८२. “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू” भन्ने विचारबारे चिन्तनहरू

चेङ झि, चीन

सानो छँदा, म प्रायः मेरा बुबाले अरू परिवारहरूलाई उनीहरूको काममा सघाउनुभएको देख्थेँ, अनि उहाँकहाँ खाँचोमा पर्ने जोसुकै आए पनि, उहाँ सधैँ मद्दत गर्न राजी हुनुहुन्थ्यो। कहिलेकाहीँ, उहाँ पारिवारिक मामिलामा व्यस्त हुँदासमेत, अरूलाई नाइँ भन्न उहाँलाई असाध्यै अप्ठ्यारो लाग्थ्यो, त्यसैले उहाँ एकदमै प्रिय बन्नुभयो। मैले मनमनै सोचेँ, “समस्यामा परेकाहरूलाई मद्दत गर्दा प्रशंसा र अनुमोदन पाइन्छ। म ठूलो भएपछि बुबाजस्तै असल व्यक्ति बन्न चाहन्छु।” मलाई विद्युतीय उपकरणहरू मर्मत गर्न मन पर्ने भएकाले, हुर्केपछि, जब कुनै छिमेकीको रेडियो, टिभी वा बत्ती बिग्रन्थ्यो, तब छिमेकीहरू सहायता माग्न मकहाँ आउँथे, अनि म उनीहरूलाई सजिलै त्यसै फर्काउँदिनथेँ। अरूले मलाई मद्दत माग्नुको अर्थ उनीहरूले मलाई भरोसा र सम्मान गरेका हुन्, अनि मैले उनीहरूलाई निराश तुल्याउनु हुँदैन भन्ने मैले सोचेँ। परमेश्‍वर भेट्टाएपछि, मैले मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न थालेँ। मलाई कम्प्युटरबारे अलि थाहा भएकाले, म धेरैजसो सामान्य समस्याहरू सम्हाल्न सक्थेँ, अनि म जहाँ गए पनि, ब्रदर-सिस्टरहरूले मलाई कम्प्युटरका समस्याहरूमा मद्दत माग्थे। म हरेक अनुरोध मान्थेँ, ब्रदर-सिस्टरहरू मकहाँ आएकाले उनीहरूले मलाई भरोसा गरेका छन् भन्ने मलाई लाग्थ्यो, त्यसैले मैले सक्दो मद्दत गर्नुपर्थ्यो र उनीहरूलाई निराश पार्नुहुँदैनथ्यो। पछि मलाई अन्य कतै आफ्ना कर्तव्यहरू निर्वाह गर्न खटाइयो, अनि म कहिलेकाहीँ घर आउँदा, मेरी श्रीमतीले मलाई केही ब्रदर-सिस्टरहरू मैले उनीहरूको कम्प्युटर मर्मत गरिदिएको चाहन्छन् भनी बताउँथिन्, मेरो सिप राम्रो भएकाले, उनीहरू म फर्केपछि ती कम्प्युटर बनाइदिन्छु भनी पर्खिरहेका छन् भनेर भनिन्। यो सुनेपछि, ब्रदर-सिस्टरहरूले मलाई भरोसा गर्दा रहेछन् भन्ने झनै मलाई लाग्यो, अनि म कर्तव्यहरूमा व्यस्त भए पनि, म उनीहरूको कम्प्युटरका समस्याहरूमा मद्दत गर्न प्राथमिकता दिन्थेँ।

मार्च २०२४ मा, म नयाँ विश्वासीहरूलाई मलजल गर्न आफ्नो गृहनगर फर्केँ। तर मैले भर्खरै तालिम सुरु गरेको हुनाले, उनीहरूले सामना गरेका केही समस्या र कठिनाइहरू कसरी हल गर्ने भनेर मलाई थाहा थिएन, र म दर्शनसम्बन्धी सत्यताहरूले अझ बढी सुसज्जित हुनुपर्थ्यो। ब्रदर-सिस्टरहरूलाई म फर्केको थाहा भयो, त्यसैले उनीहरूको कम्प्युटरमा समस्या आउँदा, उनीहरू सबै समाधानका लागि मकहाँ आइरहे। एकदिन, जब म नयाँ विश्वासीहरूका समस्याहरू बुझ्न खोजी गरिरहेको र आफूलाई सत्यताले सुसज्जित पारिरहेको, अर्को भेलामा नयाँ विश्वासीहरूसँग सङ्गति गर्ने तयारी गरिरहेको थिएँ, तब एकजना ब्रदर मकहाँ आएर उनको कम्प्युटरमा समस्या छ र त्यो ठिक गरिदिनुहोस् न भनेर भने। मलाई अलि अप्ठ्यारो लाग्यो, र मैले मनमनै सोचेँ, “नयाँ विश्वासीहरूका समस्याहरू तत्काल हल गर्नुपर्छ, अनि मैले अझै दर्शनसम्बन्धी सत्यताहरूले आफूलाई सुसज्जित गर्नुपर्छ। समय कम छ, तर यदि मैले सोझै इन्कार गरेँ भने, के यी ब्रदर निराश हुनुहुनेछैन र? के उनले ममा प्रेम छैन भन्दै मलाई नराम्रो ठान्नेछैनन् र?” त्यसैले मैले मेरा कर्तव्यहरू पन्छाएँ र कम्प्युटरको समस्या सम्हाल्न ब्रदरसँग गएँ, त्यो समस्या ठिक गरिसक्दा रातको एघार वा बाह्र बज्यो। भोलिपल्ट मध्याह्नतिर, उनी फेरि हतारिँदै आए, र कम्प्युटरमा फेरि समस्या आइरहेको छ भनेर भने र मलाई त्यो हेरिदिन आग्रह गरे। सुरुमा त मलाई मसँग समय छैन र अरू कसैलाई त्यो ठिक गर्न लगाउनू भन्ने मन थियो, तर शब्दहरू घाँटीमै अड्किए। मैले सोचेँ, “उनी मलाई म कम्प्युटर ठिक गरिदिन्छु भनेर भरोसा गर्छन्। म कसरी उनलाई निराश भएर जान दिन सक्छु र?” त्यसैले मैले फेरि एकपटक कम्प्युटर मर्मत गर्न आफ्ना कर्तव्यहरू पन्छाएँ। राम्ररी जाँच र मर्मत गरेपछि, कम्प्युटर सामान्य रूपमा प्रयोग गर्न सकिने भयो। ती ब्रदरले खुसी हुँदै भने, “तपाईँ यहाँ हुँदा, म निश्चिन्त हुन्छु।” यो सुनेर मलाई एकदमै खुसी लाग्यो, र ब्रदर-सिस्टरहरूले मलाई उच्च सम्मान गर्दा रहेछन् र म उनीहरूको नजरमा भरपर्दो व्यक्ति रहेछु भन्ने मलाई लाग्यो। तर मैले ती ब्रदरलाई कम्प्युटर मर्मत गर्न मद्दत गरेकाले गर्दा, आफूलाई सुसज्जित गर्नुपर्ने दर्शनसम्बन्धी सत्यताहरूले सुसज्जित गरेको थिइनँ, नयाँ विश्वासीहरूका समस्याहरू समयमै समाधान भएनन्, र मलाई अलि दोषी महसुस भयो, मैले सोचेँ, “मैले ती ब्रदरको आवश्यकता पूरा गरे पनि, आफ्नै कर्तव्यहरूमा ढिलाइ गरेँ। के मैले गरेको कुरा परमेश्‍वरको अभिप्रायअनुरूप थियो?” अर्कोपटक, एउटी सिस्टरले बिहान सबेरै मेरो घरमा आएर, उनको कम्प्युटरमा इन्टरनेट राम्ररी जोड्न सकिएन भनेर भनिन्, र मलाई त्यो चेक गरिदिन आग्रह गरिन्। उनले म अब फर्केको हुनाले उनको कम्प्युटर ठिक गर्न मलाई लगाउन अझ सजिलो भयो भनेर भनिन्। मलाई अलि अप्ठ्यारो लाग्यो, सोचेँ, “हाल अगुवाहरूले काम जाँच गरिरहेका छन्, अनि उनीहरूले मलजल गर्न म जिम्मेवार रहेका कतिपय नयाँ विश्वासीमा केही अनसुल्झा धारणा र समस्या छन् भनेर पत्ता लगाएका छन्। उनीहरूले मलाई दर्शनसम्बन्धी सत्यताहरूले छिटो आफूलाई सुसज्जित पार्न आग्रह गरिरहेका छन्, अनि नयाँ विश्वासीहरूका समस्याहरू तत्कालै हल गर्नुपर्छ; मैले ती सिस्टरको कम्प्युटर ठिक गर्ने समय कसरी निकाल्नु? त्यसबाहेक, ती सिस्टरलाई कम्प्युटर तुरुन्तै आवश्यक छैन, अनि यो समस्या त कम्प्युटर मर्मतका विशेषज्ञ ब्रदर-सिस्टरहरूलाई जिम्मा दिन पनि सकिन्छ।” म ती सिस्टरलाई नाइँ भन्न चाहन्थेँ, तर मैले त्यसो भन्नै सकिनँ, सोचेँ, “ती सिस्टर खुसी हुँदै मलाई खोज्न आइन्। यदि मैले इन्कार गरेँ भने, के उनी साँच्चै निराश हुनेछैनन् र? त्यसपछि उनले मलाई के सोच्लान्?” त्यसैले, म उनको कम्प्युटर ठिक गर्नमा सहयोग गर्न गएँ, र अन्त्यमा मर्मत गरिसक्दा रातको दस बज्यो। मैले ती सिस्टरलाई उनको कम्प्युटर ठिक गर्न सघाएकाले, नयाँ विश्वासीहरूका समस्याहरूबारे मनन गर्ने समय पाइनँ, त्यसैले, भेलामा त्यति राम्रो परिणाम आएन। यसरी, हरेकपटक ब्रदर-सिस्टरहरू मद्दतका लागि आउँदा, म सधैँ उनीहरूको कम्प्युटर मर्मत गर्न आफ्नो मुख्य काम पन्छाउँथेँ। यसले मेरा आफ्नै कर्तव्यमा गम्भीर रूपले ढिलाइ गऱ्यो भन्ने मलाई थाहा भए पनि, जबजब उनीहरू मकहाँ आउँथे, म इन्कार गर्न सधैँ अप्ठ्यारो मान्थेँ।

मैले आफ्नी श्रीमतीसँग आफ्नो स्थितिबारे खुला रूपमा कुरा गरेँ र सङ्गति गरेँ, अनि उनले मलाई एउटा अनुभवात्मक गवाहीको भिडियो हेर्न लगाइन्। त्यसमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’—यो एउटा अत्यावश्यक नैतिक आचरण हो, जुन हरेकमा उसको परिवार वा समाजले हालिदिएको हुन्छ। यदि तँसँग यो नैतिक आचरण छ भने, मानिसहरूले तँलाई उच्च, सम्माननीय, र निष्ठावान् भन्‍नेछन्, र समाजमा तँलाई आदर र उच्च सम्मान गरिनेछ। ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ वाक्यांश मानिसहरूबाट, शैतानबाट आउने हुनाले, यो हामीले चिरफार गर्नुपर्ने र खुट्ट्याउनुपर्ने वस्तु हो, र अझ भन्नुपर्दा हामीले त्याग्नुपर्ने वस्तु हो। हामीले यस वाक्यांशलाई किन खुट्ट्याउनुपर्छ र त्याग्नुपर्छ? पहिले हामी यो वाक्यांश सही छ कि छैन र यो वाक्यांशलाई मूर्त रूप दिने प्रकारको व्यक्ति हुनु सही हो कि होइन भनी जाँच गरौँ। ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ भन्‍ने वाक्यांशअनुसार जिउन सक्ने, र यस प्रकारको नैतिक चरित्र भएको व्यक्ति हुनु के साँच्चै उच्च कुरा हो? के त्यस्तो व्यक्तिसँग सत्यता वास्तविकता हुन्छ? के ऊसँग परमेश्‍वरले भन्नुभएझैँ सृजित प्राणीहरूमा हुनुपर्ने मानवता, र तिनीहरूले पालन गर्नुपर्ने आत्म-आचरणका सिद्धान्तहरू हुन्छन्? के तिमीहरू सबै ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ भन्‍ने वाक्यांश बुझ्छौ? पहिले तिमीहरूका आफ्नै शब्दहरूमा यो वाक्यांशको अर्थ के हो भनी व्याख्या गर। (यसको अर्थ के हो भने, जब कसैले तँलाई कुनै काम सुम्पन्छ, तब तैँले त्यो पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन।) त्यसोभए के तैँले साँच्चै त्यसरी नै कार्य गर्नुपर्छ? ‘तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू’ भन्‍ने वाक्यांशको अर्थ के हो भने, यदि कसैले तँलाई कुनै काम सुम्पन्छ भने, यसको अर्थ ऊ तँलाई उच्च ठान्छ, तँमाथि विश्‍वास गर्छ, र तँलाई विश्‍वसनीय ठान्छ, र त्यसैले, त्यस व्यक्तिले तँलाई जे गर्न भने पनि, तँ सहमत हुनुपर्छ, र त्यो उसका मागहरूअनुसार राम्ररी र उचित रूपमा गर्नुपर्छ, र उसलाई खुसी पार्नुपर्छ र सन्तुष्ट पार्नुपर्छ—तब तँ एक असल व्यक्ति होस्। यसको तात्पर्य तँ असल व्यक्ति होस् कि होइनस् भनी निर्धारण गर्ने मानक भनेको तँलाई काम सुम्पने व्यक्ति सन्तुष्ट छ कि छैन भन्‍ने हो। के यसलाई यसरी व्याख्या गर्न सकिन्छ? (सकिन्छ।) त्यसोभए अरूको नजरमा असल व्यक्ति हुन र समाजद्वारा त्यस्तो रूपमा चिनिन सजिलो छैन र? (छ।) यो ‘सजिलो’ छ भनी भन्‍नुको अर्थ के हो? यसको अर्थ मापदण्ड अत्यन्तै तल्‍लो स्तरको छ र उच्च नैतिकतायुक्त छैन भन्‍ने हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले म बाल्यकालदेखि नै बुबाद्वारा कसरी प्रभावित भएको थिएँ भनेर सोचेँ। मैले के देखेँ भने, गाउँलेहरू मद्दतका लागि मेरा बुबाकहाँ आउँदा, उहाँ अरूका मामिलाहरू राम्ररी सम्हाल्न बरु आफ्नै पारिवारिक मामिलाहरू पन्छाउनुहुन्थ्यो, अन्ततः उहाँले वरपरका मानिसहरूको भरोसा जित्नुभयो। त्यसैले, म “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू” भन्ने विचारअनुसार आफूलाई आचरणमा ढाल्दा व्यक्ति भरपर्दो र असल बन्छ भन्ने सोच्थेँ। मलाई विद्युतीय उपकरणहरू मर्मत गर्न मन पर्ने भएकाले, जबजब जोकोहीको बत्ती, रेडियो, टिभी वा अन्य उपकरणहरू बिग्रन्थ्यो, तबतब यदि उनीहरू मकहाँ आए भने ती सामानहरू मर्मत गर्न म सधैँ सक्दो प्रयास गर्थेँ। मप्रतिको अरूको भरोसाअनुरूप जिउने एकमात्र तरिका यही हो भनी म विश्वास गर्थेँ। अरूका सामानहरू ठिक गर्दैपिच्छे अनि उनीहरूको प्रशंसा र धन्यवाद सुन्दैपिच्छे, मलाई साह्रै खुसी लाग्थ्यो, अनि उनीहरूको हृदयमा म भरपर्दो र असल व्यक्ति हुँ भन्ने मलाई महसुस हुन्थ्यो। परमेश्‍वरमा विश्वास गरेपछि, म अझै यस दृष्टिकोणअनुसार जिएँ। म नयाँ विश्वासीहरूलाई मलजल गरिरहेको थिएँ, अनि मैले भर्खरै तालिम सुरु गरेकाले ममा धेरै कमी थिए र म कतिपय सत्यताबारे स्पष्ट रूपमा सङ्गति गर्न सक्दिनथेँ, त्यसैले म दर्शनसम्बन्धी सत्यताले थप सुसज्जित हुनु आवश्यक थियो, किनकि त्यसपछि मात्र म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्थेँ। तर, मैले आफ्नो मुख्य काममा प्रयास लगाइनँ। जब ब्रदर-सिस्टरहरू कम्प्युटरको समस्या लिएर मद्दतका लागि मकहाँ आउँथे, तब म उनीहरूलाई निराश नपार्न र उनीहरूमा भएको मेरो राम्रो छवि कायम राख्न, म उनीहरूका कम्प्युटरका समस्याहरूमा मद्दत गर्न तुरुन्तै आफ्ना कर्तव्यहरू पन्छाउँथेँ। नतिजास्वरूप, मैले नयाँ विश्वासीहरूका समस्याहरूसँग सम्बन्धित सत्यताहरू खोजिनँ वा आफूलाई त्यसले सुसज्जित पारिनँ, अनि भेलाहरूले राम्रा परिणामहरू हासिल गरेनन्। म “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू” भन्ने दृष्टिकोणद्वारा नियन्त्रित थिएँ, र सधैँ ब्रदर-सिस्टरहरू मेरा बारेमा के सोच्छन् भनेर विचार गर्थेँ, अनि आफ्नो कर्तव्यलाई भन्दा ज्यादा मानिसहरूले मलाई सुम्पेको कुरालाई महत्त्व दिन्थेँ। म आफ्नो कर्तव्य पूरा गर्न असफल भइरहेको थिएँ। म कसरी आफूलाई असल व्यक्ति भन्न सक्थेँ र?

पछि मैले मनन गरेँ, “किन म अरूको अनुरोधलाई अस्वीकार गर्नुभन्दा बरु आफ्नो कर्तव्यलाई रोकावट दिन रुचाउँछु? यो कस्तो प्रकारको समस्या हो?” त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “कतिपय मानिसहरू भन्छन्, ‘“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्ने” मानिसहरूमध्ये, अरूको बेफाइदाबाट फाइदा लिन नखोज्‍नेहरू पनि धेरै हुन्छन्। तिनीहरूले राम्ररी काम गर्न सक्दो प्रयास गर्छन्, र ती मानिसहरूमा साँच्‍चै नै यो नैतिक आचरण हुन्छ।’ यो अभिव्यक्ति गलत छ। तिनीहरूले धन, भौतिक सम्पत्ति, वा कुनै फाइदा खोज्दैनन् भने पनि प्रसिद्धि त अवश्यै खोज्छन्। यो ‘प्रसिद्धि’ के हो? यसको अर्थ, ‘मैले मानिसहरूको काम गर्न तिनीहरूको भरोसा जितेको छु। मलाई काम सुम्पिने व्यक्ति साथमा भए नि नभए नि, मैले यसलाई राम्ररी पूरा गर्न सक्दो गरेँ भने, मेरो प्रतिष्ठा राम्रो हुनेछ। कम्तीमा पनि केही मानिसहरूले म असल व्यक्ति हुँ, उच्च चरित्र भएको, र अनुकरणलायक व्यक्ति हुँ भनी थाहा पाउनेछन्। मैले मानिसहरूमाझ स्थान लिन सक्छु र मानिसहरूको समूहमा राम्रो छाप बसाल्न सक्छु। यो सार्थक पनि छ!’ अरू मानिसहरू भन्छन्, ‘“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर,” र मानिसहरूले हामीलाई काम सुम्पेका हुनाले, तिनीहरू साथमा भए नि नभए नि, हामीले तिनीहरूको काम राम्ररी सम्हाल्नुपर्छ र अन्तिमसम्‍मै यसमा लागिरहनुपर्छ। हामीले दीर्घकालीन छाप छोड्न नसके नि, कम्तीमा तिनीहरूले हामीमा विश्‍वसनीयता छैन भनेर कुरा काट्न सक्दैनन्। हामीले भावी पुस्तालाई यस्तो पक्षपात र गम्भीर अन्याय हुन दिनु हुँदैन।’ तिनीहरूले के खोजिरहेका हुन्छन्? तिनीहरूले अझै प्रसिद्धि खोजिरहेका हुन्छन्। कतिपय मानिसहरूले धन र सम्पत्तिलाई ठूलो महत्त्व दिन्छन्, र अरूले प्रसिद्धिलाई महत्त्व दिन्छन्। ‘प्रसिद्धि’ भनेको के हो? मानिसहरूमाझ ‘प्रसिद्धि’ का खास अभिव्यक्तिहरू के-के हुन्? यो असल व्यक्ति र उच्‍च नैतिक चरित्रवान्, सिद्ध, सद्‌गुणी वा सन्त भनेर चिनिनु हो। कतिपय मानिसहरू एउटा मामलामा ‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्न’ सफल भएकाले र तिनीहरूमा यस्तो नैतिक चरित्र हुने हुनाले, तिनीहरूलाई निरन्तर तारिफ गरिन्छ, र तिनीहरूको प्रसिद्धिबाट