७१. सजिलो बाटो अपनाउँदा कर्तव्यहरू बिग्रन्छन्
सन् २०२३ को अगस्टमा, मैले हाम्रो लेखन-पठनको कर्तव्यमा लिन मुसँग सहकार्य गर्न थालेँ। लिन मुले यो कर्तव्य लामो समयदेखि निर्वाह गर्दै आएकी थिइन्, उनको क्षमता राम्रो थियो, र उनी सिद्धान्तहरूमा पोख्त थिइन्। म यो भूमिकामा नयाँ भएकीले र सिद्धान्तहरू अनि पेसागत सीपहरूसँग अपरिचित भएकीले, मैले सिद्धान्तहरू छिट्टै बुझ्न र आफ्नो भागको जिम्मेवारी सम्हाल्न मुबाट धेरै सिक्नुपर्छ भन्ने सोचेँ। सुरुमा, मैले पेसागत सीपहरू र सिद्धान्तहरू सिक्न मेहनत गरेँ। मैले तयार पारेका सामग्रीहरूमा कमी हुँदा, म तिनको सुधारमा मद्दत गर्न लिन मुलाई भन्थेँ। मलाई केही जटिल लागेका विषयहरू उनले तुरुन्तै पूरा गरिदिने र थपथाप गरिदिने गर्थिन्। मलाई अलिकति ईर्ष्या लाग्यो, तर भविष्यमा मैले कठिनाइहरूको सामना गरेँ भने, उनले तिनको समाधानमा मद्दत गर्न सक्छिन् भन्ने सोचेर केही हदसम्म ढुक्क पनि भएँ। यसो हुँदा, मैले सामग्री वा सिद्धान्तहरू खोज्नमा समय खर्चिनु पर्दैनथ्यो—यसले समय र मेहनत दुवै बचाउँथ्यो, र मेरा लागि कामकुराहरू सजिला हुन्थे। बिस्तारै, जब म धेरै समय र होसियारपूर्ण सोचाइ चाहिने कठिन समस्याहरूको सामना गर्थेँ, म तिनको समाधानका लागि लिन मुतिर फर्कन्थेँ। यही नै समस्याहरू समाधान गर्ने मेरो उपाय बन्यो। लिन मुले मलाई धेरै पटक यो कुरा औँल्याइदिँदै, उनले हरेक पटक मैले तयार पारेका सामग्रीहरूको समीक्षा गर्दा, कतिपय विषयहरू स्पष्ट रूपमा नबताइएका कारण उनलाई धेरै समय लाग्ने, र मैले आफ्नो लेखनमा अझ धेरै सोच्नुपर्ने बताइन्। मैले केही दोषी महसुस गरेँ, तर फेरि सोचेँ, “लिन मुको क्षमता मेरोभन्दा राम्रो छ र उनी सिद्धान्तहरू पनि राम्ररी बुझ्छिन्। उनी यी समस्याहरू छिट्टै समाधान गर्न सक्छिन्। सक्षमलाई बढी काम गर्न दिनुपर्छ।” त्यसैले मैले आत्मचिन्तन गरिनँ।
एक दिन, लिन मु व्यस्त थिइन् र मैले लेखेको कामसम्बन्धी सन्देश पत्र समीक्षा गर्ने समय उनीसँग थिएन। उनले मलाई आफैँ होसियारीपूर्वक जाँच गर्न भनिन्। मैले आफूले दुई ठाउँमा कुराहरू स्पष्ट रूपमा व्याख्या नगरेको देखेँ। लेख्दाखेरि नै मैले यो कुरा महसुस गरेकी थिएँ भन्ने मलाई याद आयो, तर केही बेर गहिरिएर सोच्दा पनि उपयुक्त विचार नआएपछि, मैले त्यसलाई पछि लिन मुले नै मिलाएर सुधार्छिन् भनेर छोडिदिएँ। अहिले यसबारे सोच्दा, यदि लिन मुसँग समीक्षा गर्ने समय नभएको भए, र समस्याग्रस्त पत्र सीधै पठाइदिएको भए के हुन्थ्यो? के त्यो ब्रदर-सिस्टरहरूका निम्ति अनुपयोगी हुने थिएन र? गम्भीर अवस्थामा, यसले अवरोध र बाधा समेत निम्त्याउन सक्थ्यो। म अलिकति डराएँ र आफैँलाई भनेँ, “भविष्यमा मैले स्पष्ट बुझ्न नसक्ने कुनै कुराको सामना गरेँ भने, मैले लिन मुसँग छलफल गर्नुपर्छ र कुरा बुझेपछि मात्र अगाडि बढ्नुपर्छ। म सजिलो बाटो लिएर समस्याहरू अरूको लागि छोड्न हुँदैन।” त्यसपछि, म किन सधैँ समस्याहरू अरूमाथि पन्छाउन चाहन्छु भनेर चिन्तन