६२. अब म रोकावट र असफलताहरूलाई सही तरिकाले लिन सक्छु
मे २०२४ मा, मैले मण्डलीमा प्रवचन लेख्ने तालिम लिएँ। सुरुमा, मैले केही कठिनाइ सामना गरेँ, सत्यताबारे मेरो बुझाइ सतही भएकाले म राम्ररी लेख्न सक्दिनँ भन्ने मलाई लाग्यो। मसँग सहकार्य गर्ने सिस्टरले मसँग सङ्गति गरिन् र मलाई प्रोत्साहन दिइन्, अनि उनले मसँग केही असल तरिकाहरू पनि बाँडिन्। पछि, प्रवचन लेख्दा मैले सान्दर्भिक सत्यताहरू खोजेँ; सत्यताहरू पूर्ण रूपमा बुझिसकेपछि मैले प्रवचन कसरी लेख्ने भनेर मनन गरेँ, र मैले छिट्टै नै त्यो सिध्याएँ। म धेरै खुसी भएँ र परमेश्वरको मार्गदर्शनका लागि आभारी भएँ। दुई दिनपछि, सुपरिवेक्षकले मलाई पत्र लेखेर, मेरो प्रवचन छानिएको छ, र मसँग राम्रो क्षमता र केही विचार छन् भनेर भने। म छक्क पनि परेँ र खुसी पनि भएँ। मैले भर्खरै तालिम सुरु गरेकी थिएँ, र मैले लेखेको पहिलो प्रवचन छानिएको थियो। मेरो वरपरका केही सिस्टरले कैयौँ प्रवचन लेखिसकेका थिए, तर तिनीहरूमध्ये कसैको पनि छानिएको थिएन, त्यसैले मलाई म साँच्चै विशेष नै हुनुपर्छ भन्ने लाग्यो। केही दिनपछि, मैले संयोगवश सुपरिवेक्षकले अगुवाहरूलाई लेखेको एउटा पत्र पढेँ। त्यो पत्रमा यसो भनिएको थियो, “छ्याउ सिन प्रवचन लेख्नमा निकै सक्रिय छिन् अनि विचार र क्षमता भएकी व्यक्ति हुन्, र हामी तिनलाई संवर्धन गर्ने तयारी गर्दै छौँ।” त्यसमा धेरै कुरा नभए पनि, मलाई सबैको ध्यान ममा टिकेको छ, र म अरू ब्रदर-सिस्टरहरूभन्दा फरक छु जस्तो लाग्यो। मैले गत वर्ष कसरी एक हप्तामै धेरै लेख लेखेकी थिएँ, र सुपरिवेक्षकले मलाई तुरुन्तै याद गरेका थिए भनेर सोचेँ। सुपरिवेक्षकले मसँग लेख्ने प्रतिभा छ भने र मलाई लेखन-पठनको कर्तव्य निर्वाह गर्न खटाए। अहिले, प्रवचन लेख्ने तालिम सुरु अलिपछि नै, मलाई फेरि अर्को सुपरिवेक्षकले याद गरे। मैले मनमनै सोचेँ, “म जहाँ गए पनि ध्यान खिच्न सक्ने रहेछु। यस्तो लाग्छ, मसँग साँच्चै क्षमता र लेख्ने प्रतिभा रहेछ!” यसपछि, मलाई म अरूभन्दा फरक छु भन्ने लाग्यो। मैले सोचेँ, “मैले लगनशीलताका साथ तालिम लिनुपर्छ, र हरेक प्रवचनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्छ, ताकि मैले सबैभन्दा छोटो समयमा मानकअनुरूप प्रवचनहरू लेख्न सकूँ। त्यसरी, सबैले निश्चय नै मलाई अझ मान र अझ बढी प्रशंसा गर्नेछन्।” पछि, म प्रवचनहरू लेख्नमा एकदमै सक्रिय भएँ, र मैले एकपछि अर्को दुईवटा प्रवचन लेखेँ, जुन सुपरिवेक्षकलाई बुझाएँ। सुपरिवेक्षक पनि मलाई प्रोत्साहन दिन अक्सर पत्रहरू लेख्नुहुन्थ्यो, र पत्रहरूको भावबाट सुपरिवेक्षकले मलाई ख्याल गर्नुहुन्छ र महत्त्व दिनुहुन्छ भनी म देख्न सक्थेँ। म भित्रभित्रै धेरै खुसी भएँ, र म आत्म-प्रशंसाको अनुभूतिमा जिएँ।
धेरै समय नबित्दै, मैले लेखेको प्रवचनबारे लिखित प्रतिक्रिया प्राप्त गरेँ। मैले फाइल खोलेँ, र अगुवाहरूले धेरै समस्या औँल्याएको देखेँ—सङ्गतिका केही पक्ष अस्पष्ट थिए, र अरू चाहिँ विषय बाहिर गएका थिए…। म गहन रूपमा निरुत्साहित भएँ र मलाई दिक्दार लाग्यो। मैले सोचेँ, “तार्किक रूपमा त, मसँग लेख्ने प्रतिभा भएकाले, मेरा प्रवचनहरू हरेक पटक सुध्रिनुपर्छ, र मैले स्पष्ट प्रगति गर्नुपर्छ, त्यसोभए बरु म किन उल्टै पछि गएकी छु? अगुवाहरूले मलाई के सोच्नेछन्? के उनीहरूले मलाई