तिनीहरूका सन्तानले फाइदा पाउँछन्। हेर् त, त्यो कुरा तिनीहरूले अहिले प्राप्त गर्नेभन्दा बढी बहुमूल्य छ। त्यसकारण, ‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्नुपर्ने’ तथाकथित नैतिक मापदण्ड पालना गर्ने जोकोहीको सुरुवात बिन्दु नै सरल हुँदैन। तिनीहरूले व्यक्तिको रूपमा आफ्‍नो दायित्व र जिम्‍मेवारी पूरा गर्ने प्रयास मात्रै गरिरहेका हुँदैनन्, बरु तिनीहरूले कि त व्यक्तिगत फाइदा कि त प्रतिष्ठाका लागि, कि त यो जीवन कि त आउँदो जीवनका लागि यो मापदण्ड पालना गरिरहेका हुन्छन्। अवश्‍य नै, अरूले आफ्‍नो कुरा काट्ने र बदनाम हुने अवस्थाबाट जोगिन चाहनेहरू पनि छन्। छोटकरीमा भन्दा, यस्तो कुरा गर्ने मानिसहरूको सुरुवात बिन्दु नै सरल हुँदैन, यो वास्तवमा मानवताको दृष्टिकोणबाट हुने सुरुवात बिन्दु होइन, न त यो मानवजातिको सामाजिक जिम्‍मेवारीबाट हुने सुरुवात बिन्दु नै हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। “अर्को कारण के हो भने, कुनै पनि सामाजिक समुदाय वा समूहमा, मानिसहरू आफूलाई अरूले उच्‍च नैतिक चरित्र भएको, असल, प्रतिष्ठित, भरोसायोग्य र काम सुम्पनयोग्य व्यक्ति भनून् भन्‍ने चाहन्छन्। तिनीहरू सबै अरूलाई उच्च ठान्न लगाउन, र अरूलाई तिनीहरू इज्‍जतदार व्यक्ति हुन्, र निर्दयी वा पराया नभई भावना र बफादारी भएका हाडमासुले नै बनेका मानिस हुन् भन्ठान्न लगाउन यस्तो छवि स्थापित गर्न चाहन्छन्। यदि तँ समाजमा घुलमिल भएर तिनीहरूद्वारा स्विकारिन र तिनीहरूको मान्यता पाउन चाहन्छस् भने, तैँले पहिले तिनीहरूलाई आफूलाई उच्‍च नैतिक चरित्र, इज्‍जत र विश्‍वसनीयता भएको व्यक्तिका रूपमा स्विकार्न लगाउनैपर्छ। त्यसैले, तिनीहरूले तँलाई जे-जस्तो अनुरोध गरे पनि, तँ तिनीहरूलाई सन्तुष्ट र खुसी पार्न सक्दो प्रयास गर्छस्—त्यसपछि, तैँले तँ उच्‍च नैतिक चरित्र भएको भरोसायोग्य व्यक्तिका रूपमा तिनीहरूबाट प्रशंसा पाउँछस्, र सबै जना तँसँग सङ्गत गर्न चाहन्छन्। यसरी तैँले आफ्‍नो जीवनमा आत्म-मूल्य अनुभूति गर्छस्। यदि तँ समाजको, भीडको, र तेरा सहकर्मी र मित्रहरूको मान्यता पाउन सक्छस् भने, तैँले निकै तृप्त र सन्तुष्ट जीवन जिउनेछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। परमेश्‍वरका वचनहरूले समस्याको जड खुलासा गरिदिए। जब मानिसहरू “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्न” सक्षम हुन्छन्, तब यो उनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहने भएकाले होइन, तर राम्रो प्रतिष्ठा प्राप्त गर्न चाहने भएकाले हो। आत्मचिन्तन गर्दा, मैले म बाल्यकालदेखि नै मेरा बुबाद्वारा प्रभावित भएको थिएँ भनेर बुझेँ। जबजब जोकोहीका उपकरणहरू बिग्रन्थे र उनीहरूले मलाई मद्दत माग्थे, तबतब म सधैँ राजी हुन्थेँ। म यो सब गाउँमा मेरो राम्रो नाम होस् र अरूले मेरो प्रशंसा गरून् भनेर गर्थेँ। आफ्नो कर्तव्य निर्वाह गर्न थालेपछि, जबजब ब्रदर-सिस्टरहरू कम्प्युटरको समस्या लिएर मकहाँ आउँथे, तबतब मलाई म आफ्नो कर्तव्यमा जतिसुकै व्यस्त भए पनि नाइँ भन्न मन लाग्दैनथ्यो। विशेष गरी, जब ब्रदर-सिस्टरहरूले मर्मत गर्ने मेरो सीप राम्रो छ भन्थे, तब मलाई साँच्चै सन्तुष्टि मिल्थ्यो, यो उनीहरूले मलाई भरोसा गरिरहेको हो भन्ने सोच्थेँ। ब्रदर-सिस्टरहरूको हृदयमा राम्रो छवि कायम राख्न, नयाँ विश्वासीहरूका समस्याहरू अझै हल भएका छैनन् र दर्शनसम्बन्धी सत्यता मलाई अझै स्पष्ट नभएकाले मैले आफूलाई सुसज्जित गर्नुपर्छ भन्ने मलाई राम्ररी थाहा भए पनि, जब ब्रदर-सिस्टरहरू कम्प्युटरका लागि मद्दत माग्न आउँथे, तब मलाई इन्कार गर्न मन लागे पनि, म एक शब्द भन्न सक्दिनथेँ किनभने उनीहरू निराश होलान्, उनीहरूले मलाई वास्ता नगर्ने व्यक्ति ठान्लान्, र उनीहरूमा मेरो नराम्रो छाप पर्ला भनेर डराउँथेँ। वास्तवमा, यदि उनीहरूलाई कम्प्युटरको तुरुन्तै आवश्यकता परेको भए, मैले कहिलेकाहीँ तिनका समस्याहरू हल गर्न मद्दत गर्नु ठिकै हुनेथ्यो, तर कतिपयलाई कम्प्युटरको तत्काल आवश्यकता थिएन र उनीहरूले तिनलाई कम्प्युटर मर्मत गर्ने ब्रदर-सिस्टरहरूलाई सुम्पन सक्थे। तर मैले उनीहरूलाई निराश पार्न नचाहेकाले, कर्तव्यमा असर परे पनि म सधैँ राजी हुन्थेँ, अनि नतिजास्वरूप मेरा कर्तव्यहरूमा अवरोध पुग्थ्यो। मैले आफ्नै ख्याति र प्राप्तिलाई धेरै महत्त्व दिएँ, अनि अरूको हृदयमा राम्रो छवि कायम राख्न र अरूलाई म भरपर्दो र प्रेमिलो असल व्यक्ति हुँ भनी सोच्न लगाउनकै लागि आफ्नो कर्तव्यमा ढिलाइ गर्न रुचाएँ। म साँच्चै स्वार्थी र घृणास्पद थिएँ! कर्तव्य भनेको परमेश्‍वरले मानिसलाई दिएको आज्ञा हो। यो सृजित प्राणीले अरू सबैभन्दा माथि राखेर पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मैले मानिसहरूले मलाई सुम्पेका कुराहरूलाई आफ्नो कर्तव्यभन्दा बढी महत्त्वपूर्ण ठानेँ। अरूले मलाई सुम्पेका मामिलाहरू जतिसुकै गाह्रो वा समय खाने भए पनि, मैले तिनलाई राम्ररी गर्न सक्दो प्रयास गरेँ, परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरिकाले आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भन्नेबारे सोचिनँ। मैले मानिसहरूको हृदयमा राम्रो छवि कायम गरेँ, तर परमेश्‍वरको नजरमा, म आफ्नो कर्तव्यलाई हल्का रूपमा लिने, त्यसलाई बफादारी वा विश्वसनीयताविना निर्वाह गर्ने व्यक्ति बनेको थिएँ। मैले साँच्चै आफ्ना प्राथमिकताहरूलाई गोलमाल गरिरहेको थिएँ र महत्त्वपूर्ण कुरालाई भन्दा अमहत्त्वपूर्ण कुरालाई प्राथमिकता दिइरहेको थिएँ! परमेश्‍वरले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने मौका दिएर मलाई अनुग्रह गर्नुभयो, मैले उनीहरूका विभिन्न धारणा र समस्याहरू हल गर्न सत्यता खोज्नेछु, उनीहरूलाई परमेश्‍वरको काम जान्न र साँचो मार्गमा सुरुमै जरा गाड्न सक्षम बनाउनेछु भनेर आशा गर्नुभयो। मैले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्थ्यो, र परिस्थिति जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्थ्यो।

पछि मैले फेरि मनन गरेँ, “अरूले मलाई सुम्पेका कुराहरूलाई मैले कसरी लिनुपर्छ?” खोजी गर्दा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “यदि तँलाई सुम्पिएका कार्यहरूले तेरो त्यति धेरै समय र ऊर्जा लिँदैनन्, र ती तेरो क्षमताको सीमाभित्र पर्छन् भने, वा यदि तँसँग सही वातावरण र अवस्था छ भने, मानव विवेक र समझको आधारमा तँ अरूका लागि आफूले गर्न सक्ने दायराभित्रका केही कुरा गर्न र तिनीहरूका केही यथोचित र उचित माग पूरा गर्न सक्छस्। तर, यदि तँलाई सुम्पिएका कार्यहरूले तेरो धेरै समय र ऊर्जा लिन्छन्, र तेरो धेरै समय चोरेर लान्छन्, यहाँसम्‍म कि तिनले तँलाई तेरो जीवन, र यो जीवनका तेरा जिम्‍मेवारी र दायित्वहरूको बलि चढाउन लगाउँछन्, र अनि सृजित प्राणीका रूपमा तैँले निर्वाह गर्नुपर्ने कर्तव्यहरू नै व्यर्थ हुन्छन् र प्रतिस्थापन गरिन्छन् भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई इन्कार गर्नुपर्छ किनभने यो तेरो जिम्‍मेवारी वा दायित्व होइन। व्यक्तिको जीवनका जिम्‍मेवारी र दायित्वहरूको कुरा गर्दा, आमाबुबाको हेरचाह गर्ने र बालबच्‍चा हुर्काउने, अनि समाज र कानुनको मातहतमा रही सामाजिक जिम्‍मेवारीहरू पूरा गर्नेबाहेक, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले आफ्नो ऊर्जा, समय र जीवन सृजित प्राणीको कर्तव्य निर्वाह गरेर बिताउनुपर्छ, कुनै पनि मानिसले सुम्पिएको कार्यमा आफ्नो समय र ऊर्जा सकाउनु हुँदैन। यस्तो किन हुनुपर्छ भने, परमेश्‍वर व्यक्तिले अन्य कुनै मानवका खातिर कामकुरा गर्न वा जिम्मेवारीहरू पूरा गर्नका लागि उसलाई सृष्टि गर्ने, उसलाई जीवन दिने, र उसलाई संसारमा ल्याउने गर्नुहुन्न। मानिसहरूले अन्य सबै कुराभन्दा माथि परमेश्‍वरको आज्ञा नै स्विकार्नुपर्छ। परमेश्‍वरको आज्ञा मात्रै सच्‍चा आज्ञा हो; तँलाई अर्को मानवले सुम्पिएको कार्य स्वीकार गर्नु भनेको आफ्ना उचित कर्तव्यहरूलाई बेवास्ता गर्नु हो। तँलाई कुनै काम सुम्पेर त्यो कामको लागि तेरो बफादारी, ऊर्जा, समय, वा तेरो जवानी र सारा जीवन समर्पित गर्न लगाउन कोही योग्य हुँदैन। परमेश्‍वरसँग मात्र मानिसहरूलाई सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्न लगाउने हक छ। किन यस्तो हो? यदि तँलाई कुनै पनि व्यक्तिले सुम्पिएको कार्यका लागि तेरो धेरै समय र ऊर्जा लाग्छ भने, यसले तँलाई सृजित प्राणीका रूपमा तेरो कर्तव्य निर्वाह गर्नमा रोकटोक गर्छ, र यसले तँलाई जीवनको सही मार्ग पछ्याउनमा समेत रोकटोक गर्न, र तेरो जीवनको दिशा र उद्देश्य परिवर्तन गर्न सक्छ। यो असल कुरा होइन, यो त प्रकोप हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग औँल्याइदिए। यस जीवनमा, हामीले सबैभन्दा बढी स्वीकार गर्नुपर्ने कुरा परमेश्‍वरको आज्ञा हो, जसलाई हामीले पूर्ण हृदय र मनले पूरा गर्नुपर्छ। अरूले हामीलाई सुम्पेका कुराहरूको हकमा भन्दा, तिनले हाम्रो समय अत्यन्तै धेरै लिन्छन् कि लिँदैनन्, र तिनले हाम्रो मुख्य कर्तव्यमा रोकावट दिन्छन् कि दिँदैनन् भनेर हामीले विचार गर्नुपर्छ। यदि तिनले धेरै समय लिँदैनन् र हामी हाम्रो कर्तव्यमा अत्यन्तै व्यस्त छैनौँ भने, हामी मानव विवेक र समझका आधारमा, तिनलाई हल गर्न मद्दत गर्न सक्छौँ। तर, यदि अरूलाई मद्दत गर्दा हाम्रो मुख्य कर्तव्यमा असर पुग्नेछ भने, हामीले इन्कार गर्नुपर्छ, र हामी “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू” भन्ने परम्परागत सांस्कृतिक विचारको बन्धनमा पर्नु हुँदैन। तर, विगतमा अरूले सुम्पेका कामहरूलाई कसरी लिने भनेर मसित सिद्धान्तहरू थिएनन्। जसले मद्दत मागे पनि, म तिनीहरूलाई कहिल्यै नाइँ भन्दिनथेँ, र नतिजास्वरूप आफ्नै कर्तव्यमा रोकावट पुऱ्याउँथेँ। मेरा ब्रदर-सिस्टरहरूलाई कम्प्युटर मर्मत गर्न सघाउनु कुनै गलत कुरा नभए पनि, यदि यसले धेरै समय लिन्छ र मेरो कर्तव्यमा ढिलाइ गराउँछ भने, मैले इन्कार गर्नुपर्छ र ब्रदर-सिस्टरहरूलाई अवस्था बताउनुपर्छ; उनीहरूले कुरा बुझ्नेछन्। मैले सधैँ अरूले मलाई कसरी हेर्छन् भनेर विचार गर्नु हुँदैन, बरु परमेश्‍वरका वचन र सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ।