गर्न थालेँ। त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले साँच्चै मेरो स्थितिलाई सम्बोधन गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्नु र गाह्रो कामदेखि भाग्नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम वहन गर्न नसक्ने भन्दै बहाना बनाउँछ—जबकि वास्तवमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। तिनीहरूले जे काम गरे पनि वा जे-जस्तो कर्तव्य निर्वाह गरे पनि कष्ट भोग्न चाहँदैनन्। … मण्डलीको काम वा तिनीहरूको कर्तव्यमा जति व्यस्तता भए नि, तिनीहरूको जीवनको दैनिकी र सामान्य अवस्थामा कहिल्यै बाधा हुँदैन। तिनीहरू दैहिक जीवनका सानातिना कुरामा समेत कहिल्यै लापरवाही गर्दैनन् र अत्यन्तै कट्टर र गम्भीर हुँदै ती कुरालाई पूर्ण रूपमा नियन्त्रणमा राख्छन्। तर परमेश्वरको घरको काम सम्हाल्दा, मामला जति ठूलो भए पनि र यो कुरा विश्वासी दाजुभाइ-दिदीबहिनीको सुरक्षासँग सम्बन्धित नै भए पनि, तिनीहरूले त्यसमा लापरवाही गर्छन्। तिनीहरू परमेश्वरको आज्ञासँग सम्बन्धित कुराहरू वा आफूले गर्ने कर्तव्यलाई वास्ता गर्दैनन्। तिनीहरू कुनै जिम्मेवारी लिँदैनन्। यो देहसुखमा लिप्त हुनु हो, होइन र? के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्नेबारे बोल्नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा समस्यै समस्या हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। परमेश्वरका वचनले खुलासा गरेको कुरा ठ्याक्कै मेरै स्थिति थियो। कर्तव्यहरू पूरा गर्दा, म सजिला र सुविधाजनक कामहरू गर्न रुचाउँथेँ, र म सधैँ बढी मेहनत लाग्ने समस्याहरू अरूले सम्हालुन् भनेर छोडिदिन्थेँ। यो दैहिक आराम चाहना गर्नुको एउटा प्रकटीकरण थियो। पत्र लेख्दा, म जवाफ दिनका लागि सरल विषयहरू छनोट गर्न रुचाउँथेँ, र कुनै विषय बढी जटिल हुँदा भने, म त्यसलाई झन्झटिलो मान्थेँ र जवाफ दिन चाहन्नथेँ। यदि मैले त्यस्तो विषयमा जवाफ दिएँ भने पनि, मैले समस्यालाई कसरी स्पष्ट रूपमा सङ्गति गर्ने भन्नेबारे सोच्न मेहनत गर्दिनथेँ। म सधैँ आफूले कठिन कुराहरू स्पष्ट रूपमा सञ्चारित गर्न नसक्ने बहाना बनाउँदै, ती विषयहरू लिन मुले सम्हालुन् भनेर छोडिदिन्थेँ। तर वास्तविकतामा भने, म आफ्नो कर्तव्यमा धेरै मेहनत गर्न वा धेरै कठिनाइ भोग्न चाहन्नथें, र म देहको सुख-सुविधाको लालसा गरिरहेकी थिएँ। आफ्नो स्थितिबारे केही ज्ञान पाएपछि, मैले परमेश्वरलाई प्रार्थना गर्दै, आफैँ विरुद्ध विद्रोह गर्ने र उहाँसामु पश्चात्ताप गर्ने आफ्नो इच्छा व्यक्त गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेटेँ जसले मेरो हृदयलाई गहिरोसँग छेड्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निर्वाह गरे पनि, तिनीहरू त्यसमा अक्षम हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अक्षम, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र कामचोर हुन्छ, र आफ्नो