६१. के धनसम्पत्तिको पछि लाग्दा खुसी पाइन्छ?
सानो छँदा, मेरो बुबा सहरको एउटा सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो र मेरी आमाले सिलाई पसल चलाउनुहुन्थ्यो। हाम्रो क्षेत्रमा हाम्रो परिवारको आर्थिक अवस्था निकै राम्रो थियो। म नातेदार वा सहपाठीको घरमा जाँदा, उनीहरू सबैले मलाई ईर्ष्याको नजरले हेर्थे, अनि चिनियाँ नयाँ वर्ष र चाडपर्वहरू मनाउन सबै नातेदारहरू हाम्रो घरमा आउने गर्थे। मैले मेरो परिवारका सदस्यहरूले यसो भनेर गफगाफ गरिरहेको सुन्थेँ, “आजभोलि, मानिसहरू एकदमै धनमुखी भएका छन्। हाम्रो अवस्था ठिकै छ भनेर मात्र उनीहरू हाम्रो घरमा आएका हुन्। यदि हामी खानै नपाउने गरिब भएको भए, कोही पनि आउने थिएनन्। एउटा भनाइ छ नि, ‘मानिसले धन हुनेको आदर गर्छन् तर गरिबलाई त कुकुरले पनि टोक्छ,’ अनि ‘गरिबहरूलाई ठूलो सहरमा पनि कसैले वास्ता गर्नेछैनन्, तर धनीलाई त पहाडको कुनाकुनामा पनि टाढाका नातेदार भेट्न आउँछन्’।” म पनि यो विचारसँग एकदमै सहमत थिएँ, र धनसम्पत्ति भयो भने मात्र अरूले प्रशंसा र सम्मान गर्छन् भन्ने मलाई लाग्थ्यो।
विवाहपछि, मेरो परिवारको आर्थिक अवस्था सामान्य थियो, जबकि मेरी जेठी आमाजूको परिवारले व्यापार गर्थे, र उनीहरूको जीवनस्तर हाम्रोभन्दा निकै राम्रो थियो। मेरी सासू आमा प्रायः यसो भन्नुहुन्थ्यो, “हेर् त, तेरी जेठी आमाजू र भिनाजु कति सक्षम छन्! उनीहरूले प्रशस्त पैसा कमाइरहेका छन्। तर तिमीहरू दुई जनालाई हेर्, वर्षभरिमा अलिकति पैसा पनि घर ल्याउँदैनौ।” एकपटक, सासू आमाले ससुरा बुबासँग कुरा गर्दै भन्नुभयो, “हाम्रो गाउँको बूढो लीको छोरालाई हेर्नुस् त—उसले बाहिर गएर केही वर्षमै धेरै पैसा कमायो। फर्केर आएपछि उसले आफ्नो बुबाको घरको मर्मतसम्भार गर्यो र ठूलो एलसीडी टिभी किन्यो। उनीहरूले लगाउने र प्रयोग गर्ने सबै सामान नयाँ छन्। अब हाम्रो छोरालाई हेर्नुस्। उसको बच्चाको लागि पनि हामीले नै पैसा तिरिदिनुपरेको छ! यी दुई जना घरमा हुँदा, एक बोरा गहुँको पिठो केही छाक खान नपाउँदै सकिन्छ। तपाईंले भोलि नै गएर मकै पिसाउनुपर्छ। सधैँ गहुँको पिठो मात्र खाँदा धेरै खर्च हुन्छ।” यो सुन्दा मलाई एकदमै दुःख लाग्यो। जति नै दुःख वा कष्ट भोग्नुपरे पनि मैले धेरै पैसा कमाउनै पर्छ भनेर मैले मनमनै कसम खाएँ। मसँग पैसा भयो भने मात्र मेरो प्रशंसा हुनेछ, र पैसाले नै यस परिवारमा मेरो हैसियत निर्धारण गर्नेछ। मसँग पैसा भएपछि, मेरी सासू आमाले मलाई हेप्न छोड्नुहुनेछ; बरु उहाँले मलाई सम्मान गर्नुहुनेछ।
सन् २०११ मा, मेरो श्रीमान् र मैले एउटा नास्ता पसल खोल्यौँ। सुरुमा म अरू मानिसलाई काममा राख्न हिचकिचाउँथेँ, त्यसैले म राति ११ बजे उठ्थेँ र काम गर्थेँ अनि नास्ता खाने समय हुनुअघि नै खानेकुरा तयार पार्ने कोसिस गर्थेँ। नास्ता खाने समय दुई घण्टाको मात्र हुन्थ्यो, र यदि पर्याप्त तयारी गरिएन भने, खानेकुरा सकिहाल्थ्यो। त्यतिबेला व्यापार राम्रै थियो, र मैले वर्षमा दसौँ हजार युआन बचत गर्न सक्थेँ। वर्षौंदेखि निहुरेर काम गरेको हुनाले, मेरो गर्धनको पछाडिको भाग दुख्न थाल्यो। जब दुखाइ बढ्थ्यो, तब म मुट्ठीले त्यो ठाउँमा बिस्तारै हल्का पिट्थेँ, जसले गर्दा अलिकति सन्चो भएको महसुस हुन्थ्यो, त्यसैले मैले यसलाई गम्भीर रूपमा लिइनँ। तेस्रो वर्षमा, एक दिन, मलाई रिँगटा लाग्ने, रन्थनाउने र वाकवाकी लाग्ने भयो। मेरो श्रीमानले मलाई जचाउन अस्पताल लैजानुभयो। डाक्टरले मलाई रिँगटा लाग्ने र वाकवाकी लाग्ने समस्या सर्भिकल स्पनडाइलोसिसको कारणले भएको हो, र अब उप्रान्त मैले लामो समयसम्म टाउको झुकाउन नहुने बताउनुभयो। यदि समस्या अझै गम्भीर भयो भने, मैले केही पनि काम गर्न सक्नेथिइनँ। मसँग अर्को एक जना मानिसलाई काममा राख्नेबाहेक अरू कुनै विकल्प थिएन। पछि, धेरै पैसा कमाउनका लागि, मैले नास्ताका केही परिकारहरू थपेँ, र परिकारहरूको सङ्ख्या बढेपछि म झनै व्यस्त भएँ। म हरेक रात बेलुका ७ बजेतिर सुत्थेँ र काम गर्न राति ११ बजे लगत्तै उठ्थेँ, त्यसैले म दिनमा करिब चार घण्टा मात्र सुत्थेँ। म नास्ता बेच्नमा व्यस्त हुन्थेँ, तर मसँग आफैले खाने समय हुँदैनथ्यो, र मैले नास्ता बेचिसक्दा, दिउँसोको खाना खाने समय भइसक्थ्यो। हरेक दिन, म यति व्यस्त हुन्थेँ कि, मैले दिउँसो ३ बजेपछि मात्र खाना खान पाउँथेँ, र खाना खाइसक्ने बित्तिकै, मैले अर्को दिनका लागि सामानहरू तयार पार्नुपर्थ्यो। हरेक दिनको कामपछि, मेरा खुट्टा, कम्मर र ढाड सबै दुख्थे। मेरा खुट्टाहरू बरफमा उभिएजस्तै हुन्थे—ती यति चिसो हुन्थे कि तिनमा केही पनि महसुस हुँदैनथ्यो। तैपनि, पैसा कमाउनका लागि म दाँत किटेर सहन्थेँ र डटेर लाग्थेँ। एउटा भनाइ छ नि, “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ।” धेरै वर्षको कडा परिश्रमपछि, हामीले लाखौँ युआन कमायौँ, अनि एउटा घर र गाडी किन्यौँ। हाम्रा सासू-ससुराले हामी धनी भएको देख्नुभयो, र हामीलाई सधैँ मुस्कुराएर स्वागत गर्न थाल्नुभयो; हाम्रा आफन्त र साथीभाइले पनि हामीलाई न्यानो स्वागत गर्थे। हरेक पटक सासू-ससुराको घरमा जाँदा, म सबैको आकर्षणको केन्द्र बन्दाको त्यो अनुभूतिमा रमाउँथेँ। यसले मलाई के देखायो भने तपाईंको आर्थिक अवस्थाले नै साँच्चै तपाईंको हैसियत निर्धारण गर्छ; मानिसहरूसँग पैसा हुँदा उनीहरूलाई बढी इज्जत र प्रतिष्ठाका साथ व्यवहार गरिन्छ। तथापि, ती वर्षहरूमा बिहानदेखि बेलुकासम्म कडा मिहिनेत गरेको र लामो समयसम्म राति अबेरसम्म बस्ने गरेको कारणले, मेरो श्रीमान्लाई मुटुको रोग लाग्यो, र उहाँको स्टेन्ट राख्ने शल्यक्रिया गर्दा एक पटककै एक लाख साठी हजार युआन खर्च भयो। म पनि यति थकित थिएँ, जसले गर्दा मेरो गर्धन र ढाडको तल्लो भागको हड्डी हरेक दिन दुख्थ्यो, र जब म राति ओछ्यानमा पल्टिन्थेँ, तब मेरो शरीरमा नदुख्ने कुनै ठाउँ नै हुँदैनथ्यो। कहिलेकाहीँ जब मलाई सर्भिकल स्पनडाइलोसिसले च्याप्थ्यो, तब मलाई रिँगटा लाग्थ्यो, चल्न पनि डर लाग्थ्यो, र मेरो दिमाग नै रन्थनिन्थ्यो। यो त सबैभन्दा नराम्रो कुरा थिएन—सबैभन्दा नराम्रो कुरा त मलाई हुने पिठोको एलर्जी थियो। जब म पिठोको सम्पर्कमा आउँथेँ, तब मलाई लगातार हाच्छ्युँ आउथ्यो, र समस्या गम्भीर हुँदा, मलाई दम भएजस्तै हुन्थ्यो। मलाई असाध्यै गाह्रो महसुस हुन्थ्यो किनभने मलाई सास फेर्न निकै हम्मे-हम्मे पर्थ्यो। काम गर्दा हरेक पटक मैले पाँच-छ पत्र मास्क लगाउनुपर्थ्यो, र खासगरी गर्मीको मौसमको सबैभन्दा गर्मी दिनहरूमा, त्यस्तो बाक्लो मास्क लगाउँदा मेरो अनुहार पसिनाले निथ्रुक्क भिज्थ्यो। त्यो कति कष्टकर हुन्थ्यो भनेर म वर्णन पनि गर्न सक्दिनँ! तर मानिसहरूको नजरमा मर्यादित देखिनका लागि, मैले पर्दापछाडि कष्ट भोग्नैपर्थ्यो। त्यसैले जति नै गाह्रो भए पनि वा जति नै दुःख पाए पनि म डटेर लागेँ। सन् २०१८ को अन्त्यतिर, मैले नास्ता पसल चलाएको आठ वर्ष भइसकेको थियो। जब हरेक हाउजिङ क्षेत्रमा नास्ता पसलहरू खुल्न थाले, तब बिहानी बजारमा रहेको हाम्रो नास्ता पसल पहिलेको जस्तो लोकप्रिय रहेन, र व्यापार हरेक वर्ष खस्कँदै गयो। मैले के देखेँ भने, अब यसरी चल्दैन। मैले घर र गाडी किन्न ऋण लिएकी थिएँ, र यसरी मैले हरेक वर्ष धेरै बचत गर्न सकिरहेकी थिइनँ। धेरै पैसा बचत गर्नका लागि, मैले अर्को पसल खोलेँ। मेरो श्रीमान् पुरानो पसलमा काम गर्नुहुन्थ्यो, र म नयाँ पसलमा काम गर्थेँ। हरेक दिनको अन्त्यमा हामी लखतरान र निद्राले लठ्ठ हुन्थ्यौँ, र कहिलेकाहीँ मलाई यति धेरै निद्रा लाग्थ्यो, जसले गर्दा म टेबलमा टाउको राखेर झसक्क निदाउनुपर्थ्यो। मेरो श्रीमान्लाई मुटुको रोग भएको र स्टेन्ट राख्ने शल्यक्रिया गरिएको हुनाले, उहाँ लामो समयसम्म पसलमा बस्न सक्नुहुन्नथ्यो, तर त्यसो हुँदा पनि, हामीले पैसा कमाउने विचार त्यागेनौँ, र बिरामी हुँदा पनि काममा डटिरह्यौँ। त्यतिबेला, म नरोकिई फनफनी घुम्ने पङ्खाजस्तै भएकी थिएँ र राम्ररी खान वा सुत्न पनि पाउँदिनथेँ। कहिलेकाहीँ म सोच्थेँ, “जीवन केका लागि हो? पैसाको लागि म हरेक दिन हड्डी घोटिरहेकी छु। धनी हुँदा मानिसहरूले प्रशंसा त गर्लान्, तर अन्त्यमा मर्नु त छँदै छ। यसको के अर्थ छ र?” म भित्रभित्रै एकदमै निस्सहाय र रित्तो महसुस गर्थेँ, र प्रायः सोच्थेँ, “यस्तो जीवन कहिले टुङ्गिएला?” तर, बाहिर निस्कने अर्को कुनै बाटो नभएकोले, मैले त्यसरी नै जिउनुपरेको थियो।
पछि, चिनियाँ रेस्टुरेन्टहरूले राम्रो पैसा कमाउने कुरा मैले थाहा पाएँ, र त्यसैले मैले नास्ता पसलहरू अरूलाई जिम्मा लगाएँ र चिनियाँ रेस्टुरेन्ट खोल्ने तयारी गरेँ। मर्मतसम्भार चलिरहेको बेला, अप्रत्याशित रूपमा, भावनात्मक रूपमा उत्तेजित भएकोले मेरो श्रीमान्को बिमारी बल्झियो र उहाँलाई अस्पताल भर्ना गरियो। डाक्टरले उहाँको रोगको कारण उहाँ थकित हुनु हुँदैन, रिसाउनु हुँदै हुँदैन वा धेरै उत्तेजित हुनु हुँदैन बताउनुभयो। श्रीमान्को यस्तो अवस्था देख्दा, अस्पतालबाट डिस्चार्ज भएपछि पनि उहाँले व्यापार चलाउन सक्नुहुन्न भन्ने मलाई लाग्यो। मर्मतसम्भारको काम लगभग सकिएको त्यो रेस्टुरेन्ट अरू कसैलाई जिम्मा दिनुबाहेक मसँग अर्को कुनै विकल्प थिएन। त्यतिबेला मलाई दुई लाख युआनभन्दा बढी घाटा लाग्यो, र मेरा आफन्त र साथीभाइलाई मुख देखाउन पनि मलाई लाज लाग्यो; मलाई चिन्ने मानिसहरूले मलाई पक्कै पनि हेप्नेछन् र मेरो मजाक उडाउनेछन् जस्तो मलाई लाग्यो। सन् २०१९ मा, एउटा प्रोजेक्टमा लगानी गर्नका लागि मैले मेरा नातेदारहरूसँग केही लाख युआन सापटी लिएँ, तर अन्त्यमा, त्यस प्रोजेक्टको प्रमुख पक्राउ पर्यो। त्यतिबेला म छाँगाबाट खसेजस्तै भएँ: “अरूले लगानी गरेर लाखौँ कमाउँछन्। तर मैले गर्दा चाहिँ किन यस्तो भयो?” धनी बन्ने मेरो सपना त्यसरी नै चकनाचुर भयो, र मेरा आँसु पनि सुके। त्यसपछि म अरू कुनै व्यापार सुरु गर्ने तयारीमा बजार बुझ्न गएँ, तर हरेक कुराको लागि पुँजी चाहिन्थ्यो। मैले अरू कोसँग पैसा माग्ने? लगानी गर्नका लागि मैले मेरा सबै नातेदारहरूसँग पैसा सापटी लिइसकेकी थिएँ, र अब मसँग सापटी माग्ने कुनै ठाउँ थिएन। मैले गाडी कर्जा र घरको ऋणको किस्ता, अनि मेरो छोराको पढाइको खर्चबारे सोचेँ—अब मैले के गर्ने होला? मेरो श्रीमान् अस्पतालबाट डिस्चार्ज भएपछि, उहाँलाई अल्जाइमर रोग लागेजस्तै भयो र उहाँले मलाई केही पनि सहयोग गर्न सक्नुभएन; बरु उल्टै मैले नै उहाँको हेरचाह गर्नुपर्यो। ती दिनहरूमा, म यति धेरै चिन्तित थिएँ कि, म खान र सुत्न पनि सक्दिनथेँ, र मेरो हृदय पीडाले छटपटाइरहेको हुन्थ्यो। कहिलेकाहीँ त मलाई मरेर यो सबै सिध्याऊँ जस्तो लाग्थ्यो, तर फेरि मैले तिर्न बाँकी ऋणहरू, अझै पढाइ नसकेको मेरो छोरा, र बिरामी नै हुनुभएको मेरो श्रीमान्लाई सम्झन्थेँ। यदि म मरेँ भने, यो परिवार सकिँदैन र? के मेरो छोरा भताभुङ्ग हुनेछैन र? म मर्नु हुँदैनथ्यो! त्यतिबेला म साँच्चै न बाँच्न सक्थेँ, न त मर्न नै। जब मलाई राति निद्रा लाग्दैनथ्यो, तब म सुकसुकाएर रुन मात्र सक्थेँ। मैले ती वर्षहरूलाई फर्केर हेरेँ जब म विलासी जीवन जिउनका लागि पैसा कमाउन कडा मिहिनेत गर्थेँ र पैसाको दास बनेकी थिएँ। तर अन्त्यमा, मेरो रगत-पसिनाको कमाइ सबै गुम्यो, मेरो श्रीमान् रोगले थलिनुभयो, र हामी ठूलो ऋणमा डुब्यौँ। हाम्रो हातमा साँच्चै केही पनि बाँकी रहेन, यो त “डोकोमा पानी भरेजस्तै” भयो। यसरी जिउनुको के अर्थ थियो? मैले यो प्रश्नको उत्तर ठम्याउनै सकिनँ र कसैले मलाई उत्तर दिन सकेन। जब केही उपाय लागेन, तब मेरो श्रीमान् र मैले मेरी आमालाई भेटेर परमेश्वरमा विश्वास गर्न सुरु गर्ने सल्लाह गर्यौँ। वास्तवमा, हामीले नास्ता पसल चलाएको दोस्रो वर्षमै मेरी आमाले मलाई परमेश्वरको आखिरी दिनहरूको कामबारे गवाही दिनुभएको थियो; मेरो हृदयमा परमेश्वर हुनुहुन्छ भन्ने त लाग्थ्यो, तर त्यतिबेला व्यापार यति व्यस्त थियो कि मसँग खाने र सुत्ने त समय थिएन, झन् परमेश्वरमा विश्वास गर्ने त कुरै छोडौँ। त्यसैले, मैले परमेश्वरको सुसमाचारलाई अस्वीकार गरेकी थिएँ। तर यसपटक, केही समयको खोजीपछि, मेरो श्रीमान् र मैले सन् २०२० को अगस्टमा औपचारिक रूपमा सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्यौँ। त्यतिबेला मेरो परिवार कङ्गाल भए तापनि, म हरेक दिन परमेश्वरका वचनहरू पढ्थेँ, र मेरो हृदय आनन्द र शान्तिले भरिन्थ्यो।
एकदिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई गहिरो रूपमा छोयो। परमेश्वर भन्नुहुन्छ: “आखिरी दिनहरूको अवधिमा गरिने काम विजयको काम हो। यो पृथ्वीमा हुने सबै मानिसलाई आफ्नो सांसारिक जीवन जिउन मार्गनिर्देशन गर्नु होइन, बरु पृथ्वीमा मानवजातिको अविनाशी, हजारौँ वर्ष लामो कष्टको जीवनको समापन हो। … किनकि आखिरी दिनहरू सम्पूर्ण युगको समाप्ति हो। यो परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको समापन र समाप्ति हो, अनि मानवजातिको कष्टको जीवन यात्राको समाप्ति हो। यो सम्पूर्ण मानवजातिलाई अर्को युगमा लैजानु वा मानवजातिको जीवनलाई जारी रहने अनुमति दिनु होइन; मेरो व्यवस्थापनको योजना वा मानिसको अस्तित्वका निम्ति त्यसको कुनै महत्त्व हुनेथिएन। यदि मानवजाति यसरी नै अघि बढिरह्यो भने, ढिलो-चाँडो तिनीहरू दुष्ट दियाबलसद्वारा पूर्ण रूपमा निलिनेछन्, अनि ती आत्मा, जो मेरा हुन्, अन्ततः त्यसको हातद्वारा नाश गरिनेछन्। मेरो काम छ हजार वर्षसम्म मात्र रहन्छ, मैले सारा मानवजातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्ष नै रहनेछ भनेर प्रतिज्ञा गरेँ। त्यसैले, अब समय समाप्त भएको छ। म अब उप्रान्त न त जारी राख्न चाहन्छु न त ढिलाइ गर्न नै चाहन्छु: म आखिरी दिनहरूको दौरान शैतानलाई पूर्णतः पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा मेरो स्वामित्वमा रहेका सबै प्राणहरूलाई म फिर्ता लिनेछु, ताकि यी व्यथित प्राणहरू कष्टको समुद्रबाट उम्कन सकून्, अनि यसरी पृथ्वीमा मेरो सम्पूर्ण काम समाप्त हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहको कोही पनि क्रोधको दिनबाट उम्कन सक्दैन)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने आखिरी दिनहरूमा परमेश्वरले गरिरहनुभएको कामको चरण भनेको मानवजातिको कष्टकर जीवन अन्त्य गर्नु र मानिसहरूलाई शैतानको हातबाट फिर्ता ल्याउनु हो ताकि उनीहरूलाई त्यसले अब उप्रान्त हानि गर्न नसकोस्। म यति धेरै उत्साहित भएँ र मैले पहिले कहिल्यै महसुस नगरेको आफ्नोपन महसुस गरेँ। मैले आँसु रोक्नै सकिनँ। मैले धेरै वर्षदेखि संसारमा धेरै कडा सङ्घर्ष गरिरहेकी थिएँ, मेरो हृदयको पीडा पोख्ने कुनै ठाउँ थिएन—परमेश्वरले मात्र मेरो तिक्तता र निस्सहायतालाई बुझ्नुभयो। यसपटक, मैले बाहिर निस्कने बाटो फेला पारेकी थिएँ, र त्यो उहाँको मुक्तिलाई स्वीकार गर्नु थियो। मैले सन् २०१२ मा मेरी आमाले मलाई धेरै पटक हामीलाई बचाउनका लागि आखिरी दिनहरूमा परमेश्वर मानवजातिको माझमा सत्यता व्यक्त गर्न आउनुभएको छ भनेर गवाही दिनुभएको कुरा सम्झेँ। तथापि, त्यतिबेला म पैसाको नशामा थिएँ र विलासी जीवन जिउनका लागि मैले परमेश्वरको मुक्तिलाई अस्वीकार गरेकी थिएँ। मलाई धेरै पछुतो लाग्यो। यदि मैले परमेश्वरको आखिरी दिनहरूको कामलाई पहिले नै स्वीकार गरेको भए, मैले संसारमा यति धेरै दुःख वा कष्टहरू भोग्नु पर्ने थिएन। आज म परमेश्वरको सामु आउन पाउनु मेरो सौभाग्य थियो किनभने परमेश्वरको प्रेम ममाथि आएको थियो, र परमेश्वर मलाई मुक्ति दिन र यो दुःखको सागरबाट बाहिर निकाल्न चाहनुहुन्थ्यो। विगतमा, म केवल पैसा कमाउन मरिहत्ते गर्नमा मात्र तल्लीन थिएँ, र मेरो जीवन निकै गाह्रो र थकाइलाग्दो थियो, तर यसपटक मैले परमेश्वरद्वारा मुक्ति पाउने मौकालाई फेरि गुमाउनु हुँदैनथियो। यो मैले जीवन बचाउने डोरी समातेजस्तै थियो, र म यो दुर्लभ अवसरलाई समातेर पूर्ण हृदयले परमेश्वरलाई पछ्याउन र पैसाको लागि जिउन छोड्न चाहन्थेँ। त्यसपछि, म प्रायः ब्रदर-सिस्टरहरूसँग भेटेर परमेश्वरका वचनबारे सङ्गति गर्थेँ, र मलाई निकै सहज र शान्त महसुस हुन्थ्यो।