एक रात, दुई जना ब्रदरले मेरो घरमा आएर एउटा नयाँ कम्प्युटर अन नै हुँदैन र मैले त्यो हेरिदिनुपऱ्यो भनेर भने। मलाई अप्ठ्यारो लाग्यो, सोचेँ, “मैले नसकाएका केही जरुरी काम अझै छन्, र यदि म उनीहरूको कम्प्युटर ठिक गर्न मद्दत गर्न राजी भएँ भने, यसले निश्चय नै मलाई धेरै ढिलो गराउनेछ, तर यदि मैले सोझै इन्कार गरेँ भने, उनीहरूले मलाई के सोच्नेछन्? उनीहरू खुसी हुँदै आए, तर निराश भएर फर्कनेछन्। के मैले उनीहरूमा आफ्नो नराम्रो छाप छोड्नेछैनँ र?” म फेरि अरूको हृदयमा आफ्नो हैसियत र छविलाई विचार गर्दै छु भनेर मैले बुझेँ, त्यसैले मैले चुपचाप परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, सिद्धान्तअनुसार अभ्यास गर्न र आफ्नो कर्तव्यलाई प्राथमिकता दिन मार्गदर्शन मागेँ। मैले आफूले पढेका परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “यदि तँलाई सुम्पिएका कार्यहरूले तेरो त्यति धेरै समय र ऊर्जा लिँदैनन्, र ती तेरो क्षमताको सीमाभित्र पर्छन् भने, वा यदि तँसँग सही वातावरण र अवस्था छ भने, मानव विवेक र समझको आधारमा तँ अरूका लागि आफूले गर्न सक्ने दायराभित्रका केही कुरा गर्न र तिनीहरूका केही यथोचित र उचित माग पूरा गर्न सक्छस्। तर, यदि तँलाई सुम्पिएका कार्यहरूले तेरो धेरै समय र ऊर्जा लिन्छन्, र तेरो धेरै समय चोरेर लान्छन्, यहाँसम्‍म कि तिनले तँलाई तेरो जीवन, र यो जीवनका तेरा जिम्‍मेवारी र दायित्वहरूको बलि चढाउन लगाउँछन्, र अनि सृजित प्राणीका रूपमा तैँले निर्वाह गर्नुपर्ने कर्तव्यहरू नै व्यर्थ हुन्छन् र प्रतिस्थापन गरिन्छन् भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई इन्कार गर्नुपर्छ किनभने यो तेरो जिम्‍मेवारी वा दायित्व होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१४))। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमार्फत्, मैले अभ्यासको मार्ग भेट्टाएँ। मैले पहिले कम्प्युटरमा के समस्या छ भनेर हेर्नुपर्थ्यो, र यदि त्यसले अत्यन्तै धेरै समय लिँदैन र सामान्य मामिला हो भने, म त्यो सम्हाल्न मद्दत गर्नेथिएँ। तर यदि त्यो ठिक गर्न लामो समय लाग्ने ठूलो समस्या हो भने, म उनीहरूलाई कम्प्युटर मर्मत गर्ने ब्रदर-सिस्टरहरूकहाँ जान लगाउनेथिएँ। त्यसैले मैले समस्या जाँच्न कम्प्युटर अन गरेँ, र सिस्टममा समस्या भएको पाएँ। यो तत्कालै ठिक हुने कुरा थिएन, त्यसैले मैले ती ब्रदरहरूलाई म आफ्नो कर्तव्यमा व्यस्त छु र मसँग त्यो ठिक गर्ने समय छैन भनेर भनेँ, अनि मैले उनीहरूलाई मद्दतका लागि अन्य ब्रदर-सिस्टरहरूकहाँ जान लगाएँ। यो सुनेपछि उनीहरू राजी भए। जब मैले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेँ, तब ब्रदरहरूले मैले कल्पना गरेजस्तो मबारे कुनै प्रकारको नकारात्मक दृष्टिकोण राखेनन्, र मलाई एकदमै लाज लाग्यो।

यस अनुभवमार्फत्, मैले “तिमीलाई सुम्पिएको कुरा निष्ठापूर्वक पूरा गर्नू” भन्ने परम्परागत सांस्कृतिक विचारबारे खुट्ट्याइ प्राप्त गरेँ, अनि मानिसहरूले सुम्पने कुरा राम्ररी गर्दैमा व्यक्ति साँचो रूपमा असल व्यक्ति बन्दैन भनेर पनि बुझेँ। परमेश्‍वरलाई सन्तुष्ट पार्न सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य पूरा गरेर मात्र व्यक्ति साँचो रूपमा असल व्यक्ति बन्छ। अब म इज्जत जोगाउने कुरा त्याग्न नसकेर सधैँ अरूलाई हुन्छ भन्ने बाध्यता महसुस गर्दै आफ्नो कर्तव्य ढिला गर्दिनँ। यो परिवर्तन र बुझाइ परमेश्‍वरका वचनहरूको मार्गदर्शनको नतिजास्वरूप आएको हो। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो:  ८१. परिवारका सदस्यहरूलाई निकालिँदा सिकेको पाठ

अर्को:  ८३. के मेरी छोरीप्रतिको मेरो प्रेम साँचो हो

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger