९६. पैसा, ख्याति र प्राप्तिको भुमरीबाट बाहिर निस्कनु
म एउटा साधारण श्रमिक परिवारमा जन्मिएको थिएँ। मेरा आमाबुबा कुनै विशेष क्षमता नभएका निष्कपट र कर्तव्यनिष्ठ मानिसहरू हुनुहुन्थ्यो, त्यसैले हाम्रा नातेदार र साथीभाइहरूले उहाँहरूलाई हेप्थे। म मनमनै सोच्थेँ, “म मेरा आमाबुबा जस्तै औसतस्तरको जीवन जिउन र अरूबाट हेपिएर बस्न सक्दिनँ। म सफलता हासिल गर्न र आफ्नो भविष्य बनाउन कडा सङ्घर्ष गर्नेछु। म सबैको आकर्षणको केन्द्र बन्न र मेरो कुरा निस्कँदा सबैले मेरो तारिफ गरून् भन्ने चाहन्छु।”
सन् २०१७ मा, कलेजबाट स्नातक गरेपछि म एउटा घरजग्गा कम्पनीमा प्रोपर्टी कन्सल्टेन्टको रूपमा आबद्ध भएँ। त्यतिबेला घरजग्गाको कारोबार फस्टाइरहेको थियो, र प्रशिक्षार्थीको रूपमा काम गरेको पहिलो महिनामै मैले सजिलै तीनवटा घर बेचेँ। एउटा घर बेच्दा आउने बोनस र कमिसन मेरा सहपाठीहरूको एक महिनाको तलब बराबर हुन्थ्यो, अनि म मनमनै सोच्थेँ, “मैले स्नातक गर्नेबित्तिकै यति धेरै कमाइ हुने जागिर पाएको छु। मेरा सबै सहपाठीमध्ये मैले नै सबैभन्दा राम्रो गरिरहेको छु। दुई वर्षपछि, जब म अझै धेरै पैसा कमाउनेछु, तब मेरा सहपाठी र साथीभाइहरूले मेरो तारिफ गर्नेछन्।” मार्च २०१८ मा, घरजग्गाको भाउ फेरि बढ्यो, र मानिसहरूमा घर किन्ने उत्साह एक्कासि ह्वात्तै बढ्यो। मेरा सहकर्मी र यस क्षेत्रका धेरै ठूला लगानीकर्ताहरू सबैले घर किनिरहेका थिए। भाउ आकासिनुअघि नै घरजग्गामा लगानी गर्न उनीहरूले क्रेडिट कार्ड प्रयोग गर्ने, अनि केही वर्ष पर्खेर घरको भाउ आकासिएपछि किनेको मूल्यभन्दा दोब्बरमा बेच्ने योजना बनाएका थिए। यो देखेर मलाई असाध्यै लोभ लाग्यो। मलाई घरजग्गा बजारको यो उछालमा म पछि पर्छु कि, र यदि घरको भाउ यसरी नै बढिरह्यो भने मेरो घर किन्ने मौका गुम्दै जानेछ भन्ने चिन्ता लाग्यो। मलाई डर थियो यो सुनौलो मौका गुमाएँ भने, अरूलाई उछिन्ने मेरो लक्ष्य कहिले पूरा होला भन्ने पत्तै हुनेछैन। साथै, यदि मेरा नातेदार र साथीभाइहरूले मैले घर किनेको छु भनेर थाहा पाए भने, पक्कै पनि उनीहरूले मलाई इज्जतको नजरले हेर्नेथिए र म कति सक्षम रहेछु भनेर मेरो तारिफ गर्नेथिए। त्यसैले मैले ऋण लिएर घर किन्ने निर्णय गरेँ। त्यतिबेला, मेरी आमाले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न थालिसक्नुभएको थियो, र जब उहाँले मैले घर किन्ने योजना बनाएको कुरा सुन्नुभयो, उहाँले मलाई सम्झाउनुभयो, “आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिने परमेश्वरको काम अब सकिनै लागेको छ, अनि प्रकोपहरू झन्-झन् बढ्दै जानेछन्। जब प्रकोपहरू आउँछन्, के तँ यी भौतिक कुराहरू आफूसँगै लैजान सक्नेछस् र? बरु परमेश्वरमा विश्वास गर्नु, उहाँका वचनहरू धेरै पढ्नु र जीवन पछ्याउनु अधिक महत्त्वपूर्ण छ। फेरि, हाम्रो परिवारसँग त्यति धेरै पैसा पनि त छैन, अनि तैँले घर किन्ने पैसा कहाँबाट ल्याउनेछस्?” तर त्यतिबेला, मैले उहाँको कुनै पनि कुरा सुनिनँ, र मलाई उहाँ अदूरदर्शी हुनुहुन्छ जस्तो लाग्यो। मैले सोचेँ, प्रकोप कहिले आउँछ भन्ने कसलाई के थाहा, र म त अझै जवान नै छु, अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा जसरी भए पनि पैसा कमाउनु र आफूलाई प्रतिष्ठित बनाउनु नै हो। त्यसैले, मैले ऋण लिएर घर किनेँ। पछि, सहकर्मीहरूबाट हेपिन नपरोस् र ग्राहकहरूको अगाडि आफ्नो हैसियत देखाउन सकूँ भनेर मैले अर्को ऋण लिएर गाडी पनि किनेँ। मलाई लाग्थ्यो, अहिलेको जमानामा गाडी र घर हुनु भनेको सफल जीवनको मापदण्ड हो, अनि मात्रै मान्छेले जहाँ गए पनि इज्जत पाउँछ। पछि, नातेदार र साथीभाइहरूले मेरो तारिफ गर्दै भने, “तिमीले त राम्रो प्रगति गर्दै रहेछौ; धनी भएपछि हामीलाई नबिर्स है!” यो सुन्दा म दङ्ग परेँ, र मेरो अभिमान निकै सन्तुष्ट भयो। धेरै पैसा कमाउने र ठूलो काम गर्ने मान्छे जस्तो देखिनका लागि, म जथाभावी खर्च पनि गर्थें, र आफूलाई केही हदसम्म सफल व्यक्तिको रूपमा प्रस्तुत गर्थें। ठूला-ठूला रेस्टुरेन्ट र मनोरञ्जनका ठाउँहरू, जहाँ धनी मानिसहरू जान्थे, म त्यहाँ पुगेकै हुन्थेँ। म पानी पिएझैँ सजिलै गरी सदस्यता कार्डहरूमा सयौँ, अझ हजारौँ युआन खर्च गर्थें। यसरी, मेरो तलब आउनेबित्तिकै, म त्यो पैसा क्रेडिट कार्डको ऋण र मासिक किस्ता तिर्न प्रयोग गर्थेँ। कहिलेकाहीँ त, म एक पैसा पनि बचत हुँदैनथ्यो, उल्टो अपुग रकम अरूतिरबाट जोहो गर्नुपर्थ्यो, त्यसैले मेरो क्रेडिट कार्डको बिल थुप्रिँदै गयो। सुरुमा, ऋण तिर्न सकिनँ भने के होला भनेर म चिन्तित थिएँ। तर मैले सोचेँ, मेरो क्षमताले पैसा कमाउन कुनै समस्या हुनेछैन, फेरि, मसँग अचल सम्पत्तिको रूपमा घर छँदै छ, जसलाई दुई-चार वर्षपछि भाउ बढेपछि बेचेर ठूलो रकम कमाउन सक्छु। यस्तो बलियो आधार भएपछि, म किन डराउनुपर्यो र? त्यसैले मैले यसबारे फिक्री गर्न छाडिदिएँ।