जिम्मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने, तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्वरले तिनीहरूलाई मानव बन्ने मौका दिनुभयो, र उहाँले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण होस्, अथवा कठिन वा सरल होस्, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि कामचोर हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्नो जिम्मेवारी अरू मानिसहरूको काँधमा थोपर्न चाहन्छन्, कुनै जिम्मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, जीविकोपार्जनका लागि कसले पो आफ्नै भर पर्नु पर्दैन र? व्यक्ति वयस्क भएपछि, उसले आफ्नो ज्यान आफै पाल्नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई त्यो कुरामा अप्ठ्यारो लाग्छ। तिनीहरूले आफ्ना आमाबुबाले आफूलाई हुर्काउने आफ्नो मिसन पूरा गरेका छन् र आफू सक्षम वयस्क हुँ, र आफू आत्मनिर्भर भई बाँच्न सक्नुपर्छ भन्ने कुरा बुझ्न सक्नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्ना आमाबुबासँग हात पसारिरहनु नपर्ने हो; उसलाई अरू हाँस्लान्, र आफ्नो इज्जत जाला भन्ने डर हुनेछ। त्यसोभए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीन पटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस् भन्ने चाहना गर्छन्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा सत्यनिष्ठा र मर्यादा हुन्छ त? कदापि हुँदैन। तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्वरको घरमा रहन लायक हुँदैनन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरले आफ्नो कर्तव्यमा गैरजिम्मेवार, चिप्ले र अल्छी बन्नेहरूमा निष्ठा वा गरिमा हुँदैन भन्ने तथ्य खुलासा गर्नुहुन्छ। त्यस्ता मानिसहरू परमेश्वरको घरका परजीवी र ठाउँ ओगट्नेहरू मात्र हुन्। तिनीहरूले कुनै योगदान दिँदैनन् र परमेश्वरले हटाउने किसिमका मानिसहरू हुन्। परमेश्वरका वचनहरूमा मनन गर्दा, म केही दुःखी भएँ। कठिनाइहरूको सामना गर्दा, म तिनीहरूबारे गहिरोसँग सोच्ने प्रयास गर्न चाहन्नथेँ र सधैँ लिन मुमा निर्भर रहन्थेँ, र समस्याहरूको जवाफ दिँदा, मेरा कतिपय व्याख्याहरू स्पष्ट छैनन् भन्ने थाहा भए तापनि, म तिनीहरूबारे गहिरोसँग विचार गर्न समय लिन्नथेँ, बरु, म तिनीहरूलाई लिन मुले सुधार्छिन् भनेर छोडिदिन्थेँ। उनले मलाई यी समस्याहरू औँल्याएपछि पनि, मैले आत्मचिन्तन गरिनँ। बरु, उनको क्षमता राम्रो छ र सक्षमले धेरै काम गर्नुपर्छ भन्ने सोचेर यसलाई सही ठहर्याउँदै, म उनमा निर्भर भइरहेँ। मैले आफू आफ्नो कर्तव्यमा चिप्ले र अल्छी भएकी, सधैँ विना परिश्रम केही पाउन चाहेकी महसुस गरेँ। म आफ्नो काम पूरा गर्न अरूमा भर परेकी थिएँ, र मैले कुनै पनि जिम्मेवारी काँधमा लिन सकेकी थिइनँ। यति धेरै वर्षसम्म परमेश्वरका वचनहरूको मलजल र आपूर्तिको आनन्द उठाएपछि पनि, म आफ्नो कर्तव्यमा झाराटारुवा र अल्छी भइरहेकी थिएँ, र मैले काँधमा लिनुपर्ने जिम्मेवारीहरू लिन सकेकी थिइनँ। के म पूर्ण रूपमा बेकामे