही मार्ग हो। त्यसैले, मैले घर फर्कने विचार त्याग्ने निर्णय गरेँ। मलाई मेरो स्नेह त्याग्न मार्गदर्शन गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद!