९७. मैले परमेश्वरमाथिको मेरो गलत दृष्टिकोणलाई सच्याएँ
म सोह्र वर्षकी हुँदा, मलाई थ्रोम्बोसाइटोपेनिक पर्पुरा भएको पत्ता लाग्यो, अनि त्यसको अर्को वर्ष मलाई सिस्टमिक लुपस एरिथेमाटोसस भएको पत्ता लाग्यो। यस प्रकारको रोग निको हुँदैन र औषधीको भरमा मात्रै नियन्त्रण गर्न सकिन्छ। त्यस बेलादेखि, मेरो जीवनमाथि एउटा कालो बादल छायो। मलाई लगभग हरेक वर्ष अस्पताल भर्ना हुनुपर्थ्यो। पछि, मेरा हातखुट्टाका जोर्नीहरू सुन्निन र दुख्न थाले, र कहिलेकाहीँ यति दुख्थ्यो कि म मुस्किलले हिँड्न सक्थेँ र आफ्नो कपालसमेत बाँध्न सक्दिनथेँ। यति सानो उमेरमा आफूलाई यस्तो स्थितिमा देख्दा, मलाई पीडा र विवशता महसुस हुन्थ्यो, म मलाई यस्तो रोग किन लाग्नुपरेको होला भनी सोच्थेँ। कहिलेकाहीँ, पीडा यति तीव्र हुन्थ्यो कि म मर्न चाहन्थेँ, तर मेरो परिवारले मेरो लागि यति धेरै मेहनत र दौडधूप गरिरहेको देख्दा मेरो मनले त्यसो गर्न मानेन। म एक-एक दिन गरेर जसोतसो जिइरहेकी थिएँ।
सन् २०१२ को सेप्टेम्बरमा, एक जनाले मलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामका बारेमा प्रचार गरे। परमेश्वरमा विश्वास गर्दा उहाँको हेरचाह र सुरक्षा पाइन्छ भन्ने सुनेपछि, मेरो निराशामा आशाको किरण जाग्यो, त्यसैले मैले खुसीसाथ स्वीकार गरेँ। एक वर्षपछि, मेरो स्वास्थ्यमा निकै सुधार आएको थियो। म हृदयमा परमेश्वरप्रति धेरै आभारी थिएँ, अनि मैले आशा गरेँ कि एकदिन मेरो बिमारी पूर्ण रूपमा निको हुनेछ ताकि म एक सामान्य व्यक्तिजस्तै जिउन सकूँ। तर सन् २०१४ को अप्रिल महिनाको एक दिन, मेरो नाकबाट अचानक अनियन्त्रित रूपमा रगत बग्न थाल्यो। रगत निरन्तर बाहिर निस्किरह्यो, र त्यसलाई केहीले पनि रोक्न सकेन। मैले टिस्युले पुछिरहेँ, र चाँडै भुइँ रगतले भिजेको टिस्युले ढाकियो। त्यसबेला म घरमा एक्लै थिएँ। मेरो मनमा अचानक डरको भुमरी चल्यो, के गर्ने भन्ने डर र अनिश्चितताले म भक्कानिएर रुन थालेँ। त्यस क्षण, मैले परमेश्वरलाई सम्झेँ र उहाँलाई पुकारेँ, “सर्वशक्तिमान् परमेश्वर, कृपया मलाई बचाउनुहोस्…।” मैले परमेश्वरलाई पुकारिरहेँ, तर नाकबाट रगत बग्न रोकिएन। मैले निराशामा सिलिङतिर हेरिरहेँ, र पहिलो पटक मृत्यु यति नजिक भएको महसुस गरेँ। मैले मनमनै सोचेँ, “मर्नुपरे मरूँला। जे भए पनि म यसबाट उम्कन सक्दिनँ, र मृत्यु त एक छुटकारा हुनेछ…।” पछि, मेरा आमाबाबु हतार-हतार घर आउनुभयो र मलाई तुरुन्तै अस्पताल लैजानुभयो। अस्पतालमा बस्दा, मैले मनमनै सोचेँ, “परमेश्वरमा विश्वास गर्नु भनेको सुरक्षा पाउनु होइन र? म अहिले परमेश्वरमा विश्वास गर्छु, तैपनि मलाई कसरी यस्तो हुन सक्यो? यदि परमेश्वर साँच्चै हुनुहुन्छ भने, मैले उहाँलाई पुकार्दा उहाँले चमत्कार गरेर मेरो नाकबाट रगत बग्न रोकिदिनुपर्थ्यो। तर परमेश्वरले मलाई किन निको पार्नुभएन? उहाँले मेरो बिमार किन फेरि बल्झिन दिनुभयो? त्यसोभए मैले परमेश्वरमा विश्वास गर्नुको के अर्थ भयो र? बरु विश्वास नगरेकै जाती।” अस्पतालबाट डिस्चार्ज भएर घर फर्केपछि, मैले परमेश्वरका वचनका किताबहरू अगुवालाई फिर्ता दिएँ र परमेश्वरमा विश्वास गर्न छोड्ने निर्णय गरेँ।
पछि, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो स्थितिबारे थाहा पाएपछि, उहाँहरू मलाई मदत गर्न र साथ दिन आउनुभयो, र उहाँहरूले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाउनुभयो: “अय्यूबले परीक्षाहरू भोग्दा, परमेश्वर र शैतान एक-अर्कासित बाजी लगाइरहेका थिए, अनि परमेश्वरले शैतानलाई अय्यूबलाई कष्ट दिने अनुमति दिनुभयो। परमेश्वरले नै अय्यूबको जाँच गरिरहनुभएको भए पनि, खासमा तिनीमाथि शैतान आइपरेको थियो। शैतानका लागि, त्यो अय्यूबको परीक्षा गर्नु थियो, तर अय्यूब परमेश्वरको पक्षमा उभिए। यदि त्यसो नभएको भए अय्यूब परीक्षामा फसेका हुनेथिए। जब मानिसहरू परीक्षामा फस्छन्, तब तिनीहरू खतरामा पर्छन्। शोधन भोग्नुलाई