र निष्ठा अनि गरिमाविहीन थिइनँ र? यो त बच्चालाई हुर्काएर वयस्क बनाउन कडा मेहनत गर्ने ती आमाबाबुजस्तै हो, तर जब बच्चा स्वतन्त्र हुनुपर्ने हुन्छ, तब ऊ विभिन्न कठिनाइहरूलाई बहाना बनाउँदै, आफूलाई पाल्नका लागि काम गर्न अनिच्छुक बन्छ, र आफ्ना आमाबाबुमा निर्भर भइरहन्छ। यसले ती आमाबाबुलाई कस्तो महसुस गराउँछ होला? लेखन-पठनको कर्तव्य सुम्पिएकाले, मैले यो अवसरलाई अनमोल ठान्दै, पेसागत सीपहरू र सिद्धान्तहरू सिक्न अझ धेरै मेहनत गर्नुपर्थ्यो, र मैले नबुझेका कुराहरूमा लिन मुबाट मार्गदर्शन खोज्नुपर्थ्यो ताकि मैले सिद्धान्तहरू छिट्टै बुझ्न र आफ्नो भागको जिम्मेवारी सम्हाल्न सकूँ। तर मैले सधैँ मानसिक प्रयास गर्न अस्वीकार गर्दै, बरु अरूमा निर्भर रहने कुरा रोजेँ। आफ्नो कर्तव्यप्रतिको मेरो यो मनोवृत्ति परमेश्वरका लागि घिनलाग्दो र घृणित थियो, र यदि मैले आफ्नो तरिका परिवर्तन नगरेकी भए, म पूर्ण रूपमा बेकामे हुने थिएँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कष्ट भोग्ने पटक्कै इच्छा गर्दैनन्, समस्यामा पर्नेबित्तिकै गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो झाराटारुवा मनोवृत्ति हो। यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अपमानजनक मनोवृत्तिले हेर्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तैँले परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यसरी सहकार्य गर्न सकेको भए, परमेश्वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुभएको हुन्थ्यो, ताकि तैँले मामिलाहरू सम्हाल्दै गर्दा ती सबै उचित ठाउँमा पर्नेथ्यो, र राम्रो नतिजा प्राप्त हुनेथ्यो। तैँले त्यति भयङ्कर ऊर्जा लगाउनु पर्दैन; जब तैँले सहकार्य गर्न आफूले सक्दो प्रयास गर्थिस्, परमेश्वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्नुभएको हुनेथ्यो। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्वरले तँमाथि कार्य गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्वरले यसो भन्नुहुनेछ, ‘तेरो कामै छैन; म तँलाई प्रयोग गर्न सक्दिनँ। जा, पाखा लाग्। तँलाई चलाक हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त? ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!’ परमेश्वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हार।) यो ठूलो हानि हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले के बुझेँ भने जब हामी आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गर्छौं, तब हामी आफ्नो तनमन कर्तव्यमा लगाउँछौँ, मूल्य चुकाउन तयार हुन्छौँ, र सत्यता खोज्छौँ भने, परमेश्वरले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ। हामीले यो तरिका जति धेरै लागू गर्छौँ, अगाडिको बाटो त्यति नै स्पष्ट हुँदै जान्छ, र हाम्रा विचारहरू अझ स्पष्ट हुन्छन्। तर, यदि हामी कठिनाइमा पर्दा पनि सत्यताका सिद्धान्तहरू खोज्ने प्रयास गर्दैनौँ, र बरु