तर अचम्मको कुरा, सन् २०१९ को अन्त्यमा, एउटा दुर्घटनाले मेरो सुन्दर सपनालाई पूरै चकनाचुर पारिदियो। एकदिन काम सकिएपछि म तीन जना सहकर्मीहरूसँग रक्सी पिउन गएँ, अनि घर फर्कने क्रममा ड्राइभरले रमाइलोका लागि गाडी हुइँकाउन थाल्यो। गाडीको गति धेरै भएकाले, उसले समयमै ब्रेक लगाउन सकेन, र गाडी सडकबाट अनियन्त्रित हुँदै एउटा घरमा ठोक्कियो। गाडी त्यहीँ नै पूरै क्षतिग्रस्त भयो, र हामी चारै जनालाई अस्पताल लगियो। अन्त्यमा, ड्राइभरको आन्द्रा फुटेर रक्तस्राव भयो, र अगाडि बस्ने प्यासेन्जरको मेरुदण्ड भाँचियो। भाग्यवश, म ड्राइभरको पछाडि बसेको थिएँ, र हामी चार जनामध्ये मलाई सबैभन्दा कम चोट लाग्यो, मेरो दाहिने हात मात्र भाँचियो। तर मेरो छेउमा बसेको सहकर्मी भने त्यति भाग्यमानी थिएन। त्यो घरको अगाडि एउटा बिजुलीको खम्बा थियो, र ड्राइभरले घरलाई जोगाउन स्टेरिङलाई देब्रेतिर मोडेको थियो। जसले गर्दा, पछाडिको सिटमा बसेको मेरो सहकर्मी त्यो खम्बामा जोडले ठोक्कियो, उसको कलेजो फुट्यो र उसको घटनास्थलमै मृत्यु भयो। यो कुरा सम्झँदा हरेक पटक मेरो जिउ सिरिङ्ग हुन्छ। त्यही समयमा, म एकदमै झस्किएको थिएँ र आफूलाई भाग्यमानी महसुस गरेँ। मलाई झस्काएको कुरा के थियो भने मानव जीवन कति क्षणभङ्गुर छ, जीवन र मृत्यु कसरी एक निमेषमै हुन सक्छ, र अर्को सेकेन्डमा के हुन्छ भनेर कसैले पूर्वानुमान गर्न सक्दैन। मेरो सौभाग्यको कुरा, यदि ड्राइभरले स्टेरिङ दाहिनेतिर मोडेको भए वा मेरो सहकर्मीको सिटमा म बसिरहेको भए, मर्ने व्यक्ति म हुने थिएँ। मलाई लाग्यो, कुन्नि कसरी, यो सबै स्वर्गले नै मिलाएको थियो, जसले गर्दा म यो विपत्तिबाट बच्न सकेँ। त्यसपछि, मृतकको परिवारले क्षतिपूर्ति माग गरे। हामी तीन जनाले सङ्कलन गरेर यो मामला सल्टाउन ८ लाख युआन क्षतिपूर्ति जम्मा गर्यौँ। त्यतिबेलासम्म, मेरो ऋण ३ लाख युआन पुगिसकेको थियो। जब म गाडीको ऋण, घरको कर्जा, र लाखौँको क्रेडिट कार्डको बिल सम्झन्थेँ, मलाई असाध्यै खिन्नता हुन्थ्यो। म सोच्थेँ, “अब भविष्यमा म कसरी बाँच्ने?” केही समयसम्म दिक्दार भएपछि, मैले आफूलाई सम्हाल्ने र पैसा कमाएर ऋण तिर्न घर बेच्ने काम जारी राख्ने निर्णय गरेँ। तर त्यसको लगत्तै, सन् २०२० को सुरुवातमा अचानक आएको कोभिड-१९ को विश्व महामारीले मेरो जीवनमा अर्को घातक प्रहार गर्यो। लामो समयसम्म सहर बन्द भएकाले, सबैजना घरमै क्वारेन्टाइनमा थिए, सेल्स अफिस खाली थियो, र बिक्री ठप्प भयो। पछि, खर्च कटौती गर्न कम्पनीले कर्मचारीहरूलाई ५०% मात्र तलब दियो। मैले मनमनै सोचेँ, “अब सकियो। यसपालि त म माथि उठ्न सक्ने केही उपाय छैन। यो पैसाले मेरो गाडी र घरको मासिक किस्ता तिर्न पनि पुग्दैन, त्यसमाथि लाखौँको क्रेडिट कार्डको बिलको चिन्ता त छँदै छ। यदि मैले किस्ता तिर्न छोडेँ भने, बैंकले घर जफत गरेर लिलाम गर्नेछ, र यदि मैले ऋण तिर्न सकिनँ भने, म कालोसूचीमा पर्नेछु, अनि मैले सबै गुमाउनेछु।” मैले भर्खरै किनेको घर बेच्ने बारे सोचेँ, तर ठिक त्यही बेला, घर निर्माण कम्पनी टाट पल्टेको घोषणा गरेर भाग्यो, जसले गर्दा घरहरू अधुरै रहे र हस्तान्तरण अनिश्चित कालका लागि लम्बियो। गाडी र घरको मासिक किस्ता तिर्न, मसँग क्रेडिट कार्डहरूमा धेरै किस्ताबन्दी योजनाहरू लिनु बाहेक अरू कुनै विकल्प थिएन। त्यसबेलादेखि, म चर्को ब्याजदरको बोझले थिचिएँ, र मैले आफूलाई ऋणको खाडलमा जीवन बिताइरहेको पाएँ।
त्यस समयमा, म असाध्यै दिक्दार भएँ, जिउने साहस गुमाएँ, र जीवनप्रति पूर्ण रूपमा आशाहीन भएँ। म बारम्बार सोच्ने गर्थेँ, “गाडी र घर किन्नुको के अर्थ थियो र? अहिले गाडी नचलाई थन्किएको छ, र घर अधुरै छ, बेच्न पनि सकिँदैन। यदि त्यो गाडी दुर्घटनामा म मरेको भए, गाडी र घर हुनुको के अर्थ हुन्थ्यो र?” मेरो पीडाको बेला, मेरी आमाले मलाई फेरि सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। उहाँले भन्नुभयो, “मानिसहरूको जीवन परमेश्वरकै हातमा हुन्छ। तँ परमेश्वरको सामु आउनुपर्छ र इमानदार भएर उहाँका वचनहरू पढ्नुपर्छ, अनि तँलाई जस्तोसुकै कठिनाइ वा पीडा भए पनि, तैँले परमेश्वरलाई भन्नुपर्छ र यो दुःखकष्ट पार गर्न उहाँसँग मद्दत माग्नुपर्छ।” त्यतिबेला, मलाई मेरी आमाले बारम्बार मलाई पढेर सुनाउनुभएको परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६५)। परमेश्वरले प्रकोपहरू झन्-झन् बढ्दै जानेछन् भनेर धेरै अघि नै भन्नुभएको छ, र अहिले यी वचनहरू पूरा भएका छन्। मेरी आमाले मलाई सधैँ परमेश्वरमा विश्वास गर्नेबारे कुरा गर्नुहुन्थ्यो, तर म सधैँ उदासीन रहन्थेँ, घर र गाडी किन्ने जिद्दी गर्थें, अनि अरूको तारिफ पाउनका लागि म अरूभन्दा विशिष्ट देखिने प्रयास गर्थें। तर मैले चाहेजस्तो भएन। घर प्रयोग गरेर ऋण तिर्ने मेरो आशा चकनाचुर भयो, र म ठूलो ऋणको भारीले थिचिएँ। विश्वभरि महामारी फैलिएको, दिनहुँ दसौँ हजार मानिस मरेको, जलवायु निरन्तर बिग्रँदै गएको, र विश्वव्यापी प्रकोप र युद्धहरू एकपछि अर्को गर्दै भइरहेको देख्दा, मलाई साँच्चै आखिरी दिनहरूको महाविपत्तिहरू आएका छन् भन्ने महसुस भयो। यदि मैले अझै पनि परमेश्वरमा विश्वास गरिनँ भने, एकदिन म पनि प्रकोपमा पर्न सक्छु। म जिद्दी भएर कामकुराबारे गलत बाटोमा लागिरहन सकिनँ, र मैले लगनशील भई परमेश्वरका वचनहरू पढ्ने मन बनाएँ। पछि, परमेश्वरका वचनहरू पढेर, मैले केही सत्यता बुझेँ, मेरो हृदयले भरोसा पायो, र ममा जिउने आशा पलायो।
बन्दाबन्दीका नियमहरू अस्थायी रूपमा हट्दै जाँदा, मेरो काम बिस्तारै सामान्य अवस्थामा फर्कियो। मैले धेरैवटा क्रेडिट कार्डका लागि किस्ताबन्दी योजनाहरू बनाएको हुनाले, हरेक महिना ब्याजको ठूलो रकम थुप्रिँदै गयो, र मेरो मासिक तलब लगभग पूरै यही तिर्नमा जान्थ्यो। त्यतिबेला मात्र मलाई थाहा भयो, बैंकको किस्ताबन्दी योजनाले त्यतिबेला मेरो तिर्ने दबाब कम गरेको जस्तो देखिए पनि, त्यो वास्तवमा मिटर ब्याज जस्तै थियो! मलाई यस्तो लाग्यो कि म ऋणको अथाह खाडलमा खसेको छु, र यदि यस्तै भइरह्यो भने, म कहिल्यै पनि ऋण तिर्न सक्नेछैन, र मैले मेरो बाँकी जीवन ऋण तिर्नमै बिताउनुपर्नेछ। मासिक बिलहरू हेर्दा, म नरोई बस्न सक्दिनथेँ। मेरो पीडामा, मैले परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, मलाई थाहा छ तपाईंमा विश्वास गर्नु नै जीवनको सही मार्ग हो, र म निष्ठापूर्वक सत्यता पछ्याउन चाहन्छु। तर अहिले, मसँग वास्तविक कठिनाइहरू छन् र तिनलाई कसरी समाधान गर्ने मलाई थाहा छैन। म धेरै पीडामा छु। कृपया मेरा लागि बाटो खोलिदिनुहोस्।” पछि, संयोगवश, मैले अनलाइनमा भिडियो सम्पादन गरेर पैसा कमाउन सकिन्छ भन्ने देखेँ, त्यसैले मैले अनलाइन भिडियो सम्पादन गर्ने प्रयास गरेँ। मलाई अचम्म लाग्यो, मैले पोस्ट गरेको एउटा भिडियो अचानक भाइरल भयो। त्यसपछि, मैले लगातार भिडियो सम्पादन गरेर प्लेटफर्महरूमा पोस्ट गरिरहेँ, र तीन महिनामा, मैले लगभग १,००,००० युआन कमाएँ, जसले मेरो आर्थिक दबाब धेरै कम गर्यो। म असाध्यै भावुक भएँ। मैले साँच्चै परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकताको अनुभव गरेको थिएँ। परमेश्वरले मेरा प्रार्थनाहरू सुन्नुभयो र मलाई कठिनाइहरू पार गर्न मद्दत गर्नुभयो। अनि मैले भेला हुन र उहाँका वचनहरू पढ्न थप समय पाएँ। त्यसैले, मैले कुनै हिचकिचाहट बिना जागिरबाट राजीनामा दिएँ, र त्यसपछि भिडियो सम्पादन गर्दै भेलामा सहभागी हुन थप समय निकालेँ। मैले राजीनामा दिएको केही समयपछि नै, अगुवाले मलाई लेखन-पठनको कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गरिदिनुभयो, र म साँच्चै उत्साहित थिएँ। म दिनमा भेला हुन्थेँ र आफ्ना कर्तव्य निर्वाह गर्थें, अनि साँझमा ऋण तिर्नका लागि भिडियो सम्पादन गरेर पैसा कमाउँथेँ। पछि, छान्नी गर्नुपर्ने लेखहरू धेरै भए, र मैले भिडियो सम्पादन गर्न थप समय निकाल्न सकिनँ। म हरेक दुई दिनमा एउटा भिडियो पोस्ट गर्नेबाट पाँच दिनमा एउटा मात्र पोस्ट गर्ने भएँ, र कहिलेकाहीँ, बिदाको समयमा, ग्राहकहरूलाई