परमेश्वरले लिनुभएको परीक्षा भन्न सकिन्छ, तर यदि तँ राम्रो स्थितिमा छैनस् भने, त्यसलाई शैतानले लिएको परीक्षा भन्न सकिन्छ। यदि तँ दर्शनहरूबारे प्रस्ट छैनस् भने, शैतानले तँलाई दोष लगाउनेछ र दर्शनहरूसम्बन्धी तेरो बुझाइ अस्पष्ट बनाउनेछ। तैँले थाहा पाउनुभन्दा अघि नै तँ परीक्षामा पर्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। एक जना सिस्टरले सङ्गति दिनुभयो, “आज, परमेश्वर हामीलाई मुक्ति दिने काम गर्न आउनुभएको छ, तर शैतानले हामीलाई निरन्तर बाधा दिन्छ, जसका कारण हामीमाथि नराम्रा घटनाहरू घट्छन्। त्यसको लक्ष्य हामीलाई परमेश्वरबारे गुनासो गर्न लगाउनु, वा उहाँलाई इन्कार गर्न र त्याग्नसमेत लगाउनु हो, ताकि अन्त्यमा यसले हामीलाई निल्न सकोस्। हामीले शैतानका युक्तिहरूलाई बुझ्नुपर्छ। यो ठ्याक्कै अय्यूबले आफ्ना परीक्षाहरूको सामना गर्दाको जस्तै हो। आत्मिक क्षेत्रमा शैतानले अय्यूबलाई दोष लगाउँदै भन्यो कि परमेश्वरले अय्यूबलाई अत्यधिक आशिष् दिनुभएकाले मात्र उनले उहाँको डर मानेको हो, अनि यदि उनीसँग भएको सबै कुरा नष्ट भयो भने, उनले अवश्यै परमेश्वरलाई त्याग्नेछन्। त्यसपछि, शैतानले अय्यूबलाई हानि गर्न हरसम्भव प्रयास गर्यो, उनका छोराछोरी र विशाल सम्पत्ति खोसेर लग्यो, र अय्यूबको शरीरभरि पीडादायी खटिराहरूसमेत ल्याइदियो, यो सबै अय्यूबलाई परमेश्वरलाई त्याग्न लगाउने प्रयासस्वरूप गरिएको थियो। तर अय्यूबले परमेश्वरमाथिको आफ्नो विश्वासलाई दृढ रूपमा कायम राखे, गुनासो गरेनन्, र परमेश्वरको नामको प्रशंसा समेत गरे, र परमेश्वरका लागि आफ्नो गवाहीमा अडिग रहे। अन्तमा, शैतान लाजले पछि हट्यो। यसले देखाउँछ कि शैतान मानिसहरूसँग खेलाँची गर्न र उनीहरूलाई हानि गर्न मन पराउँछ, र त्यसको उद्देश्य मानिसहरूलाई परमेश्वरबाट टाढा हुन र उहाँलाई धोका दिन लगाउनु हो। आज, तिमीले आफ्नो बिमार बल्झिएकै कारण परमेश्वरमा विश्वास गर्न छोडेकी छ्यौ। के तिमी सिधै शैतानको जालमा फसिरहेकी छैनौ र?” सिस्टरको सङ्गति सुनेपछि, मेरो दिमागमा बत्ती बल्यो। मैले यो बिमार म परमेश्वरको पक्षमा उभिन्छु कि शैतानको पक्षमा भनेर हेर्नका लागि लिइएको परीक्षा रहेछ भन्ने बुझेँ। यदि मैले साँच्चै विश्वास गर्न छोडेँ भने, शैतानको युक्ति सफल हुनेथियो। यस्तो सोचेर, मैले परमेश्वरमा विश्वास गरिरहने निर्णय गरेँ। त्यसैले, मैले मण्डलीबाट वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकको एक प्रति मागेँ र हरेक दिन घरमा गम्भीरतापूर्वक परमेश्वरका वचनहरू पढ्न थालेँ। परमेश्वरका वचनहरू पढेर, मैले मानिसको बिमार र पीडाको स्रोत बुझेँ। सुरुमा, परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो, र उनीहरू अदनको बगैँचामा खुसीसाथ बस्थे। तर शैतानको प्रलोभनको कारण, उनीहरूले असल र खराबको ज्ञानको रूखको फल खाए। त्यस बेलादेखि, उनीहरू पापमा जिउन थाले, र जन्म, बुढ्यौली, बिमार, र मृत्यु त्यसरी नै आएको हो। मानवजाति शैतानद्वारा झन्-झन् गहिरो रूपमा भ्रष्ट पारिँदै गएपछि, मानिसहरू परमेश्वरबाट झन्-झन् टाढिँदै गए, उनीहरूको बिमार र पीडा झन् गम्भीर हुँदै गयो, र उनीहरूको जीवन झन्-झन् दुःखमय बन्दै गयो। यस पटक, न्याय र सजायको काम गर्न, सत्यता व्यक्त गरेर मानिसको भ्रष्टतालाई पखाल्न, मानिसलाई शैतानको शक्तिबाट पूर्ण रूपमा मुक्ति दिन, मानिसलाई उसको मौलिक स्वरूपमा फर्काउन, र मानिसलाई एउटा सुन्दर गन्तव्यमा ल्याउन परमेश्वर आफै देह बन्नुभएको छ। भविष्यमा, त्यहाँ अब कुनै पीडा र आँसु हुनेछैन। यी सबै कुरा बुझेपछि, म गहिरो रूपमा प्रभावित भएँ। मैले मानिसप्रति परमेश्वरको प्रेम अत्यन्तै महान छ भन्ने महसुस गरेँ, अनि मैले गम्भीरतापूर्वक सत्यता पछ्याउने र परमेश्वरको कामको अनुभव गर्ने सङ्कल्प गरेँ।