गलत मूल्याङ्कन गरिएछ, र आखिर मसँग यस्तो क्षमता छैन भन्ने सोच्नेछन्?” त्यसबारे जति धेरै सोचेँ, उति नै म नकारात्मक बनेँ, र मलाई अब अगुवाहरूले उठाएका समस्याहरू मनन गर्ने मनै भएन। मैले आफ्नो स्थिति गलत छ भन्ने बुझेँ, त्यसैले पढ्नका लागि परमेश्वरका वचनहरू खोजेँ, र मैले यो खण्ड देखेँ: “मानिसहरूले आफूलाई धेरै सिद्ध, धेरै विशिष्ट, धेरै कुलीन, वा अरूभन्दा धेरै फरक सोच्नु हुँदैन; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; अरूलाई कहिल्यै आफूभन्दा श्रेष्ठ, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई आफ्नो घमण्ड जोगाउन खोज्नुका कारण अरूले दिएको सच्याइ स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउन सक्छ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, र तैँले आफ्नो कर्तव्य समेत पूरा गर्ने इच्छा गर्दैनस् र कर्तव्य पूरा गर्दा झारा टार्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने म सिद्धता र अरूभन्दा उत्कृष्ट देखिनुको पछि लाग्नु, साथै मैले आफ्ना समस्याहरूबारे अगुवाहरूको मार्गदर्शन नस्विकार्नुको कारण म अहङ्कारी स्वभावद्वारा नियन्त्रित भएकीले गर्दा रहेछ। जब मैले आफूले लेखेका प्रवचनहरू छानिएका छन् र सुपरिवेक्षकले मसँग क्षमता छ भनेर भनेको सुनेँ, तब म अभिमानी भएँ, र मैले आफूलाई कुनै साधारण व्यक्ति होइन, तर क्षमता र लेख्ने प्रतिभा भएको व्यक्ति ठानेँ। मैले मेरा प्रवचनहरू अरूको भन्दा राम्रो हुनुपर्छ भनेर आफूलाई माग गर्न थालेँ, र तिनमा एकदमै धेरै समस्या हुनु हुँदैन भन्ने मलाई लाग्यो, तब मात्र म लेख्ने प्रतिभा भएको व्यक्ति भन्ने पदवीका लागि योग्य हुनेथिएँ। त्यसैले जब-जब मैले रोकावटहरू सामना गरेँ, तब-तब म नकारात्मक बनेँ र आफूलाई सही रूपले हेर्न सकिनँ। वास्तवमा, लेखिएका प्रवचनहरूमा समस्याहरू हुनु एकदमै सामान्य कुरा हो, र यो कर्तव्य सुरु गर्दा सबै कुरा जान्नु र गर्न सक्नु, अनि कुनै गल्ती नै नगर्नु असम्भव छ। आफूसँग यस्तो माग राख्नु अवास्तविक थियो। यसबाहेक, अगुवाहरूले मलाई मेरा कमजोरीहरू पत्ता लगाउन, तिनलाई पूर्ति गर्न सिक्न र वृद्धि हुन मद्दत गर्न मेरा समस्याहरू औँल्याइदिए, तर जब मैले रोकावटहरू सामना गरेँ, तब म नकारात्मक बनेँ र आफ्ना कमजोरीहरूलाई सही तरिकाले सामना गर्न सकिनँ। मैले आफूलाई अत्यन्तै उच्च ठानेँ र म साँच्चै नै अहङ्कारी थिएँ! यसबारे सोचेपछि, म अगुवाहरूको मार्गदर्शन र मद्दत स्वीकार गर्न, अनि यी विचलन र गल्तीहरू फेरि नहोस् भनेर आफ्ना प्रवचनहरू लेख्दा सान्दर्भिक सत्यता सिद्धान्तहरू खोजी गर्न र मनन गर्नमा ध्यान केन्द्रित गर्न इच्छुक भएँ।
त्यसपछि, मैले आफ्नो हृदय शान्त पारेँ र सान्दर्भिक सिद्धान्तहरू अध्ययन गरेँ, र अध्ययनका क्रममा मैले केही कुरा बुझ्न सकेँ। तर लेख्ने सन्दर्भमा, मलाई अझै केही कठिनाइ भइरहेको थियो, र मानकअनुरूपको प्रवचन लेख्न सजिलो छैन भन्ने मलाई लाग्यो। समय बित्दै जाँदा, मैले आफूसँग अझै पनि विचारहरू छैनन् भन्ने थाहा पाएँ, र मैले हतोत्साहित महसुस गर्न थालेँ, मनमनै सोचेँ, “यदि मैले राम्रो प्रवचन लेख्न सकिनँ भने के गर्ने? अगुवाहरूले मलाई कसरी हेर्नेछन्? के उनीहरूले ‘छ्याउ सिनको क्षमता त एकदमै कमजोर रहेछ, र उनले सत्यता पनि बुझ्दिनन्’ भनेर भन्नेछन्?” यो