सधैँ अल्छे बन्छौँ भने, अन्त्यमा, हामीले केही पनि प्राप्त गर्ने छैनौँ र हामी कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सक्ने छैनौँ, र परिणामततः, हामी अल्छे भएका कारणले प्रकटित भएर हटाइनेछौँ, र आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर गुमाउनेछौँ। फर्केर सोच्दा, मैले पहिलो पटक यो कर्तव्य सुरु गर्दा, म धेरै सोचविचार गर्थेँ र मेहनत लगाउँथेँ, तर पछि, जब मैले लिन मुले कतिपय सिद्धान्तहरूमा प्रवीणता हासिल गरेकी र उनको काम बढी प्रभावकारी रहेको देखेँ, तब मैले कठिन कामहरू उनलाई छोड्न थालेँ, ताकि आफूलाई सजिलो होस्। वास्तवमा, सजिलो बाटोले मलाई कष्ट र थकानबाट बचाएको भए तापनि, मैले पेसागत सीपहरू र सिद्धान्तहरू बुझ्नमा कुनै प्रगति गरेकी थिइनँ, र म अरूको लागि बोझसमेत बनेकी थिएँ। यदि म यसरी नै अघि बढेकी भए, म परमेश्वरद्वारा घृणित भई हटाइने थिएँ। यसले मलाई प्रभु येशूका वचनहरू याद दिलायो: “जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ” (मत्ती १३:१२)। परमेश्वर धर्मी हुनुहुन्छ। यदि कुनै व्यक्ति आफ्नो कर्तव्यमा मेहनत गर्न, सत्यता खोज्न र मूल्य चुकाउन तत्पर रहन्छ भने, उसले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछ। उसले जति धेरै त्यसो गर्छ, उसको बाटो त्यति नै प्रस्ट हुँदै जानेछ, र उसको मन त्यति नै स्पष्ट हुनेछ। तर म आफ्नो कर्तव्यमा चिप्ले र अल्छे थिएँ, मूल्य चुकाउन अनिच्छुक थिएँ, र अरूमा भर पर्नु समय-किफायती र सहज हुन्छ, जसले गर्दा मैले धेरै मेहनतविना कामहरू पूरा गर्न सक्छु भन्ने विश्वास गर्दै म सधैँ काम अरूमाथि पन्छाउँथेँ। म यसो गर्दा आफूलाई चलाख ठान्थेँ, तर अन्त्यमा, मैले कुनै सत्यता प्राप्त गरिनँ र कुनै पनि समस्या समाधान गर्न सकिनँ। यो आत्म-धोका थियो, र मैले यसको लागि ठूलो हानि बेहोर्नुपर्यो। म कति मूर्ख रहेछु! यो सबै बुझेपछि मलाई डर लाग्यो, र म परमेश्वरसामु पश्चात्ताप गर्न र इमानदार हृदयले लगनशीलताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न तयार भएँ।
त्यसपछि मैले परमेश्वरका यी वचनहरू पढेँ: “मानिलिऊँ, मण्डलीले तेरो लागि एउटा कार्यको प्रबन्ध गर्छ, र तँ यसो भन्छस्, ‘यो कार्यले मलाई अरूको ध्यान आकर्षित गर्न दिए पनि वा नदिए पनि, यो कार्य मलाई दिइएको हुनाले, म यसलाई राम्ररी गर्नेछु र यो जिम्मेवारी वहन गर्नेछु। यदि मलाई अतिथिसत्कारको कार्य प्रबन्ध गरियो भने, म त्यो राम्ररी गर्न सकेजति सबै गर्नेछु; म दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नेछु र सबैको सुरक्षा सुनिश्चित गर्नका लागि सक्दो गर्नेछु। यदि मलाई सुसमाचार प्रचार गर्ने कामको प्रबन्ध गरियो भने, म सत्यताले आफूलाई सुसज्जित पारेर प्रेमका साथ सुसमाचार राम्ररी प्रचार गर्दै आफ्नो कर्तव्य पूरा गर्नेछु। यदि मलाई विदेशी भाषा सिक्ने कामको प्रबन्ध गरियो भने, म पूरै हृदय लगाएर त्यो अध्ययन गर्नेछु र मेहनत गर्नेछु, र जतिसक्दो चाँडो, एकदुई वर्षभित्रै यसमा निपुण हुन खोज्नेछु, ताकि मैले विदेशीहरूलाई परमेश्वरको गवाही दिन सकूँ। यदि मलाई गवाही लेखहरू लेख्न लगाइयो भने, म यसो गर्न निष्ठापूर्वक आफूलाई प्रशिक्षित गर्नेछु, कामकुराहरूलाई सत्यता सिद्धान्तअनुसार हेर्नेछु, र म भाषाबारे सिक्नेछु। मैले सुन्दर गद्य शैलीमा लेख लेख्न नसके पनि कम्तीमा प्रस्ट रूपमा आफ्नो अनुभवात्मक गवाही सुनाउन, सत्यताबारे विस्तृत रूपमा सङ्गति गर्न, र परमेश्वरका लागि साँचो गवाही दिन सक्षम हुनेछु, ताकि मानिसहरू मेरा लेखहरू पढेर सच्चिन र लाभ उठाउन सकून्। मण्डलीले मलाई जुन काम दिए पनि म आफ्नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा कुनै समस्या आइपर्यो भने, म परमेश्वरलाई प्रार्थना गर्नेछु, सत्यताको खोजी गर्नेछु, सत्यता सिद्धान्तहरूअनुसार समस्याहरूलाई हल गर्नेछु, र कार्य राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न आफूसँग भएको सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले वहन गर्नुपर्ने जिम्मेवारी वहन गर्न सक्दो गर्नेछु, र कम्तीमा पनि, म आफ्नो विवेक र समझविरुद्ध जानेछैनँ, वा झारा टार्नेछैनँ, वा कामचोर र छट्टु बन्नेछैनँ, वा अरूको मेहनतको फलमा लिप्त हुनेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मानकभन्दा मुनि हुनेछैन।’ यो त आत्म-आचरणको न्यूनतम मानक हो, र यसरी आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति विवेक र समझ भएको व्यक्ति कहलिन सक्छ। आफ्नो कर्तव्य पूरा गर्नमा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनैपर्छ, र कम्तीमा पनि आफ्नो तीन छाक खानाको लायक हुनुपर्छ र ती सित्तैँमा खानु हुँदैन। यसलाई जिम्मेवारीको बोध हुनु भनिन्छ। तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्नेबारे ग्यारेन्टी दिन नसके पनि, मेरो मनोवृत्ति भनेको यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने हो, र म यसबारे अवश्य नै झाराटारुवा हुनेछैनँ। यदि काममा कुनै समस्या उत्पन्न भयो भने, मैले जिम्मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्चित गरेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वरका वचनहरूबाट, मैले बुझेँ हामीले आफ्नो कर्तव्यमा जस्तोसुकै कठिनाइ वा समस्याहरूको सामना गरे तापनि, इमानदारीसाथ प्रार्थना गर्ने, परमेश्वरमा भर पर्ने, र सिद्धान्तहरू खोज्ने गर्नुपर्छ। हामीले गर्न सक्ने र गर्नुपर्ने सबै कामहरू, आफ्नो सम्पूर्ण शक्ति लगाएर प्रभावकारी रूपमा पूरा गर्नुपर्छ। हामी झाराटारूवा, चिप्ले वा अल्छे हुनु हुँदैन। आफ्नो कर्तव्यप्रति यस्तो मनोवृत्ति राख्दा परमेश्वर सन्तुष्ट हुनुहुनेछ। आत्मचिन्तन गर्दा, मैले के बुझेँ भने आफ्नो कर्तव्यमा कठिनाइ वा समस्याहरूको सामना गर्दा, परमेश्वरमा भर पर्नु र सत्यता सिद्धान्तहरू खोज्नुको सट्टा, म प्रायः लिन मुमा निर्भर रहन्थेँ, र उनको परिश्रमको फलको आनन्द लिन्थेँ। मैले आफूले गर्नुपर्ने न्यूनतम