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र मेरो विश्वासमा भएका अशुद्धताहरू, अर्थात् आशिष्हरू पछ्याउने मेरो अभिप्रायबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउँदो संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि आउँदो संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका वचनहरू पढेपछि, मैले महसुस गरेँ कि परमेश्वरले साँच्चै नै हाम्रो भित्री हृदयलाई छानबिन गर्नुहुन्छ। उहाँले मेरो विश्वासमा आशिष्हरू पछ्याउने मेरो अभिप्रायलाई पूर्ण रूपमा खुलासा गरिदिनुभएको थियो। मेरो परमेश्वरमाथिको विश्वास उहाँबाट अनुग्रह प्राप्त गर्न र उहाँले मेरो बिमार निको पारिदिनुहोस् भन्नका लागि मात्र थियो। सुरुमा, मैले निको हुनका लागि खुसीसाथ परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेकी थिएँ। जब परमेश्वरले मलाई शान्ति र आशिष् दिनुभयो र मेरो स्वास्थ्यमा सुधार भयो, म उहाँप्रति धन्यवाद र प्रशंसाले भरिएकी थिएँ। तर जब मेरो बिमार बल्झियो र मैले उहाँलाई पुकारेपछि पनि मेरो नाकबाट रगत बग्न रोकिएन, मैले परमेश्वरले मलाई सुरक्षा दिइरहनुभएको छैन भनी गुनासो गरेँ, र उहाँमाथि शङ्का गर्न थालेँ, यहाँसम्म कि म विश्वास गर्न छोड्न चाहने बिन्दुमा पुगेँ। मैले देखेँ कि मैले साँच्चै नै परमेश्वरमा विश्वास गरेकी रहिनछु; मेरो विश्वास आशिषहरू पाउनका लागि मात्र थियो। मैले परमेश्वरलाई एउटा डाक्टरका रूपमा व्यवहार गरेकी थिएँ, र मैले मेरो कर्तव्यमा गरेको अर्पणको उद्देश्य पनि परमेश्वरले मलाई निको पारिदिनुहोस् भन्ने थियो। यो त सरासर परमेश्वरसँग मोलतोल गर्ने प्रयास थियो; यो परमेश्वरलाई धोका दिनु थियो! मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो र उनीहरूले कुनै लेनदेनको प्रयास नगरी वा मागहरू नराखी उहाँमा विश्वास गर्नुपर्छ र उहाँलाई आराधना गर्नुपर्छ। यद्यपि, मलाई मैले परमेश्वरमा विश्वास गरेकाले उहाँले मलाई निको पार्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैले मेरो बिमार बल्झिनेबित्तिकै मैले उहाँका बारेमा गुनासो गरेँ र यहाँसम्म कि उहाँलाई धोका दिएँ र त्यागेँ। ममा कसरी विवेक र समझको यति कमी भएको होला! यदि परमेश्वरले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गरेर मलाई मदत नगर्नुभएको र साथ नदिनुभएको भए, शैतानले मलाई हानि गरेको र निलेको हुनेथियो। मलाई मुक्ति दिनुभएकोमा परमेश्वरलाई धन्यवाद! यो महसुस गरेपछि, मैले परमेश्वरसामु पश्चात्ताप गरेँ र मेरा पापहरू स्वीकार गरेँ। मैले अबदेखि आशिष्हरू प्राप्त गर्ने अभिप्रायले परमेश्वरमा विश्वास नगर्ने निर्णय गरेँ, र म आफ्नो बिमारलाई परमेश्वरको हातमा सुम्पन र उहाँका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुन राजी भएँ।
डिस्चार्ज भएपछि, मेरो प्लेटलेट गणना लगभग सामान्य अवस्थामा फर्किएको थियो, तर मेरो साप्ताहिक जाँचको क्रममा यो घटिरह्यो, र मेरो शरीरमा साना निलडामहरू देखिन थाले। डाक्टरले मेरो औषधीको मात्रा बढाएर अधिकतममा पुर्याउनुभयो, तर मेरो अवस्था अझै सुधार भएन, त्यसैले म फेरि अस्पताल भर्ना हुनुपर्यो। मलाई धेरै कमजोर र चिन्तित महसुस भयो, र मैले सोचेँ, “म अहिले परमेश्वरमा राम्ररी विश्वास गर्न खोजिरहेकी छु, तर उहाँले किन मेरो प्लेटलेट गणना बढ्न दिइरहनुभएको छैन?” मैले म परमेश्वरसँग मागहरू राखिरहेकी छु भन्ने महसुस गरेँ, त्यसैले मैले चुपचाप प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई थाहा छ मैले तपाईँसँग मागहरू राख्नु हुँदैन, तर मेरो कद अत्यन्तै सानो छ, र म कहिल्यै पनि तपाईँप्रति पूर्ण रूपमा समर्पित हुन सक्दिनँ। परमेश्वर, म प्रार्थना गर्छु कि तपाईँले मलाई अगुवाइ गर्नुहोस् र विश्वास दिलाउनुहोस्।” त्यसपछि मैले परमेश्वरका वचनहरू सम्झेँ: “भोलिको दिन कस्तो हुनेछ भनेर चिन्ता नगर्, न त भविष्य कस्तो हुनेछ भनेर नै चिन्ता गर्। हरेक दिन ममा भर परेर जि, अनि म अवश्य नै तँलाई अगुवाइ गर्नेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २८)। “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ। शैतानले हरसम्भव तरिकाले हामीकहाँ त्यसका विचारहरू पठाउने कोसिस गरिरहेको हुन्छ। परमेश्वरले हामीलाई ज्योति र अन्तर्दृष्टि दिनुहोस् भनी हामीले हरक्षण प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष पखाल्नका लागि हामी हरक्षण परमेश्वरमा भर पर्नुपर्छ, हामीले हाम्रो आत्माभित्र हरपल परमेश्वरको नजिक जाने अभ्यास गर्नुपर्छ, र परमेश्वरलाई हाम्रो सम्पूर्ण सत्त्वमाथि प्रभुत्व राख्न र त्यसलाई ओगट्न दिनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनहरूले मलाई ती चिन्ता र डरका विचारहरू सबै शैतानबाट आएका हुन्, र हर समय परमेश्वरमा भर परेर र आफ्नो ज्यान जोखिममा राख्ने इच्छा राखेर मात्र मैले आफ्नो कायरतालाई त्याग्न र शैतानलाई जित्न सक्छु भन्ने कुरा बुझ्न मदत गरे। परमेश्वरका वचनहरूले मलाई विश्वास दिलाए। परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र सबै कुरामाथि शासन गर्नुहुन्छ। मेरो बिमार उहाँको हातमा छ। चाहे जेसुकै होस्, म यो कुरा अनुभव गर्नका लागि परमेश्वरमा भर पर्न तयार छु। परमेश्वर मेरो साथमा हुनुभएपछि, मैले कुनै कुराको डर मान्नु पर्दैन। मजस्तो रोगले ग्रस्त एउटा महत्त्वहीन व्यक्तिका लागि, आज परमेश्वरसामु आउन र उहाँका वचनहरूको आनन्द लिन पाउनु नै उहाँको अनुग्रह र उत्थान हो। यदि म एक दिन मरिहालेँ भने पनि, मेरो जीवन व्यर्थमा गएको हुनेथिएन। यो महसुस गरेपछि, मेरो हृदय अब त्यति चिन्तित वा डराएको थिएन। म परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन राजी भएँ र मैले हरेक दिन सधैँझैँ परमेश्वरका वचनहरू पढिरहेँ। त्यसपछि, डाक्टरले मेरो औषधी घटाउनुभयो, र अचम्मको कुरा, मेरो प्लेटलेट गणना वास्तवमा बढ्यो। म त्यसपछि चाँडै नै अस्पतालबाट डिस्चार्ज भएँ। मैले हृदयमा परमेश्वरलाई अनन्त धन्यवाद दिएँ। मैले सबै कुरामा परमेश्वरकै अन्तिम वचन हुन्छ भन्ने देखेँ, र उहाँमाथिको मेरो विश्वास बढ्यो। त्यसपछि, मेरो प्लेटलेट गणना महिनैपिच्छे बढ्दै गयो, र केही महिनापछि, यो पूर्ण रूपमा सामान्यमा पुग्यो। म परमेश्वरको सर्वशक्तिमान्ता देखेर अचम्मित नभई रहन सकिनँ र मैले परमेश्वरले सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा गहिरो रूपमा बुझेँ। मेरो हृदय उहाँप्रतिको असीमित कृतज्ञताले भरियो।
पछि, मैले परमेश्वरका वचनहरूका अरू दुइटा खण्ड पढेँ र मेरा समस्याहरूबारे नयाँ बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसका धारणाहरूमा, परमेश्वरले सधैँ चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्वर बिलकुलै त्यस्तो हुनुहुन्न। आखिरी दिनहरूमा, यदि परमेश्वरले अझै पनि चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभएको, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको र बिरामीलाई निको पार्नुभएको भए—यदि उहाँले ठ्याक्कै येशूले जस्तै गर्नुभएको भए—परमेश्वरले एउटै काम दोहोर्याउनुभएको हुनेथियो, र येशूको कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। … परमेश्वरको आजको काम किन येशूको कामभन्दा फरक छ? परमेश्वरले आज किन चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुहुन्न, पिशाचहरू धपाउनुहुन्न, र बिरामीहरू निको पार्नुहुन्न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएको कामजस्तै भएको भए, के उहाँले अनुग्रहको युगको परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि येशू मन्दिरमा आबद्ध हुनुभएको र उहाँले व्यवस्थाको युगमा जस्तै शबाथको दिन पालन गर्नुभएको, उहाँलाई कसैले पनि नसताएको र सबैले अँगालेको भए, के उहाँ क्रूसमा टाँगिइन सक्नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्वरले पनि येशूले गर्नुभएजस्तै चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? यदि परमेश्वरले आखिरी दिनहरूमा उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्नुभयो भने मात्र मानिसले परमेश्वरबारे झनै गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र परमेश्वरको व्यवस्थापन योजना पूरा हुन सक्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान)। “आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट भएको हुनुपर्छ कि, आखिरी दिनहरूमा, परमेश्वरले पूरा गर्नुहुने कुरा मूलतः ‘वचन देह बन्नुहुन्छ’ भन्ने तथ्य नै हो। उहाँले पृथ्वीमा गर्नुभएको व्यावहारिक काममार्फत, उहाँ मानिसलाई उहाँलाई चिन्न र उहाँसँग संलग्न हुन, साथै उहाँका व्यावहारिक कार्यहरू देख्न मद्दत गर्नुहुन्छ। उहाँले मानिसहरूलाई यो कुरा प्रस्ट रूपमा देख्न मद्दत गर्नुहुन्छ कि उहाँले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न सक्नुहुन्छ तर उहाँले त्यसो गर्न नसक्ने समयहरू पनि हुन्छन्; यो कुरा युगमा भर पर्छ। यसबाट तैँले देख्न सक्छस् कि परमेश्वर चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्न, बरु उहाँले गर्नुपर्ने कामअनुसार र युगअनुसार आफ्नो काम गर्ने तरिका परिवर्तन गर्नुहुन्छ। कामको अहिलेको चरणमा, उहाँले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुहुन्न; उहाँले येशूको युगमा केही चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभयो किनभने त्यस युगमा उहाँको काम फरक थियो। परमेश्वरले आज त्यो काम गर्नुहुन्न, र कतिपय मानिसहरू उहाँलाई चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न असक्षम ठान्छन्, वा तिनीहरू उहाँले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन नगर्ने भएकाले उहाँ परमेश्वर हुनुहुन्न भन्ने सोच्छन्। के त्यो भ्रम होइन र? परमेश्वरले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न सक्नुहुन्छ, तर उहाँ फरक युगमा काम गरिरहनुभएको छ, त्यसैले उहाँले त्यस्तो काम गर्नुहुन्न। फरक-फरक युगमा र उहाँको कामका फरक-फरक चरणहरूअनुसार, परमेश्वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। मानिसले परमेश्वरमा गर्ने विश्वास चिन्हहरू र अचम्मका कामहरूमाथिको विश्वास होइन, न त यो आश्चर्यकर्महरूमाथिको विश्वास नै हो, यो त नयाँ युगको दौरान उहाँले गर्नुहुने व्यावहारिक काममाथिको विश्वास हो। मानिसले परमेश्वरलाई परमेश्वरको काम गर्ने तरिकामार्फत चिन्छ, र यो ज्ञानले मानिसमा परमेश्वरमाथिको विश्वास पैदा गर्छ, यसको मतलब परमेश्वरको काम र कार्यहरूमाथिको विश्वास पैदा गर्छ। … हरेक युगमा, परमेश्वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। हरेक युगमा, उहाँले आफ्ना कार्यहरूका केही भाग प्रकट गर्नुहुन्छ, र हरेक युगको कामले परमेश्वरको स्वभावको एउटा पाटो र परमेश्वरका कार्यहरूको एउटा पाटोको प्रतिनिधित्व गर्छ। उहाँले प्रकट गर्नुहुने कार्यहरू उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगअनुसार फरक-फरक हुन्छन्, तर ती सबैले नै परमेश्वरबारे मानिसको ज्ञानलाई अझ गहिरो बनाउँछन्, र मानिसलाई परमेश्वरमाथि अझ साँचो र अझ ठोस विश्वास दिलाउँछन्। परमेश्वरका सबै कार्यहरूका कारणले, परमेश्वर अत्यन्तै अचम्मका, अत्यन्तै महान्, र सर्वशक्तिमान् हुनुभएको कारणले, र उहाँ अज्ञेय हुनुभएको कारणले मानिसले परमेश्वरमा विश्वास गर्छ—त्यही कारणले गर्दा मानिसले परमेश्वरमा विश्वास गर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान कामसम्बन्धी ज्ञान)। परमेश्वरका वचनहरू पढेपछि, मैले महसुस गरेँ कि म बिरामी हुँदा मैले प्रकट गरेको धारणा ठ्याक्कै यही थियो: यदि उहाँ परमेश्वर हुनुहुन्छ भने, उहाँले सङ्केत र अचम्मका कार्यहरू गर्नुपर्छ, बिरामीलाई निको पार्नुपर्छ र पिशाचहरूलाई धपाउनुपर्छ, र यदि उहाँले त्यसो गर्नुहुन्न भने, उहाँ परमेश्वर नै होइन भन्ने विश्वास। मेरो दृष्टिकोण अत्यन्तै हाँसउठ्दो र बेतुक थियो! शैतान र दुष्ट