सन् २०२१ को वसन्त ऋतुमा एउटा भेलामा, परमेश्वरका वचनका आधारमा, हामीले शैतानले कसरी मानिसहरूलाई हानि गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ भन्नेबारे सङ्गति गर्यौँ। यो सुन्दा, मलाई यो ठ्याक्कै मेरै स्थितिबारे हो जस्तो लाग्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “‘दुनियाँ पैसाको इसारामा चल्छ’; के यो एउटा प्रचलन हो? तिमीहरूले उल्लेख गरेका फेसन र स्वादिष्ट भोजनका प्रचलनहरूको तुलनामा, के यो अझ शक्तिशाली छैन र? ‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? सायद मानिसहरूलाई यो भनाइबारे समान स्तरको अनुभवात्मक ज्ञान छैन, तर सबैमा आफू वरपर घटेका घटनाहरू र आफ्नै व्यक्तिगत अनुभवहरूका आधारमा यो भनाइबारे फरक-फरक स्तरको व्याख्या र स्वीकारोक्ति हुन्छन्। त्यसो होइन र? कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पार्न सक्छ? त्यो के हो भने, यस संसारका मानिसहरूले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ—मानवीय स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसहरूको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। परमेश्वरका वचन पढेपछि, मैले के बुझेँ भने शैतानले मानिसहरूलाई नियन्त्रण गर्न र उनीहरूमा बाँच्ने सम्बन्धी विभिन्न नियमहरू भरिदिन ख्याति र प्राप्ति प्रयोग गर्छ, जस्तै “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” “दुनियाँ पैसाको इसारामा चल्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो,” र “पैसा नै पहिलो कुरा हो।” मानिसहरू यिनै शैतानी विषहरूका आधारमा जिउँछन्, र ख्याति र प्राप्तिलाई आफ्नो पछ्याइको लक्ष्य मान्छन्। तिनीहरू यसको पछि मरिहत्ते गरेर लाग्छन्। म पनि यसमा अछुतो थिइनँ। सानो छँदा, मेरा नातेदार र साथीभाइहरू हरेक चिनियाँ नयाँ वर्ष र चाडपर्वहरूमा मेरो घरमा आएको देख्थेँ, र उनीहरूले मेरो परिवारको चाप्लुसी र खुसामद गर्थे भन्ने मलाई थाहा थियो किनभने मेरा आमाबुबासँग केही आर्थिक स्रोतहरू थिए। यो त ठ्याक्कै यो भनाइजस्तै थियो, “गरिबहरूलाई ठूलो सहरमा पनि कसैले वास्ता गर्नेछैनन्, तर धनीलाई त पहाडको कुनाकुनामा पनि टाढाका नातेदार भेट्न आउँछन्।” यी शैतानी विष र बाँच्ने नियमहरू मेरो हृदयमा गहिरो गरी गाडिएका थिए। विवाहपछि, मेरी सासू आमा मान्छे हेरेर व्यवहार गर्ने बानीकी हुनुहुन्थ्यो, र मेरी जेठी आमाजूको परिवार सम्पन्न भएकोले उनीहरूको खुसामद गर्नुहुन्थ्यो। जब उहाँले हामीले धेरै पैसा नकमाएको देख्नुहुन्थ्यो, तब बाहिरका मानिसहरू हुँदा पनि उहाँले हामीलाई होच्याउनुहुन्थ्यो र दिनभरि मुख बिगारेर हिँड्नुहुन्थ्यो, मानौँ हामीले उहाँको केही तिर्न बाँकी छ। यसले गर्दा, आर्थिक अवस्थाले नै हैसियत निर्धारण गर्छ, र मानिसहरू अरू जे नभए पनि बाँच्न सक्छन् तर पैसाविना बाँच्न सक्दैनन् भन्ने मलाई विश्वास लाग्न थाल्यो। पैसा भयो भने मात्र राम्रो भौतिक सुखभोग गर्न सकिन्छ, अरूले प्रशंसा र ईर्ष्या गर्छन्, र इज्जतका साथ जिउन सकिन्छ। म यिनै भ्रामक मान्यता र जीवनप्रतिको दृष्टिकोणअनुसार जिएँ, र मैले पैसा कमाउनका लागि बिहानदेखि बेलुकासम्म हड्डी घोटेर काम गरेँ। मेरो गर्धन र ढाडको तल्लो भाग दुख्दा पनि म आराम गर्न रोकिन्थिनँ, र पिठोबाट गम्भीर एलर्जी हुँदा पनि काममा डटिरहन्थेँ। मैले केही पैसा कमाएर पैसाले ल्याउने फाइदाहरूको आनन्द लिएँ, मेरा छिमेकी र सासू आमा सबैले मलाई मुस्कुराएर स्वागत गर्नुहुन्थ्यो, र मेरो अभिमान सन्तुष्ट हुन्थ्यो। तथापि, यसको पछाडि लुकेको तिक्तता र पीडा मलाई मात्र थाहा थियो। झन् दुःखको कुरा त, मैले पैसा कमाउन मरिहत्ते गरेर काम गरेँ, तर अन्त्यमा मेरो हातमा केही परेन। त्यति मात्र होइन, मेरो श्रीमान् रोगले थलिनुभयो, र मेरो गर्धन र ढाडको तल्लो भाग पनि दुख्थ्यो। मेरो शरीर र मनको पीडा शब्दमा व्यक्त गर्न सकिँदैनथ्यो; यो सबै पैसा, ख्याति र प्राप्तिको पछि लाग्दा भएको थियो। मैले बल्ल के बुझेँ भने मैले पछ्याएका लक्ष्यहरू र बाँच्ने मेरो दृष्टिकोण गलत थिए। यो सबैभित्र शैतानको दाउपेच लुकेको थियो। मैले पैसा कमाउन कडा मिहिनेत गरूँ र म पैसा, ख्याति र प्राप्तिका लागि जिऊँ भन्ने शैतानले चाहन्छ। यसरी, म परमेश्वरको सामु आउन र उहाँको मुक्ति प्राप्त गर्न सक्दिनँ। यो नै शैतानको दुष्ट अभिप्राय हो। मलाई मुक्ति दिनुभएकोमा म परमेश्वरप्रति धेरै कृतज्ञ छु। यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, मैले पैसा कमाउन कडा मिहिनेत गरिरहने थिएँ, र सायद एकदिन यसकै कारणले मेरो ज्यान जाने थियो। म परमेश्वरका वचनहरूको खुलासाका लागि कृतज्ञ छु जसले मलाई शैतानको दुष्ट अभिप्राय स्पष्टसँग देख्न मद्दत गर्यो: पैसा, ख्याति र प्राप्ति प्रयोग गरेर मलाई हानि गर्ने र भ्रष्ट तुल्याउने अभिप्राय। अब, म पूर्ण हृदयले परमेश्वरमा विश्वास गर्न र सत्यता पछ्याउन चाहन्छु, र अब उप्रान्त शैतानद्वारा मूर्ख बनेर पैसाको पछि मात्र लाग्न चाहन्नँ।
कहिलेकाहीँ म सोच्थेँ, “ती वर्षहरूमा मैले यति कडा मिहिनेत गरेँ, तर अन्त्यमा मैले केही कमाइनँ र उल्टै धेरै ऋण लाग्यो। मेरो जीवन किन यति कष्टकर भयो?” खोजी गर्दै जाँदा, मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? … मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनहरूले मलाई के बुझायो भने मानिसको जीवन परमेश्वरको हातमा छ। मानिसले जतिसुकै कडा मिहिनेत गरे पनि वा जतिसुकै मरिहत्ते गरे पनि, यदि परमेश्वरले दिनुभएन भने, जति दौडधुप गरे पनि उनीहरूले आफूले चाहेको कुरा कहिल्यै पाउँदैनन्। ती वर्षहरूलाई फर्केर हेर्दा, म हरेक दिन बिहान सबेरै निस्कन्थेँ र राति अबेर फर्कन्थेँ, र मलाई कति दुःख भयो वा म कति थकित थिएँ भन्ने कुराको वास्ता गर्थिनँ; मैले पैसा कमाउन मात्र कडा मिहिनेत गरेँ किनभने म विलासी जीवन जिउन र अरूबाट प्रशंसित हुन चाहन्थेँ। म आफ्नै क्षमताले आफ्नो भाग्य बदल्न चाहन्थेँ, तर अन्त्यमा, मेरो श्रीमान् र म रोगले ग्रस्त भयौँ र बदलामा हामीले रिक्तता बाहेक केही पाएनौँ। अहिले मैले के महसुस गरेँ भने हाम्रो जीवन हाम्रो नियन्त्रणमा छैन। हामीले कति पैसा कमाउँछौँ भन्ने कुरा हामीले हातले कसरी काम गर्छौँ भन्ने कुराले निर्धारण गर्दैन, बरु यो परमेश्वरको सार्वभौमिकता र पुर्वनियोजनमा निर्भर हुन्छ। साथै, मैले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू पनि महसुस गरेँ। जीवनमा यो तिक्तता र निस्सहायता नभोगेको भए, म परमेश्वरको सामु आउने थिइनँ। धेरै अघि, सन् २०१२ मा, मेरी आमाले मलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउनुभएको थियो, तर मेरो ध्यान पैसा कमाउनमा मात्र थियो र मैले त्यो स्वीकार गरिनँ। म परमेश्वरको सामु आउन मलाई अरू आठ वर्ष लाग्यो, तर परमेश्वरले मेरो अज्ञानता र विद्रोहीपनको कारण मलाई त्याग्नुभएन। परमेश्वरको प्रेम कति महान् छ! म एक सृजित प्राणीको स्थानमा सही रूपमा खडा हुनुपर्छ, र मेरो बाँकी जीवन परमेश्वरलाई सुम्पनुपर्छ, अनि परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। त्यस बेलादेखि, म फुर्सद हुनेबित्तिकै परमेश्वरका वचनहरू पढ्छु, र हरेक दिन धेरै सन्तोषजनक भएको छ।
पछि, मैले गुजारा चलाउन बिहानी बजारमा भुटेको बदाम बेच्न एउटा सानो स्टल भाडामा लिएँ। मैले पहिलेको जति पैसा नकमाए पनि, म त्यति व्यस्त हुन्थिनँ, र मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने समय हुन्थ्यो। मैले मेरो अघिल्लो लगानीको ऋण अझै तिरिनसकेको बारे सोचेँ, र ऋण तिर्न आफ्नो घर बेच्ने विचार गरेँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ र यी कठिनाइहरू उहाँलाई सुम्पेँ। पछि, निकै सहज रूपमा घर बिक्री भयो, र ऋणको केही भाग तिरियो। त्यस बेलादेखि, म हरेक दिन पसल बन्द गरेपछि भेलामा जान्थेँ, र ब्रदर-सिस्टरहरूसँग मिलेर परमेश्वरका वचनहरू खान्थेँ-पिउँथेँ र आफ्नो कर्तव्य निर्वाह गर्थेँ।
सन् २०२४ को फेब्रुअरीको मध्यतिर, मेरो भाइले फोन गरेर एक जना आफन्तको पसल बिक्रीमा रहेको बतायो। खर्च कटाएर, मैले वर्षमा एक लाख युआनभन्दा बढी कमाउन सक्थेँ, र पसलको पैसा तिर्न मलाई कुनै हतार थिएन। म पहिले व्यापार सुरु गर्न सक्थेँ र कमाएपछि पैसा तिर्न सक्थेँ। यो सुन्दा, मेरो मन लोभियो, “यो त धेरै राम्रो हो। यो पसल दस वर्षभन्दा पुरानो हो र यसका नियमित ग्राहकहरू छन्। सुरुको चरणमा मैले एक पैसा पनि तिर्नुपर्दैनथियो र जिम्मा लिनेबित्तिकै पैसा कमाउन सक्नेथिएँ। यदि मैले केही वर्ष काम गरेँ भने, मैले मेरा सबै ऋण तिर्न सक्ने मात्र होइन, मेरो छोराको विवाहको लागि पैसा जम्मा गर्न र मेरो बुढेसकालको खर्च पनि जुटाउन सक्थेँ, अनि मैले फेरि विस्तारै त्यो प्रतिष्ठित जीवन जिउन सक्थेँ।” तर त्यसपछि मलाई अर्को विचार आयो, “होइन। के यसको अर्थ म फेरि मेरो पुरानो जीवनमा फर्कनु होइन र? म बल्लतल्ल शैतानको सास्तीबाट मुक्त हुन सकेकी छु। म फर्कन सक्दिनँ। यदि मैले पैसा कमाउने र आफ्नो कर्तव्य निर्वाह गर्ने बीचमा छनौट गर्नुपर्यो भने, म आफ्नो कर्तव्य नै रोज्नेछु।” त्यतिबेला, मैले अघिल्लो भेलामा पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ, र त्यो पल्टाएर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “खान र लाउन पाउनमै सन्तुष्ट हुनु—के यो भनाइ सही छ? (छ।) किन? पहिले, व्यक्तिले यो कुरा बुझ्नैपर्छ: यदि कुनै व्यक्तिले आफ्नो सम्पूर्ण जीवन खाना, लुगा, र आनन्दजस्ता देहका मामिलाहरूका लागि मात्रै जिउँछ भने, के त्यस्तो जीवनको कुनै मूल्य हुन्छ? (हुँदैन।) त्यसको कुनै मूल्य नहुने हुनाले, मूल्यवान् जीवन जिउनका लागि मानिसहरूले के पछ्याउनुपर्छ र के प्राप्त गर्नुपर्छ? (तिनीहरूले सत्यता पछ्याउनुपर्छ।) यदि मानिसहरू सत्यता पछ्याउने मार्गमा हिँड्ने हो भने, के तिनीहरूले केही कुरा त्याग्नु पर्दैन र? यदि मानिसहरू सधैँ के खाने र के लगाउने भन्ने कुराद्वारा बाँधिन्छन्, र सधैँ देहका आनन्दहरूमा टाँसिन्छन् भने, के तिनीहरूले अझै पनि सत्यता पछ्याउन र प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) त्यसकारण, ‘खान र लाउन पाउनमै सन्तुष्ट हुनु’ भन्ने भनाइ सही छ। विशेष गरी, सत्यता पछ्याउनेहरूका लागि यो धेरै महत्त्वपूर्ण छ; यो सत्यता पछ्याउन र प्राप्त गर्नका लागि अत्यन्तै लाभदायक छ। खान र लाउन पाउनुको उद्देश्य के हो? शरीर सामान्य रूपमा बाँच्न सक्छ भनी सुनिश्चित गर्नु। बाँच्नुको उद्देश्य के हो? यो दैहिक आनन्दका खातिर होइन, न त जीवनको मार्गको आनन्द लिनका खातिर नै हो, र व्यक्तिले जीवनमा अनुभव गर्ने केही कुराको आनन्द लिनका खातिर त झनै होइन। यी सबै महत्त्वहीन छन्। त्यसोभए सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? यसमा व्यक्तिले सबैभन्दा मूल्यवान्, सबैभन्दा अर्थपूर्ण, र सृष्टिकर्ताको अनुमोदन प्राप्त गर्न सक्ने कुन-कुन कुराहरू गर्नुपर्छ भन्ने कुरा समावेश छ। (व्यक्ति परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ, र उसले आफ्नै कर्तव्यहरू पूरा गर्नुपर्छ।) एक व्यक्तिका रूपमा, तँ जुनसुकै जागिरमा संलग्न भए पनि, तँ एक सृजित प्राणी होस्। सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कुराहरू, र परमेश्वरले तिनीहरूले गर्न माग गर्ने कुराहरू गर्नुपर्छ—सबैभन्दा मूल्यवान् कुरा यही हो। त्यसोभए, सृजित प्राणीहरूले गर्ने कुन-कुन कुराहरू मूल्यवान् छन्? हरेक सृजित प्राणीसँग सृष्टिकर्ताले सुम्पेको एउटा आज्ञा, तिनीहरूले पूरा गर्नुपर्ने एउटा मिसन हुन्छ। परमेश्वरले हरेक व्यक्तिको जीवनको नियति तय गर्नुभएको छ। परमेश्वरले तिनीहरूले आफ्नो जीवनमा पूरा गर्नुपर्छ भनी जे-जस्तो मिसन पूर्वनियोजित गर्नुभएको छ, तिनीहरूले त्यही गर्नुपर्छ। यदि तैँले त्यो राम्ररी गरिस् भने, जब तँ अन्ततः हिसाब दिन परमेश्वरसामु खडा हुन्छस्, तब परमेश्वरले सन्तोषजनक जवाफ दिनुहुनेछ। उहाँले भन्नुहुनेछ, तैँले जिएको जीवन मूल्यवान् र फलदायी थियो, तैँले परमेश्वरका वचनहरूलाई आफ्नो जीवन बनाएको छस् र यसरी तँ मानकअनुरूपको एक सृजित प्राणी होस्। तर, मानौँ तेरो सम्पूर्ण जीवन खान, लाउन, र सुखका लागि जिउनु, सङ्घर्ष गर्नु, र बलिदान दिनुसँग मात्रै सम्बन्धित छ। अनि जब तँ अन्ततः परमेश्वरसामु खडा हुन्छस् र उहाँ सोध्नुहुन्छ, ‘मैले तँलाई दिएको यो जीवनको कार्य र मिसन तैँले कति पूरा गरेको छस्?’ तब तैँले ती सबैको हिसाब गर्छस् र तैँले आफ्नो जीवनको ऊर्जा र समय खान, पिउन, र रमाइलो गर्नमा बिताएको पाउँछस्—केही वर्षदेखि परमेश्वरमा विश्वास गरे पनि, तैँले आफ्नो कर्तव्य पूरा गरेको छैनस्, असल कार्यहरू तयार गर्ने कुरा त परै जाओस्। त्यस अवस्थामा, के तैँले यो जीवनमा शून्य हासिल गरेको हुनेछैनस् र? आफ्नो कर्तव्य निर्वाह गर्ने मौका पाउन गाह्रो हुन्छ, तर तैँले आफ्नो उचित काममा ध्यान नदिएर त्यसलाई बर्बाद पारेको हुनेछस्। तँ सत्यता पछ्याउन इच्छुक भए पनि, धेरै मूल्य चुकाउँदैनस्, त्यसैले तैँले केही पनि प्राप्त गरेको हुनेछैनस्। जब परमेश्वरले अन्तमा तेरो जाँच गर्नुहुन्छ, तब उहाँका वचनहरू तेरो जीवन बनेका हुनेछैनन्, र तँ उही पुरानो शैतान नै हुनेछस्—तैँले कामकुराहरूलाई हेर्ने तरिका र तैँले कार्य गर्ने तरिका अझै पनि सबै मानवीय धारणाहरू र कल्पनाहरू, र शैतानका भ्रष्ट स्वभावहरूमा आधारित हुनेछन्, र तँ अझै पनि पूर्ण रूपमा परमेश्वरप्रति शत्रुवत्, र उहाँसँग नमिल्ने हुनेछस्। तब, तँ बेकम्मा ठहरिनेछस्, र परमेश्वरले तँलाई त्यस उप्रान्त चाहनुहुनेछैन। त्यस बिन्दुदेखि, तँ उप्रान्त परमेश्वरको सृजित प्राणी हुनेछैनस्। त्यो एक दुःखद कुरा हो! त्यसकारण, तँ जुनसुकै पेसामा संलग्न भए पनि, जबसम्म त्यो कानुनी छ, तबसम्म त्यो परमेश्वरद्वारा प्रबन्धित र पूर्वनियोजित हुन्छ। तर त्यसको अर्थ परमेश्वर तँलाई अझ धेरै पैसा कमाउन वा तँ संलग्न भएको करियरमा ठूलो सफलता हासिल गर्न समर्थन वा प्रोत्साहन गर्नुहुन्छ भन्ने हुँदैन। परमेश्वर यसलाई अनुमोदन गर्नुहुन्न, न त उहाँ तँबाट यो माग नै गर्नुहुन्छ। यसबाहेक, परमेश्वरले तँलाई संसारतिर धकेल्न र शैतानको हातमा सुम्पन, अनि परिणामस्वरूप तैँले जथाभावी ख्याति र प्राप्ति पछ्याउने तुल्याउन, तँ संलग्न भएको पेसालाई कहिल्यै प्रयोग गर्नुहुनेछैन। बरु, तँ संलग्न भएको पेसामार्फत, परमेश्वर तँलाई तेरा आधारभूत आवश्यकताहरू पूरा गर्न दिनुहुन्छ—त्यति मात्रै हो। साथै, परमेश्वरले आफ्नो वचनमा तँलाई तेरो कर्तव्य के हो, तेरो मिसन के हो, तैँले केलाई पछ्याउनुपर्छ र तैँले के जिउनुपर्छ भन्नेजस्ता कुराहरू बताउनुभएको छ। तैँले आफ्नो जीवनभरि जिउनुपर्ने मूल्य र हिँड्नुपर्ने मार्ग यिनै हुन्। … तँ जुनसुकै करियरमा संलग्न भए पनि, तँ खान र लाउन पाउनमै सन्तुष्ट हुनुपर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ। यदि तँ यो कुरा स्पष्ट रूपमा देख्न सक्दैनस् र आफ्नो सबै समय र ऊर्जा आफ्नो करियर र ख्याति र सफलताको खोजीमा बर्बाद गर्न जिद्दी गर्छस् भने, तैँले निर्वाह गर्नुपर्ने कर्तव्य गुमाउनेछस् र मुक्ति पाउने तेरो मौका बर्बाद पार्नेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। परमेश्वरका वचन पढेपछि, मैले के बुझेँ भने मानिस खान र लाउन पाउनमै सन्तुष्ट हुनुपर्छ। मानिसहरू यस संसारमा देहको सुखभोगका लागि होइन, तर सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका लागि आएका हुन्। पैसा कमाउन कडा मिहिनेत गरेका ती वर्षहरूलाई सम्झेर हेर्दा, त्यसले झन्डै मेरो ज्यान लिएको थियो, र मलाई शैतानको सास्तीबाट बचाउनुहुने परमेश्वर नै हुनुहुन्थ्यो। परमेश्वरको घरमा आएर भेला हुँदा र परमेश्वरका वचनहरू पढ्दा, मैले सबैभन्दा अर्थपूर्ण जीवन प्राप्त गर्न मानिसहरूले के पछ्याउनुपर्छ भन्ने कुरा बुझेँ। मेरो हृदयमा धेरै शान्तिको महसुस भयो। यो कुरा पैसा, ख्याति वा प्राप्तिले किन्न सकिँदैन। अहिले भुटेको बदाम बेचेर मैले कमाउने पैसा धेरै नभए पनि, बाँच्नका लागि यो मलाई पर्याप्त छ, र घर जाँदा म अझै पनि भेलामा सहभागी हुन र आफ्नो कर्तव्य निर्वाह गर्न पाउँछु। यदि म पसल चलाउन गएँ भने, मसँग परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने समय कसरी हुन्छ? के यसको अर्थ मैले आफ्ना कर्तव्यहरू छोडेर पुरानै बाटोमा फर्कनु होइन र? म अब उप्रान्त पैसा, ख्याति वा प्राप्तिका लागि जिउनु हुँदैन; त्यो त आफ्नै चिहान खन्नुजस्तै हुनेछ। मैले ध्यान दिएर परमेश्वरका वचनहरू सुन्नुपर्छ र खान-लाउन पुग्ने अवस्थामा रहँदै एक सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। यसरी मात्र जीवन सार्थक हुन सक्छ। त्यसैले, मैले दृढतापूर्वक भाइको प्रस्ताव अस्वीकार गरेँ।
अहिले म दिनको धेरैजसो समय कर्तव्यमा व्यस्त हुन्छु, र हृदयमा धेरै शान्ति महसुस गर्छु। म पहिले जस्तो पैसा, ख्याति र प्राप्तिका लागि जिउँदिनँ, र मलाई पहिलेको जस्तो अत्यन्तै कष्टकर र निस्सहाय महसुस हुँदैन। परमेश्वरलाई उहाँको मुक्तिका लागि धन्यवाद!