कामसमेत गरेकी थिइनँ, आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउनु त परको कुरा भयो। यो त परमेश्वरका घरमा सित्तैमा बसेर खाए बराबर थियो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गर्दै पश्चात्ताप गरेँ, र सिद्धान्तहरू अझ धेरै खोज्ने इच्छा व्यक्त गरेँ, र मैले नबुझेका कठिनाइ वा कुराहरूमा मनन गर्न धेरै मेहनत लगाउने, र आफूले साँच्चै समाधान गर्न नसकेमा मात्र लिन मुसँग मद्दत माग्ने निर्णय गरेँ। त्यसपछिको काममा, मैले बारम्बार आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति जाँचेँ। कठिन कामहरूको सामना गर्दा र भाग्न चाहँदा, मैले सचेत हुँदै आफैविरुद्ध विद्रोह गरेँ, आफ्नो हृदयलाई शान्त पारेँ, परमेश्वरलाई प्रार्थना गरेँ, र लगनशीलताका साथ तीमाथि मनन गरेँ। मैले अब ती कामहरू अरूतिर मात्रै पन्छाउनेबारे सोच्न छोडिदिएँ। एक पटक, लिन मु र मैले धेरै समस्याहरू भएको एउटा कागजातको समीक्षा गर्यौँ। हामीले सम्बन्धित सिद्धान्तहरू हेर्नुपर्ने, सबै कुरा पूर्णरूपमा विचार गर्नुपर्ने, र सबै समस्याहरूलाई चिन्ह लगाउनुपर्ने थियो। मैले लिन मुले नै यसलाई सम्हालुन् भन्ने चाहेँ। तर अचम्मको कुरा, उनले त मलाई नै पो यो काम गर्न सुझाइन्। सोच्दै नसोची, मैले जवाफ दिएँ, “तपाईं मैले नै यो काम गरूँ भन्ने चाहनुहुन्छ?” यसो भन्ने बित्तिकै, मैले आफू फेरि अल्छे बन्न खोजिरहेकी महसुस गरेँ। मैले तुरुन्तै आफै विरुद्ध विद्रोह गर्न परमेश्वरलाई प्रार्थना गरेँ, र यो काम अरूमाथि पन्छाउनुको सट्टा, पूर्ण हृदयले सहकार्य गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्ने इच्छा व्यक्त गरेँ। त्यसैले, म यो काम गर्न सहमत भएँ। यो काम गर्दै गर्दा, मैले परमेश्वरलाई प्रार्थना गर्दै उहाँमा भर परेँ, र सिद्धान्तहरू मनन गर्नमा ध्यान केन्द्रित गरेँ। बढी समय लागे तापनि, मैले अगाडि बढ्ने बाटो भेट्टाएँ। आफ्नो कर्तव्य निर्वाहमा आफ्नो सम्पूर्ण शक्ति लगाएर जिम्मेवारी पूरा गरेपछि, मैले ढुक्क महसुस गरेँ।
यस अनुभवमार्फत, मैले मलाई लिन मुसँग काम गर्ने प्रबन्ध मिलाउनुमा परमेश्वरको असल अभिप्राय थियो भन्ने महसुस गरेँ। अर्थात्, उनको क्षमता मेरोभन्दा राम्रो थियो र उनले केही सिद्धान्तहरू बुझेकी थिइन्, र मैले आफूले नबुझ्ने कुनै कुरा भेट्दा, म उनलाई सोधेर सिक्न सक्थेँ, यस अर्थमा, उनले मलाई सिद्धान्तहरू अझ राम्ररी बुझ्न मद्दत गर्न सक्थिन्, जसले मेरा कमजोरीहरूको पूर्ति गरिदिन्थ्यो। यदि मैले सधैँ देहको सुख-सुविधा खोजिरहेँ र सबै समस्याहरू उनलाई नै पन्छाइरहेँ भने, मैले केही पनि सिक्ने थिइनँ वा कुनै प्रगति गर्ने थिइनँ। अब, समस्याहरूको सामना गर्दा, म तुरुन्तै ती समस्याहरू लिन मुतिर पन्छाउँदिनँ। बरु, म हृदयबाटै नै ती काम सुरु गर्छु, सत्यता सिद्धान्तहरू खोज्नमा ध्यान केन्द्रित गर्छु, र साँच्चै समाधान गर्न नसकेमा मात्र उनीसँग छलफल गर्छु। यसरी आफ्नो कर्तव्य पूरा गर्दा मेरो मनलाई धेरै शान्ति मिल्छ।