आत्माहरूले पनि मानिसहरूलाई निको पार्न केही सङ्केत र अचम्मका कार्यहरू गरेर परमेश्वरको नक्कल गर्न सक्छन्। के त्यसको मतलब तिनलाई परमेश्वर भन्न सकिन्छ भन्ने हो? के यो परमेश्वरविरुद्ध ईश्वर-निन्दा होइन र? परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, जसले सबै कुरामाथि शासन गर्नुहुन्छ र सार्वभौमिकता राख्नुहुन्छ, र मानवजातिलाई मार्गदर्शन गर्न र मुक्ति दिन सक्नुहुन्छ। आखिरी दिनहरूमा, मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिनका लागि सत्यता व्यक्त गर्न परमेश्वर देह बन्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गरेर, मानिसहरूले आफ्नो शैतानी भ्रष्ट स्वभावलाई त्याग्न, मुक्ति प्राप्त गर्न र सिद्धता पाउन सक्छन्। यस प्रकारको काम र यी प्रकारका वचनहरू बिरामीलाई निको पार्ने र पिशाचहरूलाई धपाउने परमेश्वरका सङ्केत र अचम्मका कार्यहरूको अख्तियार र शक्तिभन्दा धेरै माथि छन्। यो यस्तो कुरा हो जुन न त कुनै सृजित मानव, न त शैतान वा कुनै दुष्ट आत्माले हासिल गर्न सक्छ। आज कति जना मानिसहरूले कसैले बिरामीलाई निको पार्न वा आश्चर्यकर्महरू गर्न सक्छ कि सक्दैन भन्ने आधारमा ऊ परमेश्वर हो कि होइन भनेर निर्धारण गर्छन् भनेर मैले सोचेँ। जब शैतान र दुष्ट आत्माहरूले उनीहरूलाई केही फाइदा दिन्छन् वा केही आश्चर्यकर्महरू गर्छन्, तब उनीहरूले तिनको आराधना गर्छन् र शैतानलाई साँचो परमेश्वरको रूपमा व्यवहार गर्छन्, जबकि सत्यता व्यक्त गर्ने र मानवजातिलाई मुक्ति दिन सक्ने साँचो परमेश्वरका लागि ढोका बन्द गर्छन्। परिणामस्वरूप, उनीहरूले मुक्ति पाउने मौका गुमाउँछन्। यस्तो दृष्टिकोण साँच्चै नै बेतुक र विनाशकारी हो! परमेश्वरका वचनहरूबाट, मैले यो पनि बुझेँ कि बिरामीलाई निको पार्नु, पिशाचहरूलाई धपाउनु, र सङ्केत र अचम्मका कार्यहरू गर्नु अनुग्रहको युगमा परमेश्वरले गर्नुभएको काम हो। यदि परमेश्वरले आखिरी दिनहरूमा फेरि त्यसो गर्नुभयो भने, त्यो दोहोरो हुनेथियो। यदि परमेश्वरले सधैँ बिरामीलाई निको पार्ने, पिशाचहरूलाई धपाउने, र आश्चर्यकर्महरू गर्ने गर्नुभएको भए, सबैले आफ्नो बिमार निको भएकाले वा आफूले आश्चर्यकर्म देखेकाले नै परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने थिए। यसो भएको भए, कसले साँचो विश्वास गर्छ र कसले झूटो विश्वास गर्छ भनेर प्रकट गर्न असम्भव हुनेथियो, हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नु त झन् परको कुरा हो। यस पटक, परमेश्वरले आफ्नो काममा एउटा पनि सङ्केत वा अचम्मको काम गर्नुहुन्न, जसले मानिसहरूको भ्रष्ट स्वभावलाई अझ राम्ररी प्रकट गर्न सक्छ र त्यो उनीहरूलाई रूपान्तरण गर्न र शुद्ध गर्न अझ बढी सहयोगी हुन्छ। उदाहरणका लागि मलाई नै लिनुहोस्। यदि परमेश्वरले साँच्चै मेरो हरेक अनुरोध स्विकारेर मेरो बिमार पूर्ण रूपमा निको पारिदिनुभएको भए, मैले मेरो विश्वाससम्बन्धी गलत दृष्टिकोण वा परमेश्वरसँग मोलतोल गर्ने मेरो घृणित अभिप्रायबारे कहिल्यै पनि चिन्तन गर्ने थिइनँ। मैले आफ्नै धारणा र कल्पनाहरूका आधारमा परमेश्वरलाई सीमित गरिरहने थिएँ। त्यसरी विश्वास गर्दा, मैले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्ने थिइनँ, मेरो भ्रष्ट स्वभाव परिवर्तन हुने थिएन, र अन्त्यमा म हटाइने थिएँ। यस बिमारको समयमा मैले केही शारीरिक पीडा भोगे पनि, मेरो कष्टको बीचमा परमेश्वरलाई प्रार्थना गर्दा र उहाँमाथि भर पर्दा, परमेश्वरले मलाई उहाँका वचनहरूद्वारा अन्तर्दृष्टि दिनुभयो र मार्गदर्शन गर्नुभयो, मलाई मेरो बिमारको बन्धनबाट र पीडा र डरमा जिउनबाट मुक्त गर्नुभयो। मैले परमेश्वरमा केही विश्वास पनि प्राप्त गरेँ। यी यस्ता प्राप्तिहरू थिए जुन मैले आरामदायी वातावरणमा कहिल्यै प्राप्त गर्न सक्ने थिइनँ। मानवजातिलाई मुक्ति दिन उहाँका वचनहरू प्रयोग गर्ने परमेश्वरको काम अत्यन्तै व्यावहारिक र बुद्धिमानी छ भनेर मैले साँच्चिकै महसुस गरेँ! यो बुझेपछि, मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, भविष्यमा मेरो बिमारले जुन रूप लिए पनि, म आफ्नो सबै कुरा तपाईँलाई सुम्पन, गम्भीरतापूर्वक सत्यता पछ्याउन, र आफ्नो कर्तव्य पूरा गर्न तयार छु।”