सोच्दा, म चिन्तित भएँ, र जब म फेरि अध्ययन गर्थेँ, तब मेरो मन भट्किन्थ्यो, र मलाई निद्रा लागिरहन्थ्यो। राति, जब म सुत्ने प्रयास गर्थेँ, तब म सुस्केरा नहाली सक्दै सक्दिनथेँ, र म यताउता पल्टिरहन्थेँ, निदाउनै सक्दिनथेँ। म साँच्चै छिट्टै एउटा राम्रो प्रवचन लेख्न चाहन्थेँ ताकि मैले त्यो सबैलाई देखाउन सकूँ, र त्यसरी आफ्नो छवि पुनःस्थापित गर्न सकूँ। तर जति धेरै मैले यसलाई राम्रोसँग लेख्नेबारे सोचेँ, उति नै धेरै दबाब महसुस गरेँ। भोलिपल्ट बिहान, म लखतरान महसुस गर्दै उठेँ, र मेरो टाउको दुख्न थाल्यो। मैले दिनभरि मनन गरेँ तर अझै पनि ममा कुनै विचार फुर्न सकेन, र मलाई एउटा गह्रौँ ढुङ्गाले थिचेर निसास्सिएको जस्तो महसुस भयो। मसँग सहकार्य गर्ने सिस्टरले मसँगै सिद्धान्तहरू अध्ययन गर्न चाहिन्, तर मलाई त्यो मन लागेन।
पछि, मैले उनलाई आफूले पछिल्ला केही दिनदेखि भोगिरहेको स्थितिबारे खुलस्त रूपमा बताएँ, र उनले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाइन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरू सुनिसकेपछि, मलाई हृदयमा अचानक उज्यालो महसुस भयो। मैले के बुझेँ भने मेरो हृदयमा यी पछिल्ला केही दिनदेखि भएको दबाबको भावना म ख्याति, प्राप्ति र हैसियतद्वारा नियन्त्रित र बन्धित भएकीले गर्दा रहेछ। सुरुमा, सुपरिवेक्षकले मेरो क्षमता राम्रो छ र मैले लेखेका प्रवचनहरू निकै राम्रा छन् भनेर भने। त्यसपछि मैले आफूलाई प्रशंसा गर्न थालेँ। मलाई आफूसँग लेख्ने विशेष प्रतिभा छ भन्ने लाग्यो, र त्यसैले मैले अरूको प्रशंसा र सम्मान पाउने आशा गर्दै, प्रवचनहरू लेख्न अझ बढी मिहिनेत गरेँ। तर, मैले लेखेका दुईवटा प्रवचनमा धेरै समस्या औँल्याइँदा, म अरूले मलाई तुच्छ ठान्नेछन्, र अब मलाई क्षमता र प्रतिभा भएको व्यक्ति ठान्नेछैनन् भनेर चिन्तित भएँ, त्यसैले म अगुवाहरूले औँल्याएका समस्याहरूलाई मनन गर्न शान्त हुन सकिनँ, न त मैले आफ्ना कमजोरीहरू पूर्ति गर्न सिद्धान्तहरू अध्ययन गरेँ वा सत्यता खोजी गरेँ। मैले केवल आफ्नो छवि पुनःस्थापित गर्न छिट्टै एउटा राम्रो प्रवचन लेख्न चाहेँ। तर, म जति बढी चिन्तित भएँ, मसँग उति नै कम विचारहरू भए, र मेरा सोचहरू उति नै धमिलिए, र दिनभरि काम गरेपछि पनि मैले अझै कुनै प्रगति गरिनँ। मैले के सम्झेँ भने जब मैले पहिलोपटक प्रवचन लेख्न थालेँ, तब धेरै कठिनाइ भए तापनि, मसँग परमेश्वरमा भर पर्ने एउटा शुद्ध हृदय थियो। मैले मनन गर्न सान्दर्भिक परमेश्वरका वचनहरू साँचो रूपमा अध्ययन गरेँ र खोजेँ, अनि परमेश्वरले मलाई अन्तर्दृष्टि दिनुभयो र मार्गदर्शन गर्नुभयो, र त्यसैले जब मैले लेखेँ, तब मसँग केही विचार थिए। तर अहिले, मैले आफ्नो अभिमान र हैसियतबारे मात्र सोचेँ, र अरूको नजरमा राम्रो छवि बनाइराख्ने मेरो सोचले गर्दा मैले खान वा सुत्न सकिनँ, मलाई रिङ्गटा लाग्यो र चक्कर चल्यो, र म प्रवचन लेख्नमा ध्यान केन्द्रित गर्न असमर्थ भएँ। मेरो हृदय पूर्ण रूपमा ख्याति र प्राप्तिद्वारा नियन्त्रित थियो। यदि मैले यो स्थितिलाई नबद्लेकी भए, म अन्धकार र असहनीय पीडामा नै जिइरहनेथिएँ, र समयको दौरान, मैले पवित्र आत्माको काम वा यो कर्तव्यसमेत गुमाउनेथिएँ। त्यसपछि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म प्रतिष्ठा र हैसियत पछ्याउने स्थितिमा जिउन चाहन्नँ, तर यसलाई कसरी समाधान गर्ने मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्, ताकि म यो गलत स्थितिबाट बाहिर निस्कन र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकूँ।”
भोलिपल्ट बिहान, मेरी सिस्टरले मलाई परमेश्वरका वचनहरूका केही खण्ड पढेर सुनाइन्, र तीमध्ये एउटा खण्डले मलाई धेरै मद्दत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सबैलाई थाहा छ कि अहङ्कारी हुनु नराम्रो हो, तर जब मानिसहरूले आफ्नो कर्तव्यमा केही परिणामहरू हासिल गर्छन्, तब तिनीहरू स्वाभाविक रूपमा अहङ्कारी बन्छन्, तिनीहरू धेरै मात्तिन्छन्, र परमेश्वरमाथिको विश्वासमा आफू सफल भएको सोच्छन्। त्यसोभए मानिसहरूले आफ्नो कर्तव्यमा केही परिणामहरू हासिल गर्दा तिनीहरू किन मात्तिन्छन्? यसको एउटा पाटो चाहिँ मानिसहरू धेरै अहङ्कारी र व्यर्थ भएका हुनाले हो। के अरू कारणहरू छन्? (किनभने मानिसहरूलाई यी परिणामहरू हासिल गर्न अगुवाइ गर्ने परमेश्वर नै हुनुहुन्छ भनेर तिनीहरूले महसुस गर्दैनन्। तिनीहरू आफू सबै श्रेयको हकदार भएको, र आफूसँग पूँजी छ भन्ने सोच्छन्, त्यसैले तिनीहरू मात्तिन्छन्। वास्तवमा, सत्यताविना र पवित्र आत्माको कामविना, मानिसहरूले केही पनि गर्न सक्दैनन्, तर तिनीहरूले यो कुरा स्पष्ट रूपमा देख्न सक्दैनन्।) यो कथन सही छ, र यो समस्याको केन्द्रबिन्दु पनि हो। यदि मानिसहरूले परमेश्वरको कामको अनुभव गर्दैनन् र सत्यता प्राप्त गर्न सक्दैनन् भने, तिनीहरू सधैँ आफूलाई जे कुरामा पनि सक्षम ठान्छन्। त्यसैले यदि तिनीहरूसँग केही पूँजी छ भने, तिनीहरू अहङ्कारी बन्छन् र मात्तिन्छन्। के तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टि महसुस गर्न सक्षम छौ? (छौँ।) यदि तिमीहरू पवित्र आत्माको काम महसुस गर्न सक्षम छौ, तैपनि मात्तिन्छौ, र आफूसँग वास्तविकता छ भनी सोच्छौ भने, यहाँ के भइरहेको छ? (जब हाम्रो कर्तव्यले केही फल फलाउँछ, तब हामी आधा श्रेय परमेश्वरलाई जान्छ, र आधा हामीलाई जान्छ भन्ने सोच्छौँ। हामी हाम्रो सहकार्यभन्दा महत्त्वपूर्ण कुरा केही छैन, र योविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथिएन भन्ने सोचेर हाम्रो सहकार्यलाई असीमित रूपमा ठूलो पार्छौँ।) त्यसोभए, परमेश्वरले तँलाई किन अन्तर्दृष्टि दिनुहुन्छ? के परमेश्वरले अरूलाई पनि अन्तर्दृष्टि दिन सक्नुहुन्छ? (सक्नुहुन्छ।) जब परमेश्वरले कसैलाई अन्तर्दृष्टि दिनुहुन्छ, तब त्यो परमेश्वरको अनुग्रहद्वारा हुन्छ। अनि तैँले आफ्नो पक्षबाट पूरा गरेको त्यो थोरै सहकार्य के हो? के यसका लागि तैँले श्रेय पाउनुपर्छ, कि यो तेरो कर्तव्य र जिम्मेवारी हो? (यो हाम्रो कर्तव्य र जिम्मेवारी हो।) जब तँ यसलाई आफ्नो कर्तव्य र जिम्मेवारीका रूपमा पहिचान गर्छस्, तब तँसँग सही मनस्थिति हुन्छ र तैँले यसको श्रेय लिन खोज्नेबारे सोच्नेछैनस्। यदि तँ सधैँ ‘यो मेरो योगदान हो। के मेरो सहकार्यविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथियो? यस कामका लागि मानिसको सहकार्य आवश्यक हुन्छ; धेरैजसो भाग हाम्रो सहकार्यले नै पूरा हुन्छ’ भन्ने सोच्छस् भने, तँ गलत छस्। यदि पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन, र कसैले पनि तँलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति दिएको छैन भने, तैँले कसरी सहकार्य गर्न सक्छस्? यदि तँलाई परमेश्वरले के माग गर्नुहुन्छ र अभ्यासको मार्ग के हो भन्ने थाहा छैन भने, तैँले परमेश्वरप्रति समर्पित हुन र सहकार्य गर्न चाहिस् भने पनि, कसरी गर्ने भनेर तँलाई थाहा हुनेछैन। तब, के तेरो यो ‘सहकार्य’ खोक्रो शब्द मात्र हुनेछैन र? यदि तैँले साँचो रूपमा सहकार्य गर्दैनस्, र आफ्नै विचारहरूअनुसार मात्रै काम गरिरहेको छस् भने, के तैँले निर्वाह गर्ने कर्तव्य मानकअनुरूप हुन सक्छ? कदापि हुन सक्दैन। यसले एउटा समस्याको सङ्केत गर्छ। त्यो समस्या के हो? कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसले नतिजा हासिल गर्छ कि गर्दैन, मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन, र परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा परमेश्वरको काममा निर्भर हुन्छ। तैँले आफ्ना जिम्मेवारीहरू र कर्तव्य निर्वाह गरिस् भने पनि, यदि परमेश्वरले काम गर्नुहुन्न, वा तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्न, र तँलाई आफ्नो मार्ग, आफ्नो दिशा वा आफ्ना लक्ष्यहरू थाहा छैन भने, अन्त्यमा यसबाट कस्तो नतिजा आउनेछ? त्यतिका समय परिश्रम गरेपछि, तैँले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गरेको हुनेछैनस्, न त सत्यता र जीवन नै प्राप्त गरेको हुनेछस्—त्यो सब व्यर्थ भएको हुनेछ। त्यसैले, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु, दाजुभाइ र दिदीबहिनीहरूलाई उन्नयन गर्नु र परमेश्वरको अनुमोदन प्राप्त गर्नु पूरै परमेश्वरमै निर्भर हुन्छ! मानिसहरूले ती कुरा मात्र गर्न सक्छन् जसमा तिनीहरू सक्षम छन्, जुन कुरा तिनीहरूले गर्नुपर्छ र जुन कुरा तिनीहरूका अन्तर्निहित क्षमताभित्र छ—योभन्दा बढी होइन। त्यसपछि आखिरमा तैँले आफ्नो कर्तव्यमा नतिजाहरू हासिल गर्नु परमेश्वरका वचनहरूको मार्गदर्शन साथै पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइमा निर्भर हुन्छ; त्यसपछि मात्र तैँले सत्यता बुझ्न र परमेश्वरले प्रदान गरेको मार्ग र उहाँले तय गरेको सिद्धान्तअनुसार उहाँको आज्ञा पूरा गर्न सक्छस्। यो त परमेश्वरको अनुग्रह र आशिष् हो, अनि यदि मानिसहरूले यसलाई देख्न सक्दैनन् भने, तिनीहरू अन्धा हुन्। परमेश्वरको घरले जुनै प्रकारको काम गरे पनि चाहिएको नतिजा के हो? यसको एउटा पाटो परमेश्वरको गवाही दिनु र परमेश्वरको सुसमाचार प्रसार गर्नु हो भने अर्को पाटो चाहिँ दाजुभाइ-दिदीबहिनीहरूलाई उन्नयन गर्नु र फाइदा पुर्याउनु हो। परमेश्वरको घरको कामको अभिप्राय दुवै क्षेत्रमा नतिजा हासिल गर्नु हो। परमेश्वरको घरमा, तैँले जुनै कर्तव्य निर्वाह गरे पनि, के तैँले परमेश्वरको मार्गदर्शनबिना नतिजाहरू हासिल गर्न सक्छस्? बिलकुलै सक्दैनस्। परमेश्वरको मार्गदर्शनविना तैँले गर्ने कुरा मूलतः बेकार हुन्छ, र त्यसले पक्कै पनि नतिजाहरू हासिल गर्न सक्दैन भनेर भन्न सकिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने म “लेख्ने विशेष प्रतिभा भएको” भन्ने लेबल हटाउन सक्दिनँ किनभने मैले प्रवचन लेख्ने सम्पूर्ण प्रभावकारिताको श्रेय आफैलाई दिएँ, र मेरो राम्रो क्षमता, मेरो लेख्ने प्रतिभा, र मैले गरेको मिहिनेत र साथै मैले मनन गर्न चुकाएको मूल्यले गर्दा मात्र