अन्तिम समयमा भिडियो सम्पादनको जरुरी हुन्थ्यो, तर उनीहरूले मलाई सम्पर्क गर्न नसक्दा, उनीहरू अरूकहाँ जान्थे, र मैले धेरै अर्डरहरू गुमाउँथे। मेरो आम्दानी बिस्तारै घट्दै गएको देखेर, मेरो मन बदलिन थाल्यो। मैले सोचेँ, “मेरो कर्तव्यले साँच्चै मेरो धेरै समय लिइरहेको छ। मैले बल्लतल्ल पैसा कमाउने यो मौका पाएको छु, र फेरि माथि उठ्ने मेरा लागि यो एक मात्र भर्याङ हुन सक्छ। यदि मैले अर्को एक वर्ष जति यसमा निरन्तरता दिएँ भने, मैले मेरा सबै ऋण तिर्न सक्षम हुने मात्र होइन, आर्थिक स्वतन्त्रता पनि हासिल गर्नेछु र मेरा साथीभाइ र नातेदारहरूको तारिफ पुनः प्राप्त गर्नेछु। यदि मैले पैसा कमाउने यो मौका गुमाएँ भने, मैले फेरि कति कुर्नुपर्छ, कसलाई के थाहा? म यसलाई यति सजिलै गुमाउन सक्दिनँ। यसबाहेक, पर्याप्त पैसा कमाएर मात्र म मेरो हृदय शान्त पारेर मेरा कर्तव्यहरू राम्ररी गर्न सक्नेछु। नत्र भने, म ऋणको बोझमा नै रहिरहनेछु र मेरा कर्तव्यहरूमा ध्यान दिन सक्नेछैनँ।” पछि, मैले हरेक दिन कर्तव्य निर्वाह गरे तापनि, मेरो मनमा भने भिडियोका लागि कसरी राम्रो स्क्रिप्ट लेख्ने भन्ने कुरा मात्र खेलिरहन्थ्यो। घर पुग्नेबित्तिकै, म सामग्री जम्मा गर्न र भिडियो सम्पादन गर्न कम्प्युटर अगाडि बस्थेँ, र ब्रदर-सिस्टरहरूले मलाई पठाएका लेखहरू छान्नी गर्ने समय निकाल्न अल्छी गर्थें। मैले तीन महिनासम्म एउटा लेख पनि बुझाएको थिइनँ।
फेब्रुअरी २०२३ को एक दिन, एउटा भिडियो प्लेटफर्मले मलाई भिडियो बनाउन निम्तो दियो। मैले जम्मा चार घण्टामा भिडियो तयार गरेँ, र अप्रत्याशित रूपमा, भिडियो रिलिज भएपछि तुरुन्तै भाइरल भयो, र सात दिनमै, मैले १,३०,००० युआन खुद आम्दानी गरेँ, जसले मलाई मेरो आधा ऋण तिर्न सक्षम बनायो। मैले सोचेँ, “यही गतिमा पैसा कमाउँदा, यदि मैले अर्को छ महिना कडा मेहनत गरेँ भने, म मेरा सबै ऋण तिर्न सक्नेछु, र त्यसपछि म फेरि ख्याति र प्राप्ति दुवै हासिल गर्न, अनि मेरा साथीभाइ र नातेदारहरूको तारिफ पाउन सक्षम हुनेछु। म फेरि पहिलेको जस्तै समृद्ध र प्रशंसापूर्ण दिनहरूमा फर्कन सक्नेछु। यस्तो दुर्लभ अवसर मैले गुमाउन मिल्दैन! मैले पैसा कमाउन सकेसम्म धेरै समय निकाल्नुपर्छ, र कर्तव्यमा बिताउने समय घटाउनुपर्छ।” तर यस्तो सोच्दा मलाई बेचैनी महसुस भयो। मैले त्यो समय सम्झिएँ जब म ऋणमा चुर्लुम्म डुबेको थिएँ, कुनै उपाय नभएको अवस्थामा थिएँ, र मलाई मरेकै बेस हुन्छ जस्तो लागेको थियो। त्यो परमेश्वरको अनुग्रह थियो जसले मलाई विश्वासको मार्गमा डोऱ्यायो। मैले परमेश्वरलाई प्रार्थना गरी मेरा लागि बाटो खोलिदिन र मलाई मेरा कठिनाइहरू पार गर्नमा मद्दत गर्न बिन्ती गरेको थिएँ, र मैले ठीकसँग परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने निर्णय गरेको थिएँ। अहिले, परमेश्वरले मेरा लागि बाटो खोलिदिनुभएको थियो र मलाई मेरो धेरै ऋण तिर्न मद्दत गर्नुभएको थियो। यदि मैले पैसा, ख्याति र प्राप्ति पछ्याउनतिर लागिरहेँ भने, के म परमेश्वरलाई धोका दिइरहेको हुनेथिएन र? मैले के कुरा पनि सोचेँ भने कसरी मैले ख्याति र प्राप्तिको पछि लागेर पैसा कमाउन हरेक सम्भव उपाय लगाएको थिएँ, तर अन्त्यमा, मैले पैसा कमाउन नसकेको मात्र होइन, उल्टो गाडी दुर्घटनाका कारण धेरै गुमाएको थिएँ। अहिले, मैले केवल चार घण्टामा पूरा गरेको भिडियोबाट करिब एक वर्षजतिको कमाइ गरेको थिएँ। यो सबै परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकता थियो। मैले के देखेँ भने मानिसले आफ्नो जीवनकालमा कति कमाउँछ भन्ने कुरा परमेश्वरद्वारा नै पूर्वनियोजित हुन्छ। जब उनीहरूको पैसा कमाउने समय हुँदैन, तब उनीहरूले पैसा कमाउन जति नै हड्डी घोटे पनि, त्यो विभिन्न तरिकाले गुम्नेछ। तर जब उनीहरूको पैसा कमाउने सही समय हुन्छ, तब उनीहरूले थोरै प्रयासमा नै कमाउन सक्छन्। म सधैँ आफ्नै क्षमतामा भर परेर धेरै पैसा कमाउन चाहन्थेँ, तर यदि मेरो भाग्यमा धेरै पैसा छैन भने, मैले जतिसुकै प्रयास गरे पनि, अन्त्यमा त्यो व्यर्थ हुनेछ। यो कुरा सोच्दै, मैले तुरुन्तै प्रार्थना गरेँ, “हे परमेश्वर, अहिले मैले कमाइरहेको सबै पैसा तपाईंले मेरो ऋण कम गर्नका लागि बाटो खोलिदिनुभएको हो, ताकि मैले तपाईंमा ठीकसँग विश्वास गर्न र मेरा कर्तव्यहरू पूरा गर्न सकूँ, तर पैसा कमाउने परीक्षाको सामना गर्दा, मैले यसलाई छोड्नै सकिरहेको छैन। मलाई मार्गदर्शन गर्नुहोस् र तपाईंका अभिप्रायहरू बुझ्न र अभ्यासको मार्ग फेला पार्न सक्षम बनाउनुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र अभ्यास कसरी गर्ने भनेर सिकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूलाई धेरै अघिदेखि खान र लाउन पाउनमै सन्तुष्ट हुनुपर्छ भनी भन्नुभएको छ। तँ जुनसुकै काम वा पेसामा संलग्न भए पनि, त्यसलाई करियरका रूपमा नलि, र त्यसलाई संसारमा अघि बढ्ने वा धन कमाउने र आरामले जिउने माध्यम वा साधनका रूपमा नहेर्। तँ संलग्न हुने कुनै पनि काम वा पेसा तेरा लागि जीविकोपार्जन गर्ने एउटा माध्यम मात्रै हो। जबसम्म त्यसले सामान्य जीवन धान्न सक्छ र तेरो दिनको तीन छाक र आधारभूत आवश्यकताहरूको प्रत्याभूति गर्न सक्छ, तबसम्म तँ सन्तुष्ट हुनुपर्छ; तैँले आफ्नो जीवनयापनका आवश्यकताहरूका हिसाबमा अत्यधिक अपेक्षाहरू राख्नु हुँदैन। यदि तैँले विशेष परिस्थितिहरू सामना गरिस् र केही अस्थायी कठिनाइहरू आइपरे भने, तैँले आफ्ना तत्कालका आवश्यकताहरू समाधान गर्न अर्को जागिर खाने प्रयास गर्न सक्छस्—यो स्वीकार्य छ। तँ जुनसुकै काममा संलग्न भए पनि, जबसम्म त्यो उचित र कानुनी छ र त्यसले कुनै समस्या वा मुद्दामामिला निम्त्याउनेछैन, तबसम्म तँ त्यो गर्न सक्छस्। आफ्ना अत्यधिक दैहिक चाहनाहरू पूरा गर्न केही जोखिमपूर्ण वा गैरकानुनी कुरा नगर्, जसको परिणामस्वरूप तँ परीक्षामा पर्छस् वा दलदलमा फस्छस्। त्यो खतरनाक हुनेछ। कम गम्भीर अवस्थाहरूमा, तँ ऋण सङ्कटमा पर्न सक्छस्; अझ गम्भीर अवस्थाहरूमा, तँ जेलमा पर्न सक्छस्, र तँलाई तेरो बाँकी जीवनभरि फेरि आफ्नो खुट्टामा उभिन गाह्रो हुनेछ। त्यो धेरै समस्याजनक हुनेछ। यदि परमेश्वरमा विश्वास गर्नेले यसो गर्छ भने, उसले मुक्ति प्राप्त गर्ने आफ्नो मौकालाई बर्बाद पार्नेछ। बाइबलमा एउटा खण्ड छ जसले भन्छ, ‘भोजन र वस्त्र पाए हामी त्यसैमा नै सन्तुष्ट रहौँ’ (१ तिमोथी ६:८)। काम नगरेको समयलाई परमेश्वरमा विश्वास गर्न, भेलाहरूमा उपस्थित हुन, आफ्ना कर्तव्यहरू निर्वाह गर्न, र सत्यता पछ्याउन प्रयोग गर्। यो तेरो मिसन हो, र यो एक विश्वासीको जीवनको मूल्य र अर्थ हो। … यदि तँ परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता र जीवन प्राप्त गर्न चाहन्छस् भने, तैँले आफ्नो पछ्याइमा कडा परिश्रम गर्नैपर्छ, र सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा अझ धेरै समय र ऊर्जा खर्च गर्न सक्दो प्रयास गर्नैपर्छ। मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता पछ्याउने छनौट गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, र यसका लागि तिनीहरूले मूल्य चुकाउनु आवश्यक हुन्छ। परमेश्वर मानिसहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्छ। यदि तँ देहको जीवनको लालसा गर्छस्, खान र लाउन पाउनमै सन्तुष्ट हुँदैनस्, र अझ राम्रो जीवन जिउन, अझ धेरै पैसा कमाउन र अरूभन्दा श्रेष्ठ जीवनशैली पाउन चाहन्छस् भने, तैँले आफ्नो ऊर्जा र समय सत्यता पछ्याउनमा खर्च गर्नै सक्दैनस्। यदि तेरो दैहिक जीवनको गुणस्तर सुध्रियो, तैपनि तैँले आफ्नो अधिकांश समय र ऊर्जा दैहिक आनन्दमा खर्च गर्ने हुनाले, र सत्यता पछ्याउन र कर्तव्य निर्वाह गर्नमा खर्च नगर्ने हुनाले, धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि पनि तँ सत्यता प्राप्त गर्न असफल भइस् भने, के तेरो जीवनले घाटा बेहोर्नेछैन र? यसले तेरो परिणाम र गन्तव्यलाई असर गर्नेछ, होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। “मानिसहरूले जुनसुकै जागिर खाए पनि, यदि तिनीहरू खान र लाउन पाउने अवस्थामा पुग्दा सन्तुष्ट हुँदैनन् भने, तिनीहरूले पछ्याउने कुरा ख्याति, प्राप्ति, र दैहिक आनन्दसँग जोडिएको हुन्छ। अनि यदि तिनीहरूसँग अत्यधिक चाहनाहरू छन्—तिनीहरू अझ धेरै शारीरिक आनन्द लिन चाहने मात्रै होइन, धनीहरूको सूचीमा पर्न पनि चाहन्छन् भने—तिनीहरूले पछ्याउने कुरा विशुद्ध रूपमा ख्याति र प्राप्ति हो। तिनीहरूले चुकाउने कुनै पनि मूल्य ख्याति, प्राप्ति, हैसियत, र दैहिक आनन्दका लागि हो; यो निरर्थक छ, र यो सपनाजस्तै खोक्रो छ। तिनीहरूले अन्तमा प्राप्त गर्ने कुरा पटक्कै केही पनि होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। मैले मेरो करियरलाई रातारात फड्को मार्ने वा पुरानो अवस्थामा फर्कने भर्याङ बनाउनु हुँदैन, र मसँग खान र लाउन पुग्छ भने म त्यसैमा सन्तुष्ट हुनुपर्छ। परमेश्वरको अभिप्राय मलाई सामान्य जीवनयापन गर्दै सत्यता पछ्याउन र मेरो कर्तव्य पूरा गर्न थप समय र ऊर्जा मिलोस्, र म फेरि पैसा, ख्याति र प्राप्तिको भुमरीमा फस्नबाट जोगिन सकूँ भन्ने थियो। जब मैले भिडियो सम्पादनबाट कति धेरै कमाइ हुँदो रहेछ र यसबाट मैले मेरो धेरै ऋण छिट्टै तिरेँ भन्ने देखेँ, तब मैले भिडियो सम्पादन गरेर अझै धेरै पैसा कमाउन चाहेँ—यो ऋण तिर्न मात्र होइन, बरु पुरानो अवस्थामा फर्कन र मेरा साथीभाइ तथा नातेदारहरूको तारिफ पुनः प्राप्त गर्न पनि थियो। त्यसैले, मैले मेरो सम्पूर्ण सोच र समय भिडियो सम्पादनमा लगाएँ, र मेरा कर्तव्यहरूलाई कुनै वास्ता वा विचार गरिनँ। जब मेरा कर्तव्यहरू व्यस्त हुन्थेँ, मलाई भित्रैदेखि प्रतिरोध महसुस हुन्थ्यो, किनकि म पैसा कमाउन अझ बढी समय प्रयोग गर्न चाहन्थेँ। आफ्नो इच्छा पूरा गर्न, मैले मेरा सबै समय र ऊर्जा पैसा कमाउनमा खर्चेँ। मैले मेरा कर्तव्यहरूलाई कुनै ध्यान दिइनँ, र सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ। यदि म यसरी नै अघि बढेँ भने, दस हजार कमाएपछि एक लाख कमाउन चाहने, र एक लाख कमाएपछि अझै धेरै कमाउन चाहने हुँदै जाँदा मेरा इच्छाहरू अनन्त हुने थिए र कहिल्यै पूरा हुने थिएनन्। म केवल पैसा, ख्याति र प्राप्तिद्वारा नत्थी लगाएर डोऱ्याइने थिए, र फेरि पैसा, ख्याति र प्राप्तिको भुमरीमा फस्ने थिएँ। भविष्यमा मैले पैसा, ख्याति र प्राप्ति हासिल गरे पनि, म परमेश्वरबाट झन् टाढा हुने, मेरो कर्तव्य निर्वाह गर्न छाड्ने र सत्यता बुझ्न असफल हुने थिएँ। यसरी जिउनुको के अर्थ हुने थियो र? म असहाय र आशाहीन भएको बेलालाई फर्केर हेर्दा, परमेश्वरको वचनको मार्गदर्शनले नै मलाई जिउने आशा दिएको थियो। जब म ठूलो ऋणमा डुबेको थिएँ र निस्कने कुनै बाटो थिएन, परमेश्वरले मेरा लागि बाटो खोलिदिनुभयो, मलाई पैसा कमाउन र मेरा वास्तविक कठिनाइहरू समाधान गर्न सक्षम बनाउनुभयो, अनि मेरो कर्तव्य निर्वाह गर्न समय र ऊर्जा दिनुभयो। तर अहिले, पैसाको परीक्षाको सामना गर्दा, म फेरि धेरै पैसा कमाउन र अलग देखिन चाहन्थेँ। मैले मेरो कर्तव्यसमेत झाराटारुवा तरिकाले समेत निर्वाह गरेँ र काममा ढिलाइ गरेँ। म स्पष्ट रूपमा ऋण तिर्न ढिलाइ नगरी मेरो कर्तव्य पूरा गर्न सक्थेँ, तर म सन्तुष्ट थिइनँ, र पैसा कमाउने बारम्बारको परीक्षाको सामना गर्दा, मैले मेरो कर्तव्यलाई पन्छाएँ। ममा साँच्चै कुनै विवेक थिएन! मैले परमेश्वरसँग गरेको सङ्कल्प तोडेको थिएँ; मैले भनेका सबै कुराले उहाँलाई धोका दिइरहेको थियो! म साँच्चै जिउन लायक थिइनँ! मैले अब धेरै पैसाको पछि लाग्न छोड्नैपर्थ्यो र मेरो ऊर्जा मेरो कर्तव्यमा लगाउनुपर्थ्यो। जबसम्म यसले मेरो कर्तव्यमा बाधा पुर्याउँदैन, तबसम्म म पैसा कमाउन र ऋण तिर्नका लागि भिडियो सम्पादन गर्न समय निकाल्न सक्थेँ। पछि, मैले मेरो कर्तव्यप्रति बोझको बोध महसुस हुन थाल्यो। मैले बाँकी रहेका लेखहरू छान्नी गर्ने काम सकेँ, र म भेलाहरूमा हृदय लगाउन सक्षम भएँ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र धन, ख्याति र प्राप्तिप्रतिको मेरो मोहको मूल कारणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। खुलासा गर्नेसम्बन्धी परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने धेरै पैसा कमाउने र तारिफ पाउने मेरो निरन्तरको चाहनाको जड म “ख्याति” र “प्राप्ति” ले बलियोसँग बाँधिनु रहेछ। सानैदेखि, मैले मेरा आमाबुबालाई नातेदार र साथीभाइहरूले हेपेको देखेँ, र मलाई यसरी जिउनु साँच्चै अपमानजनक लाग्यो, त्यसैले मैले समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ र प्रशंसित बन्नुपर्छ भन्ने निर्णय गरेँ। म “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “अरूभन्दा असल बन” जस्ता शैतानी विषहरूअनुसार जिएँ। अरूले घर खरिदमा लगानी गरेर ख्याति र प्राप्ति दुवै हासिल गरेको देख्दा, मैले पनि यही तरिका अपनाएर विशिष्ट देखिन र साथीभाइ तथा नातेदारहरूको तारिफ पाउने तृष्णा गरेँ। मसँग आर्थिक साधन नै थिएन, तैपनि मैले घर र गाडी किन्न ऋण लिन हिचकिचाइनँ, र मैले ठूलो मात्रामा किनमेल पनि गरेँ, विभिन्न उच्चस्तरीय ठाउँहरूमा जाने र विलासी सामानहरू किन्ने गरेँ, र आफूलाई एक सफल व्यक्तिको रूपमा प्रस्तुत गरेँ। मेरो जीवन बाहिरबाट समृद्ध र अनन्त रूपमा आकर्षक देखिए पनि, पर्दा पछाडि म चर्को ब्याज तिर्ने बोझले थिचिएको थिएँ। अरूको तारिफ जित्न, म पूर्ण रूपमा देखावटी भएँ र बारम्बार परमेश्वरको मुक्तिलाई अस्वीकार गरेँ। मैले गाडी र घर किन्न ऋण लिएँ, लाखौँको ऋण थुपारेँ, र त्यसपछि गाडी दुर्घटना र महामारीको दोहोरो प्रहार भोगेँ। मैले मेरा दिनहरू एउटा प्वाल टाल्न अर्को प्वाल खन्ने उपायहरू खोज्न दिमाग खियाउँदै बिताएँ। त्यस समयमा, ऋणले मेरो दिमाग सुन्न बनायो र चिन्ताले मेरा कपाल सेतो बनायो। मलाई मरेकै बेस हुन्छ जस्तो लाग्यो। परमेश्वरलाई पाएपछि, उहाँले मेरा लागि बाटो खोलिदिनुभयो, मलाई भेलाहरूमा सहभागी हुन र मेरा कर्तव्यहरू निर्वाह गर्न थप समय दिनुभयो, तर जब मैले पैसा कमाउने मौका पाएँ, म पैसा, ख्याति र प्राप्तिकै पछि लाग्न चाहेँ। यो यात्राभरि, म पैसा, ख्याति र प्राप्तिकै पछि लागिरहेँ, र जब म घाइते र थिलथिलो भएँ, तब पनि मलाई फर्कनुपर्छ भन्ने थाहा भएन। मेरो हृदय पूर्ण रूपमा हठी भएको थियो! परमेश्वरको मुक्ति र उन्नयन पाउँदा, मैले यसको कदर गर्नु त कता हो कता, उल्टो मेरा कर्तव्यहरूले मलाई पैसा कमाउन ढिलाइ गराइरहेको सोचेँ, र मैले सत्यता पछ्याउने र मुक्ति पाउने मौका झन्डै गुमाएँ। मैले अन्ततः के महसुस गरेँ भने पैसा, ख्याति र प्राप्ति पछ्याउनु भनेको फर्कन नसकिने बाटो हो, र यदि म फर्किनँ भने, म पूर्ण रूपमा मृत्युमा शैतानको सहयात्री बन्नेछु।
मैले मनमनै गुनेँ, “कस्तो जीवन साँच्चै मूल्यवान र अर्थपूर्ण हुन्छ?” मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वर हरेक व्यक्तिका लागि उसको जन्मदेखि हालसम्मका दशकहरूमा केवल मूल्य चुकाउनुहुन्न। परमेश्वरको नजरमा, तँ यस संसारमा अनगिन्तीपटक आएको छस्, र तेरो अनगिन्तीपटक पुनर्जन्म भएको छ। यसको जिम्मेवार को हो? परमेश्वर यसको जिम्मेवार हुनुहुन्छ। तँसँग यी कुराहरू जान्ने कुनै उपाय छैन। हरेकपटक तँ यस संसारमा आउँदा, परमेश्वर व्यक्तिगत रूपमा तेरा लागि प्रबन्धहरू गर्नुहुन्छ: उहाँले तँ कति वर्ष जिउनेछस्, तँ कस्तो प्रकारको परिवारमा जन्मिनेछस्, तैँले कहिले घर बसाल्छस् र करियर बनाउनेछस्, साथै तैँले यस संसारमा के गर्नेछस् र कसरी जीविकोपार्जन गर्नेछस् भनी प्रबन्ध गर्नुहुन्छ। परमेश्वर तेरा लागि जीविकोपार्जन गर्ने एउटा तरिका प्रबन्ध गर्नुहुन्छ, ताकि तैँले यस जीवनमा आफ्नो मिसन सहज रूपमा पूरा गर्न सकेस्। … तैँले परमेश्वरलाई पछ्याउँदा, चाहे कष्ट भोगोस् वा मूल्य चुकाओस्, वास्तवमा परमेश्वरसँग सहकार्य गरिरहेको हुन्छस्। परमेश्वर हामीलाई जे गर्न भन्नुहुन्छ, हामीले परमेश्वरका वचनहरू सुन्नुपर्छ र तीअनुसार अभ्यास गर्नुपर्छ। परमेश्वरविरुद्ध विद्रोह नगर वा उहाँलाई दुःख दिने कुनै कुरा नगर। परमेश्वरसँग सहकार्य गर्नका लागि, तैँले अलिकति कष्ट भोग्नैपर्छ, र तैँले केही कुरा त्याग्नैपर्छ र पन्छाउनैपर्छ। तैँले ख्याति, प्राप्ति, हैसियत, पैसा, र सांसारिक सुखहरू त्याग्नैपर्छ—तैँले विवाह, काम, र संसारमा आफ्ना सम्भावनाहरू जस्ता कुराहरूसमेत त्याग्नु आवश्यक छ। के परमेश्वरलाई तैँले यी कुराहरू त्यागेको छस् भनेर थाहा छ? के परमेश्वर यो सब देख्न सक्नुहुन्छ? (सक्नुहुन्छ।) जब परमेश्वर तैँले यी कुराहरू त्यागेको छस भन्ने देख्नुहुन्छ तब उहाँले के गर्नुहुनेछ? (परमेश्वरलाई सान्त्वना मिल्नेछ, र उहाँ प्रसन्न हुनुहुनेछ।) परमेश्वर प्रसन्न हुनुहुनेछ र ‘मैले चुकाएको मूल्यले फल फलाएको छ। मानिसहरू मसँग सहकार्य गर्न इच्छुक छन्, तिनीहरूमा यो सङ्कल्प छ, र मैले तिनीहरूलाई प्राप्त गरेको छु’ भन्नुहुनेछ मात्रै होइन। परमेश्वर प्रसन्न हुनुभए पनि वा खुसी हुनुभए पनि, सन्तुष्ट हुनुभए पनि वा उहाँलाई सान्त्वना मिले पनि, परमेश्वरमा त्यो मनोवृत्ति मात्रै हुँदैन। उहाँ कार्य पनि गर्नुहुन्छ, र उहाँ आफ्नो कामले हासिल गर्ने परिणामहरू हेर्न चाहनुहुन्छ, नत्र उहाँले मानिसहरूबाट माग गर्ने कुरा अर्थहीन हुनेथ्यो। परमेश्वरले मानिसलाई देखाउने अनुग्रह, प्रेम, र कृपा एक प्रकारको मनोवृत्ति मात्रै होइनन्—ती तथ्य पनि हुन्। त्यो कस्तो तथ्य हो? त्यो के हो भने परमेश्वर आफ्ना वचनहरू तँभित्र राख्नुहुन्छ, तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, तँलाई उहाँका बारेमा के प्रेमिलो छ र यो संसार वास्तवमा के हो भनी देख्न दिनुहुन्छ, तँलाई ठूलो मानसिक स्पष्टता दिनुहुन्छ, र तँलाई उहाँका वचनहरू र सत्यता बुझ्न दिनुहुन्छ। यसरी, थाहै नपाई तैँले सत्यता प्राप्त गर्छस्। परमेश्वर तँमाथि एकदमै वास्तविक तरिकाले यति धेरै काम गर्नुहुन्छ, जसले तँलाई सत्यता प्राप्त गर्न सक्षम बनाउँछ। जब तँ सत्यता प्राप्त गर्छस्, जब तँ सबैभन्दा बहुमूल्य चीज, जुन अनन्त जीवन हो, प्राप्त गर्छस्, तब परमेश्वरका अभिप्रायहरू पूरा हुन्छन्। जब परमेश्वरले मानिसहरूले सत्यता पछ्याइरहेका छन् र उहाँसँग सहकार्य गर्न इच्छुक छन् भनी देख्नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट हुनुहुन्छ। त्यसपछि उहाँसँग एउटा निश्चित मनोवृत्ति हुन्छ, र जब उहाँसँग त्यो मनोवृत्ति हुन्छ, तब उहाँ काम गर्नुहुन्छ, र मानिसलाई अनुमोदन गर्नुहुन्छ र आशिष् दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘म तँलाई इनाम दिनेछु। यी तैँले पाउनुपर्ने आशिष्हरू हुन्।’ अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँसँग सृष्टिकर्ताको ज्ञान हुन्छ र तैँले उहाँको कदर प्राप्त गरेको हुन्छस्, तब के तैँले अझै पनि आफ्नो हृदयमा रित्तोपन महसुस गर्नेछस्? गर्नेछैनस्। तैँले सन्तुष्ट महसुस गर्नेछस् र तँमा आनन्दको अनुभूति हुनेछ। के त्यो मूल्यवान् जीवन जिउनु होइन र? यो सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने म कुन परिवारमा जन्मनेछु र मैले कहिले परमेश्वरलाई पाउनेछु र मेरा कर्तव्यहरू निर्वाह गर्नेछु, यी सबै कुरा धेरै अघिबाटै परमेश्वरले प्रबन्ध गर्नुभएको थियो। परमेश्वरको हेरचाह र सुरक्षाले गर्दा नै म त्यो गाडी दुर्घटनामा बाँच्न सफल भएँ, र परमेश्वरले नै मेरा लागि बाटो खोलिदिनुभयो, जसले मलाई ऋणको तुवाँलोमा फसेपछि अन्ततः फेरि उज्यालो देख्न सक्षम बनायो, र सृजित प्राणीको कर्तव्य पूरा गर्ने मौका दियो। परमेश्वरको सुरक्षाविना, म धेरै पहिलेबाटै शैतानद्वारा हानिमा परिसकेको हुने थिएँ। परमेश्वरका वचनहरूले मलाई जीवनको दिशा पनि दिए, केवल सत्यता पछ्याउनु र परमेश्वरलाई सन्तुष्ट पार्न मेरा कर्तव्यहरू पूरा गर्नु नै वास्तवमा अर्थपूर्ण र मूल्यवान छ भन्ने बुझ्न सक्षम बनाए। मैले परमेश्वरका धेरै अनुग्रह र आशिष्हरू पाएको छु! यो सोचेर, मैले आफूलाई मेरा कर्तव्यहरूमा तनमनले समर्पित गर्ने निर्णय गरेँ, र जबसम्म मेरो कर्तव्यमा बाधा पुग्दैन, तबसम्म म थोरै पैसा कमाउन भिडियो सम्पादन गर्न केही समय निकाल्न सक्छु—जुन मेरो मासिक किस्ता र जीवनयापन खर्च धान्न मात्र पर्याप्त होस्।
दुई महिनापछि, म मण्डली अगुवा चुनिएँ। मैले के देखेँ भने अगुवा हुँदा लेखहरू छान्नी गर्ने भन्दा बढी काम र चिन्ताहरू हुँदो रहेछ, र यसका लागि थप समय र ऊर्जा पनि आवश्यक पर्दो रहेछ। यसको मतलब मेरो पैसा कमाउने अवसरहरू घट्दै जानु भन्ने थियो। तर यसपटक, म मेरा कर्तव्यहरूलाई प्राथमिकता दिन राजी थिएँ, र त्यसैले मैले आफूलाई आफ्ना कर्तव्यहरूमा समर्पित गरेँ। मलाई अचम्म लाग्यो, तीन महिनापछि, जब म मेरो फोनमा व्यक्तिगत आयकर फिर्ताको काम गर्दै थिएँ, मैले २० हजार युआन फिर्ता रकम सीधै मेरो खातामा जम्मा भएको देखेँ, जसले मेरो छ महिनाभन्दा बढीको घरको ऋणको समस्या पूर्ण रूपमा समाधान गर्यो। मैले साँच्चिकै के अनुभव गरेँ भने जब परमेश्वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुन्छौँ र सकेसम्म राम्रोसँग सृजित प्राणीको कर्तव्य निर्वाह गर्छौं, तब परमेश्वरले हामीलाई गाँस र कपास मिलोस् र हामी जिउन सकौँ भनेर बाटो खोलिदिनुहुनेछ।
यो अनुभव गरेपछि, मैले के बुझेँ भने पैसा, ख्याति र प्राप्ति जस्ता भौतिक कुराहरू पूर्ण रूपमा अस्थायी हुन्, र सत्यताको पछ्याइ र प्राप्ति अझ बहुमूल्य, मूल्यवान र अर्थपूर्ण छ। म मेरो थप समय र ऊर्जा मेरा कर्तव्यहरूमा समर्पित गर्न चाहन्छु, र परमेश्वरको प्रेमको गुन तिर्न मेरा कर्तव्यहरू पूरा गर्न चाहन्छु!