त्यसपछि मैले परमेश्वरका थप वचनहरू पढेँ र परमेश्वरमाथिको साँचो विश्वास भनेको के हो भनेर थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘परमेश्वरमाथिको विश्वास’ भनेको परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु हो; परमेश्वरमाथिको विश्वासको सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्नुपर्दा, परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु भनेको परमेश्वरमा साँचो रूपले विश्वास गर्नु सरह होइन; बरु, यो त बलियो धार्मिक भावसहितको साधारण आस्था हो। परमेश्वरप्रतिको साँचो विश्वासको अर्थ निम्नानुसार छ: परमेश्वर यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने विश्वासका आधारमा, कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको काम अनुभव गर्छ, अनि यसरी आफ्ना भ्रष्ट स्वभावहरू फाल्छ, परमेश्वरका अभिप्रायहरू पूरा गर्छ, र परमेश्वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्वरमाथिको विश्वास’ भन्न सकिन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। “तँलाई परमेश्वरमा विश्वास गर्नु भनेको दुःख भोग्नु हो, वा उहाँका निम्ति धेरै कुरा गर्नु हो, वा तेरो देह शान्तिमा हुनु हो, वा तेरा लागि सबै कुरा सहज रूपमा चल्नु हो, र सबै कुरामा तँलाई आरामदायी र सहजता होस् भन्ने लाग्न सक्छ। मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा यीमध्ये कुनै पनि उद्देश्यहरू राख्नु हुँदैन। यदि तँ यी उद्देश्यहरूले विश्वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु बिलकुलै असम्भव हुन्छ। परमेश्वरका कार्यहरू, परमेश्वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, अनि उहाँको अद्भुतता र बुझ्न नसकिने अवस्था, यी सबै मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझाइमार्फत तैँले आफ्नो हृदयलाई आफ्ना व्यक्तिगत माग, आशा, र धारणाहरूबाट मुक्त गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तैँले परमेश्वरद्वारा माग गरिएका सर्तहरू पूरा गर्न सक्छस्। यसमार्फत मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस समूहमार्फत उहाँका कार्यहरू र महिमा प्रकट हुन सकून्। यो नै परमेश्वरमा विश्वास गर्नेबारे सही दृष्टिकोण हो, अनि तैँले पछ्याउनुपर्ने लक्ष्य पनि यही नै हो। परमेश्वरमा विश्वास गर्नेबारे तेरो दृष्टिकोणलाई सही पार्नैपर्छ, र तैँले परमेश्वरका वचनहरू प्राप्त गर्न खोज्नुपर्छ। तैँले परमेश्वरका वचन खानु र पिउनु आवश्यक छ र तँ सत्यतामा जिउन सक्नैपर्छ, अनि विशेष गरी तैँले उहाँका व्यावहारिक कार्यहरू, सम्पूर्ण ब्रह्माण्डभरि भएका उहाँका अद्भुत कार्यहरू, साथै उहाँले देहमा गर्ने व्यावहारिक काम देख्न सक्नुपर्छ। मानिसहरूले आफ्ना वास्तविक अनुभवहरूमार्फत परमेश्वरले उनीहरूमा कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के-के हुन् भन्ने कुरा बोध गर्न सक्छन्। यो सबैको उद्देश्य मानिसहरूले आफ्ना भ्रष्ट शैतानी स्वभावहरू फाल्न सकून् भन्ने हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “के अब तिमीहरूले परमेश्वरमाथिको विश्वास भनेको के हो भनेर बुझ्छौ? के परमेश्वरमा विश्वास गर्नुको अर्थ चिन्हहरू र अचम्मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्ग जानु हो? परमेश्वरमा विश्वास गर्नु कुनै रूपमा सजिलो कुरा होइन। विश्वासका धार्मिक विधिहरूलाई निमिट्यान्न पार्नुपर्छ; बिरामीको चङ्गाइ र पिशाचहरू निकाल्ने कामको पछि लाग्नु, चिन्हहरू र अचम्मका कामहरूमा ध्यान लगाउनु, परमेश्वरको अनुग्रह, शान्ति र आनन्दको अझ बढी