यी परिणामहरू आएका हुन् भनेर मैले सोचेँ। वास्तवमा, लेख्ने क्रममा म प्रायः सङ्घर्ष गर्थेँ, अनि परमेश्वरलाई प्रार्थना गरेर र सान्दर्भिक सत्यताहरू मनन गरेर अनि परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाएर नै मैले अलिकति प्रेरणा पाएकी थिएँ। तर, पछि, अरूले प्रशंसा र प्रोत्साहनका केही शब्द भन्दा, म अभिमानी बनेँ, मैले यो सब मेरो आफ्नै उपलब्धि हो भन्ने सोचेँ, र मैले आफैँलाई “राम्रो क्षमता र लेख्ने प्रतिभा भएको” भन्ने लेबल लगाएँ, र आफू वास्तवमा को हुँ भनेर देख्न सकिनँ। वास्तवमा, कुनै कर्तव्य राम्ररी निर्वाह गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा आंशिक रूपमा कर्तव्यका सिद्धान्तहरू र सान्दर्भिक सत्यताहरू बुझ्नुमा, अनि सबैभन्दा महत्त्वपूर्ण, परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्नुमा निर्भर हुन्छ। कहिलेकाहीँ हामीसँग विचारहरू हुँदैनन्, र परमेश्वरलाई प्रार्थना गरेर, उहाँको मार्गदर्शन खोजेर, र उहाँका वचनहरू मनन गरेर, हामी थाहै नपाई केही सत्यता बुझ्छौँ र केही ज्योति र विचार प्राप्त गर्छौँ, र तब मात्र हामीले लेखेका प्रवचनहरूले राम्रा परिणामहरू हासिल गर्न सक्छन्। यो हाम्रो आफ्नै क्षमताको कारणले होइन। मैले पछिल्ला केही दिनदेखि कसरी म ख्याति र हैसियतका लागि जिइरहेकी छु, परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सकेकी छैनँ भन्नेबारे सोचेँ। मैले लेखनमा मिहिनेत गरे तापनि, मेरो दिमाग कुनै विचारहरूविनाको सुस्तजस्तै थियो, र म पट मूर्ख बनिरहेकी थिएँ। मैले साँच्चै के बुझेँ भने मेरा कर्तव्यहरूमा प्राप्त भएका राम्रा परिणामहरू परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शनबाट आएका थिए, र मसँग घमण्ड गर्ने कुनै कुरा थिएन। तैपनि मैले निर्लज्ज भई सम्पूर्ण श्रेय आफैँलाई दिएकी थिएँ। यो साँच्चै लाजमर्दो थियो! मैले केही प्रवचन लेखेकी भए तापनि, मैले ती कसरी लेख्ने भन्ने प्रक्रियाको एउटा सानो अंश मात्र बुझेकी थिएँ। वास्तवमा, मैले धेरै सिद्धान्त बुझेकी थिइनँ, र म धेरै पक्षका सत्यताहरूबारे स्पष्ट थिइनँ; कहिलेकाहीँ म प्रवचनहरू लेख्दा मुख्य बुँदाहरू बुझ्न सङ्घर्षसमेत गर्थेँ। मैले सान्दर्भिक सिद्धान्तहरू अध्ययन गरेकी भए तापनि, जब तिनलाई व्यावहारिक रूपमा लागू गरेँ, तब ममा धेरै कमी थियो, र मलाई अझै पनि अरूबाट सुधार र मद्दतको आवश्यकता थियो। तर मैले आफूलाई असाधारण ठानेँ, मानौँ मेरो खुट्टा भुइँमा छैन, र म आफ्ना सीमितताहरूबारे साँच्चै अनभिज्ञ थिएँ। मैले यसबारे जति धेरै सोचेँ, उति नै म लाजले भुतुक्कै भएँ, आफ्नो अनुहार लुकाउन चाहेँ, र मलाई कुनै दुलोमा छिर्न मात्र मन लाग्यो।
पछि, मैले आफूले ती दुई प्रवचन राम्ररी लेख्न नसक्नुको मुख्य कारण मैले भर्खरै तालिम सुरु गर्नु र केही सिद्धान्तहरू अझै नबुझ्नु थियो भन्नेबारे सोचेँ, त्यसैले मैले मेरी सिस्टरहरूसँग सिद्धान्तहरू अध्ययन गरेँ, र मैले ती दुई प्रवचनलाई सबैले विश्लेषण र छलफल गरून् भनी उदाहरणका रूपमा प्रयोग गरेँ। सबैले सुझावहरू दिए, र त्यसपछि, जब मैले फेरि प्रवचनहरू संशोधन गरेँ, तब एउटा दिशा पाएँ। जब-जब मैले कुनै कुरा बुझिनँ, तब-तब परमेश्वरलाई प्रार्थना गरेँ, अनि सत्यता खोजेँ र मनन गरेँ, अनि एउटा प्रवचनको संशोधन पूरा गरेपछि त्यसलाई बुझाएँ। तर, अर्कोलाई संशोधन गर्दा, मलाई अझै पनि गाह्रो भयो। म सत्यताबारे स्पष्ट थिइनँ र मलाई अलि बेचैन भयो। मलाई आफ्नो लेखाइ नीरस र फिका हुन्छ कि भन्ने डर पनि लाग्यो, र मैले त्यो बुझाएपछि अगुवाहरूले मलाई के सोच्लान् भनेर सोचेँ। के उनीहरूले मेरो क्षमता अपर्याप्त छ भन्नेछन्? मैले ब्रदर-सिस्टरहरूसँग मद्दत माग्ने आँट गरिनँ, तर मसँग अगाडि बढ्ने कुनै मार्ग थिएन, र मलाई हृदयमा धेरै दबाब महसुस भयो। त्यस बेला, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ। परमेश्वर भन्नुहुन्छ: “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य पूरा गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै अभूतपूर्व उपलब्धि हासिल गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा कुलीन बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के मात्र हो भने, तैँले व्यावहारिक रूपमा उहाँका वचनअनुसार अभ्यास गर्नुपर्छ। परमेश्वरका वचनहरू बुझेपछि, तिनलाई व्यवहारमा लागू गर् र तिनलाई पूरा गर्, वा परमेश्वरका वचनहरू सुनेपछि, ती राम्रोसँग याद गर्, अनि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तँ जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस्, र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न, र उल्लेखनीय बन्न खोज्छस्, परमेश्वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। तँ परमेश्वरले वितृष्णा गर्ने व्यक्ति कदापि बन्नु हुँदैन; तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्नैपर्छ। त्यसोभए, तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति कसरी बन्न सक्छस्? आज्ञाकारी भई सत्यता स्वीकार गर्, एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थानमा बस्, धरातलमा टेकेर परमेश्वरका वचनहरूका आधारमा काम गर्, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्, एक इमानदार व्यक्ति बन्, र मानव रूपमा जि। यति नै पर्याप्त छ, र यसले परमेश्वरलाई सन्तुष्ट पार्नेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्वरले मानिसहरूबाट गर्ने मागहरू उच्च छैनन्, र उहाँ मानिसहरूले ठूला परिणामहरू हासिल गरून् भन्ने माग गर्नुहुन्न। जबसम्म मानिसहरू आज्ञाकारी हुन र समर्पित हुन सक्छन्, र परमेश्वरका मागहरूअनुसार व्यावहारिक रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छन्, तबसम्म परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तर म सधैँ उत्कृष्ट देखिन अनि अरूको प्रशंसा र अनुमोदन पाउनका लागि राम्रो प्रवचन लेख्न चाहन्थेँ। यो मेरो महत्त्वाकाङ्क्षा र चाहनाद्वारा नियन्त्रित थियो। यो एउटा भ्रष्ट स्वभाव थियो। मैले परमेश्वरका चुनिएका मानिसहरूले पालन गर्नुपर्ने पहिलो प्रशासनिक आदेशबारे सोचेँ, जसमा यसो भनिएको छ: “मानिसले आफैलाई ठूलो ठान्नु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। म सधैँ ख्याति, प्राप्ति र हैसियत पछ्याउँथेँ, अरूबाट प्रशंसा र सम्मान पाउन र तिनीहरूको हृदयमा स्थान पाउन चाहन्थेँ। यो परमेश्वरले घृणा गर्ने कुरा हो। यस्तो स्थितिमा जिउँदा मेरा लागि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु असम्भव बन्छ, र यसले काममा रोकावटसमेत दिन सक्छ। मैले