लालसा गर्नु, देहको भविष्य र आरामको पछि लाग्नु—यी विश्वासका धार्मिक विधिहरू हुन्, र यस्ता विश्वासका विधिहरू अस्पष्ट किसिमका आस्था हुन्। आज परमेश्वरमाथिको व्यावहारिक विश्वास भनेको के हो? यो परमेश्वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु, परमेश्वरलाई उहाँको वचनबाट चिन्नु, र यसरी उहाँप्रति साँचो प्रेम हासिल गर्नु हो। प्रस्ट रूपमा भन्नुपर्दा: परमेश्वरमा विश्वास गर्नु भनेको तँ उहाँमा समर्पित भएस्, तैँले उहाँलाई प्रेम गरेस्, र सृजित प्राणीद्वारा पूरा गरिनुपर्ने कर्तव्य पूरा गरेस् भन्नका लागि हो। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ)। परमेश्वरका वचनहरूबाट, मैले थाहा पाएँ कि परमेश्वरमा विश्वास गर्नु शारीरिक शान्तिका लागि हुनु हुँदैन, र आशिषहरूका लागि पनि हुनु हुँदैन। बरु, यसको उद्देश्य परमेश्वरका वचनहरू धेरै खाने र पिउने र उहाँको कामको अनुभव गर्ने, आफ्ना शैतानी भ्रष्ट स्वभावहरू त्याग्ने र परमेश्वरका वचनहरूअनुसार जिउने र परमेश्वरलाई चिन्न, उहाँमा समर्पित हुन, र उहाँको डर मान्न सक्षम हुने हुनुपर्छ; तब मात्र व्यक्तिले अन्ततः परमेश्वरद्वारा मुक्ति पाउन सक्छ। तर सुरुदेखि नै विश्वासबारे मेरो दृष्टिकोण गलत थियो। म परमेश्वरले मलाई निको पार्नुहोस् र शारीरिक शान्ति दिनुहोस् भन्ने चाहन्थेँ। यस प्रकारको विश्वास एउटा अस्पष्ट धार्मिक विश्वास हो, र परमेश्वरले यसलाई पटक्कै स्वीकार गर्नुहुन्न। मैले अय्यूबको बारेमा सोचेँ। उनले आफ्नो विश्वासमा शारीरिक शान्ति खोजेनन्। बरु, उनले आफ्नो दैनिक जीवनमा परमेश्वरको सार्वभौमिकताको कदर गर्न र उहाँका कार्यहरूलाई चिन्नमा ध्यान केन्द्रित गरे, र उनी परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने पछ्याइमा लागे। जब उनी शारीरिक बिमारले पीडित थिए, उनले पाप बोलेनन्। उनले परमेश्वरबारे गुनासो गर्नु वा उहाँलाई दोष लगाउनुको सट्टा बरु चरम पीडा सहन रुचाउँथे, र उनले अझै पनि परमेश्वरको नामको प्रशंसा गर्थे। उनको विश्वासले परमेश्वरको अनुमोदन प्राप्त गर्यो। तर मैले आफ्नो विश्वासमा सत्यता पछ्याइनँ; मैले त शारीरिक शान्ति मात्र खोजेँ। मेरो बिमार बल्झिएपछि, मेरो हृदय परमेश्वरविरुद्ध गुनासोले भरियो, र यहाँसम्म कि मैले उहाँलाई नकारे र धोका दिएँ। म त अय्यूबसँग तुलना गर्न लायक पनि थिइनँ। मेरो यो जीवन परमेश्वरले दिनुभएको हो। त्यसरी नाकबाट नरोकिनेगरी रगत बग्दा मेरो ज्यान खतरामा नहुनु आफैमा परमेश्वरको हेरचाह र सुरक्षा थियो। यद्यपि, मैले परमेश्वरलाई धन्यवाद दिइनँ; बरु, मैले उहाँको बारेमा गुनासो गरेँ र उहाँलाई धोका दिएँ। मसँग साँच्चै नै विवेक र समझको कमी थियो! यसबाहेक, मैले परमेश्वरमा विश्वास गर्नुअघि नै मलाई यो बिमार लागेको थियो। यदि मैले विश्वास नगरेकी भए पनि, मेरो रोग बल्झिनेथियो। मैले परमेश्वरमा विश्वास गरेँ वा गरिनँ भन्ने कुरासँग मेरो बिमार बल्झिनुको कुनै सम्बन्ध थिएन। मैले उहाँको बारेमा गुनासो गर्नु हुँदैनथ्यो। त्यसपछि मैले परमेश्वरमाथिको साँचो विश्वास के रहेछ भनेर बुझेँ, र म उहाँका मागहरूअनुसार गम्भीरतापूर्वक सत्यता पछ्याउन र परमेश्वरको कामको अनुभव गर्न राजी भएँ।
त्यसपछि, जबजब म बिमारी हुन्थेँ, मैले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावबारे चिन्तन गर्न र त्यसलाई समाधान गर्नका लागि सत्यता खोज्नमा ध्यान केन्द्रित गरेँ। यसरी अभ्यास गरेपछि, म अब बिमारद्वारा त्यति धेरै नियन्त्रित थिइनँ। विश्वासप्रति मेरो गलत दृष्टिकोणबारे केही बुझाइ दिन र परमेश्वरमा विश्वास गर्ने सही मार्ग पत्ता लगाउन मलाई मदत गर्नको लागि यो बिमार प्रयोग गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद। भविष्यमा मेरो शरीरलाई जेसुकै भए पनि वा मेरो बिमार निको भए पनि नभए पनि, म परमेश्वरको अनुसरण गर्नेछु र सत्यता पछ्याउने मार्गमा हिँड्नेछु। परमेश्वरलाई धन्यवाद!