तुरुन्तै मेरो पछ्याइपछाडिको गलत दृष्टिकोण बदल्नुपर्थ्यो। प्रवचन लेख्नमा ममा अझै धेरै कुराको कमी भए तापनि, म सत्यता खोज्न र सहकार्य गर्नका लागि सक्दो गर्न परमेश्वर सामु आफ्नो हृदयलाई शान्त पार्न इच्छुक भएँ। म आफूले बुझेको जति लेख्थेँ, र प्रवचनहरू लेख्दा उत्पन्न हुने हरेक समस्यालाई आफ्ना कमजोरीहरू पूर्ति गर्ने अवसरका रूपमा लिन्थेँ। मैले यसरी बिस्तारै तालिम लिएर निश्चय नै प्रगति गर्नेछु भनेर विश्वास गरेँ। जब मैले यसबारे सोचेँ, मैले धेरै राहत महसुस गरेँ।
अर्कोपटक प्रवचन लेख्दा, म पहिले आफूले बुझेका कुराहरू लेख्थेँ, र आफूले नबुझेका कुराहरूका लागि खोजी र मनन गर्थेँ, वा मेरा ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्थेँ, र सत्यताबारे स्पष्ट भएपछि, म लेख्न जारी राख्थेँ। यसरी, मैले लेखेका प्रवचनहरूको प्रभावकारिता धेरै राम्रो भयो। धेरै समय नबित्दै, अगुवाहरूले हामीलाई अध्ययन गर्न र पाठ सिक्नका लागि केही राम्रा प्रवचनहरू पठाए। ती प्रवचनहरू ताजा र उज्यालो मात्र थिएनन्, तर सत्यताको सङ्गति एकदमै व्यावहारिक र स्पष्ट थियो। तुलना गर्दा, मैले के बुझेँ भने मेरा प्रवचनहरू केवल शब्द र धर्मसिद्धान्तहरूले भरिएका थिए, र सत्यता स्पष्ट रूपमा सङ्गति गरिएको थिएन। त्यसबेला, मैले ममा कति धेरै कमी रहेछ भनेर देखेँ। मेरा ब्रदर-सिस्टरहरूको तुलनामा, म एकदमै धेरै पछाडि थिएँ! जब तिनीहरूले आफ्ना सोच र प्राप्तिहरूबारे लेखे, तब तिनीहरूले घमण्ड गरेनन् मात्र होइन, बरु आफूमा धेरै कुराको कमी छ, र मानकअनुरूपको प्रवचन लेख्न सक्नुको कारण उनीहरूको आफ्नै क्षमताले गर्दा होइन, न त तिनीहरूले सत्यता बुझेकाले गर्दा नै हो, बरु प्रार्थना, खोजी, र सान्दर्भिक सत्यताहरू मनन गरेर पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेकाले गर्दा हो भनेर भने। यो देख्दा, मलाई साह्रै लाज लाग्यो। मैले कसरी भर्खरै प्रवचनहरू लेख्न थालेकी थिएँ, र केवल सतही बुझाइ भएकाले, म आफूलाई औसतभन्दा माथि ठान्थेँ भनेर सोचेँ। मैले आफूलाई लेख्ने विशेष प्रतिभा भएको भन्ने लेबलसमेत लगाएँ जुन मैले हटाउन सकिनँ। मैले साँच्चै आफूलाई बढी आँकिरहेकी थिएँ र ममा कुनै आत्म-सचेतना थिएन!
अब म फेरि अगुवाहरूबाट आएका सुझावहरू देख्दा, तिनलाई सही तरिकाले लिन सक्छु, र यदि मैले नबुझ्ने वा गर्न नसक्ने कुनै कुरा छ भने, म खोजी गर्न अग्रसर हुन सक्छु, र मेरा प्रवचनहरूको गुणस्तर पहिलेभन्दा सुध्रेको छ। मलाई आफ्ना हृदयमा के थाहा छ भने मैले गरेको प्रगति परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शनले गर्दा नै हो। यस अनुभवमार्फत्, मैले आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ प्राप्त गरेकी छु, र मैले आफ्नो जीवन प्रवेशमा केही उपलब्धि हासिल गरेकी छु। मैले के पनि देखेकी छु भने सत्यताबारे मेरो बुझाइ साँच्चै सतही छ, र मैले सत्यताका सिद्धान्तहरूमा ध्यान केन्द्रित गर्नुपर्छ र दृढतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यदि यो प्रकटीकरण नभएको भए, म आफूलाई प्रशंसा गर्ने स्थितिमा जिइरहने थिएँ, र मैले आफ्नो कर्तव्यमा कुनै प्रगति गर्नेथिइनँ। यस असफलता र रोकावटले मलाई ठूला प्राप्तिहरू दिएको छ, र म हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिन्छु!